मेरो Tweet

  • झिलिमिली झिलिमिली ! बत्तीको झिलिमिली !! घरको छतबाट देखिएको झिलिमिली http://t.co/LYLyqL6Arr

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

कथा : प्रतिशोध

-शुषमा मानन्धर-

त्यहाँ सियो झरेपनि सुनिने निस्तब्धता थियो। मेरा त शब्दै हराएका थिए। गोमा ट्वाँ परेर हामीतिर हेर्दै थिई। जियाको अनुहारभरि आक्रोश देखिन्थ्यो। रीसले ऊ बोल्न सकिरहेकी थिइन। साथीहरूमध्ये ऊ अलि चाँडै रिसाउँथी। जब बढी रिसाउँथी, आवेशमा बोल्न सक्दिनथी। “हैन, तिमीले कसरी सह्यौ यो कुरा? के हाम्रो कुनै मन हुँदैन? टिट फर ट्याट, बुझ्यौ यस्तालाई त बदला लिनैपर्छ। मैले भए त… …।” रिसिएर बोल्दा उसको मुखबाट थुकका छिटासमेत निस्के।

“भैहाल्यो नि त। फेरि कुरा किन लामो बनाउने?” गोमाले बोलेकी लाग्छ, ऊ आफैँले पनि सुनिन। “तिमीलाई पर्‍या भए थाहा पाउने थियौ, मोटी।” जियाको रीस अझै मरेको थिएन। म केही बोल्नसक्ने मनस्थितिमै थिइनँ। दिमाग शून्य थियो। कोठामा भएका हामी साथीहरू चूपचाप एकअर्काको अनुहार हेर्दै थियौँ। बैनीले कोठामा चिया नल्याएकी भए हामीलाई अझैपनि त्यो स्थितिबाट निस्कन गाह्रो पर्थ्यो।

“दिदीहरूको निकै ठूलो मिटिङ्ग चलिरहेको जस्तो छ नि। डिस्टर्व भए, सरी है?” चिया टेबुलमा बिसाएर उसले पालैपालो हामी सबैको अनुहार हेरी। “केही छैन। अनि खै त तिम्रो चिया?” गोमाले प्रसङ्ग बदली। “माथि छ। चिसो होला है, खाइहाल्नुस्।” ऊ मास्तिर दौडी। चिया खाई सकेर दुबैजना उठे। सम्भवतः कुरा गर्नको लागि माहौल त्यति सहज नभएर पनि हो।

“स्वाती, मन कमजोर नबनाउनू। संसारमा केटो, ऊ मात्र छैन।” जियाले मेरो ढाड सुम्सुम्याई। मसँग कुनै प्रतिक्रिया थिएन। बस्, साथीहरू गएका हेरिरहेँ। दोस्रोपटकको यो टुटाइ अझ गहिरो थियो। दुवै साथीले छाडिगएका उदासीनता र आक्रोशले कोठाभित्रको उकुसमुकुस अझ गाढा बन्यो।

कोठामा फल्स हाल्दै गरेको नयाँ सारी बेडबाट लत्रिएको थियो। मेरा अरूसामान भुँईभरि छरिएका थिए। वास्तवमा आफ्नो लागि किनमेल नै पनि सकिएको थिएन। रहरले सजाउँदै गरेका सपना यसरी बीचैमा टुट्ला भनी सोचेकी पनि थिइनँ।

आखिर उसले मलाई अस्वीकार गर्‍यो किन, पन्छाउन खोज्दा पनि दिमागमा घरिघरि प्रश्न ठोक्किरहेको थियो। म नराम्री, नपढेकी वा छिल्लिएको पनि थिइनँ। आएका कतिपय प्रस्तावमा उसैलाई मात्र रोजेर पर्खिरहेकी थिएँ। दोस्रोपटक पनि उसले मलाई गरेको अस्वीकार मेरो लागि पीडाभन्दाबढी अपमान थियो। आफ्ना दुःख शब्दमा पोखेर रित्याउन सक्ने भए म पानामा रित्तिएर सजिलै हल्का हुन्थेँ, आँसुसँग पखालेर व्यथा बिर्सन्थेँ। अपमानले आहत् पीडाको ग्लेशियर मुटुभित्र जमेको थियो। त्यसलाई पगाल्न बेलाबेला बग्न खोज्ने आँसुलाई बलजफ्ती रोकिरहेँ। आफूलाई बाहिरबाट जति नै सामान्य देखाउने प्रयास गरिरहे पनि आफूभित्रका क्षतविक्षत सपनाभने मलाई बेचैन पारिरहेका थिए। यो छट्पटी छातीभित्र हुरहुरी बलेको थियो, कसैलाई पनि जलाउन उद्दत भएझैँ। तातिएको दिमागमा एउटै कुरा घुमिरहेको थियो, प्रतिशोध।

