यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

संस्मरण : ममीलाई ढाँट्नुपर्ने मेरो बाध्यता

(आमाको मुख हेर्ने दिनको लागि यो पीडादायी संस्मरण माइसंसारका एक पाठकले पठाएका हुन्)

स्टेज ३ को क्यान्सर छ। तुरुन्तै किमो दिनु पर्छ.. डाक्टरको कुरा सुनेपछि म त छाङ्गाबाट खसे झैँ भएँ। कसरी भन्ने क्यान्सर लागेको छ भनेर?

ममीको पेट फुलेको थियो। डाक्टरले भिडियो एक्स रे हेरेपछि काठमाडौं जान सल्लाह दिएका थिए। त्यसको भोलिपल्ट जनैपुर्णेको दिन। आमा-छोरा काठमाडौंको बी एन्ड बी अस्पताल पुगेका थियौँ। तीन चार महिनाअघि ममीले मेरो पेटमा डल्लो छ भन्नुभएको थियो। के थाहा, त्यो नै रोगको सुरुवाती चरण रहेछ भनेर। हामीले नि त्यति वास्ता गरेनौँ।

ममी जे भए पनि आफ्नो जिम्मेवारीबाट पन्छिनु हु्न्नथियो। हजुरबा हजुरआमा सबैलाई ख्याल गर्ने। रिस उठे पनि जिम्मेवारीबाट नपन्छने, बरु मनको कुरा भनिदिने। कोही रिसाउँछन् कि भनेर मनमा राख्नु हुँदैन थियो। अझ म त झन् जेठो, सबैभन्दा बढी ममीसँग बसेको। मेरो लागि यो सबै असह्य थियो। कसरी भन्ने क्यान्सर छ भनेर? त्यो पनि स्टेज ३ को। रुन पनि आएन। के गर्ने म नै रोएर। को छ र अरु.. फेरि बेस्सरी मलाई नै विश्वास गर्ने। मसँग साँच्चै नै सब्द हरु थिएनन्।

बूढी माउ केही त भाको रहेनछ… त्यत्तिकै… बेलैमा नभनेर गाह्रो भयो। अब भोलिदेखि औषधी हुन्छ भनेर टारेँ। ट्युमर छ रे। काटेर फाले सन्चो हुन्छ। तर किमो चैँ दिनु पर्छ, त्यो पनि ट्युमरको आकार सानो बनाउन। योभन्दा मसँग शब्द थिएन। प्रश्न गर्नुभएको भए मसँग उत्तर थिएन। तर मैले बोलेको कुरामा विश्वास गर्नुहुन्थ्यो। प्रतिप्रश्न अाएन। त्यो विश्वास। रुन पनि मिल्दैन। के गर्ने। ढाँट्नु त थियो नै। त्यो पनि रोग निको नभइन्जेल। फेरि रोग निको हुँदैन थियो। शायद मसँग भएको विकल्प नै त्यति मात्रै।

किमो खर्चालु थियो। एक जनालाई त दु:ख भइसक्यो। फेरि अरु कति जनालाई दु:ख दिने। जति खर्च भए पनि म नै गरुम्ला भनेर मनमा आयो। भाइ पनि पढदै थियो। शायद मेरो जीवनको सबैभन्दा ठूलो निर्णय नै यही नै भयो। जस्तो अवस्थामा पनि आफै नै अघि बढ्ने विचार।।क्यान्सर छ भनेर धेरैलाई थाहा नै दिइनँ। तीन वर्ष जेन्तेन ममीले रोगसँग जित्नुभयो।

पछिल्लो छ महिना ममीलाई अलि गाह्रो थियो। तर पनि हिम्मत चैँ हार्नु भएको थिएन। साह्रै गल्नु भएको थियो। तर पनि क्यान्सर कन्ट्रोलमा नै थियो। गाह्रो गाह्रोमा नै दसैं सकियो। दसैं लगतै पेटको उपचार गर्न हस्पिटल गएका थियौँ। कहिलेकाहीँ रिसाउने मान्छे पनि, पछिल्लो हस्पिटलको बसाइमा धेरै खुशी देखिनु हुन्थ्यो। बिस्तारै बेहोसीमा पुग्नुभयो तर पनि अनुहार उज्यालो। जे भने पनि हाँसिरहने। तर अचानक तीन दिनपछि आइसीयुमा लानु पर्ने भयो। त्यस्को भोलिपल्ट बिहानै एक्कासी भेट्न गएकी बहिनी रुँदै आई.. म त बाहिर नै थिएँ। हतारिँदै भित्र जाँदा हातगोडा चिसो थियो। अनुहार उज्यालो। सङैको मिसिन टु टु टु गरेर एक धर्सो जस्तोमा आवाज निकाल्दै थियो। शायद यो नै अन्तिम दर्शन थियो। अनुहार मुसारेँ। हात सुम्सुमाएँ। खुट्टाहरु सुम्सुमाएँ। रुन मन लाग्यो। के भयो भयो। म नै नसम्हाले कस्ले सम्हाल्छ, मनमा यो भाव आयो। तीन वर्ष तीन महिनाको संघर्ष ममीले हार्नुभयो। अनुहारमा कुनै डरको चिन्ह थिएन। मात्र निन्द्रा कहिले नबिउँझने गरी। अनि “बाबु, के खाइस् त नभन्ने?” प्रश्न कहिले नसोध्ने गरी।

ममी बुहारी हुँदा होस्, चाहे भाउजु हुँदा होस्- अहिले सबैलाई प्यारी छिन्। सबैले महसुस गर्छन्, तर अहिले ममी छैनन्। यही कुरा ममी हुँदा भएको भए.. तर पनि कहिलेकाहीँ दिदीहरुसँग ठासठुस्स परे पनि ममी कसैलाई नराम्रो ब्यवहार गर्नु हुँदैन थियो, दिदीहरु पनि मनमा लिनु हुन्थेन। तर पनि अहिलेको झै प्यार बाँच्दा पनि भएको भए, अनि घर झगडा हुँदा पनि यो माया भएको भए कति रमाइलो हुन्थ्यो होला।

अहिले पनि बुहारी छिन्, नन्द देवरको लागि भाउजु छिन्। ममीले नपाउनु भएको माया, उसैलाई दिन सके कति राम्रो संस्कार बस्थ्यो होला। अनि बुहारीले पनि नन्द ससुरा अनि देवरलाई त्यस्तै माया दिए घर स्वर्ग जस्तै हुन्थ्यो होला।

खैर, अन्तिममा मेरो ममीको झैँ रोग व्यथा परिवारमा कसैले भोग्नु नपरोस्।

जे भए पनि अरुभन्दा बढी ममीसँग म बसेको छु। अझ ममीसँग, बासँग भन्दा बढी नौ महिना बसेको छु। त्यही भएर पनि मेरो मनमा ममीप्रति अगाध श्रद्धा छ।

आज आमाको मुख हेर्ने दिन फ्रिजमा चक्लेट रहेछ। ममीको फोटोको मुखमा सानो टुक्रा टासिदिएँ। ममीलाई गुलियो मन पर्दैन। पहिले पनि। बाँकी त ममीले मलाई नै दिने हो।

2 comments to संस्मरण : ममीलाई ढाँट्नुपर्ने मेरो बाध्यता

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)