मेरो Tweet

  • यस पटक बुद्ध जयन्ति बुद्धले सिकाएको मौलिक विधि अनुसार मनाउन पाइएन। Missing Vipassana ! Missing Dhamma Shringa !! भवतु सब्ब मंगलम् !
  • Nagarik News - प्रतीक प्रधान 'नागरिक' दैनिकका प्रधान सम्पादक: t.co/Ik8xGruOUE
  • Yes, it's formal. Prateek pradhan is our new editor from today.

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

माघ १९ : आसेपासेले डुबाए ज्ञानेन्द्रलाई

आज माघ १९। वैकल्पिक सूचनाको स्रोतका रुपमा ब्लगहरु अगाडि आउन सक्नुको प्रमुख कारण यही दिन हो। त्यतिबेला अहिलेका जस्ता फेसबुक र ट्विटर थिएनन्। भएभरका मिडिया अफिसमा सेना छिरेका थिए। इन्टरनेट, मोबाइल र ल्यान्डलाइन फोन काटिएका थिए। प्रिपेड मोबाइल त तीन महिनासम्म पनि खुलेन। साह्रै रिस उठेको थियो त्यतिबेला। आज ८ वर्षपछि ती दिनलाई फर्केर हेर्दा लाग्छ- तत्कालीन परिस्थितिमा ज्ञानेन्द्रले ठीकै गरेका थिए। उनीसँग विकल्प साह्रै थोरै थिए। कि उनी चुप लागेर सबै कुरा टुलुटुलु हेरी बस्नुपर्थ्यो, कि चाहिँ आफैले पहल गरी केही बोल्ड कदम चाल्न सक्नुपर्थ्यो। उनले दोस्रो विकल्प रोजे, तर विडम्बना उनलाई सही सल्लाह दिनेहरु भएनन्। देश र जनताको स्वार्थभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिनेहरुको झुण्डमा फँसेर ज्ञानेन्द्रले आफ्नो गद्दी नै गुमाउन बाध्य हुनुपर्‍यो। कतिपय घटनाले उनी आफैको नियत पनि गतिलो नरहेको प्रष्ट देखायो। तर पनि इमान्दारिपूर्वक भन्नुपर्छ, ज्ञानेन्द्रले त्यस्तो कदम माघ १९ मा चाल्दा सर्वसाधारणले खासै नकारात्मक रुपमा लिएका थिएनन्। दलहरुबाट दिक्क भएका जनताले अति भइसकेको थियो, केही त गर्नैपर्ने थियो भन्ने सोचेका थिए। बुद्धि भएको भए उनले १०/१५ वर्षसम्म एकलौटी सत्ता हाँक्न सक्षम हुन्थे।

अहिलेको अवस्था र त्यतिबेलाको अवस्था झण्डै उस्तैउस्तै छ। त्यतिबेला शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचित संसद भंग गरेको अवस्था थियो। देशभर माओवादी प्रभावका कारण अर्को चुनाव हुनसक्ने स्थिति थिएन। बाधा अड्काउ फुकाउने एउटा धाराको बलमा सबै काम गर्नुपर्ने अवस्था थियो।

निर्वाचन पनि हुन नसक्ने र निर्वाचित संसद पनि भंग भइसकेको उतिबेलाको अवस्था र अहिले संविधान सभा भंग भइसकेको र निर्वाचनमा सहमति जुट्न नसकेको स्थिति लगभग उस्तै छ। जसरी यतिबेला केही पक्षले राष्ट्रपतिले कदम चाल्नुपर्ने भनिरहेका छन्, त्यतिबेला राजाले केही गर्नुपर्छ भन्नेहरु पनि थिए। राजा आफै पनि म दाइजस्तो टुलुटुलु हेरी बस्न सक्दिनँ भन्दै अन्तर्वार्ता दिँदै हिँड्थे। सत्तारुढ कांग्रेस टुक्रिएको थियो। संस्थापन पक्ष गिरिजाप्रसाद कोइराला संसद पुनर्स्थापना जस्तो त्यतिबेलाको परिस्थितिमा पूरा हुनै नसक्ने देखिने मागमा अडिग थिए। चुनाव हुन नसक्ने स्थितिमा कि त देउवा सरकार अनन्त कालसम्म लम्बिनुपर्थ्यो र उसले ल्याएका अध्यादेश पारित गर्दै बस्नुपर्थ्यो। कि ‘राजा आऊ देश बचाऊ’वालाहरुको कुरा सुनेर राजा अघि बढ्नुपर्थ्यो। उता, माओवादीको सशस्त्र द्वन्द्वले देशलाई गाँजेको थियो, यता राजनीतिमा ‘डेडलक’को स्थिति थियो।

घोषित मितिमा चुनाव हुननसक्ने भएपछि देउवाले चुनावको मिति सार्न राजाकहाँ सिफारिश लगे, तर राजाले २०५९ असोज १८ मा मध्यरातमा सम्बोधन गरी उल्टै असक्षम भन्दै उनको सरकारलाई बर्खास्त गरिदिए। कार्यकारी अधिकार आफ्नै हातमा लिए, स्वच्छ छविको प्रधानमन्त्रीको दर्खास्त मागे। अनुराधा कोइराला, डा. उपेन्द्र देवकोटा जस्ता चर्चित व्यक्तित्वहरुलाई मन्त्री बनाए। तर गर्नै पर्ने एउटा काम चाहिँ गर्न सकेनन्, राजनीतिक दलहरुलाई विश्वासमा लिई देशको समस्या समाधानतर्फ सक्रिय भूमिका निर्वाह गर्ने। आखिरमा स्वच्छ छविको मन्त्रिमण्डलले केही काम गर्न सकेन। अनि फेरि केही महिनापछि देउवालाई नै प्रधानमन्त्री बनाउन बाध्य भए। प्रतिगमन आधा सच्चियो भन्दै एमाले पनि सरकारमा सहभागी हुनपुग्यो। त्यसको केही महिनामा नै माघ १९ को कदम आयो, जसमा ज्ञानेन्द्रले प्रत्यक्ष शासनभार सम्हाले।

जनता कांग्रेस-एमाले लगायत संसदवादी दलहरुको लुछाचुँडीदेखि दिक्क थिए। माओवादीको द्वन्द्वले देशमा छाएको अशान्तिदेखि दिक्क थिए। भ्रष्टाचारबाट दिक्क थिए। त्यसैले मन्त्रिमण्डलका अध्यक्षसमेत भएका राजा ज्ञानेन्द्रले राम्रै काम गरे उनैको समर्थन गर्ने मूडमा थिए। त्यतिबेला देशभित्र तीन शक्तिको स्थिति थियो। राजा, संसदवादी दल र माओवादी। माघ १९ को सम्बोधन हेरे हुन्छ, त्यसमा माओवादीलाई कडा भाषामा चुनौति दिइएको छ, संसदवादी दलहरुलाई भरमार गाली गरिएको छ। दुई शक्तिलाई सीधै चुनौति दिएपछि त्यही अनुसार काम गर्न सक्नुपर्थ्यो। संसदवादी दलका नेतालाई नजरबन्दमा राखिए पनि माओवादी हिंसालाई निमिट्यान्न पार्न उनले सकेनन्। विदेशी शक्तिको समेत साथ लिई श्रीलंकामा राजापाक्षेले लिट्टेलाई सखाप पारे जस्तै माओवादीलाई सखाप पार्न सकेको भए उनको त्यो कदम सार्थक हुन्थ्यो होला। त्यो पनि गर्न नसक्ने र भएका स‌ंसदवादी दलहरुलाई समेत शत्रु बनाई उनले राज गर्न सक्ने स्थिति छँदै थिएन। त्यहाँमाथि उनी जनतादेखि नै साह्रै डराए। जनताको साथ लिएर अघि बढ्नुपर्नेमा जनतादेखि नै डराएपछि के हुन्छ ?

दलहरुदेखि दिक्क भएर जनता सडकमा उत्रने मूडमा थिएनन्। तर उनले निषेधित क्षेत्र घोषणा गर्दै जुलुसै निकाल्न नपाउने बनाइदिन्थे। इन्टरनेट, मोबाइल बन्द गरी जनतालाई उकुसमुकुसको स्थितिमा राख्थे। मिडियामा अप्रत्यक्ष रुपमा प्रभाव जमाउने उपाय पनि हुन्छन् तर उनी सेना पठाइदिन्थे। उनका यही गल्ती नै उनको पतनको कारण बन्यो। यस्ता खराब सल्लाह दिनेकै कारण राजसंस्था डुब्न पुगेको हो।

दलहरुको आन्दोलनमा कति मान्छे हुन्थे, त्यो हामीले प्रत्यक्ष देखेका हौँ। दुई चार सय मान्छेको हुलले आन्दोलन गर्दैमा केही हुन्न थियो। तर सरकार त्यहीदेखि डराएर निषेधित क्षेत्र घोषणा गर्दै पक्रँदै गरिरहेको हुन्थ्यो। कार्यकर्ताबाहेक सडकमा कोही उत्रेकै थिएनन्। अझ सुरुमा दिनमा त कार्यकर्ताहरु नै पनि आन्दोलनमा थिएनन्। आन्दोलनको हालत बिजोगै थियो। कतिपय आन्दोलनको अवस्था आफ्नै आँखाले देखेको भएर त्यतिबेलाका दिन सम्झन्छु। भोटाहिटीमा एक हुल मान्छे नाराबाजी गर्थे अनि निषेधित क्षेत्र तोड्थे, प्रहरीले पक्रन्थ्यो। निषेधित क्षेत्र घोषणा नगरेको भए उनीहरु जतिसुकै कराए पनि खासै केही अर्थ रहने थिएन।

ज्ञानेन्द्रले लात हानेपछि कांग्रेस-एमालेसहितको संसदवादी दल र माओवादीबीच दिल्लीमा १२ बुँदे सहमति भयो। यता आतंकवादलाई परास्त गरेर शान्ति ल्याउँछु भनी वाचा गर्ने राजाले केही ठोस कदम चाल्न सकेनन्। त्यसपछि शान्ति र परिवर्तनको चाहनाले नै २०६२/६३ को आन्दोलनमा अपार जनसहभागिता भएको हो।

