मेरो Tweet

  • ट्विटर चलाउन थालेको ५ वर्ष भएछ “@TwBirthday: @salokya Happy 5th TwBirthday! You've been around since 18 May 2008! t.co/g06hHNWOkh
  • २४ घण्टा नाघिसक्यो तर एकनासले टाउको दुख्यादुख्यै :(
  • RT @surajshakya: Thamel after fire, books of 'pilgrims' still buring t.co/3OhPyOPWlO

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

होसियार ! साउदी प्रहरीबाटै लुटिएला !

-विष्णु बैकुण्ठे, साउदी अरब-

प्रहरी भन्ने बित्तिकै राष्ट्रिय ढिकुटीको नून खाएर जनतालाई पहरा दिने जनसेवी व्यक्तिलाई बुझिन्छ । देशमा सत्य सेवालाई सुरक्षित राख्न अथवा विद्रोह वा अशान्तिलाई टाढै राखी देशमा समानताको अवसर श्रृजना गर्न अनवरत रूपमा लागिपरेका राष्ट्रसेवकलाई प्रहरीको दर्जा दिइएको छ । यस किसिमको उपमा वा दर्ज्यानी पाएका सेवकहरूलाई नेपालमा मात्र नभएर विश्वमा नै एउटै रूपमा हेरिने गरिन्छ । अझ नेपालका प्रहरीले त देशमा भएका सत्य घटनालाई मात्र जीवन्त दिन आफ्नो मूल नारा नै “सत्य सेवा सुरक्षणम्” राखेका छन् ।

सोझोपनको फाइदा उठाउँदै बोधोहरूलाई खाडलमा हाली मादल बजाउने, अवैधानिक तवरले कालोबजारी गर्ने, फिरौति र डकैतीमा पल्केका, लुटपाट गर्दै उत्पात मच्चाउने, अनेक तवरबाट गाउँ, समाज या राष्ट्रमा नौटंकी गर्दै आतंकित फैलाउने बाहेकका हामी सबैलाई प्रहरी एकदमै प्यारो लाग्छ र उनीहरूप्रति हाम्रो सम्मान पनि उत्तिकै छ । घर, अफिस, यात्रा अथवा के गाउँ – के शहर, जहाँ हामी छौं त्यहाँ प्रहरीको उपस्थिति देखिएमा लाग्छ कि हामी सुरक्षित छौं । यसैले त हामीलाई प्रहरीको बाक्लो उपस्थिति वा कडा निगरानी भएको ठाउँमा बस्न या हिड्डुल गर्न कुनै आपत्ति लाग्दैन किनकी हामीले कुनै गलत कृयाकलाप नै गरेका हुदैनौं र यसलाई सहज रूपमा लिने गर्छौं । यात्रामा निस्कने जो कोहीलाई पनि यात्रा अवधिभर प्रहरीको नजिक रहनपाए हुन्थियो भन्ने लाग्ने गर्छ किनकी हामीलाई प्रहरीमाथि पूर्ण विश्वास छ । तर यो विश्वासले सबैलाई कहाँ न्याय गर्दो रहेछ र ? भन्ने नमिठो तर्कले आजदेखि मेरो मनलाई उल्टो खेदिरहेछ पुल्ठो बालेर । र त मन अमिलो बनाउंदै प्रसंग यता जोड्दैछु ।

हाल म साउदी अरबको एक कम्पनीमा विगत चार बर्षदेखि कम्पनी व्यवस्थापकमा कार्यरत छु । व्यवस्थापकले गर्नुपर्ने कामहरू अफिसभित्रमात्र नभएर बाहिरतिरका पनि हुन्छन् । सँगै जोडिएका कम्पनीदेखि ४०० कि.मि. टाढासम्म पनि कम्पनीको उद्देश्य अनुरूप मागपूर्ति र आपूर्तिको संयोजन गर्न एक्लै गाडीमा हुईंकिनु पर्छ । माड खाएर जाँडको फुर्ति लगाउन नजान्ने आफू सीधा मान्छेले सीधा नै सोचेर प्रहरीको कडा निगरानी तथा चेकजाँच भएका साउदीका सडकहरूमा निर्धक्कसँग जानेआउने गर्दैथिएँ । चेकजाँचका क्रममा सामान्य सोधपुछ बाहेक अन्य झमेला अहिलेसम्म झेल्नुपरेको थिएन । तर कहिलेकाँही त जीवनमा सोच्दै नसोचेको घटना आफैंले भोग्नुपर्दा भने साँच्चै नै तनाव हुँदोरहेछ ।

