यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

अहो, त्यो महाभूकम्प ! यसरी बितेको थियो वैशाख १२ को दिन

IMG_5618

चर्चित फिल्म रेशम फिलिलीको शनिबार बिहानको सो सकिएपछि बूढी र म जय नेपाल हलबाट निस्केर पहिलोपोस्टको दरबारमार्गस्थित कार्यालयतिर लागेका थियौँ। स्कूटर मैले हाँकेको थिएँ। याक एन्ड यति होटल छेवैमा रहेको कार्यालयको गेट पुग्नुअघि नै भूइँचालोले बेस्कन हल्लाउन थाल्यो। डर त त्यस्तो लागेन तर एकछिनको धक्का त होला नि, अब सकिन्छ अब सकिन्छ भन्ने मनमा लागिरह्यो। उनी पछाडि स्कूटरमा नै थिइन्। मैले न स्कूटरको स्टार्ट बन्द गरेँ न स्टायन्ड राखेर रोकेँ। खुट्टाले अडेस लागेर नै कुरेर बसेँ, एकछिनमा हल्लाउन बन्द होला र कार्यालयको गेटभित्र प्रवेश गरौँला भन्ने सोच थियो। तर हल्लने क्रम रोकिएको थिएन।

याक एन्ड यति होटलबाहिर पर्यटकहरुलाई लक्षित गरी निकै पसलहरु खोलिएका छन्। त्यहीँका एक पसलेले त्यहाँ नबस्नू दाइ यता आउनु भने। श्रीमतिले स्कूटरको स्टार्ट बन्द गरिदिइन्। भूइँ हल्लँदै थियो, हामी पसलतिर लाग्यौँ स्कूटरलाई सडकमा छाडेर। पसलमा उभिन पनि सकिएन, थचक्क बस्यौँ। पसलका डमीहरु डङ्ग्रङ्ग लडे। घरहरु बेस्कन हल्लँदै थियो अझै।

एकचोटी घर सम्झिएँ। अहो के भयो होला ! यसो हेरेको याक एन्ड यति होटलको गेट पछाडिको आकाशमा धूलो उडिरहेको थियो। अनि सम्झिएँ धेरैका घरहरु भत्किए होलान्, ठूलै क्षति भयो होला। एउटा ट्विट गरेँ मोबाइलबाटै। ११:५९ मा त्यो पोस्ट भएको रहेछ। भूकम्प ११:५६ मा आएको थियो।

मलाई याद छ, मोबाइलमा टाइप गरेर ट्विट गर्दैगर्दा हात थरथर काँपेका थिए। भूकम्पको दिन फोटोसहितको पहिलो ट्विट थियो यो मेरो

एकैछिनमा अफिसबाट साथी मनोज सत्याल क्यामेरा बोकेर निस्कियो। म आज फिल्म हेर्न गएकोले ब्यागसमेत बोकेको थिइनँ। सामान्यतया मसँग क्यामेरा, ल्यापटप साथैमा हुन्थ्यो। आज भने खाली थिएँ। मनोजलाई जाउँ एक पटक यसो हेरेर आउँ सहर। धेरै क्षति भएको हुनुपर्छ, ओभरअल भ्यु लिएर पहिलोपोस्टमा हालौँ भने। ऊ अफिसमा कुर्सी मुनि लुकेर बसेको रहेछ भूँइचालो आउँदा। मेरो त घर भत्कियो रे गाउँमा, बाले घर आइज भन्नुभाछ भन्दै थियो मनोज। तर मनोजलाई पछाडि राखेर मैले दरबारमार्गतिर स्कूटर कुदाएँ।

