यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

मतपेटिका कहाँ छन्? झ्यालढोकामा चुकुल लगाएर लाहाछाप लगाइएको कोठाभित्र

अरु बेला भए मतदान भएको भोलिपल्ट यतिबेलासम्म मतपरिणामहरु धमाधम आउँदै हुन्थ्यो होला। तर यस पटक भने दोस्रो चरणको मतदान मंसिर २१ गतेसम्म मतगणना हुने छैन। अहिले मतपेटिकाहरु मत गन्ने ठाउँमा जम्मा गर्ने क्रम जारी छ। मत नगन्दासम्म मतपेटिकाहरु कहाँ रहन्छन् त? निर्वाचन आयोगको निर्देशिका अनुसार यस्तो छ व्यवस्था-

मतदान अधिकृतले मतदान केन्द्रमा मतदानको काम समाप्त भएपछि कागजपत्र र मतपत्रहरू छुट्टाछुट्टै खाममा बन्द गरी लाहाछाप लगाउने छन्। मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले समेत आफ्नो लाहाछाप लगाउन चाहेमा लगाउन दिइन्छ।

मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले सहीछाप नगरेमा मुचुल्कामा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुई जना व्यक्तिको सहीछाप गराउनु पर्नेछ।

मतदानको काम समाप्त भएपछि मतदान अधिकृतले मतदान केन्द्रबाट मतपेटिका लिएर मतगणना हुने स्थानतर्फ जाँदा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिहरू मतपेटिकाको सुरक्षाको लागि मतदान अधिकृतसँगै जान चाहेमा मतदान अधिकृतले आफूसँग आउन दिनु पर्ने व्यवस्था छ। त्यसैगरी ११ दिनसम्म मतपेटिका राखेको कोठा बाहिर बस्न चाहेमा बस्नको लागि अनुमति दिनु पर्ने व्यवस्था छ।

तर मतदान अधिकृतसँग आउने व्यक्तिलाई कुनै अवस्थामा पनि मतपेटिका समाउन वा छुन दिनु हुँदैन।

बलियो चुकुल लगाई लाहाछाप
निर्वाचन अधिकृतले मतदान अधिकृतले बुझाएका मतपेटिका सङ्कलन गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि प्रयोग भएको मतपेटिका, सोही निर्वाचन प्रणाली बमोजिम हुने प्रदेश सभा सदस्यको निर्वाचनको लागि प्रयोग भएको मतपेटिका र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि प्रयोग भएका मतपेटिका छुट्टिने गरी सकेसम्म एउटै कोठामा सुरक्षित राख्ने छन्। यसरी मतपेटिका राख्दा प्रदेश सभा सदस्यको प्रत्येक निर्वाचन क्षेत्रमा पर्ने मतदान केन्द्रका मतपेटिका छुट्टिने गरी राख्नु पर्नेछ।

मतपेटिका राखेको कोठाको झ्याल र ढोकामा बलियो चुकुल तथा ताला लगाई आफ्नो लाहाछाप समेत लगाउनु पर्नेछ। सो ठाउँमा उम्मेदवार वा निर्वाचन प्रतिनिधिले आफ्नो लाहाछाप लगाउन चाहेमा सो समेत लगाउन दिनु पर्ने व्यवस्था छ।

यसरी लाहाछाप लगाएको मुचुल्का गरी त्यसमा निर्वाचन अधिकृतले आफूले सहीछाप गरी उम्मेदवार, निर्वाचन प्रतिनिधि वा निजले अधिकार दिएको प्रतिनिधिको समेत सहीछाप गराउनु पर्नेछ।

कोठाबाहिर कुर्न पाइने
मतपेटिका राखेको कोठा बाहिर उम्मेदवार, निर्वाचन प्रतिनिधि वा निजले अधिकार दिएको प्रतिनिधि बस्न चाहेमा निर्वाचन अधिकृतले सो कुराको अनुमति दिनु पर्ने व्यवस्था छ।

मतगणनाको लागि मतपेटिका राखेको कोठा खोल्नु परेमा लाहाछाप जाँच्नु पर्नेछ र त्यसपछि लाहाछाप तोडी कोठा खोलेको मुचुल्का गर्नु पर्नेछ। त्यस्तो मुचुल्कामा निर्वाचन अधिकृतले सहीछाप गरी उम्मेदवार, निर्वाचन प्रतिनिधि वा निजले अधिकार दिएको प्रतिनिधि समेतको सहीछाप गराउनु पर्नेछ।

