मेरो Tweet

  • नर्वे दूतावास तनावमा। Deputy Head of Mission Håkon Arald Gulbrandsen का अनुसार राजदूत Kjell Tormod Pettersen विदामा छन्।

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

पुस्तक अंशः खोज (भाग ४)

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक आइतबार प्रकाशन हुँदैछ। गत हप्तादेखि खोजको सुन्ने किताबको अंश पनि राख्‍न थालेको छु। सुन्ने किताबको अडियो यो ब्लगको सबैभन्दा पुछारमा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ तेस्रो भाग यहाँ

यसो भए कसो होला?
-कर्ण शाक्य-

आखिर किन यो देश समस्याको महासागर बन्न पुग्यो? हामी खराब मानिस होइनौँ, नराम्रा मानिस होइनौँ। देशमा स्रोत र साधनको कमी छैन। हामीमा धर्मप्रति आस्था छ, हाम्रो इतिहास छ र हामीमा विवेक छ। यति हुँदाहुँदै पनि किन हामी समस्याको दलदलमा फसिरहेका छौँ? पैसाका लागि भनेर हामी ज्यान फाल्दैनौँ। भौतिक धन नभए पनि हामी सुखी भएर बाँचेका थियौँ र बाँची नै रहेका छौँ। हामी आफ्नो देशलाई चटक्क छाडेर जान सक्तैनौँ। आफ्नो परिवारलाई माया मार्न सक्तैनौँ। यो देशमा धर्म र जातको नाममा एक थोपा रगत अहिलेसम्म बगेको छैन। बिग्रेको लट्टाईको धागोजस्तै गरी अल्भि्कएका समस्याहरूको गाँठोमा के त्यस्तो कारण भयो र हामी दुःख नपाउनुपर्ने अवस्थामा पनि दुःख पाएर बाँचिरहेका छौँ? हामीले आफ्नै नजरबाट अरूलाई हेर्न सकेनौँ कि? हामीले आफ्नो स्वार्थबाट माथि उठेर अरूको समस्यालाई अनुभव गर्न सकेनौँ कि? यसमा मैले धेरै सोचविचार गरेँ। घुमिफिरी, दायाँबायाँ, माथितलबाट विचार गर्दा मलाई यही कारण नै महत्वपूर्णजस्तो लाग्यो। हो, हामी अरूले गरेका भूललाई तुरुन्तै कोट्याउँछौँ, तर आफ्नो भूल कहिल्यै चाल पाउँदैनौँ।

हामीले कसैको आलोचना गर्दा वा कसैसित हामी रिसाउँदा एकचोटि उसको आँखाबाट आफूलाई हेर्न सकेका भए सायद हाम्रो रिस कम हुने थियो कि? त्यो मानिस किन मसित रिसाएको होला भनेर एकैछिन विचार गरी उसको दृष्टिबाट आफूले गरेका कमी–कमजोरी वा भूललाई आफैँले एकचोटि मूल्याङ्कन गरेको भए, ‘ओहो! मैले त भूल गरेकै रहेछु नि, त्यसैले ऊ मसित रिसाएको रहेछ’ भन्ने भान आफूलाई पर्ने थियो र अरूसित रिसाउने अवस्था नै आउने थिएन।

हामी दुई दाजुभाइको परिवार ५५ वर्षसम्म सँगै बस्यो। संयुक्त परिवारमा बस्ता कहिले श्रीमतीले, कहिले छोराछोरीले फलानाले यसो गर्‍यो र फलानाले उसो गर्‍यो भनेर गनगन नगरेका होइनन्। तर त्यो गनगन कति हदसम्म सत्य हुन सक्छ र कति हदसम्म झूट हुन सक्छ भन्ने कुरामा आफ्नो विवेक प्रयोग गर्न नसकिएको भए घरमा झगडा सुरु हुन सक्थ्यो। कहिलेकाहीँ साथीभाइहरूबीच कुरा हुँदा पनि फलानोले तिमीलाई यसो भन्यो र त्यसो भन्यो भन्ने गरिन्छ। त्यसो भनेको हो कि होइन भनेर थाहा पाउन कि त हामीले सिधै सम्बन्धित व्यक्तिलाई सोध्न जानुपर्‍यो, कि त त्यो व्यक्तिले त्यसो भनेको हुन सक्छ कि सक्तैन भनेर आफ्नो अन्तरात्माले निर्क्योल गर्नुपर्‍यो। अन्यथा मैले त्यसलाई के कुराले चित्त दुखाएको रहेछु भनेर आत्ममूल्याङ्कन त गर्नैपर्‍यो। नत्र मलाई लाग्छ एउटा सभ्य मानिसलाई कसैको कुरा सुनेर एकैचोटि अरूसित रिसाउने अधिकार छैन।

