यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : बलिको बोकाको पुकारा

-राजु अधिकारी –

आज उसको मर्ने दिन। उसलाई सबै थाहा छ, उसले सबै कुरा बुझ्छ तर ऊ बोल्न र आफ्ना भावनाहरू अन्य माध्यमबाट व्यक्त गर्न असमर्थ छ। पशु हुनुको सजाय त्यही हो। जतिसुकै पिडा भए पनि जतिसुकै छटपटी भए पनि उसको त्यो पिडा र छटपटी कसैले बुझ्न सक्दैन या बुझ्न चाहँदैन। पाँच दिन अगाडी मात्रै बर्दियाबाट लगभग १२ घण्टाको लामो यात्रामा गाडीमा कोचेर उसलाई काठमाडौँ ल्याइएको हो यसै दिन को लागि। त्यो लामो यात्रामा न त कसैले उसलाई पानी पिउन दिए न त खान नै दिए तर आफूहरू भने बाटोमा गाडी रोक्दै टन्न खादै आए। भर्खर एक वर्ष मात्र काटेको ऊ आमा र आफ्ना साथीहरूबाट छुट्टिँदा निकै रोएको थियो। उसको आँखामा पिलपिल गरेको आँसु स्पष्टै देखिन्थ्यो तर उसको त्यो आसुको कसैले वास्ता गरेनन् अनि च्याप्प समातेर उसलाई गाडीमा कोचे अनि गाडी हुंइकाए।


आज दशैको अष्टमी हो। आजको दिन ऊ जस्तै कलिला अन्य जनावरहरू लाखौँको सङ्ख्यामा निर्ममतापूर्वक काटिँदै छन् धर्म गर्ने नाममा, देवी देवतालाई खुसी गराउने नाममा। त्यो सम्झेर उसलाई रुन्चे हाँसो उठ्छ। तर बलिको अचानो पर्खेर बसेका अरू जनावर भन्दा उसले आफूलाई भाग्यमानी ठानेको छ किनभने ऊ एउटा ठुलो नेताको घरमा प्रतिस्थापन गरेको देवीको नाममा बलि चढ्दै छ। उसको रगतले ती नेताजीको पाप पखाल्छ रे। उसले नेताजी र अरूहरूले गरेको कुराकानीबाट थाहा पाएको थियो कि उसको बलि नेताजीको पाप पखाल्ने र भविष्यमा अन्य व्यवधान नल्याउने एउटा मात्रै उपाय हो।

नेताजी राजनीतिकर्मी हुन। उनले कम्युनिस्टको राजनीति गर्छन्। त्यही राजनीतिबाट उनी निकै ठुलो नेता बनेका छन्। केही वर्ष अगाडी चप्पल लगाएर हिँड्ने उनी अहिले महँगा गाडीमा सवार गर्छन् अनि आलिसान बंगालामा बस्छन्। धेरै पटक उनले मन्त्री पड्काई सके। नेताजीको त्यही आलिसान घरको आँगनको एउटा कुनामा उसलाई पाँच दिनदेखि बाँधेर राखिएको छ।

उसलाई थाहा भैसकेको छ कि आज भोलि नेताजीको राजनीति त्यति राम्ररी चलेको छैन। केही महिना अगाडी भएको निर्वाचनमा उनले पराजय भोग्नु प-यो तर त्यसबाट उनले हार मानेका छैनन्। उनी त्यति सजिलै हार मान्ने मान्छे नै हननै नत्र राजनीतिमा यति सफल कसरी हुन्थे र? जसरी पनि सांसद हुने अनि फेरी मन्त्री पड्काउने उनको त्यो कुटिल चाल चलि रहेको छ। त्यसैले कहिले के कहिले के तिगडमले गरिरहन्छन् उनी। तर उनको छलकपट र झुठको राजनीति जनताहरूले चाल पाइसकेका छन्, उनको आफ्नै दलबाट पनि केही विरोध आवाजहरू आउन थालेको उनले महसुस गरेका छन्। त्यसैले पक्कै पनि उनको दिन आजभोलि राम्ररी चलेको छैन भन्ने सोचेर उनले ज्योतिषलाई एक पटक देखाउने बिचार गरे। हुन त उनी कम्युनिस्टको राजनीति गर्ने हुनाले त्यस्ता ज्योतिषी हरेको कुरा मान्नु हुँदैन भनेर उनले जनतालाई पाठ सिकाउँदै हिंड्छन तर आफैलाई परे पछि के गर्नु? अलि अलि लाज पनि लाग्यो तर के को लाज राजनीति गर्ने मान्छेलाई? लाज मानेर कहिले पार लागिन्छ? केही वर्ष अगाडी सम्म पनि धर्म भनेको बिष हो भन्दै मन्दिर भत्काउदै हिँड्ने, पुजारीहरूलाई सफाया गर्दै हिँड्ने क्रान्तिकारीहरू त अहिले दसैँमा टिका लगाउँदै मन्दिर धाउन थालेका छन् भने उनी जस्ता नक्कली कम्युनिस्टलाई के को लाज? त्यही सोचेर उनले ज्योतिषलाई घरमा बोलाएर आफ्नो कुण्डली देखाए।

