यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : छैन उन्मुक्ति

– प्रमोद अधिकारी-

मुक्ति दाइ लुसुक्क कता लागे, पत्तो भएन निकै बेर। सँगै बसेका साथीभाइ पनि ओछ्यान पसेर घुर्न थालिसकेछन्। झस्किएँ म पनि। अगाडि चारवटा खाली गिलास र पत्रिका माथि छरिएको भुजिया। खाली बोतल पर खाटमुन्तिर पल्टिरहेको। खाएकै दिन गिलास माझ्ने र रित्तो बोतल हुर्याउने होस कसैलाई आउँदैन। आ ! भोलि ठेगान लाउँला सब कचरा। म पनि उठेँ सम्हालिदैँ, बत्ति निभाएर पल्टिएँ ओछ्यानमा। दुईवर्ष भैसक्यो मनका मान्छेहरुसँग अलग्गिएको, आजकाल त सम्झना झन् बाक्लिएको छ। दिनभर भागदौड मच्चाउनुपर्ने जागिर छ। होटल लाइन न पर्‍यो, अलिअलि भएको बोसो नि पग्लिने रहेछ। बेलुकी फर्की आउँदा ज्यानमा रत्तिभर पनि उर्जा बाँकी हुँदैन। आँखा चिम्म गरे नि मरिकाट्टे निन्द्रा आए पो। अरुहरु पल्टिने बित्तिकै भुस परेको देख्दा नि रिसै उठ्ने। झिलिकमिलिक गर्दै आउन थाल्छन् यादका तस्विरहरु–श्रीमतिको मायालु अनुहार, जिन्दगीको घामपानीले चुटेर निधारभरि धर्सैधर्सा भएका बाआमाका अनुहार, छोराछोरीका अनुहार, साथीभाइका अनुहार, यस्तै यस्तै अनुहारहरु।

यिनै अनुहारहरुको भीडमा आफ्नो निद्रा हराइरहेको बेला मुक्ति दाइ जसरी गएका थिए उसैगरी लुसुक्क कोठाभित्र छिरेछन्। मुक्ति दाइको विस्ताराबाट दबाउन खोजिएको तर नसकिएको मधुरो आवाज आयो। मैले उनीतिर चिहाएँ। सिरानीमा घोप्टिएका मुक्तिदाइको छायाँतस्विर देखेँ। ‘मुक्ति दाइ ?’ मैले बोलाएँ। सुँक्कसुँक्क आवाज बन्द भयो। उठेर बत्ति बालेँ र दाइका विस्तारामा गएँ। ‘दाइ ?’ मैले कोट्याएँ। उनी सिँगान पुछ्दै मतिर फर्के र फोस्के मुस्कान छोड्ने प्रयत्न गरे। दाइ, धेरै नै याद आयो ? बोली फुटेन, टाउको मात्र हल्लाए। यस्तै हो दाजु मान्छेको जिन्दगी जति गहिरियो उति कहाली लाग्दो भन्दै म आफ्नै विस्तारामा फर्केँ। हाम्रो रुममा आठजना बस्थ्यौँ, दुई तले फलामका बेड चारवटा थिए। एट्याच्ड फलामे भर्र्याङबाट मुस्किलले तलमाथि गर्नुपर्ने। अर्ध निन्द्रा र अलिअलि मापसे चढाएका बेला त यो पनि ज्यानकै खतरा। गाउँ सम्झ्यो भने बाख्रालाई बनाएको खोरपनि यस्तैयस्तै लाग्छ। सम्झिल्याउँदा उता बाख्राका लागि बनाइदिएको खोर पनि घरजस्तो लाग्ने। यता आफ्नालागि बनाइदिएको घर पनि खोरजस्तो।