आफ्नै कम्पनीमा कार्यरत एक नेपाली मित्र विगत केही महिनादेखि छुट्टीमा रहनुभएको र खाडीको राडी सम्झेर हो वा घरको भर नभएर हो कुन्नि आज इतिहाद एयरवेजमा काठमाण्डौबाट दमाम आगमन हुदैथियो । उहाँलाई लिनको लागि मैले रातको १० बजे एयरपोर्ट पुग्नु जरूरी थियो जुन ५५ कि.मि टाढा पर्छ । समयमै खानपिन गरेर कोठामा रहनुहुने दुईजना साथीहरूको साथमा एयरपोर्ट प्रस्थान गर्यौं । जाँदा बाटोमा कुनै असजिलो भएन । झण्डै तीन घण्टाको पर्खाइ पश्चात उहाँको आगमन भो र हामी सोही बाटो फर्क्यौं । नेपाल देखि ठेलठाल गर्दै साउदी भित्रिएको र धिमाल देखि हिमालसम्मको कुरा गर्दागर्दै हाम्रो गाडी धेरै अगाडी बढिसकेछ ।

रातको १:३० बजे चेकपोष्ट आइपुगियो जहाँ चार जना प्रहरीहरू चेकजाँचमा तैनाथ छन् । एउटा प्रहरीले हामी सबैको आइडी माग्यो, दियौं । अर्को प्रहरीले ओठका जुँगा हल्लाउंदै हामी सबैलाई गाडी बाहिर निस्कन भन्यो, उसको खानतलासी गर्न पाउने अधिकार सम्झेर हामी सबै बाहिर निस्क्यौं । “दालमें कुछ काला है” झैं गरी उसले हाम्रो गाडीलाई अप्रत्यासित ढंगले जाँचगरे जस्तो गरिरह्यो । बाक्लो ज्याकेट लगाएको तेश्रो प्रहरीले ज्याकेटभित्र केही लुकाएको आभास भइरहेको थियो । उसले पनि जाँच गरेजस्तो गरी गाडीभित्र पस्यो र पानीको एउटा खाली बोतल झारेर एकछिनमा बाहिर निस्क्यो । दोश्रो प्रहरीले उक्त बोतल निकाल्यो र सुँघ्दै भन्यो- “यो के हो ? ” पानीको बोतल । पानीको बोतल रक्सी गन्हाउँछ ? भन्दै नाकको पोरा नै भासिने गरी बोतल मेरो नाकमै टँसायो ।

मेरी बास्सै !!! स्प्रिट मिसाएको रक्सी गन्धको एक झड्काले नै मेरो टुपीबाट धुवाँ निस्कन खोज्यो । स्वास फेर्न एकछिन कठिन भो । नेपालमा बेलाबखत साथीहरूमाझ पिउने गरेपनि साउदी प्रवेशदेखि अहिलेसम्म जुठो हाल्न आँट गरेको छैन । अब आफूले नपिएपछि बोकेर हिड्ने कुरा पनि भएन । मैले पहिले नै सुनेको थिएँ कि साउदीहरू गैर साउदीहरूलाई फसाउन हरेक जुक्ति रच्ने गर्छन् रे । लौ बर्बाद बनाउने भए अब किनकी मलाई आज यसैको शिकार बनाउन खोजिरहेछन् ।

