यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

को बन्ला नेपालको तेस्रो राष्ट्रपति? माओवादीको भूमिका निर्णायक, यस्तो छ भोटको हिसाब


नेपालको पहिलो राष्ट्रपति हुने चाहना गिरिजाप्रसाद कोइरालाको थियो। माओवादीसित सहमति पनि त्यसरी नै भएको थियो। तर २०६४ सालको चुनावमा सबभन्दा ठूलो दल माओवादी भइदियो। ठूलो दलले राष्ट्रपति आफैले पाउनु पर्ने भन्दै लबिङ गर्दा न राष्ट्रपति पायो, न उपराष्ट्रपति पायो, न सभामुख पायो। माओवादीले रामराजा प्रसाद सिंहलाई उम्मेदवार बनाएको थियो। तर त्यतिबेलाको दोस्रो ठूलो दल कांग्रेसले चौथो ठूलो शक्ति मधेसवादी दल अनि तेस्रो ठूलो दल एमालेसहितको गठबन्धन बनाएर राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रपतिको चिट्ठा कांग्रेसका डा. रामवरण यादवलाई पर्‍यो। संविधान नबनुन्जेल उनी राष्ट्रपति भए। संविधान बनिसकेपछि चुनाव नभएसम्मका लागि कांग्रेसले राष्ट्रपति र एमालेले प्रधानमन्त्री पाउने भनेर सहमति भए पनि सुशील कोइरालाले सहमति नमान्दा माओवादीको सहयोगमा दोस्रो राष्ट्रपति बनिन्- विद्यादेवी भण्डारी। उपराष्ट्रपति माओवादीले पायो। अब अहिले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सकेर संघीय संसद र प्रदेश सभा बनेको एक महिनाभित्र तेस्रो राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्नुपर्नेछ। तेस्रो राष्ट्रपति वा उपराष्ट्रपति को बन्ला त? अहिलेसम्म वाम गठबन्धनको एमाले र माओवादीभित्रै पावर सेयरिङ हुने देखिन्छ। राष्ट्रिय सभाका ५६ सदस्यको निर्वाचन र तीन जना मनोनयन हुन बाँकी रहँदै वाम गठबन्धनसित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुन आवश्यक न्यूनतम २६ हजार ३९४ भन्दा बढी भोट हातमा भइसकेको छ। तर केही गरी पहिलो र दोस्रो राष्ट्रपति निर्वाचनमा जस्तो सहमति ब्रेक हुने हो भने यस पटक माओवादीको भूमिका निर्णायक हुने देखिएको छ। कस्तो छ त भोटको हिसाब आउनुस् हेरौँ।

कसले भोट हाल्छन्?
राष्ट्रपति र उपराष्ट्रपति चुन्नका लागि संघीय संसद र प्रदेश सभाका सदस्यहरुले मतदान गर्छन्। संघीय संसद भनेको २७५ सदस्यीय प्रतिनिधि सभा र ५९ सदस्यीय राष्ट्रिय सभा गरी कूल ३३४ जना र सातै प्रदेशका प्रदेश सभाहरुका कूल सदस्यहरु ५५० जना गरी ८८४ जनाले भोट हाल्छन्।

प्रतिनिधि सभाका २७५ र प्रदेश सभाका ५५० जना सदस्यहरुमा कुन दलको कति सदस्य हुने भन्ने निश्चित भइसकेको छ। राष्ट्रिय सभाको भने लामो विवादपछि अध्यादेश जारी भएको भएर निर्वाचन हुन अझै समय लाग्नेछ।

कति भोट ल्याउनु पर्छ जित्न?
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार एक जनामात्र उम्मेदवार भए त निर्विरोध निर्वाचित घोषणा भइहाल्छ। एकभन्दा बढी उम्मेदवार भएमा भने बहुमत अर्थात् कम्तिमा २६ हजार ३ सय ९४ मत ल्याउनु पर्नेछ। भोट हाल्ने जम्मा ८८४ जना मत ल्याउनु पर्ने २६३९४ कसरी भन्ने तपाईँलाई लाग्न सक्ला।

खासमा भोट हाल्ने ८८४ जना नै हो। तर संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यहरुको मतभार फरक हुनेछ। भनेको के भने संघीय संसदका सदस्यहरुले हालेको मतलाई ७९ ले गुणन गरिन्छ भने प्रदेश सभाको सदस्यले हालेको मतलाई ४८ ले गुणन गरिन्छ।

उदाहरणका लागि कुनै दलले संघीय संसदमा ५० सांसद र देशभरका प्रदेशहरुका प्रदेश सभामा १०० सदस्य जित्यो भने विधेयकमा गरिएको व्यवस्था अनुसार संघीय संसदबाट ५०X७९ = ३९५० र प्रदेश सभाबाट १००X४८ = ४८०० गरी कूल ८७५० मत ल्याएको हुन्छ।

कसैले पनि २६३९४ भोट ल्याएन भने बढी मत ल्याउने दुई जनाबीच पुनः चुनाव हुनेछ। त्यसमा जसले बढी ल्यायो, उही राष्ट्रपति वा उपराष्ट्रपति निर्वाचित हुनेछ।

यो ७९ र ४८ ले गुणन गर्ने लफडा के हो भन्ने लाग्ला तपाईँलाई त्यसको सूत्र यो हो-

भनेपछि संघीय संसदबाट २६ हजार ३ सय ८६ मत र प्रदेश सभाबाट २६ हजार ४ सय गरी कूल ५२ हजार ७८६ मत उपलब्ध हुनेछ।

अहिले कसको भोट कति छ?