धेरै मान्छे सडकमा आएर बसेका थिए। रत्नपार्कको टेम्पो पार्कको स्टायन्ड ढलेको दृश्य पहिलो थियो हाम्रा लागि भूकम्पको ध्वंशको। गाडीहरु चलिरहेका थिए। महानगरीय प्रहरी वृत्तनजिकैबाट एउटा प्रहरीको भ्यान कुदिरहेको थियो। रत्नपार्कबाट भोटाहिटीतर्फ जाने बाटोमा धेरै मान्छे भेला भएका थिए। दरबार स्कूलको भोटाहिटीतर्फको अंश भत्किएको थियो। यो दोस्रो ठूलो ध्वंशको दृश्य थियो हाम्रा लागि। त्यहीँ रहँदारहँदै अर्को धक्का आयो। दरबार स्कूलको फोटो मोबाइलबाट खिचेर ट्विट गर्न खोज्दै थिएँ, गएन। मनोजले त्यहाँको भिडियो खिच्यो।

धरहरा छैन त !

त्यसपछि मनोजले तपाईँ फोटो खिच्नु म चलाउँछु भन्यो। हुन्छ भनेर मैले क्यामेरा लिएँ। कता जाने निश्चित थिएन। मनोजले रत्नपार्कबाट स्कूटर मोडेर बसपार्कतिर लग्यो। रत्नपार्कको विद्युत प्राधिकरणको भवनमा केही क्षति पुगेको रहेछ। मैले त्यहाँ केही फोटो खिचेँ र त्यहाँबाट सहिदगेटतिर लाग्दै गर्दा मैले मनोजलाई आत्तिएर भनेँ, मनोज, खोई धरहरा छैन त!

मनोजले पत्याएन। ऊ हेर न त्यहाँ मैले देखाएँ।

‘अहो, हो रहेछ’, मनोज पनि आत्तियो।

सहिदगेटबाट धरहरा जाने बाटोतिरको चोकमा धेरै मान्छे थिए। मनोजलाई त्यहीँ छाडेर म धरहरा हेर्न अगाडि गएँ। मान्छे थुप्रै थिए। अहो धरहराको त पहिलो तल्लाबाट अर्थात् फेदैबाट टुक्रा भएको रहेछ। शनिबार भएकोले मान्छे थुप्रै थिए रे त्यहाँ। एकछिन बाहिर फोटो खिचेर म भित्र गएँ।

मान्छेहरु ध्वस्त धरहराको भग्नावशेष पन्छाएर मान्छे खोज्दै थिए। नागरिक दैनिकका फोटो पत्रकार केशव थोकर भेटिए। सुन्धारास्थित कार्यालयमा भूकम्पका कारण खुट्टामा परेको चोटका बावजुद खोच्याउँदै ऊ फोटो खिचिरहेको थियो। असन त ध्वस्तै छ रे पुलिसले सुनाएको उसले भन्दै थियो।

म स्तब्ध भएँ खिचापोखरीतर्फको पाटोतर्फ हेर्दा। टुक्राटुक्रा भएको थियो धरहरा। स्थानीयहरु नै उद्दार गर्दै थिए। एक जना पनि प्रहरी वा सैनिक त्यहाँ देखिएको थिएन। म स्तब्ध भएर धरहराको ध्वंस हेर्दै थिएँ अचानक केशव करायो, दाइ त्यहाँ नबस्नू, हल्लिएको छ भत्कन सक्छ। पहिलो तल्लाको फेद पनि ढल्न सक्नेतर्फ ऊ सचेत गराउँदै थियो।

पुरिएकी एक जना महिलालाई त्यहाँबाट उचाल्दै लगियो। त्यहाँ धेरै बेर बस्न सकिनँ। पछि सुनेको थिएँ धरहरामा त्यो बेला १५० जनाले टिकट काटेका थिए। म असनतिर लाग्न खोज्दै थिएँ। धरहराबाट सहिदगेटतिरको चोकमा आउँदा फेरि भूकम्पले ठूलै धक्का दियो। मानिसहरु रोइरहेका, आत्तिरहेका थिए। खोई मलाई चैँ कहाँबाट शक्ति आयो। ‘नआत्तिनू नआत्तिनू केही हुँदैन,’ ‘केही भएको छैन’ भनेर भिडलाई सान्त्वना दिने आवाज मेरो मुखबाट कसरी आयो म आफै छक्क छु। एक जना मोटरसाइकल चालक मोटरसाइकल सडकमै पल्टाएर त्यहीँ बसे। रामनाम लेखेको पहेँलो वस्त्र लगाएकी एक बूढी आमैको आँखामा देखेँ मैले भूकम्पको त्रास। मैले फोटो खिच्ने आँट भने गर्न सकिनँ। बरु नआत्तिन भन्दै गरेँ।

