यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

९ लाख तिरेर पुगेको पोल्यान्ड : थोरै सत्य, धेरै भ्रम

-रामप्रसाद देवकोटा-

अन्ततः विदेश जाने निर्क्यौल गरियो। काठमाडौँ लागियो। कन्सल्टेन्सी खोजेँ। कालिमाटीमा ह्याण्डस फोर हेल्प सञ्चालक ८/१० वर्ष जापान बसेर आएकाले विश्वासिलो लाग्यो। जापान जान १४ लाख लाग्ने र युरोपको पोल्याण्ड जान ९ लाख लाग्ने र कमाई उक्तिकै हुने अनि भविष्य युरोप मा राम्रो हुने भन्ने निष्कर्ष निक्ल्यो।

अब प्रक्रिया गर्न तिर लागियो। सुरुमा ४० हजार बुझाउने काम भयो। त्यसको केही महिना पछाडि वर्क परमिट आयो। इन्टरभ्यु दिन दिल्ली लागियो। जीवनमा पहिलो चोटी रेलको यात्रा गर्ने मौका पाइयो। रमाइलो लाग्यो। अस्वाभाविक भीड। स्लीपरमा थियौँ। रमाइलो अनुभव गर्दै गइयो। ८ जना थियौँ। दलाल पनि सँगै थिए।

२४ घण्टा पछि पुरानो दिल्ली रेल्वे स्टेसनमा अवतरण भइयो। अस्वाभाविक भीड। पहाडगंज बसियो। बडो रमाइलो माहौल। नेपालकै कुनै ठाउँमा गए जस्तो, भए जस्तो। नेपाली भाषामै मज्जाले गफ गर्ने नेपालीहरूले नै चलाएका होटलहरु कुनै समस्या भएन। मिलेर बस्यौँ।

दलालले पोल्याण्डको पहिलो चोटि काम गरेको हुनाले ऊ पनि अन्योलमा थियो। वर्क परमिट आइसकेको रहेनछ। इन्टरभ्युको डेट फिक्स भइसकेको रहेनछ। एक साताको बसाइपछि नेपाल फर्कने काम भयो। केही समयपछि फेरि दिल्ली जाने काम भयो। यो पटक भने डेट पाइयो। इन्टरभ्यु दिने काम भयो। के के न सोध्ला भन्ने कौतुहलताका बीच सहजै अन्तरवार्ता दिने काम भयो। अब विदेश गइन्छ भन्ने अनेकन् कल्पनाहरू बीच दिल्लीका केही रमाइला ठाउँ घुम्ने काम गरियो।

दिल्ली गेट।

कुतुब मिनार।

कन्नट प्यालेस।

लालकिल्ला र मेट्रोको अनुभव समग्रमा दिल्ली राम्रो लाग्यो। फर्कियौँ। रेलको यात्रा अब भने दिक्क लाग्ने भइसकेको थियो। लोकल डब्बा सिटको समस्या। छक्काहरूको अस्वाभाविक व्यवहार। सात दिन बित्यो। जम्मा एक जनाको भिसा लाग्यो।

फेरि पुनः अन्तरवार्ता दिन बाँकी हिँडयौँ। युरोप जाने सपना जो थियो। यो पल्ट पनि जेनतेन दिल्ली गइयो। अब हामी दिल्ली यात्राका अनुभवी यात्री भइसकेका थियौँ। अन्तरवार्ता दिइयो र फर्कियौँ। यो पल्ट भने भिसा आयो। खुसीको सीमा रहेन। मन खोलेर खर्च गरियो। नेपाल आयौँ। उमङ्ग अर्कै थियो। भिसा लागेकोले अलि बढी हौसिनु स्वाभाविक नै थियो।

सबै काम सक्यौँ। पैसा सर्त अनुसार बुझाउने काम भयो। दलालले पटक्कै पैसा घटाएन। ८ घण्टा काम। मासिक ७० हजारभन्दा माथि। ओभर टाइम गर्दा झन्डै एक लाख तलब हुने सर्त थियो। काम गोलभेँडा टिप्ने भन्ने थियो। ढुक्क थियौँ। श्रम भयो। टिकट भयो।

