यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : क्रान्तिका सूत्रधार

-राजु अधिकारी-

देशमा लोकतन्त्र दिवस धूमधामसँग मनाइँदै थियो। लोकतन्त्रको त्यो उत्सवमा सबैमा उल्लास थियो। तर उ भने निराश थियो। पत्रकारिता पेसामा लागेको पाँच वर्ष हुँदा पनि उसले त्यो पेसामा आफूलाई अझै राम्ररी उभ्याउन सकेको थिएन। बाहिरबाट देख्दा नाम, काम र दाम सबै देखिने त्यो पेसा भित्रबाट त्यति आकर्षक थिएन। त्यहाँ पनि सङ्घर्ष थियो, खुट्टा तानातान थियो, अनैतिकता थियो, भ्रष्टाचार थियो। उसले ती सबैबाट आफूलाई टाढा राखेर सच्चा पत्रकार बनेर देखाउन चाहन्थ्यो तर त्यो सङ्घर्षमा थाहै नपाई पाँच वर्ष बितिसकेछ, खासै कुनै उपलब्धि बिना। पत्रकारिता अब उसको रहर भन्दा बाध्यता भैसकेको थियो, छोड्न पनि सक्दैनथ्यो अनि प्रगति पनि गर्न सकेको थिएन।
धेरै दिनदेखि उसलाई एउटा सुन्दर बिचार दिमागमा आइरहेको थियो- उसले कुनै दिन कसैले नसोंचेको ठुलै समाचार दिनेछ र रातारात नाम र दाम दुवै कमाउनेछ, अनि काम त फालाफाल आइहाल्नेछन। उसलाई पनि थाहा थिएन त्यो दिन यथार्थमा आउला या नआउला तर उ त्यही दिनको प्रतीक्षामा थियो।

लोकतन्त्रको त्यो उत्सवमा सबै दलका नेताहरूले त्यसको श्रेय आफूलाई दिन चाहन्थे। पहिले क्रान्तिलाई दबाउन निमुखा जनता निर्ममतापूर्वक मार्ने शासकहरू पनि देशमा आएको सबै परिवर्तन उनीहरूकै योगदान हो भनेर घोक्रो फुलाएर भाषण ठोक्न अलिकति पनि लाज मान्दैनथे। तर जसले जे भने पनि सबैलाई प्रस्टै थाहा थियो क्रान्तिलाई सफल पर्ने सच्चा नेता को हो भनेर। तर ती नेता चुप थिए। उनले क्रान्ति सफल पार्ने म हुँ भनेर प्रचार गर्दै हिँडेका थिएनन। ‘हुने गम्किन्छ, नहुने चम्किन्छ’ भनेको सायद त्यही होला।

दश वर्षको जनक्रान्ति र लोकतन्त्र प्राप्ति पछि पनि वर्षौँदेखि देशको राजनीति तिनै क्रान्तिकारी नेताको वरिपरि घुमी रहेको थियो र अझै पनि केही वर्ष उनकै वरिपरि घुमिरहने छ भन्ने निश्चित जस्तै थियो। साम, दाम, दण्ड, भेद जे गरेर हुन्छ, आफ्ना एजेन्डाहरूलाई उनले सफल बनाएरै छोडेका थिए। शत्रुसँग मिलेको जस्तो गरेर होस या शत्रुलाई दर्साएर होस वा विदेशी सामु लम्पसार परेर होस या जनता सामु उनीहरूको दुख देखेर रोएको जस्तो नाटक गरेर होस उनले जसरी पनि आफूले गर्न चाहेको काम पुरा गरेरै छोडेका थिए।

अन्य दलले जति श्रेय खोजे पनि उनले नै राजतन्त्र हटाउने , देशलाई धर्म निरपेक्ष बनाउने, जबरजस्ती सङ्घीयता लाद्ने जस्ता दूरगामी असर पर्ने एजेन्डाहरूलाई पनि अन्य दलका नेता हरूलाई थाङ्नामा सुताएर सजिलै अनि हचुवा पारामा पास गराएका थिए।

