मेरो Tweet

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

कथा: मोडहरु

-गौतम “उदय”-

एक साँझ संगै खाना खाइराहंदा लिला दाइले ‘तँलाई मिल्ने राम्री केटी छ, हेर्न जाउँ’ भनेको आज तीस बर्ष पछि पनि यी कानमा त्यसै गरी गुन्जिरहन्छ। मेरो बिहेको किन त्यतिबिघ्न चासो परेको होला उनलाई ! सांगठानिक सम्बन्ध बाहेक आमातिर न बाउतिर कतै कुनै नाता साइनोले छुँदैन उनको र मेरो। राजनीतिक आस्था भने अझसम्म दुई धार बन्न पाएको छैन।

नाम थाहा थिएन मलाई, आमा नै भन्थें मैले पनि लिला दाइकी आमालाई। जमानाकी मान्छे, कखरा पनि आउंदैनथ्यो, तर राजनीतिक रुपमा भने कुनै नाम चलेको नेता भन्दा रत्तिभर कम थिइनन् यी आमा। जिब्रो पनि लट्पटिन्थेन अनि बोलीमा माने, चाहीं, लागिराछ, भन्नुस् पनि आउँथेन। राजनीतिमा जेठी आमा अनि मातृत्वमा नमूना आमा थिइन् उनी। जे खानेकुरा भए पनि पैत्रिक अंश लगाए जस्तै बराबर दुई भाग लगाउँथिन लिला दाइ र मेरो बीचमा। कहिलै तलमाथि भएन यिनको वात्सल्य प्रेममा।


