यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

शेष घलेको भिजन ट्वान्टी ट्वान्टी : एनआरएनएका लागि अजम्बरीको बुटी कि कालकुट विष?

-रविन पौडेल-

२८ अगस्ट २०१६ मा न्युजर्सी, अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन भइरहेको थियो । त्यहाँ युरोप, अमेरिका, एशिया, अफ्रिकासहित सबै महादेशका ४०० भन्दा बढी गैरआवासीय नेपालीहरु सहभागी थिए ।

एनआरएनए भित्र अहिले हंगामा मच्चाइरहेको अध्यक्ष शेष घलेको ‘भिजन ट्वान्टी ट्वान्टी एन्ड बियोन्ड’ भन्ने प्रस्ताव पहिलो पटक त्यहीँ सार्वजनिक भएको थियो । नागरिकता प्राप्ति र नेपालमा लगानी सुरक्षाको ग्यारेन्टीको माग लगभग पूरा भइसकेको अवस्थापछि एनआरएनएको संस्थागत संरचना परिवर्तन गर्नुपर्ने भन्दै अध्यक्ष घलेले सो प्रस्ताव ल्याएका थिए । अध्यक्ष घलेले उद्घाटन मन्तव्यमै भिजन ट्वान्टी ट्वान्टीका अन्र्तवस्तुलाई पेश गरेपछि त्यसले हलमा एउटा नयाँ तरंग सिर्जना गरिदिएको थियो ।

कार्यक्रमको पहिलो दिन दिउँसोको खानापछि अध्यक्ष घलेले सो प्रस्ताव सम्मेलनका सहभागी समक्ष पेश गर्ने कार्यक्रम थियो । अन्य बैठक र सम्मेलनहरु भन्दा फरक यहाँ अध्यक्षको प्रस्तुति र व्यवहार स्वभाविक देखिएको थिएन । एनआरएनए भनेकै मै मात्र हुँ र म भनेकै एनआरएनए हो भन्ने सोच उनमा देखियो । एउटा सामाजिक संस्थाको विधान हेरफेर गर्न ल्याएको प्रस्तावको मस्यौदा कुनै पनि राष्ट्रिय समन्वय समितिहरुलाई उपलब्ध गराइएको थिएन । र के गर्न खोजिँदैछ त्यसको छेउटुप्पो कसैलाई जानकारी नदिई उनी त्यहाँ स्लाइड शो प्रस्तुत गर्न उपस्थित भएका थिए ।

उद्घाटन सत्रमै प्रस्तुतिका भाव यस्तो थियो मानौं एनआरएनको चिन्ता गर्ने उनी एक्ला व्यक्ति हुन् । बाँकी कसैलाई केही सरोकार छैन, विश्वभरिका ७७ वटा एनसीसीलाई केही सेयर गरिरहन पनि जरुरी छैन। उनको व्यवहार ठीक यस्तै रह्यो । दूरगामी महत्वको प्रस्ताव ल्याइरहेका अध्यक्षले कहाँ कस्तो परिवर्तन चाहेका हुन् भन्ने जानकारीसम्म नपाई एकै पटक प्रस्ताव आउँदा राष्ट्रिय समन्वय समितिहरुले विरोध जनाउनु सामान्य भयो।

अझ ताजुब लाग्दो दृश्य त त्यतिबेला देखियो जब ‘भिजन ट्वान्टी ट्वान्टी एन्ड बियोन्ड’को प्रस्ताव छलफल हुने हलमा मिडियालाई निषेध गरियो ।

मधुरो श्वर र भद्र प्रस्तुति भएका अध्यक्ष घलेको नियतमाथि यसपछि भने शंका, उपशांका र टिप्पणीहरु हुन थाले। होटल डबल ट्रीको हल बाहिर हुनेहरु रिसाइरहेका बेला भित्र प्रस्तावविरुद्ध झन् चर्को हुटिङ भयो। अध्यक्ष घले पूर्ण रक्षात्मक हुन विवश भए।

संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले समेत बाध्य भएर अध्यक्ष घलेको प्रस्तावविरुद्ध मुख खोले। उनको कथन थियो, ‘भिजन ट्वान्टी ट्वान्टीले गैरआवासीय नेपाली संघलाई सामाजिक संस्थाबाट कर्पोरेट मोडलमा बदल्न सचिएको रहेछ। यसलाई निजी कम्पनीको सिइओ मोडलमा ढाल्नुभन्दा सामाजिक संस्थाकै रुपमा जीवित राख्न उचित हुन्छ।’ न्युजर्सी सम्मेलनमा हंगामा मच्चाएको सो प्रस्ताव अहिलेसम्म पनि एनआरएनएका पदाधिकारी एवं एनसीसीहरूले पढ्न पाएनन् । अर्थात् घले निकट (जो अधिकांश जनजाति छन्) एनआरएन नेताबाहेक कसैको हातमा परेन। यो १३ महिनामा घलेले यसलाई गोप्य नै राख्न चाहे। यहाँनेर रोचक पक्ष के देखियो भने एकातिर यसलाई गोप्य बनाउन खोजियो।

