यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : कैलाशमा गणतन्त्र

-राजु अधिकारी-

भगवान् शिवको पार्वतीसँग बिहे नहुँदै उनका परिवार भने पनि साथीहरू भने पनि नन्दी, भ्रिंगी, भूतप्रेत र गणहरू नै थिए। त्यति बेला उनीहरूलाई महादेवले स्वतन्त्र छोडिदिएका थिए। उनीहरूले आफूले गर्न चाहेको कुरा गर्थे, खान चाहेको कुरा खान्थे, डुल्न चाहेको ठाउँमा डुल्थे। महादेवलाई ध्यानमा बस्दैमा फुर्सदै हुँदैनथ्यो, उनीहरूको वास्ता गर्ने समय कहाँ हुनु? केही काम बिराएमा कहिले काहीँ नन्दीले यसो हप्काए जस्तो गर्थ्यो तर पनि उनीहरूको स्वतन्त्रतामा उसले पनि केही बाधा पु-याएको थिएन। अधिकांश समय नन्दी पनि महादेवले ध्यान गरेको ठाउँको अगाडी गएर महादेवको द्यान नसकिँदा सम्म थपक्क त्यही बस्थ्यो।

तर विवाह गरेर माता पार्वतीलाई महादेवले कैलाश भित्र्याए पछि पहिले को उनीहरूको स्वतन्त्रता खोसिएको थियो। माता पार्वतीको आदेश अनुसार निकै अनुशासनमा बस्नु पर्थ्यो। दिएको मात्र खान पाइन्थ्यो, जहाँबाट जे निकालेर पनि खान पाइने दिन सकिएका थिए। जथाभाबी फोहर गर्न पाइँदैनथ्यो। हरेक कुराहरू सफा राख्नु पर्थ्यो। समय सीमामा बस्नु पर्थ्यो। त्यसैले माता पार्वतीको आगमनले उनीहरूको स्वतन्त्रतामाथि अंकुश लगाएको थियो।

अझ केही समय पछि बालक विनायकको जन्म भए पछि त उनीहरूको स्वतन्त्रता र महत्त्वमा अझ धक्का लागेको थियो। महादेव पार्वती र नन्दीको समय र महत्त्व बालक विनायकमा गएर अड्किएको थियो। अरूहरू भन्दा पनि गणहरूले यसलाई आफ्नो आत्मसम्मानमा ठेस लागेको रूपमा लिएका थिए। गणहरूले खाए खाएनन्, के गरे, कहाँ गए कसैलाई वास्ता हुँदैनथ्यो। उनीहरू आफ्नो त्यो उपेक्षाले गर्दा पार्वती र गणेश प्रति निकै क्रुद्ध थिए। बालक विनायक अलि ठुलो भए पछि उनी गणहरू सँग खेल्न थाले। गणहरूले पहिले पहिले वास्ता नगरे पनि बाल विनायकको बाल चंचलता र अबोधपन देखेर उनीहरूलाई पनि माया लागेर आयो। कहिले काहीँ विनायकले आफूलाई खान दिएको मोदक ल्याएर गणहरूलाई खान दिन्थे अनि उनीहरू पनि मख्ख पर्थे।

दिन प्रतिदिन विनायक बढ्दै जान थाले अनि उनीहरू सँग को संगत पनि बाक्लिदै जान थाल्यो। उनीहरू मिल्ने साथी भए। उनीहरूको त्यसपछि माता पार्वती र बाल विनायक प्रतिको रिस पनि बिस्तारै सेलाउँदै जान थाल्यो। त्यो सबै कुरा पातालमा बस्ने दैत्यका गुरु शुक्राचार्यले नजिकबाट नियाली रहेका थिए। कैलाशमा यदि अस्तव्यस्त वातावरण बनाउन सकियो भने भगवान् शिव आफ्नै पारिवारिक अस्तव्यस्ततामा भुल्ने छन् अनि दैत्यहरूले देवतालाई हमला गरे भने उनले त्यतातिर ध्यान दिने छैनन् भन्ने उनलाई लागेको थियो। महादेवको सहयोग नभए पछि दैत्यहरूले देवतालाई सजिलै जित्न सक्थे। तर गणहरू र बाल विनायकको मेल मिलाप भइसके पछि, शुक्राचार्यले चाहेको जस्तो अस्तव्यस्त वातावरण कैलाशमा बन्न सकेको थिएन।

