मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

‘लालमाईको पोइ’ हिँड्यो घेवा हेर्न

पोहोरको ब्लग पढ्नुभएको भए तपाईँहरुलाई याद हुनुपर्छ, ससुराली गाउँमा मेरो परिचय ‘लालमाइको पोइ’ को रुपमा मात्र रहेको छ। यसपालि म घेवा हेर्न हिँडेको छु। घेवा अर्थात् तामाङ परम्परामा मृत्यु संस्कारको एउटा महत्त्वपूर्ण पक्ष। हिन्दुहरुको सराद्धे भन्या जस्तै। एक महिना जति अगाडि लालमाइको ‘मम’ खस्नुभएको थियो। ‘मम’ भनेको आमा हैन नि फेरि। सुरुमा यो शब्द सुन्दा मैले नि खुब स्वाङ पारेर अंग्रेजीमा भन्या होला भन्ठानेको, पछि पो थाहा भयो, हजुरआमालाई ‘मम’ भन्दा रहेछन्।

८ र १२ को अपशगुन!
घेवाको मुख्य काम आइतबारदेखि तीन दिन हुने रहेछ। त्यसैले शनिबार हिँडौँ भन्या हो, तर ससुराली गाउँ दोरम्बामा ८ र १२ गतेलाई अपशगुन मानिने रहेछ। त्यो दिन गाउँका कोही पनि हिँड्दैनन् रे। लौ के अचम्म है। नआउनू भनेपछि कसरी जानु। त्यसैले एक दिन अगाडि नै शुक्रबार हिँड्नु पर्ने भो। थाहा थियो, गाउँमा लोडसेडिङको पटक्कै चिन्ता हुन्न। किनभने त्यहाँ विद्युत प्राधिकरणको बिजुलीको लठ्ठा नै गाडिएको छैन। इन्टरनेट पनि गाह्रो हुन्छ टिप्न।

त्यसैले केही दिनका लागि अगाडि नै ब्लग बनाएर जानु पर्ला भन्ने सोच हुँदाहुँदै पनि कार्यान्वयन हुन सकेन। झण्डै बिहानको ३ बजेसम्म माइसंसारकै लागि ब्लग लेखिरहँदा रहँदै भुसुक्कै निदाएछु। ६ बजे त हिँड्न परिहाल्यो।

खुर्कोटको बस चढेर हिँड्यो लालमाइको पोइ

काठमाडौँदेखि दोरम्बासम्म गुड्ने बस सैलुङमा हिउँ परेकोले बन्द थियो। विकल्पका रुपमा चरिकोट हुँदै घुमेर जाने बाटो र नेपालथोक हुँदै जाने बाटो थियो। चरिकोटको बाटो जाँदा हिँड्नु नपर्ने तर लामो बाटो हुन्थ्यो भने अर्को बाटोमा केही घण्टा पैदल हिँडेर अर्को गाडी फेर्नुपर्थ्यो। हामीलाई अर्को बाटो आए हुन्छ भनियो। त्यसैले लालमाइ र लालमाइको पोइले कोटेश्वरबाट खुर्कोटको बस चढ्यो। बस थियो यस्तो थोत्रो-


सवा सात बजे कोटेश्वरबाट हिँडेको बस एक घण्टामा बनेपा पुग्दो रहेछ। त्यहाँ बसपार्कमा पट्यार लाग्ने गरेर कुरेर बस्ने रहेछ। त्यहाँ मान्छे थपथाप पारी बल्ल हिँड्ने रहेछ।

निद्रा नपुगेकोले बसमा झुपुझुपु निद्रा लागिरहेको थियो। झल्याँस्स ब्युँझेर हेर्दा बायाँ पट्टी झ्यालमा रमाइलो हिमशृङ्खला देखिन्थ्यो। साढे १० बजे बस नेपालथोक पुग्यो। नेपालथोकसम्मको बाटो एकदम राम्रो थियो।

५० रुपियाँमा खाना, १० रुपियाँमा दही!