अर्कोतर्फ अध्यक्षको एउटा अनलाइनबाट सधैँ लेखाइयो, ‘एनआरएनका लागि भिजन ट्वान्टी ट्वान्टी एउटा अजम्बरीको बुटी हो। यो बुटी एनआरएनएलाई शेष घलेको ४ वर्षे कार्यकालको विशष्टि उपहार हो। यो खाए मात्र संस्था जीवित रहन्छ, नखाए मर्छ।’

जब कि संसारभरिका एनआरएनले बुझिसके कि यो अजम्बरीको बुटी होइन संघलाइ सिध्याउने कालकुट विष हो।

लुकाइएको यथार्थप्रति चासो बढ्नु मानवीय स्वभाव नै हो। न्युजर्सी सम्मेलनपछि विश्वभरिका गैरआवासीय नेपालीले सो प्रस्तावबारे चासो राख्न थाले। अध्यक्ष घले जे नहोस् भन्ने चाहन्थे अन्ततः त्यही भयो अर्थात् एनआरएनएका सबैखाले बैठक र सम्मेलनहरुको केन्द्रमा सो प्रस्तावका अन्तर्वस्तु पर्न थाले। सबैतिर बखेडाको विषय बन्यो। यो १३ महिनाको अन्तरालमा भएका ती सबैखाले बैठकहरुमा सो प्रस्तावविरुद्ध ठूलो जनमत खडा हुन पुग्यो।
विश्वभरिका गैरआवासीय नेपालीले चासोका साथ हेरेको सो दस्तावेजमा के छ त ? तिनका दफा र अन्तर्वस्तुबारे अहिलेसम्म कहीँ बहस भएको छैन।

निजी कम्पनीलाई ५ लाख रूपैयाँ पैसा तिरेर अंग्रेजी भाषामा बनाउन लगाइएको यो प्रस्ताव सुजीव शाक्यले तयार पारेका हुन् । दश पृष्ठको प्रस्तावको कभरमा राष्ट्रसंघको जस्तो नीलो रंग प्रयोग गरिएको प्रस्तावमा १० वटै धारा छन्।

आउनुहोस् यसलाई दफावार रुपमा केलाउने प्रयास गरौं :

१. नयाँ सेगमेन्टका बैदिशिक रोजगारमा जानेहरुको संख्या वद्धि भएकोले Organization could not cope with growth भनिएको छ। तर त्यो नयाँ सेगमेन्टलाई समेट्ने कुनै नयाँ योजना अथवा भिजन रिपोर्टमा उल्लेख छैन। (हेर्नुहोस पार्ट बी, चेन्जिंग कन्टेक्स)

२. पाँच नम्बर बुँदा सारांशमा तीन वटा विषय केन्द्रित छ। लगानी, दोश्रो पुस्ता र नेपाली संस्कृति-सम्पदाको प्रवर्धन। गैर आवासीय नेपाली संघका मुद्दाहरू यति मात्र होइनन्। प्रमुख एजेन्डा बैदेशिक रोजगारीका विषयमा प्रस्तावमा केही उल्लेख छैन। वैदेशिक रोजगारीको विषयलाइ बाहिर राखेर अबको एनअरएनए कल्पना गरिनु अफैँमा हाँस्यस्पद विषय हो। (हेर्नुहोस् बुँदा नम्बर ५)

३. बुँदा नम्बर ६ को चाल्नुपर्ने कदम शीर्षकमा भनिएको छ, संघको सांगठनिक पुनसंरचना हुनु जरुरी भइसकेको छ। ‘विश्वका सफल संस्थाहरुले तय गरेका मापदण्ड बमोजिम संगठनलाई सदस्यतामा आधारित कार्यसञ्चालन तथा प्रतिष्ठानसँग सम्बन्धित गरी विभाजित गर्नुपर्छ’ भन्ने उल्लेख छ। यो आफैँमा विरोधाभाषपूर्ण छ। प्रवासका नेपालीहरुको वास्तविकता, समस्या, आकांक्षा तथा राष्ट्रको आवश्यकता के हो भन्ने विषयलाई आँखा चिम्लिएर विशुद्ध एउटा विकासे अवधारणाको अभ्यास गर्ने प्रयासस्वरुप यो ल्याइएको छ। रमाइलो पक्ष चाहिँ के छ भने त्यही विकासे अवधारणा सफल पार्न पनि के के गर्नुपर्छ भन्ने विषयमा प्रस्ताव मैन छ।

४. बुँदा नम्बर ७ (बी) मा एनआरएनएको सांगठनिक ढाँचामा परिवर्तन गर्नका लागि चाल्न सकिने कदमहरूबारे वर्णन छ। हाँस्यस्पद कुरा त के छ भने नेपाल लगानी भित्र्याउने र प्रवासका नेपालीको हितमा काम गर्ने संस्थालाइ एउटा राजाद्वारा शासित एनजिओ बनाउने परिकल्पना यो बुँदामा गरिएको छ । प्रस्तावमा गैरआवासीय नेपाली संघलाई रोटरी क्लबजस्तो बनाउनु पर्ने उल्लेख छ । यही बुँदामा अर्को सबैभन्दा डरलाग्दो विषय पनि समेटिएको छ । त्यो के भने अधिनायकवादी अध्यक्षको परिकल्पना। यो बुँदा पढ्नेलाई १५ औं शताब्दीमा राजनीतिकशास्त्री मेकियाबेलीले परिकल्पना गरेको अधिनायकवादी महाराजको झल्झली सम्झना आउँछ । ‘परिषदका अध्यक्ष नै मूल व्यक्ति हुनेछ’, सोही ७ नं. बुँदामा भनिएको छ’, ‘परिषदका अन्य सदस्यले केवल उनलाई सहयोग र समर्थन गर्नेछन्।’ संसारका राजतन्त्र, राज्य र सामाजिक संस्थाहरु अधिक लोकतान्त्रिक र सामुहिक नेतृत्वको अवधारणातर्फ अघि बढिरहेको बेला अध्यक्षलाई अधिनायक चरित्रसहितको महाराज बनाउने यो प्रस्ताव आफैँमा ‘आउट डेटेड’ र अशोभनीय छ ।

