यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : त्यो बहुमूल्य पोस्टकार्ड

– मनोज बाबु पनेरु –

बाको पुरानो डायरीबाट विनयको डायरीमा थपक्क सरेको थिए, त्यो कविता । आफैले सिर्जना गरेका केही मौलिक हरफहरू जोड जाँड गरेर विनयले एउटा कविता तयार गरेको थियो । यो विनयको पहिलो प्रयास थिएन । पटक पटकको प्रयासले खारिएको विनय अनुभवी थियो । कविता सारेसँगै गायब हुन्थ्यो, त्यो कविता लेखिएको बाको डायरीको पातो र कायम रहन्थ्यो नव कवि विनयको डायरीमा एउटा मौलिक कविता ।
नयाँ वर्षको पहिलो शुक्रवार विद्यालयमा आयोजित कविता प्रतियोगितामा विनय दोस्रो घोषित भयो । कविता भन्नेहरू धेरैजसो ऊभन्दा माथिल्लो कक्षाका थिए । दाइ–दिदीहरूलाई जितेर दोस्रो भएकोमा विनय गर्वले फुलेल थियो । पुरस्कार स्वरूप पाएको कुटको गातावाला, भित्र हल्का हरियो रङ्गका चिल्ला पानाहरुभएको डायरी च्यापेर विनय यता–उता हल्लिदै थियो । आफ्नी सहपाठी सुनिताको आँखा आफूमाथि पर्नु हालको उसको मुख्य लक्ष्य थियो ।
विनय केटीका अघि लजाउने खालको केटो थिएन तर अहिले सुनिताको अघि सिधै पर्न केही धकाएको अवश्य थियो । कारण थियो केही दिन अघिको घटना । घटना गोप्य थियो । बिहीबार दिउँसोबाट विनयलाई हल्का डरलाग्न थालेको थियो । डरका मुख्य दुई कारण थिए । पहिलो, सुनिताले थाह भएरपनि थाह नभए जस्तो गरेकी हो की ! दोस्रो, सुनिता बाहेक अरूले पो थाह पाए की ! घटना, मात्र सुनिताले थाह पाउनपर्ने प्रकृतिको थियो । अरू कसैले थाहपाए विनयको खैरात थिएन ।

नयाँ वर्ष लागेपछि हप्तौँसम्म विद्यालयमा साथीहरू बिच पोस्टकार्डको आदान–प्रदानको सिलसिला चल्थ्यो । त्यो आदान–प्रदान, मिल्ने–मिल्ने साथीहरू बिच चल्थ्यो ताकि आफूले पठाएका साथीले सट्टामा आफूलाई पनि दिन्छन् भन्ने निश्चित होस् । केटा र केटी बिचमा हुने पोस्टकार्डका केही विनिमय भने एकोहोरो हुने सम्भावना पनि रहन्थ्यो । मुख्यतय केटाको हकमा यो घाटाको विनिमय हुनजान्थ्यो । केटो हौसिएर केटीलाई पोस्टकार्ड दिन्थ्यो र केटी रिसाएर उक्त पोस्टकार्ड च्यातिदिन्थी । त्यसले एउटा झगडाको सिर्जना गर्ने सम्भावना पनि रहन्थ्यो । अलि बढी नै भयो भने शिक्षक–अभिभावकै पनि झगडामा तानिन सक्थे ।

कुनै घटनाहरू हेडसरको कोठासम्म पुग्थे । जसको अन्त्यमा रातो–कालो अनुहार बनाएर केटो हेडसरको कोठाबाट निस्कन्थ्यो र आफ्नो कक्षाको अन्तिम बेन्चमा घोसे मुन्टो लगाएर चुपचाप फर्कन्थ्यो । केटी सुक–सुक गरेर रुँदै अघिल्लो लहरको बेन्चमा साथीहरूबिच घुस्रिन्थी । यस्ता केही घटनाहरू अर्को नयाँ वर्षमा दुवै बिचको सौहार्दपुर्ण पोस्टकार्ड आदान प्रदानामा पुगेर टुङ्गिन्थ्यो । वर्षैभरि लगभग सम्पूर्ण विद्यार्थी गणले दुवैलाई लगातार जिस्क्याउने–हियाउने गर्नाले अघिल्लो साल कुकुर–बिरालो जस्तै बाझेका उनीहरू कमिला जस्तै मिल्न पुगेका हुन्थे ।

