मेरो Tweet

  • पुतली चिन्दै। यो रहेछ Common Mormon (Papilio polytes) ४०० देखि ६ हजार फिटको उचाइसम्म पनि पाइने रैछ यो https://t.co/NB5V3qK2Rf

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
eXTReMe Tracker

छुट्टै वा अखण्डको नारा लगाउन आफ्नो च्यापु बाउँदै गर्दा एकछिन थामिएर सोचौँ – नेपाल के हो ?

– मनोज बाबु पनेरु –

नेपाल भनेको पक्कै केही हो। छुट्टै वा अखण्डको नारा लगाउन आफ्नो च्यापु बाउँदै गर्दा एकछिन थामिएर सोचौ। आफ्नो अनुकुलता र नाफाका आधारमा देशभक्तिको परिभाषा दिन उम्लिदै गर्दा एकछिन सेलाएर सोचौ। हलो अड्काएर राजनीतिक मसलाकालागि तातिदै गर्दा एकछिन चिसिएर सोचौं। सामाजिक संजालमा आफ्नो मत (कुण्ठा) बाचाल गराउँदै गर्दा एकछिन मौन बसेर सोचौं। व्यक्तिको स्वतन्त्रता र स्वार्थभन्दा ठूलो नहोला र देश, नेपाल ?

अखण्ड सिमाना भित्रको भुगोलमात्र होइन देश, त्यो भुगोलसँग जोडिएका हरेक बासिन्दाको भावनाका टुक्रा–टुक्राको समिष्टरुप हो, नेपाल। भुगोल र भावानाको जोड, बृहत शब्दकोषले पनि अर्थ्याउन नसक्ने “भुवाना” हो, नेपाल। एउटा फूलबारी हो, रंगिन मिसावट हो, नेपाल। व्यक्तिको स्वतन्त्रताले मात्र नपुग्दा, एकै जात–समूहको अत्मासम्मानले मात्र दिन–नसक्दा दिइने एउटा अग्लो पहिचान “नेपाली” हो, नेपाल।

एकै भेषले दिएको न्यानो होइन, देश। नाङ्गै बस्दा पनि रहने आफ्नै शरिरको ताप हो, नेपाल। हरेक भाषा, हरेक भुगोल, हरेक संकृति सुस्ताउन मिल्ने एउटा ठुलो चौतारी हो, नेपाल। अधिकारका नाममा देशभित्र आपसमा लडेपनि टाढा रहँदा एक अर्कालाई पुकारिने, हरेकको अन्तिम गुहार हो, नेपाल।

तर्क र तर्क जुधाएर निस्केको तत्व होइन, देश। मन मनको रस बटुलेर आर्जेको मह जस्तो हो, नेपाल। देश जोड्ने मनले हो, एक–अर्काप्रतिको सम्मानले हो। एक–अर्काको अस्तित्वको स्वीकार्यता हो, देश। एक अर्काको बाध्यताको बुझाइ हो, देश। सकिन्छ त्यो नेपालका लागि प्रयास गरौ। सकिदैन चुपचाप नबसौं सकेको बल गरौं। होस्टेमा हैसे थपौं। दादागिरी र घुर्क्याइको जातोमा पिसिएको घुन झै “कठै” नपरौं।

इतिहासका हजुरबुवाको शासन सम्झाएर वर्तमानको नातिलाई नपिरोलौं, बरु दोहोर्‍याएर पनाति–पनाति बिच विभेद नगर्ने नियत भएको नियम बनाउँ। हिजो भत्काइएका घरको खर–खुट्टी बटुलेर, आज उभिएको दरबार नपोलौं, बरु त्यस दरबारमा सबैको समान हक स्थापित गरौं। हिजो काटिएका नाक–कान देखाएर आजका सग्ला मन नफोरौं। हिजोका घाउ कोट्एर खिल नपल्ट्याउँ, नबल्जाउँ, लागेका घाउमा खाटा बस्न दिउँ। मलम लगाउँ, फुफु गरौं। आजको ज्ञान र विवेकको धरातलमा उभिएर गरिने इतिहासको मूल्याङ्कनबाट निस्कने एउटै निष्कर्षे हो “इतिहास भनेको अन्याय हो”। हिजोको इतिहासलाई हिजोकै ज्ञान र बिवेकको कसीमा राखेर घोटौं। हिजोको इतिहासको पाठको न्यानोमा र आजको ज्ञान र बिवेकको उज्यालोमा भोलिको भविष्य कोरोलौं। बुझौं, कसै गरेपनि वर्तमानले इतिहास फेर्दैन। आजको प्रयासले फरक पर्न त भबिष्य मात्र तयार छ। हरेक वर्तमानमा इतिहास फरक बुझिने बुझाइने मात्र न हो। आखिर मान्छेले मान्छेकैलागि बनाएको न हो, देश। क्रमसः मान्छेको परिभाषा फरकिलो पार्दै लगेर, बनेको चौडा छाति हो, नेपाल।

छुट्टा छुट्टै पकाउन पर्ने मासु र दुध जस्तो होइन, देश। पाकिसकेको खिचडी जस्तो हो, नेपाल। भात छुट्याएर बाक्लो दाल खाने सपना होइन, बरु यसै खिचडीमा घ्यु थप्ने योजना कोरौं। टुक्रयाउन नदिने धम्की दिएर गरिने “हामी” र “उनी”को बर्गिकरण गर्दै गर्दा। छुट्टै भुगोलमात्र आत्मासम्मानको मानक हो भनेर स्वतन्त्रताको अधिकारको प्रत्याभुति खोज्दै गरिने “हामी” र “उनी”को बर्गिकरण गर्दै गर्दा। सोचौ, दिने भनेका को हौं, लिने भनेका को हौं ?। “हामी” र “उनी”को वर्गिकरण छोडेर, मन मिसाएर र मन माझेर हेरौ, “हामी” र “उनी” मिसिएर बनेको ”हानी“ जस्तो होइन र देश, नेपाल।

2 comments to छुट्टै वा अखण्डको नारा लगाउन आफ्नो च्यापु बाउँदै गर्दा एकछिन थामिएर सोचौँ – नेपाल के हो ?

  • नीमा तामाङ्

    एउटा साँचो नेपालीले बिखन्डनको कुरै गर्न सक्दैन|सहन पनि हुँदैन|
    तर जब देश चलाऊन बिभिन्न पदहरु राजनेताहरुले “आपसमा” खसि काटेर भाग लाएको जस्तो बाडेँको देख्दा कुन नेपालीको छात्ती घोच्दैन होला| आपसमा भन्नाले आफ्नै जात र नातागोता चिनाजानाहरु माझ मात्र|यस्तै मात्र हुँदै आएको छ्| यो बिभेद बिभाजनकारी छ| यस्ता आफु मात्र खाउँ र् आफ्ना मान्छे मात्र हालुँ भन्ने प्रबित्तिले देश टुक्राउछ| आफुले यस्तरी देशलाई लच्चार पच्छार भईन्जेल चुस्दा मुलुक कसरी एउटा ढिको भईरहन सक्छ? कुन जातको हालिमुहाली र् वर्चस्व छ् के यँहा उल्लेख गरीरह्न पर्ला?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    हात माँ भएको देश नै कथा हुन थालिसक्यो, तपाई कल्पना र कबिता लिएर आउनुभयो |यी नखरमाउली
    कल्पना र कबिता कसैका हुन्नान |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)