मुक्ति दाइ बुटवलतिरका हुन्। दुबई आएको छ महिना हुन लागेको थियो। एउटै होटलमा म वेटर थिएँ र उनी किचेनमा हेल्पर। अरबको गर्मीमा किचनको काम, एउटा थोत्रो पिलन्धरे एयरकन्डिस्नर त टाँसिदिएका छन् भित्तामा तर त्यसले किचनको तातो कहिल्यै मत्थर पार्न सकेन। ‘कामको प्रेसर त ज्यादै रहेछ हौ भाइ’ उनी भन्थे खलखल हुँदै। म पुरानो भै खाको, भन्थें–यस्तै हो दाइ, सुरुसरुमा अलि गार्है हुन्छ। पछि काम सिक्दै जाँदा अलि हलुका हुन्छ। हुन पनि विचरा मुक्ति दाइलाई बिहान खोल्ने र बन्द गर्ने बेलामा त हम्मे हम्मे नै पथ्र्यो। सरसफाइ, पुछपाछ, सरसामान तयारी गर्ने देखी लिएर कुन सेक्सनमा कता सहयोग चाहिन्छ, त्यतै टुप्लुक्किनु पर्ने। बन्द गर्ने बेलामा नि सिनियर भनाउँदाहरु फातफुत्त निस्किहाल्ने, सबै सरसफाई गरेर, सामानको थान्कोमन्को लगाउनु पर्ने।

हामी काममा जोतिएर बासस्थानमा फर्केपछि अक्सर बेलुकी पिउने गथ्र्यौँ। निमन्त्रणता त उनलाई पनि गथ्यौँ तर उनी त्यति सजिलै आउँदैन थिए। कम बोल्ने अन्र्तमुखी स्वाभावका उनी बिस्तारै मेरो अन्तरंग बन्दै गए। यस्तै सँगै बसेको मौकामा म उनका अन्र्तभेदहरु खोतल्ने जमर्को गर्थें। उमेरले चालीस काट्न लागेका मुक्ति दाइको पहिलो सन्तान भर्खरै भएको रहेछ। उनले घर छोड्दा छोरो तीन महिनाको मात्रै भएको रहेछ। बिवाह गरेको नौ–दश वर्ष पछि यसरी सन्तान भएर हर्षित भएका मुक्ति दाजुको यत्तिका वर्ष ढिला हुनुको कथा पनि दर्दनाक नै थियो। एकदिन म ओछ्यानमा उत्तानो पल्टिएर माथिपट्टि गोडातिर टांगिएको डोरीमा खुट्टा झुण्ड्याएर तिनै मनका अनुहारहरुसँग मनोवाद गरिरहेका बेला मुक्ति दाइले बोलाए।

ओहो ! दाइले नयाँ बोतल पो मगाएछन्। कत्ति तपाईहरुको मात्र खाइदिनु भनेर नि भन्दै बोतल नचाए,। म पनि बुरुक्क उफ्रेर ओर्लिएँ डबल डेकर फलामे खाटको बाल्कोनीबाट। दाइ आज मुडमा छन् जस्तो छ ! म पछि लागेँ। घरको छतमा दुईटा कुर्सी मिलाएका रहेछन्। आहै ! कत्ति मज्जाको वातावारण— आकाशमा झलमल्ल तारा, सुनसान, टाढा टाढासम्म सडकतिर घोप्टिएका लस्करै बत्ति र घरका प्रतिबिम्व। कताकतै सडकबत्तीको उज्यालोमा खजुरका पोथ्राहरुका पाश्र्वछायाँ पनि देखिन्छन्।

