यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : न्याय हराएको सूचना

-राजु अधिकारी-

आफ्नो दाइले विदेशबाट ल्याइदिएको स्मार्ट फोनमा फेसबुक चलाउन उसलाई निकै रमाइलो लाग्थ्यो। केहि हप्तामै उ फेसबुकको ‘सुपर युजर’ भैसकेको थियो। एक दिन एकजना उसको साथिले फेसबुकमा ‘शेयर’ गरेको पोस्ट देखेर उ मख्ख प-यो। कुनै निराश बुद्धिजिबीले देशको न्याय पालिकाको स्थितिलाई व्यङ्ग गर्ने उदेश्यले लेखेको उक्त पोस्टले उसको मन त्यतातिर तान्यो। उक्त पोस्टमा लेखिएको थियो- न्याय हराएको सूचना – ‘लामो समय देखि गरिबका रक्षक, जनताका साथी सबैका परम मित्र ‘न्याय’ हराएको र जति प्रयास गर्दा पनि आजसम्म नभेटिएकोले भेट्टाउनुहुने महानुभाबले मेरो फोनमा सम्पर्क गरिदिएमा नगद रु १० करोड पुरस्कार दिइनेछ।‘
दश करोड धन राशिको ‘बिज्ञापन’ले उसको दिमाग झनन्न भयो। बच्चै देखि उसलाई धन कमाउने निकै रहर थियो। दशैमा मामाघरबाट टिका लगाएर जम्मामा गरेको पैसा उसले साँचेर राख्थ्यो र आफ्नो दाजुसंग को धनी भनेर दाज्थ्यो।
गाउँका सबैजसो युवाहरु पैसा कमाउन बिभिन्न मुलुकमा बिदेशिएका थिय। त्यसरी विदेशिने मध्यमा एम. ए. पास गरेका दखि औंठा छाप सम्मका थिए। उनीहरु फर्केर आउँदा उनीहरुले कमाएर ल्याउने पैसा प्राय: सबै जसोको बराबर नै हुन्थ्यो। त्यसैले उसको कमलो मन ले सोंच्थ्यो- एम. ए. पढे पनि पढ्दै नपढे पनि आखिर पैसा कमाउने उति नै हो, किन मेहेनत गरेर पढ्नु? त्यसैले पन्ध्र बर्षको हुँदा पनि उ छ कक्षा भन्दा माथि जान सकेको थिएन। कसरी पैसा कमाउने भन्ने बिचारले चाहिं उसलाई सधैं सताई रहन्थ्यो।

फेसबुकको त्यो पोस्ट देखेर महादेवको तेश्रो नेत्र खुले जस्तै गरी उसको पनि धनको गिद्धे नेत्र खुल्यो।
उसले मनमनै विचार ग-यो – दश करोड कमाउन त उसका गाउँका युवाहरुले कामाएको जस्तो कमाए पनि दश जुनी जुनी सम्म कमाउनु पर्छ। यती सजिलो उपाए हुँदा हुँदै किन अरु काम गर्नु? तर यो न्याय भन्ने को हो? त्यो त पहिले बुझ्नु प-यो?
