मेरो Tweet

  • विनय कसजुलाई प्रहरीले नियन्त्रणमा लिएसँगै यो प्रकरण कान्तिपुरमा जोडिएको संकेत पाए पनि चुरोकुरा था थेन। आज यस्तो पढियो http://t.co/NfxsXnwbkq

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

यात्रा संस्मरण: मैले देखेको कलोराडो

-शशांक लामा-
Trip to Colorado 175 कलोराडो घुम्न आउनु भनेर आफन्तले दिएको निम्तो छंदै थियो। दोहोर्याइ तेहेर्याइ निम्त्याइएको थियो| तर आफूलाई न्युयोर्कको ब्यस्त जीवनले छोडे पो ! आ: यो धपेडी कति खेप्ने ? मरेर कसले पो ठुलो भाग लगेको छ र ? निम्तोलाई नविकरण र पुनर्नविकरण गरियो, बाबु छोरी जाने निधो भयो। अर्धाङगिनीलाई सानैदेखि हुने गरेको Motion Sickness ले अहिले पनि छोडेको छैन्। त्यसमाथि कलोराडोसम्मको लामो उडान! मोज गर बाबु छोरी भनेर मन अमिलो पारिन्। सबैकुरो अपर्झट भएकोले जाने अघिल्लो दिनसम्म हातमा टिकट थिएन। cheaptikets.com मा गएर हेरेको न्युयोर्कबाट कलोराडो सम्मको ५ घण्टे उडानको भाडा एकजनालाई आतेजाते $ ५०० लाग्दो रहेछ्। भुक्तभोगीहरूले भनेनुसार रातको १२ बजेपछि सस्ता डट कमहरूले भाडा अप्डेट गर्छन् रे ! छोरी र म १२ बजेसम्म नसुती बस्यौँ| मलाइ त त्यतिखेर सरदारजीको १२ बजेवाला चुटकिला सम्झेर आफै पो १२ बजेको पात्रो भैइयो भनेर मनमनै हाँसो उठेको थियो। लौ बाबु छोरी १२ बजाएर बस है ! भनेर श्रीमती सुत्न हिडिन। १२ बज्यो, छोरी र म एक एक कुनामा बसेर किबोर्डमा सस्तो डट कम थिच्न थाल्यौँ। उडान दर रेटमा सांच्चै नै हेरफेर भएको थियो। दिउँसो $ ५०० मा पाइरहेको अहिले $६०० भैसकेछ। बित्थामा निद्रा बिगारेर १२ बजाइएछ। यी झेली डट कमहरूले के खाएर सस्तोमा देओस ! कलोराडोका आफन्तहरूलाई आउँछौं त भनिसक्यौँ, कतै $ ५०० को भेटिए टिकट लिऔँ,भनेर छोरीसँग सल्लाह भयो। तर सस्तो डट कमले सस्तो देला भन्ने आश चाहिं मरेको थिएन। एक एक कप तातो चिया पिएर युद्वस्तरमा फेरि खोजियो। नभन्दै $३०० को दर मिलिक्क देखा पर्‍यो। हामीले हाम्रो क्रेडिट कार्डको नम्बर हान्दा वर्दा कुनचाहिँ कुहिएको हातले अघि नै फुत्काइ सकेछ। अब त आशा झन् बढी पलायो र खोज्दै जाँदा $३०७ को टुप्लुकिएको मात्र थियो, छोरीका औँलाहरू की बोर्डमा मकै भुटेसरी चले, हामीले अरुलाई उछिन्यौँ र हाम्रो सदर भयो । $४०० बचाएकोमा कुनै युद्व जिते झैँ बाबु छोरी दंग परेका थियौँ। सुत्दा वर्दा रातको दुई बजेको थियो। भोलिपल्ट ८ बजेको उडान थियो र घरबाट ६ बजे निस्किसक्नु पर्थ्यो।

न्युयोर्क शहरमा यातायातको राम्रो प्रवन्ध छ। बिमानस्थल जाँदा ट्याक्सी चढनै पर्छ भन्ने छैन्। आफुसंग सामान कम छ भने भूमिगत रेल हुँदै दुई डब्बे एअर ट्रेनले जोन एफ केनेडी बिमानस्थलको आफूले जान चाहेको टर्मिनल भित्रै पुर्याइदिन्छ। जम्माजम्मी एकजनाको ७ डलर ५० सेन्ट लाग्छ। भूमिगत E ट्रेन चढेर अन्तिम् बिसौनी Jamaica Center भन्दा अगाडीको बिसौनीमा ओर्लेर एअर ट्रेन लिंदै अनिदो मुहार बोकेर बौछोरी जे एफ के बिमानस्थल पुगेर आफ्नो टिकट नम्बर मेशिनमा दलेपछि मेशिनले नै बोर्डिङ पास् दिएर ल्यायो।