“तँ रक्सी पिउँछस् ?” अँहँ । ऊ अझ कड्क्किदै बोल्यो- “त्यसो भए यो रक्सीको बोतल कस्ले ल्यायो ? को छ तँ सँग रक्सी पिउने ?” “उ त्यो प्रहरीले झारेको हो । त्यो मेरो बोतल हैन”, जवाफ दिएँ ।

तेश्रोले चौथो प्रहरीलाई के इसारा गरेथ्यो, चौथोले बोलायो, गएँ । सिंह गर्जे जसरी सोध्यो- “तेरो नाम के ?” विष्णु । कहाँ छ कम्पनी ? “दमाम” । कहाँ पुगेर आ’को ? “एयरपोर्ट” । रक्सी पिउँछस् ? “पिउँदिन” । तँ कहाँको होस् ? “नेपालको” । त्यसो भए यो बोतल कस्ले ल्यायो ? “उ त्यो प्रहरीले” भन्नासाथ ममाथि हात छोडिहाल्यो । “तँ नेपालदेखि आएर हामीलाई उल्टै औंला तेर्स्याउने ? यसलाई कोच गाडीभित्र ।” कैदी बोक्ने जालीवाला गाडी देखाउँदै तेश्रो प्रहरीलाई आदेश दियो ।

गोरखाको सम्झना तब आयो, न्याय खोज्न गोर्खा नै जानुपर्ने भो । गोर्खा जान यहाँ असंभव, त्यसैले प्रहरीको नजरमा चै गोर्खालीले अब कोर्रा खान चै तयारी हुनुपर्नेभो । म निहत्था तथा निर्दोस झापालीले बैचारिक तवरबाट नै बाघे झाप्पु प्रहार गर्न सोचें र बोलेँ- “माडको गन्ध जाँड हुनैसक्दैन । म रक्सी पिउँदिन । मैले पिएको के प्रमाण छ ? शंका भए अहिले नै अस्पताल जाऔं । मेरो स्वास जाँच गर । रगत परिक्षण गर । तिमिहरूले जहाँ लान्छौ, त्यहीं जान तयार छु । तर जानुअघि मेरो बोसलाई एकपटक फोन गर्छु । मेरो बोस पनि तीनवटा फूली लगाएको पुलिस हो ।”

मेरो तथ्यगत कुरा सुन्नलाई ऊ कहाँ तयार छ र ? मेरो बोसको नाम सुन्ने वित्तिकै ऊ नराम्ररी झस्कियो । म भन्दैथिएँ तर भनाइ नटुङ्गिदै म सँग भएको दुईवटै मोवाइल खोसेर लग्यो र निधार खुम्च्याउँदै मलाई पनि जालीवाला गाडीभित्र कोच्यो ।

बाहिर रहनुभएका तीनजना साथीहरूलाई पनि हप्किदप्की गर्दै के के सोधिरहेथ्यो । सबैको मोबाइल र बाक्लो कपडा उतार्न लगाई धमाधम बयान लिएको नाटक गर्न थाले तिनिहरूले । प्रहरीले जे-जे नाटक गरेपनि सबैको बयान एकै समान थियो । किनकी हामीले कुनै गलत काम गरेका थिएनौं । तर प्रहरीको अनावश्यक झमेला, रातभरीको शीत, चिसो हावासँगै बढेको माघको जाडोले भर्खरैमात्र खाडीको राडी सम्झेर साउदी आउने साथीको पहिलो दिन मै हरिविजोग भो ।

झण्डै आधाघण्टा जति जालीवाला गाडीभित्रको बसाइपछि अर्को जालीवाला गाडीमा आएको प्रहरी आएर मलाई फकाउन थाल्यो । “तँ नेपाली रहिछस् । नेपालीहरू सीधा र इमान्दार हुन्छन् । म तलाई मद्दत गर्छु ।” उसले यति भनिसक्दा पहिलेका प्रहरीदेखि उठेको रीसको पारो ह्वात्तै झरिगो । प्रहरीभित्रै भएका दुईथरीका व्यवहारले मलाई असमानजस्यतामा पारे तापनि केही आशाका टुसा पलायो । उसले फेरि थप्यो- “हेर् हस्पिटल लग्यो भने तैंले रक्सी पिएको रिपोर्ट आउंछ र तँलाई नै अफ्ठेरो पर्छ । तँलाई जेल हाल्छ, जेल हाल्यो भने तेरो परिवारलाई पनि मुश्किल हुन्छ । बरू मैले भनेको मान् ।”