यस्तै सन्दर्भ विचार गरेर मैले एउटा यस्तो फिल्म बनाउने विचार गरेकोे थिएँ जसमा सोचलाई विभिन्न धारबाट हेरिन्छ, आफूले आफैँलाई अनुभूत गरिन्छ, म ठीक छु कि छैन भनेर जाँचिन्छ। हुन त अधिकांश सामाजिक फिल्महरूमा थुप्रै नैतिक कुराहरू हुन्छन्, तर निर्देशकहरूले फिल्मलाई एउटै धारबाट मात्र बनाउने हुँदा दर्शकहरूले विषयवस्तुको अर्काे धारको सम्वेदनशीलतालाई अनुभव नै गर्न सकेका हुँदैनन्। एउटा फिल्ममा एकजनालाई हिरो बनाइदिएको हुन्छ, अर्काेलाई भिलेन। तर हिरोलाई असल बनाउँदा हिरोका कमी–कमजोरीलाई लुकाएर खालि बिचरो भिलेनलाई मात्र खराब बनाउने कोसिस गरिएको हुन्छ।

मानिसले भूल र सुधारका पक्षहरूलाई विभिन्न कोणबाट अध्ययन र अनुभव गर्ने हो भने कथाका दुवै पाटालाई तुलनात्मक दृष्टिकोणले एकैचोटि प्रस्तुत गर्दा त्यो बढी प्रभावकारी हुन सक्छ। अन्यथा मानिसले चाहँदाचाहँदै पनि निर्णायक पलहरू थाहा पाउन सक्तैन। पल र क्षणहरूमा गरिने साना–साना निर्णयले पनि जसरी इतिहासको धार बदलिन्छ, त्यसरी नै हाम्रो दैनिक जीवनको चक्र पनि फेरिने गर्छ। एउटा क्षणमा गरिने नकारात्मक निर्णयले गर्दा लोग्नेस्वास्नीको पारपाचुकेदेखि लिएर अंशबन्डाको क्रममा एउटा दलिनका निमित्त एउटै पेटबाट निस्केका दुई दाजुभाइ शत्रु–शत्रु बनेर काटमार गर्न सक्छन्।

समाजमा राम्रा र नराम्रा दुवैथरी मानिस हुन्छन्। नायक पनि हुन्छन्, खलनायक पनि हुन्छन्। तर नायकभित्र पनि खलनायकको मानसिकता हुन्छ र खलनायकको ह्दयमा पनि नायकको संवेदनशीलता हुन्छ। यसमा कुनै शङ्का छैन। तर अधिकांश मानिस खतम नै भन्न लायक हुँदैनन्। परिबन्दले कहिलेकाहीँ मान्छेलाई बिगारिरहेको हुन्छ। मलाई लाग्छ, यस्तो सम्वेदनशील परिस्थितिमा एकले अर्कालाई चिन्न र आफूले आफैँलाई चिन्नका लागि पनि कहिलेकाहीँ अरूको दृष्टिकोणबाट आफूले आफ्नो मूल्याङ्कन गर्नुपर्छ।

मेरो विचारमा विवेक भनेकै यो हो र सभ्यता भनेको पनि यही हो। मेरो गोरुको बाह्रै टक्का भन्ने खालको दृष्टिकोणले सबैजना यस्तै हुनुपर्छ भनी सोच्ने मानिस या त ‘इनोसेन्ट’ हुन सक्छ या त ‘इग्नोरेन्ट’। ‘इनोसेन्ट’लाई पनि सम्हाल्न सकिन्छ। ‘इग्नोरेन्ट’लाई पनि बुझाउन सकिन्छ। त्यसका निमित्त हामीले उनीहरूलाई बाटो देखाउनुपर्छ। मलाई लाग्छ, हामी धेरैजसो या त ‘इनोसेन्ट’ भएका छौँ या त ‘इग्नोरेन्ट’। हामीले भावनात्मक र व्यावहारिक पक्षलाई खोज्ने हो भने हामी हाम्रो समाजलाई धेरै हदसम्म बदल्न सक्छौँ र देशको पुनर्निर्माण गर्न सक्छौँ।

यही भावनाबाट अभिप्रेरित भई मैले मानिसको सकारात्मक र नकारात्मक पक्षलाई दर्शाउने फिल्म बनाउने हो कि भनी नेपालको रजतपटमा लागेका वरिष्ठ निर्देशक, कलाकार र अन्य व्यक्तिहरूसित कुरा गरेको थिएँ। मानिसको व्यक्तित्वका दुई पाटालाई एकैचोटि तुलनात्मक दृष्टिकोणले प्रस्तुत गरिएको फिल्म अहिलेसम्म कमसेकम नेपालमा बनेको छ जस्तो मलाई लाग्दैन। अङ्ग्रेजी भाषामा चाहिँ जेकिल एन्ड हाइड जस्तो मानसिक रोगीहरूको फिल्म बनेको छ, जसमा एकैजना मानिसभित्र लुकेका विकृत मनस्थितिहरूलाई तुलनात्मक अध्ययन गरी प्रस्तुत गरिएको छ। त्यस फिल्मको सफलतापछि त्यसकै आधारमा ‘बाइपोलार’जस्तो मानसिक रोगको विषयलाई लिएर मानसिक व्यक्तित्वको ध्रुवीकरण देखिने थुप्रै फिल्महरू बनेका छन्।