कहिले जानीजानी सानातिना हार बेहोरेर भए पनि उनले आफ्नो एजेन्डालाई तिनै हारको माध्यम बनाएर पनि पुरा गर्थे। उनको चतुराइको अगाडी कसैको केही लाग्दैनथ्यो र उनको अर्को चाल के होला भनेर अनुमान पनि लगाउन सकिँदैनथ्यो।

यस्तो लाग्थ्यो, उनले सोंच्नु मात्र पर्छ सबै कुरा उनले पुरा गर्छन् नै।

ती क्रान्तिकारी नेताको मौनतामा उसले आफ्नो त्यो ‘ठुलो समाचार’ देख्यो। उसलाई थाहा थिएन उनी किन चुप थिए तर कसैगरी उनको मौनतामा लुकेको रहस्य उजागर गर्न सकियो भने ठुलै समाचार बन्नेछ भन्ने उसको अन्तरात्मालाई लाग्यो। त्यसैले निकै मेहेनत गरेर उनीसँग उसले अन्तर्वार्ताको लागि समय मिलायो।

अन्तरवार्तामा उसले ती नेता किन मौन छन् र किन क्रान्तिको श्रेय लिन अरूजस्तो लछार पछार गरिरहेका छैनन् भनेर ठाडै प्रश्न सोध्यो।

उनले पनि उसले सोंचे जस्तै सामान्य उत्तर दिए- क्रान्तिको एजेन्डा कसको थियो भन्ने कुरा जनतामाझ जगजाहेरै छ त्यसैले त्यसको श्रेयको लागि भिड्नु आवश्यक नै छैन।

तर त्यो उत्तर दिने क्रममा उनले एउटा गुह्य कुरा उनको मुखबाट निस्कियो, उनले भने- ‘अर्को कुरा क्रान्तिमा हामी देखिने गरी लागेयौं अन्य दल र नेताहरू नदेखिने गरी लाग्नु भयो। अझ भन्नु पर्दा ‘उहाँ’ त हाम्रो क्रान्तिको सफलताको कारक नै बन्नु भयो, सच्चा श्रेय त उहाँलाई जानु पर्छ। क्रान्तिको वास्तविक सूत्रधार उहाँ नै हो।’

उसलाई थाहा थियो, उनले भन्ने गरेको ‘उहाँ’ को थियो भनेर।

उनले भन्ने गरेको ‘उहाँ’ तिनै बयोबृद नेता थिए जसले देशको कार्यकारी प्रधानमन्त्रीको रूपमा धेरै पटक देशको बागडोर सम्हालेर देशमा पुन: शान्ति ल्याउनमा निकै ठुलो योगदान पु-याएका थिए। देशको कार्यदिशा नै फेरिने गरी देशमा कसैले नसोचेको परिवर्तन गराएका थिए। उनी क्रान्तिकारीहरू सँग मिलेर आफ्नो दलको मुख्य सिद्धान्तलाई पनि वास्ता नगर्दै मर्ने बेला सम्म पनि पदमा रहेर काम गर्दै निकै ठुलो त्याग अनि साहस गरेर देशलाई निकासको बाटो दिएका थिए।

त्यसैले देशमा मात्रै होइन, विदेशमा पनि उनको त्यतिकै मान सम्मान थियो। अनि उनको आफ्नो दलमा मात्रै होइन, अन्य दलहरूमा पनि त्यतिकै इज्जत हुन्थ्यो।

केही वर्ष अगाडि उनको देहान्त हुँदा उनको श्रद्धाञ्जलीको लागि उर्लेको भीडबाट पनि यही सिद्ध हुन्थ्यो की देश र जनता माझ उनी कति लोकप्रिय थिए र उनले देश र जनताको लागि गरेको त्याग र बलिदानको लागि जनता उनीप्रति कति कृतज्ञ थिए भनेर।

