यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

चम्के चोक लुक्यो सबै सहरको गन्धा र मैलो हरे, थाहा भो न तिहार हो न त दसैँ मेला छ मोदी अरे : मौलाएको नाकाबन्दी साहित्य

-पुरुषोत्तम लम्साल-

मौकामा कहर दियौ कुटेर सारा
नाकामा सकस दियौ चुटेर सारा ।

आशाका किरण लुटयौ रुँदै छ देश
सीमामा दनक दियौ लुटेर सारा ।

प्रहर्षिणी छन्दामा लेखिएको गणेश आचार्यको कविताको यो चार पङ्क्ति दुई वर्षअघिको नाकाबन्दीको सग्लो दस्तावेजको साहित्यिक प्रतिलिपि जस्तै हो। भूँइचालो र नाकाबन्दी दुबै प्रकोपले आहत मनहरूमा गढेर बसेर पीडाको तस्बिरको पर्दा राजनीतिक परिदृष्यहरुसँगै खुल्दै र बन्द हुँदै जानु नियमितता जस्तै भइरहेको छ नेपाली समाजमा।

मनोविज्ञान र मनोदशा अलगअलग कुरा हुन्। यो मान्छेको हकमा जसरी लागू हुन्छ, समाजको हकमा पनि उसैगरी लागू हुन्छ। मान्छेको र समाजको मनोविज्ञान स्थिर हुँदैन। यो विषय र सन्दर्भहरूबाट प्रभावित हुन्छ । अर्थात् मनोविज्ञान परिस्थतिहरुबाट पनि उत्तिकै निर्देशित हुन्छ । तर यसको गतिशीलताको स्वभावले यसको स्थायित्वमाथि पनि सधैँ प्रश्नचिन्ह खडा गरिरहेको हुन्छ । मान्छे र समाजलाई उत्तिकै प्रभाव पारेको दुई वर्षअगाडिको भूँइचालो र त्यसपछिको सन्दर्भमा पनि यो लागू हुन्छ । नेपालविरुद्ध भारतले गरेको नाकाबन्दीले आम नेपालीको मनोदशा र सामाजिक मथिंगलमा पारेको जबरजस्त प्रभावको उदाहरण अहिले देखिएको छ । कतिसम्म भने, नेपाली समाजको एउटा तप्कामा अहिले पनि नाकाबन्दी साहित्य जमेर बसेको देख्न पाइन्छ ।

घृणा आक्रोश र अस्वीकारको भाषा बोल्ने साहित्यको एउटा उदाहरण कनकधारा स्वामी स्वदेशनन्दको नाममा आएको तलको हरफले देखाउँछ ।

मोदी दया पुरुष हुन अब देश हाँस्छ
मोदी कृपा हुनगए जन धेर बाँच्छ
बुझ्दैन मूर्ख जन गर्छ विरोध भोलि
मोदी विशेष भगवन गर भक्ति ओली ।।

सन्दर्भ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको हो । मोदी नेपालको राजकीय भ्रमणमा आउँदैछन । सांस्कृतिक र राजनीतिक अर्थले यो भ्रमण दीर्घकालीन महत्त्वको मानिएको छ । जमिन र आकाश दुबैमा भारतीय सुरक्षाकर्मी छरिएका छन्। जनकपुर, मुक्तिनाथ र काठमाडौँ मोदीको स्वागतार्थ सिँगारिएको छ। जनकपुर दीपावलीमा भन्दा मोदी महोत्सवमा रंगीन बनेको छ। काठमाण्डौमा सरकारपक्षीय तप्कालाई राजनीतिक फागूपूर्णिमा बराबरको रौनक छ । अनि नेपाली समाजको साहित्य यसबाट कसरी अछुतो हुनसक्छ ? समाजमा खिल जसरी गढेर बसेको नाकाबन्दीलाई साहित्यका पारखी मोदीप्रदत्त सकस दिइरहेका छन् । सम्बन्ध यदि भावनाको आधारमा व्याख्या गर्ने हो भने केही साहित्यले नाकाबन्दीबाट मोदीले राजनीतिक तहबाहेक जनताको तहबाट भ्रातृत्वको सम्भावनालाई अर्को कयौँ पुस्तासम्म बिगारेको भान हुन्छ । छन्दकवि कृष्णप्रसाद प्याकुरेलका केही हरफहरू पढौं

कोही एक अघोर घातक बुढो, माग्ने बनी आँगन
तिम्रा सामु झुकेर ध्यान गरला, भक्तै बनी माँगन
नाका बन्द गरेर गल्ती हुनगो, भन्ला नजान्ने बनी
हे नारायण मुक्तिनाथ प्रभुजी, के भक्त हो त्यो पनि ।

अर्का सर्जक झलक अधिकारीले पनि नाकाबन्दीविरुद्ध उभिएका नेपालका तात्कालीन दल, नेता समूहलाई लक्षित गर्दै सृजनामा दुःख बिसाएका छन् । यही हप्ता प्रकाशित उनको केही पङ्क्ति यस्तो छः