मनोजलाई नभेटेपछि म त्यहाँबाट अगाडि बढेँ। टुँडिखेलको प्रवेश द्वार भत्किएको थियो। मान्छेहरु रुँदै कराउँदै सडकमा हिँडिरहेका थिए। कोलाहल मच्चिएको थियो। न्युरोडतिर पुगेँ। त्यहाँ पनि मानिसहरु आत्तिँदै कुदिरहेका थिए।

ऋषिकेशलाई फोन गरेँ। उनी भृकुटी मण्डपतिर सुरक्षित थिए। श्रीमतिलाई पहिलोपोस्टको कार्यालयमा छाडेर गएको थिएँ। फोन आयो। घरमा ठीक रहेछ।

म वसन्तपुरतिर लाग्दै थिएँ। न्युरोड ठीक थियो। वसन्तपुरको नौतले दरबार र हनुमानढोका गद्दी बैठकको भाग भत्किएको थियो। त्यहीँ अगाडि एउटा एम्बुलेन्स झोँछेतिरको घाइतेलाई लिएर जाँदै थियो। अवरुद्ध बाटो खुलाउन केही सहयोग गरेँ।

जब कुमारी घरतिर पुगेँ तब अनायास आँखामा आँसु आयो। सँधै रमाउँथे म यो काठमाडौँ दरबार क्षेत्रमा पुग्दा अग्ला अग्ला मन्दिरहरु। कुमारी घरलाई केही भएको थिएन तर ती मन्दिरहरु सब ध्वस्त थिए। भत्किएका मन्दिरको दृश्य मनै रुवाउने थियो। सम्झँदा अझै आँखामा आँसु आउला जस्तो हुन्छ। यस्तो पनि होला भनेर कहिल्यै नसोचेको दृश्य। मन्दिरका गजुरहरु भूँइमा थिए। प्यागोडा शैलिका मनमोहक मन्दिर माटो र काठको भग्नावशेषमा परिणत भएका थिए। मानिसहरु त्यसमा चढेर खोज्दै थिए मानिसहरु।

एक जनाले भन्दै थियो धन्न म बचेँ। अघि यहाँ रक्तदान हुँदै थियो। मैले रक्तदान गरेको थिएँ।

कहाँ ? मैले सोधेँ

काष्ठमण्डपमा।

अहो, काष्ठमण्डप पनि ध्वस्त रहेछ। केही फोटो खिचेँ तर मन मानेन। क्यामेरालाई माला बनाएर एकातर्फ राखेर म भग्नावशेष हटाउन स्वस्फूर्त लागेकाहरुमा मिस्सिन पुगेँ। पर्यटकहरु थिए, विदेशीहरु। उनीहरु पनि स्वस्फूर्त सहयोग गरिरहेका थिए। भित्र मान्छेहरु फँसेका भन्दै थिए। तर हामी केही गर्न सकिरहेका थिएनौँ। साना साना इँटाहरु र काठहरु फाल्दै थिए।

ठूल्ठूला काठका संरचनाहरु उचालेर एकापट्टी राख्ने काममा सघाएँ। मानिसहरु लामवद्ध भएर काठ र ढुंगा पास गर्दै एकातर्फ पन्छाउने काममा थिएँ। हातले कति नै गर्न सकिन्थ्यो र तर पनि गर्दै थियौँ हामी। अहो, काष्ठमण्डपको गजुर नै पो देखियो।

