यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : हत्तार

– किशोर सुब्बा (लिम्बु) –

– हेलो ..
– सर ! कहाँ आइपुग्नु भयो । कार्यक्रम शुरु हुन लाग्यो ।
– हँ ! कति बज्यो ?
– सर.. साढे दस भैसक्यो । चाँडो आउनुस है ! शुरु हुन लाग्यो ।
बद्री छाँगाबाट खसे झै भयो । भित्ताको घडी ८ बजेमा आएर निदाएछ । हत्तार हत्तार उठ्यो । बाथरुममा को पसेका रैछन् । निक्लीने अत्तो पत्तो थिएन । किचेनमै मुख धुन लाथ्यो । भरी पानीको मग लड्यो । “हत्तारको बेला लत्तार” पानी सोहोर्नुको दास्ती भयो । हत्तार लुगा लगाएर निक्लिन ला’थे । ढोकामा अल्झेर सर्टको टाँक खुस्क्यो । अर्को सर्ट लगाएर भ¥याङ्गमा सर्टको टाँक लगाउँदै झर्दै थिए ।
– के हो..बद्री भाइ भाडा तिर्ने बेला भएन ? अस्तिको महिनाको पनि बाँकी नै छ ।
– ए ! हुन्छ दाइ । भरे नभए भोलीसम्ममा दिन्छु ।
– कहिले भेटिने होइन । भेट्दा भरे भोली भनेर भाग्छौ । भोली चाँहि जसरी पनि दिनु..

“लगनको बेला हगन” यी घरबेटीलाई पनि.. मनमनै भुनभुनिदै हत्तार मोटरसाइकल निकालेर हिड्न ला’थे । कालो बिरालोले बाटो काट्यो । एकछिन मोटरसाइकल पुच्छदै बस्यो । एक दुई जना हिडे पछि बद्रि बाटो लाग्यो । चोक पुग्ने बेला पो थाहा पायो हेल्मेट बिर्सेछन् । हत्तार आएर हेल्मेट निकाल्यो । टि.भि. खुल्लै रहेछ । बन्द गरेर दौडियो ।
– हेलो.. म आइहालें ।

हत्तारमा दौडिदैथे । टेकु पुगेसी बाइक पम्चार भायो । “थुइक्क खप्पर… यस्लाई पनि आजै पड्कीनु पर्ने” । बद्रि रीसले त्रिभङ्ग भयो । यता उता हे¥यो । छेउको वर्कसप बन्द रैछ ।

– दाइ ! यहाँ नजिक वर्कसप कहाँ छ ?

– उ.. त्यो भोटेबाहाल जाने गल्लीमा ।

वर्कसपमा केटो बाइक वासिङ्ग गर्दै थियो ।

– भाइ ! पम्चर बनाइदेउ न ।

– हुन्छ ।

मोबाइलमा हेर्‍यो ५ मिसकल रैछ । साढे एघार भैसकेछ ।

– भाइ ! छिटो गर न ।

– एकछिन पर्खिनु न । यो सकेर गर्दिन्छु ।

– मलाई ढिलो भयो के..

– मैले के गरुँ त दाइ । तपाँइ भन्दा अगाडीको काम गर्दैछु । यो सकेर गर्दिन्छु भने कै छु ।

एता उता हेर्‍यो पर्खिनुको विकल्प थिएन । करिब आधा घण्टा पर्खेर पम्चर बनाएपछि हत्तार हत्तार दौडियो । कालीमाटीको पुल छेउमा पानीको गाडीले बाइकलाई ठोक्काएछन् । जाममा पर्‍यो । घडी हेर्दै हुटहुटी हुदै “हैन कस्तो चाहि दिनमा कुन असतीको अनुहार हेरेर हिँडिएछ आज ?” भुनभुनायो । नेपालीहरुको कार्यक्रम प्रायः जसो ढिलो नै शुरु हुने गरेको सम्झेर अलि ढुक्क भयो । जसो तसो पुगिएला । मन बुझायो । यता उता हे¥यो । उपाया खोज्यो । उपाया केहि नास्ती । खटपट खटपट गर्दै जाममा बस्यो । बाइकबाट लडेकालाई एम्बुलेन्समा लगे । बाइक र पानीका गाडीलाई साइड लगाएपछि करिब ४५ मिनेट पछि जाम खुल्यो । बद्रिको खुशीको सीमा रहेन । हत्तार हत्तार दौडिदै थ्यो । बल्खु चोकमा ह्रङ्ग साइडबाट घुसेको भन्दै ट्राफिक पुलिसले समात्यो । ट्राफिक पुलिस बाइकको चाबी लिएर बिचमा गएर गाडी पास गर्दै बस्यो । बाइक साइड लगाएर बद्रि ट्राफिक पुलिसको नजिक गएर भन्यो ।

– सर ! चाबी दिनुस् न । मलाई हत्तार छ ।

– ए हो ! यो काठमाण्डौमा तपाइँलाई मात्र हत्तार रैछ है ?