कोही प्रश्न उठाउँदै मुलुक यो सोध्दै छ खै के भयो ?
वाचाबन्धन, घोषणा, सडकका नाराहरू के भयो ?
पर्दै छौ किन लम्पसार उ सँगै, जसले गला रेटदछ ?
जसको घोर विरोधमा सडक यी जल्थे हिजो के भयो ? ।।

कवि अधिकारीको सोही कविताको दोस्रो अनुच्छेद यस्तो छ ः

सम्झौता असमान सन्धि जति छन् उल्टयाउँछौ भन्दथ्यौ
अग्ला बाँध उठाइए जति यहाँ भत्काउँछौं भन्दथ्यौ
हाम्रो साँध मिच्यो भनी सडकमा भन्थ्यौ हिजो के भयो ?
मेट्रो रेल गुडाउँछौ मुलुकमा भन्थ्यौ हिजो के भयो।

नाकाबन्दीको पीडा गद्यमा, पद्यमा, छन्दमा, गजलमा, मुक्तकमा जताततै भेट्न सकिन्छ । र, सबैमा बहालवाला भारतीय शासक वर्ग निशानामा छन्। मानवीयतालाई केन्द्रमा राखेर रचिएका त्यस्ता सृजनाहरूमा राष्ट्रप्रेम छताछुल्ल भएको भेटिन्छ। किरण रिजालले पञ्चचामर छन्दमा लेखेको केही पङ्क्ति यस्तो छः

नसोध हाल देशको, हजार बात सुन्दछु
छिमेकी शक्ति खेलमा, स्वदेश घात भेट्दछु ।।
सवाल देशको भयो, कुभाव फैलने डर
समस्त प्रेम भावमा, नरेन्द्र काल देख्दछु ।।

सामाजिक सञ्जालमा अर्का सर्जक हरिप्रसाद चौलागाईले चाहिँ बैगनीलाई गूनले ठेगान लगाउन पर्छ भन्दै व्यङ्ग्य कसेका छन् । उनका हरफहरू पढौँ

आधा वर्षैभरि अकारण अहो नेपाल बन्दै गरे
चर्केका हियमा पिलो गरीखडा नूनचूक खर्चै गरे ।
पौने दुई सय केजी फूलबटुली माला बनाई उठौं
यस्ता आत्मीय मित्रका शरणमा आधार भन्दै जुटौं ।।

यस्तै हिरा भट्टले पनि मोदी मेला शीर्षक दिएर आफ्नो छन्द सृजनालाई सार्वजनिक गरेका छन् । उनी लेख्छनः्

आमा आज स्वयम् बडा सहरमा डुल्दै थियो यो कवि ।
पाक्दैथे पकवान चोकहरूमा बास्ना अनौठो थपी ।।
मेला हो कि कुनै छ पर्व मुखमा सम्पूर्ण खोजी गरे ।
थाहा भो न तिहार हो न त दसैँ मेला मोदी छ अरे ।।

सुकुलगुण्डै शैलीको विकास र तामझामप्रति कटाक्ष गर्दै भट्ट अगाडि लेख्छन ः

यौटा मख्ख परी लगाउँछ कुचो तस्बिर खिच्दै पर ।
अर्को जिल्ल परी सराप्छ किन हो हल्ला गरी बर्बर ।।
चम्के चोक लुक्यो सबै सहरको गन्धा र मैलो हरे ।
थाहा भो न तिहार हो न त दसैँ मेला छ मोदी अरे ।।

सँगसँगै केही सर्जकहरू पापीको पाप र अपराधीको अपराधलाई क्षमा गरेर मानवोचित गुण देखाउनपर्ने तर्क पनि राख्छन । उनीहरूको मत छ, हिजो जे भो भो, अब भोलिका लागि नाकाबन्दीको तूष पालेर नबसौं । तत्कालका लागि सही, अस्थथायी सही, दुई दिनका लागि सही मान्छेले गरायो भने हँदो रहेछ भन्ने आशय राख्दै एनपी शर्मा नामका अर्का सर्जक लेख्छनः

सधैँ यस्तै बनोस् सडक अति नै सुन्दर भयो ।
सु सेवा हो धर्मै जनक पुरमा आगमन यो ।।
भुलौं नाबन्दी सब जन जुटौं नन्दन जहाँ ।
गरौं सारा हामी नमन अतिथि स्वागत यहाँ ।।

1 comment to चम्के चोक लुक्यो सबै सहरको गन्धा र मैलो हरे, थाहा भो न तिहार हो न त दसैँ मेला छ मोदी अरे : मौलाएको नाकाबन्दी साहित्य

  • madan man bajracharya

    आफ्नो स्वार्थको निमित आफु भन्दा कजोर मुलुकलाई नाकाबन्दी गर्ने र बालिकालाइ बलात्कार गर्नेको बिचमा म त् कुनै फरक ठान्दिन/ बलात्कारीलाई कानुनि कार्यवाही बात बचाउन बलत्कृत भयाकोलाई धम्क्यायर बा प्रलोभनमा पारेर मिलापत्र गर्न बाध्य गराउने र तिरस्कृत गर्नु पर्ने नाकाबन्दी गर्नेलाई स्वागत गर्ने र गराउने मेरो निमित उस्तै उस्तै हो/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0