मेरो Tweet

  • पुतली चिन्दै। यो रहेछ Common Mormon (Papilio polytes) ४०० देखि ६ हजार फिटको उचाइसम्म पनि पाइने रैछ यो https://t.co/NB5V3qK2Rf

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : विचलन

-आनन्द राई-

ए, झर्नुभो आमा ? यतै आउनुहोस् न।

घरबेटी आमैलाई पसलभित्र बस्ने ठाउँ छोडी दिँदै पसल्नी चाहिँ नखोलेको साबुनको कार्टुनमाथि बसिन्। दिउँसोको समय हुनाले पसलमा ग्राहकहरु थिएनन्। बानेश्वरको यो शाखा सडकलाई चैते घाम र धुलिकणयुक्त बतासले लतारिरहेको थियो।

अँ, के गर्दैछस् सुमनकी आमा ? ठाडै निदाइस् कि क्या हो ? तिमेरु बीसे-बाइसे तरुनीहरुलाई त निद्राले पनि खुब मन पराउँछ। नातिनी पनि तेरो भानिजसँग पढ्ने झरिगई। एकछिन सुत्‍न पर्‍यो भनेर पल्टेकी थिएँ, निद्रा लाग्नु त कता हो कता ढाड मात्रै बिझायो। …अनि यता झरेकी पहिला, हातले टेकेर अडी अडी बस्दै आमैले भनिन्, उमेरले छोडेपछि उठ्न पनि गार्‍हो बस्न पनि गार्‍हो।

पसलमा बस्दाबस्दै उङ्न लागेकी पसल्नीलाई घरबेटी बूढी गफिन आउँदा मजै लाग्यो। सत्र वर्षदेखि वैधव्य जीवन बिताइरहेकी आमैको एक्ली छोरी महाराजगञ्जमा बस्थिन्। तिनै छोरी सुत्केरी परेकीले उता गएकी आमै महिना दिनपछि हिजो मात्रै घर फर्केकी थिइन्। छोरीलाई सुत्‍केरी हुनुअगाडि नै बानेश्वर ल्याउने विचार थियो आमैको। तर मधेशतिरका घमण्डी इञ्जिनियर ज्वाइँले मानि दिएनन्। जेठो छोरा सपरिवा अमेरिका बस्थे। बूढी खासमा जेठोलाई अमेरिका जान दिने पक्षमा थिइनन्। तर केही नलागेपछि ठूली नातिनी चाहिँ खोसेर आफूसँगै राखेकी थिइन्। कान्छो छोरा रवि र नातिनी खुश्बुसँगै आमै सिरान तलामा बस्थिन्। प्रभावशाली विद्यार्थीसमेत रहेका रवि घरमा कमै अडिन्थे। चौध वर्षीया नातिनीको स्कूलमा आन्तरिक परीक्षा आएको हुनाले पढ्ने छुट्टी थियो।

दुई वर्षअघि यो घरको बीच तलामा डेरा सरेपछि भूँइतलाको एउटा सटरमा दोकानसमेत खोलेकी पसल्नीलाई प्रायःजसोले रविकै सिको गरेर दिलमाया नाममा भाउजु जोडेर सम्बोधन गर्थे। घरबेटी आमै चाहिँ दिलमाया कै छोराको नाम जोडेर सुमनकी आमा भन्थिन्। गोरो वर्ण, मिलेको नाक नक्सा र बन्किलो शरीरकी व्यवहार कुशल दिलमायालाई छोरी झैँ गरेर अर्ती-स्नेह पनि दिइरहन्थिन्। दिलमाया पनि बूढियाको कुरालाई ध्यानपूर्वक सुन्दै सही थाप्थिन्। नत्र आजकल बूढाबूढीको कुरा को सुन्छ र ?

मैयाँको जीउ हलुङ्गो भइहाल्यो। रहर गरे अनुसार छोरै भएछ। अब त जानु पर्दैन होला, हैन आमा ? आमै सजिलोसँग बसिसकेपछि दिलमायाले सोधिन्।

अब केलाई जानु परेको छ र ! सुसार गर्ने एउटी आइमाई छे जे गर्नु त्यसैले गर्ली। अँ, अनि के भो त तेरो जग्गाको मामला ? सकियो ?