तर मैले यहाँ प्रस्तुत गर्न खोजेको कथानक चलचित्रको आशय अर्कै छ। मैले सोचेको चलचित्रमा कथा एउटै हुन्छ, पात्र पनि त्यही हुन्छ, परिवेश पनि त्यही हुन्छ तर सोच र प्रस्तुतिमा मात्र फरक हुन्छ। ‘हुन्छ’ भन्नुपर्नेमा ‘हुँदैन’ र ‘सकिन्छ’ भन्नुपर्नेमा ‘सकिँदैन’जस्ता नकारात्मक उत्तर दिइयो भने कहिलेकाहीँ परिस्थिति र परिवेशबीच आकाश र जमिनको फरक पर्दो रहेछ। फिल्मनिर्माणको

क्षेत्रमा यो प्रयोग नौलो हुन सक्छ, तर मलाई एकचोटि यो अभ्यास गर्नैपर्ने जस्तो लाग्छ। फिल्म बनाउने मेरो पेसा होइन र यो पेसामा लाग्ने कुनै योजना पनि छैन। मैले एकचोटि जोस चलेको बेलामा भिक्षु अमृतानन्दको जीवनीबारे डकुमेन्ट्री बनाएको थिएँ। क्यान्सरविरुद्ध चेतना जागरण गर्ने क्रममा सन्तोष पन्तसित मिलेर ‘दोषी को?’ नामक शृफ्ला पनि बनाइयो। तर एक्लैले सिनेमा बनाउने विचार भने कहिल्यै आएन।

यसै सन्दर्भमा मानिसका हरेक पलहरूलाई पहिचान गरी ‘यसो हुनुको सट्टा त्यसो भए कसो होला’ भन्ने किसिमको फिल्म बनाउनका लागि मैले सन्तोष पन्त, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नीर शाह र किरण खरेलसित सल्लाह गरेँ। उहाँहरू सबैले यो प्रयोगात्मक विषयलाई ‘एकदम राम्रो’ त भन्नुभयो, तर उहाँहरूको व्यस्तताका कारण आवश्यक सहयोग प्राप्त हुन नसक्ता मैले आँट गर्न सकिनँ। यस प्रयोगात्मक फिल्मलाई मैले आफ्नातर्फबाट पाँच–छ लाख रुपियाँ खर्च गर्ने निधो पनि गरेको थिएँ, तर फिल्मलाई स्तरीय बनाउन कमसेकम तीस–चालीस लाख रुपियाँ लाग्ने भएको हुँदा सामाजिक चेतना जागरण गर्ने समाजसेवाका लागि मात्रै एक्लैले त्यति ठूलो धनराशी खर्च गर्ने आँट ममा आएन। पछि के हुन्छ, थाहा छैन। तर अहिले म विभिन्न फिल्मनिर्माताहरूलाई ‘यसो भए कसो होला’ भन्ने सोचको तुलनात्मक वृत्तचित्र बनाइदिन पहल गरिरहेको छु।

यो प्रयोगमूलक फिल्मको प्रस्तुतीकरण आफ्नै खालको मौलिक हुनेछ। फिल्मको मूल कथा एउटै हुनेछ। पात्रहरू पनि तिनै हुनेछन्। भूमिका त्यही हुनेछ। मात्र फरक हुनेछ बोलीवचनको परिवर्तनमा र सोचको धारमा। यस फिल्ममा मध्यान्तर नभएसम्म कथाको एउटै पक्षलाई मात्र देखाइनेछ। अनि मध्यान्तरपछि सोही फिल्मलाई विस्तारै ‘रिवाइन्ड’ गरी सुरु भएकै दृश्यमा एकछिन टक्क रोकेर सुरुदेखि त्यही दृश्यबाट फेरि त्यही कथा नयाँ रूपबाट प्रस्तुत गराइनेछ। पात्रहरू तिनीहरू नै हुनेछन्, पात्रको भूमिका त्यही हुनेछ, सम्बन्ध र दृश्य पनि त्यही हुनेछ। तर फरक एउटै कुरामा मात्र हुनेछ, त्यो हो कथा पहिले नकारात्मक धारबाट सुरु भएकोमा मध्यान्तरपछि तिनै पात्रहरूले सकारात्मक व्यवहार गर्दा कथाको अन्त कसरी हुन्छ भन्ने कुरा प्रस्तुत गरिनेछ।

यसरी बनाइने यो नौलो फिल्मको प्रस्तुतीकरणमा हरेक समसामयिक विषयवस्तुलाई समेट्न सकिनेछ। फिल्मलाई कम लागतमा निर्माण गर्नका निमित्त पुराना–पुराना सान्दर्भिक गीतहरू पनि समावेश गरिनेछ। उदाहरणका रूपमा यहाँ म एउटा घरायसी कथाको सारांशलाई प्रस्तुत गर्दछु।

