मेरो Tweet

  • @jwalabizay welcome, send at blog@mysansar.com
  • आजको मुसलधारे वर्षा हुँदै गर्दा खिचेका केही फोटोहरु- जलमग्न काठमाडौँ ! t.co/pisUzAMiOm via @mysansar
  • छिमेकी दाइ बित्नुभो। अनुहार झल्झली आइरा'छ। मान्छेको जीवन यस्तै रैछ। मरी लानु के छ र! #अनित्य

Follow @salokya on twitter.

User Stat

Users Online.

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

माघ १९ सम्झनाः समाचार लेख्न नपाउँदा हातै काटिए जस्तै भो

२०६१ माघ १९ मा राजाले कू गरेपछिको घटना कान्तिपुर टेलिभिजनमा कार्यरत सञ्चारकर्मी भुवन केसी यसरी सम्झन्छन्-

बिहान सुतिरहेको थिएँ, त्यतिबेला रेडियोबाट आज राजाबाट शाही घोषणा हुँदैछ भन्ने खबर सुने। त्यसपछि फेरि निदायछु । जाग्दा त शाही कदम घोषणा हुँदैछ भन्ने कुरा सपनाको हो कि विपना जस्तो पो भयो । त्यसपछि उठेँ । पत्रकारिताको एमएको परीक्षाको तयारीका लागि पत्रकार बिमल गौतम म कहाँ आउनुभयो । मैले सोधेँ–आज शाही घोषणा हुँदछ रे ! उहाँ पनि अन्योलमा हुनुहुँदो रहेछ । पछि भान्जा (बिनोद खडका) सँग सोधे । त्यसपछि पूराका पूरा निश्चित भयो, आज शाही घोषणा हुन्छ भनेर ।

त्यसपछि हामी पत्रकारिताको पढाइमा लाग्यौ । केही समयपछि पत्रकार कोमल गिरीले फोन गर्नु भयो र भन्नुभयो–शहरमा सुरक्षा व्यवस्था कडा छ । आज राजाबाट खतरा कदम चाल्ने सम्भावना छ । गिरीले अब के होला पनि भन्नुभयो । मैले तीनवटा विकल्प अनुमान लगाएँ – काम गर्न नसकेकोमा शेरबहादुर देउवा नेतृत्वको सरकार फाल्ने, निर्वाचनको घोषणा गर्ने र माओवादीसँग वार्ता गर्ने । दलमाथि प्रतिबन्ध लाग्दैन भन्नेमा हामी ढुक्क जस्तै थियौँ । किनकि दलहरु त्यसै पनि प्रभावहीन थिए । निकै बेर कुरा भयो, कोमलले ‘कु’ हुन सक्ने सम्भावना पनि व्यक्त गर्नुभयो । हामीले यही नै हुन्छ भन्ने निष्कर्ष निकालेनौँ ।

मैले बिमललाई भने–‘आज कु होला जस्तो भयो है । बिमलले निर्वाचनको घोषणा हुन्छ, अरु केही हुन्न भन्नुभयो । मैले आशंका गरेँ–कु हुन पनि सक्छ । यो सरकार पनि फाल्न बेर छैन । बिमलले मलाई भन्नुभयो–एमाले पनि बढी शंका गरेर बिग्रियो । तपाईँ पनि त्यस्तै । बिमलले अलि गर्वका साथ भन्नुभयो–मलाई पनि विश्लेषण गर्न आउँछ । हावा कुरामा लाग्नु हुँदैन । निर्वाचनको घोषणा हुन्छ ।

हामी विश्व पत्रकारिताबारे छलफल गर्दै थियौँ । मोबाइलमा सोहन श्रेष्ठ (कान्तिपुर टेलिभिजनका समाचार उपप्रमुख) को सन्देश आयो । के छ अवस्था? मैले भनेँ –अब बिस्तारै अफिस आउने तयारीमा छु । हामी साढे नौ बजे कोठाबाट हिड्यौँ । म सिधा कार्यालय गइनँ । विनोद भट्टराई सरलाई भेटन चावहिल स्थिति उहाँको निवासमा गएँ । उहाँलाई पहिले नै भेटने कार्यक्रम तय गरेको थिएँ । त्यही बेला मलाई अफिसबाट फोन आयो – तुरुन्तै आउनू भनेर । मैले राजाको भाषणको नसुनी केही नगर्ने मूड बनाएँ । किनकी कसरी अघि बढ्ने भनेर रणनीति बनाउन पनि पहिले कुरा त थाहा पाउनु पर्ने थियो ।

राजाको भाषणा शुरु भयो । राजसंस्थाले जनताको पक्षमा धेरै काम गर्दै आएको भन्ने राजाको भाषण आएपछि ठुलो कुरा आउने भो भन्ने लाग्यो । त्यसपछि दलहरुलाई गाली गर्ने काम शुरु भयो । जब निर्वाचन गर्न असक्षम भन्ने राजाको आशय आयो, त्यसपछि सरकारलाई फालिँदैछ भन्ने निष्कर्षमा म पुगेँ । सरलाई पनि भनेँ । नभन्दै राजाबाट सरकार विघटन गरी आफ्नो अध्यक्षतामा मन्त्रीमण्डल बनाउने घोषणा भयो । म त्यहाँबाट अफिसतिर लागेँ ।

सरको घरबाट बाहिर आएर एमाले महासचिव माधव नेपाल र स्थायी समिति सदस्य अमृत बोहरालाई फोन गर्ने प्रयास गरेँ । किनकी सरलाई दुवै नेतालाई नियन्त्रणमा लिएको फोन आएको थियो । तर फोनले कामै गरेन । म टयाक्सी चढेर अफिस तिर लागेँ । अफिस बाहिर पनि सेना थिए, भित्र पनि । मैले बुझिहालेँ । सेनाले सञ्चार माध्यमलाई नियन्त्रणमा लिएछन् । कुरा गम्भीर छ । अरु साथीहरु पनि जम्मा भइसकेका रहेछन् । जम्मा भएका साथीहरुले किन सेना आएको भन्ने अझ बढी स्पष्ट पारे । त्यसपछि मोबाइल फोन र टेलिफोनका लाइन काटिएको पनि स्पष्ट भयो । म आफ्नो कार्यकक्षमा जादै थिएँ–ड्रेसमा सेना थिए । उनीहरुसँग वाकिटकी पनि थियो । प्रजातन्त्र र प्रेस स्वतन्त्रता अपहरण भएको, सेना आएकाले होला साथीहरुमा खासै उत्साह थिएन ।

