यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

विदेशीलाई मेरो परिचय दिँदा


निश्चल
उत्तरी यूरोपको कठयान्ग्रिदो जाडो। दिनभरी को काम को थकाई। दिन भरि काम गरिसकेपछि एक दुइ गिलास बिदेशी रक्सी पिएर थकान हटाउने र जाडो छल्ने मेरो पुरानो बानी। थकाई मार्न र जाडो छल्न एउटा बार छिरे। बेयेरा संग एक पेग मागेर एउटा खाली टेबल खोजेर आफ्नो आसन जमाए। रात छिप्पिदै जादा बारमा जाडो छल्न आउनेको भीड लागिसकेको थियो। टेबलहरु भरिदै थिए। टुप्लुक्क मेरो अगाडि एउटा खैरे आइपुग्यो गिलासमा आफ्नो ३ पानी लिएर। अनि म बसेको टेबलमा बस्नु अघि “के म यहाँ बस्न सक्छु” भनेर आफ्नो औपचारिकता पुरा गर्यो। न होटेल मेरो, न टेबल मेरो नबस भन्न नमिल्ने, मैले पनि मुस्कान का साथ् “बस” भन्ने छोटो उत्तर दिए।

खैरे उमेरले चै २८-३० को हुदो हो। यो ठाउका मान्छे अरुबेला बोल्न दुख मानेपनि रक्सीको एक दुइ चुस्की लगाएपछि अलि खुल्ने गर्छन। सुरुको ४ ५ मिनेट मौनता मै बित्यो। अनि उसले मौनता तोड्यो कहाँ बाट आको भन्ने प्रश्न सोधेर। किन किन कसैले यो प्रश्न गर्दा मा ज्यादै खुसि हुन्छु। देश को नाम लिन पाउने भएर हो कि, आफ्नो पहिचान बयान गर्न पाउने भएर हो। मैले नेपाल बाट आको भने। एक छिन अन्कनायो उ। कहाँ छ नेपाल भनेर सोध्यो। उसको दोस्रो प्रश्न मलाई जसले सोधे पनि पार तातेर आउछ। नेपाल र नेपालीको बारेमा थाह नभाको मान्छे देख्यो कि रिस उठ्छ। अनि मैले तलै नेपाल र नेपाली को बारेमा थाह छैन भनेर सोधे। उसले थाह नभएको कुरा तत्काल जनायो। मैले अचम्म माने जस्तो गरि भने नेपाल र नेपालीको बारेमा त तैले सुनेको हुनु पर्ने हो त। उसले फेरी सोध्यो के बिशेष छ र नेपाल र नेपालीमा त्यस्तो? आज यसलाई नेपाल र नेपालि चिनाउनै पर्ने भो भन्ने अठोट गरे मैले अनि सुरु गरे नेपाल के हो र नेपाली के हुन् भन्ने कुरा।

मेरो देश नेपाल दक्षिण एशियामा पर्छ। भारत र चिन बीच को भुपरिबेस्थित देश। गौतम बुद्ध जन्मेको देश। सगरमाथा को देश, बिर गोर्खाली को देश। खैरेले अलि अलि बुझेजस्तो टाउको हल्लायो। रक्सीको चुस्की संगै मैले मेरो उत्तर मा थप गर्ने विचार गरे अनि फेरी दिन थाले।

तलाई थाह छ नेपाली भनेका को हुन्? उसले फेरी टाउको हल्लायो। म नेपाली बिर गोर्खालीको सन्तान हु। मेरा पुर्खाको बिरता देखेर अंग्रेजी साम्राज्य पनि हल्लिएको थियो। मलाई संसारकै बहादुर भनेर उपाधि दिए। लगभग २०० वर्ष अगाडी उनीहरुले दिएको त्यो उपाधिको बदलामा मैले आज सम्म उनीहरुको देशको लागि रगत बगाएको छु। बेलायतीको लागि मात्रै होइन, मैले भारतीयको सिमा रक्षा गर्न पनि आफ्नो रगत बगाएको छु। तर मेरो एक थोपा रगत पनि मेरो देश को लागि यो कालखण्डमा बगाएको छैन। हरेक चोटी मेरो छिमेकी ले मेरो देश को सिमाना मिच्दै जान्छ र मेरो घरबार नै उठिबास लगाउछ तर पनि म मेरा सन्ततिलाई उनीहरुकै फौजमा भर्ति गराउन दिन रात कसरत गर्न लगाउछु। छैन त म महान?