दृश्य : काठमाडौँको एउटा राम्रो घर। पात्रहरू : भर्खर–भर्खर सांसद् भएको एउटा नेता, नेताकी उत्ताउली श्रीमती र युवा छोरा। सांसद्ले आफ्नो इज्जत राख्नका निमित्त महिनाको दस–पन्ध्र हजार दाम तिरेर एउटा घर बहालमा लिएको हुन्छ। नेताको पृष्ठभूमि राम्रै हुन्छ। राम्रो भाषण गर्न जान्दछ, कार्यकर्ताहरूमा राम्रो पकड छ र कुनै पनि बेला मन्त्री हुने सम्भावना छ।

फिल्म सुरु हुनुभन्दा पहिले सांसद्की श्रीमती ऐनाअगाडि बसेर ‘छोरीभन्दा आमा तरुनी लिपिस्टिक पाउडरले’ भन्ने कुमार बस्नेतको गानाको पृष्ठभूमिमा सिँगारपटार गरिरहेकी हुन्छे। कोठाको सोफामा डम्म फुलेको नेता बसेको हुन्छ। एकछिनपछि चिटिक्क परेको सारी लगाएकी श्रीमती आइपुग्छे र भुइँमा टुक्रुक्क बसेर छोराको विवाहको बन्दोबस्तीका लागि श्रीमान्सित सरसल्लाह गर्छे। भर्खर बी. ए. पास गरेको छोरो कम्प्युटरको टेबलमा बसेर आमा र बुबाले आफ्नो बिहेका लागि गरेको कुरो सुनिरहेको हुन्छ। पाहुनाहरूको नाम टिप्तै आमा भन्छे, ‘यसपालि छोराको विवाह धुमधामसित गर्नुपर्छ। कति–कति मिहिनेत गरेपछि भर्खर सांसद् भएर आइयो। अब काठमाडौँजस्तो ठूलो सहरमा आफ्नो राजनीतिक वर्चस्व त कायम गर्नैपर्‍यो। छोराको विवाहका नाउँमा ठूला–ठूला नेता, साहु–महाजन र व्यक्तित्वशाली मान्छेहरूलाई बोलाएर हामी पनि समाजका प्रतिष्ठित व्यक्तिमा गनिनुपर्छ।’

आमालाई साथ दिँदै अहिलेसम्म दुई पैसा नकमाएको अल्लारे कलेजको केटो भन्छ, ‘हो ड्याडी! मेरा साथीहरू पनि तिमी त भावी मन्त्रीका छोरा, भारेभुरे किसिमले कसरी विवाह गर्ने भन्छन्। ड्याडीको स्तरअनुसार चार अथवा पाँचतारे होटलमा त पार्टी गर्नैपर्‍यो नि!’ सांसद् पनि स्वास्नी र छोराको कुरा सुनेर दङ्ग हुँदै भन्छ, ‘ल–ल, धुमधामसित गर्ने भए धुमधामसितै गराँै न त! यस्तै बेलामा त हो नि ठूलाबडाको नजिक पुग्ने! बिहेको निहुँमा यहाँका साहुमहाजनसित राम्रो सम्बन्ध गाँस्न सकियो भने पछि चुनावको समयमा चन्दासन्दा पनि उठाउन सकिन्छ।’

अर्को दृश्य। सांसद् बाबुले पाँचतारे होटलमा आफ्नो छोराको विवाहको रात्रिभोज धुमधामसँग गरिदिन्छ। भोजमा प्रधानमन्त्रीदेखि गन्यमान्य व्यक्ति र ठूलाठूला महाजनहरू पनि आउँछन्। आधुनिक सङ्गीतको धुनमा सांसद्का अल्लारे छोराका साथीहरू तालबेतालले नाचिरहेका हुन्छन्।

सांसद्लाई बुहारी पनि ठूलै घरानाकी पाइन्छे। विवाहपश्चात् दुलही भिœयाइन्छ। विवाहको एक–दुई दिनसम्म त रमाइलै हुन्छ। सबैजना आ–आÏनो तरिकाले फुर्तिफार्ती गरी रमाइलो गरिरहेका हुन्छन्। विवाहको केही दिनपश्चात् बुहारी अबेरसम्म सुतेकी देखेेर सासूले छोराबुहारीको कोठाको ढोका घचघच्याउँदै भन्छे, ‘कति अबेरसम्म सुतिरहेकी! बुहारीमान्छे पनि यस्ता अल्छी हुन्छन्?’