सस्तो बेसाहले पखाला लाग्छ भने झैं बिमानभित्र हामीलाई सिट पुच्छारको पखाला झार्ने टटीखाना नजिकै दिइएको थियो। बिमान उडेको करिब एक घण्टा पछि एक गिलास जुस र एउटा मिठाइ ‘खाए खा, नखाए घिच्’ भने झैं गरेर बिमान परिचारिकाले दिइन। तर सोध्ने बेलामा के के न भाको जस्तो “तपाइ के लिन चाहनुहुन्छ” भनेर क्रितिम मुस्कान छरेकी थिइन। डेट्रोइट बिमानस्थलमा ओर्ल्हेर, गुडने भर्याङमा गुडेर, हिंडने भुँइँमाथि सुल्केर डेन्भर जाने बिमानभित्र छिरियो। यसपटक चाहिँ इकोनोमी कम्फोर्टमा (फष्ट क्लासको ठ्याक्कै पछाडि) हामी बाबुछोरीलाई सिट दिएर ल्यायो। डेन्भर बिमानस्थल पुगेपछि हामी दुईलाई कतिखेर आफन्तहरूले बोकेर गाडीमा बसाइ सकेछ, पत्तै भएन। डेन्भरको फराकिला र खुल्ला सडकमा गाडी गुडन थालेपछि बल्ल झल्यांस भएँ। दायाँ बायां अगाडी पछाडि चारैतिर हेरेँ, मैले हेर्न खोजेको पर्वत देखिन। खोइ पर्वत्? अनायस भन्न पुगेँ। बिमानस्थलको छेउमा पर्वत खोजेर भेटिन्छ र भनेर ब्यंग कसे। आधा घण्टाजति गुडेपछि बल्ल तुवाँलोभित्र पर्वतमालाहरू देखा परे। डेन्भरको समतल उपत्यकामाथि लमतन्न परेर सुतेका पर्वतमालाहरूको आकार झन् झन् छर्लङगिन्दै गयो। बिगत ८ बर्षसम्म पर्वतमालाहरू हेर्न नपाएका मेरा आँखाहरू पर्वततर्फ एकोहोरिएका थिए, मन रमाइ रहेको थियो, स्वदेशका पहाडहरू सम्झेर अतितमा डुबुल्की मार्न पुगेँ, पर्वतको छोरो लामो अन्तरालपछि पर्वतसंग साक्षात्कार गदै थियो। मधेश न्युयोर्कमा पर्वत हुने कुरै भएन। न्युयोर्कको अलि मास्तिर बियर माउण्टेन भन्ने छ्, तर त्यो माउण्टेन नभएर थुम्को हो। कलोराडेली माउण्टेन पो माउण्टेन ! त्यसरात कलोराडेली आकाशमुनी आफन्तको घर पछाडिको घाँसे मैदानमा बसेर अलास्केली साल्मन माछा र वाइनको चुस्की लिंदै छर्लङ्ग रात कटाइएको थियो।

भोलिपल्ट सारा घर मस्त निद्रामा भएकोबेला बिरालाका चालले तल ओर्ह्लेर बिस्तारै ढोका ढप्काएर बाहिर निस्केँ र घरदेखि अलिपर रहेको ढिस्कोमाथि चढेर लमतन्न परेर सुतेको पर्वतमालालाई एकटकसंग धेरैबेरसम्म हेरिरहें। तन कलोराडोमा भएपनि मन धरानदेखि उँभोको भेडेटार्,साँगुरी भन्ज्याँग, मुलघाट,हिले डाँडा पुगेको थियो। मोटर बाटो नभएको बेला चिउरीबासको ठाडो उकाली चढदै साँगुरी भन्ज्याँग थुप्रै चोटी छिचोलेको छू। अनि धारापानीस्थित राई दाइको होटलको खानाको त बर्णन गरेर साध्य छैन। मोटर बाटोले ती सबै मिठासहरू भताभुङ पारे।

गगनचुम्बी सुइरे घरै घर भएको न्युयोर्क शहरमा बर्षौंबर्ष बसेको ब्यक्तिलाई डेन्भर शहर के हेराइ भयो र? त्यसमाथि म त कलोराडोमा शहर हेर्न आएकै होईन,नौला पर्वतसित परिचय गर्न पो आएको त ! आफन्तहरूलाई आफ्नो इच्छा पनि जाहेर गरें|पछि उनिहरुले मेरो नामै पर्वते राखे। मेरो आफन्त कहाँ तिनतिरका पाहुना आइलागेका थिए-डेन्मार्क्,अलास्का र न्युयोर्क- एकहप्ते घुम्ने तालिका जारी भैसकेको रहेछ्, जसानुसार भोलिपल्टको यात्रा Water World अर्थात जलक्रिडा थियो। पारिवारिक जमघट भएको हुनाले काखेदेखि किशोरसम्मका थुप्रै बाल बालिकाहरू थिए। जलपार्कको अगाडी गन्तिगर्दा हामी ३० जनाको हुल पो रहेछौँ। त्यस बिशाल जलक्रिडा पार्कभित्र छिर्ने शुल्क पल्टनमा भर्ना लिएको जस्तो इन्चीको हिसाबले नापेर पैसो लिइन्दो रहेछ्। ४०” मुनिकालाई एक रेट र ४८” माथिकालाई अर्कै रेट थियो। लाहुरमा भर्ना हुन आएको र ? इन्चिमा नाप्न ! यत्रो पनि नापिन्दैन भन्दै देश् खाइ शेष भै कलोराडोका रैथाने भैसकेका मेरा आफन्तले सहुलियत दरमा ग्रुप टिकस लिएर आए। सहुलियतमा पनि प्रतिब्यक्ति ट्याक्र्याक्कै $२५ लाग्यो। भित्र छिरेको मात्र के थियौँ, सपनैमा नदेखिएका, नचिताएका जलक्रिडाहरू देखिए: गोलाकार ट्युबमा बसेर पानी-चिप्लेटी खेलियो,सर्पाकार नालीमा जल बिहार गरियो,अत्यासलाग्दो उचाँइँ बाट सुतुतु चिप्लेर मुनिरहेको जलकुण्डमा छ्वाप्लाङ्ग हाम्फालीयो|उचालिन्दै पछारिन्दै थचारिन्दै र लतारिन्दै पानीका सुरुङभित्र हुइँकियौँ, क्रितिम सामुद्रिक छालमा हेलिएर टाउको ठोकाठोक गरियो। आफुजत्रै पिचकारी बोकेर चिनेका नचिनेका सबैका गालामा र अन्य स्थानमा पिचकारी हानियो र अरुको पनि थापियो। घोप्टो परेर, उत्तानो परेर किसिम किसिमका चिप्ल्याउने चिजहरुमाथि बसेर सुल्कियौँ, हुइँकियौँ र बतासियौँ, जिउ नै थिलोथिलो हुनेगरी जलक्रिडामा चुर्लुमियौँ। रातो टु पिस युनिफर्ममा सजिएका जलपार्कका कर्मचारीहरूले त झन् पार्कको मनमोहकतामा रनकता प्रदान गरेको थियो। सबैजना नाङगै भुतुङगै हिँडी दिएपछि के को लाज ! अनि लाजलाग्ने कुराहरू हरहमेशा पानीभित्रै हुने भएपछि लाज न शरम ! त्यस जलाम्य जल संसारलाई फोटामा मात्र हेरेर पुग्दैन,सशरिर उपस्थित भै त्यस जलकुण्डमा डुबुल्कि मार्नुपर्छ,पानीसंग लाप्पा खेल्नुपर्छ्,बटारिनु पर्छ्,बग्नुपर्छ र पाहा झैँ जलमाथि पछारिनु पर्छ।