घर परिवार बीच भलाकुसारी भयो। सबैको जिम्मेवारी बोकी लागियो। ठूलो जहाज जीवनमा पहिलो चोटि नेपालको एयरपोर्ट देख्दा अचम्म लाग्यो। जीवनको पहिलो अनुभव। गन्तव्य अनभिज्ञ थियो। पोल्याण्ड भन्ने थाहा छ, कहाँ छ, कस्तो छ, कसरी जाने, केही थाहा थिएन। समूहमा थियौँ। रमाइलो थियो। प्लेन चढियो। ओमान एयर। ओमानमा ट्रान्जिट पर्‍यो। सानो मरुभूमि ओमान। त्यहाँ हामीलाई निकै बेर केरकार गर्‍यो। त्यहाँबाट जर्मनका लागि ठूलो जहाज चढियो। दाजु पनि सँगै बसे। झ्याल छेउमा बस्यौँ। कहिले मरुभूमिमाथि कहिले समुन्द्रमाथि। निकै माथि जहाज उडिरह्यो। खाना-खाजा खायौँ।

झर्न लागेको प्लेनबाट जर्मनी देखियो। बडो मिलेको जस्तो हरियो परियो। सफा सुग्घर। ठूला ठूला फाँट तर पनि धेरै मिलेको एकदमै प्लानिङ्ग गरेको पार्क। खेत हेर्दाहेर्दै प्लेन अवतरण भयो। हामी जर्मनको म्युनिकमा निकै बेरको चेकजाँच गरी फेरि पोल्याण्डको लागि जहाज समात्यौँ। केही समयपश्चात् हामी पोल्याण्डमा अवतरण भयौँ।

साँझ झमक्क परेको थियो। पोल्याण्ड बस्ने दुई नेपाली दलालहरू नवराज ढकाल र आनन्द हामीलाई लिन बसेका रहेछन्। खैरेहरू। विकसित। झिलिमिली। पूरै उज्यालो। जता हेर्‍यो, हेरेको हेरै भइने। आइपुगियो भनेर घरमा जानकारी गरियो। दलालहरूले खाजा खुवाए। कम्पनीको गाडी लिन आउँछ भने। रातभरि रेल्वे स्टेसनमा राखेछन्। पछि थाहा पाइयो। बिहानी पख एउटा भ्यानको जिम्मा लगाएर उनीहरू लागे। भ्यानले केही बेरपछि एउटा होस्टेलमा लग्यो। केही नेपाली केटाहरूलाई हाल्यो। हामी खुसी भयौँ। गफगाफ भयो। उनीहरू धेरै पहिला नै आएका रहेछन्। विभिन्न देश घुमी भिसा सकिन लागेकाले टमाटरमा काम गर्न हिँडेका। सबै छर्लङ्ग भयो। सपनाहरू माथि कुठाराघात भए जस्तो अनुभूति भयो।

आएको छ महिनामा घरबाट पैसा मगाएर बसेको भन्ने कथाहरू सुनाए। कमाइ नहुने कुरा पनि भने। हामीलाई एकदमै निराशा हुने कुरा गरे। केटाहरू जवान जवान थिए।

बिहान ८ बजेको हुँदो हो। ठूलो टमाटर खेती भएको सिसै सिसाको घरमा पुगियो। त्यहाँ पोले दलाल आयो। गुरङ्ग केटाहरूलाई झार्‍यो। जिनदोब्रे भन्दै केटाहरू झरे। नमस्ते भने जस्तै जिनदेब्रे भन्दा रहेछन्। हामीलाई फेरि राजधानी वारसाबाट झन्डै ४ सय किलोमिटर जति पर गाण्टेमुला कम्पनीमा लग्यो। ठूलो कम्पनी। टी मुलारस्की भन्ने कम्पनी। साहू निकै हट्टाकट्टा थियो। अंग्रेजी बोल्ने। नेपाली दलालहरूले हामीलाई कामदार सप्लाई गर्ने कम्पनीलाई दिएछन्। सप्लाई कम्पनीले हामीलाई गाण्टे मुला उत्पादन गर्ने कम्पनीमा दिएको रहेछ।