आँखा मिच्तै बुहारीले आफ्नो लोग्नेलाई भन्छे, ‘कस्ता मान्छेहरू होलान्, विवाह गरेको दुई दिन भएको छैन कति चाँडै काम गराउनुपर्ने!’ फेरि लोग्नेलाई चेतावनी दिँदै स्वास्नी भन्छे, ‘हेर्नुस् है, म पनि घरानियाकी छोरी। यहाँ भाँडा मा‰न, नोकर बन्न आएकी होइन। मलाई हेपियो भने म बाँकी राख्तिनँ नि!’

सासू–बुहारीबीचको असमझदारी यहीँबाट सुरु हुन्छ र दिन–प्रतिदिन तनाव बढ्दै जान्छ। छोरा आमाबाबुलाई पनि त्यति नै माया गर्छ र स्वास्नीलाई पनि छाड्न सक्तैन। आमा र स्वास्नीको तँछाडमछाडमा छोरोचाहिँ नराम्ररी पिल्सिन्छ। घरमा शान्ति हुँदैन। पछि विस्तारै छोरो भट्टीमा गएर रक्सी खाने काम सुरु गर्छ र सङ्गत नराम्रो भएपछि अन्तमा कुलतमा फस्छ। सांसद् पनि घरको खर्च धान्न नसकेर अनियमित काम गराई पैसा कमाउन खोज्छ। पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फेला पर्छ। अन्ततः घरको स्थिति अत्यन्त नाजुक हुन्छ। आमा र स्वास्नीको तनाव छोरो सहन सक्तैन। अन्त्यमा छोरोले आत्महत्या गर्छ। यो फिल्मको पहिलो भागको समाप्तिसँगसँगै मध्यान्तर हुन्छ।

मध्यान्तरपश्चात् फिल्मको रिल उल्टो घुम्छ। जुन दृश्यमा छोराले आत्महत्या गरेको थियो, त्यही दृश्यबाट छोरो उठ्छ। रिल विस्तारै उल्टो घुम्ने क्रममा आकाशवाणीबाट स्पष्ट एवं प्रभावशाली भाषामा समय र पलको परिवर्तनको महŒव दर्शाइन्छ। दर्शकलाई एउटा पल टीभी सिरियलमा जस्तै परिवर्तन हुँदा जिन्दगीको धार कसरी बग्छ भन्ने वास्तविकता बताउन ‘महाभारत’मा ‘म समय हुँ’ भन्दै इतिहासलाई कोट्याएजस्तै गरी यो फिल्ममा पनि त्यस्तै परिदृश्य देखाइन्छ। रिल उल्टो घु्म्दाघुम्दै फिल्म सुरु भएको प्राथमिक दृश्य आउनासाथ फिल्म एकछिनका निमित्त टक्क रोकिन्छ र त्यहीँबाट फिल्मको दोस्रो भाग सकारात्मक धारका साथ सुरु हुन्छ। त्यस बेला त्यही परिवारको जिन्दगीको महŒवपूर्ण पललाई फेरि प्रस्तुत गर्दै ‘यसो भए कसो होला’ ले कोल्टो फेर्छ। अब फेरि वार्तालाप सुरु हुन्छ :

दृश्य : कर्णदासको स्वरको ‘ठूला–ठूला महल होइन’ गीत गुनगुनाउँदै सांसद् कोठामा आइपुग्छ। सांसद्की श्रीमती आÏनो श्रीमान्लाई भन्छे, ‘हजुर, हामीसँग यो ठूलो घरमा बस्न आर्थिक क्षमता छैन। गाउँघरबाट हामीलाई भोट दिएर पठाउने इष्टमित्रहरू आउँदा उनीहरूलाई कहिलेकाहीँ दालभात खुवाउनुपर्छ। यस्तो ठूलो घरमा धेरै बहाल तिरेर बस्नुको सट्टा सानो घरमा डेरा गरी बसियो भने बहालको पैसाले इष्टमित्रको सत्कार गर्न सकिन्छ। यसो गरे कसो होला?’

सांसद्ले भन्छ, ‘ठीक भन्यौ बूढी, हामी चाँडै सानो घरमा बस्न जाऊँला र छोराको विवाहको बन्दोवस्त पनि त्यहीँबाट गरौँला।’

सांसद्की श्रीमती छोराको विवाहको कुरा सुन्नासाथ खुसी हुँदै भन्छे, ‘छोराको विवाह वैदिक विधिअनुसार मितव्ययिता अपनाएर गर्नुपर्छ। तपाईँ सांसद् हुनुभएकोले गर्दा पनि हामीले नीतिनियममा बाँधिएरै काम गर्नुपर्छ। कानुनले जतिजना मान्छे भोजमा बोलाउनु भनेको छ, त्यति मात्रै बोलाउनुपर्छ। हामीले नै मितव्ययिता नअपनाए अरू कसले अपनाउँछ?’

