यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

मध्यरात निस्केर काठमाडौँका गल्ली-गल्ली घुमेको अनौठो आकृति

मंगलबार इन्द्रजात्राका क्रममा भैरव र गणेशको रथ छिट्टै वसन्तपुर फर्किए पनि कुमारीको रथ फर्काएर जीवित देवी कुमारीलाई कुमारी दरबारभित्र लैजाँदा नै रातको झण्डै ११ बजिसकेको थियो। रथयात्रा अपराह्न सुरु हुँदा राष्ट्रपतिदेखि प्रधानमन्त्री र अन्य गन्यमान्य व्यक्तिहरु उपस्थित थिए। रथयात्रा सकिएको संकेत स्वरुप तोप पड्किसकेको थियो। जात्रा हेर्न आएकाहरु विस्तारै घर फर्कँदै थिए। मध्यरात हुन लाग्दा भूकम्पका कारण भत्किएर जगमात्र बाँकी रहेको काष्ठमण्डप पछाडि भुति सत्तलबाट एउटा अनौठो आकृति निस्कन्छ। ट्याङ ट्याङ ट्याङ ट्याङ धिमे भुस्या नामको एउटा परम्परागत बाजा एकनासले बजिरहेको हुन्छ। एउटा सेतो मुकुण्डो लगाएको मान्छे बाहिरिन्छ। जामा पहिरिएको यो मान्छेको आँखा कसैले छोपेको हुन्छ। आँखा छोप्नेले मरु गणेशस्थान आएपछि बल्ल छोपेको हात निकाल्छ। तर पनि यो अचम्मको आकृतिको दुवै हात फैलिएको हुन्छ। ती हातहरु अन्य सहयोगीले समातिरहेका हुन्छन्। संगीतको तालसँगै यो आकृति मध्यरातमा काठमाडौँको गल्ली गल्ली परिक्रमा गर्न निस्कन्छ। यो आकृतिको पछि पछि हुन्छ सयौँ मानिसहरु। ती सबै सेतो पहिरनमा हुन्छन्। काठमाडौँमा हरेक वर्ष इन्द्रजात्राका बेला देखिने यो दृश्यको रहस्य के हो त ? आखिर को हुन् यिनी ?

हेर्नुस् मंगलबार मध्यरात देखिएको दृश्य भिडियोमा-

भिडियो माथि नखुले यहाँ क्लिक गरी हेर्नुस्


यिनी हुन् दागीँ। डंकिनीको अपभ्रंश रुप मानिन्छ दागीँलाई। यिनी वास्तवमा देवराज इन्द्रकी आमा हुन् रे दागीँको भेषमा काठमाडौँ आएका।

काठमाडौँमा पारिजातको फूल चोर्न आएका इन्द्रलाई यहाँका बासिन्दाले पक्रेर थुनेर राखेपछि उनकी आमा बसुन्धरा आफ्ना छोराको खोजी गर्दै काठमाडौँ आएका रहेछन्। यहाँको दरबारमा इन्द्रलाई चोर झैँ हात बाँधेर राखेको देखेपछि उनले काठमाडौँमा शीत ल्याइदिने वाचा गरेर उनलाई छुटाएछन्। काठमाडौँका बासिन्दालाई मृत आफन्तलाई भेट्न स्वर्ग लैजाने वाचा पनि गरेछन्।

इन्द्रलाई लिएर बसुन्धरा स्वर्ग जान लाग्दा मृत परिवारका आफन्तजनहरु उनीसँगै पछि लागेर गएछन्। अब परेन फसाद ! कहाँ जिउँदो मान्छेलाई स्वर्ग लैजान मिल्नु। स्वर्ग जानका लागि एउटा डाँडाको टुप्पोमा पुगेपछि उनले चलाखी गरिछिन्। नुहाएर पवित्र नभैकन स्वर्ग पस्न मिल्दैन। त्यसैले यकिँ दह अर्थात् इन्द्रदहमा नुहाएर आऊ। थानकोटमा पर्छ यो दह अहिले।

उनीहरु नुहाउँदै गर्दा बाक्लो कुहिरो लाग्छ। त्यही मौकामा इन्द्र र उनकी आमा भाग्छन्।

श्रुतिकथा यही हो। मिति थाहा नभएको बेलादेखि (लिच्छवी कालदेखि पनि भनिन्छ) चलेको यो परम्परा अहिलेसम्म पनि कायमै छ।