उसका यस्ता कुराले मलाई फेरि फसादमा पार्ला जस्तो भो । घुमाइफिराई जालमा पार्ने नियत बुझें मैले । तैपनि सोधेँ- “के कुरा ?”
“एक हजार रियाल दे । सबै कुराको तर्तिफ म गर्दिन्छु ।” जवाफ फर्कायो ।

अघिदेखि नरम शब्दमा बोलेको त यसै गर्न पो रहेछ बाई । साउदीले गुदीदेखि निकालेर चिप्लो धसेको त सहयोगरूपी भ्रामक उरूङमाथिको सुरूङभित्र फसाउने दाऊ पो रहेछ त । म चर्को हुँदै बोलेँ- “म यहाँको मुदीर (मालिक) हैन, केबल कामदार मात्रै हुँ । म सँग हलाला (पैसा) छैन ।”

“त्यसो भए मलाई केही पनि पर्दैन । बाहिरका चार जनालाई दुई-दुईसय रियाल दे।” उसले फेरि फकायो ।
अलिकति पैसो पाइन्टको सेफ गोजीमा भएपनि मैले कोटको गोजी उल्टाउँदै देखाएँ र भनें- “आना माफी फूलुस (पैसा छैन)।”
”त्यसो भए तेरो यो मोवाइल दे ।” अघिल्लो सातामात्रै १३ सय रियालमा किनेको सामसुङ्गको ग्यालेक्सी देखाउँदै उसले फेरि दलाली थप्यो ।

अब मेरो गरि-उपाय नलाग्ने भो गाँठे । पैसा नखाई नसक्ने भो । बल्ल बल्ल दुःख गरेर किनेको मोबाइल पनि लान्छु भन्छ । मेरा महत्वपूर्ण डाटाहरूपनि सँगै जाने नै भए । त्यसैले हतार गर्दै भनें- “त्यो मोबाइल मेरो हैन । बाहिर बस्ने साथीको हो । ऊ त्यो सानो मोबाइल लान्छस् भने लैजा ।” ऊ रीसले बम्किंदै हिड्यो । अलि पर गएर उसको ओके टोकेमा के-के बोल्यो कुन्नि सँगै रहेको फूलीवाला प्रहरी आएर चार जनाको लागि पचास-पचास रियाल माग्यो ।

ओसिलो रातमा एक हजारबाट शुरू भएको फोहोरी र अपत्यारिलो दलाली अब दुई सय रियालमा झरिसकेको थियो । यहि आधारबाट पनि यिनीहरूले हामीलाई अनेक बहाना तथा लाञ्छनाहरू लगाई लुट्न लागेको योजना पर्दाफास भैसकेको थियो । तर पनि लुट्नसकिन्छ कि भनेर अनेक हाउभाऊ तथा षडयन्त्र गरेर हामीलाई फसाउन लागेको यस घृणित कार्य पटक्कै मन परेको थिएन । यो सबै विबरण मेरो बोसलाई नसुनाई नसक्ने भएको थिएँ म ।

हुन्छ म दिन्छु दुईसय रियाल तर पहिला मेरो मोवाइले दे। मैले सशर्त मेरो मोबाइल मागेँ । उखलेको मूलाको दूला जत्रो नाक बनाउँदै उसले लगत्तै मोबाइल फर्कायो ।

“म सँग हलाला छैन । म मेरो बोसलाई फोन गरेर पैसा मगाउँछु” भन्दै फोन लगाउन खोजें । उसले फोन गर्न रोक्दै भन्यो- “भो । तेरो बोसलाई फोन नगर । बरू यहाँबाट छिटो जा ।”