बुद्धि नभएका तानाशाह
तानाशाही लाद्‌न पनि उचित रणनीति, सुझबुझ र चलाखी आवश्यक हुन्छ। जुन ज्ञानेन्द्रमा पटक्कै थिएन। ल्याङ्गल्याङ्गे पाराले तानाशाही लादिँदैन। इतिहास हेर्ने हो भने जंगबहादुर राणा र राजा महेन्द्रले त्यस्तो सुझबुझ अपनाएको देखिन्छ। तत्कालीन राजनीतिक शक्तिलाई उनले राम्रैसँग छामेका थिए। राजा भएकै हुनाले आलोचना गर्ने भए बेग्लै कुरा, नत्र देशविकासको वास्तविक सोच र रणनीति भने महेन्द्रसँग थियो। योजनावद्ध विकासको जग हाल्ने काम उनैले गरेका हुन्। भूमि सुधारको कुरा होस् कि पूर्वपश्चिम राजमार्ग, शिक्षाको कुरा होस् कि वातावरण संरक्षणको; भारत र चीनसँग समदूरी राख्ने कुरा होस् कि संयुक्त राष्ट्र संघमा सदस्यता पाउने कुरा- उनको दूरदर्शीपूर्ण रणनीतिको प्रशंसा गर्नैपर्छ। भलै उनका पनि कमजोरी थिए। तर अहिले र पछाडि फर्किएर हेर्ने हो भने इतिहासमा उनी जस्तो ‘नेता’पाउन गाह्रै छ। बरु विदेशमा शिक्षा पाएका छोरा वीरेन्द्रको भिजन सून्य थियो। उनले महेन्द्रको विरासत थाम्नुबाहेक खासै कुनै नयाँ कुरा केही गर्न सकेनन्। ज्ञानेन्द्रको त देखिहालियो।

ज्ञानेन्द्रले तुलसी गिरी र कीर्तिनिधि विष्ट जस्ता आउटडेटेड मान्छेलाई उपाध्यक्ष बनाएर आफ्नो मन्त्रिमण्डलमा राखे। उनीहरुकै पुरातन विचार र रणनीतिले आखिर उनलाई डुबायो। खासमा उनले असोज १८ पछि नै भएका दलका नेताहरुको नाडी छामेर, उनीहरुलाई फुटाएर, उनीहरुको साथ लिएर आफ्नो सक्रिय शासन अघि बढाउनु पर्ने थियो। प्रकाश कोइराला र राधाकृष्ण मैनाली जस्ता मान्छेलाई बोकेर हैन, माधव नेपाल र शेरबहादुर देउवाजस्ता नेतालाई प्रयोग गर्न सक्नुपर्थ्यो। माघ १९ पछि माधव नेपाललाई देखाउनको लागि प्रधानमन्त्री बनाएरमात्रै भए पनि आफ्ना कामहरु गरेको भए स्थिति अर्कै हुनसक्थ्यो। मोबाइल, इन्टरनेट बन्द गरेर चिढ्याउने हैन कि केशव स्थापितले भनेको कुरा हावै जस्तो लाग्ने भए पनि लभपार्क बनाइदिएर युवालाई देखाइदिनुपर्थ्यो। अपरिपक्व रुपमा चाइना कार्ड खेलेर हैन, आतंकवादविरुद्ध अमेरिकाको नेतृत्वमा भइरहेको विश्वव्यापी अभियानलाई साथ दिए जस्तो गरी अमेरिका, भारत र चीनको समर्थन र सदभाव बलियोसँग बोकेर माओवादीलाई निमिट्यान्न पार्नसक्नुपर्थ्यो।

न उनले दलहरुको फुट र नेताहरुको पदलोलुपतालाई पिता महेन्द्रले जस्तो उपयोग गर्न सके। उल्टै उनको कदमले विपक्षीहरुलाई एकजुट बनाइदियो। न अन्तर्राष्ट्रिय सम्बन्धको रणनीतिक विश्लेषण गर्न सके। न आफूले भन्दै आएको माओवादी आतंकवादविरुद्ध दह्रोसँग केही काम गर्न सके। न देश र जनतालाई प्रत्यक्ष लाभ हुने काम केही गर्न सके। यदि राजा महेन्द्रको जस्तो दूरदर्शीपना र रणनीतिक हिसाबले सोच्न सक्ने क्षमता ज्ञानेन्द्रको भइदिएको भए र यदि उनलाई दरिला सहयोगीहरुले साथ दिएको भए उनले माघ १९ मा मागेको ३ वर्षमात्र हैन, ३० वर्षसम्म शासन चलाउन सक्थे। तर आफ्नै र आसेपासेको कुसल्लाहले समेत ज्ञानेन्द्रलाई डुबायो।

अहिले पनि उस्तै
अहिलेको स्थिति पनि झण्डै ज्ञानेन्द्रले सत्ता हत्याउँदाको स्थिति जस्तै छ। राष्ट्रपति रामवरण यादवलाई राजा ज्ञानेन्द्र मानौँ, बाबुराम भट्टराईलाई देउवा मानौँ। संसद छैन। निर्वाचन हुन सकेको छैन। कांग्रेस र एमाले त्यतिबेला जस्तै जनताबाट नपत्याइएका सडकमा रहेका शक्ति। ज्ञानेन्द्रको जस्तो विरासत र अलग शक्ति राष्ट्रपतिसँग छैन। राष्ट्रपतिलाई बाबुरामलाई बर्खास्त गर्न सुझाव दिनेहरु छन्। ज्ञानेन्द्रले जस्तै मेरो काम टुलुटुलु हेरी बस्ने मात्र हैन भन्दै बाबुरामलाई बर्खास्त गरी सुशील कोइराला वा अन्य कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाइदियो भने के होला ? राष्ट्रपति आफैले कार्यकारी अधिकार लियो भने के होला ? दोहोरो सत्ताको स्थितिमा बाबुरामलाई सेना र कर्मचारी प्रशासनले साथ दियो भने राष्ट्रपति शितलनिवासबाट बाहिरिनुपर्ने स्थिति आउन सक्छ। राष्ट्रपतिलाई साथ दियो भने माओवादी सडकमा आउनेछ। दक्षिणको आशीर्वाद बाबुरामलाई रहेको अवस्थामा म्यादे वक्तव्यसमेत जारी गर्न नसकेको स्थितिमा त्यसो होला त ? त्यसो नभए पनि के त ? नियमित बजेट आउन सक्ने स्थिति छैन, अध्यादेशहरु पारित हुन सकिरहेका छैनन्। यथास्थिति कायम रहँदा पनि निकास आउन सक्दैन। त्यसो भए यो डेडलकको स्थितिको निकास के त ? परिस्थितिले देश तानाशाही व्यवस्थातिर उन्मुख हुने देखाइरहेको छ। तर त्यो तानाशाहीपना दूरदर्शीपूर्ण हुने हो कि उही ज्ञानेन्द्रको पाराको हुने हो- भन्न सकिन्न।

37 comments to माघ १९ : आसेपासेले डुबाए ज्ञानेन्द्रलाई

  • kamal raj

    साथी हरु मा पनि ज्ञानेन्द्र को नातेदार त होइन तर पनि उनि ले बोलेका कुरा सत्य हरु साचो नै लाग्छ साचो कुरा गर्दा आफ्नो दुस्मन नै भए पनि उसको समर्थन गर्नु एक सभ्य नागरिक को कर्तब्य नै हुन्छ , अनि ज्ञानेन्द्र ले नेपाली जनता लाई त कुनै दुख दिन खोजेको होइन जुन अहिले नेपाल को धिकुदी मा लुछा चुडी गरेर बसेका यी डाँका हरु को कुकिर्ती बाट दिक्क भएर माघ १९ को दिन पारेर जेल मा कोचेको मात्र हो त्यो अत्यन्तै जरुरि पनि थियो होइन भने अहिले नेपाल मा भएको लुट तन्त्र त देख्नु भएको नै छ यिनै डाँका हरु थिए तेती बेला खोर मा बस्ने हरु अनि ज्ञानेन्द्र लाई दोस लगाएर मात्र पुग्दैन अब उनले चलेको कदम र उनि ले हाल मन्दिर मा गएर दिएको बक्तब्य अत्यन्तैइ सत्य छ यी नेता हरु बाट नेपाली जनता को हित हुन सक्दैन , पालो पालो गरि चड्कन खादा पनि यिनी हरु उस्तई छन् अब हामि हरु मिलेर यी डाँका लाई कोच्नु पर्छ यो छाडा तन्त्र भन्दा त सुधारिएको अब को राज तन्त्र नै नेपाल को लागि उपयुक्त देखिन थालेको छ ,,,,,,

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 1

  • raghubir

    समय कति बलवान रहेछ। यहि ब्लगमा राजा र राजतन्त्र संग सम्बन्धित कुनै करा सुन्न पढ्न लेख्न सकिन्नथ्यो। एउटा कमेन्ट कसैले गर्‍यो भने कति काउन्टर कमेन्ट आउँथे। तर आज के हो, राजा महेन्द्रको गुणगान गाइएको छ, कसैले महेन्द्रको बिरोध गरे त्यसमा काउन्टर कमेन्ट छ। हुँदा हुँदा ज्ञानेन्द्रको समेत गुणगान छ केहि कमेन्टहरुमा। समय – साँच्चिकै बलवान हुँदो रहेछ।
    मेरो बिचार यो सबै कुरामा यसप्रकार छः राजा महेन्द्र तानाशाहा नै हुन, तर उनमा दुरदर्शिता र राष्ट्रप्रेम थियो। राजा ज्ञानेन्द्रमा केहि राष्ट्रप्रेम थियो, दुरदर्शिता पटक्कै थिएन, र सबै भन्दा नराम्रो भनेको लोभ असाध्यै थियो। बाबुराम – राम्रा मान्छे हुन – पहिले मलाई लाग्दैन थियो – तर अहिले लाग्न थालेको छ देशको अहिलेको आवश्यकता उनै बाबुराम नै हुन्। किन ?

    किनभने, बिकल्पमा कोहि छैनन्, छन् भने शुशिल दा र झल्लु बा जस्ता जिंग्रिङ्ग परेका चाउरे नेताहरु – जसमा न भिजन छ, न मिसन छ, न त आँट नै। के गर्ने सिंग न पुच्छरका यस्ता नेतालाई प्रधानमन्त्री बनाएर ?

