मेरो Tweet

  • सार्क सरसफाइ : भोलि बिहान साढे सात बजेदेखि साढे नौ बजेसम्म मन्त्री, उच्च अधिकारीहरुले कामपा र लउमनपाका सबै वडामा सरसफाइ गर्ने कार्यक्रम छ

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

‘मरिसकेपछि पाल्नुपर्ने’ अनौठो चलन

खासमा लालमाइको पोइलाई यस पटक ससुराली आउन रहर लाग्नुको कारण आफूले देखिआएको भन्दा फरक खालको संस्कृति हेर्नु र बुझ्नु थियो। पोहोर बिहेको संस्कार हेरेको थिएँ, यस पटक मृत्यु संस्कार हेर्दैछु। सबभन्दा अनौठो मलाई यो कुरामा लाग्यो- मृत्युपछि दाहसंस्कार गरी जलाइसकेपछि खप्परको हाडको टुक्रा लिएर आएर घेवा नभएसम्म कुनै घरमा राखी पाल्नु पर्ने रहेछ। पाल्नुपर्ने मतलब, घरमा पाकेका कुनै पनि खानेकुरा आफूले खानु अगाडि उसलाई चढाउनु पर्ने। लालमाइको पोइको ससुराली यात्रा अनुभवको दोस्रो भाग पढ्ने मन भए भित्र आउनुस्।

शुक्रबार ससुराली गाउँ पुगेपछि खासै कुनै कामै भएन। सोलार बिग्रेको रहेछ, बत्ती खासै बल्दैन थियो। अँध्यारो हुनेबित्तिकै सुतियो। शनिबार एक छिन ल्यापटप चलाउने बित्तिकै ब्याट्री सकिहाल्यो। इन्टरनेट पनि नेपाल टेलिकमको सिडिएमएबाट आउने-जाने हुने गरी टिप्ने रहेछ। इन्टरनेट बाहेक कुरा गर्न पनि टेलिकमको सिडिएमए (स्काइ) उपयोगी रहेछ। एनसेल र नेपाल टेलिकमको जीएसएम त टिप्दै नटिप्ने। स्मार्ट टेलिकमको भने टिप्ने रहेछ। त्यो पनि कहिले टिप्ने, कहिले नटिप्ने। स्काइको रिम कार्ड हालेको मोबाइलबाट कहिलेकाहीँ यसो इन्टरनेट हेरेर देशविदेशमा के भइरहेको छ भन्ने बुझिन्थ्यो। नत्र त पूरै सम्पर्कविहीन।

चार्ज होला कि भनेर ससुरा बाले बल्लतल्ल खोजेर ल्याउनुभएको इन्भर्टर जोडेर ल्यापटप चार्ज गर्न खोज्छु- हुँदैन। लोडै नधान्ने पो रहेछ गाँठे। मोबाइल चार्ज गर्न मात्र ठीक रहेछ। हैरानै भइयो नि। घेवा घरमा बाल्न ल्याइएको जेनेरेटरबाट तार तानेर बल्लतल्ल ल्यापटप चार्ज गरी यति लेख्न पाइरहेको छु। हावाले इन्टरनेट फालेको बखत् यी वाक्यहरु ब्लगमा अपडेट गर्न पाइनेछ।

पाल्न नमानेकोले ससुरा रिसाए

एक महिना जति अगाडि खस्नुभएकी ‘मम’ (लालमाइकी हजुरआमा) खासमा ससुराकी सानीआमा (बुबा एउटै, आमा फरक) हुनुहुँदो रहेछ। चिहानडाँडामा लगेर दाहसंस्कार गरेपछि खप्परको हाडको सानो टुक्रा लिएर आउनु पर्ने रहेछ। त्यसलाई घेवा नभएसम्म घरमा राखेर पूजाआजा गरी घरमा पाकेका खानेकुरा सबैभन्दा पहिला उसैलाई नै चढाई पाल्नुपर्ने चलन रहेछ।

लालमाइकी आमाका अनुसार हाडै लिएर आउने भने पनि आजभोलि धेरैले खरानीमात्रै लिएर आउँछन् रे। तर ‘मम’को भने हाडै सानो टुक्रा लिएर आएको देखेको भन्ने पनि भेटियो।

ससुरा बा त्यसलाई घरैमा पाल्नुपर्ने भन्नुहुन्थ्यो। तर ‘मम’ का साख्खै छोराबुहारीले भने मान्नुभएनछ। ससुरा बा रिसाएर छुट्टी। उहाँहरुले ‘मम’को अस्थि पाल्न लामाको घर पठाइदिनुभएछ। पालेवापत् १५ सय रुपियाँ दिनुपर्ने रहेछ लामालाई।