ज्योतिषले पनि उनको कुण्डली निकै ध्यान लगाएर हे-यो। अनि भगवती दुर्गा रिसाएकोले यस्तो भएको भन्ने निष्कर्ष निकाल्यो। तर उसले त्यो समस्याको समाधान पनि दियो- दसैँको अष्टमीको दिन घरको आँगनमा पूर्वतर्फ फर्काएर देवी दुर्गाको १०८ किलो सुनको प्रतिमा स्थापना गरेर त्यसमा कालो बोकाको बलि दिए पछि भविष्यमा सबै कुराहरू सबै राम्रो हुँदै जान्छ। ज्योतिषले त्यो कार्यलाई अर्थ्याउँदै भन्यो- ‘त्यो कालो बोका महिषासुरको रूप हो अनि त्यसलाई मारे पछि तपाइलाई पनि अनि परिवारलाई पनि सधैको लागि सुख शान्ति प्राप्त हुनेछ।’

त्यो कुरा नेताजीलाई पनि निकै मनासिब लाग्यो। राजाको शासन हुँदा एउटा मात्र राजा थिए तर राजाको शासन सकिए पछि देशमा धेरै राजा भएका थिए, तिनै नयाँ बनेका राजाहरू मध्य नेताजी पनि एक राजा थिए। देशको राजनीतिमा छलकपट गरेर हुन्छ की, सिद्धान्त परिवर्तन गरेर हुन्छ की, आफ्नै दल फुटाएर हुन्छ की जसरी पनि नेताजी राजनीतिमा सधैँ नै हाबी भए। एक पटक आफू गृह मन्त्री हुँदा उनले धन कमाउने एउटा नयाँ र सजिलो उपाय निकालेका थिए। गृहमन्त्रीको हैसियतमा आफ्नो मातहतको प्रहरी विभागमा आफ्ना मान्छेहरूलाई घुसाएर विदेशबाट सुन तस्करी गरेर उनले निकै पैसा अनि सुन पनि कमाए। त्यसैले उनको ढुकुटीमा ठुलै मात्रामा सुन जम्मा भएको थियो। केही महिना अगाडी नयाँ बनेको सरकारले सुन तस्करीको पर्दाफास गरेर सुन तस्करीमा लागेका ठुला माछा पकड्ने घोषणा पनि गरेको थियो तर उनी जत्रो ठुलो नेतालाई कसले समात्ने? उनलाई आरोप सम्म पनि लगाउन सकेन सरकारले। अनि ठुलो माछो समात्छौ भनेर ठुलै प्रचार गरेको सरकारले त्यो काण्डमा सामान्य टोले गुण्डाहरुलाई जेल हालेर तिनै भ्यागुताहरूमा मात्रै चित्त बुझाउनु प-यो। जनताको लागि माछो माछो, भ्यागुतो भयो।

तर त्यो तस्करी गरेर जम्मा गरेको कालो सुनलाई ढिलो चाँडो सेतो बनाउनै पर्ने थियो नेताजीलाई। त्यसैले पनि उनलाई केही उपाय चाहिएको थियो। त्यसैले ज्योतिषले सुनको प्रतिमा बनाउन दिएको सल्लाह उनलाई पनि सायद भगवानले उनलाई त्यो पाप पखाल्नको लागि जुराएको हुनु पर्छ जस्तो लाग्यो।

अनि एक दिन त्यो जम्मा भएको सुन लिएर आफूले चिनेको प्युठानको विरे बाँडा कहाँ गएर उनले सुनको मूर्ति बनाउन लगाए। अनि कसैलाई शङ्का नहोस् भनेर त्यसमा इस्पातको जलप लगाएर काठमान्डौ ल्याए। उनीहरूले त्यो मूर्ती ल्याएकै दिन त्यो बाँडाको सडक दुर्घटनामा असामयिक निधन भयो बिचरो बाँडाको त्यो नै अन्तिम मूर्ति भयो।

