यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

वैशाख १ मा मात्र फूल्ने फूलको बारेमा समाचार पढ्नुभो? साँचो कुरा थाहा पाउन अब यो पनि पढ्नुस् है

हरेक नयाँ वर्षको दिन वैशाख १ मात्र फूल्ने फूलको बारेमा समाचार पढ्न पाइन्छ। आज पनि राससले समाचार पठाइसक्यो र केही अनलाइनले हालिसके। कमसेकम भोलि राष्ट्रिय दैनिकहरुमा यस्तो समाचार नदेखिएला कि भन्ने आशामा यो पुरानो ब्लग पुनः यहाँ राखिएको छ।

newyear यो वर्षमात्र होइन पछिल्ला केही वर्षदेखि हरेक वैशाखको पहिलो दिन मिडियामा एउटा समाचार आउने गर्छ- नयाँ वर्षको पहिलो दिन मात्र फूल्ने अनौठो फूल फूल्यो। फूल हेर्न हजारौँको भिड।

के साँच्चै यस्तो पनि फूल हुन्छ होला? के वैशाख १ गते मात्र फूल्ने फूल वैज्ञानिक हिसाबले संभव छ? यसबारेमा वनस्पति विज्ञरुलाई सोध्दा उनीहरुले भने, वाहियात !

तर विज्ञान र विश्वास फरक कुरा हो। विश्वासले जितेरै वैशाख १ मा सयौँ पुगे सिराहाको सलहेश फूलबारीमा। यस्तो रहेछ विश्वास-

11137064_959653587398630_1372970887_n

विक्रम् सम्बत १३२५ मा सिराहा जिल्लाको महिसोथा राज्यको राजा सलहेश थियो। राजा सलहेश र कुशमा अर्थात फूलबारीकी मालिनीबीच प्रगाढ प्रेम थियो। तर राजा सलहेशको पारिवारिक कारणले एक अर्कालाई ह्दयदेखि मन पराएको भएपनि सलहेश र कुशमाबीच बिहे हुन सकेन। राजा सलहेशको प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको रुखमा फूलको माला भएर देखा पर्ने भनेपछि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको पहिलो दिन सो रुखमा मालिनी माला भएर देखा पर्ने गरेको विश्वास छ।

सलहेश फूलबारी लाहानको मेन चोकदेखि तीन किलोमिटर पश्चिममा पूर्वपश्चिम राजमार्गको दक्षिण भागमा रहेको छ। लाहान नगरपालिका वाड नम्बर ११ र २२ मा पर्ने सलहेश फूलबारी १५ बिघा भन्दा बढीको क्षेत्रफलमा रहेको छ। सो क्षेत्रमा बाक्लो जंगल र त्यो जंगलभित्रको बीच भागमा मालिनीको मन्दिर रहेको छ।

के हो वैज्ञानिक आधार?
unnamed (3)यस फूलको बारेमा विभिन्न मिडियामा समाचार आएपछि हिमालय बोटानिस्ट भन्ने वनस्पति शास्त्रका विद्यार्थीहरुले सञ्चालन गरेको फेसबुक पेजमा पोस्ट गरिदिए साथी उत्तमबाबु श्रेष्ठले। त्यहाँ वनस्पति शास्त्र पढेका र वनस्पति पहिचान गर्न सक्नेहरुसहित १३ जनाको कमेन्ट आयो र धेरैले यसको वैज्ञानिक नाम ठहराए Dendrobium aphyllum

उत्तमले त्यसपछि वनस्पतीहरुको तथ्यांक आवधिक गरिएको विभिन्न डाटाबेसहरु हेरिसकेपछि यो वनस्पतिको नाम Dendrobium aphyllum भन्ने लगभग किटानी भयो।

यो वनस्पती सुनाखरी परिवार (Orchidaceae) मा पर्छ। यो वनस्पतिलाई विलियम रोक्सवर्गले पहिलो पटक पहिचान गरी प्लान्ट्स अफ द कोष्ट अफ कोरोमाण्डल भन्ने पुस्तकमा सन् १७९५ मा प्रकाशित गरेका थिए।