५. प्रस्तावको बुँदा नम्बर ९ मा संस्थालाई गैरराजनीतिक बनाउनका लागि नेपालको कुनै पनि राजनैतिक पार्टीको सदस्य हुने बित्तिकै स्वतस् काउन्सिल सदस्य हुन अयोग्य हुने भनिएको छ। यो सुन्दा आकर्षक र आदर्श प्रस्ताव लाग्न सक्छ। तर यसको कार्यान्वयन पक्षलाई लिएर गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरुतर्फ आँखा लगाउने हो भन सिधै यो असम्भव देखिन्छ। नेपालको राजनीतिबाट टाढा राख्न चाहने यो प्रस्तावमा विदेशी भूमिमा राजनीति गर्नुपर्छ भनिएको छ। त्यसैले छर्लङ्गै छ कि यसका अवधारणाकार आफैँ अलमलमा छन्।

६. बुँदा नम्बर १० मा सम्मेलनमा आईएसइले यसलाई सैद्धान्तिक रुपमा पारित गरेपछि प्रस्ताव कार्यान्वयनका निम्ति अध्यक्षलाई अधिकार दिइने भन्ने उल्लेख छ। र यही अक्टोबर २०१७ देखि यसलाई लागू गर्ने भनिएको छ। पछिल्लो समय विश्वभरिका गैरआवासीय नेपालीबीच झगडाको बिऊको रुपमा रहेको यो प्रस्ताव पारित हुन सक्ने अवस्था छैन। यो किन पनि पारित हुन सम्भव छैन भने व्यापक सांगठनिक संरचना परिवर्तन गर्ने प्रस्तावबारे एनसीसी तहमा छलफलका लागि लगिएकै छैन। क्षेत्रीय बैठकहरुमा समेत दफाबार छलफलमा पेश गरिएको छैन । त्यसैले यो प्रस्ताव शेष घलेले आफूलाई ‘स्मार्ट’ देखाउन अमेरिकी, वेलायती राजदूतहरुसँग डिनर खाँदै रचेको एउटा युटोपियन नाटक शिवाय अरू केही होइन। यो आरोप होइन उनले प्रस्तावमै लेखेका छन्, ‘यो तयार पर्दा अमेरिकी, वेलायती, स्विस राजदूतसँग परामर्श गरिएको थियो।’

के छ प्रतिवेदनमा ?