देवीको प्रतिमा स्थापना गर्ने अष्टमीको त्यो दिन बिहानै देखि नेताजी को घरमा निकै चहल पहल थियो। नातागोता इस्ट मित्रहरू बोलाइएका थिए। आँगनमा एउटा सानो मन्दिर जस्तो घर बनाएर उनीहरूले त्यहाँ त्यो सुनको प्रतिमा स्थापना गर्दै थिए। फुलमाला, अक्षता, जमरा सहित सङ्ख ध्वनिका साथ उनीहरूले दुर्गा माताको त्यो १०० किलो भन्दा बढी वजनको प्रतिमा चार पाँच जना मिलेर बाहिर ल्याए अनि ज्योतिषले दिएको शुभ मुहुर्त अनुसार त्यहाँ स्थापना गरे। त्यो चम्किलो मूर्ती त्यो सानो मन्दिरमा निकै राम्रो देखियो। बाघमा चढेकी देवीको त्यो हँसिलो अनुहार निकै सुहाएको थियो। त्यो देखेर नेताजीलाई सन्तोष लाग्यो। नेताजीकी छोरी आएर देवीको अर्को हातमा त्रिशुली राखिदिइन अनि छोरो आएर बोकालाई बलि दिन भनेर राखेको तरबार देवीको अर्को हातमा राखिदियो।

त्यो देखेर नेताजीले छोरोलाई सोधे- ‘के गरेको यो तैँले?’

‘बलि हान्ने तरबार पनि चोख्याउन परेन त ड्याडी? त्यति भएपछि मार काट गरेको पाप पनि लाग्दैन के।’

त्रिशुली र तरबारमा देवीको हँसिलो अनुहार अझ सुहायो। नेताजीलाई देवीको त्यो हँसिलो अनुहार उनको लागि आशीर्वाद हो जस्तो लाग्यो अनि उनी भित्रैदेखि मक्ख परे।

अनि त्यो बलि हान्ने तरबारलाई उनको छोराले देवीको हातमा लगेर राखी दियो। लगभग तीन किलो वजनको त्यो तरबार निकै धारिलो थियो।

उनीहरूले बोकालाई आँगनमा ल्याए अनि टिका जमरा लगाई दिए अनि पानी छर्केर अभिषेक गरे। बोकाको टाउकोमा पानी परेपछि त्यसलाई फाल्न उसले मुन्टो हल्लायो अनि उनीहरूले बोकाले देवीको बलिमा आफूलाई स्वीकृति दियो भनेर उसलाई काट्ने तरखर गर्न थाले।

उता कालो बोकाले आँखा भरि आँसु लिँदै दुर्गा माताको मूर्तीका ती चम्किला आँखामा हेर्दै पुकार गर्दै थियो- ‘माता मलाइ बचाउनुस्। मलाइ बलि दिएर यिनीहरूको पाप कसरी पखालिन्छ? मैले केही पाप गरेको भए पो मलाइ बलि दिनु मनासिब हुन्थ्यो। मलाइ मारेर उनीहरूले पुण्य कमाउने यो तर्कहीन कुरा कहाँ बाट आयो? मलाइ यिनीहरूले महिषासुरको रूप भनेर मार्न लागेका छन्। म कसरी महिषासुर भएँ? जन्मेको भर्खर एक वर्ष मात्र भएको छ, म बालकले के त्यस्तो पाप गरेँ र माता? यो अपराध हो माता, यो कुसंस्कृति हो। असल महिषासुर त यिनै नेताजी जस्ता सयौँ नेताहरू हुन। यिनीहरूले जनताको सम्पत्ति कुम्ल्याएका छन्, यिनीहरू नै सुरा र सुन्दरीमा भुलेका छन्, भ्रष्टाचार गरेका छन्। माता यिनीहरूले नै हजुरको रूपमा जन्मिएका स्त्री जातिहरूलाई बलात्कार गरेका छन् अनि बलात्कारीलाई संरक्षण गरेका छन्। यदि संसारमा अझै पनि धर्मको राज्य छ, सत्यको राज्य छ भने मलाइ बलि चढाउनुको साटो यिनै मानवरुपी महिषासुरहरुलाई बलि चढाउनु पर्छ। उसले रुदै पुकारा ग-यो तर त्यो निर्जीव मूर्तीले कसरी सुन्न सक्थ्यो र? उसले आफ्नो गर्धनमा तरबार पर्ने पल गनेर पर्खनु बाहेक ऊसँग अरू केही उपाय पनि थिएन। न त भाग्न सक्थ्यो न त उसलाई मार्न तयार भएका मान्छेहरू सँग युद्ध गर्न सक्थ्यो। निराशामा उसले आँसुले भरिएका आँखा चिम्लियो अनि मनमनै पुकारा गर्दै रह्यो।