आमैको हिमाल झैँ कपालमा अल्झिन पुगेको धागोको एउटा त्यान्द्रो टिपिदिँदै दिलमायाले उत्तर दिइन्, खै के भन्नु र आमा, त्यसमा त झमेला परेर हैरान भयो नि धन्न सानोबाबु हुनुहुन्थ्यो र कत्रो मद्दत गरिदिनु भयो। कति दिन त पसल बन्द गरेर हिँड्नुपर्‍यो। बिचरा रविबाबु सार्‍है जाति हुनुहुन्छ आमा।

खै के जाति भन्नु र ? यी बज्याबजिनीहरुले त मेरो मासु खाइसके। …ए नानी, लौ न तेरो सिपालु हातले मेरो कपाल ठुंगी दे दे। दिलमायाले छोइदिएपछि आमैको कपाल सक्सकाउन थालिसकेको थियो। विस्तारै ढल्केर टाउको दिलमायाको काखमा राखिदिइन्।

एकछिन घरमा बस्दैन। आज पनि बिहानैदेखि बेपत्ता छ। त्यो भतिजीलाई यसो पढाइ दे न बाबु भन्यो….छैन। फेल भई भने जेठालाई मैले के जवाफ दिनु ? …साँच्ची तेरो भान्जाको नाम के रे नानी ?

रमेश

हो रमेश। दश खेप सोध्यो बिर्सिजान्छु….। बरु त्यसले पो राम्ररी सिकाइ दिँदो र’छ। तँलाई पनि सघाएकै देख्छु। कति ज्ञानी केटा।

उतिखेरै मम्मी भोक लाग्यो भन्दै साढे चार वर्षे सुमन स्कूलबाट आइपुग्यो र रित्तो टिफिन क्यारियर सो केश छेउमा राख्‍दै पसलभित्र छिर्‍यो।

ए, लौ, कति चाँडो तीन पनि बजिसकेछ, दिलमाया झस्किइन्।

लु आइज नाति ! राजा बस्ने ठाउँमा भ्यागुताको ठसमस् हगि ? तेरो गद्दीमा त म बूढी पो बसेछु, सीधा भएर बस्दै आमैले भनिन्। सुमन आमाको काखमा गएर बस्यो। उसका पुक्के गालाहरु घाममा रन्किएर राताराता भएका थिए। दिलमायाले छोरालाई काखमा राखी राखी र्‍याकमुनिबाट आधा दर्जन मालभोग केरा निकालिन्। सुमनले तानेर सबै लिइहाल्यो।

त्यसो नगर न बाबा। खै त….खै, खै, हजुरआमालाई पनि दिउँ। नत्र हजुरआमा रिसाउनु हुन्छ- उठ्दै गरेको छोरालाई दिलमायाले तानेर काखैमा राखिन्। लोभी मोरो- आमैले सुमनको गाला थप्थपाइन्।

ल छोरा, माथि कोठामा जाउ र लुगा फेरेर केरा खाँदै गर। एकछिनमा म आउँछु र बाबालाई फेरि दूध र अण्डा बनाइदिन्छु। दिलमायाले छोरालाई उठाइन्।

बिस्कुट पनि है मम्मी !

सुमन दोकाबाट निस्केर माथिल्लो पट्टीबाट सिँढीतिर मोडियो। सिँढी चढ्दाचढ्दै आमा चाहिँ कराइन्- वल्लो कोठामा भान्दाइ र खुश्बु दिदी पढ्दै हुनुहुन्छ। डिस्टर्ब नगर है बाबा।

अनि ऐ नानी, तेरो सुमनको बाउले पैसा कहिले पठाउने भो त ? फोन गर्दैछ ? आमैले कुरा झिकिन्।

