यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

सम्पदा स‍ंरक्षणको अद्‌भूत नमूना : ठाउँ नै सारेर पनि यसरी जोगाइयो

13405596_10209814154216546_239699794_o – सुबिक कार्की (इजिप्टबाट फर्केर) –

गत वर्ष वैशाखको महाभूकम्पले नेपालका थुप्रै सम्पदा भत्किएका छन्। त्यसको पुननिर्माण अझै हुन सकेको छैन। सम्पदा संरक्षणको चिन्ता जागिरहेको बेला यहाँ म एउटा सम्पदा संरक्षणको अदभूत नमूना प्रस्तुत गर्दैछु।

एघार देश भएर सुडानबाट इजिप्ट हुँदै भूमध्यसागरमा विसर्जन हुने संसारकै सबैभन्दा लामो नाइल नदीको इजिप्ट खण्डमा सन् १९५४ मा उच्च बाँध बनाउने निर्णय लिइएपछि यसले सृजना गर्ने विशाल कृत्रिम जलाशयले दुवै मुलुकमा पर्ने परम्परागत र सांस्कृतिक नुविया क्षेत्र र त्यहाँ अवस्थित हज्जारौं वर्ष पुराना पुरातात्विक महत्वका प्राचीन सम्पदाहरु डुबानमा पर्ने निश्चित भयो। तत्पश्चात् युनेस्कोको तत्वावधानमा डुवानमा परेका र पर्ने जोखिममा परेका विशाल सम्पदाहरु कसरी स्थानान्तरण समेत गरी जोगाइयो भन्ने विषय अहिले विनाशकारी भूकम्पपछिको सम्पदा पुनर्निर्माणमा हाम्रो लागि निक्कै सान्दर्भिक हुने देखिन्छ।

प्राचीन सम्पदाको संरक्षण र सम्वर्धनमा युनेस्कोको भूमिका र अन्तर्राष्ट्रिय समुदायको ऐक्यवद्धताको अदूभूत नमूना तथा यसले अभियानको रुपमा २० वर्ष लगाएर इजिप्टमा गरेको उद्दार कार्य प्राचीन सम्पदा संरक्षणको विश्व इतिहासमा नै नजीर बनेर रहेको छ। आफ्नो मुलुकमा विनाशकारी भूकम्प गएको एक वर्ष नाघिसक्दा पनि सम्पदा संरक्षणमा उल्लेखनिय काम अगाडि बढेको नदेखेको मलाई इजिप्ट भ्रमणबाट प्राप्त जानकारीलाई एउटा उदाहरणको रुपमा पस्किन उत्साहित गरेकोले यो सम्पदा स्थानान्तरणको काम कसरी गरिएछ भन्ने पक्ष रोचक हुने ठानी संक्षिप्त रुपमा प्रस्तुत गर्ने जमर्को गरेको छु ।

आस्वान उच्च बाँध
नाईलको देन भनिएपनि इजिप्टलाई वर्षेनी बाढीले निक्कै पिरोल्ने र नोक्सानी पुर्याउने गर्दथ्यो । त्यसलाई रोक्न भनेर सन् १९०३ मा ३ वर्ष लगाएर राजधानी कायरोबाट झण्डै ७०० किमि दक्षिणमा रहेको आस्वान शहरमा ३६ मिटर अग्लो बाँध बनाईयो । ३० वर्ष बिचमा दुई पटक गरी ९ मिटर उचाई बढाउँदा पनि यसले उद्देश्य र बाढि नियन्त्रण, सिचाई पटान र चाहिएजति पानी भण्डार गर्न पूर्ण सक्षम नभएकोले यो भन्दा छ किमि पर पर्ने गरी १० वर्ष लगाएर सन् १९७१ अर्को उच्च बाँध बनाइयो ।