    देशको आवस्यकता आर्थिक विकास र सम्वृध्दि यो। यसो हेर्दा, कुरा जे भए पनि, काठमाडौंका साघुँरा सुँगुरे गल्लीहरुलाई यसो हेर्नलायक सम्म बनाउने काम बाबुरामबाटै भो। अरुले गर्ने थिएनन्, किनभने तिनमा न त गर्नुपर्छ भन्ने भिजन छ, न त गर्ने आँट नै। यो त एउटा सानो उदाहरण मात्र हो। देशमा गर्नुपर्नेयस्ता कामहरु करोडौं छन्, र आज हामी संग भएका नेताहरु मध्ये ती कामहरुलाई identify गर्दै कार्यान्वयन गर्दै जाने खुबी मात्र बाबुराममा छ – अरु पनि भिजन भएका मानिस छन् होला तर राजनितीमा छैनन्, प्रधानमन्त्री हुन राजनितीमा त हुन पर्‍यो नि – र Tried and Tested नि हुन पर्‍यो – भने पछि हामी संग Choice एउटै मात्र छ – बाबुराम भट्टराई।

    पश्चिम सेती भन्ने ७५० मे वा क्षमताको जलविद्युत आयोजना ल्याने प्रयास गरे – अझै प्रयास जारी छ- शायद आयोजना आउँछ होला बाबुराम रहिरहे भने। तर विपक्षीले के गरे ? भाँजो हाले – एक वर्ष अगाडि सुरु हुने काम आज सम्म हुन सकेको छैन – संसदिय समिती र नानाभाँति नाममा भाँजो हाले। ७५० मे वा भनेको अबको ६ वर्ष पछिको लागि ठ्याक्क पुग्ने आयोजना हुने थियो। देशमा लोडसेडिङको भयावह स्थिती छ – र यहि देशमा जलस्रोतको अपार धन छ – अहिले लोडसेडिङ हुँदा के हुन्छ ? घरमा टि भी हेर्न पाइन्न, बच्चा बच्ची पढ्न पाउन्न्। बस त्यति मात्र हो त ? होइन त। काठमाडौं र देशभरका प्रत्येक उद्योग, कलकारखाना, सपिङ मल, सिनेमा हल, स्कुल, कलेज, अस्पताल – सबै ठाउँमा जेनेरेटर चल्छ। एउटा ४–५ तले घरमा पुरै बिजुली दिने डिजेल जेनेरेटर – करिव ३०० के भि ए क्षमताको ले – घण्टामा ५० लिटर जति डिजेल खान्छ। डिजेलको कति पैसो पर्छ ? र त्यो कहाँ बाट आउँछ ? यस्ता जेनेरेटर मात्र कति छन् देशमा ? दिनको हजारौं लिटर डिजेल त नेपाल टेलिकम र एनसेलले मात्र खर्च गर्छ मोबाइल सुबिधा दिइराख्न – अरु कल कारखाना, अस्पताल र स्कुलको कुरा छोडौं। बर्षको ८० अरब रुपियाँ भन्दा बढीको पेट्रोलियम पदार्थ आयात गर्छ यो गरिब देशले। र आफ्नै देशमा भएको सित्तैको पानीबाट बिजुली निकाल्न प्रकृतिले खोलानाला दिएको चाहीं छ। बिजुलीको अधिकतम प्रयोग गर्‍यो भने ६०-७०% पेट्रोलियम आयात घटाउन सकिन्छ – आजकै मुल्यमा हेर्दा पनि वर्षको ५० अर्व रुपियाँ बचाउन सकिन्छ – यति पैसा मात्र बचाए देशलाई कति फाइदा होला आफैं बिचार गर्नुहोला पाठकहरु। र यहि दिशामा केहि गहकिलो कदम उठाउने बाबुराम होइनन् र ? पश्चिम सेतिमा अंकुस लगाउने प्रतिपक्षी जान-अन्जानमा देशद्रोही भएका होइनन् ?

    बाबुरामले मात्र गर्न सक्छ भन्ने छ र – हाम्रा शुशिल दा र झल बा ले नि गर्छन् भन्नुहोला – देखियो के के ख्याँसछन् ती मनुवाहरुले। बाबुरामलाई पाँच वर्ष काम गर्न दिउँ – २५०० मेगावाट बिजुली निकालेर देखाउँछन् — अरुले नि गर्लान तर २५०० मे वा को लागि २५ वर्ष लगाउँछन्। फरक नै त्यही हो। बिजुली बाहेक कृषि, पर्यटन, उद्योग , कारखाना – के के छन् के के – अरु गर्नपर्ने काम – र काम गर्न चाहिने भिजन र skill भका प्रधानमन्त्री यिनै एक हुन्। होइन जस्तो लाग्छ भने एक चोटी छातिमा हात राखी सोच्नु त – स्याटेलाईटबाट बिजुली export गर्छु भन्ने माकुने, बोलेको बुझ्नै गाह्रो हुने शुशिल/देउवा, उखान मास्टर ओली, गनगने झल्लु – यिनमा vision र thinking छ जस्तो लाग्छ ????? र यी सबै प्रधानमन्त्री भइसकेका हुन् (ओली उप सम्म त भए क्यारे), के ख्याँसे उनीहरुले ??? र अब के गर्लान भन्ने आशा गर्ने यी अन्नपशुरुले ?

    माओबादीका बिद्रोह ताकाका कृयाकलाप र पहिलो प्रधानमन्त्री काल (प्रचण्ड काल) सम्म उनीहरुको खरो बिरोध गरियो – तर अहिले बाबुराम प्रधानमन्त्री भएपछिको समयमा उनको भिजन र काम गराई देखेपछि भने आफ्नो बिचार परिवर्तन नगरी रहन सकिएन। देशलाई चाहिएको बिकास हो – आर्थिक सम्वृद्धी हो – पहिलो प्राथमिकता। नत्र खोक्रो प्रजातन्त्र , स्वतन्त्रता, प्रेस स्वतन्त्रता, र यस्तै कन्सेप्टहरुले मात्र भोको पेट भर्न सकिन्न। आफ्नै जीवनकालमा देश धनी सफा राम्रो भएको देख्ने रहर छ भने बाबुरामलाई सपोर्ट गरौं – होइन भने संधै अन्धकार, दुख, गरिबी , धुलो , हिलो , मैलो – संसारकै सबैभन्दा पछौटे गरिब देश रहिरहने छौं।

    हिसिलाले भ्रष्टाचार गरी भन्नुहोला, – के भन्नु। कडा औषधीको साइड इफेक्ट जस्तै हो। रोग निको हुन्छ भने साईड इफेक्ट सहनै पर्‍यो – रोगको निदान स्थाई हुन्छ, साईड ईफेक्ट अस्थाई हो – — र भ्रष्टाचार नै गरेको भन्ने प्रमाण पनि छैन – विपक्षीको आरोप बाहेक – वा केशव स्थापितको बहुलठ्ठी अन्तरवार्ता बाहेक।

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 23

    • द्रोण

      केसब स्तापित को अन्तर्वार्ता एक चोटी पढ्ने हो कि ?

      मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 7

    • गगने

      बस्तुनिस्ठ कुरा गर्नुभयो! मेरो कुरापनि यस्तै हो र यहि हो!
      सोह्रै आना ठिक भनौ भने फेरी इण्डियन मार्का मा दहरियाला तेसैले एक रुपैया सहि कुरो भन्छु है!
      बाबुरामले पटक पटक भनिरहेको छ, देशले शामंताबादको अन्त्य गर्यो गणतन्त्र पाप्तिगरी अब यसलाई संस्थागत गरौ र बिकाश अनि सम्ब्रिड्डी तर्फा ध्यान लगाउ!
      अनि अहिले भै रहेको माओबादि अधिबेशनले पनि सम्ब्रिद्दि र बिकाशको लागि ‘उत्पादन को लागि संघर्ष’ भनेको छ!
      कसले र कुन पार्टीले यसरि देश र जनताको सम्ब्रिद्दि र बिकाश अनि स्वोतान्त्रता लाइ सम्बोधन गर्ने गरि कुनै कार्य योजना वा कुरा गरेको थियो?
      “बिरालो कालो वा सेतो जस्तो रंगको होस् तेस्ले मुसा मार्नुपर्यो”
      एक्काइसौ शताब्दीमा आयर माओबाद नाम संग तर्सिने साथीहरुले घोक्नुपरने उक्ति हो यो!

      मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 10

  • bibek dhakal

    सत्ता मा पुगेपछि लोभ वा व्यक्तिगत महत्वाकांक्षा नराख्ने मान्छे खोज्ने हो भने कुनै हिमाली भेगको गुफामा वा पशुपतिमा बर्षौं देखि तपस्या गरिरहेको लामा वा जोगी खोजेर प्रधानमन्त्री/ राष्ट्रपतिको कुर्सि मा राखे मात्र हो. कि त महात्मा गान्धी, मण्डेला जस्ता एकदम “रेर” व्यक्तिहरु हुनुपर्यो जो सांसारिक मोह ( पैसा, शक्ति आदि ) देखी माथि उठेका हुन्छन. यो एकदम कटु यथार्थ हो जसलाई आलोचना गर्नु सट्टा स्विकार्नु जरुरि छ.
    त्यसैले व्यक्तिबाट धेरै आस गर्ने हैन, सिस्टम बाट हो. र कुनै व्यवस्था निरङ्कुश होस् वा प्रजातान्त्रिक होस् , जुन व्यवस्थामा “ओभरअल” जनता सुखी छन / खुसि छन (सापेक्षिक रुपमा) ; जाँहा एकजना , कुनै एक समुहको स्वार्थको निम्ति हजारौं जनताले दुख पाउनु पर्दैन, त्यो व्यवस्था नै ठिक हो जस्तो लाग्छ मलाइ .
    प्रजातन्त्रले, लोकतन्त्रले केहि सिमित व्यक्तिलाई वा समुहलाई पार्टी खोल्ने , राजनीति गर्ने छुट त देला, तर फेरी त्यहि राजनीतिले गर्दा शिक्षा क्षेत्र , स्वास्थ क्षेत्र , कलकारखाना ,प्रशाशन र हुदा हुदा पर्यटन क्षेत्र समेत नकारात्मक रुपमा प्रभावित भै देशको अर्थतन्त्र मा असर पर्दा कसलाई ठिक भन्ने? लोकतन्त्रमा जनताले सूचनाको हक “एक्सर्साइज” गर्न पाउछन, पत्रिकालाई लेख्ने स्वतन्त्रता छ… तर दिनदिनै हिँसा, तोडफोड, अराजकता, नेताहरुको झगडा, सहमति को सट्टा खिचातानी जस्ता खबर पढेर जनताको चेतना मा कस्तो विकास होला? आफ्नो सामान्य माग पुरा गराउन ५-७ दिन सम्म पनि गाउँ ठप्प पार्न सकिन्छ, यो ” विरोध गर्न पाउने ” हक को प्रयोग हो तर यो क्रममा अस्पताल लैजान नपाएर बिरामी, सुत्केरी को मृत्यु हुनु, किसान तथा सामान्य ब्यापारीलाई लाखौं घाटा लाग्नु , आवत जावत गर्न नपाएर अत्यावस्यक कामहरु डामाडोल हुँदा हुने मानव अधिकार हनन को विरोध कसले को विरुद्द गर्ने?
    मलाई चीन र अरब मुलुकको व्यवस्था कहिले मन परेको थिएन. तिब्बती हरुमाथि भएको दमन सम्झेर पनि मलाई रिस उठ्थ्यो. म सोच्थें – आर्थिक प्रगति मात्र भएर हुन्छ? सामाजिक प्रगति र मानव अधिकार सुनिस्चित हुनु परेन? तर अस्ति एसो तथ्यांक हेर्दा – मानव विकाश सुचाङ्क ( जुन खालि आर्थिक प्रगति मात्र नभएर मानव अधिकार र मान्छेलाई बाच्न चाहिने अरु ‘आस्पेक्ट’ को आधारमा गरिन्छ) मा चीन १०१ मा , कुवेत ६३, कतार ३७ मा रहेछन भने भारत १३४ मा र नेपाल १५७ मा !!! म तेतिबेला सोच्न बाध्य भएँ- “सिमित व्यक्ति वा समुहको” फाइदाको लागि अनेक राजनैतिक र मानव अधिकार को विशेषण प्रयोग गरेर “उत्तम” देखाइएको ब्यवस्था ठिक वा बोल्न पाउने लेख्न पाउने अलिकति अधिकार कटौति गरेर बरु “अधिकांस व्यक्ति र समुहलाई” दुई छाक खान पाउने , आवस्यक सेवा मा सजिलो र बिना झन्झट पहुच गराउने किसिमको व्यवस्था ठिक? खुरु खुरु आफ्नो काम गरि आनन्दले हिड्न पाउने “अधिनायकबाद” ठिक वा जसले जे गर्न नि हुने, सुरक्षाको प्रत्याभूति नभाको, छाडातन्त्र हावी भाको, चोर र डाँका नेताहरुको ” खलनायकवाद” ठिक ?

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 1

  • saroj (aus)

    विश्लेषण त ठिकै हो. तर बिरेन्द्र vision नभएको होइनन. True constitutional monarch थिए. ज्ञानेन्द्र लाई महेन्द्र वा जंग बहादुर संग त तुलना गर्न नै मिल्दैन. हो हालका नेताहरु संग तुलना गर्न सकिन्छ. जस्तै गिरिजा, माकुने , प्रचण्ड आदि आदि.

    मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 19

  • madan bajracharya

    अत्यन्त कटु सत्य/ बास्तवमै भन्ने हो भने अलग्ग अलग्ग शिधान्त र स्वार्थ को भारि बोकेका ई नेताहरुको बिचमा सर्वसहमति गरेरै मात्र सरकार र संबिधान बन्नु पर्ने कुरानै सबै बिबादको जड हो/ आफ्नै दल भित्र सहमति गर्न नसकेकाले आफ्नो कुरामा अरु दलको सहमति नभय सरकार बनाउन दिन्नौ, संबिधान बन्न दिन्नौ भन्नेहरुको यो लोकतन्त्र तुच्छ सब्दमा भन्ने हो भने “कुकुरतन्त्र” हो/

    ईनिहरुको यो “कुकुरतन्त्र” लाई बिगतको कुनै जंगे चन्द्रे, जुद्धे, महेंद्रे, बिरेन्द्रको “तन्त्र” सिट तुलना पनि गर्न सकिंदैन/ “ज्ञाने-काल” ईनिहरुलेनै रचेको हो/ ज्ञानेको बुद्धि भै दियको भय ज्ञाने-काल ईनिहरुको निमित “अन्तिम-काल” बन्न सक्ने थियो/ तर ज्ञानेको मूर्खताले गर्दा ज्ञाने कै “काल” बन्यो/ तर सत्य कुरा यो पनि हो कि ज्ञाने मुर्ख नभयको भय “दरवार हत्याकाण्ड गर्ने” ले ज्ञानेलाई “जोग्याउने” पनि थियनन/

    जता सिट सबै प्रकारको बिकल्प हुन्छ/ पंचायत निर्विकल्प भनियकोमा जनताले तेस्को बिकल्प देखाई दियो/ त् ईनिहरुको सहमतिको बिकल्प छैन भन्नेलाई पनि जनताले पनि “बिकल्प” देखाई दिनेनैछ/

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 3

  • Prakash Joshee

    I know Gynendra was selfish king and member of royal family, but I still support what he has done upto step 3. Last setp in selection Tulsi giri and hardliner in his cabinet we his great mistake.

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 45 Thumb down 4

  • kristi

    ज्ञानेन्द्रले आफ्ना दाजुको बंश सखाप पारे उसलाई आसेपासेले सखाप पारे | पाप धेरै टिक्दैन कलियुगमा ज्ञानेदाइले पहिले अरुलाई रुवाए अहिले उनको पालो आकोछ रुने दाजु भाई मार्ने प्लान बनाउन भन्दा आफ्नो बहुलाहा छोरो सपार्न लाग्या भए अहिले पुर्पुरोमा हात लगाउन पर्दैनथ्यो होला ,दुख पिरमा साथ दिने आफन्त पनि बाची राख्थे ठुलो भाग खान खोज्दा डुब्या हुन् माइल्दाई

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 62 Thumb down 70

    • deven

      त्यसैको पछि लागेका ले अहिले नेपाली जनता हरु हत्याराहरु बाट संचालित हुनु परेको छ…….? एउटा परिवार को हत्यारा ( त्यो पनि प्रमाण बिनाको ) लै निकाल्न हजारौं नेपाली हरु क हत्यारा हरुको साथ् दिएर सत्ता लोभी नेताहरु र त्यस्तै स्वार्थी नेपाली जनता ले धेरै गल्ति गरे.
      तर एउटा कुरा नबिर्सौं, ज्ञानेन्द्र को कदम बिरेन्द्र ले उठाएको भए अहिले राजतन्त्र पनि हुन्थ्यो र देश मा अहिले जस्तो अवस्था पनि आउने थिएन.
      ज्ञानेन्द्र को कदम राम्रो थियो तर जनता को अन्धो रिस को अगाडी उ डराए र फटाहा माओबादी हरु लै अन्धो बनि स्वीकार्न पुगे, त्यो जनता को सबभन्दा ठुलो गल्ति थियो….. अब सच्यौन सकिदैन.
      बाबुराम राम्रो मान्छे हो तर उसका आसे पासे लै ठाउँ मा राखेर अघि भाड्ने हो भने देशमा केहि राम्रो हुने देखिन्छ…
      बाकि पार्टी हरु सबै लै एउतै पार्टी बनैदिए राम्रो होला…. नेपाल का सबै नेता हरु को विचारधारा एउटाइ हो….. नाम र दाम…. काँग्रेस कम्युनिष्ट गरेर हजारौ पार्टी बनाउनु खाली पालै पालो पिङ्ग खेल्न मात्रै हो……..

      मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 6

    • madan bajracharya

      क्रिस्तिज्यु
      दरवार हत्याकाण्ड कसले गरेको हो भन्ने कुराको बर्णन इन्टरनेट मै छ पढ्नुस/ दरवार हत्याकाण्डमा कसको हात छ भनेर पछि भन्ने भन्दै गिरिजाले आफ्नो आत्म कथामा लेखेर गयको छ भनेर चक्र प्रसाद बास्तोलाले पनि भनेको छ/ चीनले बीरेन्द्रलाई सचेत समेत गरेको थियो/ बिरेन्द्र त्यो काण्ड बात बचेको भय दरवारमा राजा रानीहरुलाई गोलि हान्दा पनि टुलु टुलु हेरेर बस्ने सैनिकहरु कसको “सेना” थिय भन्ने कुरा जरुर पत्ता लगाउने थियो/

      दरवार हत्याकाण्ड रच्नेले ज्ञानेन्द्रलाई जोगायाको मात्र राजतन्त्रको श्राद्ध गर्न र तेतिबेला जनताले बिद्रोह गर्ला भनेर मात्रै हो/ नभय ज्ञानेन्द्रले पनि नकली दीपेन्द्रको गोलि खानु पर्नेनै हुन्थ्यो/ सक्कली दीपेन्द्रलाई नागार्जुनमा लखेटी लखेटी मारेको देख्ने स्थानियहरुलाई कसैले नमारेको भय अझै पनि सायद भेट्न सक्नु हुन्छनै होला/ तर तिनीहरु जिउन्दै रहेको कुरामा कमै मात्र आस गर्न सकिन्छ/ किन भने दरवार हत्याकाण्ड पछि सफाईको काम गर्ने ढलको पोडे टोलको यौटा पोदेलाई दरवारहत्या काण्ड भयको महिनौदिन पछि उसको पसल मै गोलि हानेर मारेको थियो/

      मन परे हरियो नपरे रातो ! Thumb up 19 Thumb down 2

      • Ratna Thapa Magar

        मदन ज्यु बढो
        गहकिलो कुरो पो उठाउनु भयो त, कसले मारेको हो त बिरेन्द्र को सन्तानलाई इन्टरनेट त भन्नु भयो केहि रेफ़रेंस पनि दिनु भए आभारी हुने थिए , अहिले भएका इन्टरनेट हरुमा त दिपेन्द्र ले नै मारेको भनिएको छ , तर तपैले भने अनुसार नागार्जुन मा खेदै खेदाइ दिपेन्द्र लाइ मारे जस्तो बुझे , कृपया लिंक दिनु होला. धन्य बाद

        मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 1

        • madan bajracharya

          रत्न थापा ज्यु

          Indian hand in Nepal’s Royal Palace Massacre By Isha Khan • Jan 27th, 2010 • टाईप गर्नुस निम्न लेख पढ्न सक्नु हुनेछ/ तलको लेख बाहेक पनि बाबुराम भट्टराईले नै सन् २००१ जुन ६ तारेखमा राजदरवार हत्याकाण्ड लाई समेटेर लेखेर कान्तिपुरमा प्रकाशित गरेको लेख पनि पढ्न सक्नु हुन्छ त्यो लेखमा पनि बाबुरामले राजदरवार हत्याकाण्ड कसबाट भयको हो भनेर संकेत गर्नु भयको छ/ निम्न लेखमा लिंक पनि लेखियको छ र यो लेख माथि राज दरवार हत्याकाण्ड कसले गरेको थियो भनेर सिधा सब्दमा लेख्ने दिर्घ राज प्रसाईको लेख र प्रतिक्रियाहरु पनि पढ्न सक्नु हुन्छ/

          Former Prime Minister of Nepal Pushpa Kamal Dahal alias Prachanda has accused India of carrying out the Palace massacre in which King Birendra was killed along with his family and also communist stalwart Madan Bhandari eight years ago, reports Telegraphnepal.com.