एक जना अधवैँशे पानी माग्दै रुँदै थिए। सक थिए उनी। कमजोर थिए हिँड्न पनि सकिरहेका थिएनन्। कसैले उसलाई पानीको बोतल दियो तर ऊ ढल्न खोज्दै थियो। म अगाडि बढेँ, उनलाई सहारा दिएँ। मेरो साथमा क्यामेरा देखेर होला, एक जना चिच्यायो, फोटो नखिच्नू है। मैले पनि हकारेँ, कसले खिचेको छ फोटो? ती अधवैँशेलाई सहारा दिँदै शान्त ठाउँमा जाउँ। नआत्तिनुस् दाइ केही हुन्न। केही भएको छैन भनेँ। शान्त ठाउँमा लगेर राखेँ।

त्यहाँबाट अलि अगाडि बढ्दा कुमारी घर छेवैको घर भत्किएर मान्छे फँसेका रहेछन्। फेरि त्यहाँ स्वस्फूर्त मानिसहरु भग्नावशेष पन्छाउने काममा लाग्यौँ। लाम लागेर बसौँ है लाम लागेर। मेरो अगाडि एक जना महिला थिइन्, उनले दिएको ढुंगा र काठ मैले मेरो छेउमा रहेका एक विदेशीलाई पास गर्थेँ। उसले त्यो अर्कोलाई गरेर भग्नावशेष हटाउने काम सहयोग गरिरहेका थियौँ। हेलिकप्टर उडेको थियो। तर स्वस्फूर्तबाहेक अरु कोही पनि त्यहाँ थिएनन्। हेरेर नबसौँ न हो, यस्तो बेला सहयोग नगरे कहिले गर्ने भनेर कोही चिच्याउदै थिए। मैले पनि त्यही भनेर कराएँ।

म आफ्नो पत्रकारिताको कर्तव्यबाट हटेर मानवीय कर्तव्यमा लागेको थिएँ। तर पत्रकारिताको पनि कर्तव्य थियो। म केही समयपछि त्यहाँबाट हटेर हनुमानढोकातिर लागेँ। यहाँ कृष्ण मन्दिर बाहेक अरु संरचना ठीकै थियो। म ट्विट गर्दै थिएँ घटनास्थलबाटै। कालभैरवको मूर्तिलाई ढोगेँ। यही छेउबाट हिँड्दा कहिल्यै ढोग्दिनँ थिएँ म।

कौशलटारमा रहेका साथी उज्ज्वल आचार्यलाई फोन गरेँ। यताको स्थिति बताएँ। त्यता भक्तपुर जाने छ लेनको बाटोमा क्षति भएको चिरा परेको रहेछ।

वरिष्ठ पत्रकार किशोर नेपालले फोन गर्नुभयो। उहाँलाई मैले वसन्तपुरको स्थिति बताएँ। केलटोल ठीक रहेछ। त्यहाँका पुराना घरहरु भत्किएका थिएनन्। असनमा जस्तो सोचेको थिएँ त्यस्तो रहेनछ। घरहरु भत्किएका थिएनन् तर कमजोर थिए। म त्यहीँ कुरा ट्विट गर्दै थिएँ एक जनाले हकार्योर घर भत्किन लागेको छ कहाँ बसिरहेको। आफ्नो मूर्खतालाई आफैले गाली गर्दै म अन्नपूर्ण मन्दिरतिर दौडिएँ।

असनबाट जमलतिर लाग्ने बाटोमा एउटा मोटरसाइकल लडेको थियो अलपत्र। घरहरु भत्किएका थिएनन् यहाँ। श्रीमतिले एउटा औषधि किनेर ल्याउन भनेकाले औषधि पसल खोज्दै जमलबाट ठमेल चहारेँ, कहीँ केही खुलेको थिएन। मूर्दा शान्ति थियो।

रत्नपार्कबाट भोटाहिटी छिर्ने गल्लीमा किचिएर मरेका केही लाश थिए। त्यसलाई ट्रकमा राख्न सहयोग गर्‍यौँ।

