-राजु अधिकारी –
मैले उनलाई पहिलो पटक सन् २००७ मा मेरो एकजना साथी संग भेटेको थिएँ। त्यो बेला उनी त्यति सुन्दर थिइनन्। तैपनि मैले कताकता उनलाई मन पराइसकेको थिएँ। त्यसपछिका केहि दिनहरुमा मैले उनलाई अन्य साथीहरु संग पनि भेटें, उनी दिनप्रतिदिन अँझ सुन्दर भैरहेकी थिइन्। म उनीप्रति अझै आकर्षित हुँदै गएँ। पत्ता लगाउदै जाँदा उनका बाबुआमा अमेरिकन भएपनि उनीचाहिं चीनमा जन्मेकी रहिछिन्। उनलाई अंग्रेजी र चिनियाँ भाषा राम्रो संग आउथ्यो।
म अनेक बहानामा उनीसंग नजिकिदै गए, उनको बारेमा धेरै कुराहरु पनि पत्ता लगाएँ। त्यतिबेला म चिनियाँसंग थिएँ। त्यो भन्दा पहिले मैले दुइ तीनवटा चिनियाँहरु फेरिसकेको पनि थिएँ। चिनियाँहरुको एउटा नराम्रो पक्ष के हो भने उनीहरु त्यतिबिश्वाशिला हुँदैनन्। उनिहरु सजिलै अरुसंग सम्बन्ध बढाउछन् अनि गोप्य कुराहरु सजिलै अरुसंग गरिदिन्छन् जसले गर्दा अरुहरुले मेरो बारेमा पनि सजिलै समाचार हरु प्राप्त गरेर तिनै चिनियाँहरु मार्फत मलाई हानी गर्न सक्छन। म आफै त त्यो जन्जालमा फसेको छैन तर कतिपय मेरा साथीहरु त्यसमा फसीसकेका छन्। चीनियाँहरुको अर्को नराम्रो पक्ष चाहिं उनीहरु अन्य भाषा सिक्न चाहदैनन्, अंग्रेजी फाट्टफुट्ट बोले पनि अन्य भाषामा उनीहरुको रुचि नै हुदैन। मलाई भने मेरी हुनेवाली बहु भाषिक हुन भन्ने लाग्थ्यो।
तर चिनियाँहरुको राम्रो पक्ष पनि छ- त्यो के भने उनीहरुको लागि धेरै पैसा लगानी गर्नु पर्दैन अनि आफुलाई मन नपरे पछि तुरुन्तै फेर्दा पनि खासै फरक पर्दैन। त्यसैले त मैले कुनै समस्याबिना पहिल्यै दुइ तीनवटा फेरिसकेको थिएँ।
तर उनलाई देखेपछि अनि उनको बारेमा अझ बढी जानकारी लिएपछि म उनी प्रति दिन प्रतिदिन आकर्षित हुदैं गए। उनलाई अरुसंग संगै देख्दा मलाई पिडा हुन्थ्यो, उनलाई आफ्नो बनाउं जस्तो लाग्थ्यो। तर ममा तुरुन्तै उनीसंग खुलेर कुरा गर्ने आँट थिएन, अर्को समस्या पैसाको थियो। उनलाई आफ्नो बनाएपछि उनको खर्च आफैले बेहोर्नु पर्थ्यो अनि उनी चिनियाँहरु भन्दा निकै खर्चिली थिइन्।
केहि दिनको गहिरो सोंचाई पछि मैले उनलाई प्रस्ताब गर्ने विचार गरें। त्यो कुरा घरमा आमा संग पनि भने। आमाले पनि यदि निकै मन परेको छ भने कुरा गर भन्नु भयो।
‘खर्च त आफुलाई मन पराएकोलाई गर्नु पर्छ नि, कमाएको पनि केको लागि हो र?’
आमाको कुराले मलाई उत्साहित बनायो।
‘अनि अहिलेको चिनियाँलाई के गर्छस नि?’