एक चोटी हृतिक रोशन भन्ने ले मलाई नेपाल मन पर्दैन भनेर भन्यो भन्ने हल्ला सुने, अनि मेरो पार तातेर आयो। मेरो ओरिपरिका चट्पट बेच्ने, पान बेच्ने सबैलाई कुटेर लघारे। मेरो राष्ट्रियता देखौना आफ्नै देश भित्र तोडफोड सम्म गरे। कति ओटा घर जलाए, कति ओटा पसल लुटे अझै नपुगेर चक्काजाम सम्म गरे। तर छिमेकीको एसएसबि मेरो देशको सिमाना भित्र छिरेर मेरो घरबार उजाडेर फर्किदा सम्म चाही म कानमा तेल हालेर सुत्छु।

यति मात्रै कहाँ हो र, शान्तिका अग्रदुत गौतम बुद्ध जन्मेको भूमिको मान्छे म आफै संग लडेर १३००० लाइ चितामा सुताइदिए। भएजातिका भौतिक संरचना सबै ध्वस्त पारे। कति चेलीको अश्मिता लुटे कति चेलीलाई बिधुवा बनाए, आफ्नै बच्चालाई अनाथ बनाए, समग्रमा भन्नु पर्दा देशकै बलात्कार गरे अनि बल्ल चित्त बुझ्यो।

म नेपालीले संसारमा कसैले गर्न नसक्ने र गर्न नआट्ने काम गर्दै आको छु। पैसाको लागि मैले दलाल भएर मेरा घरका चेली मुम्बईको कोठीमा लगेर बेचिन कि दाइजो नपाएको निहुमा सासु ससुरा भएर आफ्नै बुहारीलाई जिउदै जलाइन? मर्न सक्छन भन्ने जान्दा जान्दै पनि परम्परा धान्न मेरि छोरीको मासिकधर्मका बेला अझै पनि उनीहरुलाई गुफा बस्न लगाउछु, अझै छाउपडी प्रथा त्यागेको छैन मैले। के गरेको छैन मैले? बृद्ध आमाहरुलाई बोक्सीको आरोप लगाएर मलमुत्र खुवाको छैन कि, गर्भमा छोरी छे भन्ने थाह पाएर जन्मिनु भन्दा अगाडी तुहाएर मारेको छैन? म सासु भएर छोरी समान बुहारी माथि अत्याचार गरेको छैन कि बुहारी भएर बृद्ध सासूलाई घर बाट निकालेको छैन? कति महान रैछु देखिस म आफ्नै चेलीको रोदन र क्रन्दन ले मलाई छुदैन।

तिमीहरुले त देश बनाउने खालको मान्छे लाई भोट हालेर जिताएर सत्ता मा पठाउछौ, म त भ्रस्टचारी हो भन्ने जान्दा जान्दै, देश बेच्छ एसले भन्ने बुझ्दा बुझ्दै पनि आफ्नो दुनो सोझिन्छ भने जसलाई पनि भोट हालेर जिताईदिन सक्छु। म नेता बनेर देशको ढुकुटी रित्याईन कि नदि नाला विदेशीलाई बेचिन? तिमीहरु ले त यहाँ घर जग्गाको दलाली गर्छौ मैले त मेरै दाजु भाइको दलाली गर्छु, पैसो पाउनु पर्यो जसलाई जहाँ लगेर बेचिदिन सक्छु। चाहे खाडीको कुनै देशमा राम्रो जागिर दिलाइदिन्छु भनेर होस् चाहे अमेरिका वा युरोप लगिदिन्छु भनेर होस्। त्यसैले त म त भन्दा फरक छु, त्यसैले त त भन्दा सहासी छु।

तलाई के नै थाह छ र, मैले पैसाको लागि मेरै भगवानका मुर्तिहरु विदेशीलाई सुम्पेको छु, दुर्लभ बन्यजन्तुको चोरी पैठारी गरेको छु। मैले मेरो हजारौ वर्ष पुरानो मूल्य मान्यता भुलेको छु, पैसालाई नै आफ्नो भगवान मान्न थालेको छु।

अब त तैले पनि बुझिस होला, पैसा को लागि मा जे पनि गर्न सक्छु भनेर। मलाई आफ्नो जुठो थाल माझ्न पो गाह्रो लाग्छ त तर पैसाको लागि बिदेशीको गुलामी गर्न मैले जानेको छु। पैसाको लागि खाडीमा पसिना बेचेको छैन कि बिर गोर्खाली भएर संसारका कुना कुनामा मेरो रगत बेचेको छैन?

