यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

मिसन : अधुरो

—जयराज भट्टराई—

अधुरो शब्द देख्नासाथ लागेको थियो– वाह रे वाह । क्या सजिलो थिम । एउटा अधुरो कथा गुटुङटुङ लेखिन्छ । लेख्नुपर्ने समयसीमा छ पन्ध्र दिन । पन्ध्र पन्ध्र दिन, सजिलो थिमका लागि टु मच भयो । तर सोचेजस्तो बिल्कुल भइदिएन । दिमागमा बाह्र दिनसम्म अधुरोको घण्टी बजिरह्यो । तेह« दिनमा घरको बरन्डामा बसेर बाटोपारिको बकैनाको टुप्पो हेर्दै सोच्दा सोच्दा गरेँ । अहँ ! फायरिङ भएन । बेलुकापख बरु एउटा गजल सम्बन्धि विचार पैदा भयो ।

थिम प्राप्त भएको आज पन्ध्रौँ दिनमा एकाविहानै बबिताको फोन आयो– ‘दाजु ! म आजै आइपुगेकी । तपाईंलाई पहाडबाट सब्जी ल्याइदिएकी छु । लिन आउनू ल ।’
बबिता पाँचथरे केटी हो । क्याम्पसे जीवनमा मसँगै पढेकी साथी हो । तर दाइ भन्छे । बबितामात्र होइन, पाँचथरबाट अध्ययनका लागि झरेका राम्री ग्याङ्गका सबै सदस्यले मलाई दाजु भन्थे । आफूलाई पहाड मनपर्ने भएता पनि समयको खेलोफट्कोमा परेर मधेसतिरकै ज्वाइँ बन्नपुगेँ । बबिता लगायत सिङ्गो पहाडले त दाइ बनाइहाल्यो । यस विषयमा केही गर्न सकिएन ।

एक तहको पढाइ सकेर म एउटा स्कुलमा पढाउने कर्ममा लागेँ । बबिता पनि मेरै शहरमा पढाउन थाली । तर, मेरो दुर्भाग्यले हामी दुईले पढाउने स्कूल भिन्नाभिन्नै प¥यो । संस्था फरक परेपनि कर्म एउटै भएकोले होला, हाम्रो मित्रता आजका दिनसम्म ज्यूँका त्यूँ छ । ऊ पाँचथर गएर फर्किंदा मलाई केही न केही ल्याइदिन्छे । आजका दिनसम्म निकैवटा पान्थरे उपहार भेटिसकेको छु मैले । काँचो अलैँची, भकमिलो र ओखरदेखि लिएर एउटा अम्लिसोको कुचो पनि उपहारमा पाएको छु । यसपालि पहाडे सब्जी प्राप्त हुनलागेको छ । साउनको यो दिनमा आफ्ना बारीमा जालो पसेका घिरौँला बाहेक अर्थोक केही छैन । त्यसैले पहाडे उपहार ग्रहण गर्ने हतारो महशुस भयो । बबितालाई भेट्न जाँदा अलि राम्रै लुगा लगाएर सत्रचोटि ऐना हेरेर जाने गरेको छु । मैले चाहेर होेइन । आफैँ यस्तो हुन्छ । आज पनि दराजभित्रबाट आइरन गरेका धारिला लुगा निकालेँ । ती वस्त्र धारण गर्दैगर्दा झ्वास्सै एउटा आइडिया आयो— ‘आहा ! बबिताको विषयमा कथा लेखिन्छ अब । यो सम्बन्ध अधुरो अधुरो छ । यही अधुरो सम्बन्धको डोरो समातेर कथाको पल्लोछेऊ पुगिन्छ अब ।’

‘ना जाने कोइ…कैसी है ए जिन्दगानी…जिन्दगानी…. हमारी अधुरी कहानी…’ ऐना अगाडि उभिएर यही गीत गुन्गुनाउँदै सर्टका बाहुलामा हात छिराएँ । आधा चेतना बबिताकै सम्झनामा खर्च भइरहेको थियो । बाँकी आधा अधमरो चेतनासँग सर्टका टाँक लगाउन थालेँ । अघि कतिखेर प्यारी श्रीमती मेरा छेऊमा आएर उभिएकी रहिछन् । हैट् ! कस्तरी झस्किएँ । त्यो झस्काइसँगै अघिदेखि सम्झनामा डेरा जमाएकी बबिता सुइँकुच्चा ठोकी ।

‘क्या हो ! बिहान बिहानै कस्तो अधुरी कहानी, कस्तो जिन्दगानी । कता हिँड्न लाग्नुभा ।’— श्रीमतीले सोधिन् । अब उनलाई के भन्ने ? भनिदिएँ— तिमीलाई थाहा छँदैछ नि । अधुरो थिममा कथा लेख्नुछ । त्यसकै विषयमा सोच्दैथिएँ । कथाको लागि मलाई एउटा तुफान आइडिया आएको छ । सुन्छौ ?’