नेपालथोकमा झरेपछि त्यहाँबाट बायाँतिर लाग्नुपर्ने रहेछ। भन्नलाई आधा घण्टाको बाटो भने पनि बाटो देखेका गाउँ हिँडेका बालबच्चासहित हामीलाई भने एक घण्टाभन्दा बढी लाग्यो। उकालो-ओरालो गरेपछि सवा १२ मा बल्ल पुगियो लुभुघाट भनिने ठाउँ। यो फेरि अचम्मैको ठाउँ रहेछ। यहाँ खाना ५० रुपियाँमा पाइने रहेछ। मासु खानेलाई ५० रुपियाँ थप। काठमाडौँमा कालो चियाकै १० रुपियाँ पर्छ, यहाँ भने स्वादिलो दही नै मात्र १० रुपियाँमा पाइने रहेछ। खाना ठीकै थियो। मनमनै हाइवेहरुमा भात बेच्नेहरुले लिने पैसा सम्झिएँ। त्यहाँका अरु बटुवाहरु पनि खानाको प्रशंसै गर्दै थिए। ‘यहाँको क्वालिटी घटेको रहेनछ’, उनीहरु भन्दै थिए।

‘डन’ रहेछन् यहाँ पनि !

लुभुघाटबाट बोलेरो पाइने रहेछ। अबको यात्रा त्यसैमा कोच्चिएर। बाटो उही अधिकांश नेपालको पहाडी जिल्लामा जस्तो- ट्रयाक खोलिएको बाटो। बोलेरो जिपमा १० जना यात्रु कोच्चिनु पर्ने। अगाडिको सिटमा ड्राइभरसहित तीन जना पछाडि एक लहरमा ४-४ जना गरी ८ जना। ल अब गुड्यो गाडी कतिवटा पहाड र डाँडा छिचोल्नुपर्ने हो। भाडा पनि एक जनाको ४ सय रुपियाँ तिर्नुपर्ने अनि जहाँसम्म त्यसले पुर्‍याउँछ, त्यहाँबाट फेरि घण्टौँ हिँड्नै पर्ने ससुराली गाउँ पुग्न!

यात्राको सुरुमै जिप निकाल्दै गर्दा गुरुजी कराउँदै थिए- छोला है छोला डनको मोटरसाइकललाई! भरे थाहा भयो त्यो त्यहाँको डनको मोटरसाइकल रे। त्यो डनले धेरैलाई पिटिसक्यो रे, त्यसलाई पिट्ने भने अहिलेसम्म आएको छैन रे। काठमाडौँतिरै पनि त्यसको चल्छ रे।

के नाम रैछ तिनको ? मैले सोधेँ। ‘सनम कसम’, गुरुजी भन्दै थिए। अहो, नाम पनि क्या गज्जबको! रामलच्छुको छोरा भनेपछि सबले चिन्छन् रे। बाउ पनि डनै रे।

हे भगवान, यिनीहरुले टोले गुन्डाहरुलाई पनि डन भनेको थाहा पाए भने मुम्बई अण्डरवर्ल्डका डनहरुले कि त सार्वजनिक वक्तव्य निकालेर आपत्ति जनाउँथे होला कि त डाडुमा पानी तताएर मर्थे होला ! तर जिब्रोमा झुण्डिसकेछ डन शब्द।

स्यालको मासु ८ सय रुपियाँ धार्नी!

यी गुरुजीको बोलेरो गाडी पनि गजबको रहेछ। ढोका बिग्रेर झर्न-चढ्न गुरुजी पस्ने ढोकै नचलाई हुन्नथियो। पछाडि कुच्चिएको रहेछ, कहाँ ठोक्किएको होला कुन्नि। बाटो फेरि कति गजबको, दुइटा गाडी नअट्ने। किन अट्नु पर्‍यो र, त्यो बाटो जम्मा दुई वटा गाडी गुड्ने रहेछ। एउटा बिग्रेर कता थन्किएको रहेछ। दिनमा एक राउन्ड ट्रिप मार्ने त रहेछ। ७ बजेतिर उताबाट हिँड्यो। अनि यता लुभुघाटमा १० जना पुगेपछि फेरि हिँड्यो उतैतिर र उतै बस्यो।

धुलो नउड्ने रहेछ धन्न बाटो चाहिँ। सैलुङको बाटोमा त धुलो उडेर कायल गर्छ। बाटोमा एक जना बच्ची मरेको बिरालो बोकेर आउँदै थिइन्। नजिक पुगेर गुरुजीसँग कुरा गर्दा पो थाहा भयो, त्यो त बिरालो हैन, स्यालको बच्चा रहेछ। उतैतिर कतै गोठमा स्याल पसेको रहेछ। अनि गाउँलेले मारेछन्। एउटा स्यालको बच्चा बोकेर ती बच्ची घरतिर लाग्दै रहिछिन् रमाउँदै।