यसैबीचमा श्रममन्त्री समेत रहेका एमाले नेता रघुजी पन्त कार्यालयमा आउनुभयो । उहाँको मुहार निकै मधुरो थियो । अलि हतास पनि देखिनुहुन्थ्यो । टेलिफोन नभएकाले सम्पर्क गर्न कठिन होला भनेर आफू आएको जानकारी उहाँले दिनुभयो । मैले अन्तर्वार्ता लिएँ । र, समाचार बनाएँ । उहाँले हलुका रुपमा राजाको विरोध गर्नुभएको थियो । कदम सच्चाउनुपर्छ, दलहरुसँग मिलेर जानुको विकल्प छैन भन्दै । समाचार बनाएर प्रोडुयसर को भनेर सोध्दै थिएँ, कोही पनि बोलेन । पछि थाहा भयो, १२ बजेको समाचार बुलेटिन प्रसारण नहुने रहेछ ।

मैले सञ्चार माध्यममाथि राजाले भोटे ताल्चा लगाइदिएको ठानेँ । त्यसपछि दीपक भट्टराई र म पशुपतिशम्शेर जबरा, केशरजङ रायमाझी, सुर्यबहादुर थापा, गिरिजाप्रसाद कोइरालाको निवासमा गयौँ । नेताहरुको घरमा सुरक्षाकर्मी तैनाथ थिए । धेरै नेता नजरबन्दमा थिए । केशरजङसंग भने हामीले कुराकानी गर्‍यौँ । पहिले मान्नुभएको थिएन । धेरे कर गरेपछि उहाँले राजाको कदम ठीक भन्नुभयो । प्रकाशचन्द्र लोहनीको घरमा पनि हामी पुग्यौ । उहाँ हुनुहुन्थ्यो । उहाँ दरबारतिर गएको आशंका थियो ।

कार्यालयमा फर्क्यौ । समाचार जान्छ भनेर सोध्यौ, नजाने भनेपछि हामी निराश जस्तै भयौ । साथीहरुसँग कुराकानी भयो । काम गर्नु परेन । राजनीति सम्बन्धी समाचार लेख्दै आएको र समाचार लेख्न नपाउँदा दाहिने हात काटिएको जस्तै अनुभूति भयो । समाचार प्रशस्तै छ । तर प्रसारण गर्न नपाइने । छलफल र गफमै धेरै समय बित्यो । टेलिफोन काटिएका थिए । विदेशी च्यानल समेत काटिएका थिए । चाँडै नै कोठामा फर्केँ । राजाको भाषण र व्यवहारबीच तुलना गर्न थालेँ । कुरा राम्रा भएपनि व्यवहार ठ्याक्कै उल्टो पाएँ ।

आफ्नो पेशाको भविष्यबारे पनि सोचे । पेशा धरासायी भएको मेरो निष्कर्ष थियो । यस्तो बेला पत्रकारिता पेशाबाट हात धुने कि संघर्षशील भएर काम गरिरहने भन्ने मात्र विकल्प थियो । मैले कठिनाइका घडीमा पेशा परिवर्तन गर्न हुँदैन । बरु जे जस्तो दुःख पाएर पनि काम गर्नुपर्छ भन्ने निष्कर्ष निकाले । घरमा आएपछि मिडिया सुन्न र हेर्न थाले । नेपाली टेलिभिजन पनि नेपाल टेलिभिजन जस्ता भएका थिए । बीबीसी रेडियो सुनियो । त्यसमा कनकमणि दीक्षितको विचार निकै प्रश‍सनीय थियो । उहाँले शाही कदमको प्रतिवाद गर्नुभएको थियो ।

प्रजातन्त्र समाप्त भएको मेरो निष्कर्ष थियो । प्रजातन्त्रमा आस्था राख्ने र पत्रकारका लागि आगामी दिन सहज हुँदैन भन्ने लाग्यो । अब हामी जस्ता पत्रकारको काम प्रजातन्त्र बहालीका लागि मिसन पत्रकरिता गर्नु हुन्छ होला भन्ने अनुमान गर्दै निदाउनतिर लागेँ ।

