यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

विज्ञान ब्लग : कसको माया बढी ?

Liver-1सानो छँदा कसैकसैले “तिमीलाई कसको बढी मायाँ लाग्छ? बाबाको की, आमाको कि, दाइको कि, भाइको कि, बहिनीको ?” भनेर कसैले सोध्दा अकमक्क परेको क्षण याद भैरहेको छ मलाई यति बेला। कसको भन्ने ! सबै बराबर ! कुनैकुनै प्रश्न सुन्दा जति सजिला हुन्छन, जवाफ दिन त्यति नै गाह्रो !

“फोक्सो कि, कलेजो कि, मुटु ठुलो” भनी प्रश्न आयो भने के जवाफ दिने ? आकारमा त कुनै एउटा ठुलो होला, तर कामको हिसाबले यी तीनमात्र होइन की साना भन्दा साना अंगको पनि त्यतिकै महत्व हुन्छ। अन्य कुरा पनि त त्यस्तै हो ! कैयौं टनको बोइंगको इन्जिन एउटा सानो पेचकिल्ला (Screw) को कारणले रोकिन सक्छ। इन्जिन ठुलो भन्ने कि पेचकिल्ला भन्ने ! उत्तीणाङ्क ४० को जाँचमा ३९ आयो भने ३९ नम्बर ठुलो कि १ नम्बर !

जे होस् हाम्रो शरीरका अन्तिरिक अंगहरु (Internal Organs) मध्ये कलेजो सबै भन्दा ठुलो र गरुङ्गो अंग पनि हो। गर्भाधान भएको ३ देखि ८ हप्ताको बिचमा मानब भूर्णमा यसको बिकास सुरु हुन्छ। बयस्क मान्छेको कलेजो करिब १.४ किलो हुन्छ। यो दायाँ फोक्सोको ठिक तल रहेको हुन्छ। कलेजो दुई भागमा बाँडिएको हुन्छ र धेरै प्रकारका तन्तुहरुले बनेको हुन्छ। यसका सतह (Layers) पनि धेरै प्रकारका हुन्छन्।

हाम्रो शरीर सुचारु रुपले संचालन हुन कलेजोले प्रत्येक दिन एकदम धेरै, ५०० भन्दा पनि धेरै, महत्वपूर्ण कामहरु गर्नु पर्ने भएकोले यसको आकार पनि ठुलो भएको होला भन्ने बैज्ञानिकहरुको बिश्वाश छ। यसले काम गर्न छोड्दाको बखत हामी बाँच्न सक्ने कुनै सम्भाबना नै हुँदैन।

हामीले खाएको खानाबाट प्राप्त पौष्टिक तत्वलाई सतर्कतापूर्बक ठिक ढंगले ब्यबस्थापन गर्नु कलेजोको एकदमै महत्वपूर्ण कामहरुमध्येको एक काम हो।
हामीले खाएको खाना आमासयमा गएपछि साना भन्दा साना टुक्रामा टुक्रिन थालिहाल्छ। उक्त खाना जब मसिनो बनेर सानो आन्द्रामा पुग्छ, पौष्टिक पदार्थ जति सोसिएर र अन्य माध्यमले रगतमा मिसिन्छ, अनि त्यो रगत सर्बप्रथम कलेजोमा पुग्छ। कलेजोमा पुग्दासम्म रगत शुद्ध भैसकेको हुँदैन किनकि खाना पच्दा हुने रासायनिक प्रतिक्रियाबाट उत्पन्न हुने बिभिन्न टक्सिन (Toxin) भनिने बिकारहरु पनि पौष्टिक पदार्थसंगै मिसिए आएका हुन्छन्। बिमारी हुँदा खानु पर्ने औषधि शरीरमा लाग्ने प्रक्रिया हुँदा पनि बिकार उत्पन्न हुन्छ। कहिलेकाहीं राम्रै खानामा पनि हानिकारक र विषाक्त कुरा मिसिएका हुन्छन, जुन कुरा हामीलाई सजिलै थाहा हुँदैन कलेजोलेमात्र थाहा पाउँछ। नौनी खारेर बिलौनी, दूध तताएर खोत्तर, तेल पेलेर काती, बस्तुहरु फ्राई गरेर डढेको तेल छुट्टयाएझैं गरी पेटभित्रै राम्रो नराम्रो छानेर छुट्याउने संयन्त्र छैन, त्यसैले सबै कलेजोसम्मै पुग्छ।

यसरी पुग्ने सबै मिश्रित पदार्थबाट कलेजोले सर्बप्रथम शरीरलाई आवश्यक र घातक तत्व छुट्याउंछ। त्यसपछि आवशक पदार्थ जति शरीरलाई तुरुन्तै आबश्यक भए तुरुन्तै प्रयोग गर्न मिल्ने गरी उपलब्ध गराउँछ भने तुरुन्तै आवश्यक नभए पछि प्रयोग गर्न मिल्ने गरी केही आफैले संचय गर्दछ, केही मुख्यतया बोसोकोरुपमा संचय हुनसक्ने संयन्त्र मिलाउँछ भने घातक तत्व जति दिसामार्फत बाहिर निकाल्ने चाँजोपाँजो मिलाउँछ। दिसा मार्फत निस्किन नसक्ने बाँकी घातक पदार्थहरुलाई मिर्गौला मार्फत पिसाबबाट फाल्न लगाउँछ।