त्यसैले दैत्य गुरु शुक्राचार्य एउटा योजना बनाए र तुरुन्तै पाताल गएर दैत्यराज सँग भेटी आफ्नो त्यो योजना सुनाए। दैत्यराजले गुरुको कुरा नसुन्ने कुरै भएन। त्यसैले दैत्यराजले आफूले सबभन्दा विश्वास गरेको कूटनीतिज्ञलाई बालकको रूपमा भेष बदलेर कैलाश जान भन्यो। गणहरू र विनायक खेलिरहेको ठाउँमा पुगेर उक्त बालकले विनम्र रूपमा ‘ म पनि खेल्न पाउँछु?’ भनेर सोध्यो। बाल विनायकले तुरुन्तै हुन्छ भन्दिए। त्यसपछि उनीहरू सँगै खेल्न थाले।

उनीहरू केही दिनमै साथी बने अनि उक्त दैत्यले गणहरूलाई उकसाएर कैलाशमा उनीहरूले राज्य गर्न पाउनुपर्छ भनेर महादेवसँग माग उठाउन प्रेरित ग-यो। तर त्यो साहस गणहरूमा थिएन। त्यसैले विनायक मार्फत त्यो माग उठाएर उसले गणहरूलाई कैलाशमा उनीहरूले नै राज्य चलाउन पाउनु पर्छ, अर्थात् कैलाशमा गणतन्त्र (गणहरूको शासन प्रणाली) हुनुपर्छ भन्ने प्रस्ताव लिएर पठायो।
बाल विनायक त्यो माग लिएर पिताजी कहाँ गए। उनको कुरा सुनेर महादेवलाई हाँसो उठ्यो।

महादेवले हाँस्दै सोधे- ‘कसले भनेको, यहाँ गणहरूले राज्य सञ्चालन गर्न पाउनु पर्छ भनेर?’

‘मैले भनेको। हजुर सधैँ ध्यानमा बसेर कैलाशको शासन व्यवस्थामा समय दिन सक्नु भएको छैन, पिताजी। गणहरूलाई राज्य सञ्चालन गर्न दिएर कैलाशलाई गणतन्त्रमा लगियो भने उनीहरूले हजुरले भन्दा राम्ररी शासन गर्ने छन्। मेरो लागि पनि सोच्ने छन् किनभने उनीहरू मेरा सबैभन्दा मिल्ने साथीहरू हुन। त्यसैले अहिलेको भन्दा गणतन्त्रमा मेरो रेखदेख पनि राम्रो हुनेछ, कैलाश पनि अझ सुन्दर हुनेछ, सबैले सम्मानित भएर बाच्न पाउनेछन्। त्यसैले कैलाशमा हामीलाई जसरी भए पनि गणतन्त्र चाहियो।’

‘बच्चा भएर यस्तो नचाहिने कुरा नगर विनायक। तिमीलाई अहिले के खानपिन, रेखदेख, स्वतन्त्रता, सम्मान के पुगेको छैन र?’ महादेवले बाल विनायकलाई सम्झाउन खोजे।

‘मेरो मात्र कुरा होइन। कैलाशमा बस्ने सबैले समान अधिकार पाउनु पर्छ। हजुर नै हेर्नुहोस् नन्दी र गणहरूको बिचमा असमानता। न समान स्वतन्त्रता छ, न समान सम्मान छ, न समान अधिकार छ, न समान अवसर छ। हामीलाई यो कुरा स्वीकार्य छैन।

‘तिमीले मात्र भनेर भएन नि। अरूहरूले के सोचेका छन्, सोधेका छौ?’ महादेवले उनलाई अझै सम्झाउन खोज्दै थिए।

‘मलाइ अरू कुरा मलाइ थाहा छैन, हामीलाईजसरि पनि गणतन्त्र चाहिन्छ’ विनायकले जिद्दी गरे।

‘ल म यसमा बिचार गरौला, तिमी अहिले खेल्न जाऊ’ भनेर महादेवले बच्चालाई फकाउने हेतुले विनायकलाई पठाए।

