यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : पत्नीव्रता

-राजु अधिकारी-

‘मामु पतिव्रता भनेको के हो?’ दुई कक्षामा पढ्ने छोरीले एक दिन स्कुलबाट आउँदा आउँदै सोधेको प्रश्न सुन्दा उसलाई अचम्म लाग्यो। यति सानै उमेरमा उसले त्यति गम्भीर प्रश्न सोधेकी थिई।

‘कसले सोध्यो?’ उसले छोरीलाई काखा हाल्दै सोधी।

‘जसले सोधे पनि भन्स्यो न, पतिव्रता भनेको के हो?’ छोरीले जिद्दी गरी।

आजभोलि जताततै तिजको चहल पहल छ त्यसैले होला स्कुलमा पनि तिज, व्रत, पतिव्रता आदिको बारेमा छोरीले सुनि होली। उसले सोच्छे- आजभोलिको शिक्षा कति माथिल्लो स्तरको भैसकेको छ, उसलाई पतिव्रता भन्ने शब्दको अर्थ सायद आठ नौ कक्षामा हुँदा मात्रै थाहा भएको थियो होला। तर आज दुई कक्षामा पढ्ने छोरीले त्यो सोध्न थाली सकी।

‘आज साँझ कथा सुनाउँदा म त्यसैको बारेमा कथा भन्छु’ भनेर उसले छोरीलाई चुप गराई। अनि के को कथा भन्ने बारेमा सोच्दै थिई, उता भान्छाबाट पतिको ‘मासुमा पिरो कति हाल्ने हो?’ भन्ने प्रश्नले उसको दिमाग उतातिर गयो।


आज दर खाने दिन। साच्चिकै दर खाने दिन, अर्थात् तिजको अघिल्लो दिन। आज भोलि जनै पूर्णिमा भन्दा अगाडी बाटै दर खान सुरु हुन्छ त्यसैले दर खाने दिन भन्दा पनि कुन दिनलाई भनेको भनेर स्पष्ट पार्नु पर्ने हुन्छ। हुन त साथीहरूलाई बोलाएर उसले दर धेरै पहिले नै खुवाई सकी अनि आफू पनि उनीहरूकहाँ गएर धेरै दर खाई सकी तर पतिले बनाएको दर चाहिँ दर खाने दिन मै खाने उसको चलन छ। उसको माइतीमा पनि त्यसै गरिन्छ। उसका बुवाले नै दर खाने दिनको सम्पूर्ण खाना पकाउछन। त्यसैले उसले पनि पतिलाई त्यही सिकाइ। पति पनि पकाउन पोख्त भैसकेको छ अब त। दर पकाउने भनेर आज अफिसबाट उसले आधा दिन छुट्टी नै लिएर आएको छ, अनि घर आए देखि भान्छामा नै व्यस्त छ। खिर, ढाकनी, सेल, आलुको तिल हालेर मोलेको अचार, तामाको टुप्पाको तरकारी, भिन्डी अनि खसीको मासु। खै कहिले देखि सुरु भयो उसलाई पनि त्यति याद त छैन तर दरमा मासु पकाउन थालेको पनि निकै भै सक्यो। उसलाई थाहा छैन उ सानो हुँदा दरमा मासु खाएको। तर काठमान्डौ आए पछि जनै पूर्णिमा र तीजमा पनि मासु खानु उसको लागि सामान्य भैसकेको छ। अब त मासु नभएको दर उसलाई खल्लो लाग्छ।

‘छोराछोरीले पनि खान्छन्, धेरै न हालिस्यो। फेरी धेरै पिरो भयो भने भोलि पूजा गर्न बसेको बेला उठ्नु प-यो भने शिवजी रिसाउलान्।’ उसले ठट्टा गर्दै उत्तर दिई। घरमा उनीहरूले सधैँ नै त्यसै गरी ठट्टा गरिरहन्छन् त्यसैले पनि खुसी साथ उनीहरूको परिवार चलेको छ।

‘मामु दर पाक्यो? कस्तो भोक लाग्या छ।’ छ कक्षामा पढ्ने छोरो स्कुलबाट फर्केर भित्र पस्दै भन्यो।

