– राजु आचार्य –
अहिले गोरखाको बारपाकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको ध्यान तानेको छ। वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको यो गाउँको अवस्था टेलिभिजनका पर्दाहरुमा देखिँदा मन दुखिरहेको छ। चिटिक्क परेका ढुङ्गे घरका भग्नावशेष हेर्दै त्रिपालमा सुतेका स्थानीयहरुको मनोदशा सजिलै अनुभव गर्न सकिन्छ। भूकम्पको केन्द्रबिन्दु भएकोले १२०० घरधुरीको बारपाक सहित वरपर पुरै ध्वस्त भएको छ। सेनामा काम गरी फर्केकाहरुको बाहुल्य रहेको यो गाउँका बासिन्दाले शत्रु बिनाको युद्धको स्थिति भोगे। पर्यावरणीय पर्यटनकोे गन्तव्य एकाएक खण्डहर बन्यो। बारपाकको नाम यसअघि नसुन्नेले अहिले त्यहाँको खण्डहर बस्ती मात्रै फोटो र भिडियोमा देखिरहेका छन्। भूकम्पअघि यो कति रमणीय ठाउँ थियो, हेर्नुस् १२ फोटो।
नेपालको सबैभन्दा ठूलो गुरुङ गाउँ भनेर सुनेको थिएँ बारपाक। सानैदेखि गुरुङ गाउँमा हुर्किएको र जागिर पनि खाएकोले होला यो जातिप्रति जहिले पनि विशेष लगाव रह्यो। त्यसैले पनि होला यो गाउँ आउने योजना २० वर्ष अगाडि नै बुनेको थिएँ। मुख्य गरी गुरुङ र घलेको बस्ती रहेको यो गाउँमा दलितसमेत रहेका छन्।
यो गाउँमा ५ वटा बेकरी पसल, बोर्डिङ स्कुल, फेन्सी स्टोर, हार्डवेयर पसल, पार्लर, पुल हाउसले गर्दा गाउँभित्रको शहर जस्तै लाग्थ्यो। तर यहाँको आतिथ्य र चिसो सिरेटोले गाउँको सम्झना गराइहाल्थ्यो। गाउँमा सञ्चालित होमस्टेले सुनमा सुगन्ध थपेको थियो।
गजे घलेको सम्झनामा स्थापित स्थानीय म्यूजियमले गाउँमा रौनक थपेको थियो। पर्यटक विस्तारै बढ्दै थिए। त्यही कारणले स्थानीय मीनबहादुर गुरुङले अफगानिस्तानमा ज्यान जोखिममा राखेर कमाएको पैसाले रुपङिला होटल खोलेका थिए। नेपालको सबैभन्दा बाक्लो गाउँले बस्तीलाई माथिबाट नियालिरहँदा आँखा कहिले पनि थाकेनन्। यादव घिमिरे र म पहिलो पल्ट यो गाउँमा जाँदा यसको सुन्दरताले लोभिएका थियौं। त्यसैले त प्रत्येक वर्ष गरिने लाटोकोसेरो तथा हुचिल उत्सव विकटताका बावजुद यहीँ गर्ने निधो गर्यौ, जुन सफल पनि भयो। सोही अवसरमा ५० वर्ष अगाडि लोप भएका भुरुङ र टोपी झिकाइजस्ता खेलहरु बिउँत्याइएको थियो। गाउन बिर्सिएका लिङगेमइ जस्ता गीतहरु जीवित गरिएका थिए।
सांस्कृतिक, प्राकृतिक र सामाजिक हिसाबले धनी बारपाक अहिले आफै लोप हुने अवस्थामा पुगेको छ। जमिन चिरा परेको छ। गाउँ खण्डहर बनेको छ। मानिसहरुका सपनाहरु चकनाचुर भएको छ। तर आशा मरेको छैन। यो घाउ सन्चो हुन वर्षौ लाग्ने निश्चित छ। समयको मलमले यिनको घाउ छिटो सन्चो होस्। यी फोटोहरु तिनै बारपाकवासीहरुप्रति समर्पित। यस्तै बारपाक देख्न पाइयोस्।
