यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

विज्ञान ब्लग : मोटाइन्छ कसरी? घटाउने यसरी

moto“उहिलेका कुरा खुइलिए” भन्ने उखान एकदम सटीक र प्रगतिशील छ। यसलाई धेरै प्रसंगमा अर्थपूर्ण प्रयोग गर्न सकिन्छ। त्यसमाथि पनि विज्ञानमा चाख राख्नेहरुलाई त यो सदैब नयाँ अनुसन्धान र आविस्कार को आधार नै हो। हो उहिलेका धेरै मनगढन्ते कुराहरु खुइलिसकेका छन्। त्यसरी नै मान्छेको मोटोपन सम्बन्धी धारणा पनि खुइलिसकेको छ।

उहिले-उहिले गर्दन हालेका र भुँडी लागेका मान्छेलाई मिठोमिठो खान पाएका, पुगिसरी आएका, सुख-सन्तोष भएका, हुनेखाने, भलाद्मी र स्वस्थ मानिन्थ्यो। अहिले त त्यस्तो शरीर हुनेहरु सबै नै तल्लो दर्जाको खाना (Junk Food) खाने, स्वास्थ्य सम्बन्धी ज्ञान नभएका, अल्छिका भारी र रोगका भकारी मानिन्छन्।

संसार बिकसित भयो, विकास र शहरीकरणले विलासिता जन्मायो, बिलासिताले बोसो थुपार्यो, अनि त्यही मोटोपन नै संसारका ९०% रोगको मूल जरो बन्नगई आज स्वास्थ्य सम्बन्धी संसारको सबैभन्दा ठुलो चुनौती भएको छ।

भौतिक बिकासको यो चरणसम्म आइपुग्दा पनि अझसम्म न त औषधि बिज्ञानले मोटोपन घटाउने भरपर्दो औषधि नै पत्ता लगाउन सकेको छ, न त चिकित्सा विज्ञानले यसको निदान नै पत्ता लगाउन सकेको छ। तत्सम्बन्धी बजारमा उपलब्ध कथित औषधिहरु भनेका मोटेहरुको मनोविज्ञान बुझेर उनीहरुको बिबसतामा राज गर्न सफल व्यापारिक चालमात्र हुन भने अप्रेशन गरी शरीरबाट बोसो निकाल्ने बिधिहरुचाहिँ क्षणिकरुपमा शरीरका केही तन्तु (Tissue) निकालेर एकछिनलाई मुतेन्यानो गरी दीर्घकालमा झनै बढी तन्तुको साथै अन्य धेरै शारीरिक असरहरु निम्त्याउने माध्यममात्र हुन्।

द्रुतगतिमा बढ्दै रहेको र अहिलेकै अवस्थामा पनि संसारको करिब ३०% जनसंख्यालाई गाँजिरहेको यो मोटोपनको औषधि अथवा निदान पत्ता लागेको दिन त यो संसारको बिकासको एउटा ठुलो छलांग, र उत्सब मनाउन लायक दिन ठहर्ने छ।

मोटोपन नियन्त्रण र निदानका सूत्रहरु त हामीहरु हरेकसंग हातहातै छन् ! ती सर्बोत्तम सूत्रहरु बताउनु भन्दा पहिले मान्छे मोटाउने कारण र शरीरमा बोसो लाग्नुको जैविक संयन्त्रको अलिकति चर्चा गर्नु उचित समयको अपररिहार्य प्रसंग जस्तो लाग्यो।

मोटाउनुका अनेक कारणहरु हुन्छन, र ब्यक्तिपिच्छे नै फरक-फरक हुन्छन्। शारीरिक बनौटको भिन्नताले गर्दा महिला र पुरुष मोटाउने कारणहरु समेत कैयौं हदमा फरक-फरक हुन्छन्। तथापि मान्छे मोटाउनुका मूल कारणहरुमा-वंशाणुगत, अप्रयाप्त सुताइ, मानसिक तनाब, बिबिध औषधि सेवनका बाध्यता, बिभिन्न प्रकारका हर्मोन उत्पादन गर्ने ग्रन्थीहरुको अवस्था, खानाको प्रकार र मात्रा, शरीरको शक्ति खर्च हुनेगरी प्रयोग गर्ने हाम्रो आफ्नै तरिका, खानाबाट प्राप्त शक्तिलाई प्रयोग र संचय गर्न निर्देशन दिने इन्सुलिनको अवस्था, र हामीले खाने खानाबाट प्राप्त शक्तिलाई प्रयोग गर्ने हाम्रै शारीरिक संयन्त्र (Metabolic Mechanism) नै प्रमुख कारणहरु हुन्।

