यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
eXTReMe Tracker

अहो ! पूरै बजारमा मात्र एक जनाको बास, कहाँ गए सबै?

– सुभक महतो –

एक साताअघि हामी रिपोर्टिङका लागि राजधानी काठमाडौंसँग उत्तरी छिमेकी चीनसँग नजिक रहेको नाका तातोपानी पुगेका थियौं। तातोपानीबाट रिपोर्टिङ गर्दै अघि बढ्दै गर्दा हामी तातोपानीको लिपिङ बजार पुग्दा अँध्यारो भइसकेको थियो। त्यही भएर हामी बासको खोजीमा थियौं। अलिक अगाडि सिन्धुपाल्चोकको लिपिङ बजारमा एउटा पसलमा बत्ती बलेको देखियो र हामी त्यहाँ पुग्यौं। भित्र हेर्दा करिब ४५/५० वर्ष उमेरको बुढो मानिस देखिए। पसलमा केही मदिरा, बिस्कुट, चकलेट र अरु केही खाना बनाउने सरसामान पनि रहेछ। हामीले आफ्नो परिचय दियौँ। उसले पनि आफ्नो नाम भन्यो- पासाङ शेर्पा। पासाङसँग भएको सबै कुरा हाम्रो क्यामेरामा कैद भइरहेको थियो। त्यही बीचमा मैले सोधेँ, बजारको अरु घरमा किन बत्ति नबोलेको नि? पासाङ कोठाबाट बाहिर निस्किए र बजार देखाउँदै भने, यो पूरै बजारमा ममात्र बस्छु, साँझको ५/६ बजे पछि पुरै बजार सुनसान हुन्छ। राति त यहाँ कुकुर पनि बस्दैन। यहाँ पूरै बजारमा म मात्र छु। किन ? यो बजारमा अरु मानिस किन बस्दैनन्?


उत्तरमा पासाङले भने, २०७२ साल वैशाख १२ मा आएको भूकम्प र त्यसपछि २०७३ सालमा भोटकोशी नदीमा बाढी आएपछि यहाँको पूरै बजार बगायो। अनि यहाँबाट स्थानीय बासिन्दाहरु माथि सरे। भूकम्प भन्दा पनि बाढीले धेरै क्षति गर्‍यो। पहिरो अहिले पनि रोकिएको छैन। तर पनि म बस्छु।

त्यसो भए तपाईलाई डर लाग्छ होला नि ?

रहर होइन बाध्यता हो, डर के लाग्नु। भोको पेटले सबै डर बिर्साइदिन्छ।

त्यसपछि हामी फेरि पासाङको पसल भित्र गयौं, व्यक्तिगत कुरा सुरु भयो। पासाङले सुनाए, भूकम्प आउनु अगाडि मेरो पनि एउटा सुन्दर संसार थियो। तर कसको नजर लाग्यो सबै भत्कियो। मेरो श्रीमती क्यान्सर रोगी थिइन्। भूकम्पमा घर भत्कियो। श्रीमतिको मृत्यु भयो। छोराले हेर्दैन र काठमाडौं बस्छन्। एउटी छोरी थिइन्, बिहे भएर गयो। अहिले त मेरो सहारा कोही छैन, जिन्दगी चलाउनका लागि यही पसलको भर रहेको छ। दिनमा २/४ सयको बिक्री हुन्छ र कति दिन त ग्राहकका लागि बनाएको सामान पनि बिक्दैन।

र, सिरानीमै सुसाइरहेको भोटेकोशी नदीले कति बेला पासाङ शेर्पाको जिन्दगी नदीमा मिल्काइ दिन्छ भने कुनै ग्यारेन्टी छैन। अब त कहिले मेरो जिन्दगी भोटेकोशीले बगाउने हो, त्यसको प्रतिक्षामा छु।

हामीले त्यो रात पासाङकै पसलमा बितायौँ।


भोलिपल्ट….

बिहानै पासाङसँग हामी भूकम्पले भत्काएको घर तर्फ लाग्यौँ। घर पसलकै माथिल्लो डाँडामा रहेछ पासाङको। भूकम्प अघि निकै सुन्दर थियो रे। तर माथिबाट आएको ढुंगाले जिन्दगी नै भत्काइदियो पासाङको।

पासाङलाई त्यहीँ छोडेर हामी लिपिङ बजार तर्फ लाग्यौँ।

Comments