यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

वर्षको एक दिन मात्र खुल्ने तलेजु मन्दिर साँच्चै अद्‍भूत छ


आज महानवमी। काठमाडौं दरबार क्षेत्रमा रहेको तलेजु मन्दिर आज एक दिनका लागि मात्र खुल्ने गर्छ। दशैँका बेला काठमाडौँ छाड्नेहरुले त्यही भएर यो मन्दिरमा कहिल्यै जान पाउँदैनन्। त्यसैले यो एउटा विशेष मन्दिर नै बनेको छ। केही वर्षअघि तलेजु मन्दिर पुग्दा लेखिएको ब्लगलाई आज सान्दर्भिक भएकोले साभार गरेको छु।

सानैमा एक चोटी त्यहाँ गएको थिएँ। तर त्यतिबेलाको कुरा बिर्सिसकेको थिएँ। बीचका कयौं वर्षहरुमा कहिले पनि त्यहाँ जाने मौका मिलेन। जाउँ न त भनेर पुग्दा पनि बाहिरको लामो लाइनबाट नै तर्सन्थ्यौं। आज भने त्यहाँ गइयो र त्यो अदभूत मन्दिरको संरचना र त्यहाँबाट देखिने दृश्यहरुलाई मनभरी संगालेर फर्किएँ। साँच्चिकै निकै नै रमाइलो र एकचोटी मात्र हैन, बारम्बार पुग्नै पर्ने ठाउँ रहेछ त्यो।

तलेजु भवानीको मन्दिरमा जाने नै भन्ने निश्चित त थिएन, तर बिहान ५ बजे उठेर एक जना साथीसित हनुमानढोकातर्फ लागेको थिएँ। मन्दिर राति अबेरदेखि नै खुल्ने रहेछ। हामी त्यहाँ पुग्दा पनि लाइन लामो भइसकेको रहेछ। हनुमानढोकाको भैरवको मूर्ति भएको ठाउँनजिकैसम्म पुगेको लाइनमा हामी सामेल भयौं। सोचेका थियौं- २/३ घण्टा पो लाग्ने हो कि। तर पनि किन हो किन यस पटक मलाई लाइन बसेर पनि त्यहाँ जान मन लागेको थियो। तर सोचे जस्तो भएन। लाइन छिटो-छिटो नै सर्‍यो। स्थानीय क्लबहरुले निकै राम्रो व्यवस्थापन गरेका रहेछन्।

एक पटक लाइन सर्दा हनुमानढोकाको गेटसम्म पुगियो। दोस्रो पटक लाइन सर्दा बीच भागमा पुगियो। तेस्रो पटकमा मन्दिरको प्रवेश द्वार नजिकै पुगियो। चौथो पटकमा भित्र नै छिरियो। मेरो दाउ त भित्रबाट पनि दृश्यहरु खिचेर तपाईँहरुलाई देखाउने थियो। ब्यागमा क्यामेरा पनि बोकेको थिएँ। तर प्रवेश द्वारमा ‘क्यामेरा भएको मोबाइल हुनेहरुले अफ गरेर मात्र जानुस् है’ भनेर भनेपछि मैले सोचेँ- मोबाइल त निषेध भएको ठाउँमा अरु क्यामेराको प्रयोग के गर्न दिइन्थ्यो र। चोरेर खिचेको भए त खिचिन्थ्यो होला, तर नहुने काम किन गर्नु भनेर गरिनँ।


स्याटेलाइटबाट फोटो खिच्न त कसैले रोक्न सक्दैन। गुगल म्यापमा देखिएको तलेजु मन्दिर।

प्रवेश द्वारबाट पस्ने बित्तिकै एउटा अर्कै संसारमा पुगे जस्तो लाग्यो। त्यहाँको चोक गजबको रहेछ। एक जमानामा मल्ल राजाहरुको निजी प्रार्थना गर्ने स्थलका रुपमा रहेको यो मन्दिरको उचाइ १२० फिटभन्दा बढी रहेको छ। तीन तल्ले छाना रहे पनि मन्दिरको संरचना भने गजबको रहेको छ।