संसारको कुनै पनि मान्छेको शारीरिक संयन्त्र अर्को व्यक्तिसँग सत-प्रतिशत मिल्दैन, तर कैंयौ रोग र मोटोपन लगायतका शरीरसँग सम्बन्धित थुप्रै कुराहरु भने आफ्नै बंशसंग सम्बन्धित हुन्छन्। यदि कुनै जोडी नै मोटो छ भने तिनीहरुको बच्चा पनि मोटो हुने ८०% सम्म सम्भावना हुन्छ। बंशानुगत कुराहरु वातावरण अनुसार क्रमशः परिवर्तन भने हुँदै जान्छन्। तसर्थ मोटाहरुको सन्तान, दर-सन्तान सबै र सदैब मोटा नै हुन्छन भन्ने अर्थ लगाउनु भने गलत हुन्छ। परिवर्तन राम्रो अथवा झन् खरब कुनै पनि हुँदैजान सक्छ।

स्वस्थ शरीरको संयन्त्रलाई हर्मोन तथा अन्य लाखौँ रासायनिक प्रतिक्रियाको उचित योगले चल्ने एक प्रकारको आधुनिक र जटिल कारखाना भन्दा पनि हुन्छ। त्यस्तो कुनै योगको अनुपात तलमाथि पर्यो भने त्यसको नकारात्मक परिणाम अन्यत्र कतै पर्न जान्छ। जस्तै:-यदि हामी प्रयाप्त सुतेनौं भने त्यसको कारणले भोकसँग सम्बन्धित हर्मोनहरु बढी सक्रिय हुन्छन। जसको कारणले बढी भोक लाग्ने र साबिकको भन्दा बढी खाना चाहिने हुन्छ। बढी खाना चाहिनु वा खानु भनेको नै मोटाउने प्रक्रिया हो।

Fatहाम्रो शरीरको संयन्त्र हरेक अस्वाभाविक तथा नयाँ प्रकारका शारीरिक र मानसिक परिस्थितिसँग सकेसम्म जुझ्नसक्ने गरी परिवर्तन हुनसक्ने खालको पनि हुन्छ। उदाहरणको लागी-हामीले एकदम बढी अभ्यास (Exercise) गरेर एकाएक धेरै तौल घटाउन खोज्यौं भने हाम्रो शरीरले दिंदैन। जति अभ्यास गरे पनि केही दिनसम्म तौल घट्दैघट्दैन, किनकी के नराम्रो हुनलाग्यो भनेर शरीरको संयन्त्रले घट्नुबाट रोकिराखेको हुन्छ। केही दिनपछि जब यो नराम्रो कुरा होइन भन्ने कुरामा संयन्त्र विश्वस्त्त हुन्छ, त्यसपछि घट्न दिन्छ। त्यसरी नै जब व्यक्ति तनाबमा हुन्छ, त्यसबाट जुझ्न शरीर Survival Mode मा जान्छ। यस्तो अवस्थामा शरीरमा Cortisol नामक हर्मोन उत्पादन हुन्छ। जसको कारण पनि व्यक्तिलाई बढी भोक लाग्छ।

जीवन जिउनेक्रममा हामीहरु कुनै न कुनै प्रकारका औषधि प्रयोग गर्न बाध्य हुन्छौं। तर दुखाइ कम गर्ने, सुन्निएको तथा चोटपटक लाग्दा खाने दबाई (Anti-Inflammatory), डिप्रेशनको औषधि (Anti-Depressant), गर्भनिरोधक सुई र चक्की, इन्सुलिंका सुई आदिले बढी भोक जगाएर अथवा शरीरको हार्मोनको अनुपात बिगारेर प्रत्यक्ष वा परोक्ष कुनै न कुनै रुपले तौल बढाउन सहयोग गरिरहेका हुन्छन्।

महिला तथा पुरुषको मस्तिष्कले लगभग उस्तै प्रकारको काम गरे पनि २ फरक किसिमले बिकास (evolution) भएको छ। त्यसरी नै फरक किसिमले Evolution भएको छ बोसो लाग्ने तरिकामा पनि। जब दुबैको शारीरिक बिकासको गति करिब २५-३० मा पूरा हुन्छ, त्यसपछि शारीरिक बिकासको लागी चाहिने शक्ति बोसोको रुपमा संचय हुनथाल्छ, र दुवै मोटाउन थाल्दछन।

पुरुषको बोसो कम्मर भन्दा माथिल्लो भागमा जम्मा हुन्छ, जसलाई Visceral Fat भनिन्छ, अनि यस्तो भुँडीलाई स्याउ भुँडी भनिन्छ। महिलाको बोसो केही मात्रामा कम्मरमाथि र धेरैजसो तल्लो पेट तथा पुठामा जम्मा हुन्छ, जसलाई Subcutaneous Fat भनिन्छ, अनि महिलाको यस्तो प्रकारको बोंसे भुँडीलाई नास्पाती भुँडी भनिन्छ। महिलाहरुको महिनाबारी हुने समय सकिएपछि एस्ट्रोजन नामक महिलामा उत्पादन हुने हर्मोन एकदम घट्न जाँदा त्यसको परिणामस्वरूप झनै मोटाउने सम्भावना हुन्छ। तर महानावारी हुन छाडेपछि सानो पेटमा बोसो भरिन्छ भन्ने परम्परागत सोंच भने गलत हो।