रोक्सवर्गले कोरोमेन्डल कोष्टबाट यो वनस्पति संकलन भएको उल्लेख गरेका छन् जुन भूभाग भारतको दक्षिणपुर्व समुद्री तटमा बंगालको खाडी र पूर्वी घाट बीचमा पर्छ।

शुरुमा रोक्सवर्गले यसको नाम Limodorum aphyllum राखेका थिए तर पछि यसलाई वर्गसँग मिल्ने भएकोले यसको नाम राखे अर्का वनस्पतिशास्त्री फिस्चरले। यो वनस्पतिशास्त्रमा सामान्य प्रचलन हो।

यो वनस्पति प्रायः सुनाखरी परिवारका अन्य सदस्यहरु जस्तै अरु वनस्पतिहरुको सहारामा (Epiphyte) हुर्कन्छ। यो नेपाल बाहेक भुटान, वर्मा, चीन, थाइल्याण्ड, लाउस, कम्वोडिया, भियतनाम र मलेसियामा पाइन्छ। सामान्यतया १०० मिटरदेखि १६०० मिटरसम्मको उष्ण भूभागमा यसलाई पाइएको छ। यसलाई कतिपय ठाउँमा हरितगृहभित्र खेती पनि गरिएको छ।

यसको फूल आर्कषक हुने भएकोले सजावटको लागि प्रयोग गरिन्छ। सुनाखरी परिवारको सम्पूर्ण वनस्पतिहरुलाई साइटिस सन्धिको अनुसूचिमा र यसलाई अनुसूचि दुईमा राखिएकोले यसको व्यापार गर्न पाइँदैन। यो वैशाख १ मा मात्र होइन वैशाखदेखि मध्य जेठसम्ममा फुल्दछ।

त्यो ठाउँमा वैशाख १ मा मात्रै मान्छे गएर हेर्ने भएकोले मात्र त्यही दिनमात्र फूलेको देखेको हुनसक्छ।

वैशाख १ मा मात्र फूल्ने फूल? वनस्पतिविद् भन्छन् : तोडमोड गरिएको समाचार

– डा. मान रोकाया –

newyear हरेक वर्ष दुई चार सालदेखि मलाई एउटा समाचारले उत्सुक बनाउने गदर्छ र सोच्छु – के सिराहास्थित सलहेस फूलबारीमा यो वर्ष पनि फेरि अनौठो सुनाखरी फूल्यो भनेर समाचार आउला त? वैशाख १ गते दिनभरी विभिन्न न्यूज पोर्टलहरु हेर्न व्यस्त रहें। अन्ततः दिउँसोतिर नागरिकले समाचार छाप्यो र वैशाख २ गते ठूलो क्याप्सनसहित मुख्य पृष्ठमा फोटो छाप्यो – ‘… हरेक वर्ष बैशाख १ गते नै यो फूल किन फूल्छ भन्ने रहस्यमै छ …’

अब वर्षेनी एउटै समाचार दोहोरिँदा मलाई यसबारे केही लेख्नै पर्छ जस्तो लाग्यो। हो, फूल फूलेकै हो। समाचार पनि छापिएकै हो। यसमा दुविधा छैन। तर वनस्पतिसंग सम्बन्धित व्यक्ति भएकोले समाचारको यथार्थथतामा मलाई शंका लाग्यो । मलाई लाग्यो – समाचार तोडमोड भएको छ । यसलाई स्पस्ट पर्नै पर्छ । अझ सिराहास्थित सलहेस फूलबारीमा हारमको रुखमा रहेको सुनाखरीको बारेमा त बिस्तृत रुपमा लेख्नै पर्छ ।

foool

नेपालमा फूल फुल्ने बिरुवाहरुको संख्या जम्मा जम्मी ७००० को हाराहारीमा छ । यी मध्ये करिब २३००-२५०० बिरुवाहरु नेपालीहरुले विभिन्न प्रयोजनका लागि उपयोग गर्छन् । अब रह्यो सुनाखरीको कुरो । नेपालमा जम्मा ४५४ प्रजातिका सुनाखरीहरु पाइन्छन् । यिनीहरु लाई सुनगाभा पनि भन्ने गरिन्छ र अंग्रेजीमा ‘अर्कीड’ (orchid) भनिन्छ । नेपालमा यी बोट बिरुवाहरु समुद्री सतह ६० मीटर देखि ५२०० मिटरसम्म भेटिन्छन् ।