बारपाक नेपालको सबैभन्दा घना र ठूलो बस्ती भएको गाउँमध्ये एक मानिन्छ। बारपाक गाउँको दक्षिण भाग।
बारपाकको माथिको चौताराबाट खिचिएको फोटो।
बारपाकको मध्यतिर अवस्थित स्कूल क्षेत्र। फोटोको दायाँतिर रहेका सबै भवनहरु भत्किएका छन्। सबैभन्दा माथि रहेको प्रहरी चौकी पनि भत्किएको छ।
बारपाकबाट १०० मिटर दुरीमा रहेको घरहरु। यी पनि भत्किएका छन्।
बारपाकमा रहेको नेपाल टेलिकमको टावर क्षतिग्रस्त भएको छ। भूकम्पले यहाँको एनसेलको टावरलाई भने क्षति पुगेन। यो क्षेत्र कोटबाट देखिने बारपाकको माथिल्लो भाग हो। यही डाँडाको धारबाट लाप्राक जाने बाटो छ।
थाकेको बेलामा हाम्रो टोलीलाई बोलाएर कालो चिया र मकै खुवाउने सेते लाहुरे।
बारपाकका स्थानीय बालिकाहरुको हाँसो। यस्तै हाँसो उनीहरुको मुहारमा ल्याउने प्रण हामीले गर्नुछ।
बारपाकका स्थानीय बालकहरु।
बारपाककी वृद्धा।
बारपाक गाविसको घाटुँ नाच
बारपाकबाट देखिने बौद्ध हिमाल।
पूर्ण रुपमा ध्वस्त भएको बारपाक गाविसको मान्द्रे गाउँ।
अब सम्झना मात्र बाकी
गुरुङहरु बसेको ठाउँ तेसै राम्रो हुन्छ. सफासुग्घर र चिटिक्क परेको हुन्छ.
एस्तो फोटोहरु देख्दा येति मन दुख्छ भने तेही को स्थानिय बासिन्दा को स्थिति के होला कठै बरी, दैब निस्ठुरी भए कसको के लाग्छ र?? स्तब्ध भए सबै नेपाली जस्तै . मैले काम गर्ने ठाउ बाट केहि राहत संकलन गरेर नेपाल पठाए , पक्का छु राहत ठाउ मा पुग्यो तर केहि नेपाली एस्त पनि देखे जसलाई सलमान खान ले येति दियो अक्षय कुमारले येति दियो भन्ने बाहेक आफुले “कठै” भन्ने सब्द समेत दिएनन् नेपाल को लागि. दिए ठाउ मा पुग्दैन सबै नेताको गोजीमा जाने हो भन्ने जमात पनि देखे , अरे यार सबैले येस्तै भने कसले गर्ने ??? बरु संगै काम गर्ने बिदेशीहरु “गैर नेपालीहरु” ले केहि रकम दिए. ति नेपालीलाई कुनातिर राखेर यो भुकम्प ले समग्र मा बिस्व भरका नेपाली लाइ फेरी एकजुट बनायो , जहा गएपनि जहा बसे पनि एकपटक को नेपाली सधैको नेपाली बनायो. भूकम्पमा परि ज्यान गुमौनेहरु प्रति हार्दिक श्रदान्जली !
Heart touching photos!!!
सोर्ग जस्तो मेरो धर्ति लाई के विपद आइलाग्यो !! जुन वर्ग ले भुमिपुजा गरि बसे तिनैलाई येति मार ! रोयरमात्र के होलार यो भन्दा राम्रोबनाउने प्रण गर्ने कि ? निस्ठुरी दैब अब बिस्वाश रहेन ,, तिमि तिम्रो गर हामी हाम्रो गर्दै जाउला! कुनै दिन फेरि भेट होला !,
गाउ मा राम्रो बारपाक |
खान मा मिठो गुदपाक |
भन्थे उखान मा , आब आएर गुदपाक मा ‘दपाक ”मेटिदिये” बाकि रहेकोलाई नै गुदपाक भन्न थाले | बारपाक लाइ भुचालो ले लग्यो |
सांचिकै यो गाउँ धर्तीमा स्वोर्ग नै रहेछ .जानकारी गराउनु भयकोमा लेखक ज्यु लाई हार्दिक धन्यवाद .