हिजै त हो रमिला दिदी आउनु भएको। अघिपछि हुँदो त, मैले नदेख्दा पनि कोट्याएर बोलाउने उहाँ, तर हिजो देखे नदेख्यै गर्नु भएको थियो। मैले नै बोलाएथेँ, “रमिला दिदी, एकाबिहानै, आज त अचम्मै भो नि।” उहाँ फिसिक्क हाँस्दै सिधै माथि भान्छामा उक्लनु भएको थियो। बिहेको कुरा चलिरहँदा जोडी जुराइदिने लमीको आफ्नो घरमा आउनु कुनै नौलो कुरा हुँदैन। त्यही भएर त्यो घटनालाई खासै वास्ता गरेकी थिइनँ।

साँझ घर फर्कँदा ममी हुनुहुन्नथ्यो। आउँदो हप्ता कुरा छिन्ने तयारीको लागि निस्कनु भएको होला भन्ने सोचेथेँ। चिया खाएर सारीमा फल्स हाल्दै थिएँ, बैनी कुराको पेरुँगो बोकेर आई। “दिदी, यो फोटोवाला दाइ त कत्ति नजाति हगि?” उसको फोटो औल्याउँदै बैनीले भनेकी थिई। नौ क्लासमा पढ्दै गरेकी बैनीको कुरामा हाँसो उठेको थियो, “किन, केही भनेछ कि तिमीलाई?”

“ल? तपाइँलाई थाहा छैन?” मेरो अनभिज्ञतामा भनुँ कि नभनुँ भन्ने दोधारमा उसले पुलुक्क मतिर हेरी। केहीबेर सोचेर उसले सुस्तरी भनी, “यसपालि पनि बिहे गर्दिन भनेका छन् रे नि।” औँलामा नराम्रोसँग सियोले घोपियो। मसिनो रगतको धारलाई अर्को औँलाले बन्द गर्दै उसलाई हप्काएथेँ, “के नचाहिने कुरा गरेकी? के आज अप्रिल फूल हो र? हेर, मसित यस्तो ठट्टा चैँ नगर है?” उसले सियोले घोपेको मेरो औँलामा टेप टाँस्दै भनेकी थिई, “काँ ठट्टा गर्नु दिदी? अघिबिहान रमिला दिदी आउनु भा…थ्यो, धेरै बेर कुरा गर्नुभयो। तपाईकेो चिना र फोटोहरू पनि फिर्ता गर्दै हामीलाई हतार भए अन्तै हेर्दा हुन्छ भनेर जानुभा…छ।”

मुटुमा एक्कासी धुलाम्ये आँधी उठेको थियो। आँखा भरिएर केही देखिनँ। आँखा मात्र हैन गला पनि भरिएथ्यो। बोल्न सकिनँ। फल्स राख्दै गरेको सारीलाई एकातिर पन्छाएँ। “ममी खै त?” विषयलाई तत्कालै मोड्ने त्यही एउटा कुरा देखेँ।

“एकैछिन काकीकहाँ पुगेर आउँछु भनी जानुभा…छ। ”

पछि ममीले पनि फर्केर कुटनीतिक शैलीमा यो कुराको पुष्टि गर्नुभयो, “अहिले बिहे गर्दिन भनेको छ रे। आ, भनोस् न त। खोजे त्योभन्दा राम्रो केटा जति नि पाइन्छ।” उहाँले आफूलाई ढाढस् दिन त्यसो त भन्नुभयो, मनभित्र कति धाँजा फाटेका होलान्, म सजिलै अनुमान गर्नसक्थेँ।