गाउँमा पाण्डे बाजे निकै बुज्रुक मानिन्थे। उनलाई संस्कृत देखि अंग्रेजी सम्मको राम्रो ज्ञान थियो। पंचायत कालमा उनी राजनीतिमा पनि सक्रिय थिए र उप-प्रधानपंच सम्म पनि भएका थिए। पछि प्रजातन्त्र आएपछि कांग्रेसको सदस्य पनि भए। तर पछि राजनीति सबैले देखिने गरि निकै फोहोरी खेल भए पछि दिक्क लागेर उनी निष्क्रिय बसेका थिए। उसले पाण्डे बाजेलाई न्यायको बारेमा सोध्ने बिचार ग-यो।
पाण्डे बाजेले निराश हुँदै भने – न्याय के हो, न्याय को हो भन्ने कुरा अब हामीजस्ता लाई सोधेर हुदैन बाबु। न्यायलाई त कांग्रेसीहरुले आफ्नो शाशनकालमा अपहरण गरेर बन्धक बनाए, त्यस पछि माओबादीले बन्दुक देखाएर भगाए। अहिले कहाँ छ, के गर्दै छ मलाइ केहि थाहा छैन। आजभोलि न्याय भेट्टाउने त भाग्यमानी मात्रै हुन्छन्।’ पाण्डे बाजेले उसले सोधेको प्रश्नको सिधा उत्तर नदिए पनि उसले एउटा कुरा के पत्ता लगायो भने न्यायलाई कसैले लुकाएर राखेको छ र त्यसलाई भेट्टाउनेलाई भाग्यमानी हुनेछ अर्थात उसलाई धन प्राप्त हुनेछ।
अर्को दिन बिहानै भण्डारी दाइ कहाँ गएर उसले सोध्यो- ‘दाइ यो न्याय भन्ने चिज कहाँ पाइन्छ?’ भण्डारी दाइ दश बर्ष जनयुद्ध गरेर शान्ति प्रक्रिया पछि गाउँ फर्केर निकै ‘सम्मान’का साथ बसेका व्यक्ति थिए। गाउँका सबै मान्छे उनी संग डराउँथे। कसैले उनलाई औंला उठाउने र सिधा आँखाले हेर्ने सम्म आँट गर्दैनथे। उनले स्थानीय निर्वाचनमा गाउँमा वडा अध्यक्षमा पनि जितेका थिए। उसको प्रश्न सुनेर उनले भने- हेर भाइ- न्याय भनेको त बन्दुकको नालले मात्र पत्ता लगाउन सक्छ कहाँ छ भनेर, नत्र त्यो बाहिर आउँदैन। शान्त तरिकाले न्याय भेटिने’ भए हामीले किन दश बर्ष जनयुध्द गर्नु पर्थ्यो, किन हजारौं जनता शहिद हुनु पर्थ्यो? अहिले हामी जनताको ध्यान मोड्न रणनैतिक रुपमा चुनाबमा गएका छौँ तर अन्तमा बन्दुकले नै हामीले न्यायलाई खोजेर ल्याउने छौँ। तिमीले सच्चा न्याय भेटाउन अझै केहि बर्ष पर्खनु पर्छ, तर मलाइ बिश्वास छ एक दिन न्याय अबश्य भेटिने छ।‘
भण्डारी दाइको उक्त बन्दुकको कुराले उसलाई अलि अलि डर पनि लाग्यो तर एउटा कुरा उसले के पत्ता लगायो भने उनीहरु पनि त्यहि न्याय कै खोजीमा रहेछन तर अहिले पाइदैन भनेर चुप लागेर बसेका रहेछन। त्यसले उसलाई अलि सतर्क बनायो, किनभने जसरि पनि उसले न्यायलाई उनीहरु भन्दा पहिले भेट्टाउनु पर्थ्यो।