कलेजो आफैले संचित गर्ने शक्तिलाई ग्लीकोगन (Glycogen) भनिन्छ। शरीरलाई बिबिध कारणले तुरुन्तै शक्ति चाहिने संकटकालीन अवस्था जस्तै:- ठुलो चोटपटक, दुर्घटना आदिमा कलेजोले Glycogen प्रयोग गर्छ, जुन तुरुन्तै शक्तिमा परिणत हुन सक्छ। अन्य साधारण अवस्थामा शक्तिको श्रोतकोरुपमा बोसो प्रयोग हुन्छ।

कलेजोको अर्को महत्वपूर्ण काम पित्त (Bile) बनाउनु हो। हाम्रो शरीरलाई बृधि, बिकास र रोगब्याधको बिरुद्धमा लड्नको लागी प्रोटिन र भिटामिनको एकदम जरुरी हुन्छ, तर यस्ता बस्तु पचेर तथा सोसिएर रगतको मूल प्रबाहमा पुग्न पित्तको आवश्यक पर्दछ। कलेजोले पित्त बनाएर पित्तथैली (Gallbladder) मा संचय गर्दछ। जब हामी प्रोटिन र फ्याटयुक्त खानाहरु जस्तै मासु, अण्डा, गेडागुडी,चिल्लोचाप्लो आदि खान्छौं, यस्ता बस्तुहरु कार्बोहाइड्रेड पचे जस्तैगरी पचेर शरीरमा लाग्न सक्दैनन्। कलेजोले बिशेष संयन्त्रको माध्यमले सानो आन्द्रामा पित्त पठाउँछ र बल्ल यस्ता बस्तुहरु पचेर शरीरले लिनसक्ने बन्दछन्। भिटामिन A, D, E, K आदि शरीरमा लाग्न पनि पित्तकै आबश्यक पर्दछ।

शरीरमा प्रोटिन बनाउनु पनि कलेजोको अर्को एकदम महत्वपूर्ण काम हो। प्रोटिन भन्ने बित्तिकै हामीले खानाबाट प्राप्त प्रोटिन मात्र सोंच्छौँ। बनस्पति लगायत हरेक जीवित प्राणीको शारीरको जहातहीं रासायनको रुपमा रहेका बिभिन्न प्रकारका प्रोटिनहरु हुन्छन्।

जीवनचक्र चलिरहनको लागि यस्ता प्रोटिनहरु शरीरभित्रै अबछिन्नरुपमा बनिरहनु पर्दछ र प्रयोग भैरहनु पर्दछ। यस्ता थुप्रै प्रकारका प्रोटिनहरु, जस्तै रगत जम्न चाहिने प्रोटिनहरु, कलेजोले बनाउँछ। जब बिबिध कारणले रक्तश्राब (bleeding) हुनथाल्छ, कलोजोले उक्त ठाउँमा रगत जम्ने प्रोटिन पठाउँछ र रक्तश्राब कम हुन्छ। नत्र सानो घाउचोट लाग्दा पनि रगत नथामिएर शरीरको पुरै रगत बगी मर्ने डर हुन्छ।

यदि कसैका आँखा पहेंला भएका छन् भने उसको कलेजोमा समस्या छ भन्ने बुझ्नु पर्दछ। बढी रक्सी सेवन, मोटोपन, Hepatitis A, B, C आदिको कारणले कलेजो रड्डी गरी बिग्रिन्छ है !

कलाजोको रक्षा गर्न दिनमा कम्तिमा पनि १० गिलास जति पानी पिउनु पर्छ। शरीरमा उत्पन्न बिकार र विषाक्त पदार्थ छिटो बाहिर निकाल्ने तरिका नै पिसाब हो। त्यसको अलावा क्रुसिफर (Crucifers) वर्ग अन्तर्गतका सागसब्जी जस्तै:- काउली, ब्रोकाउली, बन्दा, मुला, रायो तथा पालुंगोको साग, सामुद्रिक झार, जलुका, हलहलेको साग आदि, र लसुन, प्याज, अन्डा, फलफूल, बेसार, बदाम, नट आदिमा पाइने तत्वहरुले विषाक्त बनेका पदार्थहरुलाई न्युट्रलाइज गर्न ठुलो भूमिका खेल्नुको साथै कलेजोलाई एकदम स्वस्थ बनाउन सहयोग गर्दछन्।

Jan 19, 2015 मा पहिलो पटक प्रकाशित

2 comments to विज्ञान ब्लग : कसको माया बढी ?

  • bijay

    Boeing को इन्जिन हैन होला.
    इन्जिन प्राय rolls Royce, pw वा ge हुन्छ 🙂

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • राजेश

    सारै राम्रो लेख , अब नियमित एस्त लेख हरु पस्कदै जानु हुन अनुरोध गर्दछु
    अब पित्त थैली को बारेमा पनि केहि जानकारी पाउन जस्तै पित्त थैली मा पथ्थरी भएर पित्त थैली झिकेर फालेमा शरीरमा कस्तो असर हरु पर्न सक्छ, कृपया यस बारेमा पनि केहि जान कारी पाम न

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)