दोस्रो दिन डेन्भर शहर घुम्ने कार्यतालिका थियो। न्युयोर्क शहरको गगनचुम्बी भवनहरू हेर्दाहेर्दा वाक्क दिक्क भएको ब्यक्तिलाई नाथे डेन्भर किन पो घुम्नु पर्‍यो ? बरु पहाड चढ्न जाऔँ न भनेर मसिनो बोलीमा अनुरोध् गरें। शहरदेखि बिरक्तिएका केहीले मेरो बोलीमा हो मा हो मिलाए र अन्तमा महिलाहरू शहर छिर्ने र पुरुषहरू बन् छिर्ने निधो भयो। आँगै हल्का भयो। महिला बिहिन हाम्रो डफ्फा बोल्डर शहर हुँदै नजिकको पहाडतिर उक्ल्यौँ। बाटोमा एक ठाउँमा गाडी रोकेर केही बिजुली पानी र स्न्याक्स बोक्यौँ। राती अबेरसम्म बिजुली पानीको चुस्की लिंदै पहाडको उचाइँबाट बोल्डर शहरको द्रिष्यावलोकन गर्यौँ। बोल्डरको डाउन टाउन पुग्दा रातको दुई बजेको थियो। त्यो सानो शहर अझै सुतेको थिएन। हिप्पी जस्ता लाग्ने ब्यक्तिहरू सडक छेउ बसि गितार र पियानो बजाइरहेका थिए। त्यहिंकै एउटा Pub मा हामी छिर्यौँ, सबै पिइरहेका थिए,नाचिरहेका थिए,पुल खेल्दै थिए,आफ्नै संसारमा डुबुल्कि मारिरहेका थिए र सबै नै मातिएका थिए| तर कसैले कसैलाई औंला ठड्याएको,अपशब्द बोलेको,झगडा गरेको ठ्याममै देखिएन| भर्खर् १८ उक्लेका जस्ता देखिने किशोर किशोरीहरूलाई Pub हरुमा प्रशस्त देखियो। तरुना तन्नेरी बोल्डरेली माझ हामी पनि अबेर रातसम्म बरालियौँ। धेरै अघि काठमाडौंको Freak Street अर्थात झोंछेंका गल्लीहरूमा यसरी नै बरालिएको सम्झना भयो। खिल्लीको दुई रुपया पर्ने बिशेष चुरोस बम बम भोले भन्दै तानेर न्युरोड गेटमा टाउको ठोक्केला भनेर टाउको निहुराएर हिँडेको र एकनासले हिँडदा टुँडिखेलको बारमा ठोकिन्दा झल्यांस भएको मीठा यादहरूले मनै रोमान्चित गराइ दिएको थियो।