यस्तो थियो माघ १९ को सम्बोधन

प्यारा देशवासीहरू,
१. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्रारम्भ गरिबक्सेको एकीकरण अभियानबाट निर्माण भएको नेपाल अधिराज्यमा लोकसम्मतिको आधारमा शासन व्यवस्था चलाउन हाम्रा पूर्वजबाट ऐतिहासिक महत्वका क्रान्तिकारी पाइला चालिबक्सेर देश र जनतालाई उज्ज्वल भविष्यप्रति आलोकित गरिबक्सेको सर्वविदितै छ। नेपालको एकीकरण, प्रजातन्त्रीकरण र आधुनिकीकरणको प्रत्येक मोडमा नेपाली जनता र राजा दुवै मिलेर निर्णायक भूमिका खेलेको इतिहास स्वयं साक्षी छ।
२. आज जनचाहनाबमोजिम देश र जनताका लागि शान्ति पुनःस्थापना गरी बहुदलीय प्रजातन्त्रको रक्षाका लागि फेरि एकपटक ऐतिहासिक निर्णयको घडीमा हामी आइपुगेका छौं। हत्या, हिंसा र विध्वंसले देशलाई विनाशको भिरालोमा पुर्‍याउँदा पनि देश र जनताको नाममा राजनीति गर्नेहरूले देश र जनताको हितप्रति आँखा चिम्लिन छाडेनन्। सत्ताका लागि हानाथाप, सत्ता पाएपछि राज्य संयन्त्रको दुरूपयोग तथा देश र जनताको मूल्यमा व्यक्तिगत वा समूहगत स्वार्थ पूरा गर्ने प्रतिस्पर्धाले परिस्थिति निरन्तर बिग्रने क्रम चली नै रह्यो। राजनैतिको नाममा कानूनी राज्यको सर्वमान्य मर्यादा पनि भंग गर्ने प्रयास भए। बहुदलीय प्रजातन्त्रको सार्थक अभ्यासद्वारा हाम्रा प्यारा जनताले सामाजिक, राजनैतिक एवं आर्थिक न्याय पाऊन् भन्ने हाम्रो चाहनाले मूर्तरूप लिन सकेन। जनहितमा निर्माण गरिएका विकासका पूर्वाधारसमेत ध्वस्त पार्नेजस्ता देश र जनविरोधी अपराध निरन्तर बढ्दै गए। आतंकवादविरुद्ध सम्पूर्ण प्रजातान्त्रिक शक्ति संगठित रूपमा प्रस्तुत हुनुपर्नेमा सत्ताको हानाथापमा लागेर सोझा कार्यकर्तालाई जनहितका लागि बनेका सुविधाहरू ध्वस्त पार्न उक्साउनुलाई नै नेताहरूले राजनैतिको नाम दिन थाले। यसरी निरन्तर बिग्रदै गएको अवस्थामा आतंककारी गतिविधिमा पूर्णविराम लगाएर शान्ति सुरक्षाको पुनःस्थापनाद्वारा जनचाहना पूरा गर्ने संकल्प लिनुपरेको छ।
प्यारा देशबासीहरू,
३. प्रजातन्त्र र प्रगति एक अर्काको परिपूरक हुन्। तर नेपालको विगत केही वर्षको तितो अनुभवले यसलाई असंगति सावित गर्ने चेष्टा गर्‍यो। सत्ताका लागि केन्द्रीत राजनीतिमा नै अल्मल्याएर बहुदलीय प्रजातन्त्रलाई अवमूल्यन गरियो। सरकार टिकाउने र फाल्ने होडमा संसदमा विकृति भित्र्याइयो। कुनै पनि प्रतिनिधिसभालाई आफ्नो अवधि पूरा गर्न दिइएन। प्रजातान्त्रिक प्रक्रिया बेथितिको निरन्तरताले अवरुद्ध हुन थाल्यो। जनताको आशा भंग गर्ने, भरोसा भत्काउने र प्रजातन्त्रमा नै वितृष्णा फैलाउने क्रम बढ्दै गयो। चुनाव गराउन नसकेपछि कसैप्रति पनि उत्तरदायी हुनु नपर्ने अप्रजातान्त्रिक सरकारको अभ्यास सुरु गर्ने तारतम्य मिलाउन खोजियो। जनप्रतिनिधिहरूको शून्यता सिर्जना गर्न सबै दल लिखित रूपमा एकजुट भए, तर यो शून्यता हटाउन मिलेर काम गर्न भने सहमत भएनन्। राजनैतिक दलहरूको संलग्नता र सहमतिमा भएको जनप्रतिनिधित्वबिनाको शासन व्यवस्थाको चाँजोपाँजो जनचाहना तथा बहुदलीय प्रजातन्त्रको मर्यादा अनुकुल थिएन। त्यसैले शीघ्रतिशीघ्र जनप्रतिनिधित्व प्रणालीलाई क्रियाशिल तुल्याउने उद्देश्यले प्रजातन्त्रमा निष्ठा राख्ने सबैलाई हामीबाट आह्वान गरिबक्सेका थियौं। आमजनता, जेठा नागरिक, नागरिक समाजका प्रतिनिधि तथा राजनैतिक दलका नेतालाई पटकपटक भेटेर जनमत बुझ्ने र जनचाहना तथा देशको आवश्यकता सम्झाउने प्रयास पनि गरिएकै हो। नेपाल र नेपाली जनताले भोग्नु परिरहेको अशान्ति र ध्वंसात्मक गतिविधिको अन्त गरी देशलाई शान्तिपूर्ण अवस्थामा फर्काउन अब ढिलो गर्नुहुँदैन भन्ने नेपाली जनता र नेपालका हितैषीहरूको एकमात्र चाहना भएको तथ्य पनि सम्झाइएकै हो। शान्ति सुरक्षा कायम गरी आमचुनाव गराउन विभिन्न दलका नेतालाई कार्यकारिणी अधिकारसहित मन्त्रिपरिषद् गठन गर्ने अवसर पनि पटकपटक दिइएकै हो। तर परिस्थितिमा सुधार आउन सकेन। मिलेर सरकार नचलाउने, सत्ता बाहिर जाने बित्तिकै सरकारको विरोधमा उत्रने संक्रामक रोगले राष्ट्रिय राजनीतिलाई सिकिस्त बनायो। प्रजातन्त्रसमक्ष आतंकवादले तेर्साएको एकदलीय निरकुंशताको चुनौतीलाई निष्तेज तुल्याउने गम्भीर प्रयास हुनै सकेन। राष्ट्रिय सुरक्षाका विषयमा हलुका टिप्पणी गर्ने बानी हटेन। देश र जनताको सुरक्षाका लागि रातदिन क्रियाशील रहने सुरक्षा निकायका कर्तव्यनिष्ठ अधिकारी तथा जवानको देशभक्तिको सत्प्रयासमा बल पुर्‍याउने जिम्मेवारपन दलहरूमा देखिएन। देश र जनताविरुद्ध चलिरहेको विनाशको दुष्कर्मलाई सदाका लागि अन्त गर्न बहुदलीय प्रजातन्त्रवादीहरूबीच देशहितको बिन्दुमा निष्ठापूर्ण एकता कायम हुन सकेन। दलहरूले जनचाहनाअनुसार राष्ट्रिय प्राथमिकता ठम्याउन पनि सकेनन्।