मुक्तिदाइ चुस्की सँगै आफ्ना विगत ओकल्न थाले। विवाह गरेको पाँच महिना नबित्दै श्रीमतीले पाल्ने हुति नभए किन फुर्ति लगाएर बिहे गर्नु, घरमा फुटेको कौडी छैन, भुत्रो गरेर बस्नु म भनेर माइत बाटो तताइन्। गरिबीले पिल्सिएका उनी ममताबाट पनि पिल्सिन थाले। आइमाइले बचन लगाएर एक्ल्याए पछि इख नभाको छोरो काम लाग्दैन, यिनीहरुलाई गरेर देखाउँछु भन्ने अठोट लिएर साउदीतिर हान्निए। छ सात वर्ष बसे। अत्यन्तै दुःख गरे। कहिले आमा बिरामी, कहिले बहिनीको विहे अनि कहिले भाइलाई विदेश पठाउने भन्दाभन्दै त्यत्तिका वर्ष बसे पनि परिवारलाई सुखसयल दिलाउने मनग्य रकम जुटाउन सकेनन्। उमेरले नेटो काट्न लाग्यो, जहान ठुस्किएर माइत बसेकी छ, सन्तान छैनन्। परदेशमा त्यो उद्दण्ड घामको मिहेनेत र तनाबले थल्लिए। जे पर्ला भन्दै लागेछन् घरतिर। अलिअलि भएको पैसाले केहि गर्न सकिएला नि त भन्दै श्रीमतीलाई फर्काएछन्। समय वित्यो अनि खल्ति रित्तियो। छोरो जन्मियो, फेरी घरमा उहि कचकच, उहि रडाको। त्यो कलिलो, कलकलाउदो बालकलाई धित मर्ने गरी बोक्न पनि पाएनन् उनले। म यति कालो भए नि भाइ छोरो त गोरो छ, उस्तै पुक्क परेको, मैले छोड्दा मतिरै तन्किएर रुँदै थियो। अहिले त बाबा..बाबा.. गर्न थालेछ, ढलपल गर्दै पाइला पनि सार्छ रे, यति भनिसक्दा बिचरा मुक्ति दाइका आँखा पनि टिलपिलाए। आँसु झर्लान् भन्ने लाजले परतिरका धमिला प्रतिबिम्वहरु हेरिरहे। म पनि केहि मलिन भएँ। उनको यो भाबुकतामा आफुलाई पनि दाँज्न भ्याएँ, कठै ! मेरा बा नि मलाई यत्ति नै माया गर्दा हुन्।

उनको यो नियास्रो देखेर मैले उपाय दिएँ। अनि उताबाट स्टुडियोमा खिचिएको आमाछोराको फोटो मेरो इमेलमा आयो। मैले नै प्रिन्ट गरेर ल्याइदिएँ। उताबाट पठाउन स्टुडियोवालाले सहयोग गरिदिएछ। सित्तैको सहयोग त के हुन्थ्यो। ‘एकसय बढ्ता लियो रे भाइ’ मुक्ति दाइ भन्दैथिए। उनी खुसीले एकपटक नाचे र सिरानछेउको भित्तामा बडो जतनले फोटो टाँसे। हेर त भाई, ठ्याक्कै म जस्तै छ है, कलर चैं अलि मिलेन, हौसिदै देखाए मलाई। होइन दाइ कलर पनि पछि पछि मिल्दै जान्छ, कि त उ कालो हुन्छ, कि त तपाई गोरो हुनुहोला। मैले ठट्टा गरेको पनि मेसो पाएनन् तिनले, त्यस्सै हिहि गरे। मुक्ति दाइ यही जुनीमा चै कताबाट गोरो हुन्थे नि, भैँसीको छाला जस्तै थियो उनको पनि रंग। त्यो दिन दाइले दर्है पिलाए मलाई। उनको मन छ्याङ्ग भएको थियो। म पनि खुसी भएँ उनी उज्यालिएको देखेर। विस्तारै छोरो प्रतिको सपना र जिम्मेवारीबोध बढ्दै गयो मुक्ति दाइमा। जीवनभरि खाडीमै भास्सिएर भए नि सन्तानलाई सुख दिन्छु भाइ भन्थे बिचरा। सार्है निस्कपट थिए उनी। दायावायाँ पिटिक्कै नजान्ने।