‘एकदम जोडी मिल्छ बाबु त्यो केटीसित तिम्रो’ थपिन यी आमाले पनि। म गाउँको केटा शहरमा साइनो जोड्न पाए बस्तीतिर पनि सान बढ्ने, आफूलाई पनि शहरमा स्थापित हुन सजिलो। अझ त्यसमाथि पनि केटीको बाउ कर कार्यालयको हाकिम! भित्री मनले त हेर्दै नहेरी हुन्छ भनिसकेको थियो।
लिला दाइ र उनकी आमालाई परमेश्वरले मेरोनिम्ति मसैया नै बनाएर पठाउनु भएको जस्तो लागेको थियो त्यो बेला मलाई।
त्यस ताका लिला दाइको घर पछाडि टिनको छानो भएको सानो घर थियो हाम्रो। म त्यहीं बसी क्याम्पस पढ्थें ।
खाना खाइसके पछि पनि त्यही र अन्य अनेक कुरामा गफियौं अबेरसम्मै। भोलि बिहान लिला दाइकी आमाले केटीका घरमा कुरा लैजाने र यदि उताबाट हुन्छ भने बोलाउने बित्तिकै केटी हेर्न जाने कुरा गरी सबैसुत्न गयौं।
के को निद्रा लाग्थ्यो त्यो रात ! अँगालो भरी आई हालिन श्रीमती। अब अल्छिले ताजाताजा भात तरकारी खान पाउने भयो, कराई कसौंडी पनि दिनदिनै माझिने भए, घर चिरिच्याट्टै हुने भयो, फुसको घर पक्की बन्ने भयो, अनि पढाईमा मिहनत नगरे पनि जुवाईंले जागीर पाउने पक्का भयो। यत्तिकैमा कौवा कराई हाल्यो !
बिहान मकै छाँट्न जाँदा केटीको घरमा पसेर कुरा गर्छु भनेकी थिइन् यी आमाले। के खबर ल्याउने होलिन भन्दै धेरै पटक उनी आउने बाटोमा आँखा ओछ्याई रहें त्यो बिहान। नभन्दै पसिना गनाउँदै ‘ल खुस खबरी’ भन्दै आई पुगिन दश बजेतिर। बेलुका सात बजे केटी हेर्न जाने पक्का गरेर आएकी रहिछन्।
रात भरी जागाराम बनेर बटारेका कसार केटीले वनारसका लड्डु बनाइदिने हो की भन्ने सन्त्रास पस्यो फेरि मन भरी !
क्याम्पस त गएँ यो दिन तर एक घन्टी भित्रै पन्द्र बीश पटक जति हेरेहुँला डोल्मा घडी। सपनाकी राजकुमारी गिदी भित्र पटाक्ष गरिरहेकी थिइन्, अनि सपाना झांगिएर चन्द्रमा नै छोइरहेको थियो। दोश्रो घन्टी पछिका सबै कक्षा हापी बजारतिर झरें, कपाल काटें। दिनै नर्वेको ओस्लोको जत्तिकै लामो बन्यो। यति पटक हेरिन ऐना र यति मुसारिन भर्खर अलिअलि पलाएका जुँगा त्यो दिनमा !
साढे छ तिर लिला दाइ,यी आमा र म केटी हेर्न गयौं। बिहान कै भेटमा जिम्दारको छोरो, राजनीतिमा सक्रिय, तीन तीन पटक जेल परेको अरु के के भनेर मेरो योग्यताको परिपाटी लगाई सकेकी रहिछन यी आमाले। उनीहरुले पनि दिउसै अन्यत्रबाट समेत बुझेर बुढी औंला र चोर औंला जोडिसकेका रहेछन् मेरो बारेमा। परिवारसंग सामान्य कुरा भए। त्यस पछि सबै तल्लो तलामा बसे अनि केटा र केटीले कुरा गर्ने भनी ती बिचारी केटी र मलाई माथिल्लो तलाको एउटा कोठामा हुलेर छाडिदिए।
अब पर्यो फसाद ! न म दार्शनिक थिएँ न त मानोबैज्ञानिक नै, मतलब न त मैले जीवन जगतका ठूला कुरा बुझ्थें न त भावनाका ! उन्नाइस बर्षको फुच्चे न थिएँ म !
तुकका कुरा के नै गर्न सकिन्थ्यो र यो बेलामा ! उनले त केही पनि सोधिनन्, मैले ‘तपाईंको कोही केटा छ की?’ जस्ता दुई चारोटा फुच्चे कुरा सोधें।
