यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

फेसबुकमा लाइभ आत्महत्याको दृश्यको साक्षी बन्नुपर्दा, रोक्न सकिन्थ्यो तर..

आइतबार राति साढे नौ बजे चितवन कालिका नगरपालिका घर भएका २६ वर्षीय निश्चल तामाङले आफूले आत्महत्या गर्न लागेको संकेत फेसबुकमा दिइसकेका थिए। झण्डै तीन घण्टासम्म उनी पटक पटक फेसबुक लाइभमा आइरहेका थिए। गएराति अबेर फेसबुकका नेपाली प्रयोगकर्ताहरुमाझ यसको निकै चर्चा भएको थियो। उनलाई बचाउन धेरैले प्रयास गरेका थिए। एक लाखभन्दा बढी सदस्य भएको एमआरआर ग्रुपमा उनका बुबाको फोन नम्बरसमेत दिई यसमा फोन गर्नुस् भनिएको थियो। प्रहरीलाई फोन गर्न, फेसबुकमा रिपोर्ट गर्न पनि धेरैले सुझाएका थिए। तर उनलाई बचाउन सकिएन। मैले राति निकै ढिला यो बारे थाहा पाउँदा कतिले उनको मृत्यु भइसकेको भनिरहेका थिए भने कसैले ठट्टा गरेको होला, नत्र लाइभमा झुण्डिँदा झुण्डिँदै कसरी भिडियो आफै अफ भयो भनेर शंका गरिरहेका थिए। लाइभ भिडियोको रेकर्ड उनको प्रोफाइलमा रहेछ, हेरेँ। गएर पासो लगाएर झुण्डिएको एकछिनपछि भिडियो अफ भएको रहेछ। कुरो थाहा पाउन सकिएन। साथी सविन ढकाललाई यसले फेसबुकमा आत्महत्या गरेको भनेर चर्चा भइरहेको रहेछ, बिहान उठेपछि बुझौँ है भनेर फेसबुक मेसेन्जरमा पठाउँदा बिहानको ३ बजिसकेको रहेछ।

अबेला भइसकेकोले सुतेँ। दिउँसो पहिलोपोस्ट कार्यालय पुगेर सविनलाई यसबारे केही बुझ्यौ भनेर सोध्दा ‘हावा जस्तो लाग्यो’ भने। खासमा उनको फेसबुक प्रोफाइलबाट झुण्डिएको लाइभ भिडियो हटाइसकिएको रहेछ। बाँकी भिडियोहरुमा रक्सी र चुरोट खाँदै लाइभमा बोलिरहेका देखिन्थे। लागेको सुरमा यत्तिकै मर्छु भनेको हुनसक्ने सविनको तर्क उचित थियो। मलाई चाहिँ त्यो झुण्डिएको भिडियो हेरको भएर घटना साँचो हो कि जस्तो लागेको थियो।

तर कसरी खोज्ने? कुनै क्लु थिएन। हिजो ग्रुपहरुमा देखिएको फोन नम्बर पनि कता हो कता, सेभ गरिएन। कुन ठाउँमा हो समेत थाहा थिएन। निश्चलको फेसबुकमा लिभ्स इन काठमाडौँ लेखिएको थियो। हिजो फेसबुकमै कसैकसैले चितवन भनेको जस्तो पनि लागेको थियो।

खोज्न थाल्यौँ। फेसबुकमै भेटिएका नम्बरहरुमा फोन गर्दै गएपछि सविनले एउटामा उनकै बाबु जीवन तामाङलाई भेट्टाए। उनले घटनाबारे विस्तृत बताए। हिजो फोन गएको रहेछ नि बुवा जीवनलाई पनि धेरै पटक। सविनसित कुरा गर्दा उनले आफू निद्रामा भएकोले मोबाइलमा धेरै कल आएको थाहै नभएको बताए। करिब १ बजेतिर छोराको साथीले गरेको फोनको घण्टीले बल्ल निद्रा खुलेछ। ‘छोराको कोठामा गएर हेर्नु त अंकल’ भनेर छोराको साथी कराएछ। कोठामा गएर हेर्दा त झुन्डिएको अवस्थामा देखेछन् छोरालाई।

कसैले झुक्याउनलाई यत्तिकै भिडियो राखेको र फोनमा पनि बाबु बनेर बनावटी कुरा गरेको त हैन? पत्रकारितामा शंका गर्नै पर्ने हुन्छ। त्यसैले प्रहरीबाट कन्फर्म गर्न खोजियो। संयोगले घटनास्थल पुगेका त्यस क्षेत्रका सई शम्भु चौधरीसित सविनको पुरानै चिनजान रहेछ। प्रहरीले पनि पुष्टि गरिसकेपछि घटना सही भएको यकिन भयो।