४. नेपाली जनताले इतिहासमा यस्तो आतंक, सास्ती र शोषण कहिल्यै भोग्नुपरेको थिएन। अपराधीहरूबाट नै दण्डित हुनुपर्ने, आफ्नो वैध सम्पत्ति अपराधीले कब्जा गर्दा पनि जनताका नाममा सत्तामा पुगेकाहरूबाट संरक्षण पाउन नसक्ने, जनताको प्रतिनिधित्व गर्छु भन्ने दलहरू जनताको पक्षमा नउभिने दुरावस्था कुनै पनि प्रजातन्त्रले कहिल्यै पनि भोग्नुपरेको थिएन। नेपाली जनताको चाहना र राष्ट्र हितलाई बेवास्ता गरी प्रायोजित भीडलाई अघि सारेर व्यक्ति वा झुन्डको दुराग्रहलाई राष्ट्रिय एजेन्डा बनाउन सकिंदैन। देश र जनताको भविष्यप्रतिको दायित्वबोधले धेरैपटक घच्घच्यायो। परिस्थिति एउटा यस्तो नाजुक मोडमा आइपुग्यो, जब देश र जनताको हितमा जनभावनाबमोजिम निर्णय लिन हामी बाध्य हुनै पर्‍यो।
प्यारा देशबासीहरू,
५. राजा र जनताबीचको घनिष्ट सम्बन्ध नै नेपालको स्वतन्त्रता, राष्ट्रिय एकता र निर्वाध सार्वभौमसत्ताको मुख्य कवच हो। देश र जनताको हितमा सदा समर्पित रहने राजसंस्था र देशभक्तिको संस्कार भएका जनता नै नेपाल अधिराज्यको इतिहासको गौरवमय परम्पराको निरन्तरतामा लोकसम्मतिअनुसार चल्नु नै राजसंस्थाको अपरिवर्तनीय प्रतिबद्धता रहँदै आएको छ। अधिनायकवाद वा निरंकुशता शाहवंशीय राजतन्त्रात्मक संस्कारकै असंगति हुन्। सामाजिक न्यायमा हामी विश्वास गर्दछौ। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र नै सबै नेपालीको अटल विश्वास तथा अपरिवर्तनीय प्रतिबद्धता भएको तथ्यसँग हामीले आफूलाई आत्मसात गरेका छौ। शक्तिको केन्द्रीकरण प्रजातान्त्रिक मूल्यविपरीत हो भन्ने हाम्रो ठहर छ। माथिल्लो तहदेखि तल्लो तहसम्म निर्वाचित जनप्रतिनिधिहरूका निकायलाई शक्ति विकेन्द्रीकरणको सिद्धान्तअनुसार राज्य सञ्चालनको सच्चा हकदार बनाएरमात्रै प्रजातन्त्रको सार्थक अभ्यास गर्न सकिन्छ भन्ने हामीलाई लाग्छ। कुनै पनि नेपालीले दुःख कष्ट भोग्नु नपरोस, सबैले सामाजिक, आर्थिक र राजनैतिक न्याय निर्वाध पाऊन् भन्ने हाम्रो चाहना छ। शासन सञ्चालनमा आफ्नो चाहनाको पूर्ण मान्यता तथा आफ्नो हितको पूर्ण संरक्षण भएको अनुभूति जनताले सधैं गर्न पाउनै पर्छ भन्ने हाम्रो अडान छ। सबै देशभक्त प्रजातन्त्रवादीको संयुक्त निक्र्यौल, समझदारी र दूरदृष्टिबाट नेपाल अधिराज्यलाई परिपक्व प्रजातन्त्र र लोककल्याणकारी समाज निर्माणको फराकिलो राजमार्गमा उन्मुख गराउने हाम्रो चाहना छ। प्रजातन्त्रवादीहरूबीच राष्ट्रिय हितको मूल नीतिमा द्वन्द्व हुनै सक्तैन भन्ने हाम्रो ठहर छ।
६. नेपाल र नेपालीको हितका लागि दिगो शान्तिको पुनःस्थापना तथा सार्थक प्रजातन्त्रको अभ्यासबाहेक हाम्रो अरू कुनै स्वार्थ छैन। राजसंस्था सस्तो लोकप्रीयताबाट होइन, नेपाल राष्ट्र र नेपाली जनताको सर्वोत्तम हित र निरन्तर उन्नतिबाट मात्रै निर्देशित रहन्छ। जनताको प्रभावकारी सुधारको चाहनालाई सबैले सम्मान गर्नै पर्दछ भन्ने हामीलाई लाग्दछ। कसैलाई पनि आफ्नो असहमति व्यक्त गर्न, निराशा प्रदर्शन गर्न हतियार उठाउने बाध्यता महसुस गर्नु नपरोस। जनताको शान्ति नखल्बलाईकन प्रभावकारी ढंगमा असहमति प्रदर्शन गर्ने अवसरको सुनिश्चितता होस भन्ने हाम्रो चाहना छ। प्रजातन्त्रको निष्ठापूर्ण अभ्यास, सार्थक बजारमुखी अर्थतन्त्र, सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त विधिको शासन नै जनताको स्पष्ट चाहना हो। प्रजातन्त्रको माध्यमबाट जनतालाई सुखी बनाउनु, युवापुस्तालाई उज्ज्वल भविष्यप्रति आश्वस्त तुल्याउनु र नेपाललाई विश्व समुदायमा सम्मानपूर्ण स्थान दिलाउनु नै हाम्रो एकमात्र चाहना हो। हाम्रा सबै भाषा, सबै जाति, सबै संस्कृतिको समान उन्नतिबाट नै नेपाल अधिराज्यको विशिष्ट पहिचान कायम रहन्छ, सुदृढ रहन्छ।