‘तपाईं पनि घरि के घरि के । कथा फुरेन । गजल पो लेखिन्छ भन्दै हुनुहुन्थ्यो । होइन ?’

‘हेर डार्लिङ, आइडिया भन्ने कुरो दिमागभित्र एम्बुस थापेर बसेको हुन्छ । त्यो कतिखेर पड्किन्छ थाहा हुँदैन । यी, अहिले आएर पड्कियो ।’

‘सुनुम् न त । कस्तो कथा पड्कियो ।’

मैले सुरु गरेँ—‘एउटी केटी छे—आइतमाया । एउटा केटा छ— मनप्रसाद । आइतमाया र मनप्रसाद एउटै क्याम्पस पढेका हुन् । तर अहिले क्याम्पसको पढाइ सकिसक्यो । मनप्रसादले आइतमायालाई प्रेमिकाको हिसाबले असाध्यै मनपराउँछ । आइतमायाले पनि मनप्रसादलाई असाध्यै मन त पराउँछे तर, दाजु सम्झेर । मनप्रसादलाई टेन्सन हुन्छ अनि…….’
मेरो वाक्य टुङ्गिन नपाई श्रीमती फ्याट्ट बोलिन्— ‘ह्या..फ्लप आइडिया । सप्पै फिल्ममा पनि यस्तै त हुन्छ नि ।’

‘मेरो अलिक फरक छ ।’—मैले कथा अघि बढाएँ—‘केटीको घर पाँचथर हो । तर केटोको घर भएकै शहरमा जागिर खान्छे । ऊ शिक्षिका हो । केटो शिक्षक हो । तर, उनीहरुले पढाउने स्कुल चाहिँ छुट्टाछुट्टै । ऊ पहाड गएर फर्किंदा केटोको लागि केही न केही उपहार लिएर आउँछे । कहिले इस्कुस । कहिले काँक्रो । कहिले अलैँची । तर दाजु साइनो लगाउन छोड्दिन । एकपटक केटी बैशाख महिनामा पहाड जान लागेकी हुन्छे । केटोले भन्छ— आइतमाया, मलाई पहाडकी केटीसँग बिहा गर्न मन छ । उतातिर कोही छैन ?’

‘हा..हा..यो दाजु त ।’—आइतमाया खित्का छाड्छे— ‘तपाईंको बारेमा कुरा चलाउँछु नि त । कुनै केटीले मानी भने फोटो ल्याइदिन्छु ।’

मनप्रसाद भन्छ —‘फोटोसोटो पर्दैन । बरु त्यसले मेरो लागि लालीगुराँसको एउटा थुङ्गो पठाओस् ।’

आइतमाया पहाड जान्छे । केही दिन बसेर फर्किन्छे । फर्किने बित्तिकै मनप्रसादलाई फोन गर्छे र भन्छे— ‘म आजै आइपुगेकी । तपाईंलाई पहाडबाट सब्जी र अर्को एकथोक ल्याइदिएकी छु । लिन आउनू ल ।’

मनप्रसाद उडेर केटी भेट्न जान्छ । केटीले दुई मुठो पहाडे रायो दिन्छे । अनि लजाउँदै लजाउँदै दिन्छे एउटा गुराँसको थुङ्गो । गुराँसको फूल सुम्सुम्याउँदै मनप्रसाद सोध्छ—‘यो गुराँस पठाउने केटीको नाम के हो?’

लाजले होला, आइतमायाको अनुहार लाल हुन्छ । मनप्रसादको अनुहारमा हेर्छे र आँखा चिम्म पारेर भन्छे—‘आइतमाया ।’

मैले कथाको आइडिया खरर सुनाइसकेपछि श्रीमतीलाई सोधेँ—‘कस्तो छ कथा?’

उनले भनिन्—‘यो कथा अधुरो थिमसँग मेल खाँदैन । बरु एउटा कुरा चेन्ज गर्नू ।’

‘के ?’

‘मनप्रसाद गुराँसको आश गरेर बसेको हुन्छ । तर आइतमायाले मखमली फूल पो लिएर आउँछे । अनि भन्छे—मेरो यस्तो प्यारो दाजुको लागि कुनै राम्री केटी भेटिनँ । बरु आफैंले यो फूल ल्याइदिएँ । यो बहिनीको तर्फबाट मखमली फूल स्वीकार गरिदिनुहोस् ।’

‘तोइट‘—मैले बिरोध गरेँ—‘कार्तिकमा फुल्ने मखमली बैशाखमा कहाँबाट ल्याउँछे ?’