स्यालको मासु औषधि लाग्ने विश्वास रहेछ उनीहरुको। बाथ रोगदेखि अनेकन् रोगहरु निको पो हुन्छ रे। ‘अस्ति मन्थलीमा धार्नीको ८ सय रुपियाँमा बेच्दैथियो’, हाम्रा गुरुजी सुनाउँदै थिए। हाम्रा सहयात्रीहरु भने अलिकति पैसा दिएर त्यो स्यालको बच्चो हामीले नै लैजानु पाए हुन्थ्यो भन्दै थिए।

मान्छे तान्ने भीर

बाटोमा एउटा डरलाग्दो भीर देखियो। गाडी नचल्दा त्यो बाटो मान्छे हिँड्ने रहेछन्। त्यहाँ मान्छे तान्छ भन्दा रहेछन्। त्यो भनेको चाहिँ भीरबाट खसेर मर्ने भनेका रहेछन्। अहो, त्यस्तो ठाडो भीर। अनि किन नखसून् त।
‘अहिले त त्यो बाटो कोही हिँड्दैनन् होला नि’, मैले सोधेँ।
‘हिँड्छन्, स्कूल जाने भुराहरु!’ गुरुजीको जवाफ।

जेठी सासु र जेठाजुलाई छुनु हुन्न रे !

अगाडि एक जना बस्ने सिटमा दुई जना बस्दा कति अप्ठ्यारो हुन्छ, त्यो त बस्नेलाई मात्रै थाहा हुन्छ। त्यस्तो अप्ठेरो बसाइमा तीन घण्टा यात्रा गरेपछि सवा ३ बजे बल्ल अन्तिम स्टप आलमपुर पुगियो। हुनत त्यहाँबाट ससुराली गाउँको बोदल डाँडासम्म पुग्दो रहेछ गाडी गएको भए। तर जाँदैन भन्दै आउन मानेन बोलेरो।

लालमाइको दाजु मोटरसाइकल चढेर लिन आएका थिए। हिँड्न नसक्ने भएर लालमाइलाई लिएर हिँडिहाले। हामी ६-८ जना भने हिँड्यौँ त्यहाँबाट पैदलै। डाँडाबाट झरेर झोलुङ्गे पुल तरेर उकालो के लागेका थियौँ, फेरि लालमाइको दाजु लालमाइलाई पुर्‍याएर फर्किसकेका रहेछन्। त्यहाँबाट मोटरसाइकल चढी सवा ४ बजे बल्ल पुगियो ससुराली गाउँ।

हामीसँगै हिँडेका अरु भने साढे ५ बजेतिर बल्ल आइपुगे। एक जनाले त अझ २५ किलोको दालसमेत बोकेको थियो। एक्लो ज्यान हिँड्न त धौधौ, गर्मीले हैरान। कसरी हिँडेछन् कुन्नि उनीहरु।

हामीसँगै हिँडेका अरुलाई लालमाइको दाजुले किन मोटरसाइकलमा लिन नगएका भनेको त जेठी सासुलाई छुन हुन्न भनेर पो रे। लालमाइकी आमा (सासु) ले प्रष्ट पार्नुभो- ‘हाम्रो त जेठीसासु र जेठाजुलाई छुन हुन्न। एकै ठाउँमा समेत बस्न हुन्न।’

‘सासुलाई त छुन हुन्छ नि!’ मैले सोधेँ। भरे आफ्नै बुढीलाई पनि छुन हुन्न भन्लान् भन्ने पो डर भो त।

अस्ति भर्खरै बाहिर जिल्लाबाट एउटा समाचार आएको थियो- जेठाजु र बुहारी एकै ठाउँमा बस्नु हुन्न भन्ने मान्यताका कारण घरमा दुई दुई वटा ट्वाइलेट बनाउनु पर्ने रे। ट्वाइलेट नहुनेको जंगल पस्नु पर्ने रे। धन्न यो गाउँमा ट्वाइलेटसम्म भने नबार्ने रहेछन्।

सोलार बिग्रेको रहेछ, चार्ज हुँदैन !