देशको शान्ति सुरक्षामा भनी दिनरात खटिएका प्रहरी जवानहरू नै साधारण जनताबाट सके लुटौंला नत्र कुटौंला भन्ने मनसाय बोकेर, गलागिज्ज धोकेर कुनै बहानामा माडको गन्ध जाँड बनाएरै छाड्ने धुनमा यताउता नाचिरहेका छन् साउदी अरबमा । अरूलाई मारेर आफ्नो पद बढुवा गर्न माहिर भएका यस्ता नलायक पात्रहरूको डरैले पनि हामीले त्यहाँबाट हिड्न ढिला गर्नु नहुने ठानी गाडी लिएर हतार-हतार आफ्नो कोठातर्फ लाग्यौं बँधुवा बाछो दाम्लाबाट फुकेझैं । कोठामा पुगेर शरीरले आराम पाए पनि यो मनले शान्ति पाउन सकेको छैन ।

म लगायत साथीहरूले यहाँ अनाहकमा दुःख झेल्नुपरेको तीतोसत्यलाई जतापट्टिको कोणबाट हेरे पनि आखिर तीतो नै भइरहेने भो । मेरा मुठ्ठी नकस्सिएका हैनन् । धर्तीमा नेपाली छाप नबनेका हैनन् । शरीरमा आन्तरिक उर्जा नआएको हैन तर पनि मैले साउदी प्रहरीले दिएको अनावश्यक तथा बदनियत कृयाकलाप बिरूद्धमा आधिकारिक रूपमा मेरो बोस बाहेक अन्यत्र लिखित तथा मौखिक उजुरी दिन सकेको छैन । यसलाई पनि संयमताको उपज नै ठानेको छु मैले । किनकी यहाँ अहिलेसम्म लिखित संविधान बन्न सकेको छैन, मात्र “कुरान” नै यहाँको कानून छ । हामी त साउदी प्रहरीको अपेक्षाकृत सीमानाभन्दा धेरै बाहिरको बदनियत कृयाकलापबाट जसोतसो फुत्केर गन्तव्यसम्म जान सक्यौं, तर बोल्न नसक्ने वा सीधा नेपालीहरूले यो भन्दा कति धेरै कष्ट पाइरहनुभएको होला भन्ने सोचिरहेछु किनकी अहिलेपनि डण्ठीले हानेर बजाएको घण्टीको धुन जसरी नै मेरा कान बजिरहेकाछन् टिनिनिनिनि………………….।

20 comments to होसियार ! साउदी प्रहरीबाटै लुटिएला !

  • Sun

    यो कुरामा मा सहमत छैन म पनि दमाम्म Ariport धेरै पटक ओहोर दोहोर गरेको छु, हाम्रो कार नजिक आयर त्यहाँको चेकपोस्टमा बस्नी पुलिस हरुले नेपाली भन्नि बितिकै (क्वैस नेपाली) अरबी भाषा अनुसार राम्रो नेपाली भनेर छोडछ र त्यहाँ को पोलिस हरुको लागि ५० रियल Valueless छ यत्रो ड्रामा रच्दैना त्यति जाबो पैसाको लागि त्यो पनी बिना कुनै गल्ति/ बरु कहिले कहिँ उनीहरुको चुरोट सकियको छ भने चुरोट माग्छन र २-३ खिल्ली चुरोट को लागि ५-१० रियल दिन्छन हामी लिदैनथ्यौ Heartily Thanks दिन्थे/ कुनै निर्दई होलान तर यति धेरै बखडा गरेर बस्नी उनीहरुको समय पनी हुदैन/ Any wayzzz लेखाईको सैली राम्रो छ thanks for that तर मान्छे लै सचेत गराउनु राम्रो हो, डराउनु हैन/