छोरो भन्छ, ‘हो ड्याडी! म त देखासिकी पाराले विवाह गर्न चाहन्नँ। बस्, वैदिक धर्मअनुसार मन्दिरमा गएर आफ्ना आफन्तहरूलाई मात्रै बोलाई साधारण भोज गरेर विवाह गर्न चाहन्छु।’

श्रीमती र छोराको कुरा सुनेर दङ्ग पर्दै सांसद् भन्छ, ‘ल, मेरो मनकै कुरो तिमीहरूले बोलिदियौ। राजनीतिमा लागेका हामीजस्ता कार्यकर्ताहरूले फजुल खर्च गर्नु हँुदैन। आफूसित छ भने पनि गर्नु हुँदैन्ा। मानिसहरूले ‘यसले घुस खाएर यस्तो पार्टी गरेछ’ भनेर बदनाम गरिहाल्छन् नि!’

विवाह मन्दिरमा हुन्छ। दुलहीलाई घर भिœयाइन्छ। विवाह गरेको भोलिपल्ट दुलही बिहानै उठ्छे र घर सफा गर्न बाहिर जान खोज्छे। लोग्नेचाहिँ जीउ तन्काउँदै ‘कति चाँडै उठेकी? एकछिन बस न, हिजो त विवाह गर्‍यौँ’ भन्छ। स्वास्नी भन्छे, ‘आमालाई काम गराएर म कसरी कोठामा बसिरहन सक्छु? दिनभरि त फुर्सदैफुर्सद छ नि! कामसाम सिध्याएर म आइहाल्छु नि!’

नयाँ बुहारीले बिहानबिहानै घर बढार्न लागेको देखेर सासू माथिबाट भन्छिन्, ‘ल–ल, नयाँ बुहारीले पनि त्यस्तो काम गर्ने? पर्दैन–पर्दैन, अहिले सुत्न

जाऊ। हतार छैन।’ बुहारी भन्छे, ‘होइन हजुर, अहिले त काम गर्नु भनेकै एक्सरसाइज गर्नु हो।’

‘त्यसो भए हामी दुवैजना मिलेर सरसफाई गरौँ न’ भन्दै सासू पनि तल ओर्लिन्छे र दुवै सासूबुहारी सँगसँगै आनी छोइङको ‘फूलको आँखामा फूलै संसार’ गीत गाउँदै बढार्न थाल्छन्। एकैछिनमा नाच्तै–गाउँदै र हाँस्तै–खेल्दै सरसफाईदेखि लिएर चिया पकाउनेसमेतका कामहरू रमाइलो वातावरणमा सिध्याइदिन्छन्।

साँझपख छोरो आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा खान जाने प्रस्ताव राख्छ। श्रीमतीचाहिँ ‘बुबा र आमालाई एक्लै छाडेर कसरी जाने, उहाँहरूलाई लिएर जाने भए मात्र म जान्छु’ भन्छे। छोरा र बुहारीको गन्थन सुनेर सासू भन्छे, ‘हामी बूढाबूढी कहाँ रेस्टुरेन्टतिर घुम्न जाने! हामीलाई बाहिरको खाना पच्तैन। तिमीहरू खाएर आओ न!’

यसरी घरको वातावरण र परिवारबीच माया, प्यार र सद्भावना बढ्दै जान्छ। एकले अर्कालाई बुझेको हुन्छ। सबैजना अधिकार खोज्नभन्दा आ–आफ्नो कर्तव्य पूरा गर्न चाहन्छन्। रमाइलो र आनन्दको पारिवारिक वातावरणमा छोराले सजिलै कलेजको परीक्षा पास गर्छ र चाँडै जागिर पनि पाउँछ। सांसद्को इमानदारी देखेर विभिन्न पार्टीका नेताहरूबाट उसले नचाहँदा–नचाहँदै पनि उसलाई मन्त्री बन्ने प्रस्ताव आउँछ। तर उसले मन्त्री पद स्वीकार्दैन र एक सांसद् भएरै आफूसक्दो योगदान दिन तत्पर रहन्छ। कथाको सुखमय अन्त्य यहीँ हुन्छ।

यो त एउटा सानो पारिवारिक उदाहरण मात्र हो। समाजमा कतिपय यस्ता समसामयिक घटनाहरू घटिरहन्छन्। यस्ता घटनाक्रममा हरेक व्यक्तिले आफ्नो निजी स्वार्थलाई त्यागेर अरूले के भन्लान्, अरूलाई के होला भनेर सोच्ने अनि आफ्नो आँखाबाट मात्र होइन अरूको आँखाबाट पनि विषयवस्तुलाई हेर्ने हो भने जिन्दगीले दुःखी भएर बाँच्नुपर्ने अवस्था आउँदैन। सुख वा सफलताको कहानी जिन्दगीको हर विन्दुबाट सुरु हुन्छ। हर क्षणमा मानिसले सानो वा ठूलो निर्णय ग्ार्दै जानुपर्छ। जिन्दगीको बाटो राजमार्गजस्तो सिधा हुँदैन। केही क्षण हिँडेपछि त्यहाँ दोबाटा र चौबाटाहरू भेटिन्छन्। त्यस बेला कुन बाटो लाग्ने हो,