“त्यसो भनेर हुन्छ? यतिका दिन कुरा चलाएर अहिले पक्का गर्ने बेलामा त्यस्तो बेइमानी गर्न मिल्छ? केटी हेर्न आएकै दिन किन भन्न सकेन उसले।” ड्याडी पड्कनु भएको थियो। ममी उहाँलाई सम्झाउँदै हुनुहुन्थ्यो। म ड्याडीसँग सहमत थिएँ, बिहे गर्ने विचार नै नभए किन मलाई हेर्न आउनु पर्‍यो? हेरेको लगत्तै कुरालाई किन त्यहीँ टुंग्याएन? यत्तिका दिन कुराएर आज आएर यस्तो अपमानजनक निर्णय! ड्याडीले निकै ठूलो स्वरमा कुरा गर्न थाल्नु भएपछि उहाँहरूबीच बहस र विवाद बढ्ला भन्ने डरले म नबोली कोठा ओर्लेकी थिएँ। राती खान रुचि पनि भएन। दुख, पीडा, अपमान, जिज्ञासा र आफन्तले सोध्ने प्रश्नका पछाडि उठ्नसक्ने शँकाहरू एक आपसमा मिसिएर मन भारी हुँदै थियो। हिजोको रात काट्न साह्रै गाह्रो परेको थियो।


घरमा मेरो बिहेको कुरा चल्न थालेको सुँइको सबैभन्दा पहिला बैनीले नै दिएकी थिई। रमिला दिदीले ल्याउनु भएका केही फोटोहरू मैले पनि हेरेथेँ। मलाई ऊ नै चित्त बुझ्यो। काठमाण्डुमा खानदानी परिवारको ऊ निकै सुदर्शन र व्यक्तित्वशाली थियो। पहिलो दृष्टिमै प्रेम भनेझैँ, मैले उसको फोटोसँग नै मन हारेकी थिएँ।

घरमा रमिला दिदीको आउने क्रम निकै बढ्यो। उसकाबारे सुन्दासुन्दा ऊ हरेक पल मेरो कल्पनामा आउन थालेकोथ्यो। हररात ऊ मेरो सपनामा आएर मनपरि गर्न
खोज्थ्यो। …बिहेपछि मात्र’, सपनामै समेत पनि म लजाउँदै टार्थेँ उसलाई। बिहेको कुरा चलेको दुईमहिना पनि नबित्दै कुरा जति तीव्रतामा अगाडि बढेको थियो, त्यही अनुपातमा सेलाउँदै पनि गयो। रमिला दिदीको आवतजावत एक्कासी कम भयो। एकदिन बाटोमा भेट्दा उहाँलाई जिस्काएँ पनि, “रमिला दिदी, तपाईँ त हराउनु भयो नि।”

