यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

हाम्रा कम्युनिस्ट पार्टीहरु : नारा मात्रै सक्कली, कामकुरो सबै नक्कली

surya_khadka वीपी कोइरालाका शब्दमा कुनै पनि मान्छे युवा अवस्थामा कम्युनिष्ट बनेन भने नि त्यसले गरी खान्न रे। अनि जीवनको वयस्क कालखण्डसमम पनि उ कम्युनिष्टबाट प्रजातन्त्रिक बनेन भने पनि उसले गरिखान्न रे। सुरुमा आफै कम्युनिष्ट रहेका विपीले भाइ गिरीजालाई पनि कम्युनिष्टबाट कांग्रेस हुन सम्झाई बुझाई गर्दा यो प्रसंग भनेका थिए रे खांटी कांग्रेसी पत्रकार बिन्दुकान्त घिमिरेका अनुसार। यो पिता कृष्णप्रसाद कोइरालाको मृत्यु संस्कारका बखतको घटना भाको पत्रकार घिमिरेको भनाई छ।

कुनै बेला नेपाल कम्युनिष्ट पार्टीका महासचिव रहेका स्व. केशरजंग रायमाझीको राजापरस्त पतन वा झापा विद्रोह र १० वर्षे जनयुद्धपछि बदलिएका नेपाल कम्युनिष्टहरुको दैनिकी र नियतिले पनि उही विपीको भनाई चरितार्थ गर्दछ। पछिल्लो उदाहरण नै हेरौं न। डा. बाबुराम भट्टराईले संसदीय प्रजातन्त्रलाई बोकाको टाउको राखेर सुंगुरको मासु बेच्ने थलो भन्दै २०४९ मा संसद नै छाडे। तत्कालीन जनमोर्चाका ती जुंगेदाहीवाल जुझारु नेता भट्टराइले २०५२ पछि शशस्त्र संघर्षै थाले। २०५२ देखि २०६२ सम्ममा १७ हजार बढी निर्दोष नेपालीको ज्यान लिने लाल संघर्षका मुख्य सैद्धान्तिक व्याख्याता उनै पिएचडी बाबुराम थिए। तर देश बदल्ने कसम खाएर हतियार युद्धमा होमिएका तिनै बाबुरामले २०६४ मा हतियार बिसाएर शान्ति राजनीतिमा फर्के र २०७२/७३ सम्म आइपुग्दा त आफू नेतृत्वको कम्युनिष्ट पार्टी नै फगत भ्रम भएको पुष्टि गरे। हाल उनको नयाँ शक्ति नामक दलको रेष्टुंरे र तारे होटलस्तरीय उदय वाम र खासगरी माओविचारधाराकालिन नेपाली वाम आन्दोलनको स्खलन मात्रै हैन समूल पतन नै हो। तै पनि नकचरो शैलीमा डा.केशरजंग रायमाझीका गणतन्त्रकालीन अवतार उनै बाबुराम भन्दैछन, देश बदल्ने मैले, मेरै नेतृत्वमा मेरै जीवनकालमा हो र त्यो संभव छ। कति हाँस्नु ? तै पनि जनता सुनिदिन्छन् उनलाई पनि।

माओवादीबाट पारपाचुेके गरेका बाबुरामलाईभन्दा ज्यादा लाज प्रत्यक्ष भोगी जनतालाई छ। तर लबस्तरो शैलीमा उनै बाबुराम डिंगा पिट्छन फेरि। ध्वाँस छोड्छन, डंका पिट्छन् परिवर्तन र सम्वृद्धिका, युद्धका निर्मम घाउ, चोट, पीडा, क्षति र खतिका बीचमा उभिएर। जे देखिन्छ, त्यो हुन्न। अनि जे हुन्छ भनिन्छ, त्यो गरिन्न यहाँका वामहरुद्वारा। नपत्याए हेर्नुस् न एक से एक वाम सत्ताधारीहरुलाई।