त्यो निर्णय आफ्नै हुन्छ। जिन्दगीको निर्णय पनि यस्तै पलबाट सुरु हुन्छ र यस्तै पलबाट अन्त्य हुन्छ।

फिल्म एउटा मनोरञ्जनको साधन मात्र होइन। आधुनिक समाजमा अधिकांश विकृतिहरू जन्मिनुमा नकारात्मक धारका फिल्महरूको पनि ठूलो भूमिका छ। यो तथ्यलाई हामी सबैले राम्ररी बुझेका छौँ। यही कुरालाई ध्यानमा राखेर नेपालमा शिक्षामूलक फिल्महरू पनि थुप्रै बनेका छन्। तर पनि म यहाँ कुन कुरामा जोड दिन चाहन्छु भने जब दर्शकहरू त्यस्ता नैतिक फिल्म हेरिरहेका हुन्छन्, त्यस बेला उनीहरू एउटा नायक वा सकारात्मक पात्रको छविमा आफूलाई मिसाएर र गाँसेर कथासँगसँगै स्वप्निल संसारमा उडिरहेका हुन्छन् र आÏनो अतृप्त चाहना फिल्मको पात्रबाट पूर्ति भएको देखेर आत्मरतिमा रमाइरहेका हुन्छन्। त्यस्तो एकसुरे अवस्थामा उनीहरूले आÏनो वास्तविकता र कमी–कमजोरीहरूलाई बिर्सिरहेका हुन्छन्। फिल्ममा देखाइएको जस्तो अवस्था र परिवेशमा आफूबाट दैनिक जीवनमा जतिसुकै भूलहरू गरिरहेको भए तापनि उनीहरूले आÏना भूलहरू बिर्सेर फिल्मका नायक वा अन्य सकारात्मक पात्रहरूका क्रियाकलापलाई मुक्तकण्ठले प्रशंसा गरिरहेका हुन्छन्। फिल्म हेर्ने क्रममा उनीहरूले कहिल्यै पनि आत्मालोचना गर्दैनन्, बरू फिल्मको कथावस्तुलाई शिक्षाप्राप्तिका लागि नभई मात्र एउटा मनोरञ्जनको माध्यमका रूपमा लिइरहेका हुन्छन्। फिल्म हेर्‍यो, सकिएपछि वाह–वाह भन्दै घर फर्कियो। बस्!

तर माथि उल्लेख गरेको प्रयोगमूलक फिल्ममा जस्तै यदि दैनिक जीवनका सानातिना घटनाक्रमहरूलाई लिएर फिल्म बनाउँदा तुलनात्मक दृष्टिकोणले तत्कालै ‘त्यसो भयो भने यसो हुन्छ र यसो भयो भने त्यसो हुन्छ’ भन्ने विवेचनात्मक निर्क्योल एउटै फिल्ममा प्रस्तुत गर्न सकियो भने र त्यो फिल्ममा समाजको धरातलीय वास्तविकतालाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सकियो भने, मलाई लाग्छ, कुनै पनि चिन्तनशील दर्शकमा केही न केही मनोवैज्ञानिक परिवर्तन आउन सक्छ। त्यति मात्र होइन, उनीहरू आÏना कमी–कमजोरीहरूसँग स्वयं साक्षात्कार गर्दै आत्ममूल्याङ्कन गर्न सक्छन् अनि जिन्दगीका मोडहरूमा कसरी अघि बढ्ने, कसरी अरूलाई बुझ्ने र कसरी अरूलाई सम्झने भन्ने खालका दार्शनिक प्रक्रियाहरूलाई पनि आत्मसात गर्न सक्छन्।

मलाई लाग्छ, यदि नेपालका रङ्गकर्मीहरूले यस्तै खालका समसामयिक विषयवस्तुहरूलाई तत्काल तुलनात्मक स्वरूप दिई फिल्माङ्कन गरेर प्रस्तुत गर्ने हो भने समाजमा सकारात्मक चेतनाको लहर ल्याउन सकिन्छ र बाटो भुलेका व्यक्तिहरूलाई सही बाटोमा ल्याउन मद्दत गर्न सकिन्छ। सन्त–महन्तहरूका धार्मिक र आध्यात्मिक प्रवचन मात्र सुनेर मानिसले ज्ञान प्राप्त गर्न सक्तैन। शिक्षामूलक किताब मात्र पढेर मानिस बुद्धिमान् हुँदैन। तर जिन्दगीको वास्तविक घटनाक्रममा आधारित श्रव्यदृश्यसामग्रीले मानिसको आँखा खोल्नमा मद्दत पुर्‍याउँछ जस्तो लाग्छ। मलाई आशा छ, एक दिन न एक दिन कुनै न कुनै फिल्मनिर्माताले यस्तो फिल्म निर्माण गर्नेछ, र मलाई विश्वास पनि छ, त्यस्तो खालको फिल्मले थुप्रै मानिसहरूको जीवनशैलीमा परिवर्तन ल्याउनेछ र फिल्म हेर्दाहेर्दै आफूले आफ्नै मूल्याङ्कन गरेर दर्शकहरू केही हदसम्म आफ्नो नकारात्मक पक्षलाई नियन्त्रण गर्न सक्ने क्षमता अभिवृद्धि गर्नेछन्। यो अहिलेको आवश्यकता पनि हो।