कुनै समय क्रान्तिकारी नेता र उनले भन्ने गरेका ‘उहाँ’ एक अर्काका लागि सबभन्दा ठुला शत्रु थिए। तर राजनीतिमा स्थायी शत्रु हुँदैन भने जस्तै केही वर्ष अगाडि सुरु भएको सहकार्यले गर्दा उनीहरू सबभन्दा असल मित्र भएका थिए। त्यसैले क्रान्तिकारी नेताले ती दिवङ्गत वृद्ध नेतालाई कहिलेकाहीँ आफ्नो अभिभावकको पनि भन्ने गर्थे। तर आज उनले त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा गरेका थिए- ती दिवङ्गत नेतालाई क्रान्तिका सूत्रधार को उपमा दिएर।
उसले सोंच्यो- यो भन्दा तुलो समाचार के हुन सक्छ र? सायद उसलाई प्रख्यात गराउन उसले पर्खिरहेको समाचार त्यही थियो। त्यसैले उसले त्यो कुरा खोतल्ने निधो ग-यो- क्रान्ति सुरु हुँदा क्रान्तिका मुख्य दुस्मन रहेका ती बृध्द नेता कसरी क्रान्तिको सच्चा सूत्रधार भए भनेर।

क्रान्तिकारी ती नेताले जुँगामा दाउ लगाएर टाउको हल्लाउदै त्यो कुरो सबैले बुझ्ने भाषामा प्रष्ट्याए- तपाईँलाई पनि थाहा हुनु पर्ने हो, उहाँ साँच्चिकै क्रान्तिकारी नै हुनुहुन्थ्यो। तपाईँ हामी सानै हुँदा त्यतिबेलाको समयमा पनि उंहाले निकै साहस गरेर जहाज अपहरण गर्ने जस्तो आँटिलो काम गर्नु भयो, त्यो क्रान्ति कै लागि थियो। देशमा पहिलो पटक प्रजातन्त्र प्राप्ति पछि आफ्नो दलको सिद्धान्त अनुसार उहाँ शान्तिपूर्ण राजनीतिमा आउनुभयो तर पनि उहाँको क्रान्ति प्रतिको लगाव हटेको थिएन, उहाँको शरीरमा क्रान्तिको रगत बगिरहेको थियो। त्यसैले आफू पुन: सत्तामा आए पछि क्रान्तिलाई सफल गराउन उहाँ प्रत्यक्ष र परोक्ष दुवै रूपमा लागि पर्नु भयो। कसैले देखिने गरी क्रान्ति गर्छन्, तर कसैले नदेखिने गरी पर्दा पछाडिबाट क्रान्ति गर्छन्। जस्तो नाटक मन्चन हुँदा देखिने पात्रहरू नाटकको मञ्चमा हुन्छन् तर नाटक को सूत्रधार पर्दा पछाडि हुन्छ। तर दर्शकहरूको लागि मुख्य पात्र मञ्चका कलाकारहरू भए पनि त्यो नाटकलाई सफल गराउन अहम् भूमिका तिनै सूत्रधारको हुन्छ। अर्थात् मञ्चमा देखिने पात्रहरू भन्दा नदेखिने सूत्रधारको भूमिका महत्त्वपूर्ण हुन्छ। त्यस्तै गरी उहाँले पनि देशमा क्रान्ति सफल बनाउन निकै ठुलो र सूत्रधार को भूमिका खेल्नु भएको छ। हामी त मञ्चमा देखिएका कलाकारहरू मात्र हौ, मुख्य सूत्रधार त उहाँ नै हुनुहुन्थ्यो।

‘कसरी?’

‘तपाइले सुन्दा उहाँले सधैँ भन्ने गरेको ‘ग्रान्ड डिजाइन’ जस्तो सुनिएला तर वास्तवमा कुरा के थियो भन्ने, उहाँले हाम्रा हरेक पाइलाहरूमा, हाम्रा हरेक एजेन्डाहरूमा जानी नजानी लगातार साथ दिँदै र सघाउदै आउनु भएको थियो। उहाँले मात्र होइन उहाँले चयन गरेका प्रतिनिधि पात्रहरूले पनि उहाँकै इच्छा अनुसार हामीलाई सधैँ साथ दिनु भयो।