संसार चकित छ हिमालयको देश नेपालमा साम्यवादी सत्ता छ भनेर। हुन पनि हो नेकपा एमाले जस्तो पुरानो कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ। पार्टी अध्यक्ष केपी ओली नै छन् देशका कार्यकारी प्रधानमन्त्री। अनि १० वर्षे जनयुद्ध लडेको नेकपा माओवादी सत्ताको प्रमुख सारथी छ। गज्जब त के भने एमालेलाई परम्परागत वामपन्थ विचारबाट प्रजातान्त्रिक विचार संघर्षमा रुपान्तरण गर्ने जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी नै देशको सर्वोच्च पद राष्ट्रपति छिन्। उनी देशकै इतिहासमा पहिलो महिला राष्ट्राध्यक्ष र वाम राष्ट्रपति पनि हुन्। संसदको सभामुखमा महिला मात्रै हैन नि हजुर जनयुद्ध लडेकी पूर्व छापामार योद्धा ओनसरी घर्ती नै विराजमान छिन्। उनी पनि पहिलो महिला सभामुख र कम्युनिष्ट महिला सभामुख हुन्।

न्यायालयकी प्रमुख सुशीला कार्कीलाई अपवाद मानिदिँदा सरकार, संसद र सडकमा हालीमुहाली छ कम्युनिष्टहरुकै। कोही एमाले, कोही माओवादी, कोही माले, कोही के-के जाति। नेपालको वाम आन्दोलनमा सबैभन्दा सिधा र निष्कलंक अनि पाका र खरा नेता मानिएका चित्रबहादुर केसी हुन् वा ३० को दशकमा तत्कालीन मालेले वर्ग दुश्मनको टाउको गिँड्न थालेको झापा आन्दोलनको नायक सीपी मैनाली हुन् सबका सब छन् सत्तामा। त्यो पनि उप प्रधानमन्त्रीमा । इतिहासकै सबैभन्दा जम्वो सरकार उनै ओलीको छ दर्जनौं वाम मन्त्रीहरुको जन्तीका साथ।

झट्ट हेर्दा अझ कम्युनिष्ट भन्ने बित्तिकै भियतनाम, कम्वोडिया वा रुस र चिनको तस्वीर देख्नेहरुका लागि नेपालको वैधानिक राज्य सत्तामा नै यसप्रकारको वाम वर्चस्व हुँदा वामे भन्नासाथ सातो पुत्लो जानेहरुले नेपालको वर्तमान सत्तासँग डराउनै पर्ने स्थिति हो। किनकि सेनामा पनि पूर्व माओवादी छापामारको समायोजन भएको लगायतको फाइल हेर्दा त नेपाल वामपन्थीले खर्लक्क खाइसकेको भान हुन्छ। किनभने विश्व साम्यवादी आन्दोलनको प्रतिक हसिया हथौडाका राता झण्डामुनिबाटै तिनीहरु सडकदेखि सिंहदरवार र स्थानीय तहदेखि संसदसम्म पुगेका छन्। सन ९० को दशकदेखि संसारबाटै साम्यवादी सत्ताहरु ढलिरहेका बेला नेपालमा यसरी वाम सत्ता वैधानिक विधिद्वारा नै उदाउनु एक राजनीतिक आश्चर्य जस्तै हो बाँकी कम्युनिष्ट विरोधी दुनियांका लागि। त्यसो त नेपालकै सन्दर्भमा पनि देशको प्रजातन्त्र र गणतन्त्रकाल सम्मका लागि माले, एमाले वा माओवादी र अन्य कैयन् कोठे कामरेडहरुले बलिदानीपूर्वक संघर्ष गरेको इतिहास छ। तर यस्तो रक्तिम र संघर्षशील रातो इतिहास भएका कम्युनिष्टहरुले राज्यसत्ताको मुख्य केन्द्रमा वैधानिक रुपमा हालीमुहाली गर्न पाउँदा देश र जनताका लागि चांहि के लछारपाटो लाका छन् त? हो जनताको नजरबाट सधै अनुत्तरित रहेको एउटा स्थायी प्रश्न यही हो।
तर यी त सबै झुटा झुटा र झुटा चित्र झै हुन परिवर्तनकामी जनताका दैनिकीसँग वाम पार्टीले गरेका प्रतिज्ञा र शासन सत्ता संचालनको बेढंगी चाला हेर्दा।