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 6

  • JB

    म south sudan मा छु सबै तिर यस्तै हुदो रहेछ l यहाँ सबै भन्दा ठुलो डर आर्मी पुलिस को हुन६, राती l डाका र गुण्डलाई त कुट्न पनि सकिन्छ, भाग्न पनि सकिन्छ कुरा फर्काउन पनि सकिन्छ तर बिदेसमा बर्दीवाला संग त के गर्ने ? उहा ले त धेरै भन्नु भएछ पैसा पनि दिनु भएन र कोठा आउन पनि सफल हुनुभो l बधाइछ उहालाई l

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

  • sagar shrestha

    बिष्णु जी ले एउटा उदाहर्ण सोरुप एउटा तितो सत्य घटना सहरे गर्नु भयो एस्त अनाहकमा नेपाली हरुले भोग्नु परेको धेरै घटना हाम्रो समू छ जसको पंहुच मेडिया सम्म पुग्न सकेको छैन . ठंक्स बिष्णु जी फोर शरिंग अब अरु साथीहरुलाई पनि केहि हौसला बढ्ने छ जस्तो मलाई लागेको छ .

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 0

  • कमल थापा (साउदी अरब)

    दैनिक यी र यस्ता घटनाहरुले यो वा त्यॊ बाहानामा, हामी ठगिने क्रम बढदै छ/ विष्णु जी को, यो घटना हामी कसैलाई हुनसक्ने भएकाले समयमानै होसियार हुन आवस्यक छ/

    देशको शान्ति सुरक्षामा भनी दिनरात खटिएका प्रहरी जवानहरू नै साधारण जनताबाट सके लुटौंला नत्र कुटौंला भन्ने मनसाय बोकेर, गलागिज्ज धोकेर कुनै बहानामा माडको गन्ध जाँड बनाएरै छाड्ने धुनमा यताउता नाचिरहेका छन् साउदी अरबमा । अरूलाई मारेर आफ्नो पद बढुवा गर्न माहिर भएका यस्ता नलायक पात्रहरूको डरैले पनि हामीले त्यहाँबाट हिड्न ढिला गर्नु नहुने ठानी गाडी लिएर हतार-हतार आफ्नो कोठातर्फ लाग्यौं बँधुवा बाछो दाम्लाबाट फुकेझैं । कोठामा पुगेर शरीरले आराम पाए पनि यो मनले शान्ति पाउन सकेको छैन ।
    यो बाध्यता सबैको हो, अब हामी हरेकले यी हरामीहरुसंग जम्का भेट हुनबाट बच्न सतर्क हुने पर्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 0

  • Bishnu pd subedi- SAUDI ARAB

    हाल मा पनि साउदी अरब मै काम गरि राखेको छु, यो एस्तो देश हो जहाँ बिदेसी लाइ कहिले पनि राम्रो नजरले हेरिन्न/उनीहरुले जे गरे पनि सहि हुन्छ तर हामीले केहि सानो गल्ति गर्न साथ हराम हुन्छ रे/ यो एस्तो देश हो जहाँ बिदेशी ले खुला रुपले बाहिर निस्केर घुम्न पनि डर मान्नु पर्ने हुन्छ, बाहिर फोटो खिच्न पाइन्न, बिना परिचय पत्र घुम्न पाइन्न , मनोरंजन भनेको केहो यिनी हरुलाई थाहा छैन, मात्र खान र सुत्ने यिनी हरुको काम हो. जसरि हुन्छ बिदेशी लाई सोसेर पैसा कमाउनु यिनी हरुको काम हो/ तेस्करान साउदी पोलिश भन्दैमा ढुक्क मानेर हिड्न मिल्दैन/ अरुको धर्मलाई त गाली गर्छन, जसरि पनि मुस्लिम धर्म राम्रो भन्छन, कतिपय ठाउँमा मा त म मुस्लिम हो भन्नु पर्ने हुन्छ, तर क गर्नु आफ्नो फुटेको कर्म येस्तै देशमा आएर पसिना चुहाउनु परेको छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 1

  • Megh, Rohnert Park, California

    अनि कम्पनि को उच्च पद मा भयको मान्छेले किन प्रमाण जुतायर कानुन अनुसार कारबाही गर्न पट्टि नलागेको त ? कम से कम नेपाली le गर्यो भन्ने ने हुन्थो नि !