जमीन देखि १११ मीटर उचाई र झण्डै ४ किमि लम्बाई भएको यो उच्च बाँध तत्कालिन सोभियत संघको प्राविधिक र ऋण सहयोगमा एक खरब डलर भन्दा बढिको लागतमा निर्माण भएको थियो । संसारकै सबैभन्दा ठूला मध्येको यो बाँधले त्यस्तै विशाल कृतिम जलाशयपनि निर्माण ग¥यो । तत्कालिन राष्टपति गमाल आब्देल नास्सेरको स्मरणमा नास्सेर ताल (लेक नास्सेर) भनी नामाकरण गरिएको यो ताल ५५० किमि लामो र ३५ किमि सम्म चौडा छ । यो तालले ५,२५० वर्ग किमि क्षेत्रफल ओगटेको छ र १३२ घन किमि पानी भण्डारन गर्छ । सुडानसम्म फैलिएको यो तालको ३३ प्रतिशत भाग सुडानमा पर्छ भने सुडानले पनि यसबाट त्यत्तिकै लाभ लिईरहेको छ ।

नाईल नदी आधुनिक इजिप्टको लागि वास्तवमै देन चाँहि यहि उच्च बाँध बनेपछि नै बन्यो जब यसको बाढि रोक्न र यसलाई पूर्ण नियन्त्रणमा राख्न सकिने भयो । साथै यसले सिचाई क्षेत्रपनि विस्तार ग¥यो, सुख्खा याममा सिचाईको सुनिश्चितता र यसमा जडित २,१०० मेगावाट क्षमताको पावर हाउसबाट आधा मुलुकलाई उज्यालो पार्ने विद्युत पनि उत्पादन गर्न सकिने भयो ।

इजिप्टको भाग्य रेखा कोर्ने र आधुनिक विकासमा कोशेढुंगा सावित हुने उच्च बाँधले पुयाउने क्षेती नोक्सानीको पाटो भने चानचुने थिएन । उच्च बाँध भन्दा अग्लो बनेर अरु चुनौती तेर्सिए । हज्जारौं वर्ष पुराना नाईल मात्र नभई विश्व सभ्यताका पहिचान बनेका ऐतिहासिक पुरातात्विक महत्वका विशाल संरचनाहरु डुवानमा पर्ने भए, झण्डै १ लाखको संख्यामा मौलिक साँस्कृतिक पहिचान भएका नुविया जातीको थातथलो नै डुवानमा परी विस्थापित हुने भए भने अन्य वातावरणीय प्रभाव त नहुने कुरै भएन ।

इजिप्टको मुहार फेर्ने बीसौं शताव्दिको मागलाई सम्बोधन गर्न अपरिहार्य यो उच्च बाँध निर्माण गर्न वातावरणीय प्रभावको क्षतिलाई त्यत्ति महत्व नदिई उपेक्षा गरियो । नुवियाहरु लाई ४० किमि परसम्म लगेर पुनस्र्थापना गरियो भने बाँकि रहेको प्राचीन सम्पदा र स्मारकहरु लाई स्थानान्तरण समेत गरी जोगाईयो । प्राचीन सम्पदा र स्मारकहरु लाई के कसरी स्थानान्तरण समेत गरी जोगाईयो भन्ने कुरा हाम्रो लगि सान्दर्भिक र रोचक हुने हुँदा यहाँ संक्षिप्त चर्चा गरिन्छ ।