अब कसलाई सोध्ने होला भनेर भौतारिएर हिंड्दै गर्दा उसले किताबमा ‘न्याय नपाए गोर्खा जानु खोज्न’ भन्ने पढेको कुरा सम्झ्यो। गोर्खामा त कसो नभेटिएला भनेर अर्को दिन बिहानै कसैलाई केहि नभनी सुटुक्क गोर्खा पुग्यो। उ गोर्खा सदरमुकाममा पुग्दा त्यहाँ एउटा राजनैतिक दलको आमसभा भैरहेको थियो। त्यो सभामा एकजना पातला जुँगा पालेका ख्याउटे नेताले भाषण ठोक्दै थिए। ती नेतालाई उसले धेरै पटक टिभीमा पनि देखेको थियो। उनी भन्दै थिए- ‘……..बन्दुकको नालबाट न्याय खोज्छौ भनेर हिंडेका हामी यहाँसम्म त आइ पुग्यौ तर सच्चा न्याय अझैं भेटिएन। हामीले अहिले मात्र थाहा पायौं की न्यायलाई त बन्दुकको गोली लागेको रहेछ, उ बन्दुकको गोलीले घायल भएर छटपटाइ रहेको रहेछ। हामीले पछि मात्र बुझ्यौं न्याय त शान्ति भएको ठाउमा हुने रहेछ। तर खुशीको कुरा- हाम्रो बन्दुकले घाइते भएको न्याय अब बिस्तारै होशमा आएर आँखा खोल्ने तरखर गर्दै छ। अब हामी अब न्याय पाउन धेरै नजिक पुगिसकेका छौ। हामीलाई बिश्वाश छ देश बिकास भए पछि पक्कै पनि सबैले न्याय को प्रत्याभूति गर्न पाउने छन्। आउनोस् हामीले न्याय खोज्न को लागि थालेको यो नयाँ अभियानमा सरिक हुनुहोस र हामी तपाईलाई पक्कै पनि न्यायसंग भेट गराउने छौँ।……’
उसले सोंच्यो – ‘अब कहिले बिकास हुने? कहिले न्याय भेटिने? आफुलाई कति हतार छ।‘
अरुहरुले भन्दा जसरि भएपनि छिटो भेटाउनु छ। तर ती बुद्धिजीवी नेतालाई एकपटक भेटेरै न्यायको बारेमा सोध्नु प-यो भनेर उ उनीहरुको सभा सकिए पछि उनलाई भेट्न गयो र सोध्यो- ‘न्याय अहिले कहाँ छ?’ भनेर।
ती ख्याउटे बुद्धिजीवीले उँधो मुन्टो लगाउंदै भन्न थाले- ‘हेर्नुस भाइ न्याय अहिले पैसा, शक्ति र पहुँचवालाको घरमा छ। गरिब दुखिहरुले त उसलाई टाढाबाट पनि देख्न पाउंदैनन। तर ती पैसावाला र पहुँचवालाको घरबाट उसलाई निकालेर सबै जनताले देख्न सकिने गरि न्यायलाई पारदर्शी बनाउने जिम्मा हाम्रो पार्टीले लिएको छ। आउनुस तपाइँ पनि यो महान कार्यमा सम्मिलित हुनुस।‘
उनी ख्याउटे बुद्धिजीवीबाट एउटा गाँठी कुरा चाहिँ उसले पत्ता लगायो –न्याय पैसा र पहुँचवाला संग छ भनेर। अनि थोरै भए पनि सन्तुष्टि लिएर उ गोर्खाबाट घर फर्क्यो।
अर्को दिन स्कुलमा शिक्षकले ‘हिंजो कहाँ गएको?’ भनेर सोधे। उसले झुठ बोल्न उचित मानेन र सोझै उत्तर दियो- ‘गोर्खा गएको थिएं।‘
‘किन?’
‘न्यायलाई खोज्न।’
‘के रे? न्यायलाई खोज्न रे? किन गोर्खा जानु प-यो त?’
‘न्याय नपाए गोर्खा जानु खोज्न भनेर पढेको थिएं, त्यहि भएर।’
कक्षाका सबै बिद्यार्थी गलल हाँसे।
शिक्षक पनि हास्दै व्यङ्ग्य पारामा भने- ‘मुर्ख केटो, आजभोलि पनि न्याय खोज्न गोर्खा जानु पर्छ? न्याय खोज्न त न्यायाधिसको घर जानु पर्छ। आजभोलि त अदालतबाट न्यायधीशहरुले न्यायलाई घरमा लगेर राख्ने गरेका छन।’
उसले प्रतिप्रश्न गरेन। शिक्षकले आफ्नो पाठ शुरु गरे।
साँझ स्कुलबाट फर्केर उसले बालाई सुटुक्क सोध्यो- ‘बा न्यायधीश भनेको के हो?’
‘न्याय दिने मान्छे, किन चाहियो?’
‘त्यसै। आज स्कुलमा त्यहि पढाएको थियो, त्यसैले सोधेको। उनी कहाँ बस्छन?’