देशमा दोस्रो पटक प्रजातन्त्र प्राप्ति पछि जनताले सोचेका थिए की अब प्रजातन्त्रको जगमा अडेर तुरुन्त देशले विकासको शिखर चुम्नेछ, सबै जनताहरू शिक्षित र सभ्य हुनेछन, शिक्षा र स्वास्थ्य सर्वसुलभ हुनेछ, देशमै रोजगारका बाटाहरू खुल्नेछन्, देशमा सामन्ती प्रथाको अन्त्य हुनेछ, देशमा सबैको लागि समान अधिकार प्राप्त हुनेछ, भ्रष्टाचार र कुशाशनको अन्त्य हुनेछ। तर विडम्बना- त्यसको ठ्याक्कै उल्टो भयो। प्रजातन्त्र आएको एक वर्ष पनि नहुँदै, उहाँले पार्टीमा नेतृत्वको लागि किचलो मच्चाउन सुरु गर्नु भयो, प्रजातन्त्रको लागि सँगै लडेका अन्य दलहरूलाई निम्नस्तरको र शत्रुको जस्तो व्यवहार गर्नु भयो। देशमा संविधान त बन्यो, जुन संविधान निकै राम्रो पनि थियो, तर त्यसको कार्यान्वयन गर्ने हेतुले जब चुनाव भयो, उहाँले आफ्नै पार्टीका नेतालाई अन्तर्घात गरेर हराउनु भयो र आफू सत्तामा पुग्न सफल हुनु भयो।

उहाँ सत्तामा पुग्न साथ उहाँका नातापाताले सत्तामा हाली मुहाली चलाए। कानुनको राज्य संविधानमा मात्रै सीमित रह्यो। अनेकन घोटालाहरू भए तर दोषीहरू कसैलाई सजाय भएन। भ्रष्टाचारले सीमा नाघ्यो, दण्डहिनता मौलायो। निजिकरणको नाममा देशका कलकारखाना र उध्योगहरुलाई घुइयाको भाउमा आफ्ना मान्छे लाई सुम्पियो। रोजगारीका अवसरहरू अन्त्य भए, केही भएका विदेशी कम्पनीहरू पनि देश छोडेर गए, देश पराधीनतामा फस्यो। जताकतै राजनीतिक हस्तक्षेप भयो। शिक्षा, स्वास्थ्य, सञ्चार, निजामती सेवा, प्रहरी प्रशासन जताततै।

अझ त्यो नाकामीपनको उत्कर्षमा पुग्दा न्यायालयमा पनि राजनीति घुसाएर आफ्नै दलको बहुमत प्राप्त सरकारलाई न्यायालयको मिलेमतोमा ढालेर, उहाँले जनताका सबै इच्छा र आकांक्षाहरु सँगै प्रजातन्त्रको जगलाई समेत कहिल्यै नउठ्ने गरी गर्ल्याम गुर्लुम पारेर ढालिदिनु भयो।

प्रजातन्त्रको जग ढलेको त्यो दिन देशको इतिहासमा र प्रजातन्त्रमा विश्वास गर्ने जनताको लागि कालो दिन थियो तर हामी भने निकै खुसी थियौँ किनभने हामीलाई हाम्रा एजेन्डा जनताको सामु लाने सुरुवात गर्ने सुनौलो अवसर थियो त्यो।

पहिल्यै देखि तयारीमा रहेको हाम्रो क्रान्तिको एजेन्डालाई त्यो दिन देखि हामीले गति दिन थाल्यौ। अनि केही वर्ष भित्रै हामीले आफ्नो वर्षौँ देखी को योजनालाई चरितार्थ पार्ने मौका देखेर क्रान्ति सुरु ग-यौं।

हाम्रो भाग्य भनौ अथवा उहाँकै सहयोग या नाकामीपन भनौ, उहाँ सत्तामा नहुँदा पनि उहाँले त्यतिबेलाको राजनीतिमा निकै दक्खल राख्नु हुन्थ्यो। उहाँको आशीर्वाद बिना कसैले पनि सत्तारोहणको बारेमा सोंच्न पनि सक्दैनथ्यो। त्यसैले आफूले सिधै बागडोर नसम्हाले पनि जहिले पनि सत्तामा उहाँले आफू जस्तै या आफू भन्दा पनि मूर्ख, स्वार्थी र लोभी खेलाडी पठाउनु हुन्थ्यो ता की सत्तामा उहाँकै हालीमुहाली चलिरहोस्। उहाँको या उहाँका मूर्ख खेलाडीहरूको स्वामित्वको सरकारको त्यही नाकामीपनको आडमा हाम्रो क्रान्ति निकै नै तीव्र रूपमा अगाडि बढ्यो।

