मेरो Tweet


यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : माघुरामको माघी

– कृष्णराज सर्वहारी –

नाम माघुराम थारु, गाउँमा बोलाइने नाम मघुवा, घर कालाबञ्जर, बर्दिया । नागरिकताको उमेर पैतीस तर शारीरिक रूपले एक दशक तानिएर पैंतालिस वर्ष माथि देखिन्छ । उसकी जनेवा (श्रीमती) भेङली र उ समान उमेरका तर जनेवा ऊ भन्दा झन बूढी देखिन्छे । बाह्रैमास चिन्ताको बाक्लो कुहिरोले डम्म ढाकेकाले उनीहरू समयभन्दा पहिले बूढ्यौलीमा प्रवेश गरेझैं देखिन्छन् ।

छ वर्षअघि मुक्ति हुँदा अरु सहकर्मीझैं माघुराम कमैयाबाट मुक्त कमैयाको श्रेणीमा उक्लिएको छ । उसको परिवार कमैयाभन्दा मुक्त कमैया परिवारको रूपमा चिनिएको छ । नाउँ मुक्त कमैया परे पनि उसको परिवार समस्यामा जेलिएर अझैसम्म उन्मुक्तिको सास लिन सकिरहेको छैन । यस्तो लाग्छ, उसका परिवारका सदस्यहरू बाँच्नलाई मात्र सास फेर्ने उपक्रम गरिरहेछन् ।

पछिल्लो पटक नौरंगा गाउँको एक जमिन्दारकहाँ कमैया बसेको माघुरामको बुकुरो त्यही जमिन्दारकै जग्गामा थियो । मुक्ति हुँदा बुकुरोको एउटा खाँबो समेत ल्याउन नपाएकोले हालको उसको बुकुरो कुखुरा बस्ने जस्तो पनि छैन । यो घर जहाँ ऊ बसिरहेको छ । मात्र छ वर्ष अघि तयार भए पनि उसको उमेरभन्दा अझ बूढो देखिन्छ । बरु बञ्जाराहरूको तम्बुवाल घर राम्रो हुँदो हो तर माघुरामको घरमा मात्र घरको अस्थिपञ्जर देखिन्छ, जसमा मासु भर्न सकिएको छैन । फाटेको प्लाष्टिकको छानाले शीतको गाना गाउँदा उसको परिवारको हरेक रात निद्रा बिथोलिन्छ । टुटेको भित्ताले घरमा चिसो सिरेटो हुल्दा उनीहरूको आङमा भ्वाङ पार्छ ।

गेरुवा नदीको किनारमा माघुरामको घर छ । गत वर्षको साउने बाढीले उसको घर बगाएपछि उसको घर नाम मात्रको भएको हो । उसले त्यहाँबाट आफ्नो घर सार्न पनि सकेको छैन । कारण भूमिसुधार कार्यालयबाट रातो कार्ड थमाइएपछि उसलाई बस्ने ठाउँ त्यही देखाइएको थियो । उसलाई देखाइएको जग्गा बाढीको दाइँले बगरमा परिणत भैसक्यो । माघुरामको मन पनि अब त बगरमा परिणत भैसक्यो, उसको मनमा केही उम्रिन सकेको छैन, पूरै बाँझो छ उसको मन ।

केही समय पहिले छेदियाको जंगल क्षेत्र कब्जा गरे मुक्त कमैयाहरूले, बस्ने बासको उचित बसोबासको लागि । दबाबस्वरूप सो जग्गा कब्जा गरेको भनियो । माघुरामले आफ्नो बूढो बाबुलाई अलिकति ठाउँ रोक्न खटायो त्यहाँ । गेरुवा नदीको किनारमा भएको घरमा त उसले फूलबुट्टा भर्न सकेको थिएन । छेदियाको जंगलमा आफ्नो बाबु बस्ने घरलाई उसले के गरी ताजमहल बनाओस् । अजम्बरीको कंकाल त्यही ठड्याइयो र त्यसमाथि परालले जेनतेन छोपियो । उसको बाबुको जेनतेन जीउ अटाउने भयो । उध्रिएको पुरानो कम्बलले माघुरामको बाबुले जाडो थेग्न सकेनन् । उनलाई छेदियामा बसेको अढाई महिनामै यमराजले आफूकहाँ आउने सहर्ष निम्तो दिए ।

माघुरामको बाबु हाँसी–हाँसी यमराजकहाँ गएपछि ऊ रुन पनि सकेन । जेनतेन सतगत, काजक्रिया त ग¥यो तर भोजभतेर समेत दिन सकेन । उसले मृत्यु भोज पनि ख्वाउन नसक्ने छोरो भएकोमा आफूलाई सातपल्ट धिक्का¥यो ।

माघी आएको छ । वर्षदिनको चाडलाई कसरी बिदा गर्ने माघुराम चिन्तामग्न छ । जमिन्दारकहाँ कमैया हुँदाको क्षण माघीको पहिलो हप्ता कम्तीमा निस्फिक्री माघी मान्दथ्यो ऊ । माघीमा नाच्दा नाच्दै त उसले स्वास्नी पनि भित्र्याएको हो । खै त्यो पुरानो माघी ? छ वर्षदेखि उसको बस्तीमा मादलको बोली सुनिएको छैन । माघीमा गाइने मं्रगल गीत धमारको राग उसको मुखबाट झर्नै मान्दैन । उसलाई डर छ, चाडपर्व संस्कृति मेरा छोराछोरीले अब बिर्सिने पो हुन कि !