विनायक पनि खुसी हुँदै गएर गणहरूलाई त्यो कुरा सुनाए।

तर धेरै दिन बितिसक्दा पनि महादेवले गणतन्त्र दिने कुरा गरेनन्। गणतन्त्रको कुरा सेलाऊँ थालेको थियो। अनि उक्त दैत्यले गणहरू र विनायकलाई पुन: उक्साएर आन्दोलन गर्न भन्यो। विनायकले भोक हडताल गरे, अनि आफ्नो सुँडले कैलाशका संरचनाहरू भत्काउन थाले। त्यसमा दैत्यले र गणहरूले पर्दा पछाडिबाट सहयोग गरे। बाल विनायकको त्यो मूर्खता र जिद्दीपन देखेर महादेवले गणतन्त्रको लागि हुन्छ भनिदिए।

गणतन्त्र आए पछि गणहरू, गणेश अनि भूत प्रेतहरू सँगै मिलेर भोज गरे। अब कैलाश पहिले भन्दा राम्रो हुने भयो भनेर सबै खुसी भए।

गणतन्त्र आएको केही दिन पछि पार्वती आफ्ना पिता हिमालयलाई भेट्न कैलाशबाट हिमालय पर्वत को घरतिर लागिन। कैलाशमा भगवान् शिवलाई पनि ती बालक विनायक लाई स्याहारेर बस्न झ्याउ लाग्यो अनि त्यसै पनि बाल विनायक गणतन्त्रमा गणहरूसँग रमाएर बसिरहेका थिए। त्यसैले महादेवले गणका नेताहरूलाई ‘म आज देखि केही दिनको लागि ध्यानमा बस्न जान्छु। विनायक बच्चै छ, उसलाई राम्ररी स्याहार्नु। उसलाई अनि कैलाशका अन्य बासिन्दाहरूलाई खानपिन, सुरक्षा, मनोरञ्जन आदिमा केही कमी हुन नदिनु। उ बिरामी भयो भने राम्ररी उपचार गर्नु, उसलाई हरेक दिन पढाउनु। सबै मिलेर बस्नु, एक आपसमा झगडा नगर्नु। अनि कैलाशलाई पनि राम्रो र व्यवस्थित गरेर चलाउनु। केही दिनमै माता पार्वती आइहाल्छिन्, म पनि ध्यान खुल्यो भने आइहाल्छु’ भनेर उनीहरूलाई रामरी अह्राएर ध्यान गर्न भनेर हिँडे।

पहिले जस्तै नन्दी पनि महादेव ध्यान गर्न हिँडे पछि उनको पछि पछि लाग्दै गयो। अनि महादेव ध्यानमा बसेपछि नन्दी पनि उनी नउठ्दा सम्म उनकै अगाडी जाडो गर्मी, पानी, हुरी नभनी थुपुक्क त्यही बसी रह्यो।

उता कैलाशमा महादेव र पार्वती दुवै नभएको मौका पारी शासन सत्ता आफ्नो हातमा आए पछि गणहरूले सबभन्दा पहिले कैलाशको ढुकुटीमा के छ भनेर हेरे। महादेवको ढुकुटीमा के नै हुन्थ्यो र? तै पनि अलि अलि भएको गाँजा, भांग र धतुरो खाएर टन्न सुते। त्यतिले नपुगेर बाल विनायकका लागि माता पार्वतीले बनाएर राखिदिएका खाने कुराहरू मोदक, लड्डुहरु खाएर केही दिन मै गणहरू यत्रो भुँडी बनाएर हिँड्न थाले।

गणतन्त्र आएपछि पातालमा बसेका राक्षसहरूलाई पनि कैलाशमा आवागमन गर्न सजिलो भएको थियो। काला अनुहारका, मोटा, लामा जुँगा पालेका, राता राता आँखा गरेका राक्षसहरू कैलाशमा आएर त्यहाँ आफू मर्जी खाने, सुत्ने, मोज मस्ती गर्ने, जताततै फोहोर गर्ने महादेवले ध्यान गर्नको लागि बनाएको ठाउँ अनि पार्वतीले बनाएको सुन्दर बगैँचा भत्काउन गर्न थाले। उनीहरूलाई थाहा थिएन ती वस्तुहरू कैलाशको सुन्दरताको लागि कति महत्त्वपूर्ण छन् भनेर। उनीहरूलाई खालि खाने, सुत्ने मस्ती गर्ने बाहेक अरू सुर्ता थिएन।