गैर आवासीय नेपाली संघ (एनआरएनए)
सन् २०२० र त्यसभन्दा परको परिकल्पना
(गोप्य/अन्तिम प्रतिवेदन)
विषय सूची
भाग क
१ पृष्ठभूमि
२ संभाव्यता अध्ययन
३ अध्ययनको तरिका
४ प्रतिवेदनको ढाँचा
भाग ख
१ बदलिँदो परिदृश्य
२ के, कसरी र कहिले परिकल्पना, योजना र समयसारिणी
३ एनआरएनएको परिकल्पना
४ एनआरएनएको अभियान: परिकल्पना २०२० र त्यसभन्दा पर
५ लक्ष्य प्राप्त गर्ने रणनीतिहरु
६ चाल्नुपर्ने कदमहरु
७ ख्यालगर्नुपर्न आधारभूत कदमहरु
८ संगठनको स्पष्ट भूमिका
९ एकआपसमा गाँसिएका विषयहरु
१० कहिले? समयसारिणी
अनुक्रमणिका
भाग क
पृष्ठभूमि
गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्थापना सन् २००३ मा भएको हो र प्रवासी नेपालीहरुको संख्या बढ्दै जाँदा गएको १३ वर्षमा यो संस्थाको व्यापक विस्तार भएको छ। अक्टोबर २०१५ मा सम्पन्न विश्व सम्मेलनद्वारा पारित घोषणाको बुँदा नं २ ले यो संगठनलाई नेपाल सरकारसंग एउटा साझेदार संस्थाकोरुपमा विकास संझौतामा हस्ताक्षर गर्न अनुमति दिएको छ। नवौं क्षेत्रीय सम्मेलनमा प्रस्तुत गरी पारित समेत गर्नकालागि सन् २०२० र त्यसभन्दा परको परिकल्पना नामक एउटा मूल दस्तावेज तयार गर्न आवश्यक ठानिएकाले यो अभ्यास गरिएको हो।
संभाव्यता अध्ययन (स्कोपिङ)
यो काम दुई चरणमा पुरा गर्न बीद म्यानेजमेण्ट प्रालिलाई छनोट गरियो। पहिलो चरणमा निम्न अनुसार काम गर्न जिम्मेवारी दिइएको छ।
 अध्यक्ष र कार्यकारी निर्देशकसंग रिपोर्टको स्वरुप/प्रस्तुतिबारे छलफल तथा प्रतिवेदनको ढाँचाबारे सहमति
 अध्यक्ष र अन्य महत्वपूर्ण सदस्यहरुसंग अनुभवको आधारमा उनीहरुको दृष्टिकोण थाहा पाउन छलफल
 संरक्षकहरु, सल्लाहकारहरु लगायत बढीमा पाँचजना महत्वपूर्ण व्यक्तित्वहरुसंग छलफल
 उपलब्ध साहित्यको पुनरावलोकन
 छलफलकालागि एउटा मस्यौदा ढाँचाको विकास
 एनआरएनको नवौं क्षेत्रीय सम्मेलनमा प्रस्तुति
तरिका
 एनआरएनए वेबसाइटमा प्रकाशित विभिन्न रिपोर्ट तथा प्रकाशनहरुका साथै विभिन्न राष्ट्रिय समाचारपत्रहरुमा प्रकाशित एनआरएनएका अरु प्रकाशनहरु लगायतका उपलब्ध साहित्यको पुनरावलोकन
 एनआरएनएको अन्तर्राष्ट्रिय ISE का सबै सदस्यहरुलाई यो विषयमा उहाँहरुको धारणा माग्दै एउटा इमेल पठाइयो र सुझावहरु पनि प्राप्त भयो।
 एनआरएनका संरक्षकहरु, भूतपूर्व अध्यक्ष, ISE सदस्यहरु, कूटनीतिज्ञहरु, विकास साझेदार संस्थाहरुका प्रमुख, विचार निर्माताहरु, युवा नेताहरु तथा नेपाल बाहिर बसेर विभिन्न उदाहरणीय काम गरिरहेका ४० जना भन्दा बढी व्यक्तित्वहरुसंग छुट्टाछुट्टै बैठक गरियो। अन्तर्वार्ता गरिएका व्यक्तिहरुमा एनआरएनको प्रगतिसंग सन्तुष्ट नभएर हाल निष्कृय रहेका व्यक्तिहरु पनि थिए। त्यसैले उनीहरुको नाम अनुक्रमणिका १ मा समावेश गरिएको छैन।
 अध्यक्षलाई मस्यौदा बुझाएर छलफल पनि गरियो।
 संयुक्त राज्य अमेरिकाको न्युजर्सी शहरमा आयोजित एनआरएनएको नवौं क्षेत्रीय सम्मेलनमा प्रस्तुति गरियो।
 प्राप्त सुझावहरुलाई समेटेर प्रतिवेदन बुझाइयो।
ढाँचा
नवौं क्षेत्रीय सम्मेलनमा गरिएको प्रस्तुतिकै ढाँचामा यो प्रतिवेदन तयार गरिएको छ। यसले निम्न विषयहरु समेटेको छ।
 सन्दर्भ — गएको १३ वर्षमा के बदलियो
 सर्वोपरि परिदृश्य तथा रणनीतिहरु
 के, कसरी र कहिले — परिदृश्य, योजना र समयसारिणी
 एकआपसमा गाँसिएका विषयहरु
भाग ख
परिवर्तित सन्दर्भ
गएको १३ वर्षमा विदेशिएका नेपालीहरुको संख्या, उनीहरु बसोबास गरिरहेका मुलकहरुको संख्या र एनआरएनएका सदस्यहरुको संख्या धेरै बदलिएको छ।
तालिका १
वर्ष विदेशमा बसोबास गर्ने मानिसहरुको संख्या नेपालीहरु बसोबास गर्ने मुलुकको संख्या एनआरएन सदस्य संख्या
सन् २००३ ५ लाख भन्दा कम ३२ १,००० भन्दा कम
सन् २०१६ ४५ लाख १०० भन्दा बढी ५०,००० भन्दा बढी
गत एक दशकभित्र राष्ट्रिय र विश्वव्यापीरुपमा भएका अन्य परिवर्तनहरु यसप्रकार छन्।
 नेपाल स्वेच्छाचारी राजसंस्थाबाट संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो र संविधानसभाकालागि दुईपटक चुनाव भयो।
 विश्वव्यापी राजनीतिमा पहिचानमा आधारित आन्दोलनहरुको संख्या बढीरहेको छ।
 अफ्रिका र एसियाका कैयौं मुलुकहरुले उल्लेख्य आर्थिक प्रगति गरिरहेका छन्।
 सबैभन्दा महत्वपूर्ण कुरा प्रविधिको विस्तारले नेपाललाई बदलिदिएको छ, जुन कुरा तलको तालिकाले देखाउँछ। सूचनाको विश्वमा गुगल र विकीपिडियाको एकछत्र प्रभाव छ भने सामाजिक सन्जालको विस्तार भएको छ। आपसी सन्चारका माध्यमहरु बदलिएका छन् र नेपाली भाषामै सन्देश आदानप्रदान गर्न सजीलो भएको छ।
तालिका २
सूचनाको विश्व
गुगल
विकीपिडिया सामाजिक सन्जाल
फेसबुक, ट्वीटर, लिङ्कडइन, इन्सटाग्राम, यूट्युब, गुगलप्लस आदि
सन्चारका माध्यमहरु
फोन
फेसबुक मेसेन्जर
स्काइप
स्न्यापच्याट नेपालीमा लेखन तथा सन्देश आदानप्रदान
हाम्रो किबोर्ड आदि।