राजा महिन्द्र मल्ल तलेजु भवानीका निकै भक्त थिए। भक्तपुरमा बसिरहेका बेला उनले उनको प्रार्थनाबाट प्रसन्न भएका देवीले काठमाडौंमा पनि मन्दिर बनाइदिन अनुरोध गरेछन्। श्रीयन्त्रको आधारमा यो मन्दिरको निर्माण भएको छ। कथन छ, तलेजु भवानी आफैले एउटा माहुरीको रुप लिएर कसरी मन्दिर बनाउने भनेर निर्देशन दिएका थिए। त्यसपछि सोही रुपमा मन्दिर पनि प्रवेश गरेका थिए।

तलेजु एक तान्त्रिक देवी हुन्। हिन्दू र बौध्द दुवै धर्मकाहरुले यसलाई मान्छन्। विश्वकै एकमात्र जीवित देवीका रुपमा लिइने कुमारीलाई पनि तलेजु भवानीको मानव अवतारका रुपमा लिइन्छ। तपाईँहरुलाई थाहै होला, बौध्द धर्म मान्ने शाक्य जातकी कन्यालाई कुमारी बनाउने गरिन्छ।

तलेजु भवानीले दिएको श्राप कै कारण जयप्रकाश मल्ल पराजित भएर काठमाडौंमा मल्ल वंशको पतन भएको कथन छ। सन् १७६९ मा शाहवंशका पृथ्वीनारायण शाहले आक्रमण गरी काठमाडौं जितेपछि उनी पनि त्यही दरबारमा बस्न थालेका थिए। सन् १८९६ मा बल्ल शाहवंशका राजाहरुको निवास नारायणहिटी दरबारमा सरेको थियो।

चोकबाट फेरि लाइन बस्नुपर्ने रहेछ माथि मन्दिरसम्म जानका लागि। निकै कलात्मक थियो मन्दिर। ठाउँ-ठाउँमा मूर्तिहरु रहेछन्। कतिपय मूर्तिमा भने वर्षाको पानीका कारण लेउ जमिसकेको रहेछ।

निकै उचाइमा रहेको मन्दिरको मूर्ति रहेको स्थानमा एक छिन मात्र उभिन दिइयो। त्यहाँबाट मन्दिर परिक्रमा गरेँ। त्यहाँबाट हनुमानढोका दरबार परिसर र काठमाडौंका अन्य दृश्यहरु निकै राम्रो देखिने रहेछ। मन्दिर पनि जति हेर्‍यो- हेरुँ-हेरुँ लाग्ने रहेछ। भीड हुन्छ भनेर त्यहाँ धेरै बेर बस्न दिइएको थिएन। तर म भने फर्की-फर्की मन्दिरलाई नै नियालिरहेको थिएँ।

मन्दिरमा चढ्ने र अ‍ोर्लने सिढी भने निकै ठाडो भएकोले ध्यान दिएर चढ्ने र अ‍ोर्लने गर्नुपर्ने रहेछ। मन्दिरबाट तल झरेर हनुमानढोका दरबारको नासल चोक हुँदै फर्कनु पर्ने रहेछ। त्यहाँ गुह्येश्वरीको पनि निर्माण गरिएको रहेछ।

फर्कने क्रममा एउटा चोक हुँदै फर्कनु पर्ने रहेछ। त्यो चोक रगतै रगतले भरिएको थियो। गएराति ५४ वटा राँगा र ५४ वटा बोका यही ठाउँमा काटिएका रहेछन्। ज्यादै डरलाग्दो र तन्त्रमन्त्रले भरिएको रहस्यमय ठाउँ जस्तो लाग्थ्यो त्यहाँ। एउटा मन्दिर जस्तो ठाउँमा काटिएका ५४ वटा राँगाका टाउकाहरु चढाइएका थिए।

त्यो चोकबाट निस्किएपछि नासलचोक पुगिने रहेछ। त्यहीँ हुने रहेछ दरबारका महत्त्वपूर्ण परम्परागत कार्यहरु। वीरेन्द्र र अहिलेका राजाको गद्दी आरोहण पनि यही स्थानमा भएको थियो, जहाँ नेताहरुले उनलाई दाम राखेर ढोगेका थिए।