गाउँमा पुगेपछि आपत ! पोहोर परार आउँदा यहाँको सोलार गज्जबको थियो। बत्ती बल्थ्यो, ब्याट्रीमै इन्भर्टर जोड्दा ल्यापटपसमेत चार्ज हुन्थ्यो। त्यही भएर थेसिसको कन्टेन्ट एनालाइसिसका लागि फर्महरु र केही पढ्ने कुरासमेत बोकेको थिएँ। अहिले त यहाँ सोलारको ब्याट्री बिग्रेर न बत्ती राम्रोसँग बल्छ, न ल्यापटप नै चार्ज हुन्छ। अब यत्राको पढ्नु! यो गाउँमा सबको मुखमा एउटा गाली झुन्डिँदो रहेछ- जाँठो ! कस्तो छाडा रैछ यो लालमाइको पोइ भन्लान् भनेर मुखले भन्न भएन। बत्ती नभएपछि सूर्य डुबेर अँध्यारो हुनेबित्तिकै खानासाना खाई ८ बजेतिरै सुत्ने बाहेक केही विकल्प छैन अब।

ह्याँ एक नम्बरको पत्रिका पनि आउँदैन, दुई नम्बरको पत्रिका नि आउँदैन। खै कुन्नि कुन कुन ठाउँमा एक साथ प्रकाशित पत्रिका पनि आउँदैन। राष्ट्रको सर्वश्रेष्ठ च्यानल भनेर आफूलाई दावी गर्ने टेलिभिजनहरुको पनि यहाँ अस्तित्व छैन। काठमाडौँतिर प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने कि नबनाउने भन्दै तात्तातो बहस चलिरहँदा यहाँ त्यस्ता वाहियात कुरामा टाउको दुखाउन कसैलाई फूर्सद छैन। मिडियाको नाममा यहाँ एफएमको अस्तित्व छ। राति एकचोटी काठमाडौँबाटै हामीले किनेर पठाइदिएको रेडियोको कान बटारेको, एफएममा प्रश्न उत्तर कार्यक्रम बज्दै थियो। खै कुन्नि कुन एफएम होमा पोखराका स्रोताले प्रश्न सोध्दै थिए – मेरी बूढीको पाठेघरमा पानी जमेको भन्छ डाक्टरले। बच्चा हुन्छ कि हुँदैन ? जवाफ सुन्न मन लागेन, बीबीसी आउला कि भनेर रेडियोको कान बटारेको बटार्‍यै गरेँ। आएन। फेरि अघिकै ठाउँमा अर्कोले प्रश्न सोध्दै थियो- कोरियाबाट इलिगल काम गरेर घरमा पैसा पठाउँदा त्यो कालो धन हुन्छ कि हुँदैन ? अब चाहिँ अफ गरेर सुतेँ।

काठमाडौँबाट चार्ज गरेर ल्याएको ल्यापटपको ब्याट्री सकिसक्यो। अब के गर्ने ? थाहा छैन। धन्न मोबाइल भने चार्ज हुने रहेछ सोलारको ब्याट्रीले। हेरौँ केही उपाय त निस्केला नि ! नभए ऊ पारीको गाउँ बत्तीले झलमल्ल भएको हेर्ने, चित्त बुझाउने!

2042 Total View 9 Today View

16 comments to ‘लालमाईको पोइ’ हिँड्यो घेवा हेर्न

  • shivaraj khadka

    शालोक्य जी छिमेकी गाविसको ज्वाईं अर्थात लालमाइको पोइ हुनुहुदोरहेछ खुशी लाग्यो । मेरो गाउँ पनि हिलेदेवी साँदिडाँडा हो जहाँ ह्वाँग परेको बोलेरोको एउटा फोटो क्लिक गरेर हाल्नुभएको छ । तपाइले भने जस्तै स्थानीय डन संस्कृति भित्रिने क्रम बिगबिगी हुदैंछ । दुख लाग्छ । गाउँमा नयाँ पुस्ता देख्दा । अझ एउटा कुरा धन्न थाहा पाउनुभएनछ । तपाइहरु चढेको बोलेरसहित त्यो भेगमा चल्ने सब बोलेरो चोरीका हुन र कुनै पनि चालकसँग सवारी चालक अनुमति पत्र पनि छैन । सँगसँगै मोटरसाइकलको को त कुरै नगरौं । सम्भवत डन भनाउँदाको मोटरसाइकल पनि चोरी कै हुनुपर्छ । आफैलाई लाज लाग्छ कहिलेकाहि चढ्ने साधन अर्को पनि त छैन चोरीका बाहेक । धन्न प्रहरीले पनि सहयोग गरेको छ चोरीको साधनलाई निर्वाध रुपमा सञ्चालन गर्न । मैले कुनै बेला यहि विषयलाई कुनै दैनिकमा लेख्दा झण्डै कुटाइ खानुपरेन । धन्न, लालमाईको पोइले यो चुरो कुरो थाहा पाउनुभएन छ । जय होस मेरा डन हरुको ।

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Arjun Ghising

    पत्रिका दोरम्बामा जादै नगयको भने होइन तर गाडी रेगुलर नजाने भयर र शैलुंगको बाटो मा हिउ परेको र पनि परेको बाहेक अन्य दिनमा दैनिक पत्रिका जान्छ .