प्राचीन सम्पदा संरक्षणमा युनेस्कोको भूमिका
डुवानमा पर्ने निश्चित भएका पुरातात्वीक सम्पदा तथा स्थलहरु को उद्दार र संरक्षणको लागि आफ्नो मात्र सामथ्र्यले नपुग्ने हुँदा इजिप्ट र सुडान सरकार १९५८ मा पुरातात्वीक सम्पदा संरक्षणको लागि संयुक्त राष्ट्र संघीय विशिष्टिकृत निकाय युनेस्को गुहार्न पुगे । इजिप्ट मात्रै नभई मानव सम्यताको सबैभन्दा पुरानो मध्येका एक सम्पदा स्थलहरुको संरक्षणको अनुरोधलाई सहर्ष स्वीकार गरी लागि युनेस्कोले आवश्यक अनुसन्धान गरी एक परियोजना मार्फत संरक्षणको कार्य तत्कालै अघि बढायो । अत्यन्त खर्चिलो हुने देखिएको उक्त परियोजनाको लागि युनेस्कोले सन् १९५९ कोष खडा गर्न विश्व समुदाय समक्ष जानकारीमूलक सूचना जारी गरि श्रोत जुटाउने अभियान चलायो ।

इजिप्ट, सुडान र दाता राष्टबिच समन्वयकर्ताको भूमिका निर्वाह गरेको युनेस्कोले ५० मुलुकको सहयोगमा सन् १९६३ देखि पुरातत्वविद, बैज्ञानिक, ईन्जिनियरहरुको अन्तर्राष्ट्रिय विज्ञ टोली परिचालन ग¥यो । यो महाअभियानलाई अन्तर्राष्ट्रिय ऐक्यवद्धता मात्र नभई युनेस्को कै ईतिहासमा पनि अभूतपूर्व नमूना मानिन्छ । पाँचै महादेशबाट सहभागी ४० प्राविधिक टोलीले २२ वटा स्मारक तथा सम्पदा क्षेत्रहरुको पहिचान गरी संरक्षण, उद्दार र स्थानान्तरणको कार्यमा लागे । यी मध्ये ६ वटाको “स्थानान्तरण” गरि संरक्षण गरिएको थियो । यस कार्यमा वभिन्न मुलुक वा स्थानीय निकायले क्षेत्रगत नेतृत्वलिई चरणवद्ध रुपमा २० वर्ष लगाई अन्ततः १९८० मा सम्पन्न गरे ।

यस महाअभियान र परियोजनाको महत्वपूर्ण चुनौती भनेको स्थानान्तरण गरिने संरचनालाई कमसेकम नोकसानीमा तत्स्थानबाट उद्दार गरी साविककै स्वरुपमा स्थानान्तरण र पुनस्र्थापना गर्नु थियो । युनेस्कोकै इतिहासमा सबैभन्दा चूनौतीपूर्ण मानिएको यो परियोजनाको सबैभन्दा उल्लेखनीय कार्य भनेको विशाल अबु सिम्बेल र फिले मन्दिरहरु को स्थानान्तरणद्वारा उद्दार नै हो । हाल यी दुवै युनेस्को विश्व सम्पदा क्षेत्र हुन् । स्थानान्तरण गरिएका यति ठूला संरचनाहरु अवलोकन गर्दा झट्ट पत्याउन गाह्रो पर्छ कि यो संरचना पहिले कतै अन्तै थियो र अहिले जस्ताको तस्तै रुपमा यस ठाउँमा जडान गरिएको छ । इजिप्टमा सात मध्येको एक आश्चर्य पिरामिड देखेको मलाई यो आठौं आश्चर्य नै लाग्यो । किनकि यस्ता भिमकाय पत्थर ढुंगाका संरचनाहरु जुन एउटा वा दुईटा मूर्ति वा मन्दिरमा सिमित नभई धेरै क्षेत्रफल ओगट्ने अनेकौं दरवार, महल र मन्दिर परिसरका स्वरुपमा छन्, यसलाई जस्ताको तस्तै स्वरुपमा अर्कै ठाउँमा स्थापना गर्नु भनेको सानो श्रोत, साधन र प्राविधिक ज्ञानले सम्भव देखिँदैन ।