खोज सुन्ने किताब

सुमन खरेलको सुमधुर आवाजमा खोज सुन्ने किताबको दोस्रो अंश सुन्नुस्।

अथवा डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्

8 comments to पुस्तक अंशः खोज (भाग ४)

  • दयासागर

    प्रेरणा मुलक लेख तर के हाम्रो देश मा जातको नाममा एक थोपा रगत अहिलेसम्म बगेको छैन ? केहि महिना पहिले येही माई संसारमा कुनै माथिल्लो जातको ले चिया पसल मा एउटा दलित लाई कुटी कुटी मारेको होइन र ?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • jamuna

    धेरै राम्रो द्रिश्यनता दिनु भएको छ कर्ण शाक्य जी ले तर दृश्यमा कल्पेको जस्तै सबै मानिसहरु एकै पटक राम्रो (सकारात्मक) सोच राख्ने नभई दिन सक्छन / त्यसले गर्दा अल्प मत मा पर्ने राम्रा सोच भएका व्यक्तिहरु को प्रयास असफल हुन सक्ने डर हुन्छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • jitu

    कर्ण शाक्य जी को मेहेनतलाई यहाँ राखेर पढ्ने सुन्ने मौका दिनु भयकोमा mysansar लाई धन्यवाद. कर्ण जी ले भने जस्तै फिलिम, नाटक साँच्ची आवस्यक छ देशको लागि अहिले .

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 3

  • yam pun

    कर्ण जी को विचार नराम्रो हुदै होइन तर विचार लाई कार्यमा बदल्न सक्यो भने त्यो भन्दा उत्तम अरु केहि हुदैन! मैले भन्न खोजेको के हो भने कर्ण जी ले आफ्नै पैसा लगानी गरेर समाज सेवाको लागि कहाँ, कति कामहरु गर्नु भयो होला त? उहाको खोजको अघिल्लो अंशमा पुस्तक बेचेको फाइदा बाट तिलगंगा आखा अस्पताललाई १ लाख दिएको त पढेको हुँ! सात पुस्तालाई खान पुग्ने सम्पति छ भन्ने व्यक्ति बाट समाजले यति मात्रै आशा गरेको हुन्छर? खोइ, हाम्रो गाउ घर तिर खाडीमा काम गर्ने मान्छेहरुलाई पनि बाटो बनाउन, स्कुल बनाउन भनेर चन्दा माग्ने हो भने एक डेढ लाख त दिएकै हुन्छन! मानिस ठुलो दिल ले हुन्छ, धनले हुदैन!

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 3

  • कर्ण शाक्य जीको विचार र नेपाली समाजलाइ बिकाश गर्ने सोच अनि नेपाली धरातललाइ दुनियामा चिनाउने प्रयासलाइ कदर गर्दै धन्यबाद र सुभकामना, समाज बिकाशक लागि संचार मध्यममा कामगर्नेहरूले पनि धेरै सकारात्मक विचार र संदेश दिनु पर्छ / जस्तै सडक नाटक, चलचित्र, TV show , रेडियो, Fm ,आदि बाट संदेश दिन सकिन्छ / हालै आएको नेपाली चलचित्र I AM Sorry मा आर्यन सिग्देल taxi driver भै passenger को पर्खाइमा हातमा प्लास्टिकको गीलाशमा चिया पीई बसिरहदा केकी अधिकारि उसको नजिक गई होटेलसम्म लैजान आग्रह गर्छे अनि आर्यन हुन्छ भनि चिया गिलासलाइ बाटैमा फालेर taxi चलाउन तम्सिन्छ / यस्ता दृष्य दिनु हुँदैन , चिया गिलाशलाइ यौता dustbin मा फालेको देखाएको भय अति राम्रो संदेश हुन्थ्यो / अब देखि यस्ता जिम्येवारी व्यक्तिहरूले राम्ररी नियालेर संदेश दिनु होला.

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 0

  • vish

    नेपाली मात्र को लागि ठुलो प्रेरणा दिने पुस्तक . कर्ण शाक्य जीलाई धन्यवाद

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 7

    • aditya khanal

      vish , have you ever tried to apply the good stuff mentioned in the book in your day to day life???or just you have left comment for comment sake only.

      मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • [...] यहाँ। दोस्रो भाग यहाँ तेस्रो भाग यहाँ चौथो भाग यहाँ पाँचौँ भाग यहाँ परिवर्तनका पलहरू [...]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

eXTReMe Tracker