मरिसकेका ‘मम’ को आवाज सुनियो

हामी बसेको घरभन्दा अलि तल छ ‘घेवा’ घर अर्थात् ‘मम’ जिउँदो हुँदा बस्ने गर्नुभएको घर। मरिसकेका ‘मम’ पाल्न गाह्रो मान्नुको कारण चाहिँ स्याहारसुसार होला शायद्। भन्नुको अर्थ पूजाआजा गर्नुपर्‍यो, बत्ती बालिदिनुपर्‍यो। पाकेको खानेकुरा आफूले खानुभन्दा अगाडि चढाउनु पर्‍यो। नचढाई खायो भने त खाने मान्छे बिरामी हुँदा रहेछन्। अनि रातिराति हिँडेको आवाज पनि आउँछ रे।

लौ अब यो बत्ती नभएको गाउँमा अँध्यारोमा के के आउने हो कुन्नि थाहा भएन। तर नपाले पनि त्यहाँ सुतिरहेका ६/७ जनाले भने राति अबेर ‘मम’को आवाज एकै पटक सबैले सुनेछन् केही दिनअघि। ‘मम’ कै आवाजमा गुनगुन गुनगुन गरी हिँडेको त्यहाँ सुतेका सबैले सुनेका रहेछन्।

खासमा घेवा नगरेसम्म आत्मा मुक्त भएको हुँदैन रे नि त। त्यतैकतै डुलेर बसिरहेका हुन्छन् रे।

एकाबिहानै लाग्यौँ मरिसकेका ‘मम’लाई लिन

आइतबारदेखि तीन दिन लामो घेवा सुरु हुने रहेछ। आइतबार बिहानै एक हुल मान्छे मरिसकेका ‘मम’ लिन (अर्थात् त्यही खप्परको हड्डी-अस्थि लिन) मानेडाँडामा रहेको लामाको घरतर्फ लागे। म पनि आउँछु भनी पछिपछि लागेँ।

त्यसरी लिन जाँदा पनि कहाँ खाली हात जान हुने रहेछ र। कोसेली बोकेर जानु पर्ने रहेछ नि। कोसेली अर्थात् रोटी र सगुन।

घरको जेठो छोरा (लालमाइका बुबा) लाई लिन जाऊ भन्दा ‘मैले पठाएको रे लिन जान, जसले पठाएको हो. उही जान्छ। म किन जाने’ भन्नुभएछ।

झण्डै आधा घण्टाको पैदल यात्रापछि पुगियो लामाको घर। लामा प्रार्थना गर्दै थिए। हामीले ल्याएको सगुन लामाको घरभित्र लगियो। एकछिन पर्खेपछि बल्ल प्रार्थना सकियो। अनि हामीलाई रोटी खुवाए। काकाले १५ सय रुपियाँ थालमा राखेर पूजा गरी लामालाई दिनुभयो। त्यसपछि त्यहाँ पालेको ‘मम’ लाई लिएर घेवाका सामानहरुसहित हामी फर्क्यौँ घरतिर।

कहाँ कसरी लुकाएर राखेको हुँदो रहेछ कुन्नि, मैले देखिनँ। खासमा जो मरेको हो, उसको ज्वाइँले बोक्नुपर्ने रे त्यो अस्थि- मामाले भन्नुभएको।

लामाको घरबाट विभिन्न सामान हामी आएका सबैले बोक्यौँ, मलाई पनि एउटा झोला बोक्न भनियो, बोकेँ र हामीसबै घरतिर लग्यौँ।

घर पुग्नुअघि पनि सगुनले स्वागत गर्नुपर्ने रहेछ।

लामाको घरबाट मम लिएर फर्कँदै।

ध्वजा फहराउने काम सुरु

यता घेवा घरमा हिजैदेखि तयारी सुरु भइसकेको थियो। गोठ बनाउने, सजाउने काम भइसकेको थियो। गाईवस्तु बाँध्नेलाई मात्र गोठ भनेको सुनेको थिएँ। यहाँ त खाना पकाउने ठाउँ, लामा बसेर मृत्युकर्म गर्ने ठाउँ सबैलाई पनि गोठ भनिने रहेछ। बाँस काट्दै अस्थायी ‘पाल’ जस्तो बनाइँदो रहेछ।

गाउँलेहरु सबै एकजुट भएर यस्ता काममा सहयोग गर्ने रहेछन्। सबैले त्यहीँ पाक्ने खाना खाने रहेछन्।

