यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

आदिकवि भानुभक्त आचार्यको वधु शिक्षा – हाँस्नू छैन कदापि नारीहरुले वेश्या हुने हाँस्तछन्

आज आदिकवि भानुभक्त आचार्यको जन्मदिवस। भानुभक्तले रामायणमात्र हैन, वधु शिक्षा पनि रचेका थिए। वधु शिक्षा त्यतिबेलाको समाजका लागि ठीक हो भनेर विद्वानहरुले जोरी खोज्न आए पनि अहिले पढ्दा थाहा पाइन्छ- त्यतिबेला नारीहरुलाई कस्तो व्यवहार गरिन्थ्यो। तारापति नामका एक जना साथी कहाँ बास बस्ने क्रममा भएको झगडा देखेर उनले यो ३३ श्लोकको वधु शिक्षा रचेका थिए। यो शिक्षा यति प्रतिगामी छ कि नारीलाई हाँस्न समेत प्रतिबन्ध लगाइएको छ। ‘हाँस्नू छैन कदापि नारीहरुले वेश्या हुने हाँस्तछन्’ भन्दै हाँसेमा वेश्या भइने तर्क गरिएको छ। थपेका छन्, ‘वेश्या लौ नहउन् तथापि घरको काम् ती सबै नास्तछन्।’ अझ एक्लै पनि हाँस्न हुँदैन दुक्लै पनि हाँस्न हुँदैन पनि भनिएको छ। मतलब हाँस्न त हुँदै भएन। ‘एक्लै हाँस्न हूँदैन कोहि नभई अर्को सँगी भो जसै, हाँस्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् तसै।’ लोग्ने र सासुको खुट्टा मिच्नुपर्ने उपदेश पनि दिइएको छ। पढ्नुस् आचार्यको वधु शिक्षा।

प्रस्तावना
एक थोक भन्छु न मान्नु दुःख हे मित्र तारापति ।
तिम्रा ई जति छन् जहानहरू ता जुझ्न्या रह्या छन् अति ।।
सून्याँ दन्तबझान आज घरको कर्कर् गर्‍याको जसै ।
भर्रात् जाग्रान झैं भयो मकन ता लागेन आँखा कसै ।।१।।

धन् इज्जत् र घरबार देख्छु बढिया छैनन् कुनै चीज् कमी ।
बूहारी यदि कर्कशा हुन गया क्या घर् गरौला तिमी ।।
साह्रै झोक उठयो मलाइ र बधूशिक्षा बनाया पनी ।
यस्ले पत्नि, बुहारि, छोरीहरूको तालिम् गरौला भनी ।।२।।

हुन त म अतिथी हूँ यस् बिनूँ के छ खाँचो ।
तर पनि त म भन्छु मित्र ह्वौ जानि सांँचो ।।
घर चतुरञि गर्छन् बुद्धिमान्ले अगाडि ।
बखत चुकि दिंदामा हुन्छ काहांँ पछाडि ।।३।।

उपदेश
प्रातःकाल महाँ उठेर पहिले ध्यान् ईश्वरैको गरून् ।
सो ईश्वर पति हुन् भनेर पछि त्यो भक्ती पतीमा धरून् ।।
भक्तीले पति ईश्वरै भनि बुझुन् पाऊ–तलैमा परून् ।
पूजा हो पतिको भनेर घरका काम्मा अगाडि सरून् ।।१।।

झट्पट् स्नान गरेर शुद्ध जलले सब् देह निर्मल् गरी ।
जस्तो पुग्दछ सोहि माफिक असल् धोती कटीमा धरी ।।
सासूका चरण विन्द युगमा पूजेर पाऊ परून् ।
मैले काम गरुँ क्या अह्राउनु हवस् यो ताहिं बिन्ती गरून् ।।२।।

मान्छे छन् घरका सबै जति जना तिन्लाई ढोग् भेट् गरी ।
चाकरलाइ अह्राउनू खुशि हुँदै मीठा वचन्ले गरी ।।
माटो पानी खराउ ओटन रुमाल् धोती दतीउन् धरी ।
स्नान् गन्र्या अखढा जहाँ छ तहीं गै राखुन् तयारी गरी ।।३।।

पूजाको सरजाम् गरून् पति पूजा गर्छन् प्रभूको भनी ।
पूजामा खतडा कदापि नपरोस् कुनै कुराले पनी ।।
कस्तै अल्मलमा रहोस् घरमहाँ आया जगाया अलक् ।
जोगी जञ्गमले भन्या मुठी दिनू ढीलो नगर्नू पलक् ।।४।।

घर्सब् झारि बढारि नित्य त्यसले लिप्तै र पोत्तै रहोस् ।
चाकर् सब् थलिया गया कहीं, भन्या आफै तयारी रहोस् ।।
स्वामीका चरणविन्द युगको भक्तिले. पान गरून् ।
निर्मल् देह गराउनकन उ जल् केही शरीरमा छरून् ।।५।।

जो इच्छा पतिको छ त्यो बुझि उसै माफिक् सबै काम गरून् ।
जुन स्थान हो चिजको उही लगि उ चिज् राख्न्या स्वभाव् पो धरून् ।।
स्त्रीको खालि निघार् कदापी नरहोस् खाली निधार् भै जति ।
गर्छन् कर्म फलै हुँदैन तिनका टीको लगाया जती ।।६।।

तस्मात् नित्य टिका लगाई पहिले धन्ँधा पछाडी गरून् ।
पूजाको सरजाम् तयार् गरि सकी भान्छा विषे मन् धरून् ।।
भान्छाको सरजाम चाकर गरून् भाँडा सफाई गरी ।
खाना चीज भण्डारमा पसि झिकुन् आफै अगाडी सरी ।।७।।

रोगी बालक बृद्ध कोहि घरमा हुन्छन् तिन्को पनि ।
धत् जानीकन तम्तयार चिज गरून् खान्या छ यस्तो भनी ।।
यस्ता रीत् सित चीज् वनाइ बढिया सासू–ससूरा–पति ।
लाई ख्वाइ सकेर फेरि घरका खाउन् जहान् छन् जति ।।८।।

ख्वाई प्याइ सकेर सर्ब परिवार्ले खाइ सक्छन् जर्सै ।
चूल्हा चौकी लिपाइ जल्दि ति जुठा भाँडा मझाउन् तसै ।।
जो चीज बस्तु भन्डार देखि अघि जो झीकेर ल्याई थिइन् ।
सो संझेर तुरुन्त सोहि थलमा ती बस्तु राखी दिउन् ।।९।।

अल्सी दूर गरेर नारिहरुले थान्को र मान्को गरी ।
काम्धाम्मा परिवार लायर विचार् गर्दै रहुन् दिन् भरी ।।
धागा बत्ति समेत काति टपरी दूना बोहोता पनी ।
सिन्का साफ चिरेर राखुन् अनी चाहिन्छ काममा भनी ।।१०।।

पूजा ब्रतादिहरुका जति तीथि पर्दछन् ।
सम्झे्.र गर्नु नभुलीकन पाप हर्दछन् ।।
ठूलो ब्रतै त पनि सेवन गर्नलाई ।
क्यै छैन फेरि अरु निश्चय नारिलाई ।।११।।

रोगी बालक बृद्ध सासु ससुरा जेठाजु देवर् पनि ।
फूपू सासु अमाजु नन्द जति छन् खान्छन् इ खाजा जति ।।
सब्को हित् घत जानि नित्य दिनमा खाजा बनाई दिउन् ।
यस् रीत्ले अति खुश् बनाइ परिवार सब्लाई हात्मा लिउन् ।।१२।।

सौताको रिस गर्नु पाप छ बहुत् एकै दुबैका पति ।
मर्दामा पनि जानुपर्छ जसले मीलेर सङ्गै सती ।।
यस्तो जानि नमानि केहि मनमा मीलून् बहूतैै गरी ।
टाल्टुल गर्नु फुट्यो टुट्यो घर भन्या सिप्लाई जाहेर् गरी ।।१३।।

अर्काको घरमा नजानु कहिल्यै आफ्ना घरैमा बसी ।
जे हूनू सब चीज जती छ घरमा कूना र कानी पसी ।।
पर्छन् श्राद्ध दशै तिहार अरु चाड् चाहिन्छ तिन्मा जती ।
ती चिज् सम्झि अगाडी संग्रह गरोस् यस्मा नचूकोस् रती ।।१४।।

मान्या जन् कन मान्नु जान्नु घरको ठग्को ठगाञी पनी ।
सब् सासूसित भन्न जानु उ गरून् यस्को सजाञी भनी ।।
यस्ता रीत् सित् सब् गरेर बशमा राखोस् सबैमा दया ।
तिन्को याद तुरुन्त गर्नु जन जो भोका र नाङ्गा भया ।।१५।।

पहुना जति आउँछन् घरमहाँ दर्जा छ तिन्को जति ।
सो जानेर उसै बमोजिम गरोस् मज्र्याद् न चूकोस् रति ।।
पाउन् पापि कठोर चोरहरुले सोही बमोजिम् जवाफ् ।
राखोस् इष्ट कुटुम्ब मित्रहरुमा अमृत् सरीको रवाफ् ।।१६।।

साँचो बोल्नु नबोल्नु बात कहिल्यै झुटो भन्याको रति ।
आखिर मर्नु छ पाउनू छ उति फल् यहाँ ग¥याको जति ।।
यस्तो ज्ञान् मनमा लिईकन रहुन्. सासू ससूरा पति ।
जे भन्छन् उहि गर्नु छैन अरु ता संसार तन्र्या गति ।।१७।।

भन्छन् शास्त्र पति र सासु ससुरा जेठाज्यु मान्नू भनी ।
भन्छन् ता पनि जो पति छ उसरी हूँदैन कोही पनी ।।
दृष्टान्तै पनि मिल्छ सासु ससुरा जेठाज्यु बित्ता सती ।
को् जान्छन् पति पो वित्या पनि भन्या जानू छ संगै सती ।।१८।।

हाँस्नू छैन कदापि नारिहरुले बेश्या हुने हाँस्तछन् ।
बेश्या लौ नहउन् तथापि घरको काम् ती सबै नास्तछन् ।।
एक्लै हाँस्न हूँदैन कोहि नभई अर्को सँगी भो जसै ।
हाँस्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् तसै ।।१९।।

मानिस्को त बताउँ क्या अब विचार पक्षी पशूको पनी ।
पाल्याको छ भन्या तुरुन्त बुझ्नू क्या आज खायो भनी ।।
जस्सै भो कसिंगर् बढार्नु घर भर् काहीं नराखोस् रती ।
स्त्रीले जान्नु बिचार राखि मनमा एस्तो बताऊँ कती ।।२०।।

खान्या चीज् जति छन् सबै नजरले हेरेर ढाक्छोप् गरून् ।
जो चीज हुन्छ सुकाउन्या तिनकनै ल्याएर घाम्मा धरून् ।।
खान्या चीज कुहेर फाल्न नपरोस् दीनू कि खानू बरू ।
एती जान्नु अवश्य धेर् अब बखान् कुन् कुन् कुराको गरूँ ।।२१।।

खान्या चीज नहेरि केहि नकुहुन् सब् पैह्रन्या चीज पनी ।
सप्पै याद रहोस् सदा मन महाँ यो चीज् छ यहाँ भनी ।।
चीज् ता छन् घरमा तथापि मनमा छैनन् त भै क्या भयो ।
आखिर् चीज् घरमा भई बखतको काम सब् बिती गयो ।।२२।।

जो चीज् छन् घरमा हिरा तल पिह्रा सब् चीज् मनैमा रहुन् ।
जो खोज्छन् पतिले उ चीज् उहि बखत् ल्याएर चाँडो दिउन् ।।
खोज्दामा छन ता थियो तर कता राख्याँ हरायो भनी ।
भन्नू यो पति थ्यैं प¥यो पनि भन्या मानोस् मरे झै अनी ।।२३।।

पूजाको सरजाम जति जति थोक् चाहिन्छ सो सब् गरी ।
साँझमा बत्ति जलाउनू अति ठुला पानस् विषे तेल् धरी ।।
खान्या चीज बनाइ खान दिनु जो खान्छन् परीवारले ।
जुन् चीज् राख्नु भँडार पर्छ नभुली सब् राखनु संभारले ।।२४।।

दिनदिन घरमा जो पाहुना बस्न आया ।
तिनकन नखुवाई आफुले क्यै नखाया ।।
गृहिणी भइ रह्याको यो ठुलो धर्म जान्नु ।
विहक सकि दियाको अन्न भन्या त ठान्नु ।।२५।।

काम्का खातिर जति चीज घर्का दिन्मा झिक्याका थिया ।
रात्रीमा त उ काम् हुुँदैन सब चीज् थन्क्याइ राखी दिया ।।
सम्झी कत्ति न मानि अल्सि सब चीज् थन्क्याइ ताल्चा पनी ।
लाउन् चोर चकार डाँकुहरुले देख्नै नपनउन् भनी ।।२६।।

छिनि सकि सब धन्दा सासुको पाउ मिच्दी ।
उँघिकन विखबर् भै पाउ मिच्दै त ढल्दी ।।
टहल गरि टहल्ने सासुलाई रिझाई ।
पतिसित तब जावोस् स्त्री टहल् गर्नलाई ।।२७।।

प्राणका नाथ पतिका अगाडी गइ जो फर्माउँछन् सो गरोस् ।
भन्छन् ल्यान तमाखु खान्छु भनि ता चाँडै तमाखु भरोस् ।।
किस्मिस् दाख बदाम मिस्रि नरिवल् जो चिज छ सो सो दिई ।
पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई ।।२८।।

आज्ञा माफिक पाउहरुमा मर्दन बहूतै गरी ।
पाऊमा शिर राखि सब् तहिं भनोस् जो काम गरी दिन् भरी ।।
यस्तो भो यसरी ग¥याँ यति ग¥याँ गन्र्या छु यो यो पनी ।
भन्न्या काम कुरो भनोस् पति पनी ई बात सूनुन् भनी ।।२९।।

जति गरि दिनमा काम् सो सबै विन्ति गर्दी ।
मधुर बचन बोल्दी स्वामिको चित्त हर्दी ।।
पतिकन यस रित्ले बातले खुस बनाओस् ।
जब त पति निधाउन् काखमा त्यो निधाओस् ।।३०।।

यति सब बधुशिक्षाका सिलोक् जो बनाञाँ ।
पढीलिनु सबले नारीको हित् जनाञाँ ।।
यहि रितसित जो स्त्री नित्य सब् काम गर्छन् ।
उभयकुल सँगै ली ती सहज् पार तर्छन् ।३१।।

स्त्रीको धर्म पतीमती पनि मन्र्या बखतको गति ।
बाचुञ्जेल सुख भोग पनि बुझि लिंदा को दिन्छ त्यसले जति ।।
स्त्रीको धर्म पति जती त अरुथोक देख्दैन मन्ले रति ।
यसलोकमा परलोकमा सुख दिन्या सो हेर जान्छ सती ।।३२।।

स्त्रीको धर्म पतिब्रता अति ठुलो जो गर्छ भक्तिले ।
आफ्ना कुल सब तारि पितृहरूको कुल तार्छन् शक्तिले ।।
स्त्रीको जन्म भयो भन्या त पतिको सेवा छ साह्रै ठुली ।
जो सेवा त गरी अनेक् अरु गरोस् साँचो कुरामा भूली ।।३३।।

6 comments to आदिकवि भानुभक्त आचार्यको वधु शिक्षा – हाँस्नू छैन कदापि नारीहरुले वेश्या हुने हाँस्तछन्

  • Shankar

    कविताको अर्थ सिधै भन्दा को भन्दा अलि फरक हुन्छ | उनले हास्नु हुन्न भन्नु को तात्पर्य छिल्लीनु हुन्न भनेको जस्तो लाग्छ | किनकि सिकारी केटाहरु को नजर कसरि केटि फकाउने भन्ने हुन्छ , केटि ले हास्दिये , येसो लिफ्ट दिए कुराले ब्यबहार मा अर्कै मोड लिन सक्छ |
    आदिकबिले येसैमा ध्यान आकर्सन गरेका हुन् |
    दार्जलिङ्ग , सिक्किम तिर त् भानु जयन्ति बडो धुमधाम ले मनाउछन त् तेताको नेपालि ले चै यो बधु सिक्ष्या सुनेकै रहेनछन कि ?

    नेपालि साहित्या बाट भानुभक्त , लेखनाथ ,देबकोटा , माधब घिमिरे लाइ हटाइदिने ,
    नेपाल को इतिहास बाट प्रिथ्भी नारायण लाइ बिर्सिदिने , गीत संगीत बाट नारायण गो[पाल , नातिकाजी लाइ बिर्सिदिने , रहन्छ के ?
    गीत त् सबैले लेख्छ , हाजारौ गीत नेपाल रेडियोले बाजाउछ , तर फुलको थुङ्गा बगेर गयो , गाउ छ गीत नेपालि , ज्योतिको पंख उचाली , मेरो घाउ तिमि नहासेपो दुख्छ , कुन मन्दिर मा जान्छु यात्री जस्ता स्रस्ठा बिरलै पाउछ |
    आफ्नो धरोहर लाइ सस्तो न ठानौ , नबनाउ |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • madan man bajracharya

    नारि हाँसेमा बेस्या हुने भन्नेलाई नै नेपालको संबिधान लेख्न दियको भय बिस्वमा नेपाल नारीहरुको संदर्वामा तालिवानलाई पनि मात गर्ने थियो/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • पृथ्वी

    समय लाई फर्केर हेर्दा सिरिङ्ग हुन्छ, मेरो आमाले पनि करीब करीब भोग्नु भयो, २०० बर्ष अघी अत्याचार को सिमा नाघेकै थियो, अहिले नेपाली नारी नेपाल भित्रै धेरै स्वतन्त्र छन, नेपाल भित्र मात्र, बाहिर अरु देश मा हैन, बिदेशिएका कतिपय नेपाली नारी बेचिएर दासी को जिन्दगी जिउनु परेको समेत छ !
    अरु देश को कुरो हेर्ने हो भने त्यो समय मा संसार भरी नै नारी माथि अत्याचार भएको हो, युरोप अमेरिका मा त अझ दास प्रथा थियो, काला हरु लाई सिक्री मा बाधेर बेच बिखन गरिन्थ्यो, काला नारी हरु लाई जे गरे पनि पाइन्थ्यो, जती काम लगाये पनि, जती बलात्कार गरे पनि, जती पिटे मारे पनि, सेता वर्ण का नारी हरु बिद्रोही भये भने चोक को माझ मा ज्युदै जलाइन्थ्यो, (विच बर्निङ) अहिले ति देश हरु जान्ने भएर हामीलाई मानव अधिकार सिकाउन आउछन, आज पनि मुसल्मान देश मा हेर्ने हो भने भानुभक्त को पालाको चलन भन्दा धेरै पिछडिएको चलन जस्ताको तस्तै हेर्न पाईन्छ । आईमाई ले बुर्का लगाउनु पर्ने, एक्लै हिंड्न नपाउने, पर पुरुष सग सम्बन्ध भएमा वा बलात्कार नै भएमा पनि म्रित्युदण्ड दियिने, इत्यादी आङ नै सिरिङ्ग हुने चलन कानुनी मान्यता अनुसार नै चलेका छन, हाम्रो नेपाल त त्यो हेरी कयौ गुणा प्रगतिशिल र स्वतन्त्र देश हो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • गौरव नेपाली

    ए सर र म्याडमहरु,
    उ बेलाको समाजको कुरो भनेर समग्र नेपाली समाजलाई प्रतिनिधित्व गरेको सोचनु भएन|
    तनहुमा होला, कुनै जाति बिशेषको समाजमा चलेको होला तर नेपाल मुलुकैमा यस्तो थियो भन्ने सोच गलत हो|
    कतिपय आदिवासी जनजाति र भनौ तामाङ्ग गुरुङ थारु लिम्बु मगर आदि जन समाजमा त्यस्तो थिएन| साँझमा घरमा आएका पाहुनालाई निकालिदिने उबेलाको जमानामा आदिवासी जनजातिमा अकल्पनीय छ| अतिथिदेव भव: भन्ने नसुनेको भए पनि त्यसको मर्मलाई आफ्नो संस्कृतिको अंग नै बनाएका थिए|
    घरमा पाहुना लाग्दा मित्रकै घर भए पनि महिलाहरु मात्र भएको बेलामा साँझमा पुग्दा कस्तो व्यवहार गर्नु पर्ने हो? तारापति र उँहाका परिवारलाई इन्टरभ्यु गर्न पाएको भए कुरोको गाँठी खुल्ने थियो तर त्यो सम्भव थिएन र भएन अनि कतै एकतर्फी जजमेन्टले तारापति परिवारलाई अन्याय भएन नत्र लगभग तालिबान शैलीमा शिक्षा दिन पर्ने स्थिति कसरि आयो?
    भनेछी यो कसरि सम्पुर्ण नेपाली जनसमाजलाई शिक्षा दिने ग्रन्थ भयो? कि आदिवासी जनजाति नेपालीको परिधि भित्र पर्दैन भन्ने सोचले भन्या हुन् कि?
    अझ कुरा अघि बढाउने हो भने तनहुमा “बढिया” भन्ने शब्द प्रयोग गरिएको बुझिएको छैन त्यो बेलालाई अध्ययन अवलोकन गर्ने हो भने| बनारसी बाबु मोतीरामका हाई कल्पनाका उपज जस्ता देखिन्छ|
    भानुभक्तले सहज रुपमा नेपालीमा रामायण अनुवाद गरेर नेपालीले अक्षर चिन्न सके भन्ने
    भनाई अरु जातिमा के कसो लागु भयो कुन्नि, आदिवासी जनजातिमा चाहि यो साँचो होइन|

    तनहुबाट धवलागिरी हिमाल शृंखलाको निशुल्क मनोरम स्वर्गिक दृश्य रसास्वादन गर्न पाइन्छ|
    भानुभक्तले बालाजु उद्यान देख्दा स्वर्गसरी मान्दै ग रेको बयान मोतीरामले नै रचेका हुन् वा भानुभक्तले आफ्ना गाउँ पारिका हिमाल शृंखलालाई चट्टै बिर्सेका हुन्?

    भानुभक्तले भर्जन्म पद्यमा इनार खनाएको र घाँस बेचेको प्रसंग ल्याएका छन्| शताब्दी अघि एउटा टाडाको पहाडी गाउँमा इनार खनाउनु सट्टा पाटी पौवा सत्तल चलनमा थियो होला| घाँस बेच्ने कुरै छैन| यो पनि बनारसी सर्जक मोतीरामका कल्पनाले उडानको गति लिएको हुनसक्छ|
    जुन झुटो र मिथक हुन्, त्यसलाई सच्याउन पर्छ, यो आजको पुस्ताले खोज अनुसन्धान गरेर तर्क र प्रमाणको आधारमा विस्वस्त रुपमा अघि ल्याउन पर्छ| इतिहास र ठुलाले रचना गरेको भन्दैमा फेस भ्यालुमा लिन मिल्दैन| एउटा पछि अर्को पुस्तामा हजारौ चोटि घोकाए पछि झुट पनि सच् बन्छ रे|
    त्यसको मतलब सर्जक, श्रष्टा र दिग्गजलाई श्रद्धा नगरौ भन्ने होइन तर केल्याएर जिल्याएर हेरेपछि मात्र|
    अन्तमा, हाम्रा आदिकविलाई भ्रष्टचार मुद्दामा त्यो बेलाको सरकारले दुई बर्ष जेल हालेको रहेछ| त्यो पनि अन्याय भयो कि?
    कसैलाई दोष पोख्नु र पूर्वाग्रह राख्ने यो मन्तब्यको अभिप्राय कदापि होइन तर यी पन्क्तिहरुले हजुरहरुको विचारको पोखरी अलि छचल्किएर तरंगित भयो भने सार्थक ठान्नेछु|

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Dig Tamang, USA

    समय र परिस्थितीले मानिस समाज परिवर्तन गर्छ नै, नारीहरु भनेका शान्त स्वभावकी होस् लजालु होस्, अनि तहिनै नारीको सौन्दर्य हुन् भनेका होलान भानु भक्ताजिले जस्तै

    एक थोक भन्छु न मान्नु दुःख हे मित्र तारापति ।
    तिम्रा ई जति छन् जहानहरू ता जुझ्न्या रह्या छन् अति ।।
    सून्याँ दन्तबझान आज घरको कर्कर् गर्‍याको जसै ।
    भर्रात् जाग्रान झैं भयो मकन ता लागेन आँखा कसै ।।१।।

    धन् इज्जत् र घरबार देख्छु बढिया छैनन् कुनै चीज् कमी ।
    बूहारी यदि कर्कशा हुन गया क्या घर् गरौला तिमी ।।
    साह्रै झोक उठयो मलाइ र बधूशिक्षा बनाया पनी ।
    यस्ले पत्नि, बुहारि, छोरीहरूको तालिम् गरौला भनी ।।२।।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Sunil, London

    यो त्यति बेलाको नेपाली समाज को कुरा भयो ! शायद त्यसै प्रकारको चलन थियो र भानुले सहि कुरा लेखेका हुन् कि ?
    एकपटक भानुभक्त बास माग्न एकजना मित्र कहाँ गएछन , तर त्यहाँ कुनै पुरुष नभएको कारण देखाई एकजना महिला ले बास दिन इन्कार गरिछन ! अनि भानुले लेखेछन “गजाधर सोती कि घर बुढी अलच्छिन कि रहिछन नर्क जान भनि…..” ! तिनताक पुरुष नभएका घर मा एकजना पर पुरुष लाई बास दिनु शायद वर्जित थियो कि ?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0