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Kristina

    लाल माइको मम को आत्माको चिर शान्तिको कामना साथै येहाको सुभ यात्रा !

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • Kristina

    धेरै प्रतिछ्या पछि लल्माइको अर्को पाटो पढ्न पाए धन्यवाद उमेश जी !

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • pawon

    wonderful presentation

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Dilparsad Syangtan

    ” मम् ” भनेर लेख्नु पर्छ तामांग भासामा हजूर आमालाई ” मम ” होइन , म तामांग हुँ मैले कहिल्यै हजूर आमालाई ” मम ” भनेर बोलाएको छैन ” मम् ” भनेर बोलाउछु !

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 0

  • yam pun

    ससुराली गाउको यात्रा लेख्नु भएको रहेछ! रमाइलो नै लाग्यो! तपाइको ससुराली गाउमा अरु थुप्रै रमाइला कुराहरु थिए होलान् तर लेख्नलाई अलि अलि कन्जुस्याई गरे जस्तो लाग्यो!
    तपाइलाई त कस्तो लाग्छ, कुन्नि ??? मलाई त ससुराली गाउँको कुकुर पनि प्यारो लाग्छ!

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 1

  • प्रस्तुति निकै राम्रो लग्यो सालोक्य जी . धन्यवाद अलग खालको ब्लग को लागि :)

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • पोहोरको ब्लग पनि पढने मौका पाएको थिए, भाग्यबस यसपाली पनि छुटेन | दु ;खको कुरा त्यो सुन्दर गाउँमा अहिलेसम्म बिजुलीको राम्रो व्यवस्था रहेनछ ,कामना गरौ छिटो पुरा होस् लेख पढदा आफै यात्रामा सहभागी भएको अनुभाव भयो | धन्यवाद सालोक्य जी ,

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 1

  • purna

    उमेशजी,
    खुशी लाग्यो तपाइको ससुराली दोरम्बा रहेछ र अनि अर्को कुरा तपाई तामांग घरको जुवाई हुनुहुदो रहेछ भन्ने थाहा पायर | म पनि दोरम्बाकै तामांग ठिटो परे | कतै मेरो घरपनि पो तपाइको ससुराली खलक पर्ने पो हो कि? जे होस् खुसि लग्यो सुनेर |

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 1

  • Damodar

    लालमायाको ममको आत्मा ले स्वोर्ग मा बाश पावोश / लौ परकितिले सुन्दर ठाउँ मा पुग्नु भएको रहेछ केहि समय लाई भए पनि रमाउनु होस् सक्नु हुन्छ भने. मिल्छ भने हामीलाई पनि बाड्नु होस् येसरी नै.

    मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 1

  • hridaya

    मनै चंगा हुने भनेजस्तो ब्लग बल्ल पढ्न पाइयो l लालमाइको पोइकि साली पनि छन् कि छैनन् ससुरालीमा, त्यो कुरा चै गोप्य नै राख्ने हो कि क्या हो ?? अरु पनि जाओस है येस्तै येस्तै फेरी !!

    मन परे हरियो नपरे रातो ! Thumb up 37 Thumb down 3

  • Daya

    अलि अलि भएनी त्यो गाउको फोटोहरु राख्न पाएको भए सुनमा सुगन्ध हुने थियो.

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 1

  • suroj

    रमाइलो लग्यो तपाई को यात्रा सस्मरण सुनेर,

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1

  • srijana

    दृश्यहरु हेरेर रमाइलो लग्यो | जेठी साशु र जेठाजुलाई छुन हुन्न भन्ने चलन त्यो ठाउको मात्र नभएर नेपाल कै पुरानो चलन हो |बुडीलाई नै छुन हुन्न भान्छा कि भन्ने लेख्नु अगि आमा या ठुला बडा संग बुझेर लेखेको भए राम्रो हुन्थ्यो |

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 3

  • kishor

    कति गजब को वास्तविक कुरा पस्कनु भो हजुरले धन्यवाद छ शालोक्य ज्युलाई !

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 1