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 3

    • Bishnu pd subedi- SAUDI ARAB

      साथी मा पनि साउदी अरब मै छु, तपैले भने जस्तो सजिलो हुन्छ र अर्काको देश मा प्रमाण जुटाउन/

      मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 1

  • Dev

    “म निहत्था तथा निर्दोस झापाली”……हा हा हा ……झापालीहरु निहत्था त हुन सकला तर निर्दोष र सोझो त हुनै सक्दैन | देश मा राजनिति चलाउने देखि नेपाल को काकड़भिता मा बस को टिकेट बेच्न टिकेट काउन्टर मा बस्ने मान्छेहरु सम्म कति झुटो र खराब प्रवृति को हुन्छ भन्ने कुरा | तपाई एक-पल्ट झापा र काकड़भिता जानुस अनि थाहा पाउनु हुन्छ कि कसरि ठग्छन् |

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 58 Thumb down 36

    • TRaj

      अलिक बढीनै भए जस्तो लग्यो ल साथी, हंगकंग् मा एउटा नेपालीले बलात्कार गारो भन्दै मा त्यहाँ बस्ने सबै नेपालीलाई बलात्कारी भन्ने, सबै चोर र फटाहा नेता भएको देसको तपाई जस्तो जनता पनि के चोर र फटाहा नै हो? so सोचेर बोल्नुस है ल/

      मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 10

  • ए उसो भए जहाको पनि पुलिस त सुलिस जस्तै रैछ, मलेसियामा त दिन दहाडै एकान्तमा भेट्यो कि पुलिसले नै लुट्छ, यहाँ सब भन्दा असुरक्षित पुलिसबाट भइन्छ । कसैले गल्ति नै गरेको भेटे पनि १० रिंगेट दियो भने काम बन्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 0

  • raj

    लेख पढदा रमाइलो लग्यो | तपाई गर्नु भएको कुरिकानी पनि रोचक लग्यो | येति कुरिकानी भैसकेपछि एउटा कुरा के थप्नुपर्ने भने कुरान मा हराम को पैसा लाई कुन रुप मा हेरिन्छ थाहा छ ? कुरान पढेको छ कि छैन ? मैले त केहि गर्न नासकौला तर तिम्रो अल्लाह ले नि ………

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 2

  • साथी हरु हामी हाम्रो देश मा केहि नभयर त्यो साउदी को मरभुमी मा गयका हैनौ अरु को देश मा अपमानित हुनु भन्दा हाम्रो आफ्नै देश मा अब सबै युवा हरु एक हौ हाम्रो कुनै पार्टी छैन भन्ने तिर लागौ हाम्रो पार्टी भनेको देश को बिकाश र सम्बृद्ध गर्ने हो भन्ने सोचौ रक दिन हामी सफल हुने छौ

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 4

  • Basanta Thapa,Maryland,USA

    अनि बोस लाइ घटना बारे सुनाए पछी के भयो नि ! कि बोस पनि उही ड्याग को मुला पर्यो ?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 44 Thumb down 1

  • Anjan Shrestha

    अब नेपाल प्रहरीको हावा साउदीतिर पनि लाग्न थाले जस्तो छ | अरबी देशहरुका पुलिस त एस्तो हुन्छन भनेर सुनेको पनि थिएन |

    मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 2

  • साउदी का पुलिस लाई पनि नेपाल प्रहरी ले टेर्निंग दिएको होला अनि त?

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 3

  • Ramesh

    यो, अरब मा मात्रै होइन , कुइरॆको मुलुकमा पनि पुलिस ले , पैसा दिनेलाई अर्को बेवाहर , पैसा नदिनिलाई, नराम्रो बेबहार गर्छन्.