केही केटीहरू सबै केटाहरूले दिएका पोस्टकार्डहरु खुसीसाथ लिन्थे तर सट्टामा भने कुनै एउटा केटोले मात्र पोस्टकार्ड पाउँथ्यो । विशेषता राम्री भनिएका केटीहरुकालागि त्यस्तो सम्भावना रहन्थ्यो । विनयकी कक्षाकी सुनिता त्यस्तै राम्री भनिएकिमा पर्थी । त्यस्तो भाग्य भएको केटो भने बिरलैमात्र हुन्थे । जसले धेरै केटीहरूबाट पोस्टकार्ड पावोस् तर आफूले भने छानेर राम्री केटीलाई मात्र पठाओस् । विनय आफैलाई कम त आक्दैन थियो तर अरूले उसलाई त्यो स्तारको ठनिदिनैन थिए ।

विनयलाई यो नयाँ वर्षमा एउटा पोस्टकार्ड सुनितालाई दिउ दिउ नलागेको होइन तर उसको आँट भने अझै पुगेको थिएन । हुनलाई धेरै अघिदेखि गुहकार्य सार्न दिएर, नोटकापी साटेर, कक्षाभित्र हुने झैँ–झगडामा साथ दिएर, अघिल्लो मङ्सिरमा बनभोज जाँदा सके र मिलेसम्म सँगै घुमेर, माथिल्लो कक्षाका कसैले जिस्क्काए प्रतिरोधमा उभिएर, आफूले नसके आफ्नो गाउँको कुनै दाइको सहयोगमा विद्यालय बाहिर थर्काएर, यस्ता नानाभाती गरेर विनयले पोस्टकार्ड दिँदा नच्यातिने वातावरण बनाउने पुरापुर तयारी गरेको थियो । तर सुमनले “वान साइडेड” हुनसक्ने डर देखाएकाले पोस्टकार्ड दिई हाल्ने आँट विनयमा ठ्याक्कै भरिएको भने थिएन ।

सुमन विनयको मिल्ने सहपाठी थियो । उमेरमा विनय भन्दा केही जेठो सुमन, विनयको अनौपचारिक ट्युसन गुरु थियो । ट्युसन बिहान घरबाट विद्यालय जाँदा र विद्यालयबाट घर फर्कँदा, दुई घण्टी चल्थ्यो । विषय विविध हुन्थे । मुख्यतय, विद्यालयमा पढाइ नहुने तर चखिला विषयहरूले प्रमुखता पाउँथे । विनय थियो ट्युसन गुरु सुमनको मेधावी विद्यार्थी । अनौपचारिक ट्युसनका साथै हरेक शनिवार दुरदर्शनमा आउने हिन्दी फिल्मका प्रभावले “लभ पार्नु” भनेको नायकको मुख्य गुण हो भन्नेमा विनय विश्वस्त थियो । ठुल्दाइहरुले पढ्ने प्रकाश कोविदका केही उपन्यासहरूमा पनि विनयले आफ्ना आँखा दौड्याएको थियो । धेरै उसको उमेरले पर्गेल्न सक्नेभन्दा गहन वा छिप्पिएका हुन्थे । उसले बुझेसम्म सबै उपन्यासका कथानाककालागि पात्रहरूको “लभ पर्नु” अनिवार्य हुन्थ्यो । “लभ पर्नु”लाई उपन्यासको भाषामा भने “प्रेम” भनिन्थ्यो ।