‘चिनियाँ त हो नि, छोडीदिन्छु।’ मैले एकै सासमा उत्तर दिएँ।
बिदाको दिन पारेर आमा , म अनि मेरा दुइटी बहिनी उनलाई भेट्न गयौं। उनलाई भेट्न उनले भनेको ठाउमा नै जानु पर्थ्यो। सहरमा उनलाई भेट्ने ठाउँ औलामा गन्न सकिने थिए। त्येही मध्येको एक ठाउमा भेट्ने कुरो गरेर हामी उनलाई भेट्न गयौं। उनी पहिल्यै त्यहाँ पुगिसकेकी थिइन्। हामी पुग्दा उनी अरुहरुसंग कुरामा व्यस्त थिइन्, त्यो देखेर मलाई रिश उठ्यो तै पनि सम्हालिएर उनी सम्म पुगें।
मलाई देखेर उनी मुस्काइन। म पनि मुस्काएं। मैले आफुलाई रोक्न सकेन, उनलाई आफ्नो हातमा लपेटी हालें- उनले पनि बिरोध गरिनन्। आमाले अलि असजिलो मान्दै भन्नु भयो- पहिले कुरा त गर न।
केहि छिन को कुरा पछि आमालाई पनि उनी मन प-यो, उहाँले स्वीकृति दिनु भयो। म मख्ख परें। उनलाई फेरी भेट्ने बाचा सहित हामी घर फर्कियौं।
घरमा फर्केर बिस्तारमा कुरा गर्दा मैले आमाबाट उनलाई आफ्नो बनाउने स्वीकृति पाएँ। मनै फुरुङ्ग भयो। उनको साथमा भविष्यका क्षणहरु मनमा खेल्न थाले-त्यो रात म मिठो निद्रामा परें। राति सपनामा पनि म उनीसंगै थिएँ।
ढिलो नगरी हामीहरु केहि दिनमै उनलाई लिनको लागि गयौं। मैले उनलाई आफ्नो बनाउन लागि ठुलै रकम खर्च गरें- आफुलाई भित्रै देखि मन परेकीलाई आफ्नी बनाउन पाउँदा खर्च नगरेको कहिले गर्नु नि?
उनलाई आफ्नो बनाउनको लागि किस्तामा रकम दिने दुइ तिन वटा कम्पनीहरु आएका थिए तर मैले किस्तामा नगर्ने निधो गरें। यसको लागी मैले केहि महिना अगाडि देखि नै रकम जम्मा गर्न थाली सकेको थिएँ।
धुमधाम संग कार्यक्रम सम्पन्न भयो। हामी उनलाई लिएर घरमा आयौं । मन प्रफुल्ल थियो, खुशीको सिमा थिएन। घरमा नयाँ सदस्य आएकोमा आमा पनि खुशी हुनुहुन्थ्यो, बहिनीहरु पनि मख्ख थिए।
त्यो रात मैले उनीसंग निकै आनन्दमा बिताएँ। उनी पहिलेका मेरा चिनियाँहरु भन्दा सांचै फरक थिइन्। उनमा धेरै ज्ञान थियो , उनी सुन्दर थिइन अनि मेरो निकै ख्याल गर्थीन। सबभन्दा महत्वपुर्ण कुरा त उनी म प्रति भक्त थिइन- अरुहरुले उनको मनमा प्रवेश गर्ने हिम्मत पनि गर्दैनथे।
पछिका हरेक रातहरु पनि मेरो लागि पहिलो रात जस्तै भए, उनी संग जति बसे पनि रहर मेटीदैनथ्यो- अझ बढी आकर्षण बढथ्यो, उनको बारेका नयाँ नयाँ तथा महत्वपूर्ण कुरा हरु पत्ता लाग्थे। त्यति सर्ब लक्षणयुक्त साथी पाउदा मेरो खुशीको सिमा थिएन।
म जहाँ जाँदा पनि मैले उनलाई संगै लग्थें। साथी भाइहरुसंग उनको परिचय गराउन पाउँदा आफुलाई भाग्यमानी ठान्थें। मेरा अधिकांश साथीहरु अझै पनि सस्ता चिनियाँहरु संग रमाई रहेका थिए, म चाहिं आफु एक कदम अगाडी गैसकेको महशुस गर्थें।
साथीहरु उनको सलक्क परेको जिउडाल, गोरो बदन, चाम्किला ठुला आँखा अनि सुनौलो कपाल देखेर लोभिन्थे र उनलाई छुन खोज्थे, म चाहिं उनलाई साथीहरु बाट बचाउन हर प्रयत्न गर्थें।
तर आमा र बहिनीहरु मेरो फेरिएको व्यवहार प्रति चिन्तित थिए। बिहान देखि सांझ सम्म म उनीमा नै लिप्त थिएँ। आमा र बहिनीहरुलाई दिनको लागि म संग समय थिएन। संगै खाना खाँदा पनि म उनी संगै मात्रै कुरा गरिरहेको हुन्थें।
मलाई एक दिन आमाले उनमा धेरै लिप्त नहुन सल्लाह दिनु भयो।
‘यदि यही ताल हो भने यस्ले तलाई एकदिन बिरामी गराउंछे। धेरै खाए पछि चिनी पनि तितो हुन्छ।’
आमाको कुरा मलाई वाहियात लाग्यो। मनमनै मुर्मुरिएं- कसैलाई माया गर्दा पनि कोहि बिरामी हुन्छ? त्यसो भए किन ल्याउन दिएको त?