हामीलाई बस्ने ठाउँ दियो। खाने कुरा किन्ने ठाउँ देखायो र मार्चिन भन्ने विदेशी दलाल गयो। भोलि आउने कुरा भयो। एउटै कोठामा खाने बस्ने ८ जना ठिकै गरी बस्यौँ। ठूलो कम्पनी। कम्पनी परिसरमा गाउँ जताततै बाटैबाटो सफा सुग्घरको त कुरै नगरौँ। ठाउँ ठाउँमा पार्क व्यवस्थित। एकदमै शौखीन मान्छे। खाने कुरा किन्ने पसलमा गयौँ। सामान नचिनिने समस्या। भाषा पटक्कै बुझिने होइन। अंग्रेजी बोल्दै बोल्दैनन्। बडो समस्या भयो। गुगल ट्रान्सलेटले धेरै मद्दत गर्‍यो। साना साना प्याकेटमा हरेक खाद्यान्नहरू सायद सबैले व्यक्तिगत रूपमा खाने भएर होला। हाम्रो जस्तो पारिवारिक र एउटै भान्सा नहुनेर सबै व्यस्त। सबैको काम अलग अलग। नितान्त व्यक्तिगत जीवन। हामीले भने नेपाली संस्कार छाडेनौँ। सबैले एउटै भान्सा प्रयोग गर्‍यौँ। सानातिना विवाद भए पनि अन्ततः मिलेर बस्यौँ।

मुलारस्की कम्पनीमा सलगमको खेती हुने। सत्र वटा ब्लकमा ग्रिन हाउसमा खेती अनुमानित झन्डै २०/३० बिघा हुँदो हो निकै व्यवस्थित र व्यवसायिक खेती। प्रत्येक ब्लकमा सिसी क्यामरा जडान गरिएको। कामदारहरू ८०/१०० जना हुँदा हुन्। काममा कुनै लापरबाही गर्न नमिल्ने। चौबिसै घण्टा उत्पादन। रोप्ने रोपेको रोप्यै। जोत्ने जोतेको जोत्यै । मल खाद हाल्ने हालेको हाल्यै। ओसार्नेले ओसारेको ओसारै। प्याकिङ्ग गर्नेले गरेको गर्‍यै। पूरै १२ घण्टाको काम कोही साथी उखेल्न कोही प्याकिङ्गमा कोही रोप्न को को कहाँ हो कहाँ। सबै सँगै भेट हुन नसक्ने भयो। कम्पनीको सिजन रहेछ। हामी युरोप गाको त्यसरी मेसिनसँग काम नगरेको साह्रै गारो भयो। अब यसरी काम गर्न नसकिने निर्क्यौल गरियो।

२२ दिन जति काम गरियो। अत्यन्त कठोर तरहले दिनहरू बिते। भाषा प्रमुख समस्या। हेपाहा। बडो आत्मग्लानि भयो। हप्तामा एक दिनको बिदा पनि बल्ल बल्ल झगडा गरेर पाइने। त्यो पनि कसको कहिले, कसको कहिले। हरि अधिकारी भाइ थिए। मन मिल्थ्यो भरत भाइ झापाका अलि विद्रोही। बाँकी औसत नै थिए। एक जना दीपक दाहाल भाइ कार्ड बनाउने गरी कम्पनीमा आए। तिनले वार्सा, पोल्याण्डको राजधानी लगायत बस्न मिल्ने होस्टेलहरू सबै देखेका रहेछन्। ती पनि ४/५ काम गरेपछि नसक्ने निर्क्यौल गरी कम्पनी छाड्ने भए। हामीलाई अझ बढी आँट आयो।