पैसा त भएको जति सबै अस्ति नै पठाइहाल्नुभएको होला। घडेरीमा लगाइहालियो। फोन चाहिँ अस्तिको हप्ता पनि गर्नुभएको थियो। अहिले त उता पनि त्यति राम्रो छैन अरे। छँदाखाँदाको जागिर छोडेर हिँडेको मान्छे…..हेरौँ के हुन्छ। एउटा ग्राहकलाई साबुन र टुथपेस्ट दिँदै दिलमायाले उत्तर दिइन्।

अलिक होस् गरेर व्यवहार गर है नानी। लोग्नेलाई पनि अलिक चेप्। हाम्रो जस्तो हुँदै न परायको मुलुकमा। नखरमाउलीहरु कोठी खोलेर बसेका हुन्छन् अरे। लोग्नेमान्छे भनेको रण्डी देख्‍दा घर बिर्सिने जात हो। ….गा’को पनि दुई वर्ष पुग्यो हैन ?

“उन्नाइस महिना भयो….” दिलमायाले वाल्ल पर्दै उत्तर दिइन्।

जग्गा भएपछि घर बनाउने मेसो पनि मिलाउनु पर्छ। आफू पनि होस गर। नचिन्नेहरुलाई तँलाई एउटा बच्चाको माउ भन्दैनन्…। मात्तिएलिस्। बूढीले साँचो मनले अर्ति दिइन्।
”छ्या आमा पनि…।”

”के छ्या भन्छेस पाँ पाँचवटाकी आमाहरु पनि ६ महिना लोग्ने बाहिरिँदा भूँडी बोकेर बेहाल भा’का छन्। लोग्ने चाहिँले त अर्की भेटिहाल्छ, छोराछोरीको पो बेपत्ता हुन्छ। टाढाको कुरा के गर्नु….” बूढीले आँखा चनाखो पारेर बाहिर हेरिन्। कोही आएका थिएनन्। ”माथ्लो तलामा तिमेरु आउनु अगाडि एउटी फूँडी बस्थी। लोग्ने चाहिँ उता जापान हो कि कता गा’थ्यो। पैसा पनि साफ्फी नै पठाउँथ्यो। राँडीले यहाँ नागा नचाउन थालिहालिछे ! हेर है उसको निको चाला नदेखेपछि सम्झाउनलाई यसै खै-खबर गर्न खोज्दा ‘महिना पुगेपछि भने जति भाडा दिएकै छु अरु कुरा तपाइँलाई के मतलब’ भन्दै उल्टै च्याँठिन्थी।”

एकक्षण अडिएपछि स्वर अलिक सानो पारेर आमैले भनिन्- ”पछि त राँडीले सात महिना पुगिसकेको पाठो फालिछे। नन्द चाहिँले थाहा पाइछे, धुनधान गरेर थुनाइ। आइमाइको चाहिँ मति बिग्रेपछि त नानी….।”

त्यति नै बेला भुइँतलाको पछिल्लो कोठामा बस्ने ठकुरानी चिरीच्याट्ट परेर आइपुगी। तीन महिना अगाडि बिहे भएर लोग्नेसँग काठमाडौं आएकी गोरखपुरकी कृष्णवर्णी ठाकुरानी बीसी एक्काइस वर्ष जतिकी थिई। ऊ पसलमा दूध र पाउरोटी लिन आएकी थिई। पल्लो चोकमा स्यालुन खोलेर बसेको उसको लोग्ने खाना खान आउने बेला भएको थियो।

”हेर यो मधेसिनीको चाला ! हेर नक्कल यसको ! दिनभरि ऐना हेर्‍यो पोइ पर्ख्यो। यस्ती डँडाक तरुनीको काम त्यति छ। हैन यो मधिसे मोराहरुको स्वास्नी चाहिँले सिन्को भाँच्नु हुँदैन कि क्या हो, हँ ?” आमैले चखिलो पाराले विषय बदलिन्।

दिलमायाले मुसुक्क हाँस्दै पाउरोटी र दूध सो-केशमाथि राखिदिइन्। ठकुरानी पनि मुसुक्क मुस्कुराई। बाक्लो लिपिस्टिक पोतिएका उसका ओठहरु बिस्तारै चलमलाए। मसिनो स्वरमा भनी- ”उहाँ गाउँमे खेतीवाडीको काम भइजान्थ्यो । इहाँ त…।”

ठकुरानीको सरलता देखेर आमैको बूढो अनुहारमा स्नेहयुक्त मुस्कान फैलियो। फेरि जिस्काइन्- ”गाउँमे त खेतीवाडी गर्थिस्। अब यहाँ चाहिँ दिनभरि नक्कल पार्दै मुर्कुट्टालाई खान र सुत्‍नमा साथी दे मोरी !”