मतगणना चाहिँ कसरी हुन्छ?
दोस्रो चरणको मतदान सकिएपछि निर्वाचनको लागि तोकिएका सबै मतदान केन्द्रहरूमा मतदानको लागि प्रयोग भएका मतपेटिका प्राप्त भएपछि निर्वाचन अधिकृतले मतगणना गर्ने स्थान, मिति र समय उल्लेख गरी सूचना आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ।

तर कुनै मतदान केन्द्रमा पुनः मतदान हुने भएमा त्यसरी पुनः मतदान भएको मतदान केन्द्रको मतपेटिका मतगणनास्थलमा प्राप्त नभएसम्म अन्य मतदान केन्द्रको मतगणना कार्य शुरु गर्नु हुँदैन।

मतगणना गर्ने स्थान तोक्दा सुरक्षा र सुविधाको दृष्टिले मतगणना गर्न उपयुक्त सरकारी कार्यालय वा सार्वजनिक भवनमा मतगणना हुने गरी तोक्न सकिनेछ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको लागि मतदान कार्य सम्पन्न भई मतपेटिका प्राप्त भए पछि मात्र मतगणना गर्नुपर्ने व्यवस्था छ।

उम्मेदवारले मतगणना गर्ने स्थानमा आफ्नो मतगणना प्रतिनिधि राख्न चाहेमा त्यस्तो प्रतिनिधि नियुक्त गरी पठाउनु पर्ने कुरा समेत उल्लेख गर्नु पर्नेछ।

मतगणना गर्ने स्थानको व्यवस्था
निर्वाचन अधिकृतले एउटैकोठा वा ठाउँमा मतगणना गर्ने व्यवस्था गर्नु पर्नेछ। एउटै कोठा वा ठाउँमा मतगणना गर्नको लागि पर्याप्त ठाउँ नपुगेमा सोही भवनको अर्को कोठा वा ठाउँमा पनि मतगणना गर्न सकिनेछ।

मतगणना गर्दा छुट्टाछुट्टै भवनमा मतगणना गर्नु हुँदैन। तर एउटै भवनमा पर्याप्त स्थान नभएमा एउटै परिसरमा रहेका एक भन्दा बढी भवनमा समेत मतगणना गर्न सकिनेछ।

निर्वाचन अधिकृतले मतगणना गर्ने स्थानमा प्रकाश वा बत्तीको पर्याप्त व्यवस्था गर्नु पर्नेछ।

सर्वसाधारणलाई समय समयमा मतगणनाको प्रगति र नतिजाको जानकारी गराउनको लागि मतगणना गर्ने स्थानमा सूचना पाटी तथा माइक आदिको यथोचित व्यवस्था गर्नु पर्नेछ।

निर्वाचन अधिकृतले मतगणना स्थलमा उपलब्ध स्थान र सुरक्षा व्यवस्था समेतलाई विचार गरी एकै पटकमा दुई वा सोभन्दा बढी मतगणना टोली परिचालन गरी मतगणना गराउन सक्नेछ।

प्रतिनिधि सभा र प्रदेश सभाको अलग अलग कोठामा गणना
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना एकै पटक गर्नु पर्दा अलग अलग कोठामा गर्नु पर्नेछ । तर अलग अलग कोठामा गणना गर्न नसकिने अवस्थामा एउटै कोठामा मतपत्र नमिसिने गरी गणना गर्न सकिनेछ।

निर्वाचन अधिकृतले मतगणना गर्ने प्रत्येक टोलीमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मतगणनाको हकमा एउटा उम्मेदवारको तर्फबाट एकजना र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मतगणनाको हकमा एउटा दलको तर्फबाट एक जनामात्र रहने गरी आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।

कुनै मतदान केन्द्रमा पुनः मतदान गर्नु पर्ने भएमा त्यस्तो मतदान केन्द्रको मतदानको कार्य समाप्त नभएसम्म प्रतिनिधि सभा सदस्यको लागि निर्धारित सम्बन्धित निर्वाचन क्षेत्रको तथा त्यस्तो निर्वाचन क्षेत्रमा पर्ने प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना प्रारम्भ गरिने छैन।

निर्वाचन अधिकृतले मतगणना गर्दा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको प्रतिनिधि सभा सदस्यको निर्वाचन, सोही निर्वाचन प्रणाली बमोजिमको प्रदेश सभा सदस्यको निर्वाचन र समानुपातिक निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको मतगणना एकै समयमा प्रारम्भ गर्नु पर्नेछ।

पहिला प्रत्यक्ष त्यसपछि समानुपातिक
एकै समयमा सबै निर्वाचनको मतगणना गर्न नसकिएमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना एकै पटक गरी सोको गणना समाप्त भए पछि समानुपातिक निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको मतगणना गर्नु पर्नेछ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना एकै पटक गर्न नसकिएमा पहिले प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतगणना गरी त्यसपछि प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना गर्नु पर्नेछ।

