यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

गाँजा प्रतिबन्ध, सदरमुकाम परिवर्तन र क्रिश्चियन गतिविधि : अमेरिकी प्रतिवेदनले देखाएका माओवादी विद्रोह सुरु हुनुका तीन कारण


२३ वर्षअघि आजकै दिन रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी माओवादीले सशस्त्र युद्ध सुरु गरेको थियो। २०५२ सालपछि झन भन्दा झन् सोचेभन्दा छिटो देशभर माओवादी फैलिएपछि यसको मूल जड पत्ता लगाउन अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी संस्था युएस एडले आफ्नो खर्चमा रबर्ट गेर्सोनीलाई कन्सलट्यान्ट बनाउँदै एउटा अध्ययन गर्न लगाएको थियो। ‘सोइङ द विन्ड : हिस्ट्री एन्ड डायनामिक्स अफ दि माओइस्ट रिभोल्ट इन नेपाल्स राप्ती हिल्स’ शीर्षकमा २००३ मा प्रकाशित प्रतिवेदनमा माओवादी जनयुद्धको उद्‍गम स्थलमा विद्रोह सुरु हुनुका विभिन्न कारण पहिल्याइएको छ। त्यसैमध्येका तीन कारण : गाँजा प्रतिबन्ध, सदरमुकाम परिवर्तन र क्रिश्चियन गतिविधि

१) गाँजा प्रतिबन्ध

४० वर्षअघि रोल्पा र रुकुम पश्चिमी पहाडका सम्पन्न जिल्ला थिए। यी ठाउँबाट उत्पादन हुने गुणस्तरीय गाँजाका कारण कमाइने पैसाले उनीहरु नून, तेल, लुगाफाटा, चाँदीको सिक्का भएका नेकलेस, सुनका गहना किन्थे। उत्तरी रुकुम, उत्तरी रोल्पा र पूर्वी सल्यान र सुर्खेतका केही भागका जंगलमा समेत गाँजा उम्रन्थे। त्यतिबेला गाँजा गैरकानुनी पनि थिएन। त्यहाँका बासिन्दाको आयको मूल स्रोत नै गाँजा थियो। तर सन् १९७६ मा सरकारले लागू पदार्थ सम्बन्धी ऐन ल्याएर गाँजाको उत्पादन, बिक्री वितरणमाथि प्रतिबन्ध लगायो। प्रहरीले प्रतिबन्धलाई कडाइका साथ लागू पनि गर्‍यो। भारतीय सीमामा गएर नून वा तेलमा गाँजा साट्न गएका सामान्य किसानहरु समेत समातिए। गाँजा रोपिएका खेतहरुलाई जंगल भन्दै सरकारी जग्गा बनाइयो।

यो स्थानका बासिन्दाहरुलाई गाँजा प्रतिबन्ध टाढाको काठमाडौँ सरकारले लादेको एउटा त्यस्तो नियम थियो जसले उनीहरुको जनजीवनलाई प्रत्यक्ष असर पार्‍यो। गाँजामा प्रतिबन्ध लगाएपछिका वर्षहरुमा (सन् १९७६ देखि १९८० सम्ममा) उनीहरु गरिबीको चक्रमा पिल्सिए। बाँच्नकै लागि समेत छिमेकीहरुसित खाना बाँड्नु पर्ने स्थिति आयो। महिलाहरुले आफ्नो गहना धितो राख्नुपर्‍यो। र, परिवारलाई पाल्न केटाहरु गाउँ छाडेर काम खोज्न हिँड्नु पर्‍यो। गाँजामा प्रतिबन्ध लगाएर सरकारले आफ्ना लालाबालाको मुखबाट गाँस खोसेको उनीहरुले महसूस गरे।