”अहिले त त्यसमै ठीक छ आमा ।”

दिलमाया खित्का छाड्न थालिन्। बूढीमान्छे खित्का छोड्न नसकेर खोक्न थालिन्। ठाकुरनी वाल्ल परी।

ठीक त्यति नै बेला सुमन पसलमा प्रकट भएर बडो शङ्कास्पद हाउभाउमा इसारा गर्दै आमालाई बोलाउन थाल्यो। चाल रहस्यमय थियो। मुखले केही बोलिरहेको थिएन। तर ओठमा अर्धमुस्कान थियो।

”के भन्छ छोरा ?” उठ्ने उपक्रम गर्दै घरबेटी आमैले भनिन्- ”लौ म पनि गएँ। खुश्वु भोकाई। बेला बेलामा खान पाइन भने रुन्छे पो त्यो त।”

”के भो छोरा ? किन भन त…?” दिलमायाले सोधिन्। सुमनले चोर औंला ओठमाथि सङ्केत गर्दै अर्को हातले एक पटक माथि जाउँ भन्ने इसारा गर्‍यो। ”आमा एकै छिन् बसी दिनुस् है। यस केटाले त हैरान पार्छ।… ए ठकुरानी लौ तिम्रो सामानहरु लैजाउ।”

”लिख्नुको छ… दिदी”

दिलमाया पसल बाहिर निस्कनासाथ छोरा चाहिंले ट्याप्प उनको हात समात्यो र सिंढीतिर तान्यो। तलमाथि पुगेपछि फेरि एकपटक ‘चुप’को सङ्केत गर्दै आमालाई त्यहीं उभिन लगायो र पन्जाको भरले टेकेर भान्दाइको ढोका अगाडि उभियो। एक निमेष सङ्कोचयुक्त नजरले आमालाई हेर्‍यो अनि ढोकाको कि-होलमा आँखा राख्यो। त्यहाँबाट तुरुन्तै आँखा हटाएर अलि-अलि हच्किँदै इसाराले आमालाई बोलायो। आमा नजिक आएपछि कि होलतिर संकेत गर्‍यो। छोराको रहस्यमय गतिविधिबाट उत्सुक बनेकी दिलमायाले कोठाभित्र चियाइन्।

हे भगवान् ! यो के देख्‍नुपरेको !! हे कली !!! बूढीले थाहा पाइन् भने ? उनी अत्तालिन थालिन्। मुटु जोडले उफ्रन थाल्यो।

भित्र कोठामा किताबहरु टेबुलभरि छरिएका थिए। पट्टाएर राखेको सिरकमाथि भान्जाको बुट्टेसर्ट मिल्किएको थियो। खुश्बु सिरानी लगाएर फ्लोर कार्पेटमाथि पल्टेकी थिई। उसको टिसर्ट उँभो सरेको थियो। भान्जा र खुश्बु आपत्तिजनक अवस्थामा थिए।‌

दिलमायाको सर्वाङ्ग कामेर आयो। लौन नि अब के गर्ने ? कराउने ! के भनेर कराउने ? उनले तत्काल केही निर्णय गर्नै सकिनन्। दिमाग शून्य भएर आयो। अचानक केही सोचे झैँ गरी फेरि चियाइन्। रमेश र खुश्बु दुवैको जिन्स प्यान्ट यथास्थानमा नै थिए।

दिलमायालाई अलिकति राहतजस्तो भयो। छोरातिर पुलुक्क हेरिन् सुमन नजर भगाउँदै मुस्कान दबाइरहेको थियो।

