यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

अलविदा कर्ण बोहोरा : निष्ठुरी काल उनका हकमा बेशरम आयो, बेतुकमा आयो, अनायासै आयो

15193524_10209453619310725_1263260794042214543_n गर्भमै हुँदा बुबाको हत्या,दाजुको ब्रेन ह्यामरेजका कारण मृत्‍यु,भाउजुको दुर्घटनामा परी मृत्‍यु, श्रीमतीको दुबै मिर्गौला खराब, उपचारका लागि राखिएकी श्रीमतीको कुरुवा बस्दाबस्दै सुतेकै ठाउँमा निधन। उमेर मात्र ३७ वर्ष।

जिन्दगीको पीचमा हाफ सेन्चुरी पनि पार गर्न नपाउदै वैगुनी यमराजले पत्रकारिता क्षेत्रको एउटा होनाहार प्रतिभालाई आफनो बनाईसकेको छ । सधै अरुको समाचार बनाउने कर्मका योद्धाहरुले आफ्नै सहकर्मीको देहावसानको खबर बुुन्नु कति पीडादायी र कष्टकर हुन्छ भन्ने हामी अनुुभुुत मात्रै गर्न सक्छौं, अभिव्यक्त गर्न शव्दै हुन्न ।

मान्छेको चोला हो । मर्नेपर्ने । पत्रकार बोहरा कर्ण पनि अजम्वरी थिएन्न । तर निष्ठुरी काल उनका हकमा बेशरम आयो, बेतुकमा आयो, अनायाशै आयो। अप्रत्याशित आयो र अल्पायूमा नै आयो । यस अर्थमा यो क्रुर कालप्रति सदा, सदैव सबैको घोर आपत्ति र घृणा छ, रहिहरनेछ । यमराज पनि यदि जीवन हो भने, चीरकालसम्म तेरो सत्यानाशै मात्रै भैरहोस । छन यदि लोकमा भगवान भने तेरो कहिल्यै भलो नहोस । यो आशुु, आशुु र आशुुको बियोगान्त शोकको घडीमा पूर्ण कटाक्ष त्यो निर्दयी कालप्रति ।


बोहरा कर्ण हुन स्वर्ण सिंगै नेपाली पत्रकारिता आकाशका । प्रकृतिको सुुन्दर भूूगोल, नेपालको स्वर्ग सुुदुुरपश्चिमबाट नेपाली पत्रकारिता उदाएको असल कलम सिपाही हुन कर्ण । नामले कर्ण उनी स्वर्ण हुन । सुन नै हुन । २४ क्यारेटकै असली सुन हुन सुुन ।

पत्रकार कर्णलाई पत्रकारिताको स्वर्ण भन्नुु कुुनै काल्पनिक शव्द उपमा मात्रै होईन । ३७ बर्षे लक्का जोवनमा उनले गरेको सूचनाको खेती, संचारको कर्म र देश र जनताप्रति देखाएको पत्रकारिता कर्मको फल हो । एउटा केटो मष्तिष्कले सही र गलत छुुट्याउन, खुट्याउन सक्ने भएदेखि नै कलम लतमा फस्यो । त्यो पनि सुविधासम्पन्न राजधानी खाल्डोबाट हैन, सूूर्य पनि अस्ताउन मात्रै सुुदुुरपश्चिमा जान्छन भनेर मानिने त्यो कंचनपुरबाट, त्यो विकट, सुदुुर भूूस्वर्गबाट । उदायो उ सौर्य भएर पश्चिमबाटै, चम्किरहयो पुरै गोलाद्र्धभरी, आकाशैभरी ।

मान्छे बाच्ने भनेकै उसका असल कर्महरुमा न हो । यस अर्थमा पत्रकारिताका स्वर्ण कर्ण जीवन्त छन, जुुग जुुग पर्यन्त । सुुदुुरपश्चिममा उनले चलाएका दैनिक, साप्ताहिक वा एफएम कहिल्यै समाचार दुनियाँबाट बिरानो हुने छैन्न । समाचारकर्मका सधै अव्वल, सधै अग्र र शीर्ष कर्ण सधै चिरन्जीवि छन, रहिरहन्छन ।