जति जति देशमा अविकास, अन्योल अनि असमानता बढ्दै गयो, त्यति त्यति हाम्रा अजेण्डाहरु हाबी हुँदै गए। जति जति उहाँ र उहाँका सहयोगीहरू सत्तामा रहँदै गए, उति उति हाम्रा क्रन्तिहरुले गति लिँदै गए।
कहिले वार्ताको नाममा, कहिले उच्च पदस्त कर्मचारीलाई हत्या गरेर दर्साएर, कहिले युद्धबिरामको नाममा शक्ति सञ्चय गर्दै गरे हामीले आफ्ना एजेन्डाहरूलाई उत्पीडित र अशिक्षित जनताहरूसम्म पु-याउँदै गयौँ।

प्रजातन्त्रमा आफ्ना सपनाहरू गर्ल्याम गुर्लुम ढलेको देखेका निमुखा जनताले हाम्रा ललिपोप जस्ता एजेन्डाहरूलाई तुरुन्तै स्वीकारे।

तर हामीलाई पनि थाहा थियो, भूराजनीतिक कारणहरूले गर्दा हाम्रा साम्यवादी एजेन्डाहरू यो देशमा कहिल्यै सफल हुने छैनन् भनेर तर ती हाम्रा लागि जनताको आँखामा छारो हालेर माथि चढ्ने भ-याँङका खुड्किला मात्रै थिए जसले गर्दा हामी यहाँसम्म आइपुग्न सफल भएका छौँ।

देशमा नियोजित रूपमा घटाइएको दरबार हत्याकाण्ड र त्यो बेला सरकारले व्यवस्थित रूपमा सम्हाल्न नसकेको स्थितिले हाम्रो क्रान्तिलाई अझ टेवा पुग्यो। त्यति बेला उहाँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो र निकै लाजमर्दो तरिकाले दरबार हत्याकाण्डको छानबिन र जनताले विश्वास नै गर्न नसकिने प्रतिवेदन तयार गर्नु भयो।

जनताहरू पनि नयाँ राजालाई स्वीकार्ने पक्षमा नभएको र नयाँ राजाले उहाँलाई पनि नटेरेको अवस्थामा त्यसैलाई मौका पारेर हामीले राजतन्त्रले उहाँप्रति गरेको व्यवहारको बदला लिन उहाँलाई उक्सायौं र उहाँ तुरुन्तै राजी पनि हुनु भयो। त्यसपछिका दिन हरू त हाम्रा लागि निकै सहज नै भए। संविधान सभा, गणतन्त्र र धर्म निरपेक्षताका हाम्रा एजेन्डाहरू हामीले चुड्किको भरमा पुरा ग-यौं। यदि उहाँले हाम्रा ती एजेन्डाहरूमा सहमति नजनाएको भए अरू सबै दलहरू एक भए पनि ती चरितार्थ हुने थिएनन। हामीले तत्यो कार्यमा वर्षौँ देखि देशमा गुमेको शान्ति फर्काउने गुलियो स्वादको मन्द बिस पनि घोलिदियौं र सबैका लागि त्यो स्वादिलो र मान्य भयो।
लोकतन्त्र आइसके पछि पनि हाम्रो बाटो सहज थिएन। हाम्रो नाममा अनेकौँ मुद्दाहरू थिए, जनता हरू त्रसित थिए तर हामीलाई चुनावमा जानु थियो। सच्चा देशभक्त र प्रजातन्त्रमा विश्वास गर्नेले कुनै हालतमा पनि हामीलाई माफी दिने र चुन्ने वातावरण थिएन। हामीले सत्यनिरुपण आयोगको खोलमा हाम्रा मुद्दाहरू हटाउन सफल भयौँ। पहाडमा हाम्रो केही पकड भए पनि तराईमा हाम्रो हालत खराब थियो, त्यसैले चुनावअगाडि सीमा पारिका लाखौँ जनतालाई देशको नागरिकता दिन लगाएर हामीले केही हद सम्म तराईमा पनि आफ्नो उपस्थिति देखाउन सफल भयौँ, त्यसमा पनि उहाँकै योगदान थियो।

