यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
eXTReMe Tracker

विनम्र विरोध गर्ने संस्कार सुरु गरौँ

-प्रद्युम्न रेग्मी-

पछिल्लो समयमा देशमा प्रहरी प्रमुखको नियुक्तिको लागि राजनैतिक खिचातानी भएको देख्दा जनतामा फेरि एकपटक राजनीतिक दलहरूसँग रुष्टता बढेको छ। देशमा विकास ठप्पको स्थिति र समाजमा भएका हज्जारौं गल्तीहरू हामी सँधै अरूको थाप्लोमा लादेर आफु चोखो बन्न खोज्छौं। सडकमा फोहोर फाल्छौ अनि टोल र शहर दुर्गन्धित भयो भनेर जुलुश र प्रदर्शन गर्छौं।

कुनै पनि राष्ट्रको लागि राजनीतिक दलको पक्कै अहम भूमिका हुन्छ तर हामीले मनन गर्नु पर्ने कुरा भनेको नेता पनि हामी माझबाट आउने हुन्। राम्रो संस्कार बसाल्दै गए त्यहाँबाट निस्कने नेता पनि राम्रै हुन्छन्। हाम्रो यो भनसुन, चाकडी, पद्लोलुप्ता र नातावादको जालो समाजमा जसरी जरो हालेर बसेको छ त्यसको अन्त गर्न गाह्रो पक्कै छ तर असम्भव पक्कै छैन।

देशको विकास भनेको आर्थिक विकास मात्रै पक्कै हैन। यसमा समाजमा हुने शान्ति सुरक्षा, पारस्परिक सहयोग, स्तरीय र समय सान्दर्भिक नीति र अरू विभिन्न कुराहरूले महत्वपूर्ण भूमिका खेल्छन्। जब शिक्षा, सुरक्षा, न्याय र स्वास्थ्य जस्ता संवेदनशील अंगका नियुक्तिमा राजनीतिक भागबण्डा हुन्छ तब त्यसले दिने नतिजा पनि उत्तिकै नकारात्मक र विभत्स हुन जान्छ। जब दक्षता, इमान्दारिता र निष्ठापूर्वक काम गर्ने मान्छेलाई अगाडि बढ्न प्रोत्साहन मिल्दैन, पुरै संगठनमा काम गर्ने वातावरणमा ह्रास आउँछ। काबिल र उत्कृष्ट मान्छेमा ग्लानी र नैराश्यता छाउनु भनेकै देशको दुर्दशा हुनुको सुरुवात हो।
हामी आफैंमा भएको समस्या केलाउन र त्यसको समाधान खोज्न भन्दा बादबिबाद बढी गरेर समय खेर फाल्छौं। राष्ट्रलाई सही दिशा तिर लाने हो भने सबैले आ-आफ्नो क्षेत्रबाट इमान्दारिता , निष्ठा र लगनशिलताका साथ अघि बढ्ने प्रण गरे नहुने केही छैन। भनिन्छ नीतिनियम भन्दा पहिला नियति ठिक हुनु पर्छ। अमेरिका भन्ने देश नहुँदा कला, साहित्य र सामाजिक विकासमा त्यति अग्रज देश आज कसरी अनुदान, ऋण र आर्थिक सहयोग खोज्दै हिंडेको छ? यति धेरै सम्भावना भएको देश दशकौं दशक सम्म आर्थिक उन्नतिको बाटोमा अघि बढ्न नसक्नु मा हाम्रो आफ्नैं दरिद्री सोच र हिनताबोधको भावनाले कति भूमिका खेलेको छ? हाम्रा वरिपरिका छिमेकी हरू सबै सम्वृद्धि को बाटो मा द्रुततर गतिले अघि बढ्दा पनि हामी किन पछिको पछि नैं छौँ? यो हामी सबैले र हाम्रा सबै संस्थाका नेतृत्व गर्नेले घोत्लिएर सोच्ने बेला आएको छ।

अब हामीले नेतृत्व वर्गलाई बनाउने तरिकामा फरक सोच ल्याउन जरूरी छ। आजको नेतृत्व गर्ने मान्छे जति अध्यनशील र देश बुझेको हुन जरूरी छ उतिनै पारस्परिक सहयोग, नीतिनियमको सच्चा पालना गर्ने र समाजमा उदाहरणीय काम गरेर जनताको मन जित्न सक्ने हुन अपरिहार्य छ। पद भनेको संस्थाको प्रतिबिम्ब हो र नेता भनेको देशको अभिभावक। जो नेताले जनताले भन्दा बढी इमान्दार भएर नीतिनियम को पालाना गर्दैन उसलाई नेतृत्व लिने नैतिक अधिकार हुँदैन।

उही कुरा गरेर फरक नतिजा खोज्नु पागलपन हो। लोकतन्त्रको सुन्दर पक्ष भनेकै भद्र असहमति र खुला बादबिबाद गर्न पाउनु हो। परिवर्तन आफुबाट सुरु गरौँ। राम्रो काम गर्नेलाई प्रोत्साहन र हौसला दिने र गल्ती गर्नेलाई सजायको भागिदार बनाउनै पर्छ। यो देश र हाम्रा संस्था कुनै राजनीतिक कर्येकर्ता वा पार्टीको बिर्ता हैन। हामीले जिन्दगीभर इमान्दारीपूर्वक काम गर्दा न्युनतम गांस, बास र कपासको माग पुरा गर्न नसकने हरूलाई २-३ महिना राज्यको मन्त्री पदमा बसेर सिन्को नभाँचे पनि राज्यले आजीवन तलब र सुबिधा दिनु पर्ने अनि गरिब जनता सिटामोल नपाएर ऐया ऐया भनि रहंदा नेताजी को टाउको दुख्दा राज्यले विदेश मा करोडौं/अरबौं खर्च गर्नु पर्ने? यो कस्तो अन्याय हो र यस्तो बिकृति र असमानताको अन्त्य गर्न के बर्तमान नेतृत्व प्रतिबद्द छ? यदि छैन भने यो झुण्डलाई हामी जनताले आजीवन पालिरहनु पर्ने जरुरत के छ ?

Comments