७. सार्वभौमसत्ता निहित नेपाली जनताको चाहनाबमोजिम देशमा सकेसम्म शान्ति सुरक्षा कायम गरी २०६१ सालभित्र प्रतिनिधिसभाको निर्वाचन प्रारम्भ गर्ने दायित्व निर्वाहको गम्भीर प्रयास हुन सकेन, मतदाता र दललाई निर्वाचनमा सहभागी हुन तयार पारेर कानूनी, व्यवस्थापकीय, प्राविधिक तयारीमा जुट्नुपर्नेमा चुनावको शाब्दिक रट लगाएर, मौखिक तत्परता र आतुरता देखाउनमा नै समय खेर फालियो। राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता बचाउन, देशमा शान्ति सुरक्षा कायम राख्न, देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने जिम्मेवारी पनि हामीमा भएकाले नेपाल अधिराज्यको संवैधानिक रीतिथिति र हामीबाट प्रयोग भई आएको राजकीय सत्ताको प्रयोग गरिबक्सी नेपाल अधिराज्यको संविधान, २०४७को मर्म र भावनाअनुरूप संविधानको धारा २७को उपधारा (३) लाई समेत विचार गरी देशमा शान्ति सुरक्षाको पुनःस्थापना तथा प्रजातान्त्रिक व्यवस्थालाई शीघ्र क्रियाशिल तुल्याउने जनताको चाहना पूरा गर्न हामीबाट वर्तमान मन्त्रिपरिषद् आजैबाट विघटन गरिबक्सेका छौं। अब गठन हुने मन्त्रिपरिषद् हाम्रै अध्यक्षतामा हुनेछ। आगामी ३ वर्षभित्र देशमा शान्ति सुव्यवस्था मिलाई प्रभावकारी सुधार गरेर बहुदलीय प्रजातन्त्रलाई पुनः सक्रिय तुल्याउन अब गठन हुने मन्त्रिपरिषद् प्राथमिकताका साथ लाग्नेछ।
प्यारा देशबासी,
८. सार्थक बहुदलीय प्रजातन्त्र नै जनताको प्रभावकारी शासन प्रणाली हो। सफल प्रजातन्त्र नै सक्कली जनवाद हो। यस्तो जनहितकारी, परिपक्व एवम् सुसंस्कृत र सभ्य व्यवस्थालाई खल्बलाएर, निर्दोष जनतालाई आतंकित तुल्याएर, जनतालाई त्रसित पारी जबरजस्ती चन्दा संकलन गरेर, असहमत हुनेहरूको निर्मम हत्या गरेर, विद्यार्थीहरूलाई अपहरण तथा गुरुहरूलाई पाशविक व्यवहार गरेर, सिधा जनतालाई झूटो आश्वासन र सपना बाँडेर, जनताको हितमा बनेका विकास योजना ध्वस्त पारेर चलाइएको देश र जनता विरोधी अपराध अब बन्द हुनै पर्दछ। अब यस्ता देश र जनता विरोधी अपराधलाई कानूनबमोजिम कडा कारबाही गरिनेछ। हाम्रा सुरक्षाकर्मीलाई देश र जनताको हितमा अझै बढी सशक्त भई आतंकवाद समाप्त गरी शान्ति सुरक्षा पुनःस्थापना गर्न खटाइएको छ। मानव अधिकारको सम्मान र संरक्षणमा राज्यका सबै अङ्ग विशेषरूपमा सतर्क र सजग रहनुपर्दछ। तर राज्य र आतंककारीलाई एउटै तराजुमा तौलिनु न्यायोचित हुंदैन। प्रजातन्त्रमा विश्वास गर्ने सबै शान्तिप्रेमी नेपाली जनताले शान्ति सुरक्षा कायम गर्ने कार्यमा सुरक्षाकर्मीलाई साथ दिएका छन् र दिने नै छन्।
९. बाटो बिराएर देश र जनताविरुद्ध हतियार उठाएका, शान्ति र प्रजातन्त्रविरुद्ध अपराधिक कार्यमा संलग्न रहेकालाई हतियार बुझाएर शान्तिपूर्वक राष्ट्रिय राजनैतिको मूलप्रवाहमा समाहित हुन हामी आह्वान गर्दछौं। देशभक्तिको मिलनविन्दुमा आफ्नो विचार मुखरित गर्न, आकांक्षा पूरा गर्न तथा देश र जनताको हितमा योगदान दिन सक्ने अवसरको सुनिश्चितता नै बहुदलीय प्रजातन्त्रको विशेषता हो। यो मौकाको उपयोग गरि राष्ट्रिय राजनैतिको मूल प्रवाहमा आउनेहरूका लागि राज्यका तर्फबाट सबै नागरिक सरह अवसर र अधिकार बिनाभेदभाव प्राप्त हुने आश्वासन दिन चाहन्छौ। देश र जनताविरुद्ध आतंककारी गतिविधि कायमै राखेमा जनताले सहने छैनन्, कानूनले छाड्ने छैन।
प्यारा देशबासी,
१०. आतंकवाद विरुद्ध नेपालको संकल्पलाई सराहना गर्दै उदारतापूर्वक साथ दिइरहेका मित्र राष्ट्र, विकास प्रयासलाई अगाडि बढाई राख्न सहयोग गरिरहेका अन्तर्राष्ट्रिय दातृ तथा वित्तीय संस्थालाई हामी धन्यवाद दिन चाहन्छौं। भौगोलिक रूपमा परिभाषित हुनै नसक्ने आतंकवादको जोखिमलाई आज विश्व प्रजातन्त्रले समेत भोग्नुपरेको छ। वास्तवमा सानो देश जति सुरक्षित रहन्छ, जति स्थायित्व अनुभव गर्छ, जति सम्पन्न हुन्छ, त्यति नै त्यस क्षेत्र र स्वयम् विश्वको सुरक्षा, स्थायित्व र सम्पन्नता सुनिश्चित हुन्छ भन्ने अनुभूति विश्व समुदायले गरी नै सकेको छ। यसै अनुकुल नेपाल आफ्नो हितमा र विश्व प्रजातन्त्रको हितमा आतंकवादलाई निष्तेज तुल्याउन कटिबद्ध भएको छ। नेपाल आफ्नो लागि शान्ति चाहन्छ, छिमेकीहरू र दक्षिण एसियाका लागि शान्ति चाहन्छ, विश्व शान्तिमा टड्कारो भइसकेको जोखिम हटाउन शान्ति चाहन्छ।