एक घण्टामा नै हामी लाइन बसेर, मन्दिरभित्र पुगी फर्किसकेका थियौं। सँगै लाइन बस्ने बूढापाकाहरु भन्दै थिए-यसपालि भीड छैन नि त्यति, सबै दशैं मनाउन घरतिर लागेकोले होला। नभए त यो ठाउँमा तीन चार पटक घुमेका लाइन हुन्थे, हल्ला हुन्थ्यो। हुन पनि यो पालि हामी सजिलै दर्शन गरेर फर्केका थियौं।

चोकमा देखिने कलात्मक मन्दिर, संरचना र मूर्तिहरु देखेर एक वृध्दा भन्दै थिइन्- “पहिलेका राजाहरु कति असल थिए। कस्ता-कस्ता कुरा बनाउन लगाएका थिए। अहिलेका राजाहरु भने बनाउन त परै जाअ‍ोस्, भत्काउने र चोर्ने काम मात्रै गर्छन्।”

( October 1st, 2006 मा पहिलो पटक प्रकाशित)

2 comments to वर्षको एक दिन मात्र खुल्ने तलेजु मन्दिर साँच्चै अद्‍भूत छ

  • madan bajracharya

    पृथ्बी नारायण शाहले हमला गर्दा खुट्टामा गोलि लागेको जय प्रकाश मल्ल र घाईते भयको तेज नरसिंग मल्ल तलेजुको मन्दिर भित्र भागेको र तेसपछी उनीहरु पाटनको मंगल बजारको भीमसेन मन्दिर बात निक्लेको र तलेजु देखि त्याहा सम्म सुरुङ्ग बाटो रहेको भनिन्छ/ मंगल बजारको भिमसेनको मन्दिर (होनाचाको आलुको तरकारी पसल अगाडी!!!) भित्र यौटा ठुलो सन्दुक छ, त्यो सन्दुक भित्र सुरुङ्ग पस्ने बाटो छ भनिन्छ/

    तेस्तै स्वयम्भूमा रहेको इन्द्रपुर आदि जहा भित्र जामन गुभाजु र तिनका सन्तानहरु मात्र पस्न सक्छ भनिन्छ त्याहा बात चोभार सम्म निक्लिने सुरुना भयको कुरा पनि भनिन्छ/ गणेशमान जेल तोडेर भारत भाग्ने बेला चोभारको गुफामै लुकेको भनेकोले काठमांडू भित्र केहि तेस्तै सुरुङ्ग बाटोहरु रहेको हुन् सक्छ/

    नेपालको ठुलो ठुलो चैत्य (जस्तै स्वयम्भुमै) र बिहार भयको केहि स्थानमा त्याहा पस्ने सुरुङ्ग बाटो हरु भयको हामीले रहेको सुने पढेकै कुरा हो/ त्याहा अत्यन्त ठुलो धन र धार्मिक र इतिहासिक महत्व भयको बस्तु हरु सुरछित राखिने गरेको उदाहरणहरु धेरै छन्/अचेल तेस्तो स्थानको जिम्मेवारी बोक्नेहरु उहिलेका जस्तो इमान्दार छैनन् नभयको कुरा बर्षमा करोडौ दछिना असुलेर पसुपतिको कोषमा मात्र केहि हजार बुझाउने भारतीय पुजारीको कर्तुत सम्झे पुग्छ/ त्यो भट्ट नेपाल बात फर्कंदा पसुपतिको भत्ताको सामान भन्सारले चेक जांच गर्न नपाउने नियम छ/ तेसैले कसैले यस्तो कुरामा चासो राख्ने राम्रो होला जस्तो लाग्छ/

    म सानै हुँदा तिन धारा पाथासला बात कमल पोखरी निक्लने बाटो मुनि यौटा पानि बगि रहने सुरुङ्ग थियो/ त्याहा लाटो कोसेरो समाउन हामि टायर बालेर भित्र जान्थे/ त्यो सुरुङ्ग बात नारायण हिटी पुग्न सकिन्छ भनिन्थ्यो/ हामि त्याहा पस्दा त्यो सुरुङ्गको अर्को पट्टिको मुहान नारायाण हितिको बगैचा भयको देखिन्थ्यो तर हामि उता सम्म कहिले पनि गयनौ त्याहा गयो भने पुलिश्ले समायर पिथ्छ भनेकोले/

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • Dev

    Thank you for info.

    It will be convinient to add an option to LIKE along with comment.

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)