विनायक बिचरा सानै थिए, के नै थाहा हुन्थ्यो र? राक्षसहरूले गणहरू र पार्वती पुत्र बिचमा विभाजन ल्याएमा त्यहाँ आफ्नो आदेश र इच्छा अनुसार काम गर्न सकिने देखेर दुवैतर्फ बाट उनीहरूलाई उकास्न थाले।

विनायक कहाँ गएर गणहरूको चुक्ली लगाउने अनि गणहरू कहाँ गएर विनायकको चुक्ली लगाउने गर्न थाले। केही समय मै गणहरू र विनायकको बिचमा दुरी र वैमनस्यता बढ्यो। त्यो देखेर ती दैत्यहरू मख्ख परे अनि त्यहाँ आफ्नो इच्छा अनुसार गणहरूलाई प्रयोग गर्न थाले।

राक्षसहरूसँग मिलेर गणहरूले विनायकलाई र भूत प्रेतहरूलाई एक्लाए। अनि उनीहरूलाई खान नदिने, गाली गर्ने, दुख दिने कामहरू गर्न थाले। भूत प्रेतहरू त्यहाँ बाँच्न नसकेर भागेर स्मशानमा गएर बस्न थाले। त्यत्रो भुँडी भएका विनायक खान नपाई सुकेर सुइँखुट्टे भए। त्यसको साटो गणहरू मोटा भए, विलासी भए। राक्षसहरू पनि कैलाशको सम्पत्ति आफ्नै जस्तो गरेर उपयोग गर्न थाले।

त्यसै गरी धेरै समय बित्यो। विनायकले सहन सक्ने जति सहे। तर एक दिन खप्नै नसक्ने गरी साह्रै भोक लाग्यो। अनि गणहरू र राक्षसहरू बसेर भोजन गरिरहेको ठाउँमा गएर खाने कुरा मागे। गणहरूले उनलाई हप्काए। अनि आफूले खाएको जुठो दिएर त्यहाँबाट जान भने।

बाल विनायकलाई साह्रै पिर लाग्यो- आफ्नै ठाउँमा आफै त्यति तिरस्कृत भएर जिउनु परेको छ, पेट भरी खान पाइँदैन भनेर। गणतन्त्र ल्याउनको लागि गणहरूको लहलहैमा लागेर पिताजीसँग लडाई गरे तर आज गणहरूले यो अवस्थामा पु-याए। गणतन्त्रले रुवायो भन्ने सोच्दै भक्कानो छोडेर महादेवलाई पुकार्दै रुन थाले।

बाल विनायकले आफूलाई पुकारेको ध्यानमा बसेका महादेवले अनुभव गरे। अनि के भएछ विनायकलाई भनेर ध्यान दृष्टिले हेर्दा विनायक र कैलाशको त्यो लथालिंग स्थिति देखेर निकै क्रुद्ध भई जुरुक्क ध्यानबाट उठी वायुको गतिमा कैलाशतिर लागे।

त्यो थाहा पाएर दैत्य गुरु शुक्राचार्यले तुरुन्तै दैत्यहरूलाई कैलाशबाट भाग्न भने। कैलाशमा मस्ती गरिरहेका दैत्यहरू तुरुन्तै त्यहाँ बाट भागेर पातालतर्फ सुइँकुच्चा ठोके।

महादेव कैलाश आइपुग्दा गणहरू मातेर त्यहाँ पल्टी रहेका थिए भने विनायकचाहिँ बिलौना गर्दै रुँदै थिए।

महादेव आएको देखेर विनायक रुँदै उनको पाउ परे- ‘पिता जी…..।’

आफ्नै घरमा आफ्नो प्रिय पुत्रको त्यो दयनीय स्थिति देखेर महादेवलाई निकै रिस उठ्यो। केही नभनी उनी गणहरू भएको ठाउँमा गए।

महादेवको पदचाप सुनेर गणहरुहरु जुरुक्क उठे, उनीहरूको सबै नशा एकैछिनमा उत्र्यो। उनीहरू लाई प-यो फसाद। कहाँ भाग्नु? के गर्नु? कसलाई दोष दिनु?