११. यसै क्रममा, बहुदलीय प्रजातन्त्रमा हाम्रो प्रतिबद्धता अपरिवर्तनीय रहेको तथा आर्थिक र संस्थागत सुधार जारी रहने, सार्वजनिक खर्चको उपयोग तथा सार्वजनिक सेवा प्रणालीमा सुधारका प्रयास अझै प्रभावकारी ढंगमा कायमै राखिने, बैंकिङ अनुशासन पुनर्बहाली गरिने, गरिबी न्यूनीकरणसम्बन्धी रणनीति तथा भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चालिने कुरा पनि उल्लेख गर्न चाहन्छौं। दिगो विकास अब नेपालको राष्ट्रिय एजेन्डा भएको छ। अब जनताको सुरक्षा र प्रजातन्त्रको भविष्यलाई जोखिममा पार्न दिइने छैन। नेपालविरुद्ध वा मित्रराष्ट्र विरुद्ध आतंकवादलाई नेपाली माटोमा आश्रय दिइने छैन। मित्रराष्ट्रहरूसँग वास्तविक र व्यवहारिक रूपमा आपसी हितका लागि सकारात्मक सम्बन्धमा जोड दिइनेछ।
१२. निरन्तर झांगिदै गएको भ्रष्टाचारले राजनीति र प्रशासनलाई दुषित बनाएकोमात्र होइन, प्रगतितर्फ अग्रसर हुनुपर्ने देशको पाइला पनि अवरुद्ध पारेको छ। भ्रष्टाचार हाम्रो समाजका लागि धमिरा सिद्ध भइसकेको छ। परिणामस्वरूप कानूनप्रति साधारण जनताको विश्वास धरमराउन थालेको छ। यसैले जनताको चाहना र सुशासनको प्रमुख आवश्यकता पूरा गर्न न्यायको सिद्धान्त उल्लंघन नहुने गरी भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम अविलम्ब चालिनेछ।
१३. प्रजातन्त्र जीवन शैली बनोस्, राजनीति प्रजातान्त्रिक मूल्य र मान्यताबमोजिम चलून्, सबैले सबै क्षेत्रमा प्रजातान्त्रिक विचार पद्धतिलाई इमानदारीपूर्वक अनुसरण गरून्, देश र जनताको हितले मात्रै सबैलाई सधैं निर्देशित गरोस् भन्ने नै हाम्रो चाहना हो। शान्तिपूर्ण वातावरणमा प्रजातान्त्रिक मूल्यहरूलाई जीवन्त तुल्याएर एक उन्नतशील एवम् विश्व समुदायमा सम्मानित नेपाल नै सबै नेपालीको भविष्यको परिकल्पना हो। मानव अधिकारको सम्मान र रक्षाले प्रजातान्त्रिक मूल्यको संरक्षण तथा प्रवर्द्धन गर्नेमात्र हैन, २१ औं शताब्दी सुहाउँदो जीवन प्रणाली र सभ्यताको पनि विकास हुन्छ भन्ने हाम्रो विश्वास छ।
प्यारा देशबासीहरू,
१४. हामीबाट गरिबक्सेको निर्णयबाट जंगी, निजामती र कुनै पनि राष्ट्रसेवकले आफ्नो जिम्मेवारी, काम र कर्तव्यबाट विचलित हुन वा अल्मलिनुपर्दैन। आज नेपाल र नेपालीको भविष्यका लागि सर्वप्रथम हामी आफैंले कम्मर कसी अघि बढ्नुपरेको छ। स्वतन्त्र सञ्चार क्षेत्र प्रजातन्त्रको चेतना वृद्धि गर्ने माध्यम हुन्। राष्ट्रिय हितको संवर्धनमा यसको विशेष भूमिका रहन्छ। शासन शैलीसँगै जीवन पद्धतिलाई नै प्रजातान्त्रिक मूल्य र आदर्शबाट प्रेरित बनाउन सञ्चार माध्यमले सशक्त योगदान दिनेछन् भन्ने हामीले विश्वास लिएका छौं। यसै कुरालाई मनन् गरेर बहुदलीय प्रजातन्त्रमा निष्ठा राख्ने सबैले आ-आफ्नो कर्तव्य पालन गर्नेछन र सबै देशबासीको साझा प्रयासबाट जनताको चाहना र देशको आवश्यकता पूरा हुनेछ भन्ने हामीबाट पूर्ण विश्वास लिएका छौ।
१५. आज देशले स्पष्ट अठोट गरेको छ। यस अनुकूल निर्णय पनि भएको छ। अशान्ति, असुरक्षा र द्वन्द्वग्रस्त अवस्थालाई बिसाएर देशले प्रजातन्त्र र प्रगतिको पक्षमा अग्रसर हुन पाइला सारेको छ। देश आतंकवादको चपेटामा परेको बेलामा सम्पूर्ण शान्ति तथा प्रजातन्त्रप्रेमी जनता एक हुनै पर्छ। यसैले अब हामी सामूहिक विवेकबाट प्रभावित हौं, राष्ट्रिय दृष्टिकोणबाट परिचालित हौं। देश र जनताको शान्ति सुरक्षामा खलल पार्ने, प्रजातन्त्रलाई सार्थक बनाउने प्रयासमा छेकबार हाल्ने दुष्प्रयासलाई देश र जनताले सहने छैनन्। तर उदारताको नाममा हामीले हाम्रो जीवन पद्धतिको उच्चतम पक्ष अनुशासनलाई कहिले पनि बिर्सनुहुँदैन। २१ औं शताब्दीको विचार पद्धति पनि यही नै हो। नेपालप्रति न्याय गर्न नसक्ने, जनताको सामूहिक विवेकमा विश्वास गर्न नसक्ने र शान्तिको पक्ष लिन नसक्नेलाई मातृभूमिको भार लाग्दछ भन्ने कुरा हामी फेरि दोहर्‍याउन चाहन्छौ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्।
जय नेपाल।
यो पनि हेर्नुस्-
माघ १९ र माइसंसार – मेरो अनुभव