कर्णको भौतिक उपस्थितिमा अचानक लागेको स्थायी पूर्णबिरामका बावजुत पनि कर्ण सदाकाल हामीसंगै छन, माझमै छन, उनका कलमले बुनेका खबर तरंगमा, अक्षरहरुमा, आवाजहरुमा । सुुदुुरलाई राजधानीसंग जोड्ने त्यो कलम सिपाहीले जीवनसंग विश्राम लिए पनि कर्मसंग लिएको छैन, हैन । उ स्वर्ण नै हो, सुदुुरको ऐना काठमाण्डुुलाई देखाईदिने, त्यहाँको सुन्दरतालाई सिंगै देश विदेशमा पस्किदिने । त्यो विकट भूूगोल, जीवन, सभ्यता र संस्कृतिलाई सिंगै देश, विदेशसम्म जोडिदिने । सिंहदरवारले सुदुुरलाई पीठ्यू फर्काएर उभिए पनि कर्णका कलमले त्यसको प्रतिवाद गरयो, गरिरहयो । अनि उ न मर्छ, न झुुक्छ, न थाक्छ नै । अविरल छ उसको कर्म यही दुनियाँमा । छैन र ?

कर्णहरुको जोश, जाँगर र उमंग थिएन भने शायद सुन्दुर सुदुर यसरी काठमाण्डूमा पोखिदैन्थ्यो, दुनियाँका आँखा र मन मष्तिष्कमा कैद नहुन सक्थ्यो । आफैं कर्णहरु कलम कर्ममा नहोमिएका भए, कहाँ यति विघ्न मुलधारे पत्रकारितामा सुदुुर समेटिन्थ्यो होला र ? त्यसैले त कर्ण स्वर्ण हुन ।

परमेश्वरसंग उनको वैकुण्ठवासको प्रार्थना गर्नु शिवाय केही छैन अब उपाय । तै पनि उनी जीवन संगिनी ममतालाई उपचार गराउदा गराउदै आफैं क्रुर कालको कोपभाजनमा परेकोले सिधै स्वर्गवासका लागि हकदार छन । वास होस त्यस्तै सुुन्दर, सुुखद, सफल परलोकमा पनि ।

पंत्तिकारसंग कर्णको सहकार्य २०५७ मा सुुरु स्पेशटाईम दैनिकको व्यानरमुनी भएको थियो । सुुुरुदेखि अन्तिमसम्म उनी त्यसको संवाददाता रहे ।
स्पेशटाईम बन्दपछि उनी च्यानल नेपालतिर लागे । हामी अन्तै लाग्यौं । मेरो जिम्मेवारी स्र्पोर्टसमा भएकोले प्रायः उनी गजेन्द्र थापा, रोशन राउत र पंत्तिकारसंग खेलकुदमा रिर्पोटिंगका बेला सम्पर्कमा हुन्थे । कहिलेकाही काठमाण्डुु आउदा सिंगै एउटा भद्रता, सुुन्दर, सुुसंस्कृत र मिजाससंग साक्षत्कार हुन्थ्यो । बढी उनी जिल्ला व्यूरो संयोजक विश्वनाथ आचार्यको सम्पर्कमा रहन्थे ।