प्रवासी नेपाली समुदायभित्र पनि थुप्रै परिवर्तनहरु भएका छन्। तलको तालिकाले तीन क्षेत्रमा प्रवासी नेपाली समुदायमा आएको परिवर्तनलाई चित्रित गर्दछ।
तालिका ३
त्यसबेला अहिले
एउटा निश्चित समूहमात्र नेपाली समाजको ठूलो हिस्सा
प्रवासी समुदाय विदेशमा काम गर्ने श्रमिकहरुको नयाँ समूह
गैरराजनीतिक समूह एउटा ठूलै भोट ब्याङ्क
२ के, कसरी र कहिले: परिकल्पना, योजना र समयसारिणी
अहिलेको मुख्य मुद्दा भनेको एनआरएनएको नयाँ उद्देश्य के हुनुपर्छ भन्ने होइन, बरु यसका उद्देश्यहरुलाई कसरी प्राप्त गर्ने भन्ने हो। एनआरएनएको वेबसाइटमा उल्लेखित संस्थाका उद्देश्यहरु यहाँ उद्धृत गरिएको छ, जुन अहिले पनि सान्दर्भिक छन् र तिनमा कुनै परिवर्तन गर्नुपर्ने आवश्यकता छैन।
तालिका ४
एनआरएनको परिकल्पना
 नेपाल बाहिर बस्ने नेपालीहरुको हित र अधिकारको सुरक्षा तथा प्रबर्द्धन गर्ने
 प्रवासी नेपालीहरुको विश्वव्यापी सन्जाल तथा साझा मन्च स्थापना गर्ने
 नेपालको आर्थिक तथा सामाजिक विकासकालागि प्रत्यक्ष वैदेशिक लगानी लगायत गैर आवासीय नेपालीहरुको लगानी भित्र्याउन सघाउने लगानी आकर्षित गर्ने
 विश्वभरि नै पर्यटन प्रबर्द्धन गर्नुकासाथै नेपाली संस्कृति र सम्पदाको संरक्षण गर्ने
 गैर आवासीय नेपालीहरुसंग रहेको ज्ञान, सीप, पूँजी र अन्य स्रोतहरु परिचालन गर्ने।

