यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
eXTReMe Tracker

पेटिसनमा हस्ताक्षर गरी भनौँ – सिंहदरबार नभत्काऊ

नेपाल सरकारको प्रशासनिक केन्द्रबिन्दुमा रहेको सिंहदरबार एक सर्वश्रेष्ठ ऐतिहासिक स्मारक मात्र नभई नेपाल राज्यको प्रतीक तथा भौतिक वास्तु सम्पदा समेत रहिआएको छ । सिंहदरबारको मुख्य भवन तथा यसको सुपरिचित अघिल्लो मोहडा (‘फसाड’) सरकारकै भत्काउने योजनाको कारण आज खतरामा परेको छ । यस लापरबाहीपूर्ण योजनालाई निष्क्रिय पार्न तत्कालै प्रतिरक्षा अभियानको आवश्यकता छ ।

१९६० साल मा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका चन्द्रशमशेरका लागि वास्तुविद् कुमारनरसिंह तथा किशोरनरसिंहद्वारा सिंहदरबार निर्मित भएको हो । यो इमारत चन्द्रशमशेरको दरबार भएदेखि नै नेपाल राज्यको प्रशासनिक केन्द्र रहेको हो भने पछि सरकारको सचिवालयमा परिणत भयो, जहाँ अधिकांश मन्त्रालयहरू रहिआए । कुनैबेला एशियाकै सबैभन्दा ठूलो र भव्य भवन मानिएको सिंहदरबारको अधिकांश भाग २०३० साल को भीषण आगलागीमा नष्ट भएको थियो भने अघिल्लो ‘फसाड’ लाई ब्लास्टिङ गरेर बचाइएको थियो ।


सिंहदरबारको अघिल्लो मोहडा तथा भित्रीभाग बचाउन अति आवश्यक छ, किनकि यसभित्र राणाकालीन वास्तु सम्पदाका उच्च नमूना रहेका छन् । अन्य महत्वपूर्ण हल र ग्यालरीहरूका साथै यहाँ राजकीय सम्मानको थलो बेलायती बैठक रहेको छ, जहाँ गहकिला झाडपानस्, ठूल्ठूला ऐना, रङ्गीन काँसका ढोका तथा बेलायती मेच–टेबलहरू रहेका छन् । बेलायती बैठकबारे आमजनता अनभिज्ञ छन्, किनकि यो सार्वजनिक राष्ट्रिय सम्पदा हुँदाहुँदै शासकहरूको आवतजावतको स्थलमा सीमित राखिएको छ । बेलायती बैठक भत्काउँदा पूरै मुलुकलाई क्षति पुग्नेछ, किनकि राजकीय समारोहका लागि यत्तिको गरिमामय प्रांगण अर्को छैन ।

हामीले यो कुरा सर्वप्रथम बुझ्नु जरूरी छ कि, सिंहदरबारको अघिल्लो मोहडा जनताका लागि दृश्यसम्पदाको रूपमा नेपाल राज्यको प्रतीक रहेको छ । यो मोहडाले आमनागरिकलाई राज्यको स्थिरताको भावना दिलाउँछ; जतिबेला द्वन्द्वकाल, भागबन्डाको राजनीति, कर्मचारीतन्त्रको राजनीतीकरण तथा बाह्य हस्तक्षेपले नेपालको राजकाज खल्बल्याएको छ ।

वैशाख २०७२ को भूकम्पपश्चात् सम्बन्धित निकायहरूले नेपाल सरकारको मातहतमा रहेको भवन–सम्पदाहरूलाई संरक्षण र पुनःनिर्माण गर्नुभन्दा भत्काउन योग्य बनाएको देखिन्छ । नयाँ भवन बनाउँदा हुने अनेकन् आकर्षणले सरकारी नीतिमा असर परेको देखिन्छ । उता भुईंचालोपश्चात् प्रयोगका लागि खतरापूर्ण भनी अधिकांश राणाकालीन इमारतहरूलाई पहेंलो नभई रातो स्टिकर दिनु नै सम्बन्धित इन्जिनियरहरूले निजी जोखिम उठाउन नचाहेको प्रष्ट छ।

हाम्रो बुझाइमा राणाकालीन दरबारहरूको ‘स्ट्रक्चरल’ अवस्थाबारे पर्याप्त अध्ययन भएको छैन । उता युनेस्को, पुरातत्व विभाग तथा सम्पदा संरक्षणको दुनियाँको चासो मल्लकालीन तथा यसपूर्वका संरचनामा अड्केकोले राणाकालीन सम्पदाप्रति ध्यान पुगेको छैन । सिंहदरबारलाई राणाकालीन इतिहासको अवशेषको आँखाले नहेरी नेपाल राज्यको प्रतीकको रूपमा लिई यसको संरक्षण अत्यावश्यक भएको छ ।

