यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

सेप्टेम्बर ११ को यो फोटोभित्र लुकेको रहस्य

911
यो फोटो सम्झनुभएको छ ? १६ वर्षअघि आज अर्थात् सेप्टेम्बर ११ का दिन वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी आक्रमणपछि त्यो गगनचुम्बी भवनबाट हाम्फाल्दै गरेको फोटो हो यो। फोटो पछाडिको कथा झन् रोचक छ, फोटो खिच्ने फोटोग्राफर आफै एउटा इतिहास हुन्, आलोचना पनि चर्को खेप्नु पर्‍यो यो फोटोले, हाम्फाल्ने को हो भनेर पत्ता लगाउन पत्रकारहरुलाई कति गाह्रो भयो, यो सब इतिवृत्तान्त एसक्वायर म्यागेजिनमा सन् २००३ मा प्रकाशित भएको थियो। यहाँ त्यसैको केही प्रमुख अंशको अनुवाद राखिएको छ।

फोटोमा देखिने मान्छे खसेको हैन उडेको जस्तो देखिन्छ। उनी शान्त छन्। अरु सबै यस्तै हाम्फाल्नेहरुको फोटोमा कुनैमा सर्ट नभएको, कुनैमा जुत्ता पनि उडेको देखिन्छ। यसमा भने उनी सीधा तल झरिरहेको देखिन्छ। पछाडिको भवनको लाइनहरु र उनको जिउको लाइन एकैनासको देखिन्छ। स्थानीय समय अनुसार बिहानको ९ बजेर ४१ मिनेट जाँदा खिचिएको यो तस्बिरपछि १५० माइल प्रति घण्टाको गतिमा उनी तल खसे र गायब भए।
9111

*********
फोटो खिच्नेको इतिहास
यो खिच्ने इतिहासमा अपरिचित हैनन्। रिचर्ड ड्रयुले खिचेका हुन् यो फोटो। त्यो घटनाका उनी एक प्रत्यक्षदर्शी हुन्। उनी २१ वर्षका हुँदा बबी केनेडीको हत्या भएको थियो। त्यतिबेला उनी केनेडीको ठीक पछाडि थिए। टाउकोमा गोली हानी केनेडीको हत्या हुँदा उनको ज्याकेटमा रगतै रगत लागेको थियो। तर उनी उफ्रिएर टेबलमा गए र केनेडीको फोटो खिचे, उनको खुला र विस्मयादिबोधक आँखा प्रष्टै देखिने गरी। त्यसपछि उनी इथेल केनेडीको फोटो खिच्न थाले, जो आफ्ना पतिलाई सहारा दिँदै फोटोग्राफरहरु र उनलाई फोटो नखिच्न अनुरोध गर्दै थिइन्।

रिचर्डले कहिल्यै त्यसो गरेनन्। उनले केनेडीको रगत लागेको ज्याकेट सुरक्षित राखेका छन्। तर फोटो नखिच्ने काम उनले कहिल्यै गरेनन्। उनी एसोसिएटेड प्रेस (एपी) मा काम गर्छन्। उनी पत्रकार हुन्। आफ्नो फ्रेममा पर्ने दृश्यलाई अस्वीकार गर्न उनी सक्दैनन्। क्यामेराले शरीर जिउँदो हो कि मृत हो छुट्याउँदैन। र, उनी शरीर खिच्ने व्यवसायमा छन्।

र त्यो दिन पनि उनी शरीरकै फोटो खिच्दै थिए। सेप्टेम्बर ११ को बिहान एपीले उनलाई ब्रायन्ट पार्कमा गर्भवती मोडलहरुको फेसन सोको फोटो खिच्ने असाइनमेन्ट दिएको थियो। ५४ वर्षका यी बूढा फोटोग्राफर फोटो खिच्दै थिए, अचानक सिएनएनका क्यामेराम्यानको इयरपिसमा उत्तरी टावरमा प्लेन ठोक्किएको खबर आयो। त्यसको केही बेरमै सम्पादकले पनि उनलाई फोन गरे। जागिर न पर्‍यो, आफ्ना सामान प्याक गरे र लम्किए सबवे डाउनटाउनतिर।