ठयाक्कै मिति याद नभए पनि २०६३ कात्तिकको तेस्रो साता उनको कर्म थलो कंचनापुर, धनगढीमा पंत्तिकारको भेट भयो । एभिन्यूज टेलिभिजनको जिल्ला व्यूरो छनौटको शिलशिलामा अभिभावक पत्रकार केदार कोईरालाको नेतृत्वमा वरिष्ठ क्यामेरापर्सन नवराज अधिकारी, चालक वजरंग चौधरी र पंत्तिकार बिभिन्न जिल्ला हुदै सुदुुर पुुगेका थियौं । हाम्रो टीमले दोधारा चाँदनी पुुग्नुु अघिल्लो रात कर्णसंग बिताएको थियो । बडा रंगिन साँझ थियो त्यो । सबै खर्च कर्णकै । शायद केदार दाई, नवराज दाई वा वजरंगलाई त्यो यात्राका प्रसंग आउदा कर्णको न्यानो आतिथ्यताको उचाईले कहिल्यै नछोड्दो हो । पछि फर्कदा पनि बिदाई लिएरै आयो हाम्रो त्यो टोली । मंसिर ५ को शान्ति संझौताको रिर्पोटिंगको क्यामेरा वर्क नवराज दाईले बडा हतारमा त्यही यात्राको उत्कर्षमा गर्नुुभाथ्यो । त्यतिबेला उनी एक दैनिक र साप्ताहिक चलाउथे स्थानीय तहमा । निकै चलेका पत्रिका थिए उनका ती ।
क्र्णसंगको भौतिक भेट लगभग त्यति नै हो । पछि उनी लामो समय पंत्तिकारको उठवसमा रहेन्न । उनलाई नेश्नल टेलिभिजनमा उतिसारो स्थान दिन सकिएन । कारण न्यूज २४ मा उनी आवद्ध भैसकेका थिए । सहकर्मी प्रेम बानियाँसंगको उनको घनिष्टताले पनि शायद उनलाई नेश्नल टेलिभिजनतिर लम्कनै दिएन ।

सुुदुरको वैभवलाई नेपालका टेलिभिजनहरुले विशेष महत्वका साथ कभरेज गर्ने गरे पनि त्यसमा बाजी मार्ने टेलिभिजन थियो नेश्नल । विशेष न्यूजका अलवा कर्णाली पारिको नेपाल होस वा पश्चिमका कुरा । यस्ता कार्यक्रमका कारण सुदुुरमा नेश्नललाई आफ्नै ठान्थे सबै दर्शक । त्यसको पदचापमा पछि मात्रै एभिन्यूज र न्यूज २४ हिडे ।

कर्णले त्यो कर्म पुरा गरे २४ मा र अन्य उनी आवद्ध मिडियाहरुमा । राजधानीका धेरै मिडियामा उनी आवद्ध रहे । यसैकारण उनी सधै सुदुुरलाई बाँकी नेपालसंग जोड्ने सेतुुपात्र रहे । उनी सधै त्यही बसे, शायद जन्मथलोप्रतिको उनको प्रेमको यो उत्कर्ष थियो । जति पत्रकारिता गरे जन्मथलोको भलोमा समर्पित गरे । उनले केही लेखे भने, बोले भने, खिचे भने आफ्नै जन्मभुमिमा रहेर, उसकै हितका लागि मात्रै गरे । र त, उनी अरु भन्दा उम्दा, अग्ला र जीवन्त रहे ।

जिल्ला पत्रकारलाई समयमा पारिश्रमिक नदिने राजधानीका मिडियाहरुको रोगका शिकार उनी पनि भए भन्ने लाग्छ । जिल्लाका पत्रकार औशी पूर्णेमा तलब लिन आउदा पनि या त नदिने, दिए ढिलो गरिदिने र दिएपछि हाकिमले नै आधा जसो रकम रंगिन रातमा सिध्याईदिने प्रायः रोगी प्रवृत्तिबाट उनी पनि बाँचे होलान जस्तो लाग्दैन, भलै पंत्तिकार त्यो प्रवृत्तिबाट सधै बाच्यो ।

सबै पुस्ताका सबै जातभाईका सबै पत्रकारका वीच प्रिय कर्णसंगका सबैका स्मरणहरु ताजै होलान, सार्वजनिक होलान नै । तर पंत्तिकारको ठम्याईमा उनी कसैका पनि आखाँका नानी जस्तै थिए । कसैका वैरी थिएन्न, सधै सबैका हाई हाई रहे । व्यक्तित्व जस्तै सफा र सुुन्दर कञ्चन मनका कर्ण वाह, कति असल, कति असल । खै असल मान्छे नै चाँडो लाने यमराजले सबैका प्रिय कर्णलाई किन छिटो लग्यो, थाहा छैन । तर उनी विशुद्ध पत्रकारका रुपमा, सुदुरबाट उदाएका सौर्य पत्रकारकै रुपमा सधै बाच्नेछन, बाचिरहने छन । अलविदा कर्ण ।

19 comments to अलविदा कर्ण बोहोरा : निष्ठुरी काल उनका हकमा बेशरम आयो, बेतुकमा आयो, अनायासै आयो