स्थानीय नेताहरुले दरबारमा बिन्ति चढाए, लौ न सरकार केही राहत वा वैकल्पिक विकासको व्यवस्था गरिबक्सनु पर्‍यो। तर सुनुवाई भएन। राजा वीरेन्द्र सन् १९८३ र १९८८ मा हेलिकप्टरमा तकसेरा आएर यो ठाउँलाई राष्ट्रिय विकासको प्राथमिकतामा राख्ने घोषणा त गरे। तर कागजमा मात्रै।

गाँजा प्रतिबन्धले यहाँका बासिन्दामा सरकारविरुद्ध तीतो छाप छोडेको थियो। माओवादी सुरुमा फैलिएका ठाउँहरु गाँजा धेरै उत्पादन हुने ठाउँहरुमा पर्छन्।

२) सदरमुकाम परिवर्तन

पूर्वी रुकुम सन् ७० को दशकभन्दा अघि बाग्लुङ जिल्लासँग जोडिएको थियो, जसको सदरमुकाम ७५ देखि ९० किलोमिटर टाढा थियो। पूर्वी रुकुमका नेताहरुले आफ्नो क्षेत्र रुकुम जिल्लासँग जोडिनु पर्नेमा जोड दिँदै आएका थिए। रुकुमको क्षेत्रीहरुको बाहुल्य रहेको सदरमुकाम रुकुमकोट त्यहाँबाट नजिकै पर्थ्यो। बाग्लुङ र पश्चिमी रुकुमका बासिन्दाहरुले भन्दा यहाँका बासिन्दाहरुले उनीहरुसित राम्रै व्यवहार पनि गर्थे। प्रशासनिक कामहरु रुकुमकोटबाटै भए उनीहरुलाई सजिलो पर्थ्यो। ७० को दशकको सुरुतिर दरबारले हालको पूर्वी रुकुमका जिल्लाहरुलाई रुकुम जिल्लामा गाभ्ने निर्णय गर्‍यो। उनीहरुको सदरमुकाम रुकुमकोट भयो।

तर पूर्वी रुकुमका मगरहरुले यो खुसियाली धेरै मनाउन पाएनन्। अधिराजकुमारी शारदाको बिहे भएको कुमार खड्ग विक्रम शाहको ठाउँ मुसिकोट र राजा महेन्द्रसँग राम्रो सम्बन्ध भएका ध्रुवविक्रम शाह र उनका छोरा सैनिक जनरल विवेक शाहको गाउँ बाफ्लिकोटको शक्तिको प्रभावले पश्चिमी रुकुमले दरबारलाई रिझाउन सफल भयो। र, सदरमुकाम रुकुमकोटबाट मुसिकोट सारियो। राजपत्रमा सन् १९७३ को अप्रिलमा यो सूचना छापिएपछि अञ्चलाधीश लक्ष्मीराज भक्तले रुकुमकोटबाट सरकारी फर्निचर र फाइल नयाँ सदरमुकाममा सार्न आदेश दिए। प्रहरी मुसिकोटका बासिन्दाहरुसहित गएर सामान सारे। यसक्रममा सानोतिनो झडप भयो।

पूर्वी रुकुमका बासिन्दाहरु यसबाट साह्रै आक्रोशित भए। त्यहाँका युवाले घर घर गएर हामीहरुको भविष्य सदरमुकाम रुकुमकोटमा फर्काउनुमा छ, त्यसैले विरोध प्रदर्शनका लागि प्रत्येक घरबाट कम्तिमा एक जना उपस्थित हुनुपर्ने उर्दी जारी गरे।

अप्रिल १३, १९७३ का दिन १० हजारभन्दा बढी संख्यामा प्रदर्शनकारीहरु मुसिकोटतिर लम्किए। उनीहरुसँग ६० वटा बन्दूक, ५० वटा खुकुरी थिए। लाठी त कति हो कति। मुसिकोटमा कर्फ्यु लगाइएको थियो। तर भिडले त्यसलाई वास्ता गरेन। सब इन्सपेक्टर नरबहादुर खड्काले हवाई फायर गरे, तर भिडले टेरेन। प्रहरी र स्थानीय बासिन्दाले गोली चलाए। रुकुमकोटका २३ वर्षीय एक क्षेत्री त्यहीँ मारिए। एक मगर महिला घाइते भइन्। पछि उनको पनि मृत्यु भयो। एक जना सन्यासी पुरुष र अर्का क्षेत्री पुरुष घाइते भए। अग्लो डाँडामा बसेका प्रहरी र मुसिकोटका बासिन्दाहरुले ढुंगामुढा गरेपछि भिड तितरबितर भयो।