महादेव क्रुद्ध हुँदै सोधे- ‘के गरेको तिमीहरूले? मैले तिमीहरूलाई गणतन्त्र दिएको यही गर्न हो? हेर त यो कैलाशको हाल? तिमीहरूलाई अलिकति पनि लाज लाग्दैन? हेर त विनायक दुब्लाएर कस्तो भएको छ? जसले गणतन्त्र ल्याउन तिमीहरूलाई त्यत्रो सहयोग ग-यो आज त्यही विनायकलाई तिमीहरू भोकै मार्दै छौ? यही हो तिमीहरूको गणतन्त्र? पातालका राक्षससँग मिलेर कैलाशलाई भताभुङ्ग बनाउँदा तिमीहरूलाई अलिकति पनि बुद्धि पलाएन? कैलाश हाम्रो मातृभूमि हो, हामीले यसको रक्षा गर्नु पर्छ, विकास गर्नु पर्छ, कैलाशका बासिन्दाहरू मिलेर बस्नु पर्छ भन्ने तिमीहरूलाई याद आएन? तिमीहरू त उल्टै पाताल बाट आएका राक्षस हरुसंग मिलेर विनायकलाई भोकै बनायौ, थिचोमिचो ग-यौ। आफूहरू भित्रै दुस्मनी बढायौ। यहाँ तिमीहरूको शासनमा बस्न नसकेर भूत प्रेतहरू कैलाश छोडेर भाग्न बाध्य भएका छन्। अब भन तिमीहरू के भन्छौ? के सजाय दिनु प-यो तिमीहरूलाई? ’
गणहरूसँग केही उत्तर थिएन। टाउको निहुराएर महादेवको अगाडी उभिई रहे।

गणहरू मध्यको एक जना ले आँट गरेर भन्यो- ‘प्रभु हामीले गल्ती ग-यौ। हामीलाई माफ गर्नुहोस्। गणतन्त्र पाएको उन्मादमा हामीले आफूलाई मात्र सर्वेसर्वा देख्यौ, कैलाश अनि यहाँका बासिन्दाको इच्छा र आकांक्षाहरु लत्याउँदै विलासी भयौ। हामी सजायको भागिदारी छौ। हजुरले हामीलाई जे सजाय दिनुहुन्छ हामी स्वीकार्ने छौ।’

सबैलाई क्षमादान दिने कमलो मनका धनी महादेवले आफ्नै गणहरूलाई किन पो क्षमा दिन्न थिए र? उनले भने- ‘ल जे हुने भई गयो। तिमीहरूले आफ्नो गल्ती पनि स्वीकार गरी सक्यौ। अब देखि कैलाश र कैलाशका बासिन्दाको हित सोचेर शासन चलाउनु। गणतन्त्र भनेको मनपरी तन्त्र होइन। विनायकले त्यत्रो आन्दोलन गरेर ल्याएको गणतन्त्रमा तिमीहरूले राज ग-यौ तर विनायकचाहिँ भोक र थिचोमिचोमा परेर रुनु प-यो। विनायक यहाँको बासिन्दा हो, यहाँको जनता हो। शासन तिमीहरूको हातमा भए पनि विनायक र यहाँका अन्य बासिन्दाको हितमा सोचेर तिमीहरूले काम गर्नु पर्छ। विनायकलाई नै प्रयोग गरेर, उसको हितमा काम गर्छौँ भनेर तिमीहरू कैलाशको सत्तामा पुग्यौ तर सत्तामा पुग्नासाथ यहाँका जनताहरूलाई उपेक्षा गर्दै आफ्नै मात्रै हित सोचेर काम गर्न थाल्यौ। अब त्यस्तो नहोस्।‘

‘अब त्यस्तो कदापि हुँदैन प्रभु, हामीलाई माफ गर्दिनुस्।’ गणहरूले हात जोड्दै टाउको निहुराएर भने।

त्यो देखेर महादेवले ‘तिमीहरूले गरेको गल्तीको सजाय स्वरूप आज देखि मैले विनायकलाई तिमीहरूको मालिक र ईश्वर बनाइदिएको छु- अर्थात् यहाँका जनतालाई तिमीहरूको ईश्वर बनाइदिएको छु। तिमीहरूले उसलाई मान्नु पर्नेछ र उसको पूजा गर्नु पर्नेछ। त्यसले गर्दा जब जब विनायकलाई तिमीहरूले दुख दिन सोच्छौ, विनायकको ईश्वरको रूप तिमीहरूको सामु आउनेछ अनि तिमीहरू पुन: गल्ती गर्न बाट हच्किने छौ। त्यसैले आज देखि विनायकको नाम मैले गणपति (गणहरूको मालिक) र गणेश (गणहरूको ईश्वर) पनि राखी दिएको छु। यदि अझै पनि विनायक र कैलाशका अन्य बासिन्दाहरूलाई ईश्वर जस्तो नसम्झेर पहिलेकै पारामा शासन चलाउन थाल्यौ भने मैले तिमीहरूको यो गणतन्त्र खोस्न बाध्य हुनु पर्नेछ।‘ भन्दै ध्यान जारी राख्न त्यहाँबाट अलप हुँदा भए।