          Prachanda, chairman of opposition UCPN (Maoist) party, claimed that the main reason behind the killing of the two adored figures had been their unequivocal love for their motherland. “They were both strong nationalists,” he said. “Both King Birendra and Bhandari were killed because they shared good relations with our party and they were about to meet me personally,” he said.The meeting with late King Birendra was tentatively fixed for May 25, eight days before he was murdered, as the information got leaked, lamented the Maoist supremo.

          He categorically outlined three reasons for the murder of King Birendra: His proposal for Nepal as zone of peace, his preference for importing weapons from China and above all his nationalist credential were the prime reasons for his brutal murder.Of late the Maoist leader has whipped up the sentiment of the nation by launching a campaign to free the country from foreign interference, recover lands occupied by India and withdrawal of foreign troops from Nepalese territory Kalapani.

          The Maoist leader also said that the entire responsibility for the Royal Palace Massacre on June 1, 2001 should be taken by the then Chief of the Nepal Army, Prajawal Shumser Rana. “The Nepal Army is bound to make public the reasons for the security lapses inside the Royal palace”, he demanded.”The murder spree of Nationalist Leaders continue since the War of Nalapani”, Prachanda said adding, “I could be killed any time from now but I do not fear death.”

          “We had won the Nalapani War with the British, now it is time for us to get ready for a similar war”, he told a meeting of Maoist cadres in Gulariya of Bardia District on January 21.

          http://www.thebangladeshtoday.com/leading%20news.htm#lead news-01

          Trackback URL

          Tagged as: India, King Birendra, Maoist Party, Nalapani War, Nepal, Prachanda, UCPN

          मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • uddhav

    यो कमेन्ट हरु बाबुराम ले एकचोटी हेरे धेरै knowledge पौने थिए. हामी देश र जनता को भलो चाहन्छु तेत्ति हो, सबै को जय होस्

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 3

  • Manoj

    भारस्ताचारको कुरामा बाबुराम भन्दा देउबा धेरै राम्रो थियो. अझ देउबा साँचै चुनावको लागि
    प्रतिबद्ध थियो भने बाबुराम सत्ता लम्ब्याउन को लागि चुनाव भन्ने गरेको मात्रै हो

    गरमागरम बहस! तपाईँको के विचार छ? Thumb up 51 Thumb down 31

  • Bikash Sharma

    ज्ञानेन्द्रले नेपाल अहिलेसम्म पनि भारतको एउटा राजनैतिक उपनिवेश हो भन्ने कुरा नबिर्सेका भए अहिलेको स्थिति के हुन्थ्यो भन्न सकिन्नथ्यो।

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 56 Thumb down 8

  • कमल थापा (साउदी अरब)

    जनताले नेताको छनोट गर्न,र नेताले जनताको नेतृत्व गर्न सक्ने अवस्था नभएकाले राजनीति र नेताबाट देशले निकास पाउन निकै गाह्रो हुदै छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 1

  • dilip gurung

    एक्काइसौ शताब्दीमा जनता नै सर्बोपरि हो र देश र जनताको लागि राम्रो गर्न सकिएन भने कोहि पनि सत्तामा टिकिरहन सक्दैन भन्ने न त ज्ञानेले सिके, न माओबादीले सिके, न कांग्रेस ले सिके, न एमालेले सिके, न मधेसी दल ले सिके| सब जना मौकामा चौका हान्ने ब्यस्त| जब सम्म यसको बोध हुन्न, तब सम्म नेपालको राजनीतिले एक मिलिमिटर पनि प्रगति गर्दैन|

    मन परे हरियो नपरे रातो ! Thumb up 39 Thumb down 1

  • Dev

    लेख अति राम्रो लाग्यो र यो यथार्थ पनि हो | जहाँ सम्म राजा बीरेन्द्र को कुरा छ , बास्तव मै राजा बीरेन्द्र संसार देखेको, पढेको भए पनि अन्धो र अज्ञानी थियो | अरु त के कुरा मात्र काठमाडौँ उपत्यका मा बस्ती बसाल्न को लागि चाहिने अति आबस्यक नक्शा पनि कोर्न सकेन | आफु बस्ने दरबार र आफु हिड्ने बाटोलाई मात्र ठुलो र फराकिलो बनाएर बाकी ठाउँहरु लाई सुँगुर बस्ने ठाउँ जस्तै नर्क बनाउने काम यसकै पालामा भएको थियो | राजाले चाहेको भए त्यो बेला मै एउटा सहरको लागि अति आबस्यक फराकिलो बाटोहरु , ढल, खाने पानी र बत्ती लाई महत्तो का साथ नक्शा मा उतारेर आबस्यक नियम र कानून बनाउन सक्थ्यो तर तेस्तो गरेन | जसको परिणाम आज काठमाडौँ उपत्यका को हालत लाई हेरे हुन्छ | राजा बीरेन्द्र ले खाली अर्थ न बर्थ को सवारी र भ्रमण मात्र गरेर तेत्रो ठुलो पद् र शक्ति को सहि उपयोग बिना नै आफ्नो राजकाल नाश गरेको र भयको देखिन्छ |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 52 Thumb down 8

  • Gaurab Nepali "Oodaaseen"

    सिक्काको एउटा पाटाबाट सरसर्ती हेर्दा कुरा ठिकै होकी जस्तो लाग्छ तर, सिकक्का को अर्को पाटाबाट हेर्नु पनि राजनीतिक चलाखीलाई राम्रो संग बुझ्न सकिन्छ ! खुंखार गिरिजा प्रसादको शब्द “ग्रान्ड दीजाईन” दक्षिण को दक्षिणा भनेपनि हुन्छ, को उत्पति र “र” को लागि बाबुरामले लेखेको पत्र लै पूर्वराजा ज्ञानेन्द्र ले सर्बसधर्ण लै बुझाउन नसक्नु र जनताहरु खुंखार लै चिन्न नसक्नु अर्को ! अबत,खुंखारहरु धेरै जन्मिसकेका छन् !

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 2

  • Mohan Sitaula

    बिस्लेशन सहि छ .

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 2

  • अनिता अधिकारी

    ज्ञानेन्द्रको समय र अहिलेको समयमा अलिकति फरक छ | अहिले रास्ट्रपति होइन प्रधानमन्त्री शक्तिशाली छन् | प्रधानमन्त्रिलाई सबै भन्दा ठुलो पार्टी र मोर्चाको समर्थन छ | अहिले सम्मको परिस्थिति हेर्दा मलाई लाग्छ अब केहि बर्ष सत्ताको केन्द्रमा बाबुराम नै रहने छन् | उनको तागत दक्षिण दाहिने हुनु मात्र नभएर अन्य दलको असमर्थता पनि हो | उनि आफ्नो कुर्सि बलियो बनाउन साम दाम दण्ड भेद सबै प्रयोग गरिरहेका छन् भने अन्य दलहरु आन्दोलन नाउँमा तेसैले मल जल गरिरहेका छन् | अहिले आन्दोलन गर्नु भनेको वर्तमान सरकारको आयु लम्ब्याउनु बाहेक केहि होइन भन्ने सायद उनीहरुले पनि बुझेका छन् तर सत्तामोहमा यति लिप्त छन् कि त्यो सोच्ने चाहन्नन् |
    संबैधानिक निकायहरु र अदालत रित्तो हुदै जादै छ | सेना प्रहरी र प्रशाशनयन्त्र बाबुरामको पकडमा जादै छ | रास्ट्रपति निरिह छन् र दक्षिणको मुख ताक्नु नै उनको अहिले एकमात्र कम हो | यो सबै परिस्थितिमा बाबुरामको भबिष्य सुमधुर छ |

    मेरो सुझाब: बाबुराम अब केहि बर्ष सहि बाटो मा हिडाउ | जंग बहादुर होइन महेन्द्र बन |

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 84 Thumb down 8

    • Rajan Upriti

      Hidden due to low comment rating. Click here to see.