निम्न कारणहरुले गर्दा गैर आवासीय नेपाली संघले आफुसामु उपस्थित चुनौतीहरु व्यहोर्न सकिरहेको छैन।
 विदेशिने नेपालीहरुको बढ्दो संख्या
 केही निश्चित मुलुकहरुमा मात्रै आप्रवासी कामदारहरुको वृद्धि
 धेरै मुलुकहरुमा नेपालीहरुको विस्तार
त्यसैले गैर आवासीय नेपाली संघले उसले के गर्नुपर्छ? त्यो कसरी गर्ने? र कहिलेसम्म गर्ने? भन्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्छ।
नेपाल आफैले पनि मध्यम आय भएको मुलुकको स्तरमा पुग्न परिकल्पना २०३० तयार गर्न लागिरहेको छ। यो संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्यसंग पनि संबन्धित छ। त्यसैले गैर आवासीय नेपाली संघले पनि सन् २०३० मा नेपालको परिकल्पनाका लागि योगदान पुराउन सन् २०२० सम्ममा तयार भैसक्ने गरी आन्तरिक तयारी गर्न महत्वपूर्ण छ। यसका लागि संगठनभित्र व्यापक फेरबदल गर्न आवश्यक छ।
३ एनआरएनए परिकल्पना
नेपालको आर्थिक तथा सामाजिक वृद्धि र विकासमा साझेदार
सबभन्दा मुख्य उद्देश्य नेपाल सरकारसंग मिलेर कार्यान्वयन गरिने विकास प्रणालीको साझेदार रहने हुनुपर्छ।
४ एनआरएनए अभियान – २०२० परिकल्पना र त्यसभन्दा पर
नेपाली समुदायको सामर्थ्य प्रयोग
५ लक्ष्य प्राप्त गर्ने रणनीतिहरु
क) तीन धारे तरीका
i) नेपालमा लगानी गर्ने, चाहे व्यक्तिगत रुपमा होस् या समूहगत रुपमा
ii) आफूले प्रभाव पार्न सक्ने अरु फर्म वा अन्यलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने
iii) वित्तिय स्रोतका साथसाथै ज्ञानको हस्तान्तरण गर्ने; ज्ञाननै मूल कुरा हो
ख) नेपाली समुदायको सञ्जाल निर्माण र संबन्ध विस्तार
i) बलियो सञ्चार सम्पर्क सहितको सकृय सञ्जाल निर्माण गर्ने
ii) दोस्रो पुस्ताका युवा सञ्जाल र कार्यक्रम थाल्ने
iii) नेपालमा तथा विश्वभरका नेपाली समुदायका निम्ति काम गर्न उत्प्रेरणा गर्ने
ग) नेपाली संस्कृति तथा सम्पदाको संरक्षण र प्रबर्द्धन
i) जीवित सम्पदा सहितका सम्पदा संरक्षणमा मद्दत गर्ने
ii) सांस्कृतिक पर्यटनको प्रबर्द्धन गर्ने
iii) नेपाली वस्तुको प्रयोग वृद्धि र प्रबर्द्धन गर्ने
६ चाल्नुपर्ने कदमहरु
हाल एनआरएनए एक महत्वपूर्ण मोडमा छ। यो संगठन सुधारका साथै आवश्यक परिवर्तनबाट गुज्रने सुनिश्चित गर्न केही कार्यहरु गर्न जरुरी छ।
क) विश्वस्तरीय प्रभावकारी व्यवस्थापन संरचना अन्तर्गत नै रहेर सांगठनिक ढाँचामा परिवर्तन गरि स्वयंसेवी सञ्चालन परिषदहरु निर्माण गर
ख) विश्वका सफल संस्थाहरुले तय गरेका मापदण्ड बमोजिम संगठनलाई सदस्यतामा आधारित कार्यसञ्चालन तथा प्रतिष्ठानसंग सम्बन्धित गरि विभाजित गर
ग) नेतृत्व हस्तान्तरणका योजनालाई ख्यालमा राखि नेतृत्वमा निरन्तरता हुने गरि नेता निर्वाचित गर्ने संरचना निर्माण गर
घ) संगठनको दीगोपना सुनिश्चित हुने गरि बलियो वित्तिय योजना तथा संरचना निर्माण गर ।
७ ख्यालगर्नुपर्न आधारभूत कदमहरु
भविष्यका योजना बनाउँदै गर्द दुई वटा आधारभूत पक्षमा ध्यान दिन अत्यन्त जरुरी छ। ती हुन्:
क) विभिन्न लक्षित समूहबारे स्पष्ट बुझाइ
नेपाली समुदायका तीन लक्षित समूह हुन्:
i) जो काम गर्न जान्छन् र देश फर्कन्छन्
ii) जो पढ्न वा काम गर्न जान्छन् र फर्कँदैनन्
iii) जो विदेशमै बसोबास गर्ने हेतुले जान्छन्
साथै यी विभिन्न समुदायका विभिन्न आवश्यकता हुन्छन् भन्ने हेक्का राख्नुपर्छ। विभिन्न समूह र तिनको आवश्यकताबारे तल छोटो विवरण दिइएको छ:
वैदेशिक रोजगारमा जाने आप्रवासी कामदार:
– सुरक्षित आप्रवसन
– क्षमता विकास
– हाइ ग्रेसन अर्थात उच्च क्षमता सहितको आप्रवसन
– फर्किएपछि पुन: समायोजन
विदेशमा रहेका समुदाय:
– मद्दत निकाय
– सञ्जालको फाइदा
– नेपाल तथा बसोबास गरेको मुलुकमा परिवर्तनका निम्ति सामूहिक आवाज
ख) सांगठनिक ढाँचामा परिवर्तन
एनआरएनएको सांगठनिक ढाँचामा परिवर्तन गर्नका लागि चाल्न सकिने केही कदमहरु तल वर्णन गरिएका छन्:
i) विश्वस्तरका संगठनहरुका मापदण्ड
– उदाहरणका लागि रोटरी, रेडक्रस, इन्टरप्रनर अर्गनाइजेशन वा यंग प्रोफेसनल अर्गनाइजेशन
– नगर तह देखि क्षेत्रीय हुँदै राष्ट्रिय तह सम्मका संरचना अनि अन्तर्राष्ट्रिय संरचनाको निर्माण
ii) बलियो सचिवालय सहितको एक स्वयमसेवी निर्वाचित परिषद जसले विश्वस्तरका संगठनले नियुक्त गर्ने जसरी उत्तम मानव स्रोत परिचालन गर्छ