दुःखको कुरो सबै सम्पदा जोगाउन सम्भव भएन र कतिपय अद्यापि डुबेकै अवस्थामा छन् । चारवटा यस्ता मन्दिरहरु भने उद्धारमा उल्लेखनिय सहयोग गर्ने स्पेन, नेदरल्याण्डस, ईटाली र अमेरिकालाई नै उपहार स्वरुप आफ्नो मुलुक लगेर पुनस्र्थापना गर्न पनि दिईयो । यी पुनस्र्थापित संरचनाहरु पनि कम्ति साना भने छैनन् ।

अबु सिम्बेल मन्दिर
13396842_10209814117255622_1695934088_o
उच्च बाँध भन्दा २८० किमि दक्षिणमा रहेको अबु सिम्बेलका दुईवटा विशाल जुम्ल्याहा मन्दिरहरु झण्डै ३,३०० वर्ष पहिले ईशापूर्व १३ (१२६५) औं शताव्दिमा २० वर्ष लगाई तत्कालिन फाराहो युगका महान शासक रामेशेश द्वितियद्वारा सूर्य देवतालाई अर्पण गरि निर्माण गरिएको मानिन्छ । ढुंगाको दुईवटा पहाडमा खोपेर गुफा भित्र बनाईएका यी मन्दिर ठूलोचाँहि राजनको र रानोचाँहि रानीको मन्दिर मानिन्छ । ठूलो राजाको मन्दिरको प्रवेशद्वारबाहिर राजा आफ्नै र रानीको २० मिटर अग्ला गद्दिमा आसिन ढुंगाका २ वटा मूर्तिहरु स्थापति छन् । यस भित्र कलात्मक मूर्ति र बुट्टाहरु कुँदिएका ३ वटा विशाल कक्षहरु रहेका छन् । यो ठूलो मन्दिरको बनोट यस्तो छ कि झण्डै ५७ मिटर भित्र रहेको यसको सबैभन्दा भित्री कुनोमा विराजमान तत्कालीन राजारानी र भगवानका चारवटा मूर्तिहरुमा वर्षको निश्चित दुई दिन (राजाको जन्मदिन र सत्तारोहण गरेको दिन) मात्र मूलद्वारबाट छिर्ने सूर्यको किरणले स्पर्श गर्ने गर्दछ । सँगै अर्को पहाडमा आफ्नी रानीको मन्दिरमा पनि उस्तै प्रकारको संरचना छ।

13410884_10209814133096018_1574733326_o
नाईल किनारामा निर्मित यो भिमकाय दुवै संरचनालाई साबिक भन्दा ६५ मिटर उचाईमा २०० मिटर पछाडि कृत्रिम पहाड खडागरी जस्ताको तस्तै रुपमा स्थानान्तरण गरिएको छ । अहिले हेर्दा थपक्क उठाएर यहाँ राखिएको होला झैं लाग्ने यो पुरै मन्दिरलाई काटेर, ताछेर, चिरेर ३० टन सम्मका झण्डै १६,००० टुक्रा बनाई फोरिएको थियो । फोर्नमात्र ९ महिना र जडान गर्न १९ महिना लागेको थियो । यसको स्थानान्तरण गर्न लागेको कूल खर्च झण्डै ४ करोड डलर मध्ये इजिप्टले आधा व्यहोरेको थियो भने युनेस्कोले आधा जुटाईदिएको थियो । ४.५ वर्ष लगाएर उच्च बाँध पुरा हुनु भन्दा र अपेक्षा गरेभन्दा झण्डै २ वर्ष अघि नै सन् १९६८ मा यसको स्थानान्तरण सम्पन्न गरिएको थियो ।

फिले मन्दिर
फारोह कालमै ईपू सातौं शताव्दिबाटै निमार्ण शुरु भएको मानिने यो सम्पदा ईपू तेश्रो शताव्दिमा पुरा भएको मानिन्छ । आईसिस भगवानलाई समर्पण गरिएको मानिने यो मन्दिर संरचनाका दिवार मन्दिर, पूजाकक्ष, सभा कक्ष, दलान, टुँडाल, आदिमा बुट्टाहरु भरेर सजाउने काम पछि ईश्वी को पहिलो शताव्दि रोमनकाल सम्म पनि भएको तर कहिल्यै पुरा हुन नपाएको पनि भनिन्छ ।