उम्रिँदैको तीन पाते ! दिलमायाले दाह्रा किटिन्। गाला चड्काइदिन उठिसकेको हात मुस्किलले थामिन्। निमेषभर के गरौं र कसो गरौंको किंकर्तव्यविमूढतापछि हान्निएर आफ्नो कोठामा पसिन्। छोरा पनि पछि-पछि लाग्यो। तर कोठामा सङ्कटको समाधान थिएन। उता के भइसक्यो भन्ने पिरोलोले औडाहा भइरहेको थियो। यत्तिक्कैमा फनक्क फर्किइन् र भान्जाको कोठा अगाडि जोडदार रुपमा चप्पल पड्काउँदै तल झरिन् अनि आफूलाई भरसक सामान्य बनाउने प्रयास गर्दै भनिन्- ”आमा ल अब जानुहोस् ।”

”के भएछ ?” बल गरेर उठ्दै बूढीले सोधिन् ।

“केही पनि हैन आमा ! यो छ नि एउटा तीनपाते कली व्यक्त भएजस्तो छ। अहिले नै यस्तो छ झन्…” दिलमायाले हत्तपत्त भनिन्।

“अँ कली चाहिँ धपक्कै बलेको छ। होस गर। ल म चाहिँ हिँडे। खुश्बु भोकले मरिहोली।”

दिलमायाको मन पोलेको पोलै थियो। माथि के भइसक्यो आमै चाहिँ खुश्बुको रट लगाको लगाकै थिइन्। बूढी सिंढीमा पुग्दानपुग्दै उनी फुत्त बाहिर निस्किन् र उँभो हेरिन्। झ्यालमा पर्दा टम्म मिलेको थियो। उनलाई पसेर दुईटैलाई बेस्सरी भकुर्न मन लाग्यो। तर सोचेर बस्ने समय थिएन। टोलै थर्किने गरी कराइन् -“ए भान्जा ! ए रमेश भान्जा !! हैन किन नसुने झै गर्‍या हँ !!! दिनभरि ढोका थुनेर बसिरहने, तल झर्नु पर्दैन ?”

दिलमायाको अनुहार उत्तेजनाले तम्तमाइरहेको थियो। सुमन चाहिँ खाजासाजा बिर्सेर चुपचाप बसिरहेको थियो। एउटा ग्राहक आएर कोकाकोला र चुरोट माग्दै सो केसछेउको मुढा तानेर बस्यो। सफारी सुट र सनग्लासले सजिएको त्यो अधबैँशे ग्राहक आरामसाथ तिर्खा र अम्मल मेट्न थाल्यो। ग्लासभित्रका उसका आँखा अझ तिखा भएर उत्तेजित साहुनीको चाल र चेष्टाहरुसँगै दौडिन थाले। उसका आँखाहरुले आफ्नो आकार अहङ्कार नापिरहेको चाल पाएपछि दिलमायाले तीरजस्ता तीखा आँखा पारेर सोधिन् अरु के चाहिन्छ दाइ ?

आजलाई यत्ति नै भलादमीले ङिच्च गर्दै सहज उत्तर दियो। निर्लज्ज दिलमाया भित्रभित्रै मुर्मुराइन्। त्यति नै बेला बुट्टे सर्टमा ठाँटिएर भान्जा आइपुगे।

किन कराउनुभएको माइजू ?

दिलमायाले पुलुक्क हेरिन्। भान्जा चाहिँ उनैलाई हेरिरहेका थिए। न कुनै लाज, न त कुनै धक मानौँ केही भएको छैन। अलिकति कुरीकुरी त लाग्नुपर्ने हो नि, कस्तो बित्पाते ! दिलमायालाई फेरि झनक्क रिस उठ्यो।

किन नि अब….ल यहाँ पसलमा बस्नुस्। त्यो दाइसँग पैसा लिनुस्, उनी च्याँठिइन्। आमा र भान्दाइको मुखतिर हेर्दै कुटील मुस्कान दबाइरहेको सुमनलाई पनि आँखा तरेर हेरिन्। ऊ सडकतिर हेर्न थाल्यो। त्यसपछि र्‍याकबाट चार वटा फूल टिपेर कोठातिर चढिन्।