‘पाक्दै छ अब तुरुन्त तयार हुन्छ।’ आमाले उत्तर दिनु भन्दा पहिले भान्छाबाट भर्खर असिन पसिन हुँदै गरी बाहिर आएको बाबुले उत्तर दियो।

साँझ अलि सबेरै उनीहरू सबै दर खान बसे। आज उनीहरूले कसैलाई निम्तो गरेका छैनन्। काठमाडौँमा भए पछि यस्तै हो- नजिकको आफन्त कोही छैन, अनि छिमेकीहरू र साथी हरूलाई पहिले नै खुवाई सकियो। त्यसैले केही वर्ष देखि उनीहरूको दर पूर्ण पारिवारिक मात्रै हुन्छ। तर त्यसमा निकै मजा आउँछ। केटाकेटीहरू पनि भिडमा भन्दा आफ्नै परिवार मात्र हुँदा रमाउँछन्।

तर आजको मुख्य मान्छे मामु हो। उसलाई मनग्गे खुवाउनु पर्छ। एक पटक साँझ सबेरै खाएर अनि फेरी राति सुत्नु भन्दा अगाडी १२ बजेतिर एक पटक खुवाए पछि मात्रै दर सकिन्छ मामुको।

उसले सोच्छे- पहिले काठमाडौँ बाहिर हुँदा गाउँमा राति ३-४ बजे तिर उठेर घर घरमा जाँदै दर खादै कम्ती मजा हुँदैनथ्यो तर त्यो मज्जा सहरमा कहाँ पाउनु? समय र ठाउँ अनुसार चल्नै प-यो अनि राति उठ्नु अब त निकै कठिन कुरो भइसक्यो त्यसैले अलि राति एक पटक खाए सुत्यो भने बिहान सूर्य उदाएको थाहै हुँदैन।

दर खाई सकेर छोरीलाई सुताउन उसले छोरीलाई सुत्ने कोठामा लगी। त्यो कोठामा दुईवटा खाट छन्- छोराको लागि एउटा अनि छोरीको लागि अर्को। छोरीलाई सबेरै सुत्न इच्छा छैन किन भने भोलि तिजको बिदा हो। छोरो चाहिँ पहिले नै सुतिसकेको छ सिरकले मुख छोपेर। तर पनि कथाको लोभले छोरी आमा सँग सुत्न जान्छे। बच्चाहरूलाई सुत्नु भन्दा अगाडी कथा सुनाउने उसको नियमित बानी नै हो। लगभग सधैँ जसो उसले सानातिना कथाहरू सुनाइ रहन्छे। आफूलाई कुनै कथा फुरेन भने किताबबाट पढेर भए पनि उसले कथा सुनाउँछे।

आजको कथा अलि अर्कै थियो- पतिव्रताको बारेमा।

‘मामु पतिव्रताको कथा खै त?’ छोरीले उसलाई सम्झाई।

‘ल ल म भनिहाल्छु नि। सुन, पतिव्रता भनेको आफ्नो पतिलाई असाध्यै माया गर्ने, कहिले झुट नबोल्ने, पतिलाई उसका हरेक सुखदुःखमा साथ दिने पत्नीलाई भनिन्छ।’

‘हजुरले पापुलाई माया गरे जस्तै?’ छोरीले जिज्ञासा राखी।

उसलाई अप्ठ्यारो पर्छ उत्तर दिन किनभने उसलाई लाग्छ- उसको मायालाई पतिव्रताको संज्ञा दिन अलि अमिल्दो हुन्छ की? आजभोलि कलियुगमा को नै होला र पतिव्रता?

‘त्यस्तै त्यस्तै हो’। उसले दुई अर्थ लाग्ने उत्तर दिई।

‘अनि पतिव्रता भएपछि के हुन्छ?’