सुनाखरीहरु कहिले विभिन्न रुखहरुमा झुन्डिएको अवस्थामा (epiphytic) भेटिन्छन् त कहिले जमिन (lithophytic) वा अर्धपरजीवी (saprophytic) पनि भएर उम्रन्छन् । विभिन्न सुनाखारीहरु फुल्ने समय बिरुवा पाउने स्थान विशेषका आधारमा फरक पर्न जान्छ । समग्रमा सबै प्रजातिहरु लिने हो भने सुनाखरीहरु वर्षभरि नै फुल्छन् भन्दा अनुपयुक्त नहोला र छुट्टा छुट्टै प्रजातिहरु केलाउदै जाने हो भने फूल फुल्ने समयमा प्रचुर मात्रामा भिन्नता पाइन्छ । वसन्त ऋत शुरु भए संगै विभिन्न सुनाखारीहरु फुल्न शुरु गर्छन् ।

असार, साउन र भदौमा सबै भन्दा बढी प्रजातिहरु फुलेको पाइन्छ भने वर्षको अन्तिम हिउदमा पनि केहि सुनाखरीहरु फुल्छन् । यो त तथ्यक नेपालमा पाइने ४५४ प्रजातिका सुनाखरीहरुको कुरा भयो । अब कुरा रह्यो – सिराह स्थित सलहेस फूलबारीमा रहेको हारमको रुखमा उम्रने सुनाखरीको । इमानन्दार भएर भन्नु पर्दा म आजसम्म सिराहको सलहेस फूलबारीमा पुगेकै छैन र त्यो अच्चमको सुनाखरी देखेकै छैन । फोटो हेर्दा मलाई त्यो सुनाखरी ‘डेन्ड्रोबियम’ (Dendrobium) समुहमा पर्ने सुनाखरी हो भन्ने लाग्यो ।

यता उता सबै तिर बाट जानकारी संकलन गर्दा मेरा एक मित्र भक्त रास्कोटीले सिराहको सलहेस फूलबारीबाट ल्याएको त्यो अनौठो डेन्ड्रोबियम हेरेका रहेछन् र भने दाई त्यो तपाईले भन्नु भएको डेन्ड्रोबियम अफाइलम (Dendrobium aphyllum) नै हो । वनस्पति शास्त्रमा कुनै पनि बिरुवाहरु को नाम लाटीन (Latin) भाषामा राखिन्छ । प्रथम नामले विरुवाको समुह वा जिनस (Genus) बताउछ भने दोस्रो नामले प्रजाति वा स्पेशीष (Species) बताउछ । चाहे त्यो बिरुवा जतासुकै पाईयोस् यो लाटीन (Latin) भाषामा राखिएको नाम एउटा संसारभर एउटै हुन्छ ।

अब त्यो सिराहको सलहेस फूलबारीमा उम्रने बिरवा सुनाखरी नै हो भन्ने पक्का भो किन कि भक्त रास्कोटी अहिलेका जल्दा बल्दा सुनाखरीविद हुन् । नेपालका धेरै भू-भागहरु घुमेर नेपालको सुनाखारिहरुको बारेमा ‘द अर्कीडस् अफ् नेपाल’ (The Orchids of Nepal) भन्ने पुस्तक नै छपाई सकेका छन् ।

नेपालमा डेन्ड्रोबियमका जम्मा ३१ प्रजातिका सुनाखारीहरु पाईन्छन् । विभिन्न प्रजातिहरु छुट्याउदा हामीहरु जरा, काण्ड, पात, फूल र फलको आकार प्रकार हेरेर छुट्याउने गर्छौ । विगतका अनुसन्धानहरु बाट पत्ता लागे अनुसार डेन्ड्रोबियम अफाइलम (Dendrobium aphyllum) पूर्वी र मध्ये नेपालमा पाइन्छ । समुद्री सतहबाट १०० देखि १५०० मीटर उचाईमा यो सुनाखरी कटुस, चिलाउने, उतिस, शिशौ, खिरो र फिरफिरे जातिका रुखहरुमा झुण्डिएर उम्रन्छ । यो चैत्रमसान्तदेखि असारसम्म फुल्दछ ।