‘खै , अदालतमा काम गर्छन के र। बस्न चाहिँ कहाँ बस्छन? सरकारले घर दिन्छ होला नी।’
अर्को दिन बिहानै अदालत जाने सोंच बनाएर उ ओछ्यान मा पल्ट्यो।
मनभरी न्यायलाई भेटेर १० करोड झ्वाम्म पार्ने कुरा उसको दिमागमा चली रह्यो। कति बेला भुसुक्क निदाएछ थाहै पाएन।
अर्को दिन स्कुल जाने बाटो बाटै उ अदालत कार्यालयमा गयो कसैलाई थाहा नदिई। त्यहाँ उसकै फुपुको गाउँका खड्का थरका काकाले पियनको जागिर गर्थे। गएर उसले खड्का काका लाई हातमा घपक्क ढोग्यो।
‘कताबाट आयौ कान्छा अदालतमा?’ भनेर काकाले सोध्न नपाउंदै उसले स्कुलमा न्यायधीशको बारेमा लेख्नु पर्ने भएकोले न्यायधीश कस्ता हुँदा रहेछन भनेर भेट्न आएको भन्यो र उनलाई जसरि भए पनि न्यायधीशलाई भेट गराइदिन आग्रह ग-यो।
खड्का काकाले कोशिस गर्ने बताए पछि अदालतको बिदा नहुँदा सम्म उ त्यहि पर्खेर बस्यो।
न्यायधीश कार्यालयको समय सकेर घरतिर लागे पछि उ पनि खड्का काकासंगै त्यता तिर लाग्यो।
डराई डराई काकाले न्यायधीशलाई स्कुले केटोले आफ्नो निबन्धको बारेमा लेख्नको लागि उनलाई भेट्न चाहेको कुरा सुनायो।
उसले सोंचेको भन्दा फरक न्यायाधिसले कुनै अनकन नगरी स्वीकारोक्ति दिए।
न्यायधीश र उसलाई न्यायधीशको घर पु-याएर खड्का काका फर्किए।
न्यायधीशले उसलाई बैठक कोठामा बस्न भनी आफु भित्र गए।
उसले बैठक कोठामा चारैतिर नियाल्यो- सायद कतै भेटिइ पो हाल्छ की भनेर तर कतै केहि सुइँको देखेन।
हातमुख धोएर न्यायधीश फर्केर बैठक कोठामा आएर भने- ‘ल भन भाइ के को बारेमा बुझ्न चाहन्छौ आफ्नो स्कुलको निबन्ध को लागि?‘
उसले केहि कुरा नलुकाई सोझै भन्यो- ‘न्याय कहाँ पाइन्छ?’
‘ओ हो यति सानो विद्यार्थीले निकै गहन प्रश्न सोध्यौ त। हुन त म न्यायधीश हुँ तर बास्तवमा भन्नु पर्दा मलाइ पनि थाहा छैन न्याय कहाँ पाइन्छ भनेर। पहिले त अदालतमा पाइन्थ्यो, तर ती दिन कहाँ रहे र ? न्यायधीश, वकिल, गवाह सबै किनिन्छन आजभोलि। हामी एउटा फैसला गर्छौं, पैसा र शक्तिको भरमा हामी भन्दा माथिको अदालतले फैसला उल्ट्याई दिन्छ। पैसा छ न्याय छ , पैसा छैन न्याय छैन। अब आफै भन न्याय खोज्न कहाँ जानु पर्ला?’
‘मैले हजुरको कुरा बुझेन सर, कहाँ जानु पर्ला?’
‘कहाँ नि, काठमाडौँ जाउ। प्रधानमन्त्रि कहाँ जाउ, प्रधान न्यायधीश कहाँ जाउ, राजनीतिक दलका नेताहरु कहाँ जाउ। सायद भेटिहाल्छौ की?’
उ केहि नबोली न्यायधीशलाई हेरी रह्यो।
‘अरु केहि सोध्नु छ?’
‘छैन सर।’
उ हिड्नको लागि उठ्यो।
न्यायधीश पनि हास्दै उठे अनि गुनगुनाउदै भित्र लागे- ‘आजभोलिका बच्चाहरु यति सानै उमेरमा नै यस्ता यस्ता गहन बिषयमा खोज गर्ने भैसके। संसार कहाँ पुगिसक्यो हेर्दा हेर्दै।‘
साँझ अलि अबेर घर पुगेर फेरि बालाई उसले सोध्यो- ‘बा, प्रधानन्यायधीश भनेको के हो?’
‘हैन के भा छ आजभोलि एस्लाई? कहिले न्यायधीश सोध्छ, कहिले प्रधानन्यायधीश। वकिल हुन लाग्यो की के हो?’
‘हैन के, स्कुलमा आजभोलि त्यसैको बारेमा पढाइ भैराछ।’
‘के हुनु नि सबभन्दा ठुलो न्यायधीश- प्रधानन्यायधीश’
‘कहाँ बस्छन?’
‘काठमाडौँमा’
‘के नाम हो?’