– मैले तेस्तो भनेको हैन हजुर । मलाई अलि हत्तार थियो र भनेको ।

ट्राफिक पुलिसले बद्रिको कुरा सुनेको नसुने झै आफ्नै काम मै ब्यस्त रह्यो । बद्रिका मनमा पहाडले किचिरहेको थियो । घडी हे¥यो । एक बज्न लागि सकेको थियो । ति घडिका सूइहरुलाई रोकिदिउँ जस्तो । त्यो ट्राफिक पुलिसलाई पिटपाट पारेर चाबी लिएर हुँइकिउँ जस्तो । खै के के सोच्दै बद्रि हुटहुटी हुदैथे । लामो स्वास लियो । अलि सम्हालिएर पुनः ट्राफिक पुलिसको छेउमा गएर भन्यो ।

– सर..!

– तपाइँ एकछिन चुपलागेर बस्नुस् । कि बाइक पठाइदिउँ बग्गीखाना ।

वकीट्वकी कान नजिक लाग्यो । बद्रिका मनमा झस्का पस्यो । मोराले साँच्चै बाइकै लगिदिने पो हो की ? चुपचाप “श्यालले साँडेका अण्डा पर्खे झैं” ट्राफिक पुलिसको मुड पर्खिनुको विकल्प थिएन । निक्कै बेरपछि ट्राफिक पुलिसले जरिवानाको चिट काटेर बाइकको चाबी दिए । बद्रिको अनुहारमा खुशिका छालहरु उरालिए । हत्तार हत्तार टि.यु. तिर दौडियो । टि.यु. गेट हुदै उकालो लाग्यो । नेपाल बैङ्क छेउ तिर पुगेपछि बाइक रोकियो । पेट्रोल सकिएछ । रीसको आगोले टाउको फुट्ला जस्तो भयो । “तेसिमा..खटारा..” बद्रिले दुई लात्ति दिएर बाइक लडायो । खुट्टो फलाममा परेछ । दुखेर तीन परान भयो । झण्डै मूत नखुस्केको । “रीस खा आफू” के गर्नु जति रीस देखाए पनि अरु के गर्न सक्थ्यो र ? बिचारा बद्रि ओरालो बाटोमा डोहो¥याउँदै पेट्रल पम्ममा पुर्‍यो । पेट्रोल हालेर दौडिनै ला’थे ।

– ओ दाइ !

– हजुर

– पैसा दिनु पर्दैन ?

– हँ ..ए हे ! सरी.. म त हत्तारले विर्सेछु ।

पर्स खोल्यो । ५० रुपैया मात्रै रहेछ । मन मनै चूर भो आफैसँग । कस्तो बिपद । सबै कुरो आजै हुनु पर्ने ।

– ला.. भाइ !

– के भो ?

– पैसा पो रैनछ त ।

– पहिले हेर्नु पर्दैन । पेट्रोल हालिसकेपछि पैसा छैन भन्छ । कस्ता कस्ता मान्छे आउँछन् । दिमाग खराब…

– कसो गरुम ?

– पैसा ल्याउनुुुस न के कसो गरुम भनेको ? हाल्ने बेला हेर्नु पर्दैन ? अहिले ल्याङ्ग ल्याङ्ग गर्ने ।

– यता नजिकमा एटिम कहाँ छ भाई ?

– उ.. त्यो उकालोमा छ ।

– म गएर आउँछु है ।

– आउनु भएन भने के गर्ने ? बाइक छोडेर गएर आउनु त्याँहि त हो ।

– हत्तेरी भाइ ।

– के हत्तेरी नी तपाइँ सधै आउने मान्छे भए पो विश्वास गर्नु नी । चिन्नु न जान्नुको मान्छे । भरे आउनु भएन भने ? ल ल.. लाइसेन्स छोडेर जानुुस । कस्तो कस्तो मान्छे आउँछ दिमाग
खराब । पेट्रोल हाल्छ । पैसा छैन भन्छ ।