उच्चबाँध नजिकै पुरानो सानो बाँधले नै डुबानमा परिसकेको ३८० मिटर लम्बाई र १२० मिटर चौडाई क्षेत्रफलमा फैलिएका यो विशाल मन्दिरलाई पहिला वरीपरी अर्को बाँध बनाई पानी निकाली सुख्खा बनाएर झण्डै ४०,००० टुक्रामा फोरेर डुवानमा परेको ठाउँबाट ५.५ किमिको दूरीमा रहेको सानो अगिलिका भन्ने टापूमा साबिककै स्वरुपमा पुनस्र्थापना गरिएको थियो । झण्डै ८ वर्ष लगाएर सन् १९७९ मा उद्दार कार्य सम्पन्न गरिएको यस संरचनाको पानीले डुबाएको लेउको डोब अझै देख्न सकिन्छ ।

पुछारमा
आफ्नै श्रोत साधन हुँदा आफैंले पुननिर्माण र पुनस्र्थापना गर्न सके त्यो सर्वोत्तम विकल्प हो । तर हाम्रो सन्दर्भमा त्यसो गर्ने सामथ्र्य आफूमा नहुँदा र विदेशी दाताहरु मा भर पर्नुपर्ने अवस्थामा दाताले उपलव्ध गराएको रकम समेत फ्रिज हुने अवस्था आउनु बिडम्बना नै मान्नु पर्ने हुन्छ । तर पनि हालै एक वर्ष पुगेको उपलक्ष्यमा सम्पदा पुननिर्माणको शुभारम्भ हुनु ढिलै भएपनि सुखद् समाचार हो ।

युनेस्को लगायत दाता राष्ट्रहरुले विभिन्न सम्पदाको क्षेत्रको जिम्मा लिएर कामको थालनी हुन लागेको बुझिएको छ । तरपनि पुरातात्वीक सम्पदा संरक्षण र पुनर्निर्माणको लागि मात्र समर्पित एउटा एकिकृत कार्यक्रम ल्याएर अगाडि बढ्न जरुरी देखिन्छ । इजिप्टको उदाहरणले युनेस्को जस्तो विशिष्टिकृत संस्थाले सम्पदा पुनर्निर्माणमा नेतृत्वदायी भूमिका निभाउन सक्ने देखिन्छ । तसर्थ यसको लागि युनेस्कोसँग समेत समन्वय गरी पुरातात्वीक सम्पदा संरक्षण र पुनर्निर्माणको लागि मात्र समर्पित एकिकृत कार्ययोजना मस्यौदा र कार्यान्वयन गर्न सँस्कृति मन्त्रालय, पुरातत्व विभाग र पुनर्निमाण आयोगले ढिलो गर्नु हुन्न ।

13383726_10209814150896463_1764825029_o
अबुसिम्बेल जुम्ल्याहा मन्दिरहरु

13405596_10209814154216546_239699794_o
अबुसिम्बेल मुख्य ठूलो मन्दिर

13288674_10209814160056692_459959106_o
अबुसिम्बेलबाट देखिने नास्सेर ताल

13410846_10209814174177045_714446672_o
फिले मन्दिर मुख्य चोक

13389380_10209814194817561_1735862549_o
फिले मन्दिर

13405181_10209814216538104_1152785015_o
फिले मन्दिर साविक ठाउँमा डुवानमा परेको सन् १९६० मा (फोटोको फोटो)

13396609_10209814231898488_324601571_o
फिले मन्दिरको डम्मी संरचना

13401375_10209814238658657_1864966818_n
गूगलम्यापमा देखिने नास्सेर तालको क्षेत्र (रातो घेरा भित्र)

Comments