त्यो मङ्गलवार, सुनिताले सार्न लगेको विज्ञानको नोटकापी फिर्ता दिएकी थिई । त्यसै भित्र लुकेर आएको थियो त्यो बहुमूल्य पोस्टकार्ड । पोस्टकार्डमा अङ्कित थियो हिन्दी सिनेमाका नायक शाहरुख खानको तस्बिर । पछि फर्काएर चिलित्त कोरिएको कपाल । अनुहारमा सुनौलो गोलो फ्रेमको कालो गगल्स । “भी” आकारको गला भएको सेतो गन्जी र हल्का निलो रङ्गको जिन्स् । सबै टाँक खुलै छाडेर लगाइएको खैरो ओभरकोट । कम्मरमा छालाको कालो बेल्ट र खुट्टामा बुट जुत्ता, त्यो पनि कालै । दुवै ओठ बाँधेर आत्माबिश्वासकासाथ हातमा चुरोट च्यापेर उभिएका शाहरुख खान । यो भन्दा सुन्दर संसारमा अरू कुन पोस्टकार्डमा छापिएको थियो होला र ? लगभग चार–बाइ–छ इन्चको पोस्टकार्डको बाकी क्षेत्रफल सडक, सडक छेउको ढुङ्गाको सानो थुप्रो र पृष्ठभूमिको अग्लो बिल्डिङ्ग र रुखको झयाङ्गले ओगटेको थियो । पोस्टकार्ड पछाडि लेखिएको थियो, एउटा प्रेमिल सायरी र तल दाहिने कुनामा थियो पठाउनेको नामा “सुनिता लिम्बु”। माथिल्लो देब्रेकुनामा थियो पाउनेको नाम ”विनय पाठक” ।

विनयले पोस्टकार्डको बारेमा आफ्ना कुनै साथीलाई सुइँको दिएन । हल्ला फैलिएला भनेर विनय सझकताकासाथ जोगिएको थियो । विनयमा अनायासै पलाएको उधुमको खुसी र आत्माबिश्वासको चमक देखेर सुमनले उसलाई निकै खेरेको थियो । उकुस–मुकुस भएर अन्ततः विनयले सुमनलाई त्यो सर्व–सुन्दर पोस्टकार्ड देखाएको थियो । अरू कसैलाई नभन्ने विद्या–कसम खुवाएर । सुमनले शाहरुखको तस्बिर झलक्कमात्र हेरेर, पोस्टकार्ड पछाडि लेखिएको सायरी पटक पटक पढेको थियो ।

छक्क परेर विनयलाई हेर्दै एक छिन गमेर सुमनले भन्यो, “तेरो टु साइडेड नै होला जस्तो छ भाइ ।” सुमनले गुरु शैलीमा सायरीको सप्रसङ्ग व्याख्या गर्दै भन्यो “हेर भाइ, अब तेरो पाइलो चाल्ने पालो । मेरो बधाई र साथ छ तँलाई ।” विनयले छाती तन्काएर बधाई ग्रहण गर्‍यो । यो स्तरको वातावरण एक्लैले बनाइसकेको परिपेक्षमा अघि बढ्न अब कसैको साथ वा टेको नचाइने निर्णय सुमनलाई सुनायो । लभ पर्ने अधिकतम सम्भावना बोकेको उसमा नायकत्व पलाइसकेको थियो । सम्मानमा सुमन दाइ नतमस्तक भए ।

रातभरि सोच्दा पनि विनयले अब चाल्नु पर्ने उपयुक्त पाइलो कुन् हो, खुट्याउन सकेन । अन्ततः सुमनलाई गुरु थाप्नै पर्ने भयो । “देखिनस् त भाइ, ठुलाको अनुभव काम लाग्छ” भन्दै सुमनले उसलाई पोस्टकार्ड पसलमा पुर्‍यो । धेरै छानेर सुमनको सहयोगमा उसले एउटा पोस्टकार्ड किन्यो । विनयलाई साडी लगाएर हाँसेकी जूही चावला भएको पोस्टकार्ड मन परेको थियो तर सुमनले विशेष कारण देखाउँदै अर्कै किन्न कर गर्‍यो । पोस्टकार्डमा उनै शाहरुख खान थिए र साथमा थिइन् नहाँसी उभिएकी जूही चावला ।

कालो हाफ गन्जी लगाइकी जूही तनक्क तन्किएर शाहरुख अघि उभिएकी थिइन् । जूहीले आफ्नो देब्रे हात पछि घुमाएर शाहरुखको काँधमा अड्याएकी थिइन् । शाहरुखका दुवै हात जूहीको कम्मरमा बेरिएका थिए । गन्जीले छोपेर उभ्रिएको जूहीको कम्मरको बाकी भाग शाहरुखको हातले छोप्न खोजेझैँ देखिन्थ्यो । जूहीको घाँटी काला पथ्थरहरु भएको गहनाले सजिएको थियो । उही सुनौलो गोलो फ्रेमको कालो गगल्स लगाएर उभिएका शाहरुखका तुलनामा जूही निकै हँसिली देखिन्थिन् तर ओठ भने टम्म बाँधिएका थिए ।

पोस्टकार्ड त किनियो अब त्यसमा लेख्ने के ? विनयलाई कुनै सायरी फुरिरहेको थिएन । सुमनले अरू प्राविधिक कुरा भने सिकाएको थियो । तर्साउँदै सुमनले भनेको थियो, “धन्न तेरो टु साइडेड जस्तो छ र बचिस् । वान साइडेड हुनेले त आफ्नै रगतले लेख्छन् । इम्प्रेसनको कुरो हो केटा रातो मसी भएको कलमले लेख् ।” विनयले बक्क परेर सुमनलाई सोधेको थियो, “कुन् सायरी ठिक होला दाइ ?” सुमनले आफूले सक्ने सहयोग सकिएको भाकामा भनेका थिए ,“तँ कविता लेख्ने मान्छे आफै मिलाएर लेख् । केटीले “आइ लाइक यु” भनी सकेकी छे अब तैँले “आइ लभ यु” नै राखे हुन्छ । कुरो भनेको त्यस पछि क्लियर हुन्छ ।”
आमाले पटक–पटक, कति पढेको, सुत् बाबु अब भन्दापनि भोलि “क्लास टेस्ट” भएको बाहाना बनाएर, रात अबेरसम्म लाल्टीन बालेर बसेको विनयले अन्ततः सायरी फुराएको थियो र रातो मसी भएको डटपेनले खिपेर लेखेको थियो ।

बुधवार, खाजा खाने समयमा कक्षा कोठामा कोही थिएनन् । यही मौकामा विनयले जतनले च्यापेर राखेको मौलिक सायरी सहितको पोस्टकार्ड आफ्नो विज्ञानको नोटकापी भित्र च्यापेर सुटुक्क सुनिताको झोलाभित्र राखिदियो । अब मात्र कुर्न थियो । बुधवार गयो, बिहीबार गयो, आज शुक्रवारसम्म पनि कुनै छनक छैन । विनयको छट्–पट्टीको पारो निकै उक्लिएको थियो । जे पर्ला सुमनले भने जस्तो एकान्त पारेर सुनितालाई सिधै “आइ लभ यु” ठोकी दिउकी भन्ने लाग्न थालेको थियो, उसलाई ।

पुरस्कारको डायरी च्यापेर यता–उता गरिरहेको विनयलाई बाहुन सरले टपक्क पाखुरामा समाते । घर गाउँमा बेला मौका पुरेत्याई पनि गर्ने हुँदा उनको नाम बाहुन सर रहन गएको थियो । विनयलाई लाग्यो बुढाले कविता सिर्जनाको गुह्य रहस्य पत्तो पाएछन् । कविता प्रतियोगिताका मुख्य निर्णायक उनै थिए । बाहुन सरले पाखुरामा समाएर विनयलाई कुनोतिर धकेले । विद्यार्थीहरूको भिडबाट केही छेलिए पछि पाखुरा छोडेर कान निमोठ्दै सोधे , “साले गधा, त्यो सिङ्गापुरे लाहुरेकी छोरीलाई तैँले त्यस्तो के लेखेको हँ ?”

कविताको गुह्य रहस्य कसरी लुकाउने भनेर सोचिरहेको विनयलाई त्यो प्रश्न पुरै अप्रत्याशित थियो । विनयको दिमाग पुरै टिनिनी गरेर बज्यो । के भन्ने मेसो नै पाएन । “तलाई कुर्रकुरे बैँसले छोएको । लभ गरिहिँड्ने त !” बाहुन सर कान छाडेर कन्सेरीमा सरेका थिए । विनय सकेसम्म विद्यालय भवनको भित्तोले छेलिने भरमग्दुर कोसिसमा थियो । “सर बिन्ती ! छोडिदिनुन, साथीहरूले देख्छन् के !” विनयको अनुनय थियो त्यो । बाहुन सरले आफ्नो दाइनेहातको चोरी औला विनयको अनुहारै टाँसेर भने, “हेर विनये, तँ राम्रो पढ्ने विद्यार्थी ठान्थे, मैले हेडसरलाई भनिन र तँ बचिस् । नाथे छुसी, बाहुनको छोरो भएर मतवाली ताक्नु हुन्छ ।”

विनयले घोसे मुन्टो लगाएर सुनिरह्यो । विनयको चिउँडो उचालेर बाहुन सरले थपे “लाहुरे बाउले थाह पाए भने ख्याल ख्यालमै तेरो डेढ इन्चको काटिदेलान्नी, होस गरेस् । अब उप्रान्त त्यस्तो केही थाहपाए भने हेडसरमात्र होइन तेरा बा र लाहुरेसम्म कुरो पुग्छ । बिचार गरेस् !” “यो पटकोलागि तँ र म बिचमै टुङ्गियो । लभ भनेको खराब विद्यार्थीले गर्छन् । तँलाई असल ठानेथे अगाडि थपक्क पढ्नमा मात्र ध्यान दिएस् ।” बाहुन सरले बल्ल कुरो टुङ्गाए । विनय अँध्यारो मुख लगाएर फर्कियो ।

सुमन विद्यालय गेटमा विनयलाई कुरेर बसेको रहेछ । “के भो ? दोस्रो भए भनेर कालो मुख लगाइस् कि कसो । कविता त त्यस्तै हो हेर, तेरो सायरीको भने म फ्यान ।” सुमनले कानैमा आएर फुस्फुस्याए, “अनि के भो त कुरो ।” अघिदेखि दबिएको विनय एक्कासि पड्कियो, “तिमीलाई के को खस खस हो !” विनय रिसाएको देखेर सुमनकेही तर्किदै सान्त्वनाको शैलीमा भन्यो, “केटा तेरो नि, वान साइडेडमात्र हुन लेखेको रहेछ । मैले यसो गाइगुइ सुनेको माथिल्लो कक्षाका केही केटाले त विनितालाई ठुलो ग्रिटिङ्ग कार्ड नै पठाएका थिए रे ।” सुमनको सान्त्वनाले शीतल होइन विनयलाई झन् पोल्यो ।

विनय आफैलाई सान्त्वना दिँदै थियो, “धन्न बाहुन सरले कसैलाई भन्ने र इज्जत जोगियो ।” उसलाई आफू ठुलो दुर्घटनाबाट बचे झैँ लाग्यो । उसले केही कुरो भने अझै बुझ्न सकेको थिएन । बाहुन सर विद्यालयका नेपाली शिक्षक थिए । सुनितालाई घर–ट्युसन पढाउँथे । सुमन गोत्लिन थाल्यो, “ल मानौँ बाहुन सरले अरू विषयमा यसो सहयोग गर्न सक्लान् । तर विज्ञान जस्तो विषयत उनले नपढाउन पर्ने हो ।”

सुनिता, विज्ञानको नोटकापी मागि रहन्थी र सुमन खुसी खुसी दिइरहन्थ्यो । विज्ञानको नोटकापी भित्रको पोस्टकार्ड बाहुन सरको हातमा कसरी पुग्यो ? विनयले रहस्य सुल्झाउन सकेन । विनिताले पहिला आफूले हेरेर बाहुन सरलाई दिएकी होली भन्ने अनुमान लगायो उसले । रिसको झोकमा जतनले लुकाएर राखेको त्यो सर्व–सुन्दर पोस्टकार्ड ध्र्वार पारेर बिचमा च्यात्यो, सुमनले । अझ च्यातेर धुजा–धुजा पार्नेगरी मन बौलाए थियो तर कसै गरे पनि थप च्यात्न सकेन । पोस्टकार्डको हो की सुनिताको हो, प्रस्ट खुट्याउन नसकेपनि मायाको भेल उर्लिएर आयो । उसका आँखामा आशु बनेर त्यो भेल रसायो ।

“सुमनको उल्काइमा लागेर यस्तो भएको हो । साडी लगाएकी हँसिली जूही भएको भए सुनिता पक्कै खुसी हुने थिई । ल पोस्टकार्ड त्यस्तै भए पनि “प्रियसी” र “आई लभ यु” नलेखेको भए सुनिताले बाहुन सरलाई नदेखाई आफैसँग राख्ने थिई होली । हाललाई “फ्रेन्ड” र “लाइक यु” मात्र लेखेको भए भविष्यको बाटो त छेकिने थिएन ?” विनयले यस्तै यस्तै तर्कना गर्दै च्यातिएको पोष्टकार्डको टुक्रा जतनले फेरि एक आपसमा टाँस्यो । उसलाई पोस्टकार्ड निल्नुन ओकल्नु भएको थियो । विनयले आँसु पुछ्दै साबिकको स्थानमा पोस्टकार्ड थन्क्यायो ।

आइतबार, विनय भारी मन लिएर विद्यालय गयो । उसमा न कुनै जोस थियो न केही गर्ने जाँगर । हाफ घण्टीमा (खाजा छुट्टीमा) सबै खाजा खान निस्किए । विनय भने पछिल्लो लहरको आफ्नो बेन्चमा घोसेमुन्टो लगाएर एक्लै धुम्धुम्ती बसिरहेको थियो । ढोकामा सुनिता एक्लै देखापरि । सरासर भित्र पसेर पहिलो लहरको बेन्चमा भएको आफ्नो झोलाबाट विज्ञानको नोटकापी निकाली र विनय भएतिर आइ । “नोट हरायो भनेर चिन्ता गर्‍यौ कि के हो ? तिम्रो विज्ञानको नोटकापी मेरो झोला भित्र खै कसरी परेछ ।” सुनिता उसको अघि केही नभए जस्तो गरेर उभिएकी थिई । “कस्तो नाटक गर्न सकेकी ?” विनयको मन निमोठिएर थियो । कुनै उत्तर दिएन ।

“तिमीले मेरो पोष्टकार्ड पायौ, कस्तो लाग्यो ?” विनिताले केही लजाए जस्तो गरेर सोधी । “कसले हो मेरो झोलाभित्र ग्रिटिङ्ग कार्ड हालेको रहेछ, घरमा होम्वर्क गराउँदा बाहुन सरले भेट्यो । मलाई त हेर्नपनि दिएन । को हो, थाहै भएन । मोराले सरको मार धुलाइ खायोहोला ”। विनयले मुन्टो उठाएर सुनितालाई हेर्‍यौ । सुनिताका ओठ सम्मोहक चाल चलिरहेका थिए, “तिमी चाही झोलामा नहाल । सिधै देऊ है ।”

“खाम भित्रको पोस्टकार्ड विनिताले ग्रिटिङ्ग कार्ड जस्तो देखी होली ।” कुनै रहस्य रहेन । सम्पुर्ण चिन्ताहरु विलाएर गए । अघिल्लो पोष्टकार्डको तथ्य र घटना दुवै, दबाउने अठोट गर्यो, बिनयले । हिजो सुनितालाई शंका गरेकोमा विनयले आफैलाई धिक्कार्यो, “विचरी, मेरो पोष्टकार्ड अझै कुर्दै रहिछ ।” भोलीपल्ट सुनितको हातमा साडी लगाएर पुरा–पुर मुस्कानकासाथ उभिएकी हँसिली जूही अङ्कित पोष्टकार्ड थियो र पछाडि लेखिएको थियो एउटा मौलिक सायरी ।

पोस्टकार्ड सुनिताको हातैमा थमाइ दिएको साँझ विनयले फेरि धेरै पटक शाहरुख अङ्कित त्यो सर्व–सुन्दर पोष्टकार्ड निहाल्यो । जतने मिलाएर सेलोे टेपले बिचमा टालिएको पोष्टकार्ड सुम्सुम्याउँदा भित्र–भित्र मिठो काउकुतीको अनुभव भइरहेको थियो । उसलाई लाग्यो, अब ऊ प्रमाणित नायक हो । उसको मनमा के आयो कुन्नी सुटुक्क बाको कोटको खल्तीबाट एउट चुरोट थुतेर बाँस–घारी तिर लाग्यो । सुमनले तान्ने गरेपनि विनयले अझसम्म आफैले भने चुरोटको लत सिकेको थिएन । बास घारी तिर जाँदै गर्दा उसको मनमा वेतुकको प्रश्न खेलिरहेको थियो, “साच्चै, शाहरुखको हातको चुरोट सल्किएको थियो की थिएन ?”

हाल स्टुटगार्ट, जर्मनी

Comments