हाम्रो घरको दूरी त्यति टाढा नभए पनि मलाई हेक्का रहेनछ यी केटीको। राम्री नै रैछन्, सिलस्वभाब पनि राम्रो लाग्यो।
हुन त केटा केटी कुरा गर्ने त औपचारिकता न थियो। अन्तमा मैले हात पसारें, योग्य बर नफुत्कियोस भनेर होला बाध्य भइन् हात मिलाउन बिचारी पनि । उनी अझै माथि नै थिइन्, म तल झरें।
साधारण किसिमले विबाह गर्ने कुरा भयो, मिति तोकियो अनि यो समाचार बोकेर म बस्ती गएँ। परिवारमा मेरो कुरा नै चल्थ्यो। तय भए अनुसार नै हाम्रो बिहे भयो।
भन्न त सानैदेखि नै मलाई सबैले सहासी, लगनशील, बहुमुखी प्रतिभा भएको भनेर भन्थे। मेरै प्रतिभाले हो या निलिमा को भाग्यले हो उनलाई बिहे गरेदेखि मेरो जीवनमा कायापलट नै भयो भन्नु पर्छ। बत्तीस लक्षणले युक्त भन्छन अशल नारीलाई, तर मेरो बिचारमा निलिमा बत्तीस गुणा बत्तीस लक्षणले नै युक्त थिइन्। उनको आगमन पछि मेरो जीवनमा सफलतै सफलता मात्र हातलाग्दै आयो। जे जे सपनाहरु देखेँ सबै यथार्थमा परिणत भए भन्दा कत्ति पनि अत्युक्ति हुँदैन। सोचे जस्तो जागीर, बैभब, सामाजिक प्रतिस्ठा सबै उनको आगमन पछि नै पाएँ मैले।
छिटो बच्चा नपाउने सल्लाह भएको थियो हाम्रोबीचमा। पढाइमा अब्बल थिइन् निलिमा पनि। स्नातक सकेपछि एउटा आई.एन.जी.ओ. मा काम गर्न थालिन। काम शुरु गरेको तेश्रो बर्षमा उनलाई उच्च शिक्षा अध्यनको बिदेशी अवसर मिल्यो। एक्लै जान मान्दै मानेकी थिइनन्, मैले नै जोडबल गरी पठाएँ उनलाई।
हुन पनि हाम्रो प्रेम, हाम्रो जोडी, हाम्रो एकता अनुकरणीय थियो छरछिमेक र समाजमै। निलिमा विदेश गएपछि मेरो मन अड्दै अडेन नेपालमा। फोन र इन्टरनेट मार्फत प्रत्येक दिन लामालामा कुराकानी त हुन्थे तर के धान्ने कुरालेमात्र। उता उनी पनि न्यास्रो मानेर सधै जसो रुने! एक पटक त झण्डै पढाई छाडेर नेपाल आएकी।
बाहिर जति मन जब्बर देखाउन खोजे पनि कन्तबिजोग भयो मेरो झन यता। घरै, बाटै, मनै अँध्यारो भयो निलिमा गएपछि। घरतर्फ जानै मन नलाग्ने, गयो भित्र छिर्नै मन नलाग्ने, छिर्यो भान्सामा सधै के के गरिरहने निलिमा आँखामा नपर्दा घरको सह र सुन्दरता र रानो नै हराएजस्तो लाग्ने। निलिमाको सल सुँघेर कति रोएँ रोएँ, कति रात छर्लङ्ग हुने गरी आँखा काँचै रहे त्यसको त झन के हिसाब किताब छ र !
साँचो प्रेममा हुने शक्तिले ब्रमाण्ड बदल्छ, मन र मस्तिष्कको अधिकतम बिकाश गर्छ अनि क्रूरताका कोषहरुलाई समेत पगाल्छ र गाल्छ भनेको सत्य रहेछ ! यही शक्तिको कारणले नै साँचो प्रेमले जित्दो रहेछ नाता सम्बन्धलाई, मृत्युलाई, ब्रह्मचारीको तपस्यालाई, दार्शनिकको दर्शनलाई, अनि शक्तिशाली शासकहरुको शक्तिलाई।
प्रेममा शक्ति नहुँदो हो त विश्वविख्यात नाटककार सेक्सपियरले न त‘रोमियो र जुलियट’लाई आफ्नो सर्बश्रेस्ठ कृतिको बिषय बस्तु बनाउँथे न त भिन्सीले मोनालिसाको चित्र नै कोर्थे।
प्रेमको शक्ति र बलिदानले गर्दा नै बनेका रहेछन् मनु र मेकालेका कथा, रानी भिक्टोरिया र राजकुमार अल्बर्टका कथा अनि क्लियोपेट्रा र मार्क एन्थोनीका कथाहरु सच्चा प्रेमका नमूना। त्यसै शुरु भएको रहेनछ प्रणय दिवस, त्यसै ठडिएका रहेनछन ताज महलहरु भन्ने कुरा मेरो मस्तिस्कमा कहिले नमेटिने गरी खोप्यो यो मेरो निलिमासंगको मात्र दुई महिनाको क्षणिक बिछोडले पनि ।