यत्तिकै समाचारमात्र बनाएर राख्दा फिक्का हुने भएकोले आत्महत्याको संकेत देखाउनेहरुलाई रोक्न के गर्न सकिन्छ भनेर अर्का साथी सागर बुढाथोकीलाई एक जना मनोचिकित्सकसँग कुरा गर्न लगाएँ। उसले मनोचिकित्सक गोपाल ढकालसित कुरा गर्‍यो। त्यसपछि पहिलोपोस्टमा यस्तो समाचार बन्यो- फेसबुकमा लाइभ देखाउँदै चितवनका २६ वर्षीय युवकले गरे आत्महत्या

भिडियो र परिचय देखिने स्क्रिनसट भने राखेनौँ। भरे फेरि युट्युबमा सनसनीपूर्ण शीर्षक राखेर ट्रेन्डिङ भिडियो बनाएर हाल्लान् भन्ने डरले। के थाहा कसैले भिडियो सेभ गरेर पो राखेको छ कि, अनि युट्युबबाट आउने डलरको लोभमा त्यो पीडादायी दृश्य सनसनीपूर्ण बनाएर युट्युबमा हाल्ने पो हुन् कि। त्यसो नहोस् भन्ने कामना गरौँ।

पहिलोपोस्टमा समाचार आएको केही घण्टापछि केही अनलाइनले कपिपेस्ट गरे, केहीले आफ्नै हिसाबले समाचार बनाए।

मलाई भने डर लागिरहेको छ, यसकै सिको गरेर फेरि अरु कसैले यस्तै खालको आत्महत्या गर्ने त हैनन्? त्यसो हो भने हामी सतर्क हुनु जरुरी छ। एउटा ज्यान गुम्यो, अरु नगुमोस् भन्नेमा सबैले ध्यान दिउँ।

फेसबुकले आफ्नो प्लेटफर्ममार्फत् यस्तो दुरुपयोग बढेपछि गत वर्ष आर्टिफिसियल इन्टेलिजेन्सबाट आत्महत्याको प्रवृत्ति उसका फेसबुक साथीहरुभन्दा छिटो थाहा पाएर रिपोर्ट गर्ने टुलको प्रयोग युरोपबाहेक विश्वभर सुरु गरिएको बताएको थियो। हिजो पक्कै पनि रिपोर्ट म लगायत धेरैले गरेको हुनुपर्छ। तर फेसबुकले के गर्‍यो यो थाहा भएन।

दुई वर्षअघि झापाको एउटा घटनामा भने फेसबुकले तत्काल प्रहरीलाई खबर गरेको थियो। त्यतिबेला २० वर्षीय युवकले फेसबुकमा सुसाइड नोट लेखेको रहेछ। प्रहरीले उसको ठाउँ पत्ता लगाएर मध्यरातमा फोन गरेर त्यही युवकसँग कुरा गरेको थियो र आत्महत्या नगर्न मनाएको त्यतिबेलाको काठमान्डु पोस्टमा समाचार छापिएको छ।

यस पटक पनि फेसबुकले प्रहरीलाई खबर पठाएर पनि प्रहरीले सतर्कता नजनाएको हो कि फेसबुकले थाहै नपाएको हो त्यो थाहा हुन सकेन। कसैले प्रहरीलाई फोन गरेर जानकारी दिएको भए पनि तीन घण्टाको बीचमा घटना रोक्न सकिन्थ्यो कि। केहीले कमेन्टबाटै प्रयास गरे। तर केहीले लाइभ हुँदाहुँदै कमेन्टमा कहिले गर्ने दाइ, राति अबेला गर्ने भए सुत्नु पर्‍यो भनेर जिस्कने, उक्साउने, गाली गर्ने गरेको पनि देखियो।

नेपाल धेरै आत्महत्या हुने देशमा पर्छ। तथ्याङ्कहरु निकै डरलाग्दा छन्। अघिल्लो आर्थिक वर्षमा दिनमा २५ जनासम्मले आत्महत्या गरेको देखिन्छ। आत्महत्या निकै ठूलो समस्या भए पनि यसलाई समस्या जस्तो लिइएको छैन। समाधानका उपाय पनि खोजिँदैन।

फेसबुकमा लाइभ देखाएर त नेपालमा पहिलो पटक यस्तो भएको हो तर स्टायटस लेखेर आत्महत्या धेरैले गरिसके। यसरी कसैले सोसल मिडियामा आत्महत्याको संकेत दिएमा कसरी बचाउन सकिन्छ भन्ने बारे क्लिनिकल मनोविज्ञ डा. विजय ज्ञवालीले तीन वर्षअघि यस्तो सुझाएका थिए। कृपया यसलाई मनन् गरेर आगामी दिनमा यस्तो घटना हुनबाट जोगाऔँ।