लाइसेन्स छोडेर एटिएमबाट गएर पैसा लिएर आयो । हत्तार हत्तार टि.यू.को घडीघर अगाडी पुग्यो । बद्रिको बल्ल आनन्दको स्वास आयो । कुनै महान युद्द जिते जस्तो…। किताब पसलहरु क्रस गर्दै गर्दा के विर्से ! के विर्से ! जस्तो हुदै थ्यो । लाइबेरी झर्ने बाटोको अपोजिटबाट उकालो लाग्दा पो झल्यास्य भयो । आजको प्रेजेनटेशनको प्रिण्ट त घरमै भूलेछन् । फर्केर फोटोकपी पसलमा पेन ड्राइभबाट प्रिण्ट गर्न दियो ।

– दाइ ! यो प्रिण्ट गर्दिनु त हत्तार छ ।

– ल.. एकैछिन है ! वहाँको प्रिण्ट हुदैछ ।

बद्रि मन मनैमा हत्तार लगाउदै खटपट खटपट गर्दै बस्यो ।

– दाइ सकिएन ?

– सक्किहाल्यो ।

“साह्रै पिसाबले च्यापेको बेला ट्वाइलेट पर्खिनुको पीडा” जस्तो.. । सकियो … अब सकियो …अझै सकिएन …सकि..ए..न..

– दाइ..

– अब सकियो । खोइ ल्याउनुुस् । कुन हो प्रिण्ट गर्ने ।

– उ त्यो…

करिब ५ मिनेट पछि पालो आयो । प्रिण्ट गरेर हत्तार दैडियो “हनुमानले घाम डुब्नु अगाडी सञ्जिवनी ल्याउनु पर्ने” चटारो जस्तो..। क्लासमा पुग्ने बेला पो याद भयो । पेन ड्राइभ त फोटोकपी पसलमै बिर्सेछन् । प्रेजेण्टेसनको श्लाइड पेन ड्राइभमै थ्यो । रीसको पारो पनि उम्लेर अब त अधिक्तम् विन्दुमा पग्लिसकेको थियो । “दुनियाँको बेकामे मान्छे” आफैलाई सराप्दै मन मनै मुरमुरीँदै फेरी फोटोकपी पसल पुग्यो । पेन ड्राइभ लिएर “बाघका पञ्जाबाट ज्यान बचाउन भागेको हरिण” झै तुफान दौडियो । अनौठो म्याराथुनमा बद्रिले करिब सवा २ तिर ऐतिहासिक जीत हासिल गरेका थे ।

हत्तार हत्तार ११७ नं रुममा पस्यो । चिट चिट आएको पसिना सुकाउन अघि प्रिण्ट गरेको कागजले हम्किदै अलि पछाडी खाली ठाउँमा गएर बस्यो । कार्यक्रम भरखर शुरु हुन लागेको देखेर बद्रिका मनमा खुशीका उमंग छायो । एकछिन त बद्रिलाई दिल खोलेर नाचुँ नाचुँ नै लागेको थ्यो । मन मनै सोच्यो “साला नेपाली हुनुको फाइदा यै त हो । कहिल्यै ढिलो भइदैन ।” त्यो जीतको आनन्द । त्यो हर्षोल्समा कता कता रङ हराएको जस्तो । खै के ? खै के ? नपुगेको जस्तो … । बद्रिले विस्तारै माहोल निहाल्दै गयो । जब उस्ले पेपर प्रेजेण्ट गर्ने मानवशास्त्रको लेक्चर प्रोग्राम सकिएर कुनै राजनैतिक भातृ संगठनको कार्यक्रम शुरु हुन लागेको थाहा पायो । बद्रिका खुशीका कोपिलाहरु फक्रिन नपाउदै सर्वस्व लुटिएर झरे । (कथाबाट साभार)

3 comments to कथा : हत्तार

  • uttam

    यस्तो पांग्रे हरु जता पनि हुन्छ !!!! कथा हो मज्जा लिनु सिध्यो त : एक एक चिज कोतैहाल्नु पर्छ र :::दिमाग खराब

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Kamal

    Not bad story but all the probability do not happen in same time.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • kishor karna

    निक्कै बेरपछि ट्राफिक पुलिसले जरिवानाको चिट काटेर बाइकको चाबी दिए ।
    *****
    लाइसेन्स छोडेर एटिएमबाट गएर पैसा लिएर आयो ।
    ****
    अनि ट्राफिक ले चाही चिट कसरि काट्यो त् ? अलि अस्वाभाविक लाग्यो !

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0