कोठामा पुगेर थचक्क खाटमा बसिन्। के गरौँ कसो गरौँ भइन्। केही क्षणपछि उठिन् अनि खाजा पकाउनको साटो बाथरुममा पसेर लुगा धुन थालिन्। भिजेका कपडाहरु बाल्टीबाट झिक्दै धुने क्रममा भान्जाको स्कूले प्यान्ट हातमा आयो। टक्क अडिएर त्यसलाई अनौठो गरी हेरिन्। भान्जाको कपडाहरु दिलमायाले नै धोइदिने गरेकी थिइन्। तर, आज उनलाई कसो कसो दिगमिग लागेर आयो। त्यसलाई कुनातिर फ्यात्त फालिन्।

बाँकी कपडँ धोई सक्दावर्दा उनी सामान्य भइसकेकी थिइन्। साँझ पानी पर्न लागेको थियो। उनी बाथरुमबाट निस्कँदा सुमन निन्याउरो मुख पारेर खाटमा बसिरहेको थियो।

के भयो छोरा ?

मम्मी भोक लाग्यो। उसले आँखा पिलपिल पारेको देखेर दिलमायाको मन कटक्क खायो। चिसै हातले छोरालाई टपक्क टिपेर किचेनमा पुगिन्। सुमनलाई बोकी बोकी ग्यास स्टोभ बालेर एकातिर दूध र अर्कोतिर ताई बसालिन्। अण्डा पकाउने भएपछि छोरालाई कुनाको कुर्सीमा राखिन्। ताई तात्दातात्दै फुल फिटिसकेर बत्ती बाली नमस्कार गरिन्। सुमन प्रसन्न भइसकेको थियो।

मम्मी, देउतालाई नमस्ते गर्नु भाको हो ?

हो बाबा

ड्याडीले पनि गर्नुहुन्छ हो ?

अँ गर्नुहुन्छ। उहाँले नै मलाई सिकाउनु भएको ।

सुमन कुर्सीबाट बिस्तारै ओर्ल्यो अनि छेउमा गएर लाडिँदै आमाको कम्मर समायो। दिलमायाले फिटेको फुल ताइमा हालिन्।

मम्मीको बुबु मैले खाको हगि मम्मी ?

हो बाबा, बाबाले खा’को।

ड्याडीले पनि खानु भा’को हो मम्मी ?

ड्याडीले ड्याडीको मम्मीको खानुभयो।

मम्मी, तलको ठाकुर अङ्कलले त ठाकुरनी अन्टीको बुबु खानुहुन्छ त ?

के भन्छ यो ? कैले देखेको ? उनी सशङ्कित भइन्।

चिया-खाजा खान आउँदा अङ्कलले सँधै ठकुरानी अन्टीको बुबु…….

छोराको वाक्य पूरा नहुँदै दिलमायाको थप्पड उसको गालामा बज्रियो।

कलीले छोएको उम्रिँदैको तीनपाते। नाइटो खसेको छैन वेश्या कुरा गर्छन् ? ….ला मर ! ढाडमा अर्को मुड्की थपिन्। सुमनले अररिँदै एउटा हात घुमाएर ढाडमा पुर्‍यायो। अर्कोले गाला थिचेको थियो। आँसुसरी भएको थियो तर रोएको थिएन। दुखाइको अधिकता र त्यसलाई सहँदा परेको बलले गर्दा अनुहारबाट रगत चुहेला जस्तो भएको थियो। अरु बेला छ्यास्स छुँदा पनि रोएर घर उचाल्ने सुमन आज ढिट भएर बसेको थियो। त्यो देखेर आमा चाहिँको रिसको पारो झन् चढ्यो।