समग्रमा भन्नु पर्दा हाम्रा हरेक एजेन्डाहरू उहाँले नै पुरा गरिदिनु भएको छ। मलाइ थाहा छैन उहाँले जानेर ती एजेन्डामा हाम्रो साथ दिनुभयो या आफ्नो व्यक्तिगत स्वार्थ र बदला लिन देश र जनताको मर्मलाई लत्याएर त्यसो गर्नु भयो। तर जे सुकै भए पनि पर्दा पछाडिका क्रान्तिका मुख्य खेलाडी उहाँ नै हुनुहुन्छ। अझ त्यति मात्र कहाँ हो र उहाँको दल र अन्य दलहरूमा पनि उहाँलाई अझै शिखर पुरुष र आफ्नो आदर्श व्यक्ति मान्ने मूर्ख नेताहरूको कमी छैन। जसरी हामीले उहाँलाई प्रयोग ग-यौ, त्यसै गरी उहाँ जस्ता नयाँ नेताहरूलाई प्रयोग गरी नै रहने छौँ। आफूले देह त्याग गरे पनि आफू जस्तै नेताहरूलाई जन्माएर हाम्रा भविष्यका एजेन्डाहरूलाई सफल बनाउन उहाँले अझै पनि हामीलाई सहयोग गरिरहनु भएको छ। अब तपाईँ नै भन्नुस् क्रान्तिको सच्चा सूत्रधार को हो? म या उहाँ?’

उनको उत्तरले पत्रकारलाई निकै चित्त बुझ्यो। उसलाई लाग्यो- त्यो सनसनीपूर्ण खुलासा नै सायद उसले धेरै दिनदेखि पर्खिरहेको आफ्नो पत्रकारिताको पेसाको मोड थियो।

1 comment to कथा : क्रान्तिका सूत्रधार

  • madan bajracharya

    माथिको लेखमा “उहा” भनिययका दुई जना “उहा नम्बर १ र उहा नम्बर २” शरीर र अनुहारले मात्रै फरक देखिने व्यक्तिहरु हुन्/ उहाहरुको तरिका र बोलि मात्रै फरकछ तर नियत र नीति तथा गन्तब्य फरक छैन/ उहा नम्बर 1 र उहा नम्बर २ दुबैले खोजेको कुर्सि नेपालमा दुईटा भैदियको भय उहाहरु नेपालमा मित बनेर प्रस्तुत हुन्थे/

    दुवै “उहाहरु” ले ल्यायको परिबर्तनको आधार दिल्ली सम्झौता नै थियो/ उहा नम्बर १ ले प्रथम दिल्ली सम्झौता गरेर ल्यायको “परिबर्तन” नेपालीले नरुचायको कारणले भत्कन्दै जिर्ण हुँदै गयको थियो/ आफै पनि पनि कमजोर हुँदै गयको उहा नम्बर १ ले यसको मर्मत गर्न सकिरहेको थियन/ तेसैले दिल्लीको स्वार्थ पुरा गराउन नसकिने भयको उहा नम्बर १लाई ससम्मान बिदाई गरेर दिल्लीको स्वार्थ पुरा गर्न सक्ने बिकल्प खोज्दै थियो/ यसै अन्तर्गत दिल्लीमा दिल्लीले उहा नम्बर १ र उहा नम्बर २ बिचमा दिल्ली सम्झौता नम्बर २ गराउन लगायो र उहा नम्बर १ लाई उहाको पहिला गरेको सेवा बापत महानायक भनि सम्मान गराउंदै नेपालमा भारतको स्वार्थमा बाधक नबन्ने बा बन्न नदिने ब्यबस्था गर्न खोजियो/

    तर दिल्ली सम्झौता नेपाल र नेपालीको निमित धोखा हो भन्ने बुझेको नेपालीको बिरोधको कारण दिल्ली सम्झौता नम्बर २ले खोजे चाहेको कुरा गर्न गराउन बाधा तेर्सियो/ तेहिबाधा हटाउन दिल्ली कहिले नाकाबन्दी त् कहिले तिरस्कार गरेकोलाई पनि अंगाल्न खोज्दैछ/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0