बिहानै हामी काममा गयौँ। निकै होहल्ला थियो होटल अघि। के भएछ चासोसँगै म घुस्रिएँ भीडतिर। कुरा के भएछ भने हिजो राति किचनको ढोका बन्द गर्ने बेलामा ग्याँस चुलो बन्द गर्न भुलेछन् मुक्ति दाइले। दिनभरको थकाई, दशथरीका मानसिक तनाब अनेकले गर्दा, भुसुक्क भएछन्। केही घण्टा आगो बलिरह्यो, धेरै तात्तिएर छेउमा भएको प्लाष्टिकको डब्बा पकड्दै आगो फैलियो भान्छाभरी। सेक्युरिटी गार्डले देखेछ र आगो नियन्त्रण गर्न सफल भएछ। विकसित मुलुकहरुमा हुने दरिलो अग्नि नियन्त्रणका बन्दोबस्तीले गर्दा। बिहान मेनेजर देख्ने बित्तिकै गार्डले गेटैमा छेकेर यी सबै बिस्तार लगायो, एकै सासमा। मुक्ति दाइ इमान्दार र लगनशील भएपनि धेरै सोच, चिन्तनमा रहिरहने भएकाले सानातिना धेरै गल्तिहरु अगाडि पनि दोहोरिएका थिए। तर यो त एउटा भयावह स्थितिबाट भाग्यवस जोगिएको क्षण थियो। मुक्ति दाइ डरले नीलो भए। दिनभरि घोस्सिएर काम गरिरहे।

मैले दिउँसो ब्रेक लिएको थिइनँ। त्यसैले बेलुकी अरुभन्दा एकघन्टा अगाडि नै लागेँ रुमतिर, बाटाभरि मुक्तिदाइकै चिन्ता गर्दै। रुम आइपुगेपछि मलाई अझ छटपटि भो। त्यो विशाल गल्ती थियो। मुक्तिदाइका लागि गल्ती थियो, मेरा लागि गल्ती थियो तर, जसको कम्पनी हो, उसका लागि त लापरवाही थियो। अन्जानमा गरिएको गल्ती क्षम्य हुन्छ, तर लापरवाही ? अहँ, लापरवाही क्षम्य हुँदैन। कुनै कामदारले झाडु लगाउन बिर्सियो भने त म्यानेजमेन्टमा त्यत्रो हाहाकार मच्चिन्छ। आजको घटना त आगोसँग जोडिएको छ। लापरवाहीको उत्कर्ष ठान्नेछ म्यानेजमेन्टले। मलाई बडो दिक्दारी लागेर आयो। के सोच्दै होलान् मुक्ति दाइ ? के उनी सात दिनका लागि बेतलबी निलम्बनमा पर्लान् ? एक महिनाका लागि ? त्यतिसम्म त सहलान्। तर…मुलुक फर्काइए भने ? ओहो ! यतिखेर मुक्तिदाइ यस्तै यस्तै मुटु कम्पन हुने सजायहरुका बारे सोच्दैहोलान्। तर, फेरि एकमनले सोचेँ, आ ! मुलुक फर्काइदियो भने झन् खुसी होलान् नि मुक्ति दाइ। परिवारको सम्झनामा प्रत्येक रात सिरानी भिजाएका छन्। यो सोचाइले मेरो मन केही शान्त भयो।

समयभन्दा केही अघि नै मुक्ति दाइ ढोकामा देखिए। हातमा एउटा खाम थियो। मलाई देख्नासाथ उनी भक्कानिए। आँसुका ढिका बरर खस्न लागे। उनको मुहार मलिन थियो। झन् झन् मलिन बन्दै गयो। मुक्ति दाइको यति मलिन मुहार मैले पहिले देखेको थिइनँ। सिरानीमा घोप्टिएर रुँदाको अनुहारमा पनि नियास्रोको आँसु हुन्थ्यो। तर, आज बगिरहेको आँसु नियास्रोको थिएन, चिन्ताको थियो। खाम खोलेर हेर्न मलाई ठूलै आँट चाहियो। के होला यसभित्र ? तलब बाट हर्जाना काटिने सूचना ? केही दिनको निलम्बन ? अथवा घर फिर्ति टिकट ?

आखिर मेरो अपशकुन सोच सत्य निस्कियो। म टिकट हेरेर टोलाइरहेँ। हेरेँ, उनको अनुहारमा छोरो भेट्न पाउने उत्साह पटक्कै छैन।

16 comments to कथा : छैन उन्मुक्ति

  • Kamal

    सारै राम्रो मन छुने कथा आज पढ्न पाइयो . प्रमोद जी आगामी दिन हरुमा पनि येस्तै मार्मिक कथा हरु पढ्न पाऊ. धन्यबाद

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Sunita pantha

    मन छुने कथा पढ्न पाइयो, हामी नेपालीको बिबश जिन्दगी…

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • देवेन्द्र कार्की

    मन छोयो कथाले|

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 1

  • jagan karki

    मन छुने मार्मिक कथा!