त्यंगःका एक ज्यापु (नेवारमा अरु जस्तो एक जात नभएर त्यसभित्र विभिन्न उपजाति हुन्छ। नेवारभित्रै पनि बाहुनदेखि लिएर कथित दलितसम्म हुन्छन्। नेवारहरुमा कृषि कार्य गर्ने जातिलाई ज्यापु भनिन्छ) ले सेतो मुकुन्डो लगाउँछन्। काष्ठमण्डपपछाडिको भुति सतःबाट आँखा छोपेर उसलाई ल्याइन्छ। उसको हात दुई जना सहयोगीले समाएका हुन्छन्। एक जना तुलाधरको घरमा यो मुकुण्डो राखिएको हुन्छ।

सबैभन्दा अगाडि मरु टोलका ज्यापुहरुको एउटा समूह हुन्छ। याकको रौँ लामो बाँसमा राखेर बनाइएको घुन्याँ घुमाउँदै धिमे भुस्या बजाउँदै अगाडि उनीहरु हिँडेका हुन्छन्। दागीँको पछाडि भने त्यो वर्ष ज्यान गुमाएका मानिसका आफन्तजन हुन्छन्। सबै सेतो पहिरनमा।

बाजाको तालमा यिनीहरु छिटोछिटो हिँड्छन्। हिँड्दा उनीहरुले मृतकको नाममा नौ थरी गेडागुडी बाटोमा छर्दै हिँड्छन्। दागीँको पछि पछि स्वर्गमा गएर घर फर्कने बाटो नबिर्सोस् भन्नलाई यसरी छर्कने चलन चलेको रे।

मरु गणेशस्थानबाट प्याफल हुँदै नरदेवी, असन, इन्द्रचोक, बसन्तपुर, चिकंमुगल, लगन, जैसिदेवल, ह्युमत, भीमसेनस्थान हुँदै काष्ठमण्डप गएर टुंगिन्छ यो यात्रा। यो यात्राको रुटले एउटा खड्गको रुप लिन्छ भनिन्छ। राजा गुणकामदेवले कालीको खड्ग कै आकारमा काठमाडौँ सहरको निर्माण गरेका थिए रे।

विदेशीहरु र नेपालीहरु पनि इन्द्रजात्रामा रथ तान्ने, लाखे, महाकाली नाच हेर्ने गर्छन्, तर यसमा भने उनीहरुको आँखा गएको हुँदैन।

यात्रा सकिएपछि भुति सतःमा बाँकी सामान फाल्छन्। मरुहिटीमा मुख धोएर उनीहरु घर फर्कन्छन्। कोही भने राति नै १२ किलोमिटर टाढा थानकोटमा रहेको इन्द्रदहमा नुहाउन भनेर पुग्छन्।

3 comments to मध्यरात निस्केर काठमाडौँका गल्ली-गल्ली घुमेको अनौठो आकृति

  • Deepak Tamrakar

    Dagi pathaune karya mero afnae ghar bata pathaune garincha . yesma tuladhar ko ghar bata hoena marutole lukunphalcha ka tamrakar ko ghar bata ho yeslai sachaunu hola bhanyabad.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Kimbdati kathaa matra namanu satya ghatana sanket gariraheko hunchha

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Bibek Dhakal

    जानकारीको लागि धेरै धेरै धन्यवाद सालोक्य जी. नेपाल मण्डल पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्नुको कारण ऐतिहासिक भौतिक सम्पदा मात्र नभएर माथि उल्लेख गरी जस्ता मौलिक र भिन्न किसिमका सांस्कृतिक सम्पदा पनि हुन्. काठमान्डू सहरका (काठमाडौँ दरबार स्क्वायर) वरिपरिका भौतिक सम्पदा त प्रकोप, उचित मर्मत संहारको अभाव इत्यादिले गर्दा दयनिय अवस्थामा पुगिसके तर यस्ता जात्रा र चाडपर्वहरुलाई जगेर्ना गर्न सके अनि धेरैलाई थाहा नभएका यस्ता रोचक अनि प्राचिन चलनहरुलाई विश्व सांस्कृतिक सम्पदाको सुचिमा सुचिकृत गर्न सके (जसरि निउजिल्याण्डका आदिवाशी नृत्यहरुलाई गरिएको छ), अझै पर्यटकहरु भित्र्याउन सकिन्थ्यो र साथै यिनको पछिसम्म जगेर्ना पनि हुन्थ्यो.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0