काममा गइएन। बिहानको काम राति काम पर्नेहरू फर्कँदै थिए। कामको समय भयो। साहु निकै रिसाएर आयो। काममा हिँडन भन्यो। हामी नजाने भन्यौँ। खुब रिसायो। तुरुन्त निस्कन भन्यो। झोली तुम्बा बोकेर हिँड्यो। जाने जति हिँड भन्यो। सबै आए। कहाँ जाने ठेगान छैन। रेल्वे पुग्यौँ। टिकट काटियो। वार्साको दलाललाई कल गर्‍यौँ। दलाल नवराज ढकालले रेल चढेर काथाविच भन्ने सहर झर्न भन्यो। बसको टिकट मेल गरिदियो। त्यहाँबाट रेल चढेर वार्सा गइयो। दलाल नवराज ढकाल र आनन्द लिन बसेका। एक छिन गफ भयो। पिडा सुनायौँ। रिसायौँ।

दलालले अर्को काम लाइदिने भन्दै होस्टेलमा लग्यो। ४२ दिनको होस्टेल बसाइ। खान पैसा दिन्थ्यो। कामको टुङ्गो लागेन। खायो। बस्यो। वरपर घुम्यो। स्याउ मज्जाले फल्ने। टिप्यो। खायो। नासपाति। आलुचा। जसले जे भेट्यो, टिप्यो। खायो। ओखर त्यतिकै पाइने। वार्सा आयो। म्युजिएम भिस्टुला नदी किनारको रमाइलो नाचगान खानपिन हेर्‍यो। ठूला ठूला पार्क। जुलाई अगस्टतिर भएर होला, हरियाली, मानिसहरूको चहलपहल रमाइलो लाग्थ्यो। काम गर्न आएका, पैसा कमाउन आएका, पैसा भने नकमाएकोले दिक्क लाग्न थाल्यो। काम कस्तो पर्ने हो। यी सबैको बाबजुत ४ जनालाई टमाटरमा काम मिल्यो भनेर लग्यो। हरि भाइ पनि पर । बाँकी २ जनालाई चिकेनमा लग्यो। भरत भाइ र सुजन भतिज परे। त्यस पछि हाम्रो पालो केही दिन पछि आयो। दाजु म र केशवलाई चकलेट कम्पनीमा लग्यो। वार्साबाट नजिकै। भ्यतरचना भन्ने ठाउँसम्म ट्रेनमा चढेर अनि बसमा। जम्मा ७ को टिकट लाग्ने।

चकलेटमा काम गरियो। जम्मा ३ जना नेपाली त्यहाँ पनि। भाषाको समस्या छँदै थियो। भिसा अवधिभरि गैर कानुनी रूपमा काम लगाइछ साहुनीले थाहा भएन। काम राम्रै गरिन्थ्यो। चल्दै थियो। पैसा महिना मरेको दिन दिन्थी। साहुनीको नाम किङ्गा थियो। त्यहाँ पनि युक्रेनीहरु धेरै। मेन मेसिन चलाउने पोले थिए। मेरो आरेक थियो। अर्को दारेक अनि मारियुस। दाजुको मारियुस सँग थियो मेरो र केशवको आरेकसँग। चल्दै थियो ४/५ महिना राम्रै काम गरियो। पोलेहरु राम्रा सम्मान गर्थै। युक्रेनीहरु बढी चाकडी गर्थे। कुरौटे पनि। साउनीको घरमा समेत सरसफाइ गर्ने आना भन्ने बूढी थिइ। सबैलाई काम अराउने गर्थी। हामी त्यसमा पनि विशेष म आफ्नो ओभरसियर र साउनी अनि मुख्य मान्छेले बाहेक अराको काम नगर्ने। त्यसैले आना बूढीले साउनीलाई म प्रति नकारात्मक बनाउँदै लगी। साउनी अनावश्यक ममाथि निगरानी गर्ने गर्थी।