iii) परिषदका अध्यक्ष नै मूल व्यक्ति
– परिषदका अन्य सदस्यले केवल उनलाई सहयोग र समर्थन गर्नेछन्
iv) प्रतिष्ठित सल्लाहकार बोर्ड जसले अध्यक्ष र परिषदलाई पथप्रदर्शन गरोस्
८ संगठनको स्पष्ट भूमिका
अन्य ठूला अन्तर्राष्ट्रिय संगठनहरुकै शैलीमा यस संगठनलाई पनि तीन विशिष्ट कार्यका आधारमा बाँडिनुपर्छ।
क) सदस्यता सेवा तथा कार्यसञ्चालन
i) सदस्यहरुले सदस्यतामा फाइदा देख्नुपर्छ
– समस्या आइपर्दा जान सकिने ठाउँ
– सामूहिक कार्यको मञ्च
– अन्तर्राष्ट्रिय सञ्जालको भाग
ii) फाइदाका बारे स्पष्ट बुझाइ
– एउटा परिवर्तनकारी मञ्च – बाहिरबाट ठानिने जस्तो ‘राजनीतिक संगठन’ भन्दा बिल्कुल भिन्न
ख) विश्वव्यापी प्रतिष्ठान
i) एनआरएनए प्रतिष्ठान विश्व वन्यजन्तुकोष जस्तै गरि सञ्चालन गरिने अनि नेपाल बाहिर (अमेरिका वा सिंगापुरमा) इन्करपोरेटेड गरिने जसमा
– विश्वव्यापी व्यवस्थापन संरचना हुन्छ
– विश्वस्तरको व्यवस्थापन हुन्छ
ii) नेपालमा आयोजना/सञ्चालन गर्न चाहने कुनै पनि अन्तर्राष्ट्रिय बहुपक्षीय वा द्विपक्षिय वा अन्य प्रतिष्ठानका निम्ति जानै पर्ने निकाय
iii) नेपालमा प्राकृतिक वा मानव सिर्जित विपदको अवस्थामा अन्तर्राष्ट्रिय संगठनहरुका निम्ति विश्वव्यापी एकीकृत निकाय
c) नीति तथा वकालत
i) नेपालमा समाजिक, आर्थिक विकासका निम्ति आवश्यक नीतिगत परिवर्तनको वकालत
ii) खासगरि लगानीसंग सम्बन्धित नीति निर्माणका छलफलमा सहयोग
iii. विभिन्न देशले अपनाएका उत्तम अभ्यासको जानकारी र अनुकरण गर्ने मञ्चको विकास
iv. सुरक्षित आप्रवसनको वकालत तथा दीर्घकालीन क्षमता विकास
९ एक आपसमा गाँसिएका विषयहरु
एनआरएनएले आफ्नो लक्ष्य हासिल गर्न तथा सांगठनिक पुनर्संरचना गर्न तीनवटा सम्बन्धित विषयहरुलाई सम्बोधन गर्न जरुरी छ:
क) स्रोत तथा दिगोपना
i. विभिन्न प्रकारका सदस्यहरुबाट संकलन गरिने स्रोत
– आधारभूत
– वैदेशिक कामदार
– नेपाली समुदाय
– प्रतिष्ठानलाई योगदान गरेको आधारमा विविध विशेष प्रकारहरु
ii. सदस्यताको वृद्धि
– सञ्जाल वृद्धि तथा सदस्यता विस्तार गर्नका लागि विशेष अभियान
iii. उपलब्ध संख्यालाई स्रोतमा परिणत गर
iv. लगानी योजना विक्री गर्ने मञ्च
v. एनआरएनए प्रतिष्ठानका निम्ति संस्थागत सहयोग
– उदाहरणका लागि प्रत्येक सदस्यबाट प्रत्येक वर्ष एक डलर प्रतिष्ठानमा जाने
vi. आफ्ना आयोजनामा एनआरएनए प्रतिष्ठानले निश्चित ओभरहेड रकम लिने
vii. कुनै कोषबाट आम्दानी
viii. आय स्रोतबारे निरन्तर खोज
ख) संगठनलाई गैर राजनीतिक र नैतिकवान बनाइराख्ने
i) नेपालका राजनीतिक दलको सदस्यता स्वघोषणा गर्नुपर्ने तथा त्यस्तो सदस्यता रहेको भए स्वत: परिषदको निर्वाचन लड्न अयोग्य हुने
ii) नेपालको राजनीति भन्दा आफु बसोबास गरेको मुलुकको राजनीतिमा सहभागी हुन प्रोत्साहन
iii) आचार संहिताको कडा पालना
ग) दोस्रो पुस्ता वा जेनरेसन नेक्स्टलाई आकर्षित पार्ने
i) दोस्रो पुस्ताका एनआरएनका निम्ति विविध कार्यक्रम निर्माण
– फेलोशीप कार्यक्रम
– विशेष काम गराउने कार्यक्रम
– शैक्षिक आदानप्रदान कार्यक्रम
ii) अन्तर्राष्ट्रिय स्तरमा सञ्चारका लागि अंग्रेजीकै प्रयोग
– विस्तृत सदस्यहरुलाई समेट्न दुई भाषाको प्रयोग
– भविष्यमा बहु भाषाको प्रयोग
१० कहिले? समयसारिणी
– सम्मेलनमा ISE ले यसलाई सैद्धान्तिक रुपमा पारित गरेपछि यो लक्ष्य कार्यान्वयनका निम्ति अध्यक्षलाई अधिकार दिइने
– अध्यक्षले कार्ययोजना तथा कार्यान्वयन खाका बनाउन पाँच सदस्यीय समिति नियुक्त गर्ने
– अगष्ट २०१७ भित्र अध्यक्षले सबै सहमति लिइसक्ने
– अर्को अध्यक्षले अक्टोबर २०१७ देखि यस परिकल्पनाको कार्यान्वयन थाल्ने
अनुक्रमणिका
भेटघाट गरिएका व्यक्तित्वहरुको सूची
१ एलिना टेप्लीज, अमेरिकी राजदूत
२ दिपक एल्मर, स्वीस राजदूतावास
३ जीयुस्पे साभिनो, इयु्
४ ग्लेन ह्वाइट, अष्ट्रेलियन राजदूत
५ केभिन प्राइस, अमेरिकी दूतावास
६ रेनोद मायर, युएनडिपी
७ रिचार्ड मोरिस, ब्रिटिश राजदूत
८ उज्वल पोखरेल, युएनसिडिएफ
९ जाइद शेख, यूएन वीमिन
१० अर्जुन कार्की
११ अरनिको पाण्डे
१२ भीम उदास
१३ डिना बाँगदेल
१४ डा. बद्री केसी
१५ डा. विभाकर शाक्य
१६ इन्द्र बन
१७ कुलचन्द्र गौतम
१८ मल्लिका शाक्य
१९ प्रा. ओमकार श्रेष्ठ
२० पुकार मल्ल
२१ राजेश राणा
२२ शङ्कर शर्मा
२३ स्वर्णीम वाग्ले
२४ उज्वल थापा
२५ उपेन्द्र महतो