त्यहाँ पुग्दा त दुईवटै टावरबाट धुँवा उडिरहेको। आफ्नो सामान निकाल्दै उनी पश्चिमतिर लागे जहाँ एम्बुलेन्सहरु रोकिएका थिए। उनी किन पनि त्यहाँ गएका थिए भने सामान्यतया उद्धारकर्मीहरुले आफूहरुलाई हटाउँदैनन्। अहो अहो भनी मान्छेहरु कराएको उनले सुने। उनीहरु भवनतिर हेर्दै कराउँदै थिए। मेरी आम्मै ! त्यो गगनचुम्बी भवनबाट मान्छेहरु हाम्फाल्दै थिए। उनले आफ्नो २०० एमएमको लेन्स निकाले र खिच्न थाले। उनी एक जना प्रहरी र एक आपत्कालीन् प्राविधिकको बीचमा थिए र प्रत्येक पटक एक जना कराउँथे। “ऊ अर्को” उनको कयामेराले एउटा खस्दै गरेको व्यक्ति भेट्टायो र नौदेखि १२ वटा सटको सिक्वेन्स उनले खिचे। त्यस्तै १० देखि १५ वटा फोटो खिचेपछि उनले दक्षिणी टावर भत्किएको आवाज सुने। उनले एम्बुलेन्सबाट एउटा मास्क लिए र उत्तरी टावर च्याउ जस्तै देखिने गरी विस्फोट भएको फोटो खिचे। व्यवसायिक जिम्मेवारी पूरा गरेको महसूस गरे र त्यहाँबाट हिँड्दै आफ्नो कार्यालय पुगे।

एपीको कार्यालयमा कुनै आतंक वा अन्यौल थिएन। सबै आफ्नो काम गरिरहेका थिए। उनले पनि आफ्नो डिजिटल क्यामेराबाट डिस्क निकाले र आफ्नो ल्यापटपमा राखे। एकैछिनमा उनको क्यामेराले मात्रै देखेको एउटा दृश्य देखियो- मान्छे खसिरहेको। उनले त्यही सिक्वेन्सका अरु फोटोहरु पनि हेरेनन्।

त्यो फोटो उनले एपीको सर्भरमा पठाइदिए। भोलिपल्ट बिहान द न्युयोर्क टाइम्सको पेज सातमा यो फोटो छापियो। त्यतिमात्र हैन, देश अनि विदेशमा सयौँ पत्रिकाहरुले त्यो फोटो छापे। फोटोमा देखिएका ती व्यक्ति को थिए भन्ने चाहिँ कसैलाई थाहा थिएन।
****************
मान्छेहरु फुत्त फुत्त हाम्फालेको फाल्यै
पहिलो विमान उत्तरी टावरमा ठोक्किएर आगो लागेको धेरै समय नबित्दै उनीहरु हाम्फाल्न थालेका थिए। यो क्रम टावर ध्वस्त नहुँदासम्म जारी थियो। उनीहरु पहिल्यै भाँच्चिएका झ्यालहरुबाट हाम्फाल्दै थिए, हाम्फालेर उनीहरु आफै पनि भाँच्चिदै थिए। उनीहरु आगो र धुँवाबाट बच्न हाम्फाल्दै थिए; टाउकोमाथिबाट सिलिङ खस्न थालेपछि र खुट्टामुन्तिरको भूँइ खस्कन थालेपछि उनीहरु हाम्फालेका थिए। उनीहरु मर्नुअघि एक पटक श्वास फेर्न हाम्फालेका थिए। उनीहरु भवनको चारै कुनाबाट हाम्फालेको फाल्यै गरेका थिए। डेढ घण्टासम्म एकपछि अर्को गर्दै उनीहरु हाम्फाल्दै रहे। यस्तो लाग्थ्यो मानौँ कसैलाई कोही हाम्फालिसकेपछि मात्रै हाम्फाल्ने आँट आएको होस्। हाम्फालेपछि उनीहरु मुश्किलले १० सेकेन्डमात्रै बाँचे होलान्। निश्चय पनि खसेपछि उनीहरुको मृत्यु मात्र भएन, उनीहरुको शरीर टुक्राटुक्रा भयो। एक जना त उद्धारकर्मीमाथि बज्रिए र उसको पनि मृत्यु भयो।