राष्ट्रिय सभाको निर्वाचन नहुँदै अहिले नै वाम गठबन्धनको स्पष्ट बहुमत छ। यो गठबन्धनले चाहेमा जोसुकैलाई राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारमा विजयी बनाउन सक्छ। एमाले एक्लैको २१ हजार २२३ भोट छ जुन निर्वाचित हुन आवश्यक संख्या २६ हजार ३ सय ९४ भन्दा ५ हजार १ सय ७१ ले कम हो। यसमा राष्ट्रिय सभामा निर्वाचित हुने एमालेका सदस्यको भोट थपिन बाँकी छ।

कांग्रेस मत संख्याको हिसाबले दोस्रो शक्ति हो तर पहिलो शक्ति एमालेभन्दा आधा मत कम छ उसको। कथंकदाचित वाम गठबन्धन ब्रेक भएमा पनि एमालेले आफ्ना उम्मेदवार विजयी गराउन थोरै भोटमात्र अरुसित सहयोग लिनुपर्नेछ।

तर पहिलो संविधान सभाको निर्वाचनमा ठूलो दल माओवादीले कुनै पनि पद नपाए जस्तो गरी यस पटक पनि एमालेलाई त्यस्तै हालत बनाउन अङ्कगणितको हिसाबले सम्भव छ। तर त्यसका लागि वाम गठबन्धनमा रहेको माओवादीलाई त्यहाँबाट ल्याएर मात्र पुग्दैन, कांग्रेससँगै मधेसवादी दुई दल राजपा र फोरम पनि मिल्न जरुरी हुन्छ।

यो हिसाबले माओवादीको भूमिका निर्णायक हुने देखिएको छ। माओवादीले चाहेमा एमालेसित वाम गठबन्धन कायम राख्न सक्छ। नचाहेमा अर्को गठबन्धनसित मिल्न सक्छ। माओवादीले नचाहने हो भने अरु सबै दल मिल्दा पनि उनीहरुको भोटले राष्ट्रपति र उपराष्ट्रपति चुनिन सक्दैन।

त्यसकारण यस पटक माओवादीले राष्ट्रपतिका लागि नाम लिइरहेका रामबहादुर थापा ‘बादल’ राष्ट्रपति हुने सम्भावना अहिले बलियो देखिएको छ। यसो भएमा उपराष्ट्रपति एमालेबाट महिला हुनुपर्ने हुन्छ। तर के भन्न सकिन्छ र नेपालको राजनीति। उतिबेला रामराजा हुन्छ भन्दाभन्दै कसैले सोच्दै नसोचेका रामवरण पो भइदिए। अहिले पनि के हुने हो, हेर्न बाँकी नै छ।

को बन्न पाउँछन् राष्ट्रपति र उपराष्ट्रपति?

राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि ५ शर्त पूरा गरेको हुनुपर्छ-

(१) सबैभन्दा पहिला त नेपाली नागरिक हुनुपर्‍यो, त्यो पनि वंशजको आधारमा। अर्थात् बुबा नेपाली नागरिक भएको आधारमा पाएको नागरिकता हुनुपर्‍यो।
(२) कम्तिमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्‍यो।
(३) कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्‍यो।
(४) कुनै सङ्घीय कानूनले अयोग्य नभएको हुनुपर्‍यो।
(५) कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्‍यो। “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ।

कस्ता मानिसहरु अयोग्य हुन्छन् त उम्मेदवार बन्न?

(ख) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको,

(ग) निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,

(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको,

(ङ) सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तब्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(च) जातीय भेदभाव तथा छुवाछुत, बोक्सा बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,

(छ) खण्ड (घ) र (ङ) मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,

(ज) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर,

(झ) कैदमा बसेकोमा कैद बसेको अवधिभर,

(ञ) मानसिक सन्तुलन ठीक नभएको।

कति पैसा लाग्छ?
राष्ट्रपतिको उम्मेदवार हुनका लागि १ लाख रुपैयाँ र  उपराष्ट्रपति हुनका लागि ७५ हजार रुपैयाँ शुल्क धरौटीवापत् बुझाउनु पर्ने मस्यौदा गरिएको भए पनि यो व्यवस्था ऐन बनाउँदा हटेको छ।

तपाईँ उम्मेदवार बन्न पाउनु हुन्छ त? कसरी उम्मेदवार बन्ने?
पाउनु हुन्छ। माथिको योग्यता भएको र अयोग्यता नभएको जो कोही पनि उम्मेदवार बन्न पाउँछन् तर त्यसका लागि तपाईँले ५ जना प्रस्तावक र ५ जना समर्थक तयार पार्नुपर्नेछ। प्रस्तावक र समर्थक जो पायो त्यही भएर हुन्न, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि भोट हाल्ने मतदाता नै हुनुपर्छ। त्यो भनेको प्रतिनिधि सभाका सांसद भए पनि भयो, प्रदेश सभाका सांसद भए पनि भयो।

 

1 comment to को बन्ला नेपालको तेस्रो राष्ट्रपति? माओवादीको भूमिका निर्णायक, यस्तो छ भोटको हिसाब

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)