तेस्रो दिन बोल्डरस्थित “टिबेट किचेन” रेष्टुरेण्टमा मम र थुक्पा खाएर अपरान्हतिर हाम्रो लोग्ने मानिसको डफ्फा Rocky Mountain अवस्थित Red Rocks खुल्ला संगित मन्चमा गीत र संगीत श्रवन गर्न उकालो हुइँकियौँ। सांगितिक कार्यक्रमभन्दा पनि चट्टाने पर्वतमा खोपेर बनाइएको त्यस अनौठो मन्चको बारेमा सुन्दा मनै कौतहुलले भरेको थियो, त्यस स्थानमा छिटो भन्दा छिटो पुग्न मन ब्यग्र थियो। चट्टानमा उभ्भेर तिनले पहरे गीत त गाउने होला ! मनमनमा यस्तै गुन्दै थिएँ, चिच्याएर गाएको पहरे गीत आफूलाई ठ्याममै मन नपर्ने ! तर मलाइ त्यो चट्टानमय माहौल हेर्नु थियो र चट्टानै चट्टानले घेरिएको दर्शक दिर्घामा बसेर संगीत रस्वादन गर्ने कल्पनै मात्रले पनि मन् खुल्दुलिएको थियो। करिब डेढ घण्टाको गाडी यात्रापछि हामी गन्तब्यस्थल पुग्यौँ। मेरी बास्सै!!!मैले जिन्दगीमा कहिल्यै नदेखेको, नचिताएको द्रिष्य म हेर्दै थिएँ : खुला आकाशमुनि दुइतिर चेप्टो परेको भिमकाय चट्टान र बीचको भिरालो भागमा सिनेमा हलमा झैँ बेन्चीहरूमाथि खचाखच श्रोता-दर्शकहरू थिए| हामी पुग्दा कार्यक्रम् शुरु भैसकेको थियो। पहरे नभइ कर्णप्रिय गीतहरू गाउँदै थिए। त्यस ढुङगे हलमा हाम्रो सीटहरू बिचतिर थिए। The Chicago and Doobie Brothers साँगितिक समूहहरूले ८० दशकका लोकप्रिय गीतहरू प्रस्तुत गर्दै थिए, दर्शक दिर्घामा बसेका श्रोताहरू उनिहरुसंगै गाइरहेका थिए, हातेमालो गरेर झुमिरहेका थिए र प्राय प्रत्येकका हात हातमा ठुलो प्लाष्टिकको गिलासमा बियर छचल्किरहेका थिए। हातमा बियर नहुने त पाखे र चुँइयामा दरिने अवस्था पो थियो। हामीले पनि महँगो बियर किनेर बियरको चुस्की लिंदै संगीत श्रवन गर्न थाल्यौँ। हाम्रै लहरमा बसेकाहरू हातेमालो गरेर दाँयाँ बाँयाँ झुम्दै थिए, हामी पनि मिसियौँ । म उठेर साथीभाइ र अन्य द्रिष्यहरूको फोटो खिचिरहेको थिएँ, त्यतिकैमा हाम्रो पछाडि बसेकी एक चुल्बुले महिलाले ” अरुको मात्र के खिच्छौ? खोइ लेउ क्यामारा! तिम्रो पनि खिचिदिन्छु भनेर मेरो हातबाट क्यामारा लिइन र मेरो फोटो खिचिदिइन। (क्यामारा फर्काउंदै) “फोटो खिचे बापत मलाइ म्वाइँ खाने होईन त” भनेर मोरी त परक्क बटारिइ| म त हक्क न बक्क भएको थिएँ। मैले अनुमान गरेको जस्तो कार्यक्रममा पहरे गीत थिएनन, बरु सबै पिढिका मानिसहरूले मनपराएका कर्णप्रिय र लोकप्रिय गानाहरु गाइरहेका थिए,दर्शकहरू पनि तिनिहरुसितै गाउंदै झुम्दै र नाच्दै थिए। त्यस खुल्ला चट्टाने संगीतशालाको दायाँ पट्टी चट्टानलाई नै खोपेर आधुनिक शौचालय बनाइएको थियो र अलिमुनी हजारौं हजार गाडी अटने पार्किङ लटहरू पनि बनाइएका थिए|अमेरिकाको अन्य सार्वजनिक ठाउँमा जस्तै महिला शौचालयका अगाडी त्यहाँ पनि लामो लाइन थियो। त्यस संगीत समारोहमा तन्नेरी,अधबैँसे, बुढाबुढी सराबरी भएपनि तरुण वातावरण थियो, संगीतमय थियो। त्यस बिहंगम पर्वतलाई खोपेर प्राचिन र आधुनिकता सम्मिश्रण गरिएको त्यस बिचित्र संगीतालयलाई जति प्रशंसा गरेपनि कमै हुनजान्छ। मानव दिमागको त्यस सुन्दर उपजलाई हेर्न त्यस ठाउँमा एकचोटी पाइला टेक्नै पर्छ।
Trip to Colorado 175
कलोराडो पुगेर त्यहाँका पर्वतहरुमा हाइकिङ गरेन भने कलोराडो जानु अर्थहिन हुन्छ भन्ने मेरो ठनाइ छ। चौथो र पांचौँ दिनहरु हामीले हाइकिङमा बितायौँ। पहाडको बीचसम्म हामी गाडीमै गयौँ। बाटोमा हामीले ‘काठमाडौँ प्लाजा’र ‘काठमाडौ रेष्टुरेण्ट’ लेखिएको एउटा घर पनि देख्यौँ। बेस क्याम्पमा पुगेर कलोराडोली गोरुको सुकुटि,आलुदम्,घरमै बनाएको रोटी,नौनी घिउ हालेको नुनको चिया खाएर हामी पहाड चढन तम्तयार भयौँ। ब्रिद्व,अशक्त र नानीहरू बेस क्याम्पमै बसे भने सहासीहरूको एक हुल ब्याक प्याकमा टन्न पानी बोकेर उकालो लागियो। शुरुमा स्याँ स्याँ फ्याँ फ्याँ हुने, घुँडा दुख्ने,खुट्टा दुख्ने भएपनि सुस्तरी निरन्तर् हिँडदै गएपछि त्यो दुखाइ बिस्तारै हराउंदै जान्छ। त्यसमाथि हामी गएको हाइकिङ रुटहरू त्यति भिरालो र उकालो पनि थिएन। जंगल, खोलानाला, झाडीहरूलाई छिचोल्दै हामी उक्लिन्दै गयौँ। बाघ बुढो र स्याल तन्नेरी मिल्दैन भन्ने नेपाली उखानलाई मैले त्यहाँ सबैलाई उछिनेर चरितार्थ गरिदिएँ। हातमा जहिले पनि आइ प्याड र उइ प्याड बोकेर क्रित्रिम संसारमा रुमल्लिने नयाँ पिढीलाई बर्षको कम्तिमा एकचोटी पहाड चढाउन लानुपर्छ भन्ने मेरो जिकिर छ। पहाडी पदयात्रा गरेर चुचुरोबाट फर्किन्दै गरेका ब्रिद्व गोरा गोरेनीहरू र बच्चा गोरेहरू बाटामा प्रशस्त भेटिए। सानैदेखि आफ्ना सन्तानमा प्रक्रितिप्रति मोह बसाउन गोरा अभिभावकहरुमा देखिएको सचेतनालाई मान्नुपर्छ्, जस दिनुपर्छ। त्यसको ठीक बिब्ल्याँटो बिकासोन्मुख मुलुकका अभिभावकहरू आफ्ना नानीहरूलाई एटलाण्टिक सिटी र लास भेगास जस्तो ठाउँहरुमा लागेर जुवा खेल्न सिकाउंछन। त्यस्तो अनकण्टार जंगल भीर पहरामा पनि पानीका खाली सिसीहरू फ्यालेको कहिँ देखिएन। बरु मैले नै पानी पिइ सकेर खाली सिसी भुइँमा फ्यालेछु,छोरीले थपक्क टिपेर मेरो ब्याग प्याकमा राखिन। घमाइलो दिन थियो,तर गर्मी थिएन|जतिजति माथी उक्लिन्दै गयौँ, रुखपातहरू कम हुँदै गए र आखिर हामी त्यस्तो ठाउँमा पुग्यौँ, जहाँ ढुङ्गा सिवाय केही थिएन। त्यस्तो चट्टानहरूको बिचमापनि एउटा खोल्सी बगिरहेको थियो|चकमन्न वातावरणमा आफ्नो पाइताला मुनि मसिनो ढुङ्गा रगडिएको आवाज सिवाय केही सुनिन्दैनथ्यो|हामी चुचुरोमा नपुगेपनि चुचुरोको छेउछाउमा त पुगेकै हो। न ईमेल,न फेसबुक्,न हरहमेसा नछोडने हाते-फोनको भ्यार भ्यार ! कलोराडेली पर्वतमालाहरुमा क्या रमाइलो र आनंद भएको थियो। कलोराडेलीहरुमा आफ्ना पर्वतप्रति ठुलो गर्व रहेछन, त्यसैले होला बिमानस्थलमा चुच्चे पालहरू टांगे जस्तै थुप्रै चुच्चाहरू भएको बडेमानको सेतो पाल देख्नुहुन्छ। कलोराडेली पर्वतहरूको सानमा ती त्यसरी चुच्याइएका रहेछन्। यात्रा गन्थन यहिं टुङ्गिन्छ। यो मनले एउटा नयाँ अनुभुती पाएको छ। अर्को यात्रा संस्मरणमा फेरि भेटौंला। आफन्तहरूले डेन्भर बिमानस्थलमा जसरी स्वागत गरेका थिए,त्यसरी नै बिदाइ पनि दिए। बिमानस्थलतर्फ गुडिरहेको बेला अम्बर गुरुङ्को कालजयी गीत सुनेर सबैका आँखा रसाएका थिए,मन भक्कानिएका थिए|त्यस गीतको सान्दार्भिकता अझै जिम्दो र जाग्दो महसुस भयो। मनमनै उक्त गीत गुनगुनाउँदै म बिमानभित्र छिर्दै थिएँ :