हे भगवान् उनीहरु हाम्फाल्दै छन्। प्लिज उनीहरुको आत्माको रक्षा गर, एक महिला त्यहाँ कराउँदै थिइन्। विश्वको इतिहासको एउटा क्रुर आत‍ंकवादी आक्रमणको प्रतिक्रिया त्यहाँ त्यसरी दिइँदै थियो ।
****************
फोटोको आलोचना र रहस्य पत्ता लगाउने जमर्को
रिचर्ड ड्र्युले खिचेको यो फोटो अमेरिकाका अधिकांश पत्रिकाहरुमा छापियो र सबैले आफूलाई यस्ता आरोपहरुको बचाउ गर्दै हिँड्नु पर्‍यो- मान्छेको मृत्युलाई शोषण गरेको, सम्मानजनक मृत्युबाट वञ्चित गरेको, मृतकको गोपनीयताको हनन् गरेको, दुर्घटनालाई अश्लीलतामा बदलिएको..!
गुनासोका धेरै चिट्ठीहरुमा एउटा चासो थियो, फोटो हेर्नेले मृतकलाई प्रष्टै चिन्नेछन्। तर ९/११ को घटनाको एउटा आइकोनिक फोटो भए पनि खासमा त्यो फोटो कसको थियो अझैसम्म पनि कसैलाई पत्तै थिएन।

टोरन्टो ग्लोब एन्ड मेलका सम्पादकले पिटर चेनी नामका एक रिपोर्टरलाई यो रहस्य सुल्झाउने जिम्मेवारी दिए। सुरुमा त चेनीलाई सुरुमा कसरी यो काम फत्ते गर्ने भन्ने लाग्यो। पछि उनले हराएका र मरेका सबै अनुहारहरुको फ्लायर्स भेला पारे। अनि उनले त्यो हाम्फालेको फोटोलाई एउटा पसलमा ठूलो पारेर छाप्न दिए। त्यसबाट बल्ल थाहा भयो हाम्फाल्ने मान्छे कालो नभई कालोकालो देखिने छाला भएको संभवतः ल्याटिनो हुनसक्छ। उसले गोटी लगाएका थियो। फोटोमा उसको कालो प्यान्टबाट उडिरहेको देखिने सेतो सर्ट वास्तवमा सर्ट नभएर ट्युनिक वा त्यस्तै रेस्टुरेन्ट कामदारले लगाउने खालको ज्याकेट हो।

उत्तरी टावरको टपमा विन्डोज अन द वर्ल्ड नामको रेस्टुरेन्ट थियो, जसका ७९ कर्मचारी त्यो घटनामा हराएका थिए। साथमा ९१ ग्राहक पनि। फोटोमा देखिएका मान्छे उनीहरुमध्ये एक हुने संभावना देखियो। तर खासमा को थिए त ?
हराइरहेकाहरुको फोटो अझै पनि त्यहाँ जताततै देख्न सकिन्थ्यो। ती मध्ये एक जनालाई उनले ध्यान दिएर हेरे। त्यो रेस्टुरेन्टमा पेस्ट्री सेफका रुपमा काम गर्ने, सेतो ट्युनिक, गोटी लगाएका र ल्याटिनो। उनको नाम नोर्बर्टो हर्नान्डेज थियो। क्विन्स निवासी। रिचर्डले खिचेको फोटो ठूलो पारेर प्रिन्ट गरेको उनको साथमा थियो, त्यही बोकेर उनि हर्नान्डेजका दाजु र बहिनीकहाँ गए। उनीहरुले भने, हो, यो नोर्बर्टो नै हो। बहिनी मिलाग्रोसले त्यो दिन बिहान मान्छे हाम्फाल्दै गरेको टेलिभिजन भिडियो पनि हेरेकी थिइन्। उनले एक जना हाम्फाल्नेलाई ओलम्पिक डाइभर जस्तै देखेर चिनेकी थिइन्, त्यो उनको दाजु नै हुनुपर्छ। अब यो फोटो देखेपछि उनी झन् प्रष्ट भए।

अब चेनीको काम सजिलो भयो। उनले अब नोर्बर्टोकी पत्नी र तीन छोरीबाट पहिचान पु्ष्टि गराउनमात्रै बाँकी थियो। तर उनीहरु बोल्न चाहिरहेका थिएनन् नोर्बर्टोको एउटा पाखुराको डिएनएबाट पहिचान हुने गरी उनको अस्थि भेट्टाइसकिएको थियो। त्यसैले उनी अन्त्येष्टि कार्यक्रममा गए। उनले त्यही फोटो बोकेर गएका थिए। नोर्बर्टोकी तीन छोरीमध्ये जेठी ज्याक्वेलिन हर्नान्डेजलाई उनले फोटो देखाए। एकैछिन फोटो हेरेपछि उनले चेनीलाई त्यहाँबाट तुरुन्तै जान अह्राए। चेनी उनले रिसाउँदै कराएको सम्झन्छन्- “ड्याट पिस अफ सिट इज नट माइ फादर”