साच्चै नै निलिमा मेरो धड्कन, मेरो प्राण, मेरो जीवन, मेरो सर्बस्व नै रहिछन भन्ने कुरा राम्रोसंग बोध भयो ! सास फेर्न पनि अफ्ठ्यारो भयो मलाई निलिमा बिना।
“मान्छे भन्ने प्राणी एक्लै जीउनकोलागी सृजना गरिएकै होइन,”भन्ने वाक्य एउटा दर्शन शास्त्रको किताबमा पढेको त थिएँ मैले, तर आज त्यही भनाइ सुदर्शन चक्र बनेर बज्रियो मेरै मुटुमा।
निलिमा र म दुवै मनुवा एक छोप पनि भएनौं प्रेमको शक्तिको अगाडि। नराम्रोसंग हार्यौं ! या त उनी नेपाल आउनु पर्ने भयो या त म भियाना नगई नहुने भयो।
गहिरो गरी सोचें। मेरो जागीर भन्दा उनको अध्यन हरेक दृष्टिकोणले महत्वपूर्ण र अर्थपूर्ण थियो। श्रीमान भएको नाताले अफ्नो बुताले भ्याएसम्म श्रीमतीको हरेक इच्छा आकांक्षा पूरा गर्न हदैसम्मको प्रयत्न गर्नु मेरो कर्तब्य थियो भने अबिभाबकिय भूमिका निर्बाह गर्नु दायित्व ! त्यसैले सबै छाडी म आफै लागें अस्ट्रियाको भियाना तर्फ।
म पुगेको अर्को हफ्ताबाट निलिमाको जाडो बिदा शुरु भयो। आफ्नी प्राण प्यारीको साथमा युरो पास भन्ने एक हप्ते टिकट किनी घुम्नसम्म घुम्यौं टि.जी.भी. नामको द्रुतगतिको रेलमा। घरमा उस्तै रमाइलो। जे खोजे पनि पाइने युरोपको बजार, परिकार बनाउन सिपालु निलिमाका हात अनि सधै मरमसला राखेजस्तो मेरो जिब्रो। के चाहियो र, यति खाईएन अल्कोहलका परिकार पनि ! यस्तो जीवन पो जीउनु ! स्वर्ग भनेको पनि यहाँ भन्दा बढी त के होला र खोइ जस्तो लाग्यो।
निलिमाको बिदा सकिए पछि भने मलाई सकस हुनथाल्यो। दिनभरि उनी युनिभर्सिटीमा हुन्थिन्। म घरमा एक्लै। नेपालमा जस्तै जता गएर जोसंग गफिए पनि नहुने बिकसित देशमा, चलन नै फरक। साथी भने पनि समाज भने पनि कम्प्युटर, इन्टरनेट र म बाहेक कोही नहुने घरमा। कति पटक दोहोर्याएर हेर्ने उही वेबसाइट ! कति सुत्ने ! बाहिर एक्लै जान मन नलाग्ने। गए कता जाने? किन जाने? हरेक दिउसो पट्याट लाग्दो भयो। हुँदा हुँदा दारी पनि हप्ताको एक पटक मात्र काट्न थालें। थुना मै परेजस्तो भयो।
लिओ टल्सटोएको कथामा मृत्युदण्ड की आजीवन काराबासको बहसको मुख्य पात्र, जसले सर्त अनुसार बर्षौं थुनामा बसी केही घन्टामात्र छिटो थुनामुक्त हुनकोलागी करीब जितिसकेको बाजीको सबै रकम छाडेको थियो, को खूब सम्झना आयो !
प्रख्यात उक्ति‘खाली दिमाग भूतको घर’पनि याद आयो।‘मान्छेलाई बेरोजगार राख्नुभन्दा बेरोजगारहरुलाई दुई समूहमा बाँडी एक समूहलाई कुनै खाल्टो खन्न लगाउने अनि अर्को समूहलाई त्यही खाल्टो पुर्न लगाउने’भन्ने अर्थशास्त्रीको भनाइको अर्थ पनि खुल्यो राम्रोसंग यो बेला।
धमर्धुस लाएर खोज्ने थालें इन्टरनेटमा जागीर। योग्यता र अनुभव राम्रै थियो त्यसैले ढिलो वा चाँडो जागीर पाउनेमा बिस्वस्थ नै थिए। नभन्दै दुई चार प्रयास मै योग्यता अनुसारको राम्रै जागीर पाइयो।