      धेरैले मन नपराएको कमेन्ट। तपाईँलाई नि ? Thumb up 9 Thumb down 77

      • गगने

        नेपालमा पृथ्वी नारायण पछिको अर्को कुनै दुरदर्शी साथै देशकोलागि स्पस्ट अध्यायन बिचार र योजना भयको अर्को कुनै राजा थिय भने त्यो सिर्फ महेन्द्र हो! दु:ख तर महेन्द्रले पुर्ण समय वा भनौ अलिक आफ्नो बिचार र योजना स्पस्ट लागु गर्न र देश अनि जनतामा स्पस्ट उतार्न पाउञ्जेल शासन गर्न पायन ठिक तेसरिनै पृथ्वी नारायण ले पनि पायन! पृथ्वी नारायणको आफ्नो सम्पूर्ण शासन काल लडाइ लड्दा र नेपालको एकिकरण गर्दैमा सकियो जहा महेन्द्रले संक्रमण काल बाट निकास गरि आन्तरिमाबस्थापनि राम्ररि देश चलाउन पायन भने उसको वोरिपरिको व्यक्तिहरु पनि राम्रो परेन, सायद महेन्द्र अर्को दश बर्ष बाचेको भय देशले अर्कै स्वोरुप ग्रहण गर्ने थियो!
        देशले स्थाई बिकाशको गति समातेर स्थिर शाशन पद्दति अन्गालेपछी मात्र प्रजातन्त्र वा लोकतन्त्रले काम गर्छ (खासगरी हाम्रो जतो देश जहा अशिक्षा भोकमरी शामन्ती प्रथा कुप्रथा आदि कुराले गहिरो जरा गाडेको छ) तेतिन्जेलाको लागि तानाशाही त नभनौ तर अधिनायक चाहि सान्दर्भिक भन्दापनि आबस्यक छ!
        तेसैले यी सम्पुर्ण कुराहरु बिगत र इतिहाश भय अब भबिस्य को लागि हाल को परिद्रिस्यमा सिर्फ बाबुराम छन् जसले देशलाई दिर्घकालिन सोच र बिकाश को अनि स्थाई पद्दति को इन्फ़्रास्ट्रक्चर निर्माणमा गहन योगदान दिन सक्दछ! धेरै साथीहरु जो बाबुरामको नाम संग एलर्जी हुन्छ जो माओबादि शब्दले हर्ट आट्याक्ट होलाजस्तो धान्दछ वा बिपक्षी पाउदुरे नेताहरुको स्वार्थलिप्त राजनीतिको स्वार्थमा डुबेको छ उनीहरुलाई यो कुरा चित्त नबुझ्न सक्दछ तर यो सोह्रै आना सत्य हो!
        यो देशमा धेरै व्यक्तिहरु प्रकाशमा आय तर तिन व्यक्ति पृथ्वी नारायण, महेन्द्र र बाबुराम तेस्ता व्यक्ति हुन् जो संग देशको बस्तुनिस्ठ र तत्कालिन अनि समकालीन परिस्थितिको गहन अध्यायन र विचरण गरि आबस्यक योजना तर्जुमा साथै नियोजन गर्न सक्ने क्षमता थियो र छ! पृथ्वी नारायणले लियको नेपालको एकिकरण र संघियताको (बाताबमा पृथ्वी नारायणको सोचको नेपाल शंघिया थियो भन्नेकुरा उसको उपदेश “नेपाल मेरा साना दु:खले आर्ज्याको मुलुक होइन, यो त चार जात छत्तिस बर्णको फुलबारी हो!” भन्ने उक्तिले नै प्रस्ट्याउदछ) निर्णय र तेसको कार्यान्वयन, महेन्द्रले लियको देश र माटो सुहाउदो शाशन ब्याबस्था र तेस्को कार्यान्वायन अनि बर्तमानमा बाबुरामको देश को बर्तमान परिस्थिति र अन्तरास्ट्रिय परिवेसमा आयको परिवर्तन (बिधि र प्रविधिको बिकाशमा, जसले आजको रास्त्रियता र रास्त्रबादको परिभाषानै परिमार्जन अनि पुनर्संयोजन गरिदियको छ) आदिलाई बस्तुनिस्ठ र बस्तुगत अध्यायन र विश्लेषण गर्नसक्ने क्षमता राख्दै यो परिस्थितिमा देशले लिनुपर्ने नीति र गति तर्जुमा गर्ने हैसियत राख्दछन! ति अघिल्ला दुइ त राजाथिय र ति बिगत थिय तर पनि तत्कालिन परिस्थिति र समयमा ति ठिक थिय! अब समय अघि निक्लिसक्यो तेसैले ति सम्झना मात्र भय तर बाबुराम बर्तमान हुन् जसलाई हामीले देशको भबिस्य निर्माणमा प्रयोजन गर्न सकिन्छ तेसैले उहालाई साथ दिनु पर्ने छ यदि देशको बिकाश र निर्माण सहित समयको गतिमा देशलाई प्रवाहित गर्ने नेपालीको चाहना छ भने!
        अन्यथा सब बबाल बाद हुन् बर्बाद बाद हुन्!
        यी बिपक्षी हरुको त के कुरागराइ भयो र यिनीहरु त बाबुराम सफल भय आफुलाई असफल ठान्दछन आफ्नो भाग खोसियाको आफु लुतियाको ठान्दछन किनकि यी देशको लागि नभई आफ्नो र सिर्फ आफ्नो स्वार्थको लागि राजनीतिमा होमियाका हुडार हुन्!
        तिनीहरुलाई छाडेर हामि देशहित र देशको स्वार्थ अनि देश बिकाश चाहने जनताले गहिरियर बुझ्नुपर्ने पो छ त!

        मन परे हरियो नपरे रातो ! Thumb up 21 Thumb down 12

        • madan bajracharya

          गगनेज्यु
          बाबुरामलाई “सोर्है आना” सहि भन्नु भयकोमा/
          चार आनाको मोहर र सोर्ह आनाको रुपैया त् भारतमै मात्र हुन्छ नेपालमा हुँदैन/ नेपालमा ४ पैसाको आनाको हिसावले २५ आनाको रुपैया हुन्छ सोर्ह आनाको रुपैया हुँदैन/ तसर्थ यो हिसावले पनि बाबुराम पूर्ण सहि छैन/

          बाबुरामलाई पृथ्बी नारायण शाह सिट दाँज्नु भयकोमा/
          पृथ्बी नारायण शाह बाईसे चौबिसे जातिको जातीय राज्यहरु लगायत आफ्नै गोर्खा राज्य समेतलाई यकिकृत गरेर बृहत नेपाल बनाउने राजा थियो/ बाबुराम त् मधेशबादीहरुको माग बमोजिम सम्पूर्ण तराईलाई मात्र “मधेसीको मधेश” बनाउन अप्ठ्यारो हुने भयकोले देसको दोश्रो र तेश्रो ठुलो दलहरु (कांग्रेस यमाले) सिट भैसकेको सम्झौता तोडेर संबिधान सभालाई संबिधान बनाउने नसक्ने बनाउने हुन् त्; बाबुरामले देसको भबिस्य कसरि बनाउँछ?

          बाबुरामलाई महेन्द्र सिट दाँज्नु भयकोमा/
          सन् १९५०को सन्धि जस्तो अजिंगरको अँगालोमा कस्सेर भारतले उति बेलानै भुटान जस्तै बनाई सकेको नेपाललाई संयुक्त रास्ट्र संघको सदस्य बनायो/ महेन्द्रले नै असमान कोशी सन्धि समेत संसोधन गर्यो/ महेन्द्रले चीन सिट घंसित सम्भंद बनायर चीनको प्रधान मन्त्रि मार्फत भारतलाई “खवरदार नेपाल माथि हस्त्छ्याप नगर” भनेर धम्काउन समेत भयो/ तेस्तो “महेन्द्रको रास्ट्रबाद” लाई गालीको रुपमा प्रयोग गर्ने बाबुराम कसरि दाँज्न सकिन्छ?

          अब देसको भबिस्य बाबुरामले मात्रै बनाउन सक्ने भनेकोमा/
          यो कुरा त् हुतित्याउंचाले आकाश थाम्ने कुरा जस्तै मात्र हो/ देसको बन्न सकिने संबिधान समेत बनाउन नसिके बनाउने व्यक्तिले नेपालको भबिस्य कसरि बनाउँछ?

          नेपालको संबिधान मावोबादीको समर्थनमा बनेको झलनाथको नेत्रित्वोको दी तिहाई बहुमतको सरकाले बनाउन सक्थ्यो/ तेतिबेला भारतले मात्रै होईन बाबुरामले समेत बहुमत बात संबिधान बनाउने कुराको बिरोध गरेको थियो/ बाबुरामले बहुमत बात संबिधान बनाउने कुराको मात्रै बिरोध गरेको थियन आफ्नै दलको समर्थनमा बनेको झलनाथको नेत्रित्वोको सरकारको समेत बिरोध गरेको थियो/

          नेपालको संबिधान मावोबादी पार्टी र कांग्रेस, यमाले बादी बिचमा ७ बुंदे सम्झौता भय पछि पनि बन्न सक्थ्यो/ तर त्यो सम्झौताले सम्पूर्ण तराईलाई मात्र “मधेसीको मधेश” बनाउन अप्ठ्यारो पारेको कारणले मधेशबादीले र भारतले बिरोध गर्यो/ बाबुराम त्यो सम्झौताको पनि बिरोधि बने/ गगनेज्यु झलनाथलाई समर्थन दिने र कांग्रेस यमाले सित ७ बुंदे सम्झौता गर्ने निर्णय प्रचंद्र्को नीति थियो/ तर ई दुवै निर्णयहरुलाई भारतले पनि बिरोध गर्नु बाबुरामले पनि सफल हुन् नदिनुको बिचमा के रहस्य छ?

          पार्टीको हिसावले त्यो नेतानै सफल नेता हो जसको पालामा पार्टी अझै मजबुत हुन्छ/ संबिधान समेत नभयको देसको जनताको हिसावमा त्यो नेतानै सफल नेता हो जसको पालामा संबिधान बन्छ र अन्यायमा परेका जनताले न्याय पाउँछ/

          बाबुरामको पालामा त् पार्टी नै टुक्रियो/ बेपत्ता पारीयको आफन्तको बारेमा जानकारी खोज्नेको टाउको माथि लाठि बजारियो/ जिउन्दै गादियको देकेंद्र्को पत्नीलाई न्याय दिलाउन खोज्नेको हात बाँधियो,मुख थुनि; तेतिले पनि नपुगेर तिनीहरुको सरुवा समेत गरियो/

          विद्वान र सछ्यम व्यक्तिको प्रसंसा त् सत्रुले पनि गर्छ तर बाबुरामलाई त् ऊसैको पार्टीको आधा मावोबादी कार्यकर्ता र नेताहरुले नै देसको तथा मावोबाद्को सत्रु सिट पल्केको आरोप लगायकोछ/

          मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 3

          • गगने

            मदन जी,
            तपाहिको कुराहरुलाई नकार्न सक्दिन तिनीहरु एक रुपैया (बिसै आना)जायज छन् (सोह्रै आना भंन्योभनेत फेरी इण्डियन दलालमा दहरियाला)!
            मात्रै मेरो यो सोह्रै आना लोकोक्ति र लोक जिब्रोमा बसेको कारण ले उजागर गरेको हु अन्यथा सय प्रतिशत वा सेन्ट पर्सेन्ट भन्नुपर्ने थियो कि! सेन्ट पर्सेन्ट भन्दा अझै तपाहिको मन खुशीले विह्वल हुनेथियो होला, खैर छाडौ यी कुरा!
            तपाहिको कुराहरु पुराण जस्तै लाग्छ मलाइ!
            पुराण जो सुन्न र भन्न खुब आनन्द दिन्छ सुनुन्जेल तल्लिन अनि मन र आत्मालाई शान्ति मिल्छ तर तेस्ले कुनै औचित्य र यथार्थता अन्गाल्दैन जीविकोपार्जन र जीवनलाई निरन्तरता अनि बिकाश दिने बारेमा कुनै भूमिका खेल्दैन किनकि ति पुराण भन्दा हज्जारौ माइलको बेगमा समय अघि बढी सकेको छ र समयले पुराणलाई जहाको तेही छाडेर पृथ्वीको अनगिन्ति फेरो मारी सकेको छ तर पुराण र तेस्तै छ तपाहिको कुरा हरु, इतिहाश खोतल्ने जान्नु भयको छ घटनाको चर्चा गर्नुहुन्छ तर तेस्को बाताबिकता र बस्तुगत अध्यायन भने पाइन्न !
            इतिहाश र घटनाक्रमको वोरिपरी लगाइने तपाहिको द्रिस्त्री साच्चै तेज छ तर तेस्को विचरण र अध्ययनमा निखारता छैन! तेसैले तपाहिको कुरा सुनेर वाहा हो त है भन्न मात्र ठिक छ किनकि तपाहिको कुनैपनि कुरा क्रिया र प्रतिक्रियाले समस्या र परिस्थितिको समाधान औल्यौदैन न त कुनै उपाय नै सुझाउदछ बरु यसले झनै समस्या थपिदिन्छ र देश लाइ जटिलता तर्फ़ धकेली दिन्छ यसले कसैलाई फाइदा पुर्याउदछ भने सिर्फ उग्र बिरोध गर्ने हरुलाई अनि समाधान खोज्ने हरु तर्फ़ भाँजो हाल्छ तेसैले निक्रिस्ट छ तपाहिको बिचार र द्रिस्ट्रि!
            यात द्रिस्ट्रि बदल्नुस या द्रिस्त्रिकोण या कुनै प्रतिस्थापित वा बदलामा उपयुक्त विकल्प दिनुस, यसरि पुराण फलाकेर यसले केहि निस्कर्ष दिदैन बरु समस्यालाई झनै जटिलता र भयाबह बनाइदिने छ!
            प्रतिस्पर्धामा गरिने कुनै पनि कुराहरुमा दुइ कुरा मुख्य भुमिकादायी हुन्छ त्यो हो स्ट्राटेजी र ट्याक्टिस, यी दुइ कुराले कार्यसम्पादन र सफलतामा गहन भूमिका खेलेको हुन्छ! ट्याक्टिस भनेको सर्ट टर्म स्ट्राटेजी हो जुन तत्कालिन परिस्थिति र आबस्यक्ता अनुरुप निर्धारण गर्नुपर्दछ र यसले स्ट्राटेजी भन्दा ठुलो भूमिका खेलेको हुन्छ किनकि यो बर्तमान हो र बर्तमान बिना भबिस्यको कल्पना गर्नु मुर्ख्याइहो!
            तपाही एउटा फुटबल खेल लाइ विचरण गर्नसक्नुहुन्छ, फुटबल खेलमा आबस्यकता पर्दा आफ्नै तर्फको गोल पोस्टमा बल प्रहार गरिन्छ वा पास गरिन्छ, कहिले काही निकै निरिह र नजान्ने खेलाडि लाइ खेल मैदानमा उतार्नुपर्दछ भने कहिलेकाही निकै मुर्ख खेलाडीलाई खेलमा पठाउनु पर्छ! कहिले काही पहेलो र रातो कार्ड खायर पनि आफ्नो टिम र आफ्नो बिजय सुनिस्चित गर्नुपर्ने हुन्छ यी सब ट्याक्क्टिस अन्तर्गत पर्दछन जुन खेल मैदानमा क्याप्टेनले मुख्य निर्देशन र निर्धारण गरेको हुन्छ तेही कस्तो व्यक्तिलाई कुन बखत निकाल्ने र कस्तो खेलाडीलाई कतिखेर कहा पठाउने अनि कसरि खेल्ने निर्देशन दिने भन्नेकुरा म्यानेजर र कोच ले निर्देशन र निर्धारण गर्दछ त्यो स्ट्राटेजी हो!
            यहा बाबुरामले प्रधानमन्त्रीको हैसियतमा ट्याक्टिस प्रयोग गरेको छ जसले बर्तमान परिस्थितिको आबस्यकतामा निर्धारित भूमिका निर्देशित गर्दछ भने तेही बाबुराम लगायत ले माओबादिको हाइ कमाण्डबाट स्ट्राटेजी प्रवाहित गर्ने गर्दछ!
            यो मधेशी लगायत संग मिल्ने आदिकुराहरु ट्याक्क्टिस हुन् स्ट्राटेजी होइन!
            ट्याक्क्टिस बाट स्ट्राटेजी आंकलन गर्न सकिन्न किनकि ट्याक्टिस हरेक अबस्था र बर्तमान परिस्थिति अनि आबस्यकता अनुशार तुरुन्तै तुरुन्तै निर्धारण गर्नुपर्ने हुन्छ र यो क्षण क्षणमा परस्पर बिरोधि देखिने तरिकाले फरक फरक हुन सक्दाछ!
            तेसैले त भन्छनी राजनीतिमा स्थाई सत्रु र स्थाई मित्र भन्नेकुरा हुदैन भनेर!
            अब कुरा रह्यो यो तपाहिको बिरोधि हरुले बाबुरामको बिरोध गरेको भनेर! त्यो त उनीहरुको धर्मनै बिरोध गर्नुहो! आफ्नो अगाडिको बिपक्षी जति शक्तिशाली भयो तेत्तिनै ठुलो स्वोराले बिरोध गर्नुपर्दछ बिरोधि हरुको आफ्नो धर्म निर्बाहगर्न नत्र तिनीहरुको अस्तित्वो निमिट्यान्न हुन्छ!
            बाबुराम संग सबै डरायका छन्! बाबुराम सफल होला यसले देश बानाउला देशले समस्या बाट मुक्ति पाई सम्ब्रिद्दि र बिकाश अन्गाल्ला र तेस्को लागि बाबुराम निर्णायक र गहन योगदान कर्ता भै जनता र देशमा स्थापित होला भनेर यी बिपक्षी (माओबादि भित्रै पनि छन् तेस्ता थुप्रै) हरुको मुटुको चाल बन्द होला जस्तो भयको छ र आफ्नो मुटुको चाल लाइ निरन्तरता र गति दिनलाई पनि तिनीहरु बाबुरामको बिरोधमा चिच्याउनु उफ्रिनु नितान्त जरुरि छ! किनकि बासुराम सफल भय वा स्थापित भय तिनीहरु विलुप्त हुनेछ तिनीहरुको राजनीति समाप्त हुने छ, अब भन्नुस कसलाई आफु समाप्त भयको हेर्न मन छ वा आफ्नो समाप्ति स्वीकार हुन्छ?
            बाबुराम प्रतिको तपाहिको द्रिस्त्री र तेस्को अध्यायन निकै कम्जोर छ वा भरपुर भ्रम छ! बाबुरामलाई बुझ्न तपाहिले पहिले नेपालको बिशिस्ट भू अबस्था अनि भू राजनीति, अन्तरास्ट्रिय परिवेश साथै समय ले अङ्गीकार गरेको बिश्वो परिवेशको र प्रविधिको परिवर्तन इण्डिया नेपालको भू सम्बन्ध साथै आर्थिक भौगोलिक सामाजी र सास्कृतिक आदि सम्बन्ध आदिको बारेमा गहन अध्यायन विचरण अनि चिन्तन र मनन गर्न सक्नुपर्छ!
            नत्र तेसै बाबुराम बिरोध को सुगा रटाइ को एकोहोरो पुराण हालेर भ्रम चहार्ने भ्रम उत्पादन गर्ने कुराले कसैलाई कुनै फाइदा छैन!
            समय धेरै अघि बढी सकेको छ सबैभन्दा ठुलो कुरा समयको साथ् गतिशील हुनुहो!
            डार्बिनले भनेको जस्तै,
            “यो पृथ्वीमा न त भिमकाय रहन्छ न त शक्तिशाली, तेही जीव कालान्तर सम्म जीवित रहन्छ जुन समयानुकुल आफुलाई परिवर्तन गर्न सक्दछ”
            यसको मतलब स्ट्राटेजी भन्दापनि ट्याक्टिस ले जीवन्तता र निरन्तरता दिन्छ भनेको हो!
            यसरि बुझ्नुस बाबुरामको गतिलाई!
            उनि तपाइँ हामि भन्दा धेरै माथि छन् तेसैले उसको कुनै कुरा आलोचना गर्नुअघि कम्तिमा पाच पटक सोच्नुस मदन जी!
            बाकि आबस्यक परे अर्को परिच्छेदमा उतारौला!
            जदौ!

            मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 8

            • madan bajracharya

              गगनेज्यु

              बाबुरामले मधेसी लगायतलाई अंगालेको बाबुरामको “त्यक्तिश” मात्रै हो “स्तार्तेजि” होईन भनेर के ट्याक्टिस र स्तार्तेजि सब्द्को अर्थ बुझेरै भन्नु भयको हो?

              ट्याक्टिस सब्दले झुक्याउनु र आफ्नो स्वार्थको निमित कसैलाई प्रयोग गर्नु पनि हो/फेरी तपाईंले “लगायत” सब्द पनि प्रयोग गर्नु भयकोछ/ यो लगायत सब्दले बाबुरामले आज सम्म गरे बोलेको सबै कुरा समेट्दछ/ यो “……लगायतलाई अंगालेको” सब्दले गर्दा अहिले बाबुरामले प्रचंद्र, भारत लगायत जजस्लाई अंगालेकोछ त्यो सबैनै बाबुरामको “ट्याक्टिस” मात्रै हो कि भन्ने आशंका जन्माउँछ/

              यदि तपाईंले भनेको कुरा सत्य हो भने तपाईंले बाबुरामको “भंदाफोद” पनि गर्नु भयो र बाबुरामको “गोप्यता” पनि भंग गर्नु भयो/ तपाईं जस्तो ” नेपाललाई भारतको अघोसित उपनिवेश हो समेत भन्दै गर्ने बाबुरामको समर्थक अरु दुई चार जना थपिय त् बाबुरामको राजनैतिक जीवन “त्यक्तिकल्लि” पारालाईज्द हुन्छ/ तपाईं बाबुरामको समर्थक होईन महाबिरोधि हुनुहुन्छ/

              राजनैतिक प्रतिक्रियामा यति गहन सब्दको प्रयोग गर्नु भन्दा पहिला आफै सोच्न सक्नु हुन्न भने महेशजी पुष्पजी जस्तो मित्रहरु सिट सल्लाह गर्नुस/