नौलाख तारा उदाए
धरतिको आकाश हाँसेछ
**************
नसम्झ आज नेपाली
सञ्चले यहाँ बांचेको

48 comments to यात्रा संस्मरण: मैले देखेको कलोराडो

  • indra pd thapa

    ल ल लेखन शैली त राम्रो छ ,आम नेपालीहरु यु.एस.ए.जान नसके पनि तपाइंले नै सबैको प्रतिनिधित्त्व गर्दै गर्नुभाछ / एउटा यात्रा संस्मरण पुस्तक नै निकाल्दा राम्रो होला !

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 0

  • योगेश आदी

    सार्है सरल नेपाली शब्दहरुमा उनेर हाम्रै पाखा पखेरुको झझल्को दिने किसिमले गरिएको मार्मिक यात्रा वृतान्त !!

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • ससांगजीको यो संस्मरणले फेसबुकबाट निस्किएर धेरै पाठककोलागी यहाँ अवतरण गरेकोमा खुशी लाग्यो | खसखस डट कममा प्रकाशित तपाईंको “मैले देखेको नियाग्रा” लगायत अघिल्ला केहि यात्रा संस्मरणपनि पढि सकेको छुँ | तपाईंको लेखाई र प्रस्तुतीकरण आकर्षक र पठन योग्य त छंदैछ | ज्ञानमूलकपनि छ | लेख्नमा अझै जाँगर चलोस |
    तर कति कुराहरु नभनेरै स्तर कायम गर्न सकिन्छ भने भन्नु राम्रो हुन्न भन्ने कुरामा ध्यान दिने कि ? एउटा सानो सल्लाह |
    अस्ति भर्खर अनुवादक भएर झुल्किनु भएको यो माइ संसारमा अहिले नियात्राकार भएर देखिनु भएकोमा मजा लाग्यो | यो क्रम जारी रहोस् |

    शुभकामना सहित |

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 0

  • suman

    दियाली को कुरा गर्‍यो भने पनि खीर खाए जस्तो हुन्छ भन्थे| यो पढे पछी त आँफै पुगे जस्तो अनुभुती भयो| साहित्यिक खुराक छ शब्द हरुमा, शैली गुलियो छ| यस्बाट मैले पनि लेखन शैलिमा केही सिँके| अनुभव सुनाउनु भयकोमा धन्यवाद ||
    सुमन शर्मा
    काठमाडौं नेपाल

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • आकाश

    शशांकजी धेरै पहिलेदेखि नै न्यूयोर्क बस्नु भएको जस्तो लाग्छ। तर उहाँको यो वाक्यले आफु अझै सभ्य भैनसकेको देखिँदा कता कता खट्कियो।
    “बरु मैले नै पानी पिइ सकेर खाली सिसी भुइँमा फ्यालेछु,छोरीले थपक्क टिपेर मेरो ब्याग प्याकमा राखिन।”
    बाँकी लेखनशैली अब्बल लाग्यो।

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • Ainselu

    सशांक जी चिउरिबास देखि कता पर्यो जन्म थलो? म पनि न्युयोर्क को ढिस्का तिर बस्छु इमेल मा रेस्पोन्स गर्नुस ल | साँची त्यो Pike Peak त जानु भएन छ त ? Nedreland पुगेको बताउनु भएन नि बिर्सेको त हैन ?
    Keep writing

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 7

  • शशांक लामा, न्युयोर्क

    मेरो यात्रा संस्मरण पढिदिनु भै आआफ्नो मन्तब्य लेखिदिनु भएकोमा सम्पूर्ण माईसंसारका पाठकहरुलाई धन्यवाद दिन चाहान्छु| कोलोराडोको भौतिक चिजहरुको बर्णन छैन मेरो यात्रा संस्मरणमा! त्यो त तपाइहरुले इण्टरनेटमा भेटाइ हाल्नुहुन्छ,मैले बर्णन गर्ने पर्दैन| यात्रावास्थामा अनभूति गरिएका मानविय संवेग,संवेदना ले नै यात्रा साहित्यमा प्रमुखता पाउनु पर्छ जस्तो लाग्छ | यति किलोमिटर उति किलोमिटर , यस्तो घर उस्तो घर भन्ने पट्टि म लागिन, पर्यटन सम्बन्धी वेवसाइटमा जानुभयो भने सम्पुर्ण कलोराडोको वृतान्त त्यहाँ भेट्टाउनु हुन्छ | केहीले अतिशयोक्ति बर्णन भएको छ भनि लेख्नु भएको छ | वास्तविकतामा टेकेर नै लेखेको छु, तर त्यसमा शाब्दिक पाइन चढाएको छु | रीपोर्टाज जस्तो लेख्यो भने त कल्ले पो पढ़ला र ???