**************
सत्यबाट भाग्ने प्रयास
त्यो फोटोको सत्यबाट भाग्ने प्रयास त उतिबेलैदेखि भएको थियो। जब उनीहरु हाम्फाल्दै थिए, बाटोमा एक आमाले आफ्नो बच्चालाई सम्झाइरहेकी थिइन्, “त्यो त चरामात्र हुनसक्छ छोरा”

बिल फिहान अग्नि नियन्त्रण विभागका सेकेन्ड इन कमान्ड थिए। आफ्नो भिडियो क्यामेराले हाम्फाल्नेहरुलाई जुम गर्दै खिचिरहेकाहरुलाई लखेट्दै उनले नखिच्न हकारिरहेका थिए, मानवीयता छैन तिमीहरुको भन्दै। बिचरा आफै भवन भत्किएपछि किचेर मरे। विश्वको इतिहासमै सबैभन्दा बढी फोटो खिचिएको र भिडियो खिचिएको दृश्य थियो त्यो, मान्छेहरु हाम्फाल्दै गरेको। तत्काल टेलभिजन च्यानलहरुले यस्तो डरलाग्दो दृश्य टेलिभिजनमा नदेखाउने निर्णय गरे। सार्वजनिक रुपमा मृत्युवरण गरिरहेकाहरुको परिवारको सम्मानमा त्यस्तो निर्णय गरिएको थियो।

द न्युयोर्क टाइम्सले आफ्ना प्रत्यक्षदर्शी संवाददाताहरु र संकलन गरिएका दृश्यहरु हेरेर त्यसरी हाम्फाल्नेहरु ५० जना भएको अनुमान निकाल्यो। युएसए टुडेले भने प्रत्यक्षदर्शीहरु र फरेन्सिक प्रमाण र भिडियोसमेत गरेर कम्तिमा २ सय जना हाम्फालेर मरेको लेख्यो। यो स‍ङ्ख्यालाई सरकारी अधिकारीहरुले पनि नकारेनन्। त्यो दिन मर्नेहरुमध्ये ७ देखि ८ प्रतिशत हाम्फालेर मरेका थिए। उत्तरी टावरमा यो स‍ंख्या झण्डै ६ जनामा एक जना थियो।
**************
फोटोले झुटो बोल्छ
हजुर, उत्कृष्ट फोटोहरुले पनि। अझ विशेष गरी उत्कृष्ट फोटोहरुले। रिचर्ड ड्र्युको त्यो फोटोमा मान्छे जसरी खसिरहेको छ, त्यो एक सेकेन्डको केही पलमा मात्र हो। त्यसपछि उनी खस्ने क्रम जारी रह्यो। फोटोमा सरल रेखा जस्तो गरी खसेको देखिएको छ। वास्तवमा त्यसरी वाणको तिर जसरी पनि मान्छे खस्दैन न ओलम्पिक डाइभर जसरी। त्यो मान्छे पनि अरु मान्छेहरु जसरी नै खसेको थियो। त्यो एउटा फोटोमा मात्रै भवनमा लाइनहरुसँगै खस्ने मान्छै देखिएको छ। बाँकी ११ वटा फोटोमा त्यस्तो छैन। दुई वटा फ्रेममा खस्ने मान्छेको अनुहारै क्यामेरामा देखिएको छ। खसेपछि उनको सेतो ज्याकेट च्यातिएको देखिन्छ।