आजभोलि खानाका असंख्य परिकार र स्वाद बनाइएका छन्। जसको परिणामस्वरूप अहिले धेरै मान्छेहरु स्वास्थ्यको लागी खाँदैनन, स्वादको लागी खान्छन, अनि चाहिने जति खाँदैनन, चाहने जति खान्छन्। यहीं छ मोटोपनको चुरो। हामी कहिलै शरीरलाई चाहिने क्यालोरी हिसाब गरेर खाँदैनौं। यो नै प्राय: मान्छेले गर्ने स्वास्थ्यसम्बन्धी ठुलो भूल हो।

कति खानु पर्छ त हामीले एक दिनमा ? ठीकैको शारीरिक परिश्रम पर्ने काम गर्ने एक बयस्क पुरुषलाई दिनमा बढीमा २,२०० क्यालोरी र महिलालाई २,००० क्यालोरीसम्म शक्तिको आवश्यकता पर्दछ, तर कुर्सीमा बसेर काम गर्ने हरुको लागी त त्यो भन्दा ३०० क्यालोरी कम भए पनि पुग्छ।

हामीले खाने खानामा करिब कति क्यालोरी हुन्छ त केही उदाहारण हेरौं। म्याक डनल रेस्टुरेन्टको एकछाकको सेट खाना (Full meal) मा, १,५००, एक लिटर तोरीको तेलमा ७,०००, एक किलो बोसोमा ७,५००, ठीकैको एक कचौरा भातमा ३२०, सानो एक कचौरा आलुको तरकारीमा २१०, एकछाकमा खाने ठीकैको दालको मात्रामा २७५, सानो एक कचौरा मासुमा ४००, ५०० मिलिलिटर बियरमा २३०, एक पिस ब्रेडमा ६६, सानो चम्चाको एक चम्चा घिउमा १०२, एउटा अन्डामा १०२, एक कोन आइसक्रिममा २३५, एउटा केरामा १०५ आदि। नेपालीले दशैंमा खाने प्रकारको खाना एकै छाकमा ३,००० क्यालोरी भन्दा बढी हुन्छ।

moto

मान्छेले कति क्यालोरी खान्छ भन्ने कुरा त खानाको प्रकार र मात्राबाट थाहा हुन्छ। तर त्यो प्राप्त शक्ति खपत हुने अथवा बोसोको रुपमा संचित हुने कुरा भने मुलभूत ३ कुरा- व्यक्तिको शरीरमा हुने मांसपेशी (Muscle), शारीरिक परिश्रमको मात्रा (Physical Activity), र व्यक्ति सुतेको अथवा आरामको अवस्थामा रहेको बेला शरीरले प्रयोग गर्ने शक्ति (Basal Metabolic Rate) मा भर पर्दछ। उत्ति उमेरका उस्तै दुई व्यक्तिले एकै प्रकारको उत्ति खाना खाँदा पनि BMR ढिलो हुने व्यक्ति मोटाउँछ भने BMR छिटो हुने व्यक्ति मोटाउँदैन। BMR एकदम छिटो हुने व्यक्ति जे खाए पनि र जति खाए पनि प्राय मोटाउँदैनन भने एकदम ढिलो हुनेहरु अलिकति खाए पनि मोटाउँछन्। त्यसैले BMR ढिलो हुने व्यक्तिले शारीरिक अभ्यासको माध्यमले क्यालोरी खर्च गर्नु पर्दछ। नियमित शारीरिक परिश्रम अथवा अभ्यासको मोटे-भुँडेहरुलाई किन पनि एकदम खाँचो छ भने एकपटक लामै समय, पूर्णरुपमा घटुन्जेल अभ्यास गर्यो भने शारीरिक संयन्त्रमा एकदम सुधार आई BMR छिटो बन्न जान्छ, अनि “मिठौरे जिब्रो अल्छी तिग्रो” भएन भने फेरि मोटाउने सम्भावना कम हुन्छ।

