यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

स्थानीय चुनावलाई विदेशबाट हेर्दा

शुरुमा नै प्रष्ट पार्न चाहन्छु कि म कुनै राजनैतिक पार्टी सँग सम्बन्धित छैन। एउटा सामान्य मान्छेको रुपमा बिचारशुन्य नहुने भए पनी मैले आजसम्म कुनै पार्टीको साधारण सदस्यतासम्म लिएको छैन। यसैले कुनै पार्टीले जित्नु वा हार्नुसँग मलाई चासो छैन अर्थात् चुनावी नतिजा मेरो लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै हो। प्रथम चरणको चुनावी नतिजा आइसकेको र दोश्रो चरणको नतिजा पनि सकिने क्रममा हार र जितको विस्लेषणमा व्यस्त छन् कथित राजनैतिक विश्लेषकदेखि राम, श्याम र हरिसम्म। चुनावको केही समय अगाडिदेखि कार्यकर्ताहरुको मस्ती हुन्छ, बिहानको चियादेखि रातिको ठर्रासम्म उम्मेदवारको खर्चमा उडाउन पाइने भएको र चुनावको समाप्तिसँगै त्यो एपिसोड पनि सकिने कारणले केही व्यक्तिलाई चुनाव सकिनु भनेको एउटा दुखान्त सिनेमा जस्तै हो।

करिब बीस वर्षपछि भएको स्थानीय चुनावमा म देशभित्र नभएको कारणले मतदान गर्ने कुरै आएन। मलाई भोट हाल्न त्यति मन त पर्दैन तर पनि आफ्नो उमेर पुगेपछि भएको लगभग सबै चुनावमा मैले मत दिएको छु। चुनाव हुने दिनसम्म यो पटक त भोट हाल्न जान्न भनेर भन्यो तर चुनावको दिन खै किन हो कुन्नि भोट हालेर आइन्थ्यो।

एउटा रोचक कुरा के छ भने मैले भोट दिएको उम्मेदवारले हालसम्म कुनै चुनाव जितेको छैन। कारण के भने म कुनै “हेबी वेट” उम्मेदवारलाई भोट दिन्न, निम्छरो उम्मेदवारले मेरो भोटले जित्ने कुरा भएन। मलाई स्थानीय चुनाव अरु चुनाव भन्दा बढी मनपर्ने कारण सबै उम्मेदवार प्रत्यक्ष चिनजानका हुन्छन् र पछि वडा कार्यालयमा कुनै काम पर्दा त्यस्ता कामहरु सजिलै होला भन्ने लोभ पनि होला। हालै सम्पन्न भएको स्थानीय चुनापमा पनी मेरो घर भएको काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा विजयी हुने पाँच जनामध्ये तीन जनासँग मेरो राम्रै परिचय छ।

काठमाडौँ महानगरपालिका लगायत अरु स्थानहरुमा यो पटकको चुनावमा पोस्टर, पम्प्लेट र तुलको प्रयोग कति भयो त्यो देख्न पाइएन। तर फेसबुक लगायतका सामाजिक सन्जाल र न्युज पोर्टलहरुको ब्यापक प्रयोग र दुरुपयोग भएको देख्न पाइयो। कति न्युज पोर्टलहरु त यो चुनावको लागि मात्र खुलेका जस्ता थिए। मनगढन्त समाचार लेखेर फेसबुकमा सेयर गर्ने काममा मात्र प्रयोग भएका त्यस्ता पोर्टलहरुको समाचार वा विश्लेषणहरु कति काम आयो वा आएन त्यो सम्बन्धित पक्षलाई मात्र थाहा होला। तर मेरो विचारमा त्यस्ता क्रियाकलापले कुनै खास महत्व राख्दैन। चुनाव हुनुभन्दा अगाडिदेखि म फलानो पदको उम्मेदवार हुँदैछु भनेर लेख्दा पनि कसैको दाल गलेन। अर्थात् उनीहरुलाई सम्बन्धित पार्टीले टिकट दिएन। उनीहरु फेसबुकमा मात्र उम्मेदवार भए र फेसबुकमै जिते वा हारे।

चुनावको रोचक पक्ष नेपाली कांग्रेसका समर्थकहरुले बीपीको सपना र कम्युनिस्टहरुले पुष्पलालको सपना भनेर घाँटी सुकाएर कराउने काम गरे। त्यसमा पनि चवन्नी अर्थात् सामान्य कार्यकर्ताहरुको स्वर निकै चर्को थियो। पहिले बीपीको मात्र सपना देखे पुग्ने कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई अहिले गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासम्मको सपना देख्न, सुन्न र विचार गर्नुपर्ने बाध्यता छ। उता बरु कम्युनिस्टहरुलाई पुष्पलाल र मदन भण्डारीको सपना मात्र देख्दा पुग्छ। राजनैतिक पार्टीभित्र कस्तो अनुसासन छ भने जुन दिन सपना देख्न छोड्यो त्यसै दिनदेखि घोक्रेठ्याक लागिहाल्छ। मलाई भने यिनीहरुको सपना के हो त्यसको बारेमा कुनै जानकारी छैन, सायद मेरो अल्प ज्ञान र मन्द बुद्धि भएर होला।