              हामीले त् पार्टीको नीति अनुशार चल्नु पर्ने बाबुराम “यक्लब्य” बनेर पार्टीलाई नै आफ्नो नीति अनुशार चलाउन खोजेकोमा मात्रै बिरोध गर्दै आयकोहो/हाम्रो विरोधले बाबुरामलाई सतर्क मात्रै गराउँछ तपाईंको समर्थनले बाबुरामलाई बाबुरामको सत्रुले चाहेकै स्थानमा पुर्याई दिन्छ/

              अन्तमा; गगनेज्युले भने झैँ यदि बाबुरामले त्यक्तिकल कुटनीति खेलेर भारत र मधेशबादिलाई आफ्नो स्वार्थ पूर्तिको साधन मात्रै बनाउन खोजेको हो; झुक्याउन खोजेको हो भने बाबुरामले ठुलो भुल गर्दैछ/ बाबुरामले कुटनीतिको त्यक्तिकल खेल सिकेको स्कुलको हेदमास्टर “भारत” हो/

              मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 2

      • madan bajracharya

        राजन उप्रेतीज्यु
        २००७ साल देखि २०१७ साल सम्मको राजनैतिक घटना क्रम बिशेष गरेर बिसेस्वर र मात्रिका बिचको विवाद केलायर हेर्नुस त् पंचायत लाद्ने महेन्द्र हो बा कांग्रेस छोडेर महेन्द्र सिट मिल्न गयका पचासौं कांग्रेसी नेता तथा सांसदहरुले नै पंचायत लादेको थियो बा महेन्द्रले भनेर स्पस्ट हुनेछ/ तेतिबेला मात्रिका र बिशेस्वर बिचको बिबाद यति चर्केको थियो कि सायद तेतिबेला संसदीय ब्यबस्था भंग नभयको भय तेतिबेलानै देसमा आजको परिस्थिति हुने थियो/ कांग्रेसी कांग्रेसीको बिबाद नै आजसम्मको नेपालमा राजनैतिक बवालको मूलकारण हो/

        २०१७ सालमा र तेस्पछि जति पनि पन्चे बनेका थिय तिनीहरुमा अधिकास त् कांग्रेसीहरुनै थिय/ पंचायत ढले पछि ति पन्चे बनेका कांग्रेसीहरु फेरी कांग्रेसी बने/ आजको कांग्रेस पनि “पन्चे-कांग्रेसी” र “कांग्रेसी-पन्चे” को भेलानै त् हो/ अरु त् अरु २०३साल मा बिशेस्वर र गिरिजा समेतले पंचायत स्विकारेकै थियो; मात्र गणेशमानले पंचायत र पंचायत स्विकार्ने कांग्रेसीको बिरोध गरेको थियो/

        मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • kedar

    मैले चाहेको त होइन तर तेही देशको माटो सुहाउँदो ब्यबस्था नै ठिक हो जस्तो भान पर्न थालेको छ ?

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 63 Thumb down 4

  • विनेश

    ज्ञानेन्द्रको सल्लाहकार त तपाइलाइ पो बनाउन पर्नेथियो, के गर्ने मोराले मान्छे चिनेनन् । lol !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 45 Thumb down 12

  • निर्मल

    साँचो कुरा, तुलसी गिरि र किर्तिनीधि जस्ता outdated लाई राखेर ज्ञानेले आफ्नो बंशको सर्बनाश गरे गरे, नेपालीको पनि बर्बाद गरे| यो सब दरबारमा दिनहु रचिने रणनीतिको फल हो|
    कतै सक्सेश नभएको र नबिकेको दरबारिया शिरिष राणा र उनको सल्लाहमा दुर्गा पोख्रेल र प्रकाश कोइराला जस्ता विश्वसनीयता हराएका, जनसम्पर्क र जनादेश नभएकाहरुलाई ल्याएर अझ प्रजातन्त्रको हाँसो उडाए|
    ज्ञानेले कुनै दिन गएर आत्मालोचना गर्ने हो भने आफ्नो प्रत्यक्ष शासनको मन्त्रीमंडलमा लाइनै लगाएर राखेको निकम्मा व्यक्तिहरु बारे पनि उल्लेख गर्ने नै छन्|
    ज्ञानेलाई शरम हुनपर्ने के भने आखिर आएर उही गिरिजाले नागार्जुनमा बस्न दिए हुन्छ भनेर माओवादीलाई कन्भिन्स गर्न पर्यो| भाग्यको बिडम्बना कस्तो भने पुर्ब रानी रत्नाले महेन्द्र राजा हुँदा गिरिजालाई पिलन्धरे बाहुन भनेर हेपाईको शब्द प्रयोग गरेका थिए भन्ने खुलासा गरिएको एउटा किताबमा पढ्न पाईयो| आखिर त्यही गिरिजाले रत्नालाई नारायणहितिको एक पाखामा नमरुञ्जेल बस्न सहमति जनाए| नत्र पावर पाएर उत्ताउला हुन् खोजिरहेका माओवादीहरु ज्ञानेलाई जाउं तिमी निर्मल निवासमा वा सोल्टी होटलमा र तिम्री सानीमालाई पनि साथै लैजाऊ भनीरहेका थिए| नेपाल सरकार कै खर्च लाएर बनाएको दर्बार तिम्रा बाऊले नेपाल सरकारलाई नै बेचेका हुन् भनेर नारा लगाईरहेका थिए| उबेला एमालेका माधव नेपाल र ओली कुन दुलोमा थिए कसैलाई थाहा थिएन| खगेन्द्र संग्रौलाका अनुसार काजु खानमा व्यस्त थिए होला| त्यसैले संग्रौलाले ओलीलाई काजु कान्छा उपनाम दिएका थिए|

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 50 Thumb down 10

  • कुरा सहि हो, नेपालको इतिहास मा श्री ५ महेन्द्र सबै भन्दा बुद्दिमान राजा थिए जसको समय मा नेपाल मा धेरै प्रगति हरु भए अहिलेको नाराबाजी र कुटा कुट्मा समय बर्बाद गर्ने भ्रस्ट नेता हरु ले श्री ५ महेन्द्र बाट केहि सिक्नै पर्छ इतिहास साछी छ जनता ले बिरोध मात्र गर्ने पनि होइनन राम्रो काम गर्नेको मुल्यांकन पनि गरि राखेकै हुन्छन जुन रुपमा श्री ५ महेन्द्र को सालिक हरु भत्काउने काम भयो नेपालमा बडो दुखद घटना मान्नु पर्छ जसले देशको लागि केहि दियो उसैको सालिक तोडफोड गर्ने हाम्रा देश का माओबादी हरु इतिहास को कालखण्ड मा नलाएक साबित हुनेछन र १६ हजार जनताको ज्यान जाने गरि ले चलाएको जनबादी क्रान्ति लाइ जनताले डनबादी क्रान्ति को रुपमा बुझिसकेका छन् तेसैले अझै जनता ले उनीहरु लाइ धिक्कार्ने छन् अनि माओबादी हरु बिस्तारै पलाएन हुनुको कारण पनि यही हुनेछ

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 94 Thumb down 3

  • द्रोण

    अति राम्रो र सटिक बिस्लेसन गर्नु भो सालोक्य जी ले |
    तर म दाइजस्तो टुलु टुलु न हेर्ने उनको भनाइ ले कतै ”निकम्मा दाइलाई मैले नै तह लगाए भन्न खोजेको त् हैन ?”

    यो पाप कराएको हो उमेश जी |उनि आफै मन्दिर ,मन्दिर धाउनु तेस्को प्रायास्चित को लागि हो ,सत्ता फर्काउने को लागि हैन |छोरा गजडी,बाउ मन्दिर मन्दिर धाउदैमा कसरि सत्ता फर्कन्छ ?खै संगठन ?
    जय जयकार सुन्ने रहर मात्र हो ,उनको भएको शक्ति प्रयोग गर्न जानेनन त् के त्यो जय जय कारलाई प्रयोग गर्न सक्छ ? सक्दैन |
    अब येस्तै बाबुराम , गगन ,रामबरण को आश गर्नु र सिसिर योगी को ”यो देश मा म एउटा मानिस खोजि रहेछु ” भन्ने गित सुन्ने बस्ने ,र राजेस हमाल सिनेमा मा गर्जेको सुन्ने बस्ने |
    कहिले काही राजेश दाइले पनि बोका को पुच्छर खाएको फुर्ति निकाल्छन र येसो म जस्तो पी यम हुने हो भने फुर्ति निकाल्छन ,त्यो हेर्दा पनि गरिजा को सक्ति को लुगा लगाउने ,ज्ञानेन्द्र को दाइ जस्तो टुलु टुलु न हेर्ने सम्झना गराउछ |

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 17

  • Swayambhu Saurabh

    ~ अहिलेका सम्पूर्ण नेता वर्गले नेपाल आमाको दूधको ऋण तिर्ने हो भने अत्यन्त राम्रो अवसरको सदुपयोग गर्ने स्वर्ण मौका हो यो . मुलुकको कम्तिमा पनि दुइ करोड जनतालाई लोकतन्त्रको मिठो स्वाद दिलाएर आ-आफ्नो दलको भविष्य सुनिश्चित गर्न सकिन्छ. यो बुद्धिमत्ताको दौडमा को सबै भन्दा अगाडी आउला , जनताले हेरी रहेका छन .~

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • बिस्वाश

    जस्तै दूरदर्शी तानाशाह पनि अब टिक्दैन भनेर भनि दिनुस सालोक्य जी, उपाय एउटै छ संबिधान र कानूनको अप-व्याख्या कसैले पनि नगरी इमान्दारितापूर्बक जनताले दिएको समय सिम्मा सम्म गर्न सके गर्ने, नसके देशको संबिधान र कानून मुताबिक गर्नुको अर्को कुनै बिकल्प छैन | यदि कसैलाई ज्ञानेन्द्र जस्तै तानाशाह भएर पतनको बाटो रोज्नु छ भने कसले के पो गर्न सक्छ र !!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 10

  • Sujan

    सत्यतामा आधारित धेरै राम्रो विश्लेषण! Good Job.

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 2

  • raj kunwar

    उनि पनि लोभी भयर नै हो ,सत्ता चलाउन न सकेको , बरु जिउदै खाल्डोमा हाल्ने को सत्ता भन्दा त ज्ञानेन्द्र कै राम्रो हुनी थियो कि !

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 95 Thumb down 15

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker