यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

राष्ट्र बैँकले प्रतिबन्ध लगाएको बिटकोइन र अन्य क्रिप्टोकरेन्सीबारे जान्नै पर्ने तथ्य

-सानु भट्ट-

नेपाल राष्ट्र बैंकले यही साउन २९ गते डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) बिटकोइनलाई नेपालमा मुद्राको रुपमा कानुनी मान्यता प्राप्त नभएको तथा यसको कारोबार पूर्ण रुपले गैरकानुनी भएको सूचना प्रकाशित गरेपछि नेपाल र नेपाल बाहिर रहेका थुप्रै बिटकोइन उत्साहीहरुको ध्यानाकर्षण भएको थियो। त्यसको लगत्तै बिटकोइनको अवैध कारोबारमा संलग्न भन्दै केही ब्यक्ति पक्राउ परेको समाचार छापियो। कतिपय मिडिया र सामाजिक सञ्जालहरुमा बिटकोइनलाई गोल्डक्वेष्ट र युनिटी जस्ता ठगी प्रकरणसँग पनि तुलना गरेर चर्चाहरु भए।

बिटकोइन र अन्य क्रिप्टोकरेन्सी हालै धेरै चर्चामा आउनुको ठूलो कारण यिनको बजार मूल्य तीव्र रुपले आकासिनु हो। एक अनुमान अनुसार सन् २०१० मा १०० अमेरिकी डलर बराबरको बिटकोइनको मूल्य आजको दिनमा ७ करोड ५० लाख अमेरिकी डलर हुन आउँछ। यस्तै गरी अन्य घेरै क्रिप्टोकरेन्सीहरुको मूल्य पनि अचानक आकासिएकोले संसार भरी यसको चर्चा चुलिएको छ।


नेपाल राष्ट्र बैँकको सूचना (माथि) र सिआइबीको प्रेस विज्ञप्ति (तल)

संसारमा हाल रहेका सम्पूर्ण बिटकोइनको बजार भाउ झण्डै ७० अरब डलर छ। यो कुनै चानचुने संख्या होइन। यो नेपालको चालु आ.व. को बजेटको सात गुणा हो। त्यसैगरी अरु क्रिप्टोकरेन्सी समेतको बजार जोडदा झण्डै १२० अरब डलर हुन आउँछ।

बिटकोइनको मूल्यवृद्धि

(Source : www.coinmarketcap.com)

यसरी अचानक बजार भाउ बढदा छिट्टै पैसा कमाउने प्रलोभन देखाएर ठगीहरु पनि भएका छन्। यसरी ठगी हुनुको मूल कारण बिटकोइन प्रविधिबारे आम जनमानसमा जानकारीको कमि हो। यसबारे नकारात्मक हल्लाहरु फैलिनुको कारण यही हो।

के हो त बिटकोइन ?

बिटकोइन एक प्रकारको आभासी वा भर्चुअल (Virtual) मुद्रा हो। यसको प्रयोग एक आपसमा कम्प्युटरको माध्यमबाट मुद्रा लेनदेनको लागि हुन्छ। यस प्रकारका मुद्राहरुलाई क्रिप्टोकरेन्सी पनि भनिन्छ।

बिटकोइन संसारको पहिलो क्रिप्टोकरेन्सी हो। यसको आविस्कार २००८ मा ‘सातोशी नाकामोटो’ ले एक शोधपत्रद्वारा गरेका थिए। सातोशी नाकामोटो को हुन भन्ने परिचय अहिलेसम्म खुल्न सकेको छैन। सातोशी व्यक्ति हुन वा समूह भन्नेबारे पनि थुप्रै अड्कल काटिन्छ।

बिटकोइनमा कुनै राष्ट्र, कम्पनी वा समूहको स्वामित्व छैन। यो सम्पूर्ण रुपले उपभोक्तामा निहित छ। बिटकोइन आदान-प्रदान गर्ने र त्यो किनबेच गर्न निम्ति कमप्युटर नेटवर्क चलाउनेहरु यसका प्रमुख पात्र हुन्। बिटकोइनको आदान-प्रदानको सम्पूर्ण लेखाजोखा कमप्युटर नेटवर्कमा एक खुल्ला बहिखातामा सँधैको लागि सुरक्षित रहन्छ। यस बहिखातालाई ‘ब्लकचेन’ भन्दछन् र यो नेटवर्क चलाउने सबैलाई उपलब्ध हुन्छ।

बिटकोइन आदान-प्रदान गर्न चाहिने नेटवर्क चलाउने सबैले नेटवर्क चलाउन एउटै कम्युटर कोड (code) चलाउँदछन्। यसरी नेटवर्कलाई सघाए वापत कोडले उपहार स्वरुप बिटकोइन प्रदान गर्छ। यस प्रक्रियालाई ‘माइनिङ’ वा उत्खनन् भन्दछन्।

बिटकोइनको जम्मा संख्या केवल २ करोड ३० लाख मात्र हो जसमध्ये झण्डै १ करोड ७० लाख उत्खनन् भैसके। प्रत्येक पटक नयॉं बिटकोइन उत्खनन् हुनासाथ यसको उत्खनन् गर्ने प्रक्रिया झन् गाह्रो हुँदै जान्छ। यसरी उत्खनन् गर्न समय र बिजुली दुबै खर्च हुने हुनाले यसबाट पैदा हुने बिटकोइन मूल्यवान मानिन्छ।

कसरी प्रयोग गर्ने बिटकोइन?

बिटकोइन वा अन्य क्रिप्टोकरेन्सीहरु भर्चुअल भएको हुनाले तपाईले भौतिक रुपमा केही पाउनु हुँदैन। उत्खनन् प्रकियाबाट प्राप्त केही अंक र अक्षरहरले बनेको शब्द नै बिटकोइन हो। भौतिक मुद्रा झैँ यो शब्द जससँग हुन्छ बिटकोइन उसैको।

तर आत्तिनु पर्दैन। यसलाई मुद्रालाई सुरक्षित राख्न र एक आपसमा आदान-प्रदान गर्न डिजिटल वालेट (Wallet) चाहिन्छ। बिटकोइन सुरक्षित रुपले राख्न मिल्ने थुप्रै निःशुल्क ‘डिजिटल वालेट’ सुविधा प्रदायकहरु छन्। यी डिजिटल वालेटहरु फोनमा वा कमप्युटरमा एप (App) झै प्रयोग गर्न सकिन्छ।

यो डिजिटल वालेटमा रहेको ठेगाना तपाईले बिटकोइन पाउन वा तिर्न प्रयोग गर्ने ठेगाना पनि हो। यो तपाईको बैंक अकाउन्ट सरह हो। यसलाई ‘पब्लिक’ ठेगाना भनिन्छ।

भनौँ तपाईले कतै चिया खानु भो, आफ्नो फोनमा रहेको बिटकोइनबाट चिया बेच्नेको वालेट ठेगानाको बारकोड स्क्यान गर्नुस, अनि परे जति बिटकोइन तिर्नुस्। चिया बेच्नेले पनि तुरुन्त आफ्नो ठेगानामा गएर बिटकोइन पाएको हेर्न सक्छ। यस उदाहरणझैं तपाई संसार भर तुरुन्त कसैलाई पनि कुनै बैंक वा तेस्रो ब्यक्तिको मद्दत बिना तुरुन्त पैसा पठाउन सक्नुहुन्छ। तपाईको र पाउनेको नाम कतै नहेरिने हुँदा यो पूर्ण रुपले गोपनीय हुन्छ।

कुन ब्यक्तिले कसलाई बिटकोइन पठाएको भन्ने कुरा गोपनीय रहे पनि कुन ठेगानाबाट अर्को ठेगानामा कति बिटकोइन गए, कुन ठेगानामा कति बिटकोइन छन् र कुल कति बनेका छन् र कति बन्दैछन् आदि सबै जानकारी बहिखाता ब्लकचेनमा सँधैको लागि रहिरहन्छ। यसलाई जसले पनि हेर्न सक्छ।

यसले बजार नियमनमा मद्दत गर्छ र अस्वभाविक रुपले माग बढाएर कालो बजारी गर्ने संभावना न्युन हु्न्छ।

कसरी हुन्छ बिटकोइनको मूल्य ?

बिटकोइन आफैमा एक मुद्रा हो। संसारमा हाल रहेका मुद्राहरु (जस्तै रुपैया, डलर आदि) कुनै न कुनै राष्ट्रले वा राष्ट्रहरुको समूहले जारी गरेका हुन्। ती मुद्राको ग्यारेन्टी जारी गर्ने राष्ट्रले लिएका हुन्छन् भने तिनको क्रय शक्ति वा बजार भाउ अर्थशास्त्रको ‘माग र आपुर्ति’ को सिध्दान्तमा आधारित हुन्छ। राष्ट्रको अर्थव्यवस्था र शक्ति बढदै जाँदा त्यसको मुद्राको माग र साथै क्रय शक्ति पनि बढदै जान्छ भने कुनै राष्ट्रको अर्थव्यवस्था खस्किँदा मुद्राको माग र क्रय शक्ति पनि खस्किन्छ। बिटकोइनको हकमा पनि यसको मूल्य पनि यसको मागको आधारमा नै हुन्छ।

बिटकोइनको मूल्य आकासिनुको प्रमुख कारण यसको गोपनियता र प्रयोगको सुलभता हो।

संसार भरी बिना कुनै तेस्रो माध्यमको प्रयोग गरी सजिलै आर्थिक कारोबार गर्न दिने छुटले नै बिटकोइनलाई आकर्षक बनाउँछ। इन्टरनेट प्रविधिको क्षेत्रमा कामगर्ने देखि वैदेशिक व्यापार गर्ने सबैलाई यो अत्यन्त आकर्षक मुद्रा हुन जान्छ।

प्राय: क्रिप्टोकरेन्सीहरुको संख्या पूर्व आधारित हुन्छ। बिटकोइन २ करोड १० लाख मात्र हुने छन्, जसमध्ये झण्डै १ करोड ७० लाख जन्मिसके (माइन भइसके)। यस प्रकारको सीमित संख्याले पनि यसको भाउ बढाउन मदत गर्छ। जति जति बिटकोइन बारे ज्ञान बढ्दै र यसको प्रयोग बर्ने ठाउँहरु बढ्दै जान्छ, त्यतिनै स्वत: मॉग बढ्छ। अनि यो सरकारी मुद्रा झै असीमित छापिइरहने होइन।

हरेक रुपैयाँ सय पैसाले बने झै बिटकोईनको इकाईलाई ‘सातोशी’ भनिन्छ। एक बिटकोइनमा एक अरब सातोशी हुन्छन्। अहिले एक बिटकोइनको मूल्य झण्डै नेपाली साढे चार लाख रुपैयाँ छ। तपाईले पूरै किन्नु पर्छ भन्ने छैन। सातोशीहरुमा पनि आदान-प्रदान गर्न सकिन्छ।

किन हो क्रिप्टोकरेन्सी इन्टरनेटको भविष्य ?

अहिले क्रिप्टोकरेन्सीहरुबारे धेरै मानिसलाई खासै जानकारी छैन केहीले मात्र बिटकोइनको नाम सुनेका छन् वा अलि बुझेका छन्।

बिटकोइन आफैमा एक भर्चुअल मुद्रा मात्र भए पनि गर्ने त्यसको आधारमा रहेको ‘ब्लकचेन’ प्रविधिले भने इन्टरनेटलाई विकेन्द्रित बनाउने ढोका खोलिदिएको छ। याद गर्नुहोस् जब इन्टरनेटको सुरुमा आविष्कार भयो, तब यो केवल सूचना आदान-प्रदान गर्ने (ईमेल वा च्याट) माध्यमको रुपमा हेरिन्थ्यो तर अहिले इन्टरनेट हाम्रो जीवनको अभिन्न अंग भैसक्यो।