‘गोठ’ मा बौद्ध थान्का चित्रहरु झुण्ड्याइयो। घिउ हालेर १०८ बत्ती बालिने रहेछ। भातको डल्ला मुछ्दै विभिन्न आकृति बनाइने रहेछ। त्यसलाई तोरमो हो कि के भन्दा रहेछन्। पिठोको, गहुँको विभिन्न आकृति पनि बनाइने रहेछ।

आफन्तहरुले सगुन लिएर आउँदा रहेछन् घेवा घरमा। त्यसैगरी ध्वजा पनि फहराइँदो रहेछ। नजिकका आफन्तले ‘मम’ को नाममा यस्ता ध्वजा ल्याउने रहेछन्। कसैको ८ हात, कसैको १०, कसैको १२ हात कपडा।

गाउँलेहरुले लामो बाँस वा काठ बोकेर ल्याउँदा रहेछन् अनि त्यो कपडालाई त्यसमा किला ठोकेर खाल्डो खनी गाडेर फहराउँदा रहेछन्। हिजो मैले हेर्दासम्म १४/१५ वटा ध्वजा फहराइसकेका थिए। एउटा मुख्य ध्वजा चाहिँ घरको हुँदो रहेछ। त्यसबाट तीन वटा शाखा रङ्गीचङ्गी कपडा तीनतिरको रुखमा बाँध्ने रहेछन्। एउटा मूल ध्वजा घरैमा राखेर बाँकी ध्वजाहरु चाहिँ डाँडातिर गाड्नलाई लैजाने रहेछन्।

राति १ बजेसम्म पूजा जारी

लामाहरुले बाजा नल्याएको भन्दै राति एक पटक त ठूलो बहसै भयो घेवा घरमा। पछि रातारात डाँडामाथि गएर ल्याइयो बाजा। अनि राति १ बजेसम्म बाजा र मन्त्रोच्चारण सुनिएको थियो।

त्यसअघि घेवा घरमा ठूलो भान्सामा पकाइएको भात र दाल अनि अचार सबैले लहरै बसेर खाएका थिए। मैले पनि धेरैपछि त्यहाँ बसेर हातैले खाना खाएँ।

घेवाको मुख्य काम दोस्रो दिन अर्थात् सोमबार हुने रहेछ। त्यो दिन दिउँसो र राति अबेरसम्म नाचगान हुने रे। आज पनि जेनेरेटरले ल्यापटप चार्ज भयो भने देखेको कुरा लेखौँला। इन्टरनेट राम्रोसँग नटिप्ने हुनाले फोटोहरु चाहिँ राख्न गाह्रो हुन्छ। हेरौँ केसम्म गर्न सकिन्छ।

1356 Total View 9 Today View

15 comments to ‘मरिसकेपछि पाल्नुपर्ने’ अनौठो चलन

  • Chandra

    मलाई त आफ्नै मम अर्थात् बजै को घेवाको याद आयो धन्यवाद! सालोक्य g

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • पढेको पढेकै गर्न मन लाग्यो, फोटो हेरेको हेरेकै गर्न मन लाग्यो ! दिस्कोवेरी च्यानल भन्दा रतिभर पनि कम लागेन ! यो एक जीवन्त विषयवस्तु हो जस्तो लाग्छ !

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 0

  • Subash tamang

    मलाई एकदम राम्रो लाग्यो किन भने हाम्रो नुवाकोट तिराको तामांग हरुमा पनि यो मिल्दोजुल्दो देखिन्छा घेवालाई हाम्रो तिर ग्राल भन्ने गरिन्छा अनि टहरालाई दजंग भन्ने गरिन्छा

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • Subarna

    मलाई पनि विभिन्न जनजातीको जन्म, मृत्यु, बर्तमन जस्ता काजक्रियाहरुको बारेमा बुझ्न अति मन छ। तपाईको ब्लग बाट विस्तृत जानकारी पाएर निक्कै राम्रो लाग्यो।