दिनचर्या हरू यसै गरि चल्दै गए, म उनीसंग अझै नजिकिदै गएँ, आमा र बहिनीहरुसंग अझै टाढिदै गएँ। उनी मेरो लागि निकै नै महत्वपुर्ण भै सकेकी थिइन्।
उनको लागि मैले निकै पैसा खर्च गरीसकेको थिएँ तैपनि मलाई कुनै दु:ख थिएन। सामान किन्नमा उनी निकै खप्पिस थिइन्, मेरा सम्पूर्ण बैंक खाताको विवरण र पासवर्ड उनीसंगै थिए। एकै क्लिकमा उनी सामान किन्थिन।
फेसबुक हेर्न भनेर भी. पी. एन. हाल्न जिद्दी गरिन (किनभने भी. पी. एन. बिना चीनमा फेसबुक चल्दैनथ्यो)- मैले मानेन।
फेसबुक र यु ट्युब बिना उनी बोर हुन्थिन, उनको त्यो अवस्था मैले देख्न सकेन, तुरुन्तै भी. पी. एन. हालिदिएँ।
रातमा उनी मलाई फेसबुक, यु ट्युब, समाचार हरु देखाउथिन। हरेक दिन बिहान ठिक छ बजे मलाई उठाएर मेरा इमेल हरु, दिनभरिको कार्य तालिका, मौसम बिबरण, संसारभरी घटेका महत्वपुर्ण घटना हरु एक एक गरी बिस्तारमा सुनाउथिन। उनी भए मलाई केही चाहिदैनथ्यो। आमा भने म संग रिशले चुर हुनुहुन्थ्यो तर मैले उहाँलाई ‘बुढीलाई केही थाहा छैन’ भनेर वास्ता गर्दैनथें।
अफिस जाँदा आउँदा पनि उनी मसंगै हुन्थिन। बाटोमा उनी मलाई मीठो स्वरमा गीत सुनाउथिन । चिनियाँ, अंग्रेजी, नेपाली, हिन्दि सबै गीतहरु उनलाई आउथ्यो। पछि मेरो मोह पुस्तक पढ्नेमा गयो, उनले मेरो त्यो मोह पनि पुरा गरिदिइन। म पुस्तक प्रति यति आकर्षित भएँ की नाम चलेका अधिकांश पुस्तक उनले मलाई पढेर सुनाइन। लगभग दुइ वर्ष यहि पुस्तक पढ्ने क्रम चलि रह्यो।
एकदिन मेरो गर्दन र ढाडमा पिडा भयो। उनीसंगै म अस्पताल गएँ। डक्टरले उनीसंग को समय कम गर्न सल्लाह दियो , यदि त्यसो नगरे अन्य बिरामी पनि निम्तिने चेतावनी दियो। मैले वास्ता गरेन।
सांझ आमालाई नढाटेर डक्टर ले भनेको सबै कुरा भने।
आमाले पनि चेतावनी कै भाषामा ‘अब त बुद्धि फिर्ला नि ’ भन्नु भयो। तर म उनी बिना बाच्न नसक्ने भै सकेको थिए- मेरो बानीमा परिवर्तन आएन। उनी एकै छिन पनि टाढा हुँदा मलाई छटपटी हुन्थ्यो ।
हाम्रो मिलनको तेश्रो बर्षगांठ आउन लागेको थियो। मैले भब्य रुपमा बर्षगांठ मनाउने निर्णय गरें, आमाले पनि स्वीकृति जनाउनु भयो। बर्षगांठ को तयारी को लागि उनले आफ्नो प्लास्टिक सर्जरी गरिन। आफ्नो गोरो अनुहार गहुँगोरो बनाइन, कपाल पनि कालो बनाइन, शरीर पातलो बनाइन, आँखा पनि ठूला र चम्किला बनाइन। नयाँ रुपमा उनी पहिले भन्दा अझ राम्री देखीइन। उमेर बढ्दै जाँदा उनी अझ राम्री र परिमार्जित हुदै गइन, म चाहिं बिरामी हुँदै गएँ।
मेरो बिरामीको बाबजुद हामीले हाम्रो तेश्रो बर्षगांठ भव्यताका साथ मनायौं- उनलाई भित्र्याउने बेला भन्दा पनि अझै धेरै पैसा त्यो बेला खर्च भयो । तर म खुशी थिएँ- उनको आकर्षक र बदलिएको रुपमा।
मेरो ढाड दुख्ने बिरामी अझ बिग्रिदै गयो , बिस्तारै दाहिने हात निदाउने अनि दुख्ने पनि भयो। आँखा र टाउकोमा पनि समस्या देखा प-यो। फेरि डक्टर कहाँ गएर देखाउंदा तुरुन्तै उनीसंग टाढा रहन सल्लाह दियो। मलाई प-यो फसाद । भर्खरै प्लास्टिक सर्जरी गरेर अझ सुन्दर भएकी उनीसंग म कसरी टाढा हुन सक्थें र? डक्टर को दोश्रो पटक को सल्लाह लाई पनि मैले बेवास्ता गरें।