‘कति कुरा चाहिएको एस्लाई? नाम त थाहा छैन। तर तेरी आमाको साथीको बहिनि का दुलाहा छन् के र आज भोलि। जा आमालाई सोध।’
आमाको साथीको बहिनीको दुलाहा। अर्थात घिरौली अन्टीको दुलाहा। घिरौली अन्टीसंग त उसको राम्रो चिनजान छ। दशैंमा मामाघर जाँदा प्राय: सबै दशैंमा उनी संग भेट हुन्थ्यो। शरीर पातलो भएकोले सबैले जिस्काएर उनको नामै घिरौली राखिदिएका थिए। उनको बिहे नहुँदा सम्म त उनले उसलाई कति माया गरेर खेलाउने गर्थिन। दुइ बर्ष अगाडी दशैंमा उसलाई टिका लगाएर पैसा पनि दिएकी थिइन।
के खोज्छस काना आँखो। उ मनमनै मुस्कुरायो।
आमासंग उनको ठेगाना र फोन नम्बर लिएर उ अर्को दिन बिहानै काठमाडौँ तिर लाग्यो।
काठमाडौँमा उत्रे पछि घिरौली अन्टीको घर पत्ता लगाउन उसलाई धेरै बेर लागेन।
बसको यात्राले थाकेको उ आँखा मिच्दै घिरौली अन्टीको घर पुग्यो। पहिले त बाहिर बसेको पालेले उसलाई भित्र पस्न दिएन तर पछि अन्टीसंग फोन गरेर उसले पालेलाई आफ्नो शक्ति देखाइदियो।
अन्टी ढोकामा उभिएर उसलाई पर्खिरहेकी थिईन।
उसले ‘दर्शन अन्टी’ भन्दै उनलाई हातमा ढोग्यो।
‘हेर त यो त कत्रो ठुलो भैसकेछ, चिन्नै गाह्रो। जुँगा को रेखी पनि बसेछ।’ भन्दै उनले उसको गाला निमोठिन।
उ मुसुक्क हाँस्यो, केहि बोलेन।
‘आ भित्रै आइज’ भन्दै उनले उसलाई भित्र लगिन।
‘बैठकमा अंकल खै को संग मिटिंगमा हुनुहुन्छ , आ भित्रै कोठामा आइज।’ उनले उसलाई आफ्नै कोठामा लगेर सोफामा बस्न भनिन।
‘बस्दै गर म चिया लिएर आउँछु।’
निकै ठुलो र राम्ररी सजिएको उक्त कोठामा राखिएको छालाको लामो सोफामा उ थचक्क बस्यो।
उसले चारैतिर नजर घुमायो र त्यहाँको सजावटबाट निकै प्रभावित भयो। कस्तो राम्रो घर। उसले फिल्ममा मात्रै त्यति ठुलो र त्यति राम्रो कोठा देखेको थियो। यत्रो घरमा बस्ने घिरौली अन्टी चाहिं कति मिजासिली ? उसले सुनेको थियो धनी मान्छेहरुले गरिब र गाउँलेहरुलाई पाखे भनेर हेप्छन रे तर घिरौली अन्टी यति ठुलो मान्छे भएर पनि कत्ति पनि मात चढेको रहेनछ। त्यही बेला कोठाको एउटा कुनाबाट उसले कोहि चिच्याएको मधुरो आबाज सुन्यो- कसैले निस्शाशिएको बोलीमा ‘मलाइ बचाउ, यहाँबाट निकाल’ भन्दै थियो।
अन्टीको चिया बोकेर आफै भित्र आइन। ‘ल कान्छा चिया खा’ चियाको कप टेबलमा राख्दै उनले भनिन।
‘अनि के काम ले आइस त? घरतिर काका काकी सबै सन्चै हुनुहुन्छ?’
‘हजुर सबै ठिकै हुनुहुन्छ। अंकललाई भेट्ने सानो काम थियो, त्यहि भएर आएको हुँ’।
‘अहिले त मिटिंगमा हुनुहुन्छ। त्यस्तो के काम हो र ? मुद्द्दा मामिला को कुरो हो की अरु केहि हो?’
‘हैन त्यस्तो केहि हैन, अहिले अंकल आए पछि थाहा पाईहाल्नुहुन्छ नि।’
‘तलाई फटाहा , म संग कुरा लुकाउन खोज्छ। ल तँ एकछिन बस्दै गर। म एकै छिन भान्छामा जान्छु, अंकलले भान्छेले पकाएको त्यति मिठो मान्नुहुन्न, घरमा हुँदा मैले नै पकाइदिनु पर्छ।’ उनले उसको टाउको मुसार्दै कोठाबाट निस्किइन।
उ चिया पिउंदै यताउता नियाल्दै थियो। पहिले सुनेको उक्त आवाज अझैं लगातार आइरहेको थियो। उसले उक्त आवाजलाई बेवास्ता गर्न खोज्यो तर सकेन।
त्येसैबिच प्रधानन्यायधीश ‘हेर त यसलाई भित्र राख त’ भन्दै हातमा चार पाँच बटा पैसाको मुठा लिएर भित्र पसे। अपरिचित मान्छेलाई कोठामा देखेर उनी झस्किए।
उसले ‘दर्शन अंकल’ भनेर सामिप्यता देखाउन खोज्यो। उनले कुनै उत्तर फर्काएनन, अनि भान्छा तिर पस्दै श्रीमतीसंग झोक्किदै भने – ‘हैन जो पायो त्यहि लाई किन कोठामा ल्याएको?’