“कहाँ हराउनु र?” तर उहाँले लामो कुरा गर्नु भएन।

त्यही दिन घरमा बिहेको पहिलो कुराकानी विना कारण फासफुस भएको थाहा भयो।
त्यसपछि पनि बिहेका प्रस्तावहरू नआएका होइनन्, मैले मन दिइनँ। उसमाथि पनि उमेर बितिहालेको थिएन। वर्षदिनपछि रमिला दिदीको प्रयासमा ऊसँगको मेरो कुरा फेरि बौरियो। हुन त, यसपालि पनि कुराकानी खासै जमेर अघि बढेको थिएन। उसका परिवारमा खासगरि उसकी ममी चाँडो बिहेको लागि छोरालाई कर गरिरहनु भएको थियो। कुरा उसैमा गएर अड्किएको थियो रे। ऊ अहिले नै बिहे गर्न आलटाल गर्दै थियो। एकदिन उसकी ममीले धम्की नै दिएपछि उसले मसँग भेट्न खोजेको कुरा थाहा भयो। मैले घरै आउन अनुरोध गरेँ। साथीसँग आएको उसले मेरो कोठामा मसँग पढाइ, रुचि र भावी योजनाका बारेमा धेरै कुरा सोध्यो, केही आफ्नो बतायो। एकैछिनको लागि कोठामा हामी दुईमात्र हुँदा भने ऊ अलि अल्मलियो। उसका आँखामा केही थिए, ऊ घोरियो, तर व्यक्त गर्न सकेन। पछि ममीड्याडीसँग दुईचार औपचारिक कुरा गरेर ऊ फर्कियोे। जाँदाजाँदैको उसको दृष्टि मैले बिर्सिन सकिनँ। उसका आँखाभित्र उर्लँदा छालहरू थिए, किनार नछुँदै फर्किरहेका। त्यसपछिका दिनहरू उसको निर्णय पर्खँदैमा बिते। म उसलाई सम्झँदै रोमान्चित हुन्थेँ, उसले मलाई पक्कै फोन गर्नेछ अनि हामी रातरातभर अनिँदै बसी भावी जीवनका कुरा गर्नेछौँ। त्यो आतुरी उसले कहिल्यै देखाएन। ऊ कहिलेकाहीँ फोन गर्थ्यो, …आज कलेज जानु भएन? के गर्दै हुनुहुन्छ?’ त्योभन्दा बढी न लामा कुराकानी, न कहीँ जान अनुरोध नै गर्‍यो। उसले राखेको यो दूरी देख्दा खुब रीस उठ्थ्यो। छक्क पर्थेँ, आखिर म त्यस्ती अनाकर्षक पनि त थिइनँ। ममी छिटो निर्णयको लागि रमिला दिदीलाई सधैँ टोकस्नु हुन्थ्यो, तर उहाँको पनि आफ्नो हातको कुरा भए पो।

धेरै दिनपछि हिजो रमिला दिदी आउनु भयो। उहाँसँगै आयो दोस्रो पटक पनि यो बिहे टुटेको कुरा। अनि नराम्रोसँग भाँचियो मेरो मन।


त्यसपछिका केही वर्ष मेरा त्यसै बिते। मैले बिहे गरिनँ, न कुनै केटाप्रति मेरो मन गयो। यदि उसलाई मैँ चैँ चित्त नबुझेकी भए उसले अरु बिहे गर्न सक्थ्यो, तर उसले पनि बिहे गरेन। बिहे नै नगर्न, ऊ ब्रम्हचारी वा जीवनदेखि विरक्तिएको वैरागी पनि देखिँदैनथ्यो। आफूलाई मात्र सक्षम ठानेर उसले ममा चैँ के कम देख्यो होला, खुट्याउन सक्दिनँ। उसबाट पाएको घरिघरिको अपमान र तिरस्कारपछि पनि मैले उसलाई बिर्सन सकिनँ। बरु हरेक दिन ऊसँग बिहे गर्ने मनमनै प्रण गरिरहेँ। जिया भने उसको प्रसङ्गै सुन्न चाहँदिन।

“हैन, तिमीले बूढीकन्यै भएर उसको नाममा जीवन होम्ने विचार गरेकी छौ कि के हो? बिर्सिदेऊ उसलाई।” मलाई प्रतिशोधको लागि उकास्ने ऊ आफै पनि त्यसो भन्न थालिसकी। मैले जे प्रण गरेँ त्यो ठीक थियो वा थिएन जान्दिनँ, तर ऊ बाहेक कसैसँग बिहे नगर्ने मैले निर्णय गरिसकेँ। गोमा र जिया दुबैले गृहस्थी बसाइसके। सबै कुरा बिर्सेर नयाँ जीवन थाल्न उनीहरूले दिएका सुझाव नराम्रो थिएन। म आफ्नो मनसँग विवश छु, के थाहा उनीहरुलाई।

“अमेरिकाबाट भर्खर डाक्टर गरेका केटा छन्, एकपल्ट फोटो हेर् न त छोरी।” ममीले आज पनि एउटा फोटो मेरो हातमा दिन खोज्नुभयो।

“मलाई कुनै पनि फोटो हेर्नु छैन ममी। भए उहीसँग हुन्छ, नभए मेरो चिन्ता गर्न छाडिदिनुस्।” मैले पो सजिलै भनेँ, ममीलाई के सहज हुन्थ्यो र?