फोटोमा सेतो टपभित्र सुन्तले रङ्गको सर्ट पनि लगाएको देखियो। कसैले त्यो दिन त्यो रेस्टुरेन्टमा गएका व्यक्तिले सुन्तले रङ्गको टिसर्ट लगाएको परिवारका कसैले याद गर्न सके मान्छे पत्ता लाग्ने देखियो।
*****
मेरो लोग्नेले हाम्फाल्दैन
क्याथरिन हर्नान्डेजले आफ्ना पिताको अन्त्येष्टिका क्रममा एक पत्रकारले लिएर आएको फोटो हेरेकै थिइनन्। न उनकी आमा युलोजियाले नै हेरेकी थिइन्। दिदी ज्याक्वेलिनले हेरेकी थिइन्। अनि उनलै रिसाएर गाली गरेर पत्रकारलाई लखेटेकी थिइन्। तर त्यो फोटोले क्याथरिन र युलोजिया अनि पूरै हर्नान्डेज परिवारलाई लखेटिरह्यो। नोर्बर्टोको आदर्श वाक्य थियो- सँधै सँगै। तर फोटोले अहिले उनीहरु सँगै थिएनन्। फोटोले उनीहरुलाई अलग्याइदियो। फोटो नोर्बर्टो हैन भन्ने उनकी पत्नी र छोरीहरु पत्रकारले हो भनेपछि हो कि भनी संभावना देखाउनेहरुबाट अलग्गिए। नोर्बर्टो जिउँदै छँदा उनीहरु सबै क्विन्समा बस्ने गर्थे। अब युलोजिया र उनकी छोरीहरु लङ्ग आइल्यान्डको घरमा बस्न गए। किनभने १६ वर्षकी तातियाना जो नोर्बर्टो जस्तै देखिन्छिन्, ले घरमा आफ्ना पितालाई देखे जस्तै लाग्यो भनिरहन्थिन् र झ्यालबाट हाम्फालेर मरेको भनेर कानमा कसैले सुनाएको जस्तै लाग्थ्यो।

कसरी ऊ झ्यालबाट हाम्फालेर मर्न सक्छ।

तर पिटर चेनीको समाचार पड्ने विश्वका सबैले नोर्बर्टो झ्यालबाट हाम्फालेर मरेको कुरामा विश्वास गरे। मान्छेहरु हर्नान्डेजहरुलाई फोन गरेर पैसा दिन खोज्थे, चन्दाका लागि वा अन्तर्वार्ताका लागि। किनभने उनीहरुले नोर्बर्टो झ्यालबाट हाम्फालेर मरेको सुनेका थिए। तर उनी झ्यालबाट हाम्फाल्न सक्दैन थिए। उसको परिवारलाई थाहा थियो, उनी झ्यालबाट हाम्फाल्दै फाल्दैन थिए।

“उहाँ घर आउने कोशिशमा हुनुहुन्थ्यो,” एक दिन बिहान क्याथरिनले आफ्ना पिताको फोटो सजाएर राखेको कोठामा बसेर भनिन्, “उहाँ हामीसँग घरमा आउने कोशिशमा हुनुहुन्थ्यो र उहाँलाई थाहा थियो उहाँ झ्यालबाट हाम्फालेर आउनु हुन्न।” उनकी आमा युलोजियाले आधा समय अङ्ग्रेजी त्यसपछि निराश भएर स्पेनिसमा परर बोल्थिन् जसलाई उनकी छोरी अनुवाद गरेर सुनाउँथिन्। “मेरी आमा भन्नुहुन्छ कि उहाँलाई थाहा छ जब उहाँको मृत्यु भएको थियो, उहाँले हामीलाई सम्झिरहनुभएको थियो। मलाई थाहा छ यो सुन्दा अचम्म लाग्छ, तर आमाले उहाँलाई चिन्नुहुन्छ। उहाँहरु १५ वर्षदेखि सँगै हुनुहुन्थ्यो।”

उनले चिनेका नर्बर्टो हर्नान्डेज मर्दा उनको आँखामा उनको मुटुमा रहेका पत्नी र छोरीहरुको अनुहार थियो, खुला आकाश हैन। यो विश्वास थियो युलोजियाको।

उनले कतिको राम्ररी चिन्थिन् त नर्बर्टोलाई ? “म उहाँलाई लुगा लगाइदिन्थेँ” युलोजियाले अङ्ग्रेजीमा भनिन्। यसो भनिरहँदा उनको अनुहारमा मुस्कार र आँखाबाट आँसु एकैपटक टिलपिल गरेको थियो। “हरेक बिहान। त्यो बिहान म सम्झन्छु, उहाँले ओल्ड नेभी अन्डरवेयर लाउनुभएको थियो। हरियो। कालो मोजा लगाउनु भयो। हरियो प्यान्ट, जिन्स। क्यासियो घडी। ओल्ड नेभी सर्ट लगाउनु भयो। निलो। चेक भएको।

क्याथरिनका अनुसार रेस्टुरेन्टमा उनले लुगा फेर्थे। क्याथरिन पनि आफ्ना पितासँगै विन्डोज अन दि वर्ल्ड रेस्टुरेन्टमा काम गर्थे। उहाँ पेस्ट्री सेफ हुनुहुन्थ्यो त्यसैले सेतो प्यान्ट वा सेफको प‌यान्ट लगाउनु हुन्थ्यो कालो र सेतो चेक। सेतो ज्याकेट। त्यसमुनि सेतो टिसर्ट।

अनि सुन्तले रङ्गको सर्ट नि ?