वीर अस्पतालबाहिरको सडकमा उपचार भइरहेको थियो। मान्छेहरु स्वस्फूर्त हाते साङ्ग्लो बनाएर सुरक्षा गरिरहेका थिए। सडकमा सलाइन दिइँदै थियो, सडकमा उपचार हुँदाहुँदै मरेका थिए। रुवाबासी थियो। अस्पतालबाहिर एउटा मात्र औषधि पसल खुला थियो।

निरन्तर धक्काका कारण कार्यालयबाट दरबारमार्ग शालिकनिर बसेका थिए श्रीमतीसहित साथीहरु। फोटो पत्रकार साथी अंगद ढकालको क्यामेरा र लेन्स उत्तेजित मान्छेहरुले फुटाइदिएछन् कामै नलाग्ने गरी। त्यहाँ बस्दाबस्दै फेरि भूकम्पको धक्का आयो। हामी सडकमा बस्यौँ। सडकमुनिबाट कसैले माथितिर ड्वाङ् ड्वाङ् हानेको जस्तै महसूस हुन्थ्यो।

कार्यालय गएर एउटा भिडियोसहित केही फोटो अपलोड गर्यौँौ। साथी मनोज र सविन गृह मन्त्रालयमा थिए। त्यहाँबाट प्रारम्भिक घटना विवरण आइरहेको थियो। अपडेट गर्दै थियौँ। ब्याट्री सकिन लागेको थियो मोबाइलको। बालाजु बसपार्क क्षेत्रमा ३/४ सय जना पुरिएको भन्ने प्रारम्भिक खबर गृहबाट आयो।

अंगद र म त्यता जाने भनेर लाग्यौँ। अहो गेस्ट हाउस नै भत्किएको रहेछ। पाँच तले घर भत्किएर पुरिएको थियो। प्रहरी र सेनाले निकाल्दै थियो लाश। लाश निकाल्ने बित्तिकै आफन्तको रुवाबासी। बाहिरै एउटा प्राथमिक उपचार गर्ने टोली थियो।

बालाजु बाइपास क्षेत्रमा पनि घर भत्किएका थिए। पशुपति लाग्यौँ। मूल मन्दिर सुरक्षित थियो अरु केही मन्दिर ध्वस्त थिए।

काठमाडौँ भर बत्ती थिएन। अफिसमा इन्टरनेट पनि थिएन। घरमा पनि इन्टरनेट थिएन। थ्रीजी मोबाइलमात्रै चलेको थियो। मानिसहरु घरबाहिरै सडकमा पाल लगाएर सुतेका थिए। हामी भने घरमै सुत्यौँ। ट्विटरमा अपडेट जारी राखेको थिएँ मैले। रातभर हामीलाई तर्साउने गरी भूकम्प आइरह्यो। यो महाविपत्तिको पहिलो दिन मैले यसरी बिताएँ।

1 comment to अहो, त्यो महाभूकम्प ! यसरी बितेको थियो वैशाख १२ को दिन

  • madan bajracharya

    भुकम्प आयको यो दिनको सम्झना गर्दै सरकार र नेताले यक सब्द बोलेको कुरा कहिँ प्रकाशित भयको देखिन; यो भन्दा उदेक लाग्दो कुरा अरु के हुन सक्ला?

    नेपालमा आयको त्यो भुकम्पमा भुकम्प पिडितलाई कति सहयोग (ऋण होईन) आज सम्म दियको छ र तेती सहयोग वितरण गर्नमा कर्मचारी खटाउन, भाषण गर्न आदिमा कति खर्च गरेको छ भन्ने कुरा तुलना गरेमा मलाई यस्तो लाग्छ उनीहरुले सहयोग दियको रकम भन्दा सहयोग दिने नाममा खर्चेको रकम बढी हुन्छ/ नेतालाई चाहेको करोडौ पर्ने गाडी तुरन्तै खरिद गर्ने ब्यबस्था गर्नेको सरकारले ……..

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)