मेरो पोल्याण्ड बसेर पैसा कमाउने, पी.आर.लिने सपनाहरू खरानी भइसकेको थियो। पटक्कै मन सजिएन। चिसोमा बाहिरको काम। चकलेट ठूला ठूला ट्रकमा लोड गर्नु पर्दथ्यो। जाडो कति भने माइनस २२ सम्म हुने। हात खुट्टाको रगत जम्ला जस्तो। ट्रक आउना साथ नेपालीहरुको खोजी हुने। हामी नाइनास्ति नगरी काम गर्दथ्यौँ। त्यहाँ पनि हप्तामा एक दिन छुट्टी आइतबार। कहिले काहि काम लाउँथ्यो। बिदामा बजार गयो। बियर सस्तो। बियर खायो। अरू हप्ताभरिको खानेकुरा ल्यायो। यसो घर परिवारको खबर बुझ्यो। बिदा बितिहाल्थ्यो। प्रायः १६ घण्टा, १२ घण्टा काम गरो। तैपनि ऋण तिरेर फर्कने सोच थियो। साउनीले जे गरे पनि मन पराउन छाडी। म पनि आफूले केही गल्ती नगरेकोले नडराउने। एक दिन साउनीले कन्टयाक्ट ब्रेक गर्न भनी। साथीहरू सबै काममा थिए। मलाई माथि बोलाई। मैले केही नसोची ब्रेक गर भनेँ। हिसाब किताब भयो। पैसा दिइ। हामी कम्पनीमाथि बस्थ्यौँ। तल काम गर्नु पर्ने। म दुई चार दिनमा जान्छु भनेको मानिनँ। अहिले जानलाई भनी। फेरि सबै समान बोकेर साथीहरूलाई भनेँ। कसैले प्रतिक्रिया दिएनन्। हरि भाइ वार्सा पुर्‍याउन गयो। दलेलाई भनेँ। होस्टेलमा बस्न भन्यो। नेपालीको होस्टेल। पैसा कस्ले तिर्ने हो निर्क्यौल भएन। कार्ड अप्लाई गरेको थियो। त्यो क्यान्सिल भयो। कार्ड आउन १५ दिन बाँकी थियो। नवराज दलालले अर्को कम्पनी खोजेर कागज बनाइदिने कुरा गरे। तर नेपाली एक लाख लाग्ने कुरा गर्‍यो। पैसा पनि थियो। धेरै सोचेँ। टिकट काटेर घर लाग्नु नै ठिक हुने ठानेँ। त्यही निर्णय गरेँ। ऋणले झस्काउँथ्यो। केटाहरूले नजान निकै सम्झाए। तर मनले मानेन। आफ्नै देश फर्कने। दुःख गरे पनि उतै गर्ने। आफ्नै भाषा सम्झेङ्ग। देश सम्झेँ। घर सम्झेँ। अनि घरकालाई सम्झाउँला। जान्छु भनेँ। टिकट लिएँ। फर्केँ।

त्यसैले पोल्याण्ड थोरै सत्य धेरै भ्रम। दलालको मात्र कमाइ हुने मानव तस्करहरू सँग बच्नु पर्ने रहेछ।

10 comments to ९ लाख तिरेर पुगेको पोल्यान्ड : थोरै सत्य, धेरै भ्रम

  • ram

    १६ घण्टा सम्म त् गरेकै हो पैसा थोरै अनि स्वाभिमान मा सम्झौता नगरेर फर्केको हो साथि काम गरेर होइन काम गराएर धनि होइञ्च .