तर एक पटक मोटाइसकेको व्यक्तिको Metabolic Mechanism परिवर्तन भई नयाँ संयन्त्र स्थापित हुनको लागी कम्तिमा ५-६ महिना लाग्छ। खाना नियन्त्रण नगरुन्जेल जतिसुकै शारीरिक अभ्यास गरे पनि दीर्घकालीन रुपले तौल घट्दैन। ज्वलन्त उदाहरणको लागी सुमो खेलाडीहरुलाई हेर्दा हुन्छ। उनीहरुले बराबर शारीरिक अभ्यास कुनै खेलका खेलाडीले पनि गर्दैनन, तर कुनै सुमो खेलाडी दुब्ला हुँदैनन् किनकि उनीहरुले दिनमा १०,०००-२०,००० क्यालोरीसम्म खानै पर्छ।

केही समय अभ्यास गर्ने र छाड्ने तथा केही समय कम खाने र पुन साबिककै वा धेरै खानेहरुको त घट्नुको सट्टा झन् तिब्र गतिमा बढ्ने (Bounce Back Mechanism ) संयन्त्र स्थापना हुन्छ, किनकि शरीरले कहिलेकाहीं अत्यधिक शक्ति चाहिँदो रहेछ अथवा शक्ति अप्रयाप्त मात्रामा पनि आउँदो रहेछ भन्ने सम्झी बढी संचित गर्ने संयन्त्र स्थापित गर्दै जान्छ। तसर्थ थोथोरै तर दिनको कम्तिमा ३ पटक अनिबार्यरुपले खान खानु पर्छ। सके त कम कार्बोहाइड्रेड बढी प्रोटिन, भिटामिन युक्त खानामात्र खानु राम्रो हो, त्यो सबैको लागी सम्भब छैन, त्यसैले जे खाए पनि लगभग हुने क्यालोरी हिसाब गरेर खाने बनी गर्नु पर्छ।
कतिपय व्यक्ति १-२ हप्ता २-४ किलोमिटर हिंडेर, शरीर तानाक तुनुक गरेर अथवा जिममा गएर १०-२० किलो उचालेर वा एकाध घण्टा बिताएर खै केही गर्दा पनि घटेन भनी अभ्यास नै छाडिदिन्छन्। १ किलोमिटर हिड्दा ६० क्यालोरी खर्च हुन्छ, १ किलो तौल घटाउन ७,५०० क्यालोरी शक्ति खर्च गर्नु पर्छ त्यो पनि शरीरले तुरुन्तै घटाउन दिंदैन। जसको अर्थ १ किलो तौल घटाउन १२५ किलोमिटर हिंडे बराबर शक्ति खर्च गर्नु पर्दछ। जसरी मोटाउन समय लाग्छ, त्यसरी नै घटाउन पनि समय लाग्छ। रातारात सम्भब छैन।

अभ्यासलाई सोख (Hobby) को रुपमा लिनु पनि हुँदैन, युवाको लागी मात्र हो भन्ने सम्झनु पनि हुँदैन। यसलाई आफ्नो दैनिक जागिर सरह सम्झिनु पर्दछ। नियमित गर्नु पर्छ, प्रभाब पर्ने गरी गर्नु पर्छ। अभ्यास गर्दै जाँदा शरीरको रेसिस्टेनट शक्ति पनि बढ्दै जान्छ। त्यसैले शरीरलाई तन्दुरुस्ती राख्नको लागी अभ्यास गर्नेले सधै एकै प्रकारको अभ्यास गरे पनि हुन्छ, तर धेरै घटाउनु पर्ने हरुले अभ्यासका तरिकाहरु पनि बेलाबेलामा बदल्नु पर्दछ। केही व्यक्तिहरुले भुँडीमा बोसो लग्यो भनेर भुँडीको मात्र अभ्यास गर्दछन्। घट्दा भुँडीमात्र घट्दैन सबै ठाउमा घट्छ, अनि अन्य अभ्यासले पनि भुँडी घट्छ। त्यसैले सबै अंगहरुको समानुपातिक अभ्यास गर्दा सबै अंगहरु स्वस्थ पनि हुन्छ, घट्न पनि चाट्छ।

मान्छेलाई तन्दुरुस्त रहन प्रेरणा दिनको लागी केही सामाजिक र सरकारी दायित्व पनि हुन्छ। तसर्थ अबिबाहित मोटे तथा मोटीलाई दुब्ले दुब्लीले भरसक नाछान्ने, स्वास्थ ब्याक्तिलाई समाजमा बढी सकारात्मक चर्चा गर्ने, भेटघाटमा जाँदा पनि गुंदपाक र लड्डु-बोकेर होइन, फिटनेस क्लबको गिफ्ट-कार्ड बोकेर जाने गर्नु पर्दछ। अनि सरकारले पनि कर्मचारीलाई तन्दुरुस्ती भत्ताको व्यवस्था गर्नु पर्दछ।

[September 14th, 2014 मा पहिलो पटक प्रकाशित]

1 comment to विज्ञान ब्लग : मोटाइन्छ कसरी? घटाउने यसरी

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)