युरोप बसाइका रमाइला क्षण फेरि पुनरावृत भएर आए। दिउसो म काममा जान्थें, निलिमा युनिभर्सिटी जान्थिन्। मेरो काम शिक्षा क्षेत्रमै भएकोले हाम्रो जाने-फर्किने समय र बिदाहरु प्रायः एकैचोटी पर्थे। तीन बर्ष जतिको समय तीन महिना जस्तो पनि लागेन। आहा क्या रमाइला हाम्रा ती क्षण !
मैले त नेपालको जागीर छाडिसकेको थिएँ। अब फेरि लोकसेवा लडेर जागीर खानु सम्भब थिएन उमेरको हिसाबले। सरकारी बाहेकका क्षेत्रमा आकर्षण हुनेखालको मेरो बिषय पनि थिएन। तसर्थ निलिमालाई पनि यहीं जागीर खोजी यतै बस्ने निर्णय भयो।
यहीँ पढेकी निलिमालाई जागीर पाउन कुनै समस्या नै परेन, आफ्नै क्षेत्रमै छिटै मिलिहाल्यो। थुप्रै बर्षदेखि हालसम्म पनि हामी दुवै उनै जागीर गरिरहेका छौं।
मान्छेमा गर्नहुने र नहुने कुराको स्पस्ट ज्ञान भएकोले नियम कानुनले भन्दा पनि आत्म ज्ञानले बाँधिनु पर्छ, धेरै नियम कानुनले मान्छेको स्वतन्त्रता कुण्ठित गर्छ भन्ने मान्यता राख्दछु म। स्वतन्त्रताको लडाईंमा तीन पटकसम्म बन्दी बनाइएको म कसैको इच्छालाई कहिलै हस्तक्षेप गर्दिन।
पढाई सकिए जागीर शुरु भएपछि बिस्तारै इन्टरनेटमा राति अबेरसम्म बस्ने, कुनै कुराको सल्लाह नगर्ने साथै केही भनेकै नटेर्ने बानी बढ्दै गयो निलिमाको। जे कुरा पनि भन्नु र नभन्नु एकै भएपछी मैले पनि केही भन्नै छाडिदिएँ।
मलाई इन्सोम्निया छ। सानो आवाजले पनि तुरुन्तै बिउँझाउँछ निद्राबाट। एक पटक बिउँझिए पछि कम्तिमा पनि दुई घण्टा निदाउन सक्दिन। उज्यालोमा पनि सुत्न सक्दिन। आफ्नै प्यारी श्रीमतीले आफ्नै श्रीमानको स्वास्थको समेत ख्याल नै नगरेको पाउँदा भित्र भित्रै मेरो मन पनि आमिलो बन्दै गयो। हुँदा हुँदा हाम्रो बोलचाल नै बन्द भएको एक बर्ष जति भैसकेको छ ।
हाम्रो करीब पन्चानब्बे प्रतिशत कुरा आ-आफ्नै भैसकेका छन्। नफेरिएको कुराहरु पनि छन् केही। एउटै घरमा बस्छौं। एउटै बिस्तरामा पनि सुत्छौं। निलामाले नै पकाउँछिन् अहिले पनि उस्तै मीठो बनाएर।
बाँकी कुरा सबै फेरिए। एउटै भाँडोमा खान्थ्यौं, अहिले भाँडा फरक भएका छन्, खाने समय फरक भएको छ। एउटै समयमा सुत्थ्यौँ अहिले सुत्ने समय फरक भएको छ। संगै एकै ठाउँमा जान्थ्यौं अहिले एक्लाएक्लै फरक फरक ठाउँमा जान्छौ। एक्लै जानै पर्ने अबस्थामा को कहाँ गयो थाहा हुन्थ्यो अनि समय मिलेसम्म छिनछिनमा फोन या एस्.एम.एस् हुन्थ्यो अहिले हुँदै हुँदैन। एक अर्काको जाने आउने समय पूर्ण थाहा हुन्थ्यो अहेले हुँदैन। एउटै संगठनमा आबद्ध छौं, बिचार र लक्षहरु बाझिएका छन्। हाम्रो र हाम्रा जति सबै मेरो र मेरामा बदलिएका छन्।
अनि, एउटै बिस्तरामा सुते पनि प्रत्येक रात बिस्तराको ठीक बीचमा मनको साँधकिल्ला कायम गरी बेग्ला बेग्लै सिरक ओडेर सुत्छौं।
हाम्रो सम्बन्धले अर्को कस्तो मोड लिने हो त्यो कुरा परिस्थितिको गर्भ भित्र हुर्कंदै छ होला ! उनलाई थाहा छ की छैन कुन्नि, मलाई भने अझै थाहा छैन।