बिटकोइन जस्तै ब्लकचेन प्रविधिमा आधारीत इथेरियम, नियो, स्ट्राटिस जस्ता अरु क्रिप्टेकरेन्सीले यसरी संसार भर छरिएका रहेका प्रयोगकर्ताको नेटवर्कको माध्यमबाट विकेन्द्रिकृत इन्टरनेट बनाउनतर्फ उन्मुख छन्। विकेन्दिकृत इन्टरनेट भनेको इन्टरनेटको समाजवाद हो।

यसलाई सबभन्दा सजिलो बुझ्ने तरिका भनेको अहिले रहेका सबै फेसबुक, यु-ट्युब, ट्विटर आदि सबै वेबसाइट र एपहरु केन्द्रिकृत एप हुन्। यिनको स्वामित्व यिनलाई चलाउने व्यक्ति वा कम्पनीसँग हुन्छ। ती कम्पनीले यसमा रहेका तपाई-हाम्रो सबै जानकारी हेर्न पाउने र इच्छा अनुसार बदल्न पाउँछन्। तपाईँ – हामी केवल सामान्य प्रयोगकर्ता मात्र हुन्छौं ।

तर यही कुरा विकेन्द्रिकृत प्लेटफर्ममा बन्दा यसमा एक कसै व्यक्ति वा कम्पनीको स्वामित्त्व रहँदैन। त्यस इन्टरनेट नेटवर्कका सबै पात्रहरु त्यसका सहभागी हुन्छन र स्वामित्त्व स्वत: प्रयोगकर्ता र नेटवर्कमा सहभागीहरुमा हुन्छ। यी विकेन्द्रिकृत एपहरुमा सम्पूर्ण विवरण सदैवको लागि ब्लकचेनमा सुरक्षित रहन्छ र सबैले हेर्ने गरी पारदर्शी रहन्छ। कुनै एक ब्यक्ति वा संस्थाले त्यसलाई परिवर्तन गर्न सक्दैन।

विकेन्द्रिकृत इन्टरनेटको यही शक्तिले गर्दा माइक्रोसफ्ट, मास्टरकार्ड, सामसंग, टोयोटा जस्ता कयौं ठूला कम्पनीहरुले ‘इथेरियम एलायन्स’ बनाएर यो प्रविधि प्रयोगमा अघि बढ्दैछन्।
यस प्रविघिले बैंकिक क्षेत्रलाई सबभन्दा ठूलो असर पार्नेछ। ब्लकचेनको प्रयोगले बैंकिङ सुबिधाबाट वञ्चित रहेका संसारका थुप्रै गरिब नागरिक पनि केवल एक फोनको प्रयोगले अनलाइनमा सामान किनबेच गर्न सक्नेछन्। अनलाइन किनबेचको लागि बैंकद्वारा दिइने क्रेडिट वा डेविट कार्डको भरपर्नु पर्ने छैन।

साथै रेमिटेन्सको लागि पनि कुनै वित्तीय संस्था आवश्यक हुने छैन। यही सम्भावनाहरु देखेर संसारका ठूला बैंकिङ संस्था बार्कलेज बैंक र जेपी मोर्गेन चेज बैंकले ब्लकचेन अपनाउने काम थालिसकेका छन्।

मेडिकल रेकर्ड र ईन्सुरेन्सको क्षेत्रमा ब्लकचेनले अर्को महत्वपूर्ण प्रभाव पार्नेछ। संसार भर कतैबाट पनि यी रेकर्ड उपलब्ध हुने छन्, ह्याक गर्न नमिल्ने वा कसैले पनि परिवर्तन गर्न नमिल्ने गरी।