सरकारले यो विरोध जुलुसका आयोजकमध्येका नौ जनालाई गिरफ्तार गर्न वारेन्ट जारी गर्‍यो। यो घटनाको एक वर्ष पुगेको दिन रुकुमकोटका युवकहरुले राजतन्त्रविरोधी पम्पलेट टाँसे। उनीहरुविरुद्ध पनि वारेन्ट जारी भयो। सरकारले कसैलाई पनि पक्रन सकेन। उनीहरु या त भूमिगत भए या भागेर भारत पुगे जहाँ उनीहरुले कम्युनिस्ट पार्टीका कार्यकर्तालाई भेटे। सन् १९७४ को कम्युनिस्ट पार्टीको चौथो महाधिवेशनले पनि रुकुमको सदरमुकामको आन्दोलनलाई सम्बोधन गरेको छ।

माओवादी सशस्त्र युद्ध सुरु भइसकेपछि पनि पूर्वी रुकुममा माओवादीको दबदबा रह्यो भने पश्चिमी रुकुममा माओवादीविरोधीहरुको।

३) क्रिश्चियन गतिविधि

पूर्वी रुकुमको एउटा केन्द्र थियो तकसेरा। विक्रम संवत् २०२५ सालमा नेपाल सरकारको अनुमति लिएर त्रिभुवन विश्वविद्यालयमार्फत् समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्स (सिल) ले नेपालका भाषा र भाषिकाहरुको वर्गीकरण गर्ने सम्झौतामा हस्ताक्षर भयो। भाषाको आवरण दिए पनि यो संस्था आदिवासी भाषाहरुमा बाइबललाई अनुवाद गर्ने एउटा मिसनरी संस्था थियो। सिलका परियोजना निर्देशक डा. डेभिड वाटर्स मुस्ताङको जोमसोम हुँदै तकसेरा र पूर्वी रुकुमका अन्य गाविसहरुमा पुगे। त्यहाँ उनले खाम मगर भाषाको अध्ययन मात्रै गरेनन्, उनी र उनको परिवार त्यहीँ घर बनाएरै बस्न थाले।

डा. वाटर्सले बाइबललाई खाम भाषामा अनुवाद गरे। यसैबीच सरकारसँग सम्झौताको अवधि सकियो र वाटर्स परिवारले तकसेरा छाडे। उनले गाउँ छाडे पनि खाम मगर बोल्ने केही स्थानीय बासिन्दाले हरेक साँझ त्यहाँ मैनबत्ती बालेर उनीद्वारा अनुवादित बाइबलका पंक्तिहरु गाउँथे। प्रतिवेदनका अनुसार, चार वर्षपछि केही सयको संख्यामा स्थानीय बासिन्दाहरु क्रिस्चियन भइसकेका थिए जुन तकसेराको कूल जनसंख्याको सानो प्रतिशतमात्रै थियो।

जिल्लाको नयाँ सदरमुकाम मुसिकोट (यसअघि रुकुमकोट थियो) मा यो खबर पुग्यो। विश्वको एकमात्र हिन्दु अधिराज्यमा धर्म परिवर्तन गैरकानुनी थियो। पूर्वी रुकुमका मगरहरुमा धर्म परिवर्तन व्यापक रहेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीले अनुसन्धानका लागि प्रहरी पठाए।