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 0

  • Gauchan

    मम नभएर माम हुनपर्ने हो| त्यस्तै गोठ हैन डजांग भनिन्छ|

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 50 Thumb down 0

  • Dig Bahadur Tamang

    खुसि लग्यो मैसंसारमा तामांग हरुको संकृति र संस्कारको बारेमा शालोक्यजिले बर्णन गर्नु भएको | तामांग हरु शतप्रतिसत बौद मार्गी त्यसमा माथि पनि निंग्मा जुन गुरु रिम्पोचेले प्रतिपदिद प्राचिन ग्रन्थ अनुसार हाम्रा तामांग लामाहरुले पितृ कार्य सम्पन्न गर्छन | मृतु पछि अर्को जीवन झन् राम्रा अर्को जुनीमा राम्रा शुखको जीवन होस् भनि मर्नु भन्दा मृत्यु सैयामा नै बर्दो सुनोउछन लामाले पढेर , मृत्य पछि फुवा लामद्वारै हुन्छ | त्येस्पछी ठुलो जमातले मलामी तथा आफन्तहरुले धूर्समा (च्यानमा) पुन जग्गे जस्तो चिता बनाएर पुन मोलम गरेर मात्र ( कल्पला मे ) झुलो र चक्मागद्वोरा निकालिएको आगोले दगपति दीएर दहसकर गरिन्छ | जब मृतु व्यक्तिको भौतिक शरीर जलेर सकिन्छ, अस्तु अथवा चरी गंगला र्हुइसल (टाउकोको hattee को अब्शेस ) जसलाई एङ्ग्लिश्म relic
    \लै ल्याएर चोखो स्थानमा राखेर लामाको बिधि अनुसार ४९ दिनसम्म राखेर भावनात्मक रुपले
    पालेर राखेको हुन्छ र घेवा को अन्तिम दिन त्यो अस्तुलाई घ्याँग्मा लगेर पुन डग्पती दिए झैं गरेर सेलौन्छां.

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 25

  • Ramesh Tamang

    म आफु तमांग भएर नि यति साह्रो गेवाको बारेमा ज्ञान थिएन तपाइले आफ्नो अमुल्य समय निकालेरा तामांग जतिको घेवाको बारेमा ब्रिस्तित जानकारी दिनु भएकोम मुरी मुरी धन्यबाद दिन चाहन्छु अनि बाकी अंशको प्रतिक्ष्यमा छु ..

    मन परे हरियो नपरे रातो ! Thumb up 20 Thumb down 0

  • कुमार मोक्तान

    हाम्रोतिर(तेमाल भेग)मा भन्दा दोराम्बाको चलन अनि फरक जस्तो लाग्यो । हाम्रोतिर मरेको मान्छेलाई आफैले पाल्नु पर्छ । अनि घेवा गर्न बनाएको टहरा जस्तोलाई गोठ नभनेर डाजाङ भनिन्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 24 Thumb down 0

  • bibek dhakal

    यी सांस्कृतिक महत्व बोकेका रिति रिवाज हरु र इनको महत्व लाइ बिदेशी माझ लान सके सो क्षेत्रमा पर्यटन प्रवर्धन हुने थियो. यसबारे सरोकारवाला साथै हामि सबले सोच्ने कि?

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 9

  • bikram

    आफ्नै वास्तविक कथा एकदमै रोचक तरिकाले लेख्नु भयो पढेर एकदम मज्जा लाग्यो ! थप घटनाक्रम को पर्खाइमा छु !

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 0

  • लौ है था नपाका धेरै कुरा था पाउने अवसर जुरिरहेको छ। उमेश समय समयमा ससुराली चाहिँ जानै पर्छ। नत्र यस्ता कुरा था पाम्न सकिन्न।

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • उमेश जी त्यसैले त नेपाल संकृतिक रुपमा सधै धनि छ । यी यस्ता संकृतिक पहिचानहरु पश्चिमी देशको खुल्ला आक्रमणले लोप हुदै गएको छ । यसलाई समय मै बचाएर भोलिको पुस्तामा हस्तान्तरण गर्नु हाम्रो कर्तब्य हुन आउछ । धन्यबात कठिन परिस्थितिमा पनि राम्रो ब्लग लेख्नु भो…..

    धेरैले मन पराएको कमेन्ट। तपाईँलाई नि? Thumb up 62 Thumb down 4

    • श्रेया नेपाली

      जनजातिहरुले बाहुनले हाम्रो भाषा सिद्द्याये भनेर देश बिदेशमा बिरोध गरेको चै सुनिन्छ तर पश्चिमाहरुले खुलेआम christianization गरेर संस्कृति नष्ट गरेको चाई खासै बिरोध, (resist ) गरेको चाई देखिदैन, अलि जान्ने सुन्नेको मुख डलरले बन्द गरिदिएर हो कि

      मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 7

      • Kumar Moktan

        श्रेया जी, पश्चिमाहरुले गरेको सांस्कृतिक अतिक्रमणको पनि बिरोध भएको छ तर तपाइले जनजातिको यी आवाज तपाइले सुन्न, देख्न सक्नु हुन्न र यसमा तपाइको दोष पनि छैन /

        मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 4

  • ramesh babu

    उमेश जी साथी मात्र नभई मेरोत ज्वाई नै पो हुनुहुदो रैछ धेरै खुसि लाग्यो तपाई जस्तो सृजनसिल रामेचापेली ज्वाई हुदा

    मन परे हरियो नपरे रातो ! Thumb up 44 Thumb down 12