“त्यसकै कुरा? खै, त्यो डाँकाको के कुरा गर्नु? त्यसकी ममी दिक्क भैसकी। अब हामीले मात्र भनेर के गर्नु?” ममी मलाईसमेत पनि भनेर थाकिसक्नु भयो। ऊसँगको बिहे मेरो लागि चुनौती बन्यो। म सिर्फ उसैसँग बिहे गर्छु भनी घरमा मैले एक किसिमले निर्लज्ज घोषणा गरिसकेँ। ममीड्याडी दिनहुँ सम्झाउनु हुन्थ्यो, मलाई लागे पो। मेरो एकोहोरो ढिपी र बर्षौ थपिन थालेका उमेरका खुड्किलाहरूले, उहाँहरूलाई उसको घरको भरेङ्ग उक्लन बाध्य पार्‍यो। उसका घरपरिवारले पनि ममीड्याडीको पहललाई स्वागत नै गरे।

दुईचारपटकको उहाँहरूको मिटिङ्गपछि अन्तमा बिहेको सहमति भयो। यसपालि पनि ऊबाट फेरि आनाकानी हुन्छ कि भन्ने आशंका थियो तर कुनै विरोध वा अस्वीकृति आएन। उसैले विरोध नगरेको हो वा उसको विरोधलाई घरपरिवारको करकापमा पर्दाफास नगरिएको हो, थाहा भएन। धेरैदिनपछि म खुशी भएँ।


निकै अबेलासम्म पार्टी चलेको थियो। थुप्रै पाहुनाहरू र आफन्तहरूलाई बिदाइ गर्दा ढिलो पनि भयो। त्यसपछि पनि उसका एक दर्जन साथीहरू, बल्लबल्ल पिछा छोडाइयो। थकाइवीच कताकता भित्र डर र सँकोच लागे पनि मन विजयीभावमा प्रफुल्ल थियो। यत्तिका वर्ष कुरेरै पनि आखिर उसलाई पाइछाडेँ। मलाई दुःखित र अपमानित बनाएको बदला एकछिनपछि त ऊसित मजैले लिन्छु, मभित्र काउकुती उब्ज्यो। ऊ कोठाभित्र आइसकेको थिएन। अधैर्य बनी उसलाई कुरिरहेँ। ऊ आयो र आफ्नो कोट ह्याँगरमा झुण्ड्यायो। “ढिलो भयो हगि?”

म बोलिनँ। कोठाको मधुरो नीलो प्रकाशमा उसले मलाई टाढै बसी केहीबेर नियाल्यो। मेरो मुटुको ढुकढुकी बढ्यो। जस्तै भनेपनि आज हाम्रो सुहागरात थियो। ऊ आएर बेडको एकछेउमा बस्यो।

लगाएको दौरासुरुवाल निकै सुहाएको थियो उसलाई। ऊ आकर्षक व्यक्तित्वको भएको कुरामा कुनै शँका नै थिएन। टेबुलमाथि ताजा फूलका बुकीहरु थिए, मग्मगाउँदा। फूलको बास्नाले लठ्याइरहेको थियो मलाई। तर यो कस्तो मधुमास थियो हाम्रो, बोल्नको लागि न ऊसँग पर्याप्त शब्द थियो, न मसँग नै। बीचमा अव्यक्त अप्ठेरो। उसले उठेर पानी पियो। “तिमी थाकेकी हौली।” उसले मतिर नहेरी भन्यो। मैले ऊतिर हेरिरहेँ। दुईदुई पटक मलाई अस्वीकार गर्ने ऊ मेरो लोग्नेको रुपमा मेरो छेउमा थियो। थुप्रै गुनासा, दुःख र घुर्कीहरू थिए उसलाई सुनाउन। आज उसलाई अनुभूति गराउन चाहन्थेँ कि प्रतिशोधमा सधैँ तिरस्कार मात्र हुँदैन, प्राप्ति र त्याग पनि हुन्छ। उसलाई पाएर आज मेरो प्रतिशोध पुरा भएको थियो।

उसले दुवै हातले आफ्नो केश सम्यायो। दौराको माथिल्लो तुना फुकाल्यो र मेरो नजिक आयो। उसलाई हेर्दै गरेकी मेरो जिउ सिरिङ्ग गर्‍यो। ढुकढुकी अझै बढ्यो।