स्थानीय क्रिश्चियन नेताहरुलाई पक्राउ गर्ने आदेश दिइयो। नौ जनाले आफूले क्रिश्चियन धर्म परिवर्तन गरेको स्वीकार गरे र उनीहरुलाई एक वर्षको सजाय दिइयो। अरुलाई धर्म परिवर्तन गर्न लगाएको आरोपबाट भने उनीहरुले सफाइ पाए। सपछि पनि धेरै क्रिश्चियनहरुलाई सताउने र पक्राउ गर्ने काम भयो। पूर्वी रुकुमका गैर क्रिश्चियनहरुसमेत यसबाट आक्रोशित भए।

जेलमा रहेका नौ क्रिश्चियन नेताहरुमध्ये संगीतमा अब्बल एक जनाले क्रिश्चियन गीतहरु खाम भाषामा रचेर गुपचुप तकसेरा पठाएको र त्यसबाट थप स्थानीय बासिन्दाहरु क्रिश्चियानिटीप्रति आकर्षित भएको प्रतिवेदनमा उल्लेख छ। पक्राउ परेका यी नौ जना क्रिश्चियन नेतामध्ये एक जना माओवादी भएको बताइएको त्यसमा उल्लेख छ।

०३९ सालतिर विदेशमा रहेका क्रिश्चियनहरुले तकसेरा जेलमा रहेका बन्दीहरुको बारेमा खबर पाएपछि उनीहरुको परिवारको लागि चन्दा संकलन गर्न थाले। यति धेरै रकम जम्मा भयो कि त्यहाँका क्रिश्चियनहरुले त्यो पैसा परिवारलाई मात्र नभई त्यो क्षेत्रकै पहिलो आर्थिक विकास योजनामा लगाउने निर्णय गरे। गाउँमा लामो समयसम्मको छलफल र अध्ययनपछि उनीहरुले नदीको पानीले चल्ने स्विट्जरल्यान्डमा बनेको मिल र एउटा सानो स-मिल किन्ने निर्णय गरे।

यो समुदायको पहिलो आर्थिक विकास परियोजनाले राम्रैसँग काम गर्‍यो। यो मिलले क्रिश्चियन र गैरक्रिश्चियन दुवै समुदायलाई सेवा दिन्थ्यो। मिल रहेको घर दुई तले थियो। माथिल्लो तल्लामा चर्चको मिटिङ हल थियो।

विक्रम संवत् २०४० सालमा एक क्षेत्रीय अधिकारीले तकसेरावासीलाई मिल बन्द गर्न पत्र लेख्यो। गाउँका मुखियाले पत्र लेख्दै बन्द गर्न अस्वीकार गरे। सरकारी अधिकारीले बन्द नगरे मिल भत्काइदिने चेतावनी दिए। गैरकानुनी रुपमा क्रिश्चियन भएकाहरुले आफ्नै पहलमा यस्तो परियोजना ल्याएर राजाको भूमिकालाई अवमूल्यन गरेको आरोप थियो। भत्काइदिने चेतावनी पाएपछि क्रिश्चियनहरुले थप जोखिम मोल्न चाहेनन् र मिल बन्द गरिदिए।

तर गैर क्रिश्चियनहरुले भने बन्द गर्न नहुनेमा जोड दिए। मिल बन्द गर्न प्रहरी गाउँको बाटो आउँदै गर्दा, प्रतिवेदनका अनुसार, गैर क्रिश्चियनहरुले, एम्बुस थापे। उनीहरुका हतियार खोसे, लुगा खोल्न लगाए, जुङ्गाका रौँ उखेले र कालो मोसो दली घाँटीमा डोरी बाँधेर तान्दै गाउँ डुलाए।

पछि सरकारसँगको यो द्वन्द्व मिल्यो र मिललाई सञ्चालन गर्न अनुमति दिइयो। यी घटनाले राज्यले पूर्वी रुकुमको विकासलाई बेवास्ता गरेको, हस्तक्षेप गरेको र हिंसात्मक विरोधले सफलता पाएको उदाहरणका रुपमा लिइने गरेको प्रतिवेदनमा उल्लेख छ।

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)