एती सुन्दा सम्म खैरे वाल्ल परिसकेको थियो मेरो पनि सहास बढीराको थियो। तर के गर्नु गिलास पनि रित्तिएछ खल्ती पनि। अनि कुराको बिट मार्ने विचार गरे र भने “बुझिस नि अब नेपाली को रैछ? म हु नेपाली। आइ एम प्राउड टु बि नेपाली।”

[यो ब्लग माइसंसारका पाठक निश्चलले पठाएका हुन्। तपाईँ पनि विविध विषयमा आफ्नो भोगाइ यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]

Feb 5, 2014 मा पहिलो पटक प्रकाशित

7 comments to विदेशीलाई मेरो परिचय दिँदा

  • sahas shrestha

    आत्मकेन्द्रित ब्यङ्ग कलाकारिताको प्रसंसनिय पाटो हो | यस्तो लेखहरु अझै धेरै पस्कन्दै जानुस निश्चलजी |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Lax Man

    निश्चल,
    हजुरको दुखद अवस्था देखेर मलाई खिन्न लाग्यो।
    दुखत अवस्था यो कि हजुरसँग बियर किन्ने पैसा छैन भनेर होइन कि हजुरले केहि सोच्ने दृष्टिकोण भिन्न भो भने हजुर मानसिक, आर्थिक, वैदिक रुपमा केहि परिवर्तन हुनुहुन्छ भन्ने निःस्वार्थ भावले यो अवस्थालाई समालोचन गरौ है-

    कुन देशमा रगत बहेको छैन, कुन देशमा चेली इज्जत लुटियो छैन, कुन देशमा दास बनाइएको छैन, कुन देशमा जबर्जस्ती गरिको छैन होला, कुन देशका नागरिक आफ्नो देशको राजनीतिबाट खुसि छन् र ….
    जे जस्तो क्रुरता भएपनि आफ्नो देशलाई आ-आफ्नो दृष्टिले माया गर्ने / घृणा गर्नेहरु भेटिन्छन्!
    खुसी खोज्नेले त कहिले पनि खुसि नै भेटाउदैन।
    खुसी त महसुस गर्ने भावना हो!

    जहासम्म “निश्चल” लाई गोरखाली क्रुर हुन् कि बहादुर हुन् भिन्नता सोच्ने मौका नपाएको हुनुपर्छ।
    क्रुर हुन भन्ने लागेको भए हजुर नेपाल देशमा पनि दबिएर, सिर उठाएर केहि गर्न नसेको अवस्थामा गुज्रिरहेको हुनुपर्छ।
    बहादुर हुन् या साहसी हुन् भन्ने लागेको भए भलै हलो जोतेर भए पनि अाफ्नो देशमा पौरखका साथ दुख सुख समायोजन गर्नुहुन्थ्यो होला।
    हैन हजुरलाई त जाडो या गर्मीको कुनै पर्वाह नलिइ / लाज नमानी विदेशमा भाडै माजेर(हुन सक्छ अरु कार्य) भएर पनि हजुर खुसी हुनुहुन्छ भने यो हजुरको व्यक्तिगत विषय हो।

    थप यो एक राष्ट्रिय मुद्दा हो।
    वैदेशिक रोजगार र पिडाका विषय एवं यस् सम्बन्धमा जोडिएका सम्पूर्ण सामाजिक, आर्थिक र मानसिक यातनामा परेका सम्पूर्ण नागरिकहरुको विषय हो।
    यो सम्बेदनशिल पनि छ।
    भरोसायुक्त साथी-भाइ मिलेर हुन्छ कि घर-परिवारको सहयोगमा हुन्छ, केहि सानो थालनी गर्नुहोस् – निरन्तर एकताको फल र नितान्त खुसि मिल्नेछ _ भलै हजुर जहाँ भए पनि!
    हजुरलाई धेरै धेरै शुभकामना!

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • राजन छेत्री

    म आफु चाहिं विदेशी लाई “वीर गोरखाली “, “बुद्ध” र “हिमाल” भनेर धाक पनि लाउँदिन तर निश्चल जी जस्तो चरम सीमाको हिनता बोध र बहुलट्टी गरेर केहि राजनीति मा लागेका मुर्ख र भ्रष्ट र अपराधी हरुले गरेको क्रियाकलाप को लागि सारा नेपाली लाई जिम्मेवार जस्तो गरेर यस्तो गाइजात्रे नौटंकी पनि गर्दिन

    निश्चल जी – जानुस कुनै मनोवैज्ञानिक लाई आफ्नो संकीर्ण हीन मस्तिष्क जंचाउनोस्

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • Sushil

    सोल्टी घण्टा हान्दा हान्दा फ्रसटु हुनुभएको रैछ…

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • sahas shrestha

    मेरो मनको कुरा पोख्नु भयो धन्यवाद |
    “आइ एम प्राउड टु बि नेपाली”

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 3

  • Ram

    कस्तो मन छुने लेख |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 3

  • jitu

    दरो लेख्नु भो, लेखनलाई गिलास रित्तियो होला तर हाम्रा नीति निर्माता श्री ७ हरुले कहिले बुझ्ने हुन्

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0