“अहँ”, युलोजियाले भनिन् “मेरो श्रीमानसँग सुन्तला रङ्गको सर्ट छैन।”

फोटोहरु छन् नि। खसिरहेको मान्छेका फोटोहरु। हेर्नुहुन्छ ?

क्याथरिनले आफ्नी आमाको तर्फबाट भनिन्, “मेरी आमाले हेर्नुहुन्न” तर त्यसपछि अगाडि आएर उनले भनिन् मलाई देखाउनुस् त। छिटो। आमा आउनुअघि।

उनले १२ फ्रेमको सिक्वेन्स फोटो हेर्ने बित्तिकै छक्क परेर आमालाई बोलाइन्। तर युलोजिया पहिले नै उनको काँध पछाडिबाट फोटो हेरिरहेकी थिइन्। विजयी भावमा एकपछि अर्को फोटो हेर्दै उनले भनिन्, यो मेरो श्रीमान हैन। फोटो फिर्ता दिँदै उनले भनिन्, देख्यौ, मैले मात्र नोर्बर्टोलाई चिन्छु।
फेरि उनले फोटो हेरिन् ध्यान दिएर हेरेपछि टाउको हल्लाइन्। फोटोमा भएको मान्छे कालो छ। फोटोको प्रति भए आफूलाई दिन अनुरोध उनले गरिन् ताकि जजसले नोर्बर्टो हाम्फालेको भन्ने विश्वास गर्थे, उनीहरुलाई देखाउन सकून्।

“उनीहरु मेरा बाबा झ्यालबाट हाम्फालेकोले नर्कमा गए भन्छन्। इन्टरनेटमा उनीहरुले मेरा बाबालाई शैतानहरुले नर्कमा लगेको लेखेका छन्। मलाई थाहा छैन फोटोमा उहाँ नै हुनुभएको भए म के गर्थेँ। म नर्भस ब्रेक डाउन हुन्थेँ होला। मलाई पागलखानामा भेट्नुहुन्थ्यो होला।”

उनकी आमाले गर्वका साथ तर उदास मुद्रामा भनिन्, कृपया मेरो पतिको नाम हटाइदिनुहोला।
*****
आखिर को हो त हाम्फाल्ने?

ट्रिङ ट्रिङ
कनेक्टिकटमा एउटा फोन बज्यो। महिलाले जवाफ दिइन्। अर्को छेउमा भएको मान्छेले द न्युयोर्क टाइम्समा सेप्टेम्बर १२, २००१ मा छापिएको एउटा फोटो चिन्न चाहेको बताउँदै थियो।
मलाई भन्नुस् त्यो फोटो कस्तो थियो, उनले सोधिन्।
त्यो प्रख्यात फोटो क्या त, त्यो मान्छेले भन्यो—मान्छे खसिरहेको चर्चित फोटो।
रटेन डट कममा भएको स्वान डाइभको फोटो? महिलाले सोधिन्।
हुनसक्छ, त्यो मान्छेले भन्यो।
हो, त्यो मान्छे मेरो छोरा हुनसक्छ, महिलाले भनिन्।

उनले आफ्ना दुवै छोरा सेप्टेम्बर ११ मा गुमाएकी थिइन्। उनीहरु सँगै क्यान्टोर फिजेराल्डमा काम गर्थे। इक्विटिज डेस्कमा काम गर्थे उनीहरु। सँगसँगै काम गर्थे। हैन, फोनको अर्को छेउमा भएको मान्छेले भन्यो, फोटोमा भएको मान्छे स‍ंभवतः फूड सर्भिस वर्कर हुनुहपर्छ। उसले सेतो ज्याकेट लाएको थियो। उनी अपसाइड डाउन थिए। “त्यसो भए त्यो मेरो छोरा हैन.” उनले भनिन्, “मेरो छोराले डार्क सर्ट र खाकी प्यान्ट लगाउँछ।
सेप्टेम्बर ११ पछि उनले पत्रिका पढ्न छाडिसकेकी थिइन्। टिभी हेर्न बन्द गरिसकेकी थिइन्। एक दिन न‌याँ वर्षको पूर्वसन्ध्यामा उनले द न्युयोर्क टाइम्सको वर्षको समीक्षा फोटो देखिन्। त्यसमा उनका छोराहरुले काम गर्थे कम्पनीका कर्मचारीहरुको फोटो र त्यो भवनको फोटो थियो। उनलाई त्यसमा आफ्ना छोराहरु छ जस्तो लाग्यो। त्यसैले फोटोग्राफरलाई फोन गरी ठूलो पारेर फोटो देखाउन माग गरिन्। आखिरमा उनले सोचे जस्तै फोटोमा उनका दुई छोरा रहेछन्। एउटा झ्याल नजिकै उभिएका अर्को भित्र। त्यसपछि के भयो भनेर उनलाई भनिरहनु परेन।