माघीको पहिले शुरुवात सुवर मर्ना दिन (सुँगुर मार्ने दिन) । अहँ उसले छोराछोरीलाई एक टुक्रा मासु पनि ल्याउन सकेन । १ गते माघे संक्रान्तिका दिन एकाबिहानै, गेरुवा नदीमा नुहाउन हिड्यो । उसले जलदेवतासँग प्रार्थना ग¥यो– ‘हे जलदेवता, मेरो कल्याण गर्ने भए मात्रै पानी भित्रबाट निस्किन्छु होइन भने, तिम्रै शरण परेर जलसमाधी लिन्छु । मलाई मारेको पाप तिमीलाई लाग्नेछ ।’

एक मिनेट पनि नहुँदै ऊ पानीभित्रबाट आथा थु थु गर्दै किनारमा आइपुग्यो । एक हूल मान्छे किनारमा आगो ताप्दै गफिरहेका थिए । धेरैजसोले गए राती माघी मनाएको, सुँगुरको मासु अघाउन्जेल खाएको डकारेर वर्णन गरिरहेका थिए । हुलमध्ये केहीको भने उसको झैं निन्याउरो अनुहार थियो । उसले तुलना ग¥यो– म खानै नपाएर बोल्न सकेको छैन, उनीहरू राती बढी खाएर बोल्न नसकिरहेका होलान् ।

माघुराम गह्रुंगो मन लिएर घरतिर पाइला डो¥यायो । माघी कसरी मनाउने भनी तनावले उसको पाइला उठ्न सकिरहेको थिएन । के सुरले हो, ऊ गेरुवा नदीको पन्टुन ब्रीज पार गरेर कोठियाघाट बजारमा छि¥यो । बजारमा खासै चहल पहल थिएन । दुई साल पहिले माघुले एक होटेलमा दुईदिन काम गरेको थियो । ‘पाछे कौनो दिन काम कै देम वेन आझ माघी मनाइक लग सय रूपैयाँ सापटी दि मालिक ।’ माघुले होटलेसँग सय रूपैयाँ सापटीको अनुनय ग¥यो तर होटलवाला गलेन । उनीहरूको वार्तालाप एक बयोवृद्धले सुनिरहेका थिए ।

मानपुर टपराका जमिन्दार थिए वयोबृद्ध जमुनासिंह । उनले माघुरामसँग अनौठो प्रस्ताव राखे– ‘तिमीलाई रकमको खाँचो रहेछ, मलाई काम गर्ने मान्छे । तिम्रो घरमा दश बाह्र वर्षकी छोरी छे ? नभए मकहाँ कमलहरी पठाइदेऊ । म तिमीलाई भने जति रकम दिन्छु ।’ माघुराम अनखनायो– वा टे हजुर, लकिन भख्खर सात वरस लग्लिस । औरे घर का काम करे सेकी ?’

छोरी भख्खर सातौं वर्षमा टेकेकीले अरु घर काम गर्न सक्दिनँ कि ! भन्ने माघुरामको भनाइलाई भुइँमा झर्न नदिदै जमुनासिंहले सय सयका दश थान ताजा गैंडा उसको हातमा थमाइदिए– के धन्दा मान्छौ तिमी । काम गाह्रो छैन, नेपालगञ्ज मेरा छोरीज्वाँइ कहाँ बस्छे तिम्री छोरी । हाम्रो नातिसँगै तिम्री छोरी पनि बोर्डिङ स्कुल जान्छे । बिस्तारै भात भान्साको काम सिकी हाल्ली । जम्मा तीन जनाको परिवारमा त्यहाँ काम नै के छ र ? लौ तिम्री छोरीको तलब बार्षिक पाँच हजार भयो । खुशीले माघी मनाऊ ।

हजार रूपैयाँ माघुरामले धेरबेर ओल्टाई पल्टाई हे¥यो । भारी मनले बोल्यो– ‘छाई कमलह्यिा लगैना, एकचो जन्नीसे सल्लाह लेहे परि कि हजुर ।’ जमिन्दार जमुनासिंहले उसको काँध थमथमाउँदै भने– स्वास्नीसँग के सल्लाह गर्नुप¥यो, मैले तिम्री स्वास्नीलाई पनि चिन्छु नि, कति सोझी छे, बिचरी । तिमीलाई आफ्नै मान्छे ठानेर पो भनेको त । नत्र त आफ्नी छोरी कमलहरी दिने कति छन् कति !