9 comments to माघ १९ सम्झनाः समाचार लेख्न नपाउँदा हातै काटिए जस्तै भो

  • bharat

    राजा आऊ देस बचाऊ ! अब आन्दोलन जनता को हुनु पर्छ /राजा आउन पर्छ. दल क नेता जॆल जान पर्छ . गरिब ले बिहान साज पेट भरी खान पाउने रोजगार देस मै पाउनु पर्छ / हर साल मा जनमत सङ्ग्र गरेर अघी बढ्नु पर्छ /यस्तो गरौन सकने अब ज्ञानन्द्र मात्र बाकी ६न /तर पारस लै चै थाइलेडं मै राख्नु पर्छ (देस नेकिला) नत्र बाऊ लै पनी पशुपति मा सेलाउच /कुपुत्र ले /////////////

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Gaurab Nepali "Oodaaseen"

    जुन अबस्थामा उनले शासन लिय,लिनु पर्थ्यो ! सधैं पावरमा बसेर हाली मुहाली गर्ने गिरिजा एण्ड कम्पनीलाई सह्य हुन् सक्ने थियन यो बिषय ! गिरिजाले प्रजातन्त्रको खोल निकै ओडेर अप्रजातान्त्रिक शासन गरेकै हो र नेपालको विकास लै सुन्यमा झारेर नेपालको यो अधोगति बनाउने जिम्वेवार नाइके अरु को हुन् सक्छर???? ज्ञानेन्द्रलाई त नौ महिना पनि सहन गर्न दियन, आज नौ वर्ष हुन् लागिसक्यो !!!!!!!!!!!!!!!!!!!!!! यसले पनि पुस्टि गर्छ गिरिजाले पालेको रोगले २०४७ साल देखिकै कुरा गर्ने हो भने पनि झन्नै झन्नै ३० बर्से पंचायती शासनको समय बराबरको समय खेर गैसक्यो भने आजपनि त्यहि पंचायती व्यवस्थाले निर्माण गरेका भौतिक पुर्बधार को उपयोग गरियको छ जुन जस्ताको जस्तै छ अनि त्यसलाई उपयोग गर्ने धेरै रोगि र बुढो भैसके तर नेपालको यो हबिगत ????? गिरिजा देखि बाबुरामसम्मको शासन काललाई हेर्ने हो भने, पूर्व राजा को यो बक्तब्य एतिहाँसिक नै ठहरिने छ !

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 4

  • काउचा मगर ,बाग्लुंग

    २०६१ माघ १९ नेपालको इतिहासमा बाकी दिनमा पनि कालोपन गुज्रिरहेछ …… हुनत २०५२ फागुन १ गते लाई लिने हो भने त्यो भन्दा भयानक दिन मान्न सकिन्छ….पछी २०५८ को नारायणहिटी दरवार हत्याकाण्ड अझै विध्वंशात्मक देखिन्छ / त्यही घटनाले २०५९ अशोज १८ हुदै २०६१ माघ १९ हुन पुग्यो / ति सबै हुन नहुने थिय भैदियो…..तर पनि त्यो अतितको पानालाई एउटा गल्ति अनि शिक्षा मानेर सतर्कता अपनाउदै अगाडी बढ्नु त कहाँ च कहाँ ? सहरबाट गाउ हुदै जंगल पसेर …स्यालको हालत देखेर फेरी सहर पसेको जन्तुरुपी राजनीतिक दानवहरु …..गाउबाट चुडिएको चप्पलमा धागोले बाधेर लगाउदै सहर पसेर लोकतान्त्रिक भनाउदा भ्रस्ट पार्टीका हन्तकाले अपराधीहरुको बुद्धिको बिर्को नखुलेको होकी बिर्को नभएर बुद्धिमा किरा लागेको हो ?????? धेरै समय वर्वाद पारीसके….
    लाग्छ! यी नरपिचाशुहरुको खवर सुनेर ,हेरेर अनि यिनीहरुको वारेमा प्रत्रिकृया गर्नु त हामी सर्वसाधारण को आफ्नै समय वर्वाद हुनु रहेछ…….

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • Shamser

    “…..प्रकाशचन्द्र लोहनीको घरमा पनि हामी पुग्यौ । उहाँ हुनुहुन्थ्यो (हुनुहुन्नथ्यो) । उहाँ दरबारतिर गएको आशंका थियो।”

    भुवनजीले उक्त वाक्यहरुमा अझ पुष्टि गरिदिनुभए हुन्थ्यो| राजाको प्रत्यक्ष शासनकालताका तुलसी गिरि संग बारम्बार घन्टौ फोन वार्तामा तल्लीन हुने भन्ने यदा कडा संचार माध्यम मा आएको र फोन रेकर्डले पनि त्यही पुष्टि गर्न सक्ने पदन पाईएको थियो|
    आफुलाई पानी माथिको ओभानो र उदार अनि पश्चिमेली प्रजातान्त्रिक विचारका रुपमा उभ्याउन खोज्ने लोहनी डा’ साबले यी लामो फोन सम्बादमा डा: गिरीलाई के सल्लाह दिए वा उनीबाट चलाक गिरीले के थुत्न खोजेका रहेछन अब जन समक्ष खुल्ला गरे हुन्छ| हाम्रा खोजी पत्रकारहरुले यी घन्टौको फोन वार्ता दुई बिपरित ध्रुवका डा. साब द्वय माझ खालि भलाकुसारी हैन तर कस्तो नपच्ने खिचडी पकाउन लागेका थिए र कसरी जनताको आन्दोलनले कांचैमा ग्यास बन्द गरिदिए त्यसको पनि खुलासा गरे वेस हुने थियो|

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Time has changed, system has changed but condition of people has remained same. Eithter Gyanendra or Prachand, they just want power but not the prosperit of general people. They work for their career but not for people. As a general people of Nepal, all these things are unwanted.