फोनमा भएको मान्छेले तपाईँका छोराहरुले हाम्फाल्यो त भनेर सोध्ने आँट गर्न सकेन। आखिरमा उनले जवाफ पनि त दिइसकेकी थिइन्।
उता क्याथरिन हर्नान्डेजको विचारमा उनले त्यो हाम्फाल्ने मान्छेलाई चिन्छिन्। उनको साथमा त्यो बिहान एक बहिनी थियो। उसले आफ्नी आमालाई बहिनीको हेरविचार गर्ने बताएको थियो। बहिनीलाई एक्लै छाडेर उनले हाम्फाल्नु नपर्ने हो। त्यो मान्छे इन्डियन हो भनेर उनले भनिन् तर नाम बताउन चाहिनन्।

इन्डियन भनेपछि हामीलाई खोज्न पनि सजिलो भयो। उनको नाम सिन सिंह थियो। तर सिन खसिरहेको मान्छेभन्दा निकै सानो थियो। रेस्टुरेन्टको अडियोभिजुअल डिपार्टमेन्टमा काम गर्थ्यो त्यसैले सेतो सर्ट लगाएको हुनुपर्छ। रेस्टुरेन्टका कुनै पनि कर्मचारीले खस्ने मान्छे सिन सिंह जस्तो नदेखिने बताए।

त्यसबाहेक उनकी एक बहिनी पनि त थिइन्। उनलाई एक्लै कसरी छाड्थिन् र।

रेस्टुरेन्टका म्यानेजरले फोटोहरु हेरेर त्यो मान्छे वाइल्डर गोमेज हुनुपर्ने बताए। केही दिनपछि अझ ध्यान दिएर हेरेपछि अर्कै कपाल, अर्कै लुगा अर्कै जीउडाल। यो त चार्ली माउरो जस्तो छ भने। यस्तै जुनियर जिमेनेजको पनि नाम आयो। तर चार्ली पर्चेजिङमा काम गर्ने, सेतो ज्याकेट लाउने कुरै भएन। त्यसबाहेक उनी ठूलो जिउका पनि थिए।

फोर्टी फूड अर्को कम्पनी थियो। त्यहाँका पुरुष कर्मचारीहरु किचेनमा काम गर्थे। जसको अर्थ हुन्थ्यो उनीहरुले कि चेक कि सेतो प्यान्ट लाउँथे। कसैलाई पनि सेतो सर्भिङ कोटको भित्र सुन्तले सर्ट लाउन अनुमति थिएन।

जोनाथन ब्रिली विन्डोज अफ वर्ल्डमा काम गर्थे। उनका केही सहकर्मीहरुले फोटो हेरेर उनी खस्ने मान्छे हुन सक्ने सोचे। ४३ वर्षका थिए। काला। जुङ्गा थियो। हिलारी नामकी पत्नी थिइन्।

जोनाथनका पिता जीवनै येशुमा समर्पित गर्ने व्यक्ति थिए। सेप्टेम्बर ११ पछि परिवारको भेलामा उनले भगवानलाई आफ्ना छोरा कहाँ छ बताउन भने। हैन: उनले माग गरे। उनले यस्तो शब्द प्रयोग गरे: भगवान, मेरो छोरा कहाँ छ भन्ने जानकारी दिन म माग गर्छु।” लगातार तीन घण्टासम्म गहिरो आवाजमा उनले प्रार्थना गरिरहे।

त्यसको भोलिपल्ट एफबीआइको फोन आयो। यनीहरुले छोराको शरीर भेट्टाएछन्। चमत्कार थियो साँच्चिकै।