‘पतिको शक्ति बढ्छ।’

‘धत्, त्यस्तो पनि हुन्छ?’ छोरीले विश्वास गरिन। उसकी छोरी निकै बाठी छे। उसलाई त्यस्ता कुराको पटक्कै बिश्स्वाश लाग्दैन। दुई कक्षा पढ्ने भए पनि उसले सबै देवीदेवताका कथाहरू त्यतिबेलाका लेखकका कल्पना मात्र हुन् भनेर बुझेकी छे। त्यो देखेर आमालाई गर्व लाग्छ छोरी प्रति। उसले सोच्छे- अहिलेका केटाकेटी कति चलाख भएका होलान् भनेर।

‘कथा खै त?’ छोरीले फेरि उसलाई सम्झाई।

‘भन्दै छु। धेरै पहिले जालन्धर भन्ने एउटा राक्षस थियो। उसकी वृन्दा भन्ने पत्नी थिई। उसकी पत्नी एकदमै पतिव्रता थिई। त्यसैले उसको पतिव्रताको शक्तिले गर्दा जालन्धरलाई कसैले मार्न सक्दैनथे। महादेवले पनि।’
‘अनि?’

‘तर जालन्धर आफ्नो त्यो शक्तिको दुरुपयोग गरेर देवताहरूलाई दुख दिन थाल्यो। अनि सबै देव लोक जितेर आफै राज्य गर्न थाल्यो। त्यो देखेर देवताहरू महादेव कहाँ शरण माग्न गए। तर उसले महादेवलाई पनि नछोड्ने बिचार ग-यो अनि महादेवलाई ‘तिमी त जोगी हौ, तिमीलाई पार्वतीको काम छैन, मलाइ तिम्रो स्वास्नी देऊ, नत्र म तिमीलाई पनि छोड्दिन’ भन्यो।’

‘कस्तो बदमास है?’ छोरीले बिचमै भनी।

‘त्यही त। अनि महादेवलाई निकै रिस उठ्यो र उनी जालन्धरसंग लड्न थाले। तर वृन्दाको पतिव्रताले गर्दा जालन्धरलाई महादेवले पनि मार्न सकेनन अनि विष्णुले उपाय लगाएर आफ्नो भेष बदलेर जालन्धर जस्तै भएर वृन्दालाई छल गर्न गए।’

‘अनि?’

‘अनि, आफ्नो पति आएको जस्तो मानेर वृन्दाले भेष बदलेर गएका विष्णुलाई अँगालो हाली अनि उनलाई म्वाई खाई। अनि जालन्धरको शक्ति कम भयो र उसलाई शिवले मारे। यही हो पतिव्रताको कथा। यदि श्रीमती पतिव्रता भइन भने पतिले कहिले पनि हार्न सक्दैनन् भन्ने यसको अर्थ हो।’

‘अनि पतिव्रता हुन के गर्नु पर्छ?’

‘तीजमा व्रत बस्नु पर्छ।’ उसले सबभन्दा सजिलो उत्तर दिई.

‘त्यसैले हजुर व्रत बस्नु भएको?’

‘हो नि त।’

‘उसो भए पति पनि पत्नीव्रता भए भने पत्नीलाई पनि कसैले जित्न सक्दैन होला नि?’

‘होला। ल सुत अब।’

‘उसो भए मेरो पतिलाई पनि म तीजमा व्रत बस्न लगाउँछु।’

छोरोले आफ्नो सिरकबाट टाउको निकालेर बहिनी र आमातर्फ फर्कँदै भन्यो- ‘म त बस्नेवाला छैन।’

छोरीलाई निधारमा चुम्बन गरेर हाँस्दै उ बाहिर गई।

पति टिभी हेर्दै थियो। जताततै तीजका गीतहरू थिए टिभीमा। केही गीतहरू ठिकै थिए तर अधिकांश गीत सुर न तालका थिए, अनि छाडा पनि। तिजको विकृति यति छोटो समयमा यसरी फैलियो की यो अब पूजा गर्नु भन्दा पनि को भन्दा को कम भनेर देखाउने होडबाजीको चाड भएको छ। तर के गर्नु समाजको चलन अनुसार चल्नै प-यो- उसले पनि पत्नीको लागि हरेक तीजमा केही न केही गहना र नयाँ लुगा किन्दिनै पर्छ। पोहोर तीजमा लगाएका लुगा र गहना यो पालीको तीजमा लगाउनु हुँदैन रे।

‘हैन हजुरले केही खाने होइन?’ बाहिर निस्कँदै उसले पतिलाई भनी।

दिन भरि भान्छामा काम गरेकोले त्यहाँको गन्धले नै उसलाई केही खान मन छैन। ‘अहिले खान मन छैन, पछि खान्छु’ उसले टार्दै भन्यो।