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • sanu maya

    प्रदीप जी र अरु नेपाली कमुनिस्ट (माओबादि सहित) हरुलाई:
    मसानघाटको सन्नाटा । दनदनी बलीरहेको पहेलो ज्वालामा देखिञ्छ २ वटा मानव आकृति – एक महिला, एक पुरुष । टाढाबाट आउदैछ एउटा छायाँ । मानव र छायाँको भेट हुन्छ ।
    छायाँ (साम्यवाद) – ल म त आइपुंगे, तर यहा तिमीहरु २ जना मात्रै बाँकी?
    मानव (मार्क्सबादी) – हजुर, समानता नचाहनेहरुलाई मार्दा मार्दै हामी दुइ जना मात्र बाँकि रहेउ । ऊ हेर्नुस, यो बलिरहेको चिता । यो अन्तिम मानिस थियो, जसले समान हुन मानेन ।
    साम्यवाद- किन? किन मानेन उ समान हुन? के भन्थ्यो?
    मार्क्सवादी- ऊ भन्थ्यो – “सबैलाई समान बनाउने भए तिमीहरुसंग खुकुरी छ, म संग छैन, हामी कसरि समान हुन् सक्छौ, मलाइ पनि एउटा खुकुरी दिने भए अनि बल्ल म समान हुन तयार छु”
    साम्यवाद- अनि दिएनौ त त्यसलाई एउटा खुकुरी?
    मक्स्बादी- कसरि दिने? २ वटा कारणले दिन मिल्थेन । एउटा कारण – यदि उसलाई हामि खुकुरी दिन्थ्येउ त ऊ हामीलाई नि मार्थ्यो होला । अर्को- हामीसंग एउटा मात्र खुकुरी थियो, उसलाई दिन नपुग्ने नै भयो ।
    साम्यवाद- हरे, अर्धज्ञानीहरु, परम मुर्खहरु ! तिमि बुझ्नसुझकाहरुले त मान्छे मारेर पृथ्वी नै रित्याउने भयौ । मार्क्सले त एउटा यस्तो संसारको कल्पना गरेका थिए जहा यति धेरै, यति धेरै उत्पादन हुनेछ कि जसले जे चाह्यो पाउनेछ । अनि मात्र सबैलाई समान बनाउन मिल्नेछ । हेर, त्यो मान्छेले एउटा खुकुरी माग्यो तर तिमीले उसलाई दिन सकेनौ किनभने खुकुरी को उत्पादन यति धेरै छैन कि सबैलाई पुगोस ।
    मार्क्सवादी- अब के गर्ने त?
    साम्यवाद- तिमीहरु सन्जोगले एक महिला र एक पुरुष बाँकी भएछौ । अब तिमीहरु दुवै मिलि जतिसक्दो सन्तान पैदा गर्ने, ति सन्तान ले पनि जतिसक्दो सन्तान पैदा गर्नेछन र आउदो ३०-४० हजार वर्षमा फेरी संसार मानिसहरुले हराभरा होला । प्रकृतिले उनीहरुलाइ असमान बनउने छिन, अनि फेरी हामि आइ समान बनाउला ।
    प्रदिपजी ! शिव भगवानले सतिको लाश बोकेर हिंडे जस्तो मरिसकेको सिनो – मार्क्सबाद काँधमा बोकेर सोझा नेपाली ठग्न पहिले सजिलो थियो, अब दिन प्रति दिन गारो हुँदै जानेछ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 3

  • गोबिन्द प्यासी

    कदम राम्रै थियो राजा को तर २ वटा महत्वपूर्ण पाटो छुटाए ! आफु पर्दा पछाडी बसेर ….
    १. तत्कालिन राजनीति का पदलोलुप नेता (बर्तमान का पनि ) मध्ये कुनै एक लाइ प्रधानमन्त्री दिएर माओबादी संग भिडाउने, जब त्यो पार्टी का कार्यकर्ता हरु धेरै मरिसक्थ्ये, त्यो पार्टी कार्यकर्ता बिहिन हुन्थ्यो अनि त्येश को नेता लाइ भ्रस्टाचार को कसुर मा जेल पठाई फेरी आर्को पार्टी को नेता लाइ प्रधानमन्त्रि बनाउने र खेल दोहोर्याउने,
    २. जब ठुला भनाउदा पार्टी को मेरुदण्ड भाचिन्थ्यो, अनि माओबादी लाइ रातो कार्पेट बिछ्याएर बार्तामा बोलाउने, धेरै भन्दा धेरै माओबादी कार्यकर्ता लाइ सरकारी पैसा मै काम गर्न विदेश पठाउने अनि माओबादी लाइ पनि शक्ति हिन अवस्था मा सहमति मा ल्याउने गर्या भे आज जनता कुनै मन्दिर नै जादैनथ्ये ! ज्ञानेन्द्र को पुस्तोउ पुस्ता लाइ जीवित बिस्नु भनेर पुजा गरिरहन्थ्ये !

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 3

  • Ram Thapa Magar

    राजाले दुइ बर्ष मात्र शाषण गर्न पाएको भए देशले काचुली नै फेर्ने थियो/भ्रष्टाचारी,दुराचारी,राष्ट्रघाती,देश द्रोही,हत्यारा,आततायी,सबै जेलमा हुने थियो र देशमा शान्ति,अमनचयन,सिर्जना हुने थिए/आज जनता जसरि बिजोग अबस्थामा छन त्यस्तो अबस्था हुनेनै थिएन/

    मन परे हरियो नपरे रातो ! Thumb up 35 Thumb down 15

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
eXTReMe Tracker