अर्को रोचक पक्ष कथित सेलिब्रेटीहरुसँग सम्बन्धित छ। करेसो जोडिएको देवेन्द्र रिमाल चुनावमा उठेको कारणले महानायक राजेश हमालले शुभकामना दिए होलान्, त्यो जसले पनि गर्छ। काठमाडौँ महानगरपालिका वडा नम्बर २६ का उम्मेदवार रिमाल महानायक हमालको आशिर्वाद हुँदाहुँदै पनि चुनावमा पराजित भए। त्यस्तै नायिका रेखा थापाले भाषण गरेर र गायिका कोमल ओलीले गीत गाएर राप्रपामा भोटको बाढी नै आउँछ भन्ने हल्ला भयो, तर चुनावको परिणामले नै देखायो कि थापाको भाषण र ओलीको गीतले कस्तो भूमिका खेल्यो भन्ने कुरा। उता नयाँ शक्ति पार्टीकी नेत्री भएकी नायिका करिश्मा मानन्धरले महानायक हमाललाई मेयरको चुनाव लडे आफूले भोट हाल्ने जानकारी दिइन, तर पछि थाहा भयो भोट दिन्छु भने मान्छेको मतदाता नामावलीमा नामै रहेनछ। यदि महानायक हमाल मेयरको चुनाव लडेर एक भोटले पराजित भएको भए त्यो भोट नायिका मानन्धर कै हुने पक्का थियो, धन्न महानायक हमाल चुनाव लडेनन् र त्यो समस्या आफै समाधान भयो।

म विशेष गरेर काठमाडौँ महानगरपालिकाको चुनावको गतिविधिसँग मात्र केन्द्रित छु। यहाँ थरिथरिका उम्मेदवार र उनीहरुका अनेक किसिमका दाबी समाचार बन्यो। कुस्तिबाजदेखि नेपाल सरकारको पूर्व सचिवसम्मले आफ्नो उम्मेदवारी दिए। सबैभन्दा अचम्मको कुरा भगवान गिरि नामका मेयरका उम्मेदवारले जम्मा एक भोट पाए। परिवारका सदस्य र प्रस्तावक/समर्थकसम्मको भोट पनि नपाउनेले व्यर्थमा चुनावमा उठेर मतपत्र ठूलो बनाउने काम मात्र गरे। फोटोमा देख्दा मतपत्र यति ठूलो थियो कि त्यो यदि कपडा भएको भए एउटा वयस्क व्यक्तिलाई कमिज सिलाउन ठिक्क हुन्थ्यो। तत्कालीन स्वास्थ मन्त्री गगन थापाले अब काठमाडौँमा एमालेले एक सिट पनि जित्दैन भनेर भाषण गर्दा पर्रर ताली पड्काउनेहरु अहिले के सोचेर बसेका होलान्, किनकि काठमाडौँ महानगरपालिकाको मेयरसहित अत्यधिक स्थानमा एमाले विजय भयो।

मेयरकी अर्की उम्मेदवार रन्जु दर्शना सबैभन्दा ठुलो सेलिब्रेटी उम्मेदवार र “न्युज मेकर” भइन्। उनले कपाल काटेकोदेखि साडी लगाएकोसम्म र प्रतिस्पर्धीको विरोध गरेकोदेखि भोट हालेकोसम्म ठूलाठूला फोटोसहित लगातार समाचार आयो। सायद यो पत्रकारिताको सिद्धान्त र नियम अनुसार नै भयो कि यस्तो समाचार र फोटो प्रेषण गरे बापत ती सञ्चार माध्यमहरुले कुनै “शुभ लाभ” प्राप्त गरे त्यो पंक्तिकार जस्तो मन्द बुद्धिले अड्कल गर्न सक्ने कुरा भएन।

निर्वाचनको परिणामको अपडेटमा निर्वाचन आयोग भन्दा अगाडि फेसबुकेहरु भए। चौबिसै घण्टा फलानो उम्मेदवारले यति र ढिस्कानो उम्मेदवारले उति मत प्राप्त गरे भनेर अपडेट गरिरहे, तर रोचक के भयो भने मत गणना नै शुरु नभई यसले जित्यो र उसले हार्‍यो भन्ने बकम्फुसे घोषणा पनि भयो।

अलिकति इच्छा र धेरै बाध्यताले विदेशमा बस्दा पनि यो पटकको चुनावमा हेर्न र जान्ने काम भइरह्यो, यसलाई नकारात्मक रुपमा लिनु छैन। तर सबैले संयम भएर आफ्नो आफ्नो ठाउँबाट चुनावलाई सहयोग गरेको भए अझै राम्रो हुन्थ्यो कि?

1 comment to स्थानीय चुनावलाई विदेशबाट हेर्दा

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)