माघुरामले हजार रूपैयाँ बडो जतनका साथ लिएर हिड्न थाल्यो । जमुनासिंहले भने– ए पख, पख, लौ एक बोत्तल रक्सी लैजाऊ । अनि यो गेरुवा नदीको ठूलो माछा पनि लैजाऊ । एक किलो भन्दा बढी छ । यत्ति भए तिमीलाई माघी मनाउन पुगिहाल्छ नि । यो चाहिं मेरो तर्फबाट तिमीलाई सित्तैमा । माघी धुमधामसाथ मनाएर भोलि ठीक १० बजे यहीं होटेलमा आउनू छोरीलाई लिएर ।

माघुरामले माछा र रक्सी लिएर घरतिर पाइला बढायो । यसपालि उसको वेग रेलको इञ्जिनझैं दौडियो । टाढैबाट जनेवालाई हका¥यो– ‘सुन्ले हेर मै का नल्ले बटुँ ? सुख्लीक डाई ।’ उसको छोरीको नाम सुख्ली रहेछ । आफूले ल्याएको माघीको सामग्री जनेवाको अगाडि राख्यो । बूढासँग एक रूपैयाँ पनि थिएन । बिहान बिहानै माछा र बोत्तलको रक्सी कसरी आइपुग्यो ? स्वास्नीले ईशारामै प्रश्न गरी । माघुरामले धेरैबेर छोरीलाई बन्धकमा राखेर आएको भन्न सकेन ।

उता होटलेले जमुनासिंहलाई भन्दै थियो– ‘त्यति सात वर्षकी फुच्चीलाई बार्षिक पाँच हजार रूपैयाँ ज्याला त धेरै भएन र हजुर । फेरि बोर्डिङ पढाइदिने कुरा पनि गर्नुभयो ।’

जमुनासिंहले जुँगामा ताउ लाउँदै भने– ‘तपाई पनि साहुजी । यी सोझा थारुहरू यस्तै हुन् क्या । भन्नु र गर्नुमा त फरक छ नि । उसकी छोरीलाई भोलि ल्याउन त दिनोस् । कसरी काम गराउनुपर्छ, हामीले जान्या छ । उसलाई अब कुनै थप रकम पनि दिनुपर्दैन । देख्नु भएन बोनसमा रक्सी र माछा दिएको । त्यही उसको छोरीको बार्षिक ज्याला पनि भयो । उसको छोरीको भाग्यमा बोर्डिङ त के सरकारी स्कुलमा पनि पढ्ने लेखेको छैन । बिचरी कसरी पढ्छे । हा हा हा !’ ठूलो स्वरमा हाँस्दै जमुनासिंहले अगाडि भने– ‘खै ल्याउनुहोस् एक बोत्तल वियर र फ्राई माछा । हामीले पनि त माघी मनाउनुप¥यो नि ।

यता असलियत थाहा पाएपछि अश्रुमिश्रित स्वरमा माघुरामको जनेवा आफ्नो थरुवा (लोग्ने)लाई सत्तोसराप गर्दै थिई– ‘कुछ काम नै पाके छाई बेंच्के अइलो । जाऊ यी रूपियाँ घुमा आऊ । मैं भुँखे मर्जैम वेन अपन छाईहे नै बेचम ।’ अरु केही काम नपाएर छोरी बेचेर आउनुभयो । म बरु भोकै मरुँला, अरु घर छोरी कमलहरी पठाउँदिन । जनेवाले त्यसो भनेपछि माघुरामले सम्झायो– ‘कर्रा काम नै हुईन, स्कूल फेन पढा डेहक लग बटाँ (गाह्रो काम छैन रे ! फेरि स्कूल पनि पठाइदिने भनेका छन् ।)

माघुरामकी स्वास्नी सिंहनीझैं गर्जिन्– ‘हुइल, हुइल मैं अपन आँखीले देख्ले बटुं । आनक घर कमलहिया लागल छाईनके दशा । अगर रुपिया नै घुमैवो टे मोर मरल मुह देख्वो । आब फेन ऋणके बोझा नै बोकजाई ।’ (भयो, भयो मैले आफ्नै आँखाले देखेकी छु । अरु घर कमलहरी लाग्ने छोरीहरूको दशा । यदि रूपैयाँ फर्काएनौ भने मेरो मृत शरीर देख्नेछौ । अब फेरि ऋणको भारी बोक्नु छैन हामीलाई ।)

माघुरामको जनेवा अलाप विलाप गर्दै रुन थालिन् । मौकाको फाइदा उठाउँदै बिरालोले माछा उडायो । माघुरामले बिरालो धपाउन जाँदा बोतलको रक्सी ढल्यो । बिरालोको मुखबाट माछा त फिर्ता ल्याउन सकेन माघुरामले । यता बोतलको रक्सी पूरै निख्रिसकेको थियो । माछा खाएर सन्तुष्ट देखिने बिरालो, ढलेको रक्सीको बोतल, फर्काउनुपर्ने हातको रूपैयाँ हेर्दै माघुरामको मनले भन्यो– यी वरषके माघ फेन फिक्कल हुईना हुइल । (यो वर्षको माघी पनि अलिनो हुने भयो ।) साभार : नयाँ युगबोध

Comments