रसिया र थाइल्यान्ड जस्ता राष्ट्रहरुले आफ्नो मुद्रा पारदर्शी बनाउन ब्लकचेनमा राख्ने तयारी थालेका छन्। भविष्यमा भोटिङदेखि लिएर वैज्ञानिक शोध सबै ब्लकचेनमा राख्न तयारी भैरहेको छ।
ब्लकचेनको प्रविधिले केही अत्यन्त जटिल समस्याहरु पनि समाधान गर्न कार्य भैरहेको छ। टेस्ला कम्पनीका मालिक इलोन मस्क विद्युत वितरणमा ब्लकचेन प्रविधि प्रयोग गर्ने तयारीमा छन्। गोलम र सबस्ट्रेटम भन्ने कम्पनीहरु तपाईको घरमा रहेका कम्प्युटर चलाएको बेला ब्लकचेन नेटवर्कमा राखेर सुपर कमप्युटरको रुपमा प्रयोग गर्ने योजनामा छन्। यसले घर-घरमा रहेका कम्प्युटर खाली समयमा आयश्रोत हुने छन्। त्यसरी नै सियाकोइन भन्ने कम्पनीले तपाईको कम्प्युटरको हार्डडिस्क भाडामा लिएर विकेन्द्रिकृत क्लाउड बनाउने तयारी गर्दैछ। टेनएक्स जस्ता कम्पनीले यी सबै क्रिप्टोकरेन्सीलाई कुनै पनि पसलमा खर्च गर्न मिल्ने गरी डेविट कार्ड बनाउँदै छन्। भविष्यमा फोन नेटवर्कदेखि लिएर वेब ब्राउजर सबै विकेन्द्रिकृत इन्टरनेटमा आधारित हुने छन्।

अगाडिको बाटो

यहॉं प्रस्तुत केही उदाहरण मात्रै हुन्। आउँदो समयमा ब्लकचेन र विकेन्द्रिकृत इन्टरनेटले त्यही प्रकारको ‘बुम’ ल्याउने छ जुन ९० को दशकमा डटकमले ल्याएको थियो। त्यसबेला नेपाल र नेपालीले खासै फाइदा उठाइन सकेनन्। हाम्रा दुबै छिमेकी आईटी ‘पावर हाउस’ भए।

अहिले पनि नेपाल सरकारले बिटकोइन अवैध बनाउनु साटो चॉंडो भन्दा चॉंडो यस सम्बन्धी कारोबार गर्न कानुन बनाउन आवश्यक छ। नेपालमै यस क्षेत्रमा जनशक्ति तयार गर्नेदेखि लिएर सर्वसाधारणलाई यसबारे उचित जानकारी दिनु पर्छ। सरकारले अवैध घोषणा गर्दा प्रविधि विकास निरुत्साहित हुन्छ। अर्कोतिर अवैध रुपमा रातारात धनी बनाउने भन्दै गरिने ठगी धन्दा पनि मौलाउँछ। संसारभर ब्लकचेन प्रविधि फस्टाउँदै गर्दा हामीले त्यसलाई अवैध भनेर बस्नु भन्दा भोलिको दिनमा कसरी यसबाट फाइदा लिन सकिन्छ भन्दै तयारी गर्नु बेस होला।

सावधान हुनुपर्ने केही कुरा

कुनै पनि नयॉं क्षेत्र फस्टाउँदा त्यहाँ ठगी पनि मौलाउँछ। छोटो समयमा बिटकोइन र अन्य कोइनहरुको भाउ बढेको देखाएर मान्छे लोभ्याउन सजिलो छ। त्यसैले नयॉं नयॉं कोइन बनाउँदै त्यसको भाउ आकाशिन्छ भनी बेचेर भाग्ने र ठगी गर्ने थुप्रै काम भैरहेका छन्। नयॉं कोइन बनाउन अत्यन्तै सजिलो छ। नेपालमा त अहिले अवैध छ तर अन्य देशमा रहेका साथीहरुले यस क्षेत्रमा लगानी गर्ने हो भने केवल नाम चलेका र प्रयोग हुने क्रिप्टोकरेन्सी मात्र किन्नु होला। अनि किन्दा केवल प्रतिष्ठित बेवसाइटबाट मात्र किन्नु होला। कुनै ब्यक्तिबाट इमेलमा पठाइएका प्राईभेट किहरु नपत्याउनु भएकै बेस।