[तपाईँ पनि आफ्ना कथा, लघुकथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् यहाँ क्लिक गरी ]

727 Total View 9 Today View

14 comments to कथा: मोडहरु

  • RESHAM THAPA

    कथाले समाजमा हुने घटनाहरुलाई ऐनामा उतार्ने प्रयास गरेको अनुभुति गराय पनि, जसरी हामीले अनुभुतीगरेका सुभमा हुने तेजस्बी सुर्यका किरण र सामका सप्तारुपी तेजयामन किरणको रुप यो कथामा पडन भने नपायको हो कि , However that is so nice story.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • गौतम "उदय"

    आदर्णीय पाठक तथा कमेन्टेटरज्यूहरु-सादर नमस्कार ,
    हजुरहरु सबैका कमेन्टहरु मैले पूर्ण अर्थ लाग्ने गरी धेरै पटक पढेको कुरा सहर्ष जानकारी गराउन पाउँदा धेरै खुसी छु |
    हजुरहरुले बुझिहाल्नु भो नि मेरो कुरा है!
    आगामी कुनै पनि लेखहरुमा हजुरहरुका सुझाबहरुलाई यथासम्भव समेट्ने प्रयास गर्ने बचन दिंदै बिदहुन्छु|

    हजुरहरु कै गौतम “उदय”

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • कथा व्यथा मै लेखे जस्तो छ :) अलि फुर्सद निकाल्नु पर्यो !

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • मनोरथ अर्याल

    कथा राम्रो छ । तर केही काम गर्न हतार भएर बिचैमा छोडेर भागे जस्तो लाग्यो

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • sanu

    धेरै साथीले भनेजस्तो लास्टमा आएर हतार गरेर सक्काए जस्तो लग्यो | लेख्ने सैली राम्रो छ, प्रवाह छ ..सुरु को भागले मन लगाई रह्यो अनि अन्तमा किन अचानक निलिमा परिवर्तन भईन ..किन सम्बन्ध बिग्र्यो खासै खुलाइयेन | अनि कथा को सुरुमा धेरै महत्वोपूर्ण देखिएका लिला दाई र आमा पनि अन्तमा देखिएनन् !!
    अन्यथा नलिनु होला | लेख्ने सैली राम्रो छ ..कथा पनि मन पर्यो तर लास्टमा अल्छि गरेर सक्कएको जस्तो लाग्यो | कथा को लागि धन्यबाद

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 2

  • Kamal Newang

    कथा त मिठो तर चरम उत्कर्सको बेला बाहिर स्खलन गराएजस्तो लग्यो गौतम जी | किन अल्छी गरेको अन्तिम पार्टमा पुगेर???