मतगणनाको प्रक्रिया
(१) मतपेटिका जाँच गरेको मुचुल्का गरी सकेपछि सो मतपेटिकामा लगाएको सुरक्षणसील तोडी खोल्नु पर्नेछ र मतपेटिकामा रहेका सबै मतपत्रहरू मतगणना गर्ने टेबुल वा स्थानमा खन्याउनु पर्नेछ । मतपत्र खन्याई रित्तो भएको मतपेटिका उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई देखाउनु पर्नेछ।

(२) मतपत्र खन्याउँदा सम्बन्धित निर्वाचन क्षेत्रका एकभन्दा बढी मतदान केन्द्रको मतपत्रहरू एकै स्थानमा मिसाई मतगणना गर्नु पर्नेछ । त्यसरी मतपत्र मिसाउनु अघि त्यस्ता मतदान केन्द्रमा खसेको कूल मतको विवरण छुट्टै लेखी सुरक्षित राख्नु पर्नेछ ।

(३) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतपत्र गणना गर्ने प्रयोजनको लागि मतपत्र मिसाउँदा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने प्रदेश सभाको अलग–अलग निर्वाचन क्षेत्रमा पर्ने मतदान केन्द्रको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि प्रयोग गरिएका मतपत्र मिसाउनु पर्नेछ।

(४) मतपेटिकाबाट पट्याइएका मतपत्रहरू खोलेर निर्वाचन चिन्ह भएको भाग घोप्ट्याएर राख्नु पर्नेछ र सुविधा अनुसार पचास वा एकसय मतपत्रको ठेली बनाई धागो वा रबरले बाँधी राख्नु पर्नेछ।

(५) निर्वाचन अधिकृतले बनाइएका ठेली जिम्मा लिई राख्नु् पर्नेछ र प्रत्येक ठेलीबाट क्रमशः मतगणना गर्नु पर्नेछ।

(५क) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा मतदान भएको मतपत्र गणना गर्दा उपदफा (४) बमोजिम छुट्टयाइएका मतपत्रको ठेलीबाट सबैभन्दा पहिले बदर मतपत्रहरु छुट्टयाई त्यसको गणना गर्नु पर्नेछ। त्यसपछि उम्मेदवारको निर्वाचन चिन्ह अनुसार सदर मतको गणना गर्नु पर्नेछ।

(६) समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुनेप्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको लागि एउटै पानामा मतपत्र रहेको अवस्थामा सो पानामा रहेको दुवै निर्वाचन तर्फको मतगणना एकै पटक गर्नु पर्नेछ।

प्रतिनिधिले देख्ने गरी मतगणना गर्ने
मतगणना गर्दा निर्वाचन अधिकृत वा निजले खटाएको गणक कर्मचारीले उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले राम्रोसँग देख्न सक्ने गरी मतगणना गर्नु पर्नेछ। मतगणना गर्दा उम्मेवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले कुनै मतपत्र हेर्न चाहेमा निजहरुलाई त्यस्तो मतपत्र देखाउनु पर्नेछ । तर त्यस्तो मतपत्र निजलाई समाउन वा छुन दिनु हुँदैन।

1 comment to मतपेटिका कहाँ छन्? झ्यालढोकामा चुकुल लगाएर लाहाछाप लगाइएको कोठाभित्र

  • Shankar

    मतपेटिका कहाँ छन्?
    झ्यालढोकामा चुकुल लगाएर लाहाछाप लगाइएको कोठाभित्र|
    मत दाताहरु ,
    थोत्रे नेताहरुको आस्वासन र बतासे गफ को पोका भित्र ,
    सब नाटक जस्तो लाग्ने ,
    जित्ने ले हार्ने , हार्ने ले मत पत्र च्यात्ने ,
    जान्न पनि कति जानेको
    बलियो चुकुल लगाई लाहाछाप,
    कोठाबाहिर कुर्न पाइने,
    सबैको जिज्ञासा !
    मतगणना चाहिँ कसरी हुन्छ?
    सबको चाहना ,
    मतगणना गर्ने स्थानको व्यवस्था,
    प्रतिनिधि सभा र प्रदेश सभाको अलग अलग कोठामा गणना,
    पहिला प्रत्यक्ष त्यसपछि समानुपातिक,
    तर अफसोच ,
    चाहेको जस्तो हुन् सकेन ,
    हार्नु पर्ने ले जित्यो , जित्नुपर्ने ले हारो ,
    किनकि
    मतगणनाको प्रक्रिया ,
    स्पस्ट हुनु पर्यो
    प्रतिनिधिले देख्ने गरी मतगणना गर्नु पर्यो |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)