बिटकोइन र अन्य क्रिप्टोकरेन्सी एकदम नयॉं प्रविधि हुन्। यिनको मूल्य रातारात आकासिने वा रातारात गिरावट आउने सामान्य हो। कति क्रिप्टोकरेन्सी राम्रै कन्सेप्ट भए पनि सफल नहुन सक्छन्। त्यसैले लगानी गर्दा होशियार हुनु होला।

डिसक्लेमर : यो ब्लग प्रविधि बारे जानकारी मात्र हो, क्रिप्टोकरेन्सीमा लगानी गर्ने सुझाव होइन।

(थप जानकारीको लागि मलाई sanubhatta@gmail.com मा मेसेज गर्नु होला वा ट्विटरमा @Sanubhatta_ मा फलो गर्नु होला )

21 comments to राष्ट्र बैँकले प्रतिबन्ध लगाएको बिटकोइन र अन्य क्रिप्टोकरेन्सीबारे जान्नै पर्ने तथ्य

  • मनिष

    पैसा छाप्नको लागि सुन धरौटी राख्नुपर्ने नियम जबदेखि हट्यो तेस्पछि हामीले प्रयोगगर्ने सरकारी बैंक ले जारीगरेको पैसा कागजको खोस्टोमात्र हो| सरकारप्रति हाम्रो विश्वासले मात्र त्येसलाइ पैसा मानेको हो| तेसैले भबिस्यमा पैसा सुरक्षित पैसा भनेकै cryptocurrency हुने छ| cryptocurrency का कट्टर समर्थकहरु एस्तो विश्वास राख्छन| म बस्ने देशम़ा शेयेर कारोबारगर्दा d-mat account खोलेजस्तै कानुनी रूपमा आफ्नो कागज-पत्र बुझाएर Cryptocurrency कारोबार गर्न सकिन्छ|

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • sanu

    यो लिंक मा गएर ethereum allaince को मेम्बर को लिस्ट हेर्नु होला , जे पी मोर्गन बैंक पनि छ | ethereum क्रीप्टो करेंसी नै हो

    https://entethalliance.org/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • Bitcoins को कुनै भौतिक स्वरुप छैन,जस्तो कि अमेरिकि डलर,भारु नेरु,सुन,चाँदी वा अन्य मु्द्रा वा बस्तु ख़रीद गर्दा हामि ले भौतिक रुप मा ति मुद्रा वा बस्तु हरु आफु सँग घर मै वा बैंक मा राख्न सक्छौ तर bitcoins को कुनै भौतिक अस्तित्व हुदैन तसर्थ भौतिक रूप मा हामि ले bitcoins आफु सँग राख्न सक्दैनौ! Bitcoins लाइ कम्प्यूटर मै राखिन्छ र intern को माध्यम बाटै किनबेच वा लेन देन गरिन्छ। राष्ट्र बैंक ले bitcoins को खरिद बिक्रि ग़ैरक़ानूनी भनेर भन्नु लज्जास्पद कुरा हो! किन भने मैले मेरो बैंक खाता मा भएको पैसा ले टिभि,फ्रिज,सुन,चाँदी,हिरा,मोती गाई,भैसि जे पनि खरिद गरि प्रयोग गर्न र नाफा वा घाटा को दायित्व बहन गरि बिक्रि गर्न पाउछु भने-मैले bitcoins पनि खरिद गरि प्रयोग गर्न र नाफा घाटा को दायित्व बहन गरि बिक्रि गर्न पाउनु पर्छ।किनकि मैले मेरो बैंक मा जम्मा भएका सम्पूर्ण रक़म को श्रोत खुलाएको हुन्छु।र bitcoins खरिद बिक्रि गर्दा bitcoins transfer blockchain account मार्फ़त हुने भए पनि पैसा को लेनदेन को लागि बैंक खाता बाट नै गरिएको हुन्छ । आफ्नो ब्यक्तिगत विवरण बुझाएर श्रोत खुलेको मेरो बैंक को Tex तिरेको पैसो ले म सुन किनौ वा bitcoins केहि फरक पर्दैन! जापान तथा Europe का धेरै मुलुक हरु मा bitcoins लाई मुद्रा कै रुपमा स्विकार गरि bitcoins ATM नै संचालन भै सकेको अबस्था मा नेपाल मा चै bitcoins केहो भनेर सरकार नै अनभिज्ञ हुनु लज्जास्पद छ!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • prakash_EDM