साम्यवादीहरुलाई राष्ट्रवाद र जनताका जनजीविकाका सवालमा निकै कट्टर मानिन्छ। तर त्यो पनि देखाउने र खाने दांत फरक हुन्छन हात्तिका भने जस्तै रैछ। कठोर भारत विरोधी भनिएका केपी ओलीले हरेक जसो निर्णयमा भारतीय सत्ताको समर्थन जुटाउन जोगी,भोगी, व्यापारी तस्कर सबैलाई सकेसम्म प्रयोग गरेकै छन्। उनले मधेशी दलको माग पुरा गर्न संविधान संसोधन गर्नुपूर्व दिल्लीको सहमति लिए चर्चित ४ बुंदेमा। पछि दिल्ली कनेक्सन मिलाउन उनले हरेक हत्कण्डा प्रयोग गरेकै छन्। चीनसंग दूरगामी महत्वको पारवाहन सम्झौता गरे पनि त्यसको प्रभावकारी कार्यान्यनको भरोसा छैन धेरैलाई।

उनले सडकमा बिस्कुनै झै सुताउन खाजेको मधेश आन्दोलन वा प्रमुख प्रतिपक्षीलाई बाइपास गरेर सुरु गरेको स्वप्न खेतीले जग हसाई गरेको छ तर जनताको कष्टकर दैनिकीमा २० को १९ भाको छैन। देशको राजकीय सत्ताका मालिक भनिएका जनता सर्वाधिक निरीह बनेका छन्। अनि भारत लगायतका देशसँगको कटुताले देश विदेशीको खेल मैदान जस्तो भैरहेको छ।

पछिल्लो सात आठ महिनाको नेपाली वामसत्ता खासमा परिवर्तनका पक्षधर जनताका लागिएउटा भद्दा मजाक बाहेक केही भएको छैन। सरकार प्रमुख केपी ओलीले इतिहासमै दुर्लभ सपनामुखी प्रधानमन्त्रीको छवि बनाउने बाहेक माखो मार्न सकिरहेका छैनन्। गर्विलो इतिहास भएका वाम नेता वा मन्त्रीहरु जनताका समस्या टुलुटुलु हेरेर सडकमा साइरन बजाउँदै जनतालाई हिला र धुलो छयाप्दै हुइँकिने पञ्चे मन्त्रीजीका गणतान्त्रिक संस्करण बाहेक अरु कुनै मानेमा फरक देखिन सकेका छैनन्। केपी ओलीले कुरा र घोषणाले मात्रै हो भने नयाँ नेपाल बनाउने काम लगभग भ्याइसके। उनकै सहकर्मी पूर्व प्रधानमन्त्री माधव नेपालका शब्दमा केपी ओलीले बोल्ने कुरामा विश्वको सर्वोच्च शिखर सगरमाथामा केवलकार जोड्ने बाहेक कुनै कुरा भन्न बांकी छैन । ओलीको हावा बोलीमा नयाँ नेपालको रचनाको अध्याय लगभग पुरा भएको छ।

यता हेरौँ जनताको आंखाबाट। जनता महंगी र कालाबजारीको मारमा परेका बेला प्रधानमन्त्रीले आश्वासनका महत्वाकांक्षी पुलिन्दा बाहेक के दिए? भूकम्प पीडितलाई सामुहिक आवाससहित छानामुनि ल्याउने घोषणा जेठको दोस्रो सातासम्म कुरैमा सीमित छ। के अब असार १५ मा भूकम्प पीडितलाई सामुहिक आवासमा सार्ने असार १५ को मौकामा ? जनताका लागि सरकार अझै किन आक्रमणको तारो बनेको छैन भने यसले मधेशी मोर्चाले भारतको आडमा लगाइएको अमानवीय नाकाबन्दीको ब्याज खाने सुविधा पाइरहेको छ। तर के सँधै यही व्याज खाएर पुग्छ त? जनताले सँधै सरकारका हावादारी गफ मात्रै सुन्नुपर्ने हो त?

अस्ति नेकपा माओवादीका नेता नेत्र विक्रम चन्दले खुलामन्चमा खुँडा देखाउँदै भनेका शब्दमा भन्दा देशको गणतन्त्र दलालतन्त्र भो। सत्ताका ठेकेदारहरु दलाल झै भए विप्लवकै शब्दमा। त्यो पनि देशै सबै वामपन्थीले नै हालीमुहाली चलाको बेलामा। यत्रतत्र सर्वत्र कम्युनिष्ट नामधारीको नेतृत्व भाका बेलामा देशको गणतन्त्र दलालतन्त्र हुनुको सिधा अर्थ के वामसत्ताको नेतृतवको शासकीय विफलताको परिचायक हैन? जनताको भोगाईमा बरु गैर कम्युनिष्ट सरकार भाको भे अलि फरक हुँदो हो तर आफू सत्तामा पुगे जनतालाई स्वर्गमै लाने वाचा गर्ने वाम वाचा भने हावादारी गफ सिवाय केही फरक देखिएन। आखिर किन ?