    मन परे हरियो नपरे रातो ! Thumb up 29 Thumb down 1

    • पुष्प

      जतिसुकै मिठोगरी तरकारी पकाएपनि नून पुगेन भने बेस्वाद हुन्छ । यसो दुइचारगोटा फोटाहरू पनि राख्नुभएको भए गज्जब हुनेथियो शशांकजी ।

      मन परे हरियो नपरे रातो ! Thumb up 23 Thumb down 2

      • शशांक लामा, न्युयोर्क

        पुश्पजी! अर्को चोटी अवश्य फोटा राख्नेछु !

        मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

        • Binod Poudel, jhapa

          नपत्याउदो तरिकाले लामा जी ले निकै कडा लेख्नु हुदो रैछ

          मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

    • सुमन गोङ्ग्बा

      फेरी पनि पढ्न पाउँ हजुर| साह्रै चित्त बुझ्दो र घतलाग्दो गरी लेख्नुहुन्छ| न्यु योर्क कै र सेरोफेरोको वृतान्त गाथा पनि सुन्न पाए हुन्थ्यो| हाम्रो लागि त नपुगेको वा भनौ पुग्न नसकेको तीर्थ संधै चाख लाग्दै हुन्छ| लामाले पनि यति उत्कृष्ट र सहज भाषामा लेख्दा रहेछन, त्यही पनि बिदेशमा बसोबासो गरेकाले, भनेर बाजेहरू कि जिल पर्दा हुन्, प्रशंसक बन्दा हुन् वा होशियार है यो संग भन्दा हुन्| हजुरको लेख कुनै जांच होइन ओर परिक्षा पत्रको जवाफ होइन| बिशुद्ध भाव अभिव्यक्ति हो| कसैले यो शब्द मिलेन र त्यो मिलेन पनि भन्दा हुन्| लोकसेवामा रकमी र लेखनदास घोकनदास नेपाली लेख्ने भएर नै पसेका हुन् धेरै जसो, ज्ञान र बुद्धिले मात्र गएका होइनन भन्ने कुरोमा शंकै छैन, प्रष्टै छ|
      हिलेमा सुक्टी र तोंग्बामा रमाएको हिजै जस्तो लाग्छ| फेरी आगामी महिनामा जाने कार्यक्रम छ|

      मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 4

  • sasang Lama is one of the intellectual person and perfect writer of Himali community.

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 5

    • raj

      शेर्पा जी By the way ,what is your meaning of calling him from Himali community ,what about calling him from Nepali community ? Just my suggestion.

      मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 1

  • ओङ्ग्या लामा " तैपेइ ,ताइवान "

    शशांक दाई ! लेख संगै फोटोहरु पनि राखनु भएको भए अझ सुनमा सुगन्ध हुने थियो / धन्यबाद !

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 1

  • Pukar Parajuli

    राम्रो लेखको लागि धन्यबाद.सारै मन परो. पुरानो लेख हरुमा तपाईको comment हरु अलि रुखो लागेपनि चाख मानेर हेर्थे. जमरकट्टेल भाउजुको कथा र यो लेख पड्दा तपाइको लेखन सैली प्रति अब कुनै गुनासो रहेन.यस्तै अरु पनि पढ्न पाऊँ!!!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 10 Thumb down 3

  • Sharma

    हातमा बियर नचेपि, पब बार, र सेन्टरल सिटि नपुगी , जीवनका अति महत्वपुर्ण समयहरु कोलोराडोको सरल, सहज र उर्बर तरिकाले अन्तन्त नजिकबाट भोगेको हुदा यस यात्रा कथामा लामाजी ले आफुलै अलि बढीनै देखाउन चाहनु भएको जस्तो लाग्यो याद,यद्द्यापी असम्भब त दुनियामा क होला र? होला नहोला त आफ्नु स्वभाव ,आदत र चरित्रमा भर पर्ने कुरा हो ! आधारत सम्म सस्तो टिकटको लागि साथमै रहेकी छोरि यात्रा भरि हराएको र अन्तिम सम्मपनि नभेटिएको ले नियतमा अलि संका लागेको , फोतोखोचिदेयेर चुम्बन माग्ने कुरा अलि बढी भाको हो कि लागेको यद्यपि यात्राको बर्णनमा सहयात्री हरुको परिचय गुमनाम राखेर आफ्नु रस, रंगको बर्णन बढी गरिदिदा अलि पचाउन गारो भाको हो कि जस्तो भो पद्नेलाई , तर पनि स्वाभवले अधिकांस बिदेसिएका नेपाली हमजयेगाकै सैलीले रमाउने तल यहाँ पनि छुटेन छ ,प्रयास राम्रो हो लेख्दै जादा सिक्दै जाने हो नि !

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 21

  • Sharma

    लेखेको कोलोराडो भन्दा देखेको कोलोराडो राम्रो , जीवनका केहि स्मरणयोग्य पल मेरो पनि कोलोराडोको चट्टान ,पहाड ,ताल , बेसी र फाटहरु संग रमाएको ले लालाटका पसिना झैँ पुसियेका पुराना यादहरु चिट चिट फेरी रसाए ,तर यत्रो विवरण लेखिरहदा ति आफ्ना मान्छेहरु , आफन्त या साथीभाईको परिचय नखुल्दा, रभाषामा हमजयेगाको जोक सैली घुसौदा अलि काल्पनिक पो होकी लाग्ने तर पनि पद्ना मजै आयो !