उनले भनिन्—‘बैशाखमा फुलेको मखमली भनेँ र मैले ? अस्ति कार्तिकमै फूलेको थियो, आइतमायाले टिपेर राखेकी थिई, त्यही ल्याइदिई । मखमली ओइलाउँदैन डियर श्रीमान् ।’
मलाई अलि चित्त बुझेन । भनेँ—‘गुराँसको जस्तो मजा मखमलीमा आएन ।’

उनले भनिन्—‘गुराँस होस् कि मखमली, जेसुकै गर्नू । तर यो कथाभित्र केही लुकेको छ ।’

कथा पुरा थ्रिलर भयो कि क्या हो ? म पुलकित बनेर सोधेँ— ‘के लुकेको छ?’

उनले भनिन्—‘कतै सुने सुने जस्तो । मेरै वरिपरि घटेजस्तो ।’

मैले भनेँ— ‘त्यस्तो हुन्छ । कथा मनपर्यो भने त्यस्तो फिलिङ आउँछ । आफ्नै कथा जस्तो लाग्छ ।’

‘होइन । पहिले कतै सुनेजस्तो । पहिले नै थाहा पाएको जस्तो ।’

‘धत् । होइन । यो फ्रेस आइटम हो ।’

‘ए……’—उनले लेघ्रो तानिन्—‘तपाईं यस्तो हुनुहुँदो रैछ । तपाईंलाई मैले बेक्कार विश्वास गरेकी ।’

‘के बोल्या त्यस्तो ? बुझिने भाषामा भन ।’

‘आइतमाया होइन बबिता हो । मनप्रसाद होइन जयराज हो । पख्नू तपाईंलाई ।’

‘छ्या..छ्या के भनेको त्यस्तो ? तिमीलाई थाहा छ त, बबिता मेरी बहिनी हो । कथा भनेको कथा हो । पुराका पुरा काल्पनिक ।’

‘होइन, साँच्चै हो । त्यो मनप्रसाद तपाईं हो ।’—यति भनेर श्रीमती सुँकसुँकाउन थालिन् ।

‘कस्तो मान्छे तिमी । त्यस्तो हुँदैहोइन । हुनै सक्दैन । फोकटमा सुनाएँछु तिमीलाई ।’

‘मेरो टाउकोमा हातराखेर होइन भन्नू ।’

‘धत्तेरिका ! के के आइलाग्छ जिन्दगीमा ।’—मैले उनको टाउकोमाथि दाहिने हत्केला राखेर भनेँ—‘यो कथाका पात्रहरु काल्पनिक हुन् । कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।’

श्रीमतीलाई चित्त बुझेनछ । फुल भोल्युममा फेरि कराइन्—‘कसैको जीवनसँग होइन । तपाईंको जीवनसँग मेल खानु भएन ।’

मैले उनको शिरबाट हात झिकेकै थिइनँ । अलिकति परिमार्जन गरेर अघिकै घोषणा दोहोर्याएँ—‘यस कथाका पात्रहरु हन्ड्रेड पर्सेन्ट काल्पनिक हुन् । कसैको जीवनसँग मेल खाएमा संयोग हुनेछ । मेरो जीवनसँग मेल खाँदैखाँदैन । भयो अब?’

श्रीमती अलिकति उज्याली भइन् । अनि भनिन्—‘ल ठीक छ । तर यो कथा लेख्न पाउनुहुन्न । बरु तपाईंले सोचिराखेको गजल लेख्नू ।’

‘भइहाल्छ नि । आफ्नी प्राणप्रिय श्रीमतीले भनेको त्यति जाबो कुरो । लौ सुन मेरो गजल—

छातिभित्र लोडसेडिङ भो, दृष्टि मेरो मधुरो भो
दाजु भनिन् उनले स्याला, जिन्दगी नै अधुरो भो ।
जोगी बन्ने रहर जाग्यो, कपाल बढ्यो, दाह्री बढ्यो
पीडा खप्न खाने कुरो गाँजा भाङ र धतुरो भो ।
दाजु भनिन् उनले स्याला, जिन्दगी नै अधुरो भो ।
श्रीमती फेरि सुँक्क सुँक्क गर्न थालिन् ।

3 comments to मिसन : अधुरो

  • shiva hari adhikari

    कथा राम्रो छ

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Vicky Dev

    “मिसन : अधुरो” संग मेल खाले अधुरो कथा. लेख्ने तरिका त मन परो तर कथा को रुप मा खासै पन परेन त ब्रो.
    जे होस् कथा चाही पुरै पडियो है.

    विक्की

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • हरी

    राम्रो छ..

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0