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 37

  • द्रोण

    मौका पाए सिधा साधालाई कुना काप्चा मा लुट्नु ,चर्चित केस मा अपराधी पक्डन न सके ,हत्यारा पक्डन न सके टाप टिपे चोरलाई फसाउनु(किनकि प्रसासन लाइ कोइ न कोइ अपराधि जागिर कै लागि भएपनि देखाउन न त् पर्यो ) पुलिस को जातीय धर्म हो |समुन्द्र को किनार देखि हिमाल को टुप्पा सम्म यहो बिधि चल्दै आएको छ |साउदी मात्र के अपबाद हुन्थ्यो ?

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 2

  • bibek dhakal

    सारै दुख लग्यो पढेर . ‘ओरालो लागेको, अझ घरमा पसेको ‘ मिर्गलाई पडोले किन नखेदुन? ८०% भन्दा बढी (कम-बढी पनि हुन सक्छ! ) खाडी मुलुक जाने हाम्रा दाजु भाइहरु लेबर काम गर्ने जान्छन र नेपाली भनेपछि जोसुकैको पनि हेर्ने दृष्टिकोण त उस्तै होला नि, चाहे पुलिस होस् वा अरु कुनै “फूलिस”! तपाई त व्यवस्थापक पदमा कार्यरत हुनुहुदोरहेछ, तेसरी बोल्न र बार्गेन पनि गर्न सक्नुभो तर तपाइको ठाउँमा माथि भनिएका जस्तै दाजु-भाइ परेका भए यसरि बोल्ने आट कसरि हुन्थ्यो होला – मलाइ अस्पताल लगेर चेक गर, मेरो बोसलाई कल गर्छु भन्ने जुक्ति कहाँ निक्लिन्थ्यो होला र? यसरि कति ठगीइरहेका होलान कठैबरा!! तर के गर्नु – देशको स्थिति राम्रो हुने भैदिएको भए त्यहाँ दक्ष काम गर्न मात्र गैन्थ्यो होला! फेरी तेइ रेमिट्यान्सको भरमा त देश चलिराखेको छ.
    सोझा नेपाली हरु खाडी मा घाम, गर्मि , असुविधा, हेपाइ साथै यस्तो अन्याय र यातना समेत सहेर अलि अलि रेमिट्यान्स भएपनि भित्र्याउछ्न, यहाँ कर तिर्छन ….यहाका डाँका नेता र तिनका कार्यकर्ताहरु त्यहि करको पैसामा मस्ती गर्छन, मिठो मिठो खान्छन , अनेक कार्यक्रमको नाममा देश विदेश डुल्छ्न ,गाडी मोटोर्साइकल किन्छन, यहाको कार्यालय, विधालय, विश्वविधालय र सम्पूर्ण सेवामा राजनीति छिरेर खतम बनाउछन….हजारौं युवा लाइ यस्तै असिक्षित र बेरोजगार भै खाडी देश पस्न बाध्य बनाउछन ? कैले सम्म चलिरहने यो चक्र?

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 1

  • DILLI DHUNGANA.qatar

    कुरा सुन्दा दुखालागो ,बिष्णु जी हामी नेपाली भएकाले दुख दिएका. तपाइको ठाउमा अरु मुलुकका भएको भए साएद ? कतारमा पनि अरबी ड्रेस लगाएका इरानी ,यमनी पाकिस्तानी-बोलुची हरुले नेपाली दाजु भाई पतका(I .D )मागेर पर्स नै छिन्देका छन् …..

    मन परे हरियो नपरे रातो ! Thumb up 30 Thumb down 1

  • तारे मगर, खाडी-दुवइ

    झन्डै बर्बाद पारेछन् साला फटाहाहरुले, पुलिशहरु आफै दारु धोकेर बसेका र अरु दारु थप्नकै लागि यति गरेका हुन् भन्ने अनुमान लगाउन सकिन्छ ! त्यो बाहेक आफ्नो बढुवाको लोभमा पनि यस्ता केशहरु बनाउन खोजेका थिए तर तपाइको बोलि र जुक्तिले फटाहाहरु असफल भए ..! धन्य तपाइँ !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 72 Thumb down 4

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker