यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

यज्ञनिधि र पुरस्कार


दाहाल यज्ञनिधिको शुक्रबार निधन भएको छ। उनीबारे डा. लेखनाथ काफ्लेले लेखेको यो ब्लग June 19th, 2013 मा माइसंसारमा प्रकाशित भएको हो। श्रद्धाञ्जलि!

‘जदौ’ भन्दै बिहान बिहानै ‘साहित्य संसार’ रेडियो साहित्यिक कार्यक्रम मार्फत आउने ‘यज्ञनिधि दाहाल’ ले आफ्नो मौलिक स्वर र रचनाहरू वाचन गर्ने जादुमय कला मार्फत सरल भाषामा नेपाली साहित्यलाई जनता समक्ष पुर्‍याए । साहित्य जस्तो गम्भीर र अफ्ठ्यारो विधालाई जन-जिब्रोमा पुर्‍याउने उनको कार्य निकै महत्त्वपूर्ण छ । यज्ञनिधि दाहाल असली नाम भए पनि उनी दाहाल यज्ञनिधि भनेर आफूलाई चिनाउछन, ‘यज्ञनिधि त पछि आएको हो, दाहाल त जन्मिनासाथ जोडिएको हो । पहिले आएको पहिले पछि आएको पछि’उनको सजिलो व्याख्या । खोटाङ खाल्ले ८ धारापानीमा बि. सं. २०१० साउन ४ गते जन्मेका उनी माता कृष्णा कुमारी पिता तारानाथ दाहालका जेठ छोरा हुन् ।

उनले रेडियो नेपाल मार्फत नेपाली साहित्यको २०३४ साल देखि २०६१/६२ सम्म निरन्तर सेवा गरी नेपाली साहित्यिक ज्ञानको घेरालाई नेपालीहरू माझ फैलाई रहे । उनका दुई ओटै मृर्गौलाले काम गर्न छाडेपछि २०५७ साल फागुन १० गते मृर्गौला प्रत्यारोपण गरिएकोमा प्रत्यारोपण गरी खिएका दुई ओटै मृर्गौलाले पनि राम्ररी काम नगर्नाले २०६८ साल साउन २२ गतेदेखि उनी ओछ्यान परेका छन् । ‘बिराम आइलाग्यो रुन्चे मुख लाएर भएन । कहिलेकाहीँ बोल्नै नसक्ने बनाएर झ्याप्पै छोप्छ । मर्ने बेला त मान्छे बोल्छ नि, बोल्ने तागत रहेसम्म मान्छे बोल्छ म बोल्दै छु’ उनी यसै भन्छन्।

मैले दाहाल यज्ञनिधिको बारेमा लेख्न बस्दा खगेन्द्र संग्रौलाको एउटा प्रसङ्ग मेरो सम्झना कुदिरह्यो। संग्रौला भन्छन् “यदि कसैले मैले साहित्यमा लागेर नेपाली भाषा साहित्यलाई गरेको योगदानलाई राज्यले हेरेन, मान-सम्मान केही गरेन भन्छ भने त्यो सच्चा सर्जक हुँदै होइन। हामी आफ्नो रुचि र इच्छाले साहित्यमा लाग्ने हो कसैको करकापले होइन। नेपालमा साहित्य पेसा होइन रुचि हो। साहित्यमा लागेर केही पाउँछु भन्ने छ भने त्यस्ताले साहित्यमा नलागेकै बेस”। मलाई त्यो लेख पढ्दा यी गनगने कुन्सांग काका खगेन्द्र जहिले पनि बाङ्गा कुरा मात्रै लेख्छन् भन्ने लागेको थियो। तर पछि हाम्रो परिवेश र अबस्थामाबारे मथिंगल तताएपछि र केही घोत्याईंपछि लाग्यो उनको भनाइ त एकदम सही पो रहेछ।

दाहाल यज्ञनिधि खगेन्द्र संग्रौलाले देखेका र लेखेका तिनै पात्र हुन् जो आफ्नो मनैबाट साहित्यमा लागे, त्यो पनि केही पाउँला र हुँला भन्ने आशा नगरिकनै। उनी लागे र लागिरहे। उनलाई दुख दिने कति भए, प्रताडना गर्ने कति भए, अझै कसैले त व्यक्तिगत गाली गरेर लेख्न पनि भ्याए तर पनि उनी लागिहे। साहित्य उनको फेर्ने श्वास र सोच्ने बिचार हो। श्वास फेर्न र सोच्नको लागि कोही कसैसँग आशा र माग गरिन्छ र ?

आफ्नो आदर्शलाई अगाडी राखेर त्यसैलाई पछ्याउने निकै कम नेपालीहरूमा यज्ञनिधि पनि पर्दछन्। उनी विपीको प्रजातन्त्र र समाजवादमा निरन्तर आस्था वान भए बितेका गणेशमान र बाँचेका प्रदीप गिरी जसरी। तर उनले आस गरेको र भर परेको पार्टी भने उनको आदर्श भन्दा धेरै टाढा भर्खरै बितेकी बेलायती भु पु प्रम मार्गरेट थ्याचरको नवउदारबाद र निजीकरणको स्विमिंग पुलमा बाकटे खेलेको धेरै भैसकेको छ। त्यसैले त उनका राजनीतिकर्मी बढी र नेताकमका भएका र राजनीतिलाई सेवा भन्दा पेसा बढी बनाउने सहकर्मी बुख्याँचाहरु सडकपतिबाट अरबपति हुँदा समेत दाहाल भने जस्ताको त्यस्तै रहे।

नेपालमा हुने प्रत्येक आन्दोलन र परिवर्तनमा उनलाई अगाडी सारेर रगत तताउने कुरा बर्षाउन लगाए नेतागणले। उनी पनि हौसिए र भने “जदौं”। आन्दोलन सकियो र सकियो उनको उपादेयता पनि। रेडियोमा “जदौ” भनेर देशभरि साहित्यलाई जनजन सम्म पुर्‍याउने उनलाई नेपालका अरू पार्टीका नेताहरूको त के कुरा आफूले मनमा राखेको पार्टीका कुनै समय सँगै सडक तताएकाहरूले पनि अछुत कै व्यवहार गरे। यस्तो लाग्दथ्यो उनी समाजमा हेपिएका दलितहरूले संरक्षण गरेको शब्द “जदौ” बारम्बार रेडियोबाट ओकल्दै थिए। अनि उनलाई पनि केही मानिसहरू दलितको दायरा भित्रै राखेर व्यवहार गर्दथे। उनको नेपाली भाषालाई गाउँ गाउँ सम्म पुर्‍याउने काम पनि नेपाली साहित्य हाम्रो मात्रै पेवा हो भन्ने केही सम्भ्रान्त र साँघुरो सोचाई राख्ने वर्गले पचाउन सकेन, सकिराखेको छैन। त्यसले त उनलाई झनै बिद्रोही बनायो जो आफ्नै सहकर्मीहरूको पनि स्वार्थ विपरीत थियो। तर पनि उनी बदलिएनन् बिद्रोही नै बने, स्वरमार्फत साहित्य र जनजागरणको लामो, अफ्ठ्यारो र घुमाउरो बाटोमा हिँडिरहे निरन्तर, जीवन नपहेलिंजेल, जीवन नगलुंजेल, स्वरमा कम्पन रहुन्जेल।

उनी आन्दोलनमा अगाडी अगाडी हिँड्दा पछिपछि लाग्नेहरू आन्दोलन पछि राज्य र समाजबाट लिन सकिने र पाउन मिल्ने सबै सुखसुबिधा प्राप्त गर्ने ठाउँमा पुगे। उनलाई भने खोला तर्दा प्रयोग गरिएको लौरो वा ढुङ्गा जस्तो खोलाको अर्को किनारा तीरमै छाडियो। त्यो ढुङ्गा जुन धन र मान प्राप्तिको गन्तव्यमा पुग्न हतारिएको मनुवालाई व्यवधानहरूको गहिरो नदी सुरक्षित तारिदिन्छ र पर्खेर बस्छ तिनै यात्रुहरूको जुन एकदिन फेरी फर्केर आउने छ भन्ने आशामा। तर उनलाई थाहा थिएन सहकर्मीहरू कहिल्लै फेरी फर्केर आउने छैनन् किनकि उनीहरूको गन्तव्य, बाटो र साधन बदलिसकेको छ। तै पनि खोला तारिदिने माझी उनी कसैलाई गुनासो गर्दैनन्।

सायद एउटा आदर्शवान् मान्छेहरूको लाममा उनी सधैँ अगाडी बसेरै होला, उनकै सहकर्मी मन्त्री बने, डाइरेक्टर बने, जिएम बने पनि उनी भने ध्रुव तारा जस्तै सधैँ चिसो उत्तर दिशा मै टिलपिल, जहाँको त्यही रहे । उनले त्यही जीवन रोजे, त्यही जीवन भोगे जुन उनको विचार सुहाउँदो थियो, आफ्नो मनको तरङ्ग अनुरूप थियो। उनले आदर्शलाई मोल मोलाइ गरेनन्, बिक्रीमा राखेनन्, निधार वा छातीमा टाँसेर देखाउँदै हिडेनन। उनको आदर्श उनको जीवन पद्धति बन्यो।

नेपाली साहित्यमा दिइने पुरस्कारहरू पनि एनजीओ वा पसल जस्ता भएका छन्। निश्चित स्वार्थ र उद्देश्य प्राप्त गर्नको लागि बाँडिने बक्सिस जस्ता छन् पुरस्कारहरू । महाकवि लक्ष्मीप्रसाद देवकोटा समेत मदन पुरस्कार पाउनलाएक भएनन् भने यज्ञनिधिले नेपालका कुन पुरस्कार पाउलान् र ? फेरी मलाइ पुरस्कार र सम्मान चाहियो भन्दै जुम्ला हात र लम्पसार गर्ने मनुवा उनी परेनन्। “लोकले चिने र आफूले कर्म गरे, भइहाल्यो नि। पुरस्कारले के नै लछारपाटो लगाउँछ र ?” भन्ने उनको बिचारले आदर्शको बदलामा पुरस्कार साट्न र बाँड्न बसेका खुद्रा र होलसेल पसलेहरूलाई बिझाउने नै भयो। उनी तिनीहरूको आँखामा बिझ्ने, मनमा घृणा पैदा गर्ने र मुटुमा डर उत्पन्न गर्ने अर्कै लोकका जीवात्मा बनेर निस्के। त्यसैले उनी न यताका बने न उताका। खासमा कसैका पनि होइन र पनि सबैका हुन, उनी आफ्नै हुन्, आफूजस्तै हुन चाहन्छन् न की अरूको फर्मामा पसेर अरूले भने जस्तो रूपमा ढालिने पग्लेको ढलौट।

दुखी, पछाडि पारिएका र दबाइएका नेपाली जनजनको माया, उनी प्रतिको भरोसा र विश्वास अहिले पनि उस्तै छ जुन पहिले थियो। उनी जनताको लागि प्रत्येक शासकको विरोधी खेमामा रहे भलै त्यो आफैले कुनै दिन मनले खाएको नेता र पार्टीको सरकार किन नहोस्। त्यही साहस र विद्रोहका कारणले पनि उनी गाउँमा, सहर, गल्ली चोकमा चर्चित छन्। मलाई डर र शङ्का लाग्छ, उनको मृत्युपछि केही मानिसहरूले उनको नाउँमा पुरस्कार स्थापना गर्नेछन्, फोटाहरूमा माला लगाएर आँसु झारेको नाटक गर्नेछन् नारायण गोपाललाई जस्तै वा कुनै पार्टीले आफ्नो झन्डा समेत ओढाउने छ, स्व. गणेशमानकोलाई जस्तै।

यज्ञनिधिले फेरी अर्को बिद्रोही स्वर निकालेर मृत्यु शैयाबाट बौरिएर भन्नु पर्ने छ “मेरो मृत्युपछि मेरो जीवन भरिको कमाइ, मेरो विश्वास र आदर्शलाई बिक्रीमा राख्ने काम नगर। मेरो नामको ब्यानर बनाएर मेरो आदर्श विपरीतको पसल नखोल। बाँचुन्चेल दानव देख्नेहरू हो ! मरेपछि देउता बनाउने प्रयास नगर। यो लोकमा मैले जे गरे, जे पाए त्यसमा पुरै खुसी छु। बाँचुन्चेल मेरो खुसीमा खुसी हुन नसके पनि, दुख्खमा सहभागी नबने पनि, सक्छौ भने मृत्युपछि मलाई नपछ्याउ। बरु आफैले एउटा राम्रो काम गर। आफ्नो लागि होइन समाज र पछाडि पारिएका र हेपिएका, दबाइएकाहरूको लागि केही गर। मलाई कुनै झन्डा र पार्टीमा सीमित नगर म बाँचुन्जेल जनताकै भए र मरे पछि पनि जनताकै हुन चाहन्छु। म त्यसैलाई मेरो सच्चा सम्मान ठान्नेछु”।

जदौ !

उनको चर्चित एउटा कविता ढिकुरोको गीत

टालेको टालो टाउकोमा हाल्यो बुल्बुले यी केसमा
मगेर्नी मैया ? मजेत्री सिउने स्यो छैन यो देशमा
होलाकी भन्दा बुलाकी गयो के लाउनु गहना
बेसहा खोज्ने माझीलाई मार्दा भाँचियो बहाना ।

भिरालो बाटो गलेनी फाटो धराली भासियो
जुनदिन यहाँ स्वतन्त्रताको प्रणाली मासियो
बिरालो पाली सिंह हो भन्ने शासनको सोख भो
भाइ-भाइको रगत पिउने यहाँ एउटै कोख भो ।

सन्तान तिम्रा सन्तान मेरा यो देशका हैनन् रे
समुच्चा देश एउटाको बिर्ता हत्यारा कैरन रे
कम्मरु कस्ने पटुकी फुकाइ कात्रोमा हालियो
फाटेको चोली च्यातेर खोलि चितामा बालियो ।

बलिन्द्र धारा त्यो आँशु पुछ्ने पोइ पनि रहेन
एकसरो गुन्यू किन्दिने कोही माइती भएन
कठाले टालो टाउकोमा हाल्यो बुल्बुले यी केसमा
मगेर्नी मैया मोहतो तुन्ने स्यो छैन यो देशमा ।
***

4 comments to यज्ञनिधि र पुरस्कार

  • आङ दावा जाङबु शेर्पा

    मैले लेख्न लागेका श्रद्धन्जलीका यी दुई-चार शब्दहरु, दाहाल यज्ञनीधिको नेपाली साहित्यप्रतिको देन र वहाँको साहित्यिक वाचन र प्रस्तुती शैलीबाट मैले पाएको आनन्दको सानो ब्याज मात्र हो।

    हार्दिक श्रद्धान्जली ‘जदौ’ वहाँ प्रति!

    आङ दावा जाङबु शेर्पा

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Sashaa

    REST IN PEACE

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • suman rai

    हार्दिक श्रद्धान्जली |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Ratna Thapa

    हार्दिक श्रद्धान्जली ‘जदौ’ बाजेलाइ | उहाँको जस्तो कविता वाचन शैली र स्वर शायदै अब कसैको मुखारविन्दुबाट सुन्न पाइएला यो जुनीमा | “दाहाल यज्ञनिधि” संसारभरीका नेपाली साहित्यकार र साहित्यअनुरागीको मन र मस्तिष्कमा अमर रहनु हुने छ | हार्दिक श्रद्धान्जली |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0