3 comments to शेष घलेको भिजन ट्वान्टी ट्वान्टी : एनआरएनएका लागि अजम्बरीको बुटी कि कालकुट विष?

  • cRIS

    लेखकको यो लेख द्वेषपूर्ण र एकतर्फी छ| यसमा वहांले आफ्ना न्यायधिश थोपर्नु भो, जुन शोभनीय देखिएन! नेपालको पार्टीगत राजनीति भन्दा एक बित्ता पर यो संस्थालाई राख्ने कुरो एकदम मनासिब लाग्यो| नेपालको सत्ता राजनीतिले यो संस्थालाई फेदजरा मै प्रभाब पार्न नदिने प्रस्ताब, एक संस्थाको लागि बिल्कुल सहि हुनेछ|

    सत्ता राजनीतिका करिबकाहरु यसरी मैदानमा कुर्लिहिद्छन, यो सामान्य कुरो भो! अस्तु| 🙂

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Manoj GC (Australia)

    होइन ई सबै भए ठुला बडा का करपोरेट कुरा । हामी गैर आवासीय लाई सीधा direct रूपम फरक पर्ने विषयमा चाहिँ ई विद्वान हरु सधै दही चिउरे कुरा गर्नु हुन्छ ।
    मैले आज एक बर्ष भन्दा बढ़ी भयो एन आर एन का अनेकन पहुंच वाला विद्वान हरु लाई एउटा साधारण प्रश्न सोधेको । एन आर एन कार्ड बनाए पछि हाम्रो नेपालको पैतृक सम्पत्ति मा हक लाग्छ कि लाग्दैन? हामीले त्यों हक त्याग गर्नु पर्छ ? कुनै ऐन कानून छ यस विषयमा ? छ भने कहां लेखिएको छ? की केवल दही चिउरे विद्वानको बैठक गफ र अनुमान र टीका टिप्पणी मा मात्र सीमितछ यो प्रश्नको उत्तर ?

    अनेकन ठुला ठुला करपोरेट गफ को हामीलाई के मतलब ? मैले देखेको छु यहां अस्ट्रेलिया बाट हरेक पल्ट एक महीना नेपाल आउंदा कि चालीस डलर तिरेर भिसा लिने, की भने दुवै राहदानी राखेर छल कपट गरेर बसेका छन अनेकन गैर आवासीय हरु यहीं अस्ट्रेलिया मा – आफ्नो नेपालमा रहेको पैतृक सम्पत्ति को हक त्याग गर्नु पर्ने त्रास ले ।

    एन आर एन कार्ड बनाएको खास फाइदा के त हामी जस्ता साधारण लाई ? हामी जस्ता काम गरेर खानु पर्ने लाई नेपाल आएर अनेकन बिजनेस खोल्ने र जग्गा जमीन किन्ने आर्थिक हैसियत छैन । भएको बाउ बाजेको घर जमीन पनि छोड्नु पर्ने भए पांच सय डलर तिरेर त्यों एन आर एन को खोष्टा कागत बोकेर किन हिड्ने? पैसा तिरी तिरी टिकट काटी काटी ई दही चिउरे धनाड्य विद्वान हरुको भाषण सुन्न? यिनीहरुको त आफ्नै स्वार्थ सिद्धि मात्र छ हामी लाई मुर्गा बनाएर

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • अहिलेको परिवर्तनशील संसारमा कुनै पनि कुरा ठोस रहन हुन्न, परिवर्तनशील [fluid/flexible] हुन पर्छ! कुनै पनि संघ संस्थाको हरेक कार्य समिति ले आवश्यकता अनुसार यसका उद्देश्य, लक्ष र योजना हरु समय सुहाउँदो गरि परिवर्तन गर्दै लैजान पर्छ अनि मात्र यसले समय अनुसार को आवश्यकता पूरा गर्न सक्तछ! हरेक कुरा प्रजातान्त्रिक विधि बाट हुन आवश्यक छ त्यसैले अध्यक्ष मा नै सम्पूर्ण अधिकार हुनु निरङ्कुश हुन जान्छ! सदस्यता आदिमा व्यावहारिकता अपनाउन पर्छ, आदर्श ले संस्था नचल्न सक्छ न त पूरा गर्नै नसकिने महत्वाकांक्षा ले! यो संस्था उद्योग वाणिज्य संघ जस्तै हो भनेर मैले पहिले नै लेखेको थिएँ, अहिले रोटरी क्लब सम्म भन्न थाल्नु भएछ, ठिकै हो! संस्था लाइ शुभ कामना!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)