    जे पी जो बारेमा गलत बुझेचन लेखक ले : समाचार लै बंगाये :
    “The starkest warning came from the JP Morgan chief executive, Jamie Dimon, who said bitcoin was a fraud that would ultimately blow up. Speaking last month, he said there was a limited market for the digital currency, arguing that it was only fit for use by drug dealers, murderers and people living in countries such as North Korea. He pledged to sack any JP Morgan trader investing in Bitcoin, but also admitted he had not been able to dissuade his daughter from investing.”
    सोर्स : https://www.theguardian.com/technology/2017/oct/12/bitcoin-price-5000-cryptocurrency-gold-बुब्ब्ले

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Ani yesto coin afaile ni banayera system chalauda hola ni ta yo ta kasari goverment ko mudra sanga dajna milxa ta adrisya digital money ho coin afaile creat garna milne jasto bujhe ta maile ta

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • dipak

    i would be very thankful if someone train me about this bitcoin stuff. required master is already with me. i am just unknown about the process to earn money through bitcoin investments.
    shot me mail @dipakstha1k@gmail.com

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Kul

    मलाई पनि एसको बारेमा हल्का त था ठेयो आज चै च्लेअर भए , सहि नेपाली हरु को लागि यो कुरा कालो अक्छार भैसी बराबर नै हो .

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Tara

    विस्तृत जानकारिका लागी धेरै धेरै धन्यवाद सानुजी!
    साथीहरु जसले यो लेख बुझिनँ भन्नुभो, यो प्रविधी र त्यसको उपायोग अझै पनि धेरैजसोका लागी नयाँँ नै छ । तपाईंलाई बुझ्ने इच्छा छ भने तलका लिंकहरु पढ्नुहोला ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • I want to be cleared about the bitcoin..I need reputed website about च्रिप्तोचोइन

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • क्रिप्टोकरेन्सीबारे धेरै जिज्ञासा थियो | यो लेख पढेर जे जति बुझियो शायद त्यति बुझ्नलाई निक्कै रिसर्च गर्नु पर्ने हुन्थियो |

    हामी पाठकलाई सरलीकृत गरिदिनु भयो | धन्यवाद सानु जी र उमेशजीको संसारलाई पनि |

    यस्तै नयाँ र अनुसन्धानात्मक लेख पस्किरहनु होला |

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • jitu

    अति राम्ररी बुझाउनु भो, अझै धेरै बुझ्न बाँकि नै छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Narendra Baral

    यो खागारी जापान बाट सुरु भयको हो र २ वर्ष अगाडी यसको bankrupt फाईल भयको थियो तर अहिले फेरि फ़स्टाउदै छ . यसको पर्योग राम्रो संग गर्न जानेन भने पुरै खतम गराउदछ.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Someone tag NRB

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Npl ma kaam garnu napare hunthyo bhanxan tehi bhayera kanun banaune jhanjhat kina garne abaidh bhandiye sakigoni bhanna sajilo hunxa…. the article is very good, the authorities should read n act fast

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Keshav

    यो अधिकांस नेपालीहरुको लागि कालो अक्षर भैसी बराबर हो.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • sahi kura

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • बुझनै गार्हो सर । के हो के हो

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • मैले त बुझेकै छैन स्मार्ट सिटी भनेको के हो!! के कमेन्ट गर्नु र खै!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • एत्रो news पढ़दा पनी यो के हो र कारोबार प्रक्रिया केहि बूझिन !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)