टिभी हेर्दै उनीहरूले रातीको एघार बजाए। अनि पत्नीलाई दोस्रो लट दर खुवाएर उ भोकै सुत्यो खान मन नलागेकोले।

अर्को दिन तिज। हुन त अफिसमा उसलाई बिदा छैन तर श्रीमतीको आग्रहमा उ घरै छ आज। किनभने आज उसको आरोग्यता र दीर्घायुको लागि पत्नीले व्रत राखेकी छिन्। बिहानै देखि पत्नीको सटर पटर बेग्लै छ। कहाँ नाच हेर्न जाने, कहाँ पिङ खेल्न जाने, कहाँ पूजा गर्ने आदि आदि। उसले श्रीमतीलाई निकै माया गर्छ। बिहानै उठेर व्रत बसेकी श्रीमतीलाई कमजोरी नहोस् भनेर उसले एक कप तात्तातो दुख पिलायो। श्रीमतीले नकार्दै थिइन तर उसले ‘केही पाप हुँदैन, दूध त शुद्ध हो’ भनेर जवर्जस्ती खुवायो। अनि केही घण्टा बिराउँदै उसले फलफुल पनि खुवाउँथ्यो।

पशुपतिमा दिनभरि कुरेर दर्शन गर्नु पर्ने हुनाले उसले त्यहाँ पनि जान दिएन श्रीमतीलाई- घाम र कमजोरीले बिरामी पर्लिन् भनेर। श्रीमती र छोरी नाच हेरेर, अनि आफू पनि नाचेर दिउसो तीन बजे तिर घर फर्के। फेरी उसले आफ्नो धर्म निभाउँदै दूध र फलफुल खुवायो। अनि श्रीमतीको साँझको पूजाको लागि पूजा सामान तयार गर्न लाग्यो।

‘मामुको पूजा गर्ने बेला भएन?’ पाँच बजेतिर छोरो स्कुलबाट फर्केर कोठामा पस्दै भन्यो।

हुन त पहिले पहिले राति अलि अबेर मै पूजा गरिन्थ्यो तीजमा तर सबै कुरा सजिलो हुँदै छ आज भोलि। त्यसैले साँझ छ बजे तिर नै पूजा गरेर काम सक्छन् अधिकांश शहरिया पत्नीहरूले। उसकी श्रीमतीले पनि छ बजे पूजा सुरु गरेर अलि अलि घन्टी हल्लाएर साढे छ मै पूजा गरेर सकी।

पत्नीलाई भनेर साबुदानाको खिर पतिले तयार गरेर राखेको थियो- त्यो दिन व्रतमा अन्न खानु हुन्न भनेर। पूजा पछि उसले साबुदानाको खिर ल्याएर टक्रयायो पत्नीको अगाडी- ‘ल अब त जे खाए पनि हुन्छ, सकियो पूजा।’

‘अन्न त भोलि मात्रै खान पाइन्छ। व्रत बस्नु त्यति सजिलो होला र?’ उसले दनादन खिर खाँदै भनी।

खिर खाएर डम्म डकार्दै उसले भनी- ‘हजुर पनि खाइस्यो न।’

‘ए हो त मैले त हिजोदेखि खानै बिर्सेछु।’ उसले भन्यो। उसले ठट्टा गरेको थिएन। उसले साँच्चै नै खान बिर्सेको थियो हिजोदेखिको त्यो सबै व्यस्तताले गर्दा।

अनि छोरोले व्यंग गर्दै भन्यो- ‘यो तिजमा पापु पनि व्रत बसेको हो की क्या हो? पापु पनि पत्नीव्रता भैसेछ, अब मामुलाई कसैले हराउन नसक्ने भयो।’

उताबाट छोरीले फ्याट्ट बोली- ‘पहिले पनि मामुलाई कसले हराउन सक्याथ्यो र?’

1 comment to कथा : पत्नीव्रता

  • Kamal

    साच्चै आज भोलिको जमाना कि पति ब्रत आइमाई हरु को बास्तबिकता हो यो . यथार्थ परक .

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1