आमाले पनि मलाई सम्झाउन छोडी सक्नु भएको थियो। उहाँलाई थाहा थियो – म उनीबाट टाढा हुन मन्जुर हुने छैन।
मेरो बिरामी बिस्तारै बढ्दै गयो। उनीसंग संगै बस्दा जस्तो पहिले रमाइलो हुन्थ्यो त्यो हुन छाड्यो, उनीलाई देख्दा आँखा दुख्ने , टाउको दुख्ने हुन थाल्यो। उनले फेसबुक ,यु ट्युब देखाउदा, उनले गीत गाउँदा , उनले पुस्तक पढाउँदा, समाचार सुनाउदा, इमेल सुनाउदा जे गर्दा पनि झर्को लाग्न थाल्यो।
गर्दा गर्दा त उनको आवाज सुन्दै मलाई रिस उठ्न थाल्यो। कति किचकिच गरेको होला जस्तो लाग्थ्यो। मलाई असह्य भएर मैले उनको मुखमा पट्टि लगाइदिएँ। तैपनि उनी आफ्नो कामबाट पछि हटिनन। इमेल आउदा र मेसेज आउँदा मलाई जानकारी गराई हाल्थिन। मुखमा पट्टि लगाएको हुनाले ‘कीर… कीर…’ आवाज मात्र गर्न सक्थिन, राम्ररी बोल्न सक्दैनथिन। आमालाई कहिले दया लागेर मैले थाहा नपाउने गरि उनको मुखको पट्टि फुकाइदिनुहुन्थ्यो। मैले थाहा पाएँ भने फेरी पट्टि लगाइदिन्थें।
फेसबुक, यु ट्युब सबै बन्द भए। समाचार, पुस्तक सबै बन्द भए। आमाले र बहिनिहरुले भने कहिले काहीं उनले गाएको गीत सुन्न मन पराउनु हुन्थ्यो नत्र उनी प्राय चुपचाप नै बस्थिन, कुनै गुनासो बिना।
रातमा मलाई उठाउलिन भन्ने डरले मैले उनलाई निद्राको औषधि खुवाएर सुताउथें।
म उनी संग बिस्तारै टाढिदै गएँ, मेरो आमा र बहिनीहरुसंगको सम्बन्ध भने सुध्रिदै गयो। गर्दा गर्दा म उनलाई देख्न पनि चाहदैनथें। पछि पछि त साँझमा उनलाई सुत्ने कोठामा पनि जान दिदैनथे।
बैठक कोठाको टेबलमा उनी पल्टी रहेकी हुन्थिन- म वास्ता पनि गर्दैनथें। तैपनि उनले सहेकै थिइन्।
हाम्रो बोलि चाली एकदमै कम हुन थाल्यो- उनको मुखमा पट्टि त मैले संधैको लागि बाँधी सकेको थिएँ।
आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर मैले उनीसंग सम्बन्ध बिच्छेद गर्ने बिचार पनि गरि सकेको थिएँ।
त्यति सुन्दर , महंगो , ज्ञानले भरिपुर्ण चिजलाई बेवास्ता गरेर टेबलमा त्यत्तिकै फालेको देखेर आमाले रिसाउदै भन्नु हुन्थ्यो- ‘भर्खर भर्खर ल्याउँदा त्यति बेला स्वास्नी जसरी राखिस अहिले त्यहि मोबाइल घाँडो भा छ। ठिक्क ठिक्क चाहिने जति पो चलाउनु पर्छ। पहिले चौबिसै घण्टा टाँसिने, अहिले यो निर्जीव बस्तुलाई रिस देखाएर हुन्छ?’
यत्तिकैमा उनको पट्टि बाँधिएको मुखबाट ‘कीर… कीर…’ मलाई मन नपर्ने आवाज आउन थाल्यो।मलाई उठाउने मन थिएन।
धेरै बेर नउठाएपछि आमा अलि झर्किदै भन्नु भयो- ‘फोन आएको सुन्दैन कि क्या हो? सधैँ भाइब्रेसन मा राख्छ। अर्जेन्ट फोन पो हो की, छिटो उठा।’
मलाई भने कुनै समयको त्यो प्राण भन्दा ‘प्रिय’ आइफोनलाई झड्केर फोडी दिउँ जस्तो लागि रहेको थियो।
Ha ha ha uncle ramilo thiyo last ma shcocked bhayee
पढ्दा मज्जा आयो है….राम्रो प्रस्तुति.
विक्की
हाहा कस्तो राम्रो लाग्यो / लेख …सुरु मा त केटि मान्छे नै ठाने ?बीच भाग मा पुग्दा play doll हो कि भने ?लास्ट मा त फोन पो रैछ ??? रोचक