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 8

  • Aakar Bhushan Nepali

    अरु कुरो राम्रै छ| संस्मरण सजिलै संग सलल बगेको छ| तर लेखकलाई रक संगीत मन पर्दैन भन्दैमा उक्त संगीत लोकप्रिय छैन, कर्णप्रिय छैन भने जस्तो आशय प्रति सबै सहमति हुन सकिदैन| संगीत आ-आफ्नो चाखको बिषय भएकोले रक संगीतको पारखीलाई यस्तो संगीत नै कर्णप्रिय, लोकप्रिय लाग्न सक्छ| र सबै genre को पारखी सबै पिंडीमा हुन्छ, तसर्थ आफुलाई मन पर्ने संगीतलाई मात्र सबै पिंडीले मन पराएको भन्नु उक्तिसंगत नहोला कि ?
    आगे बिज्ञहरुको मर्जी |

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • limbu nYn

    शशांक’को यात्रा बिशेष शैली मन पर्यो- साह्रै/ अंग्रेजी, नेपालीपन र मनोदशा निक्कै भावमयी फील गरे मैले समाप्तिमा..! अल द बेस्ट!

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 1

  • Mike

    यात्रा संस्मरण को लागि धन्यवाद शशांक जी लाई. यात्रा को विषय वस्तु भन्दा पनि बेजोड प्रस्तुतिको लागि साधुबाद. नेपालबाट निकै टाढा रहेर पनि झर्रो नेपालीमा जीवन्त प्रस्तुति गर्न सक्ने कलाले तपाईं को नेपाल र नेपाली प्रतिको स्रद्धा स्पस्ट झल्कनछ. प्रस्तुतिको लागि धन्यवाद.

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • sudip

    मलाई त म कोलाराडो मै पुगे झैँ लग्यो यो लेख पढेर , यस बाट नै प्रमाणित हुन्छ कि लेख कति राम्रो थियो वन्ने

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2

  • samer

    Really interesting way of writing. I rarely finish travel articles but this one took me to the bottom. Again, nice way of writing.

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • Alikhit

    अर्थ न बर्थ, कलोराडोको सट्टा कालापत्थर को बयान गर्या भए पो रमाइलो हुन्थ्यो |

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 18

  • द्रोण

    अति सुन्दर सैलिमा बर्णन गर्नु भयो ,फेरी पनि लेख्दै लेख्दै जानुहोला |ठाउ को बयान त् छदै छ जेरोम के जेरोम को ”थ्री म्यान इन अ बोट ”को सैली जस्तै बडो राम्रो लाग्यो |

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 7

  • bijay

    लेख ठिकै छ, कोलोराडो अलि अलि घुमिसकेकोले यो लेख अलि नाटकीय भएको जस्तो लाग्यो / अनि हातमा बियर नभएको मान्छे पाखे हुने कुरा अलि चित्त बुझेन , अलि संकुचित मानसिकता जस्तो लाग्यो / मान्छेको आ आफ्नो रुचिको बिषय हो, कसैले कसैलाई पाखे भन्नु जरुरि छैन / यो सुनेर चाही काठमाडौको आफुले आफुलाई हुने खाने ठान्ने मान्छेले अलि गाउघर तिरको सोझे मिहिनेती मान्छेलाई पाखे भनेको जस्तो चित्तनबुज्दो लाग्यो /

    मन परे हरियो नपरे रातो ! Thumb up 43 Thumb down 16

  • sajan

    बिदुर जी ठिक भन्नु भो लामा जी को पहरे गीत भन्दा मलाई त talk is there कुरो त्यंहा छ र अर्का को कुरो काटी राको cutting other people talk भनेको याद आयो. हा हा .
    जे होस् लामा जी ले बयान गरेरको ठाउमा मा म पनि एक बाजी निकै रमाको थिएँ हामी पखेरामा हुंर्के नेपाल को छोरो भएर होला

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 2

  • धौलबीर राई

    साह्रै मिठो शब्द शैलीमा लेख्नु हुदो रहेछ, शशांक लामाजी यस प्रकारको लेखले निरन्तरता पवास है /

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 6

  • jitu

    शशांक जी, सबै बणन राम्रो भैकन पनि यस्ता सब्दहरुले यात्रालाई fiction जस्तो बनायो, आगामी यात्रा यथार्थनै रहोस
    कुनचाहिँ कुहिएको हातले अघि नै फुत्काइ सकेछ।
    सस्तो बेसाहले पखाला लाग्छ भने झैं बिमानभित्र हामीलाई सिट पुच्छारको पखाला झार्ने टटीखाना नजिकै दिइएको थियो।
    मधेश न्युयोर्कमा पर्वत हुने कुरै भएन।
    यत्रो पनि नापिन्दैन भन्दै
    “फोटो खिचे बापत मलाइ म्वाइँ खाने होईन त”

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 9

    • sandesh

      यात्रा निबन्ध राम्रो छ |

      कसरि fiction जस्तो भयो ? fiction भनेको त पुरै काल्पनिक कथा हो , तर तपैले भन्न खोज्नु भएको ” अलि सभ्य भाषामा लेखे हुन्थ्यो ” भनेको होला | त्यो त आफ्नो आफ्नो लेख्ने सैली हो नि \ येस्ता सब्द प्रयोग गरेर अलि अलि हास्य रस छर्न खोज्नु भएको होला नि ससंक जी ले | अनि कतिपय मान्छेले साचिकै ब्यबहारमा पनि येस्ता सब्द प्रयोग गर्छन ” कुनचाहिँ कुहिएको हातले अघि नै फुत्काइ सकेछ।”, तर म चै गर्दिन |