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • shashi

    सम्झिल्याउँदा उता बाख्राका लागि बनाइदिएको खोर पनि घरजस्तो लाग्ने। यता आफ्नालागि बनाइदिएको घर पनि खोरजस्तो।

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 0

  • sunil

    देश को अवस्था देख्दा मुक्ति दाई मात्र होइन उनका छोरा र नाती को पनि यस्तै खाडी मा रुने दिन आउन सक्छ …देश मा जहिले सम्म स्थिर सासन र असल नेता हुदैनन् …विदेश बाट कमायको पैसा घर बनाउन र बेहे गर्न मा नासिदेउनु तेस्लाई कुनै बिकाश निर्माण वा बायापर गर्न मा लगाउनु पर्छ ….देश बाट जनता राम्रो हुने होइन हरेक जनता आफु मा सच्हम भय भने देश आफै बन्छ …नेता हरु को पछि लागे मा ५० वर्ष मा नि बन्दैन…….तेसैले आफु मुक्त दाई जसो भय नि छोरा छोरि लाई राम्रो सिछा दियर गरिबी बाट सदै को लागि मुक्त पाउनु …….सोच्ने बेला आइ सक्यो नत्र ढिला हुन्छ …..जय नेपाल………

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 0

  • Ravi Aryal

    कथा पढेर मन नै कटक्क भयो,यस्ता कुरा हरु धेरै नेपालीका बिबसता हुन्,गरिबी र बेरोजगारी जबसम्म रहन्छ तब सम्म यस्ता कथा हरु धेरै लेखिने छन

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 0

  • मर्म स्परसी,सत्य कहानी,प्रत्यक प्रबासी नेपालि को काहानी,धेरै मन छोयो,पढेर मुटु ढुक्क फुलेर आयो गला अबरुद्ध भयो,
    आशिस
    स्विस

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 1

  • Bhawana Rana

    कथा सारै मार्मिक लाग्यो, हामी नेपाली हरुको पिडा चाहे अरब को खाडी मा होस् चाहे अमेरिका को न्यु योर्क मा होस् यो समस्या हामी सबै नेपाली हरुको साझा समस्या हो के गर्ने येस्तई छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 3