‘लुइंटेल काका को नाति हो के, छोरीको छोरो। बैठकमा हजुरको मिटिंग थियो, अनि कहाँ लग्नु त् ? उनले अझं झोक्किदै भनिन।
‘ल ल भैगो, ल यो लगेर राख’ प्रधानन्यायधीश ले हातको पैसाको मुठो उनलाई दिदै भने।
पैसाको मुठो ल्याएर उनी कोठामा पसिन। उ चियाको कप समातेर अलि अप्ठ्यारो मान्दै उभिएर के गर्ने के गर्ने भनेर असमन्जस्य स्थितिमा थियो।
‘किन उभिईराखेको बस न कान्छा, अंकल अहिले आउनुहुन्छ।’ उनले कोठाको कुनामा सजाएर राखेको ठुलो सेफ खोल्दै भनिन।
उ फेरि सोफामा बस्यो। उसले पहिले सुनेको आवाज अझ ठुलो भयो। उसलाई प्रस्टै भयो की उक्त आवाज त्यो सेफ भित्रबाट आइरहेको थियो। अन्टीले सेफ खोल्दा त्यहाँ भएका पैसा र अन्य गरगहना देखेर उसका आँखा तिर्मिराए। अचानक उसको होश उडे जस्तो भयो। उ अर्ध चेत जस्तो भएर हेरको हे-यै भयो। त्यहि अर्ध-चेतन अबस्थामा उसले त्यो सेफ भित्र स्पस्ट एउटा आकृति देख्यो। कसैले उसलाई भन्नु परेन की त्यो आकृति ‘न्याय’ थियो जो निशाशिदै ‘मलाइ बचाउ, यहाँ बाट मलाइ निकाल’ भन्दै कराउंदै थियो। उ कराउँदा कराउंदै अन्टीले पैसाको मुठा सेफ माथि खन्याइन, पहिल्यै देखि निशाशिएको ‘न्याय’ त्यहि पैसामा पुरियो। उ सकी नसकी टाउको उठाउन खोज्दै थियो। अन्टीले ढ्याम्म सेफको ढोका लगाइन र ताल्चा मारिन। ढोका लगाएको आवाजले उ पनि होशमा आयो र सोफाबाट उठ्दै भन्यो- ‘अन्टी, अंकल आज अलि व्यस्त हुनुहुँदो रहेछ, म आज जान्छु, पछि आउंछु।’
‘हैन के भो यसलाई? खाना खाएर जालास? अंकलको बानि त्यस्तै हो, बस एक छिन्, म पठाइदिन्छु तुरुन्तै।’
‘हैन अन्टी त्यस्तो केहि हैन, म पछि आउंछु नि’ त्यति भन्दै उ बाहिर निस्क्यो।
बाहिर निस्केर उ मुसुक्क मुस्कुरायो। न्यायलाई भेट्टाएर उसको खुशीको सिमा थिएन। उसले मनमनै दश करोड कसरी खर्च गर्ने भनेर योजना बनाउन थाल्यो।

2 comments to कथा : न्याय हराएको सूचना

  • Kamal

    A very good work. Congratulations. Keep it up

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Vicky Dev

    राजु जी,
    हामी बिचमा लुकेको / हराएको “न्याय” सार्है मार्मिक तर व्यंग्यत्मक पाराले पस्किनुभएकोमा धेरै धेरै धन्येबाद | म त कथा को पात्र “उ” संगै कथा म बग्दै गएछु, अन्तिम मा “उ” जस्तै म पनि मुसुक्क हांसेछु…रसिलो आँखा सहित.
    एस्तै अरु लेख को आशा राख्छु तपाई बाट..

    विक्की देव

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)