ओलीको हावादरी सरकारको अलवा माओवादीको आवरणको वामपन्थ राजनीति पनि निकै बिझाउँदो छ। देश शान्ति राजनीतिमा आएको दशक हुनै लाग्दा पनि जनयुद्धकालीन माओवादीका तीन थान अनुहार अहिले आम जनताका लागि बाध्यतापूर्वक व्यहोरिनु पर्ने अनुहार भएका छन्। १० थरी माओवादीलाई बटुलेर नेकपा माओवादी केन्द्र (माके) बनाएपछि प्रचण्ड हौसिएका माओवादी हुन् भने खुलामञ्चमा नै खडग सहितको राताफेटेवाल मास उतारेर उत्साही छन् नेत्रविक्रम चन्द विप्लव। अनि दशरथ रंगशालामा लाखौं मास उतारेर नयां शक्ति पार्टीको विधिवत् घोषणा गर्दै डा. बाबुराम भट्टराई। जग र विचारका रुपमा उस्तै उस्तै लागे पनि वर्तमान र भावी गोरेटोका दृष्टिले यी तीन थान अगुवा प्रतिनिधि अनुहार उनीहरुकै शब्दमा जनयुद्धको गौरवशाली विगत गिज्याउने प्रतिकात्मक बुँख्याचा जस्ता भैरहेका छन्, हुन् परिवर्तनकामी जनताका लागि।

हो, देश आवरणमा वामपन्थीको भए पनि त्यो जनताको हुन सकेन। उनीहरुले शासकीय सफलताबाट जनता, जनताको जनजीविका र राष्ट्रियता र सम्वृद्धिको सपना पूरा गराउन सकेनन्। यो नांगो वाम सत्यका आधारमा भन्नैपर्छ, हाम्रा कम्युनिष्ट पार्टीहरुका नारा मात्रै सक्कली, कामकुरो सबै नक्कली। कुरा मात्रै ठूला शासनसत्तामा सबैभन्दा विचरा । त्यसैले नेपाली कम्युनिष्टहरुबाटै परिवर्तन भन्नेचांहि असंभव हो कि? यी त सप्पै भन्ने कुरा न हुन् भने झै भयो नि हैन र सिंहदरवारका सुकिला शासक कमरेडहरु ?तर यो जनतामाथिको धोकेबाजीको पुरस्कार जनताले कसो नदेलान्?

1 comment to हाम्रा कम्युनिस्ट पार्टीहरु : नारा मात्रै सक्कली, कामकुरो सबै नक्कली

  • sushil

    कम्युनिज्म भनेको भ्रम नै हो. हामी सबै साक्षी छौं नि, उमेर छउन्जेल क्रान्ति क्रान्ति भन्दै उफ्रने अनि अलि कता उमेर ढल्के पछि शान्ति शान्ति भन्दै हिंड्ने नेपाली कम्युनिस्टहरु. अमेरिकी प्रजातन्त्र होस् कि उत्तर कोरियाली गणतन्त्र, सबै ठाउँमा फरक नाउँमा वंशको राजनीति चल्छ. कम्युनिज्म भन्ने शब्द मात्रै हो व्यवहार होइन. छोरा छोरीको छात्रवृत्तिको लागि विदेशीको जुत्ता चाट्ने हाम्रा नेताहरु अझ विशेष गरि कम्युनिस्ट नेताहरुको त के हैसियात छ र?
    तर के गर्नु? भ्रस्ट कर्मचारी, चक्काजाम डाइभर खलासी, खेताला शिक्षक, दादा सुरक्षाकर्मी, द्रव्यपिशाच चिकित्सक, पढाइ भन्दा राजनीति गर्ने विद्यार्थी, चरम नाफाखोर व्यापारीहरुले भरिएको नेपालमा ब्रह्मले नेपालको लागि भनेर इस्पेसल बनाइदिएको यिनै ब्रह्मपिशाच कम्युनिस्टहरु ठ्याक्कै सुहाएका छन्.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0