      मन परे हरियो नपरे रातो ! Thumb up 18 Thumb down 1

  • रविन

    रमाइलो यात्रा संस्मरण!!! धन्यबाद लामा जी अनुभव बाँड्नु भएकोमा

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 7

  • साचो भन्दा मैले त यो नियात्रा पढ्दा पढ्दै चटक्क बीच मै छोडे कल्पना को सागर मा डुबुल्की मर्नु भन्दा त सालोक्य Jee को यात्रा सस्मरण उपल्लो मुस्तांग धेरै बेस !!!!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 9

  • vijay kumar karki

    राम्रो लेख …. फेरी पनि येस्तै यस्तै लेख को आशा राख्दछु:

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 8

  • बसन्त

    शब्द चयन र बर्णन शैलीले लेखाई आकाशियेकोछ | नेपाली साहित्यमा राम्रो लेखनको सम्भाबना | धन्यबाद तथा शुभ-कामना |

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 5

  • Chandra

    Yea! That’s why we say “Colorful Colorado”. My assumption after reading this article is you didn’t go to so many beautiful places like Pike peaks when train ride to top of the mountain., mount Evans , top of Rocky Mountain and Grand lake , winter park , Vail, Aspen, great Sand dunes, Idaho Spring , garden of gods , oh man ! You missed so many things hope you will be back in Denver Soon. I think your friends gave you very cheap and short tours !!! When you talk about waterworld I guess you were in summer but you missed so many fun from summer stuffs in Ester Park too, also in Fort Collins horsethooth reservoir …. Anyway good to read your article

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 3

  • Gaurab Nepali "Oodaaseen"

    लेखकको काम लेख्ने त होनी कतै, नेव्योर्क मा नै बसेर कल्पनामा सहेर गरियको त होइन ? हुनसक्छ, नेपालको प्यास मेटाउन कोलोराडो परिचित छनै ! कतै प्यास नै प्यासमा ड्यास ले काम गरेको त होइन,

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 9

  • Chetan Nepali

    धेरै राम्रो लेखाइ छ तपाइको !

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 7

  • मन बहादुर तामांग

    साह्रो मनपर्यो| अरु पनि पढ्न पाउँ| अभिव्यक्ति र शैली दुवै चटक्क मिलेको| धन्यवाद|

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 6

  • kusum

    अति उत्तम लेख ….शशांक जी ल बधाई छ. कति चोटिलो भाषा मा लेख्नु भो भन्या ..सारै गजब …लौन अर्को यात्रा मा निस्क्नुस फेरी …

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 4

  • गौतम "उदय"

    शाशंकज्यू,
    अन्य लेख जस्तै तपाईंको यात्रा संस्मरण धेरै राम्रो छ/ यस्तै अरु पनि पढ्न पाऊँ/

    गौतम “उदय’

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 3

  • dipak

    कोइ सक छैन . सार्है राम्रो यात्रा बर्णन र सुन्दर सरल अभिव्यक्ति . अर्को पल्ट अलि धेरै फोटो हरु पनि हाल्नु होला र आफ्नो लेखाइ लाई निरन्तरता दिनु होला. धन्यवाद .

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 2

  • Vishwa Malla

    आहा कक्या मज्जाको यात्रा संस्मरण लेख्नु भा को । तपाइले प्रयोग गर्नु भएको शब्दहरु र लेखन कला त कति मिठो । म पनि छोराहरुको कन्भोकेसनमा अष्ट्रेलिया जाने मौका पाएको थिए । त्यसै अबशरमा तपाइले वर्णन गर्नु भएअनुसारको वेट एण्ड वल्र्डमा जुन गोल्डकोष्टमा छ जाने मौका पाएको थिए । त्यहा पनि हामीले पानी संग त्यसरीनै मज्जा लिएका थियौं…..तपाइको यो यात्रा वर्णनले हाम्रो त्यो दिनहरुको याद ताजा बनाईदियो । धन्यवाद छ तपाईलाई ।

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 3

  • Siyan

    सारै रोचक लेखन शैली..अति शुन्दर, अनुभव अनि भोगाईहरु बढ्नु भयकोमा मुरी मुरी धन्यबाद, अनि स्थानको नाम कोलोराडो हो कि कलोराड़ो हो अलि द्विभिधा भयो.

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 2

  • thanks for this very informative article, specially it is way more than exciting to me because i m gonna be going Denver on my summer vacation. As far as the way Mr. Lama present the article, I think everybody got impressed.

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 1

  • Bijay kerung

    खोइ हाम्रो देश मा पनि त्यो भन्दा कम को पर्वत मालाहरु त छैनन् तर यति राम्रो सब्द ले सजाएर लेखिएको पड़ना कहिले पाइने हो

    मन परे हरियो नपरे रातो ! Thumb up 31 Thumb down 2

  • anup_gorkhe

    शशांक दाइ,
    राम्रो लेखको लागि धन्यबाद! आगामी दिनमा पनि यस्तै यात्रा samsmaran पढ्न पाउने आशामा छु!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 3

  • sushi

    लेखक को लेख धेरै रमाईलो लाग्यो आफुलाई नै कोलोराडो मा भएको अनुभूति भयो/ धन्यवाद लेखक जी लाई/

    मन परे हरियो नपरे रातो ! Thumb up 16 Thumb down 2

  • बद्री पोखरेल

    शशांक जी ,गत वर्ष मैले मेरो आफन्त को निम्त्यो मा आमेरिका घुम्ने अवसरमा कोलोराडो घुम्ने शिलशिलामा मैले पनि जलपार्क र Red Rock को आनन्द लिए को थिए तपाइको यो यात्रा वर्णन ले मेरो त्यो घुमाई लाई ताजा बने दियो ,धन्यवाद /

    मन परे हरियो नपरे रातो ! Thumb up 17 Thumb down 3

  • Bidur ( Sydney, Australia )

    मन paryo है …( पहरे गीत याने कि :-rock music ) ह़ा ह़ा !! लेखक को अंग्रेजी सब्द लाई नेपाली मा रुपान्तरण गर्ने सैली निकै रोचक छ .

    मन परे हरियो नपरे रातो ! Thumb up 32 Thumb down 2

eXTReMe Tracker