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • धन विक्रम

    कहानी मार्मिक| देशभित्र गफ दिएर, सोझा साधालाई पछारेर, चाकडी चाप्लुसीमा डुबेर येनकेन प्रकारेण भन्दै रातारात पैसा कमाउने यो मुलुकको बढ्दो संस्कारमा हावी भएकोले परिश्रम गर्न नसक्नेको यो यथार्थ हो| साहुनीले चाकडी मन पराउने भए उनी फस्टाउने थिए होला तर त्यसो भएन| हारेर फर्कनु पर्यो| यो संसार हरुवा र डरछेरुवाहरुको लागि हो| घर आँगनमा धाक जमाउनेहरुले श्रम र निरन्तर श्रमको महत्व बुझ्नुपर्यो| नौ लाखले केहि सिकायो भन्नु छैन अझ आफ्नै चर्को स्वर र गुनासा? मेरो एक कण सहानुभूति पनि छैन यस्ता कातर भोगाईलाई|

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 0

  • Som

    साथीको लेखन सैली राम्रो र छ तर मेहनत गर्नु पर्छ भन्ने नै सिक्नुभएको रहेनछ । विश्वका सबै विकशित देशमा काम गरिन्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 3

  • Anup Karki

    ७/८ लाख खर्च गरेर आउनु भन्ध बोरु साउदी , कतार , दुवै जान ठिक हुन्छ. पोल्याण्ड मान्छे हरु नै theya income थोरै भएर. युरोप को अरु अरु ठुला देश जन्चन. पोल्याण्ड मा hardworking गरेर यूरो ४००\५०० kamai त हुन्छ. तर ग्रीनकार्ड फमिली लेयौने चै १० वर्षा लाग्छ.
    अनि अरु युरोप को राम्रो इकोनोमी भएको country [ german , फ्राचे, लुक्षुम्बुर्ग , netherland , belgium , फिनल्याण्ड, डेनमार्क,नर्वे …..] मा legela रुप ले काम काम गर्न पोल्याण्ड मा १० वर्षा बशेर [legal ] पोल्याण्ड को citizenship पाए पछि मात्र मिल्छ.
    पोल्याण्ड मा vasha पढेर पास नि गर्नु पर्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 7

  • यी अनि यस्ता अनेक कथा हरु पढेर सुनेर होला सायद, युरोपको सपनाले कहिल्यै छोएन

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 4

  • भगवान घिमिरे

    सांचै मन छुने यथार्थ कथा हो यो ! गैर कानुनि बाटो अमेरिका जानेहरुको त झन् कति कहाली लाग्दो कथा हुन्छ त्यो सम्झंदै काढा उम्रिन्छ तर पनि हामि यो सब जानेर पनि पुगेपछि जे होला होला भनेर जोखिम मोल्न तैयार हुन्छौं र अझै पनि यहि लाइनमा कति छौं ! यस्ता कुरामा सरकार मात्रै दोषी हुँदैन हामि आफै पनि होसियार हुनुपर्छ एकैचोटी धेरै कमाउने लोभमा बिकशित देश भनेर हाम फालिनाहलौं भन्ने यो कथाको सार होला !

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 4

  • राम्रो पोस्ट सर ….

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 4

  • Aakash

    तपाईको कुरा सुन्दा काम नपाएर हैन गर्न नसकेर फर्केको रहेछ/ नेपालमा जस्तो काम थोरै कुरा धेरै अनि काममा राजनीति गरेर जिबन बितौला बिदेशमा पनि भन्ने सोच्नु भयो भने येस्तै हालत हुन्छ/ खाडी मुलुकमा लाखौ नेपालीले तपाई भन्दा कयौ गुना बढी काम गरेर बसेका छन्/ तपाईको लेख पढ्दा हासो उठेर आयो /

    मन परे हरियो नपरे रातो ! Thumb up 11 Thumb down 2

  • Basanta

    अणि महिनाको ३ लाख बढ़ी तलब, आजीवन पेंसन सुबिधा, छोरा छोरीको उच्च सिक्छ्य – गोर्खा भर्तीको बिरोध गर्ने कारन चाही के रहेछ कुन्नि ?

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 2

  • bijay

    नेपालीहरु बिदेशमा दुख नपाए सम्म गोर्खाली नै रहने रहेछन / सरकारले नै सबै नेपालीलाई एक एक पटक बिदेशमा काम गर्नु पर्ने अनिवार्य गर्ने हो भने नेपालको छिट्टै विकास होला जस्तो छ /

    मन परे हरियो नपरे रातो ! Thumb up 26 Thumb down 4