जा कोठामा गएर पढन् थाल…सुनिस् ? अर्को मुड्की थपिन्।

हत्प्रम र आश्चर्यचकित भएकी दिलमाया थचक्क कुर्सीमा बसिन्। उनको शरीर जडवत् र मस्तिष्क संज्ञासून्य भएर आयो। नाबालक छोराको कुराले उनलाई कुनै अज्ञात अन्तरिक्षको शुन्य उडानमा हुँइक्याइदिएको थियो। विस्मित आँखाहरु मोल्दै विस्तारै सचेत हुने प्रयास गर्न थालिन्। यत्रैमा कसरी जानेको ? लुकीलुकी चियाउन पो थालेछ। अब के गर्ने ? उनी अस्पष्ट सोचाइमा हराउन थालिन्।

मम्मी ! यत्तिकैमा आक्रोशले राँकिएको तीव्र आवाज आयो। झसङ्ग भएर हेरिन्। ढोकामा सुमन कुनै घाइते सर्प झैँ फुँकार गरिरहेको थियो। आँसु थामिएका उसका कलिला आँखाहरुमा प्रतिशोधको चमक थियो। उसले आफ्नो सानो चोर औँला रिभोल्वर झैँ आमातिर सोझ्यायो।

पख्‍नुस् मम्मी, म ड्याडीलाई रवि अङ्कलले तपाईँको बुबु खा’को भनिदिन्छु, उसले बम विस्फोट गर्‍यो।

बम यति शक्तिशाली र अनपेक्षित थियो कि छोरालाई हपार्न उठ्नै लागेकी दिलमाया तत्कालै धरासायी भइन्। स्तब्ध, अवाक् र आतङ्कित दिलमायाको आँखामा अचानक आँसु भरिएर आए। सङ्लो पानीले माछाको जस्तै भएका विस्मित आँखाहरुले ढोकामा उभिएको छोरालाई धमिलिँदै टाढा हुँदै गएको जस्तो देख्‍यो। उनको ह्रदय कहालिन खोज्यो। तर आँखाको बाँध फुटेपछि फेरि छोराको आँखामा आगो उम्लिरहेको देखिन्। ऊ प्रहार गर्न तम्तयार थियो। छोराको हेराइको सामना गर्न नसकेर दिलमायाका आँखाहरु भूँइतिर लत्रिए। उनको सम्पूर्ण शरीर र आत्मा अपमान, शरम, अपराधबोध र घृणाले गल्न थाल्यो। ओठमुख सुक्न थाले। हे नारान, धर्ती फाटिदिए त्यहीँ बिलाउनुहुन्थ्यो।

हजुरआमा सुदेश्ना आन्टीको नानी पाउनु जाँदा पसल थुनेर अङ्कललाई बुबु खुवा’को…..

दिलमाया कान थुनेर त्यो तातो झिरबाट बच्न चाहन्थिन्। तर हातहरु जड भइसकेका थिए। मुखमा प्रतिकारको शब्द थिएन।

अस्ति राति फुच्चे सुत्यो भनेर अङ्कलले मलाई भूँइमा झारेपछि म एक्लै सुतेको…सुमनको स्वर अड्किन थाल्यो। ….मलाई जाडो पनि भयो। मलाई…….बेस्सरी चित्त दुखेर उसको घाँटी पनि जम्न थाल्यो।

मम्मी, मलाई डर पनि लाग्यो….यति भनेर बर्रर आँसु खसाल्दै चिच्यायो, मम्मी ! सुमन दौडेर आएर कुर्सीमा थुप्रेको आमाको काखमा मुख गाडेर हिक्कहिक्क गर्न थाल्यो। छोराको प्रत्येक हिक्काले दिलमायाको मुटुको कचुर काटिरहेको थियो। आतङ्कले सुकेर बिस्तारै उदासिन हुन थालेका उनका सुश्क आँखाहरुमा फेरि मूल फुट्न थाल्यो। तर पनि छोरालाई टिपेर छातीमा टाँसी हाल्न सकिनन्।

त्यति नै बेला खुश्बु दौडँदै आइपुगी। चुलबुले आँखाले आमाछोरालाई हेरेर छक्क पर्दै भनी, के भयो आन्टी ? कोरियाबाट अङ्कलको फोन छ। होल्डमा हुनुहुन्छ, छिटो आउनुस्। (पहिलो पटक प्रकाशित : Dec 27, 2008)

[तपाईँ पनि आफ्ना कथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा]

Comments