“स्वाती, तिमी धेरै राम्री छौ।” मलाई गहिरो नियाल्दै उसले मेरो हात मुसार्‍यो। “अब त साथ जिन्दगीभरिको हो।” उसको स्पर्शले हजारौँ भोल्टको करेन्ट लगायो ममा। कानका लोती राता हुँदै संयमित कामना पग्लिएको तातो लाभासरि जिउभरि बग्न थाल्यो। ऊ मलाई एकोहोरो हेरिरहेको थियो। आज पनि उसका आँखामा त्यही बन्द भाव थिए, त्यही उलँदा छालहरू, जसको मैले पहिचान गर्न सकेकी थिइनँ।

उसले बिस्तारै सुम्सुम्यायो मलाई, र मेरा औँलाहरुसँग खेल्न थाल्यो। मेरो हात आफूतिर तानेर जसै उसले हत्केलामा हल्का चुम्बन गर्‍यो, मेरो शरिरभरि आगो लागेझैँ भयो। मैले आँखा बन्द गरेँ। पक्का पनि अब उसले मलाई अनावृत गर्नेछ। मदहोशीको नशा शनैशनै बढेर चेतनाशून्य बनाउँदै थियो। सम्पूर्णरुपमा उसमा समाहित हुन खोज्ने मभित्र दन्किरहेको ज्वालामुखी बिस्फोटको लागि निकास खोज्दै थियो। उसको आवेगको झरीमा म आफ्नो तुष बगाउन चाहन्थेँ। चाहन्थेँ यो सुहागरात, ऊ मलाई आफूसँग जूनसम्म पुर्‍याओस्, जसको शीतलतामा मेरो दग्ध शरीर शान्त होस्। बावजुद, मैले पहल गर्न सकिनँ। पहिलो रात, सँकोच अनि संस्कारको तगारो मेरो अगाडि थियो।

“स्वाती।” ऊ उठ्यो। “बिहेलाई टार्न निकै कोसिस गरेको थिएँ। ममीको अगाडि लाचार भएँ। दुर्घटनापछिको ममा आएको कमजोरी उहाँलाई पनि थाहा छैन। तर आफ्नो शारिरीक आवश्यकताको लागि तिमी स्वतन्त्र छौ। खालि एउटै अनुरोध, मलाई मनबाट नझार।”
दुईदुई पटक उसले मसित बिहे गर्न त्यत्तिकै अस्वीकार गरेको थिएन, बल्ल बुझेँ।” पानी खन्याइएसरि भएँ, चिसो।

“सरी…।” उसका आँखामा छालहरु छचल्किँदै पोखिन खोज्दै थिए। म पनि उठेँ। बिस्तारै उसको हात समाइ आफ्नो लागि अंगालो बनाएँ अनि उसको छातीमा टाउको लुकाएँ।

468 Total View 18 Today View

15 comments to कथा : प्रतिशोध

  • Jyoti Rijal Rimal

    धेरै राम्रो। ाझै पढ्औ जस्तो हुदाहुदै सकियो।एसको भाग २ लेख्नुस है?

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • dipesh

    धेरै राम्रो, सस्ता कथा हरु पड्दा पड्दा वाक्क लागेको बेला अलिक राम्रो पढ्न पाइयो , खुसि लागो

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • मार्मीक कथा
    सार्है मन पर्यो

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • Buddha Chemjong

    नेपाली साहित्यमा यौन मनोविज्ञानमा भिन्न खालको रस भर्न सफल आख्यानकारमा सुस्मा मानन्धर ज्युको पनि नाम जोडिएन भने नेपाली साहित्य अपुरो हुन्छ | अझ सामाजिक यौन मनोविज्ञानमा कलम चलाउनोस, जसले समाजमा चेतनाको भाव पोखोस |