उनका कान्छा छोरा टिमोथी दाजुको सनाखत गर्न गए। जुत्ताबाट उनको पहिचान भयो। ब्ल्याक हाइ टप्स जुत्ता। एउटा जुत्ता उनले आफै बोकेर आए र ग्यारेजमा राखे। सम्झनाका लागि।

टिमोथीलाई हाम्फाल्ने मान्छेको बारेमा थाहा थियो। उनी माउन्ट भर्मन, न्युयोर्कमा पुलिस थिए। दाजु मरेको हप्ता कसैले लकर रुममा सेप्टेम्बर १२ को पत्रिका छाडेर गएका थिए। फोटोमा खसिरहेको मान्छे देखेपछि रिसले उनले फेरि हेरेनन्। तर उनले त्यसलाई फाल्न पनि सकेनन्। लकरको मुनि राखे। जसरी ग्यारेजमा त्यो कालो जु्त्ता सँधैका लागि राखेका छन्।

जोनाथनकी दिदी ग्वेनडोल्योनलाई पनि हाम्फाल्ने मान्छेको बारेमा थाहा थियो। उनले छापिएकै दिन फोटो हेरेकी थिइन्। उनलाई थाहा थियो जोनाथनलाई दम थियो। त्यसैले धुँवा र आगोले श्वास फेर्न उनले…..

टिमोथी र ग्वेनडोल्योन दुवैलाई जोनाथनले धेरैजसो के लुगा लगाउँथे थाहा थियो। सेतो सर्ट, कालो प्यान्ट, हाइ टप ब्ल्याक सुज। टिमोथीलाई जोनाथनले कहिलेकाहीँ सर्टभित्र सुन्तला रङ्गको टिसर्ट लगाउने पनि थाहा थियो। जहिले पनि लगाउँथे। टिमोथीले त कहिले यो सुन्तले टिसर्ट छाड्छौँ हँ भनेर उडाउँथे पनि।

तर जब जोनाथनले आफ्ना दाजुको सनाखत गर्नुपर्‍यो, कालो जुत्ता बाहेक अरु केही चिनिने अवस्थामा थिएन। अनि सेप्टेम्बर ११ को बिहान काममा जाँदा उनी बिहानै गएका थिए। पत्नी सुतिरहेकी थिइन्। त्यसैले उनले कस्तो लुगा लगाएको भनेर थाहा हुने कुरै भएन।

के जोनाथनै त्यो फोटोमा खसिरहेको मान्छे थियो त ? हुनसक्छ।

सेप्टेम्बर ११, २००१ को ९ बजेर ४१ मिनेट १५ सेकेन्ड जाँदा रिचर्ड ड्रयु नामका फोटोग्राफरले आकाशमा खस्दै गरेको एक जना मान्छेको फोटो खिचे। फोटो स‍सार भर छायो अनि हरायो। मानव इतिहासको एउटा चर्चित फोटो मध्ये एकमा को थियो अझै प्रष्ट थाहा छैन। रिचर्डको यो फोटो युद्धमा मरेका अज्ञात सिपाहीहरुको स्मृतिमा बनाइने स्मारक जस्तो रहेको छ। हामी त्यसलाई हेर्छौँ र घटना सम्झन्छौँ।

खसिरहेको मान्छेको बारेमा हामीलाई थाहा भएको कुरा यति मात्रै हो।

-एन्ड्र्यु चाइभकिस्कीको सहायतामा टम जुनोडको रिपोर्टिङ
माइसंसारमा Sep 11, 2013 मा प्रकाशित

[त्यो दिन भएको आक्रमणको खबर तपाईँले कसरी थाहा पाउनु भएको थियो ? सुरुमा थाहा पाउने बित्तिकै तपाईँको प्रतिक्रिया कस्तो रह्यो? आफ्नो अनुभव तलको कमेन्टमा लेख्नुहोला।]

1 comment to सेप्टेम्बर ११ को यो फोटोभित्र लुकेको रहस्य

  • Navin Rayamajhi

    मैले सी एन एन मा देखेको थिए, पहिले कुनै सिनेमा को दृश्य सम्झेको थिए तर त्यो सत्य घटना रहेछ, मैले त्यो घटना लाई एउटा अर्को आतंककारी घटनाको रुपमा लिएको थिए. त्यो घटना भएको करिब १५ बर्ष पछि त्यो स्थानमा पुग्दा भने निकै दुख लागेको थियो.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)