  • द्रोण

    लघु कथा :मुक्ति
    दिनभरी को थकान ,भोको पेट ,आइते लामा लाइ निद्रा परेंन | चार जना लाला बाला ,एउटी जहान सबै आधि पेट खाएर सुतेका,तैपनि भुसु भुसु निद मा थिए |उनीहरु एउटा जिम्बेबार अभिभाबक पाएर निश्चिन्त छन् ,बर्तमान र भबिस्य प्रति सुरक्षित अनुभूति गरिरहेछन |
    आइते सोचिरहेछ के साचिकै होला त् ,हसिया ,हथौडा को रातो पम्प्लेट बाढ्ने हरुको कुरा ?
    आफुले कमाएको साहुको बारीमा आफ्नो हक लाग्ने ,आफुले पनि उ सरह अन्न भित्र्याउनु पाउने ?
    भोलि नेताजी सग भेटेरै छिनो फानो गर्नु पर्यो | यदि साचो हो भने ,किन समर्थन न गर्ने ?
    सधै को यो दुख ,भुकमारीर अभाब कत्ति खेप्ने !!
    x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x xx
    ओहो आइते दाइ पनि आउनु भएछ |छोड छोड केटा हो बाटो छोड दाइ सायद नेताजी
    सग भेट्न चाहनु हुन्छ |”सलाम कमरेड बिर ” एउटा चुस्स दारिपालेको बयस्क मान्छे ले उसलाई सम्बोधन गर्छ | केटाकेटी देखि सबले आइते भन्दै बोलाएको कतै नेता जी झुक्कियेंन उ विस्मित भाब ले हेर्छ | ”छक्क पर्नुपर्दैन दाइ ,माने यहा सबैको नाम चेन्ज गरिएको छ ,उहा बिरधोज हुनु हुन्छ ,उहा बादल जी” |
    बडो ससम्मान आफै नजिक बसाउदै ,हात मुसार्दै ”दाइ हामि सबलाई दाइ ले नै बचाउनु पर्यो दाइ !दाइ जस्तो अनुभबी ,साहसी यो गाउमै छैन |हामि मोर्चा बद्द छु ,अहिले लाइ हामि यहा बाट हिड्न मिल्दैन ,परि डाडामा हाम्रा जवान हरुलाई औसधि र रसद को यो डोको पुर्याउनु पर्यो |दाइ हाम्रो यो लडाई हाम्रो आफ्नो लागि हैन , बर्सौ देखि उत्पीडित ,सोसित गरिब हरुको लागि हो |”
    नेताजी को अन्तिम बाक्य उसलाई प्यारो लाग्यो ,सबै प्रश्न को जबाफ मिल्यो | एस्तो
    सब को भलाइ हुने काम मा किन सहयोग न गर्ने ?गर्नु पर्ने नै के हो र ?
    x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x x
    ये रोक रोक ,त्यो डोको बोक्नेलाई रोक !ये एसको डोकोमा त् बम पोरहेछ |
    आइते झस्किन न पाउदै , आर्को आवाज आयो यो आतंक बादी रहेछ ,ठोक!!
    त्यो पनि सकिन न पाउदै ,बन्दुक पड्कियो !!
    आइते समय न पुग्दै ड्याम्म ढल्यो ,गोलीको भन्दा आर्कै पिडा ले सतायो आइतेलाई | आसु ले अखा रसाए , ति कलिला बाल बचा ,निर्दोस जहान को अनुहार सबै को चित्र उसको आखा मा आयो |हिजो पनि भरपेट खान न पाई सुतेका ,आज दिनभर बाउकै बाटो हेरेर बस्दा हुन् |मुख बाट रगत सगसगै यी पिडा हरु निस्के |येसरी आइते ले गरिबी र दुख बाट मुक्ति पायो |

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 1

  • binita

    कथा राम्रो छ सरल भाषामा नेपाली को बाध्यता र तितो यथार्थता झल्केको छ | प्रमोद जी यसै को पूर्णतामा अर्को कथा नेपालमा गएर तरकारी खेति, पशुपालन वा फलफुल खेति केहि गरेर प्रगति गरेको (साचिकै गरेका छन् कतिले) बारेमा लेख्नु भयो भने समस्या को समाधान पनि देखिने र प्रेरनात्मक हुन्थ्यो कि ?

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 0

  • Bino, Italy

    केहि कुरा रिमिक्स गरे जस्तो लागे पनि कथा धेरै मार्मिक छ l मन छोयो l खाडीमा मात्र होइन गरिब देशका जनताहरु संसारका जुनसुकै देशमा पनि रोएकै छन् l जहाँ गए पनि एक्लोपनको आभाष अनि गरिबीको चित्कार शिवाय सुन्नु पाईदैन l आशा छ यस्तै यथार्थ परक कथाहरु फेरी पनि पढ्न पाइनेछ l
    प्रमोद अधिकारी जी शुभकामना एवं धन्यवाद l

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 0

  • krish

    कथा राम्रो छ . बिदेशियाका हरु को पिडा !!!!!!!!!!!!!!!!!!!!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

  • prakash

    धेरै समय पछि सनिबार राम्रो कथा पढ्न पाईयो ……….Good job promod ji

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 0

  • Dipson

    यो देश भित्रै रोजी रोटि को बेवास्ता कहिले हुने ? कति दिने मुक्ति दाईहरु खाडी मा रुने ? कठै तिनको (हाम्रो) राष्ट्रिय स्वाभिमान |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 53 Thumb down 1

  • Basanta bikram bogati Korea

    धेरै राम्रो छ प्रमोद जी . अरु पनि लेख्दै गर्नु ल

    मन परे हरियो नपरे रातो ! Thumb up 28 Thumb down 0