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • Bidur Dhungana

    सुश्माजी,

    तपाइको लेख्ने शैलीको तारिफ गर्नै पर्दछा मनोबैज्ञानिक रुपमा एउटा नारीले आफ्नो मनले चाहेको कुरा दुइ दुइ पटक अस्विकार भए पछी पनि स्वातिको दृढत लै तपैले मज्जाले अबिब्यक्ता गर्नु भएको छ आफ्नो कथामा नेपाली समाजमा आफु लाई दुइ दुइ पटक हेरी सके पछी पनि बिना जायज कारण बिबाहको लाई अस्विकार गर्ने अर्थात् लमी मार्फत बिबाह हुन नसक्ने खबर पठाउने केटा संगै बिबाहको लागि आफु स्वोयम ले पहल नगरी घर परिवार मार्फत बिबाह हुने बिस्वासका साथ नगन्य रुपमा मात्र महिलाहरु भेटिने कुरामा लेखक तेती सजग नभए जस्तो लाग्यो साथै आफ्नो सारीरिक कमजोरीले आफुले बिबाह गर्न दुइ दुइ पटक अश्विकार गरिसकेकी महिलालाई आफ्नो श्रीमतीको रुपमा सायदै कमै पुरुषले मात्र स्वीकार गर्दछन किनकि पुरुषको लाई पनि कुनै केटि संग बिबाह हुनु मात्र ठुलो कुरा होइन बिबाह पश्चात आफ्नो श्रीमती संगको समर्थवान श्रीमानको रुपमा सम्बन्ध पनि ठुलो कुरा हो भन्ने कुरा लेखिकाले ख्याल नगर्नु भएको होकी जस्तो लग्यो, तर जे होस प्रस्तुत कथामा लेखिकाले बडा शाहसका साथ बादलले ओत प्रोट भएकी स्वती कति छिट्टै आफ्नु लोग्ने संग पग्लिएको तथा उनि भित्रको नारी मनोविज्ञान लाई साहसका साथ सुन्दर रुपमा पसकिनु भएको मा लेखिका को जति तारिफ गरे पनि पुगदैना

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • sangeet Tuladhar

    सुस्म जी एकदम मन पर्यो | कथा राम्रो संग प्रस्तुस गर्नु भएको छ | keep on writing ..wonderful job….wow

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • samrat~

    सुष्मा जी को कथा लेख्ने सैली एकदम राम्रो छ. साएद माइ संसार को लेखक हरु मा सबै भन्दा जोडदार. ध्न्येबाद. लेख्दै गर्नुस सधै.

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • कृष्ण भारद्वाज, सिडनी अस्ट्रेलिया  

    सारै मार्मिक, मन पर्यो !!

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • Dinesh

    निक्कै राम्रो कथा सुस्माजी को , सदाकै झैँ

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 0

  • राम्रो लाग्यो,

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • Jeevan Regmi

    Very very nice and heart-touching but you have closed in a hurry so there is something missing as in words not representing the moral of this History. Rest is Ok..

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • रामकुमार पण्डित

    विवाह गर्ने उमेरकि एउटी केटीलाई एउटा राम्रो केटाले २ पटक हेरेर छोडे पछी त्यो केटि त्यहि केटा प्रति क्रेजी हुन पुग्छे/ कहाँ सम्म भने उ सुहागरातमा सम्भोग गर्न नदिएर प्रतिशोध लिने सम्म बिचार गर्छे/ अन्तत उनीहरुको विहे हुन्छ तर बदला लिन सक्दिन/ किन सक्दिन यो कुरा कथा पढेर बुझ्न सकिन्छ/ यस कथाले सुक्ष्म रुपमा अनाबस्यक रुपमा प्रतिसोध लिनु हुन्न भनेर राम्ररी शिक्षा दिन सफल भएको छ / बधाई छ कथाकारलाइ जसले सुन्दर प्रस्तुति दिनुभएको छ / रामकुमार पण्डित

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 2

  • nimesh, bkk

    कथा एकदम मार्मिक अनि सरर बग्ने खालको छ यथार्थमा आधारित जस्तो मार्मिक छ . अन्तमा जितेर पनि हार भएछ .

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1

  • हरि गौतम

    बिचरी स्वातीलाइ निल्नु न ओकल्नु भएछ | आखिर दुवै चोटी अस्विकार गर्दा केटामा केहि कमजोरी पक्कै छ होला भनेर किन नसोचेको होला? बाहिरी आवरण ले मात्र कुनै चिज पूर्ण त पक्कै हुदैन नि | हरि गौतम

    मन परे हरियो नपरे रातो ! Thumb up 12 Thumb down 0

  • शुष्म जी कथा अलि चाडैं नै टुन्गाउनु भयो ! मिठो छ र तपाई को कथा संग्रह कहिले आउने हो???

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 3