के गर्न सकिएला ?
यसका विविध पक्ष भएता पनि मेरो व्यक्तिगत विचारमा आत्महत्या रोकथामको अभियानमा लागेका म जस्ता अरु सामाजिक कार्यकर्ताको लागि यो एउटा अवसर पनि हो। बन्द कोठामा लेखिने आत्महत्या नोटको आधारमा आत्महत्या रोक्न कठिन हुन्छ तर समय मै उचित कदम चाल्ने हो र सामाजिक साइटमा लेखिने स्टाटसको आधारमा सम्भावित घटना पूर्व त्यसको पहिचान समयमा गर्न सक्ने हो भने आत्महत्या रोक्न सकिन्छ। तर यो प्रक्रिया सरल भने कदापी छैन।

आफ़्ना सोसल मिडियाका साथीले राखेको स्टाटसलाई हेरेर तुरुन्त आवश्यक कदम चाल्न सजिलो छैन। यसको निम्ति सर्वप्रथम स्टाटसकै आधारमा सम्भावित आत्महत्याकर्ताको पहिचान गर्नु प्रमुख चुनौती हुनेछ।

मैले केही अनुसन्धान रिपोर्टको आधारमा नेपालमा भएका केही घटनामा लेखिएका स्टाटस र मेरो विषय ज्ञानको आधारमा आत्महत्या गर्नु पूर्व लेखिने स्टाटसका केही सम्भावित पहिचानहरुलाइ निम्न अनुसार सूचीवद्ध गरेको छु-

  • सबैसँग अथवा निश्चित व्यक्ति विशेष सित बिदा मागेर लेखिएको
  • आफ़्नो कर्तव्य पूरा गर्न नसकेकोमा पश्चाताप अथवा माफी
  • आफू गएपछि आफ़्नो कर्तव्य अरुलाई सुम्पिएको भाव
  • आफूले प्रयास गरेको तर नसकेको, थाकेको भाव
  • केही निराशाजनक गीतका टुक्रा
  • कसैको लागि अहिलेसम्मको सहयोगको लागि विशेष धन्यवादसहित बिदा मागेको भाव
  • चरम निराशा देखिने भाव जस्तै जिन्दगी भारी भो, मलाई जिन्दगी पुग्यो, मैले धोका पाएँ, यो पीडा सहन गारो भो जस्ता शव्दको प्रयोग

आत्महत्या गर्ने व्यक्तिको पहिचान भएमा अथवा शंका लागेमा उसको सोसियल मिडियाका साथीले केही पहल गरिदिएमा उसको जीवनको रक्षा गर्न सकिन्छ।

सर्वप्रथम यस्ता स्टाटस देखेर शंका लागेमा उनीहरुसित तुरुन्त सम्पर्क स्थापना गर्ने प्रयास गर्नुपर्छ। अहिले कहाँ हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? भनेर कुरा गर्न अभिप्रेरित गर्नुपर्छ। एकान्त कोठामा भएको साथीलाई खुला हावामा निस्कन अभिप्रेरित गर्नुपर्छ।

सम्भव छ भने उसको नजिकको साथी र परिवारलाई उसको अहिलेको स्टाटसको बारेमा तुरुन्त जानकारी दिएर पछिल्लो स्थिति बुझ्न लगाउने गर्नुपर्छ। आत्महत्या रोकथामको आकस्मिक अवस्थामा गोपनियता भन्ने हुँदैन। तपाईँको साथीमाथि तपाईलाइ शंका लाग्छ भने यतिबेला आत्महत्या गर्न मन लागेको छ हो भनेर प्रत्यक्ष सोध्न सक्नुहुन्छ।

यदि हो भनेमा थप प्रश्न सोधेर तत्काल आपतकालीन सहयोगको स्रोत जुटाउने प्रयास गर्नुपर्छ। अन्य अवस्थामा तपाईँका सोसल मिडियाका साथीहरु पटक पटक निराशाजनक स्टाटसहरु राख्छन् भने उनीहरुलाई मनोविज्ञको सल्लाह लिन अभिप्रेरित गर्नुहोस्।

कसैको जीवनको रक्षा गर्नु अथवा बाँच्न सजिलो बनाउनु यो संसारमा भएका कार्य मध्येका उत्तम कार्य हो। सोसल मिडियामार्फत् यो कार्य गर्न सकियो र पूर्वसुचित आत्महत्या रोक्न सकियो भने हामी सही अर्थमा सोसल मिडिया साथी भन्न सक्छौं।

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)