नेपाल भित्र यो बिरुवा सरस्वति-सिमात खोला (सन् १९६९/४/१९), तीनपाने भन्ज्याङ-ललितपुर (सन् १९७८/५/३), सिस्वाटारमाथितिर-संखुवासभा (सन् १९९४/६/८), गोदक-इलाम र मर्स्याङ्दी उपत्यका-गण्डकी क्षेत्रमा पाइने उल्लेख गरिएको छ । नेपाल बाहिर यो भुटान, बंगलादेश, भारत (पूर्वी र पश्चिमी हिमाली क्षेत्रहरु र आसाम), इन्डोनेसिया, लाओस, माल्दिभ्स, मलेसिया, म्यानमार, श्रीलंका, थाईल्याण्ड, भेतनाम र अष्ट्रेलिया (कुइन्स्ल्याण्ड) मा पाइन्छ ।

वर्षको १ गते फुलेर हप्तादिनमा ओइलाउने भनेर समाचारमा उल्लेख भए अनुसार समाचार सत्य होइन । अहिलेसम्म कुनै पनि डेन्ड्रोबियम प्रजातिका बिरुवाहरु यति छोटो समयसम्म फुल्ने भनेर कुनै पनि वनस्पतिका किताब वा अनुसन्धात्मक लेखहरु मा लेखेको मैले देखेको छैन । मलाई के लाग्यो भने ठाउँको उच्चतम महत्व देखाउन स्थानीय बासीहरुले पत्रकारको राम्रै प्रयोग गरे । समाचार लेख्नेले लेख्यो तर सम्पादकले अलिकति भए पनि वनस्पति विज्ञहरु संग परामर्स गरेर समाचार प्रकाशित गरेको भए हुन्थ्यो ।

अझै पनि यो फूल बैशाखमा फुल्नेमा मेरो बिमति छैन । तर उल्लेखित निश्चित समय भने पक्का होइन । फूल फुल्न निश्चित मात्रमा तापक्रम, सापेक्षिक आद्रता, प्रकाश र अध्यारो मिल्न पर्छ अनि मात्र फूल फुल्दछन् । त्यही पनि बैशाख १ गते नै फुल्छ भन्ने फूल अरु ठाउँहरु मा पाइने भएकोले आम मानिसमा पर्न गएको भ्रम चिर्न मैले यो लेख लेखें । तर पनि कसैले धर्म, स्वार्थ वा अन्य कुनै फाइदा जनक कारणले हो यो बैशाख १ गते नै फुल्दछ भन्यो भने मेरो भन्नु केहि छैन । म केवल यति भन्छु – विज्ञानले यो तथ्यलाई स्वीकार गर्दैन । तसर्थ: यो बैशाख १ मै फुल्ने भन्ने कुरा गलत हो । यस्ता निराधार कुराहरु गलत सावित गर्न तथ्य परक अनुसन्धानको जरुरत छ ।

अन्त्यमा अर्को एक दैनिक पत्रिकाले (हे. http://annapurnapost.com/News.aspx/story/10559?hc_location=ufi) पनि सप्तरीको कञ्चनरूप नगरपालिकाको दुई स्थानमा त्यस्तै प्रकारको फूल फेरि बैशाखमै फुलेको भनेर समाचार प्रकाशित गर्यो । त्यो पनि सिराहको समाचारले प्रेरित भएर लेखिएको हो र त्यसमा पनि सत्यता छैन । फूल बैसाखमा फुले पनि बैशाख १ गते नै चाहिँ अवश्य होइन ।

(डा. मान रोकाया वनस्पति विषयमा विधावारिधि गरि हाल चेक गणतन्त्रको राजधानी परागमा वनस्पतिविदका रुपमा कार्यरत छन् ।)

Comments