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 2

  • जगदिश

    रिसाउन हुँदैन के, रिसले पनि कहि राम्रो गर्छ? सिरक एउटै ओद्नुहोस अनि एक बर्षको सबै प्रेम पोख्नुस अनि नया सिर्जना पनि हुन्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 2

  • pratibha

    उदय जी,

    येदि यो तपाई को life को वास्तविक कहानी हो भने तपाई श्रीमती संग कुरा गर्नु, सम्झाउनु ति बिगत का दिनहरु र सम्बन्धमा कहाँ कमि कमजोरी भाइको छ दुवै जना बसेर छलफल गर्नु र समाधान निकाल्नु…..बुढी रातभर internetma बसेर तपाइलाई वास्ता गर्नुमा तपाई को पनि त रोल छ नि…..किन गरि….एकासी कसको के कमजोरी भैयो र गरि… १ वर्ष सम्म नबोल्नु भन्दा त आआफ्नु कमजोरीहरु महसुस गरेर रमाइलो जिन्दगि अघाडी बढाउनु….. हामी नेपालीको समाधान खोज्ने भन्दा बोल्दै नबोली बस्ने अनि यकैपल्त पड्किने बानी हुन्छा र सम्बन्ध झन् बिग्रिन्दै जान्छ …..

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 1

  • गौतम जी र निलिमा लाइ युरोप को हावा ले छोए जस्तो छ ! साँध किल्ला खोज्नु भन्दा पनि दुवै ले boy friend र girl friend खोज्दा चाडैं नै समस्या को समाधान होला जस्तो लग्छ l कथाको अन्त… नुन नभए को चटनी जस्तो भयो ! अमिलो मात्र ???

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 5

  • bibek dhakal

    भन्नाले सुत्रधारकी श्रीमतीले राति इन्टरनेट चलाएर सुत्रधारलाई निद्र नलागेको कारणले गर्दा सम्बन्ध बिग्रेको रहेछ|? कथाको शिर्षक चाही – ” अबेर इन्टरनेट!” वा ” मेरो इन्सोम्निआ” राखेको भए हुन्थ्यो होला !

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 8

  • Bishnu

    कथाकारले कथाको बुनाईमा धेरै मिहेनत लगाएको भए पनि बिट मर्ने काम मा अलि हतास नगरेको भय कथाको मिठास अझै बढी हुने थियो / मनको साँध किल्ला लाइ तेतिसरो मजबुत नबनाउनु ताकी जीवनले आर्को मोड लिओस /
    बिष्णु

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 1

  • Bishnu Adhikari

    कथा राम्रो छ / तपाइको हालसम्मको जीवनचर्या रामै मान्नु पर्दछ / अन्य कुरा यथाबत रहेमा मनको साँधकिल्ला तोड्ने कोशिश गर्नुहोस जसको परिणाम स्वरुप little गौतम आगमन हुनेछ जो दुवै आत्माको केन्द्र बिन्दु हुनेछ जसको कारणले तपाई र निलिमको बाँकि जीवन पनि सार्थक पूर्ण हुनेछ भन्ने कामना अनि लेखिन सक्छ उदय र निलिमाका कथाहरु /
    बिष्णु अधिकारी

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 0

  • shivaraj khadka

    कता कता सुविन भट्टराईको कथाकी पात्रभित्रको कथासँग मेला खान्छ जस्तो लाग्यो है यदि म गलत छैन भने ।

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • नेपाली रमेश

    कथा को सुरुवात राम्रो भए पनि अन्त्य चाही निक्कै हतार मा गरेजस्तो खोइ कस्तो कस्तो लाग्यो/ अकस्मात, कुनै कारण बिना नै निलिमा को बानी परिबर्तन गरि कथा चाडो सकेको जस्तो लाग्यो……………..
    कथा को अघिल्लो भाग निक्कै लामो र पछिल्लो भाग निक्कै छोटो जस्तो लाग्यो, पढ़िसकेपछि उत्ति मज्जा आएन/
    कमेन्ट लाई negative रुप मा नलिई suggestion को रुप मा लिनु होला है……

    मन परे हरियो नपरे रातो ! Thumb up 34 Thumb down 2