जानकारीमा आए अनुसार शहरी विकास मन्त्रालयका पदाधिकारीले पुरातत्व विभागलाई सिंहदरबारको अघिल्लो मोहडा भत्काउन दबाब दिइरहेछन् । पुरातत्व विभाग दबाबसामु निरीह छ । आफ्नो ‘स्ट्रक्चरल इन्जिनियर’ नभएका कारण पनि मन्त्रालयको प्रतिवेदन अध्ययन गर्ने क्षमता विभागको छैन ।

मन्त्रालयको प्रतिवेदनमा इतिहास, संस्कृतिलगायत नेपाली जनताको भावना समेटिएको देखिंदैन र यसबारे हाम्रो आपत्ति छ । हाम्रो ठहर छ कि सिंहदरबारको अघिल्लो मोहडालाई भत्काएर यसको नक्कलमा नयाँ भवन निर्माण गर्नुले नेपाल राज्यको धरोहरमा आघात पुग्नेछ । आजको सामाजिक र राजनीतिक अवस्थामा यसको थप क्षति हुन दिनु सर्वथा अमान्य छ ।

हामी शहरी विकास मन्त्री अर्जुननरसिंह केसीलाई आफ्नो मन्त्रालयको प्रतिवेदन रद्द गर्न सुझाव दिन्छौं भने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललाई मन्त्रालयको प्रतिवेदनलाई स्वीकृति नदिन आग्रह गर्दछौं । हामी माग राख्दछौं कि सम्पदा संरचनाको अवस्था मूल्यांकन गर्दा अनिवार्य सांस्कृतिक र ऐतिहासिक पक्षलाई प्रमुखता दिइयोस् ।

सांस्कृतिक तथा ऐतिहासिक परिप्रेक्ष्यमा सिंहदरबारको मूल भवन र अघिल्लो मोहडा अति महत्वपूर्ण छ । यस इमारतको संरक्षण र पुनःनिर्माण हुनुपर्दछ तथा ‘रेट्रोफिटिङ’ द्वारा भूकम्प प्रतिरोधात्मक गरिनुपर्दछ । राज्यको केन्द्रीय सम्पदा यस परिसरको पुनःनिर्माणमा खर्चको लेखाजोखा हुन सक्दैन । राष्ट्रिय सम्पदाको रूपमा अडेको यस इमारतको नक्कल गर्दै ‘रेप्लिका’ निर्माण गर्नु कदापि उचित होइन ।

हामी यो पनि माग राख्दछौं कि सिंहदरबार अघिल्लो मोहडा सम्बन्धमा रहेको निर्णयक्रम, विभिन्न प्रतिवेदन, खर्च विवरण इत्यादि पारदर्शी होस् । यस
परिसरको पुनःनिर्माण तथा भविष्यमा प्रयोगको विषयको छलफल नेता र कर्मचारीमा सीमित हुनुहुँदैन, यसै कारण सार्वजनिक सुनुवाई अनिवार्य छ । सिंहदरबारको ईंटा र बज्रको महत्व आम जनताको सरोकारको विषय हो ।

यति महत्वपूर्ण सम्पदाको अस्तित्वमा जनताको ध्यान नपुग्नुका कारण खतरामा पर्न दिनुहुन्न । यस पेटिशनमा सही गरिकन सिंहदरबारको प्रतिरक्षा, संरक्षण र पुनःनिर्माणको अभियानमा सरिक हुन हामी तपाईंलाई आह्वान गर्दछौं ।

3 comments to पेटिसनमा हस्ताक्षर गरी भनौँ – सिंहदरबार नभत्काऊ

  • Shankar

    भबन भत्काउने , पुन निर्माण गर्ने आदि काम बाट करोडौ नाफा खल्तीमा हाल्न पाइन्छ त् यी चोर हरुले किन भत्काउदैन ? चोर लाइ पुरातात्त्विक सग मतलब हुन्छ ?

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Santoindi

    haina hatta na patta singha durbar akasmaat bhatkauna parni jaruri kina parecha Arjune lai? Yesto sampada haruko kati mahatwo huncha bhanni kuro kina bujhna nasakeko hola, huna ta neta na paryo..buddhi huncha bhannu ta bekaar nai ho..tesmathi dalchini khayera sansad mai thukne ko jati kura gare pani kam nai huncha..
    Sabai milera k garera bachauna sakincha baru sochna paryo, Janta uthenan bhane sakincha sabai thok ekdin ani haami hereko heryei..
    Kati dukkha lagne kuro..

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • पहिलेका मनु सोध खोज बिज्ञको बास्तुशास्त्र अनुसार भवन बनाउथे अहिलेका मानु रुपको जन्तुले मनगढन्ते हिसाबले तोडफोड योजना बनाउछन ! सम्रक्षण,सम्बर्द्धन होईन कि बिगार्न अरु गुहार्छन ! सात्विक सत्य,तात्विक तथ्य तोडमोड गरेर महत्वहिन बनाउन जानेका छन् महत्वाकांक्षीहरु ,,,,!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0