4 comments to कथा : कैलाशमा गणतन्त्र

  • Dig Bahadur Tamang USA

    सटिक विचारका लागि लेखक धन्यबादका पात्र हुनुहुन्छ ! यस्तै ब्यांगे गरेर समाजलाई सुधार्ने हो तर यदि राम्रो आलेख कसले पढ्न फुर्सद निकल्लन र ? सिव पुराणको गहिरो अध्यन बिना कसले यस्तो विचार पोखन सक्छर | यहि हो वास्तविक साहित्य भनेको | भैरव अर्याल र पिंदली अस्ताए तर राजु अधिकारी उदय जस्तो लग्यो |

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • राम्रो लाग्यो …. बुजेमा धेरै कुरा छ यस भित्र धन्यबाद “राजु अधिकारी ” जी

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • madan bajracharya

    कैलाशकुट हिमाली भूभागमा पर्छ/ त्याहा गोमन पाइन्दैन गोरु पाईन्दैन/ भाङ्ग धतुरो जान्गा उम्रिन्दैन र बाघ पनि पाइन्दैन/ महादेव भाङ्ग धतुरो गाँजा खान्छन/ शरीरमा मात्र बाघको छालाको कछाड लगाउञ्छन र गोमन सर्पको माला लगाउञ्छन/धर्म शास्त्रमै उल्लेख भयको कुरालाई मनन गर्ने हो भने महादेव पनि “देव” नै भय पनि अरु “देव” हरुको बस्ने स्वर्गमा पनि तेस्तो खाने लगाउने गरेको बर्णन कतै गरियको छैन/ धर्म शास्त्र अनुसार महादेव नाम नखुलायको कुनै समुन्द्रमा मन्थन गरिंदा निक्लेको हलाहल बिख खायाकोले धाह भयर महादेव कैलाशमा बस्न गयको भनेको छ/महादेव जस्तै अरु देवताहरु सबै स्वर्गमा बस्छन/ स्वर्गमा बस्ने अरु कुनै देवले पनि महादेवले खाने खान्छन महादेवले लगाउने लगाउञ्छन र महादेवले जस्तै गोरु चध्छां कहिँ कतै भनियको छैन/

    कुनै बेला कैलाशकुट नेपालकै भूभाग थियो तेतिबेला देखिने नेपालमा महादेव भक्तहरुकै राज चल्दै आयकै छ/ बिचमा महादेवले गरेको खायको जस्तो कुनै नगर्ने नखाने बुद्धको प्रभाव नेपालमा बढे पछि महादेवाकै सबै भन्दा ठुलो भक्तको रुपमा लिने शंकराचार्यले नेपालमा महादेवको भन्दा बिपरित बिचार र अचारंन भयको बुद्ध भक्तहरुमाथि हमला पनि गरेको थियो/बुद्ध नेपालको नै भय पनि नेपालमा उति बेला देखि अहिले सम्म पनि महादेव भक्तहरुकै राज चल्दै आयको छ/ र आफुहरु महादेव भक्त भयर पनि उनीहरुले नेपालमा महादेवले खायको खायामा, महादेवले लगायको लगायमा र महादेवले जस्तै बाल बिबाह गरेमा अपराध गरेको भनेर सजाय दिने कानुन बनायो/ कतै यहि कुरामा रिसायाकैले नेपालमा भुकम्प अनिकाल अशान्ति हुँदै आयको त् होईन? यो कुरामा महादेवको भक्त भयर पनि महादेवले खायको लगायको र गरेको गरेमा अपराध गरेको मानिने कानुन बनाउनेहरुले बिचार गर्नु पर्छ कि जस्तो लाग्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Nepal ko kathaa jasto Lagyo, shalokya Ji,
    Ahile Ma, Shiva ko ta bichara BINAYAK nai chhainan…..

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0