नेताजीले सेतो धोती लगाएर भर्खर स्थापना गरेको देवीको मूर्ती अगाडी गएर त्यहाँ पूजा पाठ गर्न थाले। उता छोरो चाहिँ बोका काट्ने तयारी गर्दै थियो।

नेताजीले पाठ गर्दै थिए- ‘या देवी सर्व भुतेषू सत्य रुपेण संस्थिता……’

उता छोरोले बलि हान्नलाई अचानो भेटेन। अनि चोकको मासु पसलमा गएर अचानो ल्याउनु प-यो भनेर आँगनमा राखेको पजेरो गाडीको सोचा लिएर गाडी सुरु ग-यो।

नेताजीको छोरोले गाडी सुरु गरेको त्यो कम्पनबाट देवीको हातमा राखेको तरबार खस्यो।

तरबारको धारको हावाबाट कम्पन हुँदै आएको आवाजले त्यो बिचरो बोकाले सोच्यो की तरबार आफ्नो गर्धनमा प-यो होला भनेर। तर एक छिन पर्खँदा पनि उसले त्यस्तो केही महसुस गरेन अनि डराउँदै बिस्तारै आँखा खोल्यो।
त्यो तरबार उसको गर्धनमा होइन की तिनै पाठ गरिरहेका नेताको गर्धनमा खसेर उनको गर्धन छिनालेको थियो। देवीको हँसिलो मुहार र चम्किला आँखाहरूले सायद उसलाई नै हेरिरहेको जस्तो लाग्यो अनि शिर झुकाएर मनमनै देवीलाई प्रणाम ग-यो।

3 comments to कथा : बलिको बोकाको पुकारा

  • madan bajracharya

    आज अर्थात धर्मको नाममा विकृत पशु हत्या गरेर बडा दिन मानेको दिन त्यो पशुको मर्ने दिन होईन धर्मको नाममा भगवानको नाममा धर्म र इस्वरको उज्जल मुहारलाई नै कलंकित गर्ने हत्याराहरुले लाखौ निर्दोष पसुहरुको हत्या गरिने दिन हो/ मैले देखेको छुँ, कि इस्वरको मुर्तिको अगाडी पशुको गला रेटेर रगत छद्केर मात्र सानो टुक्रा मासु चधाउनुको तात्पर्य मात्र घरमा त्यो पशुको सब को परिकार बनायर खाने गर्छ/ यहि परम्परा धर्म र संस्क्र्ति हो तेस्तै गर्ने धर्मात्मा हो भने म त्यो धर्म त्यो उनीहरुको पशु मारेर खाने बडा दिन र कथित दसैलाई मान्दिन होईन थुकेर आफ्नो थुक पनि व्यर्थ पथाउन्दिन चाहे उनीहरुले मलाई “घोर पापिनै” किन नभनुन/
    भन्नुको अर्थ म मासु खान्दीन भनेको होईन/ तर म आफ्नो शरीरको आवस्यकता पुरा गर्न मासु खान्छु धर्मको नाममा खान्दिन/ संसारमा जीव र जीवनको परिभाषा ब्यापक र बृहत द्रिस्तिकोनले हेर्ने र बुझ्ने हो भने निस्प्रयोजनको बस्तु बा जीव मात्रै “निर्जीव” हो/ घास रुख आदि सबै सजिवानै हो पशु र हामि जस्तै/ मात्र आकार र रुप र जिउने तरिका फरक हो/ सबै सबैको जिउने आधार हो/ त् बाच्नको निमित खाउन मासु तर व्यर्थैमा कसैको प्राण लिन पशुको हत्या नगरु/
    धर्मको नाममा सति जाने पठाउने, बाल बिबाह गर्ने गराउने दास बन्ने बनाउने प्रथा अपराध बनाउने कानुन बनाउनेले किन व्यर्थैमा लाखौँ पशुको बलि दिने प्रथा पनि बन्द गर्दैनन्, तेस्को कवाव खान ?

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • kirtu joshi

    bamdev ki jay

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Haracha

    “त्यो तरबार उसको गर्धनमा होइन की तिनै पाठ गरिरहेका नेताको गर्धनमा खसेर उनको गर्धन छिनालेको थियो। देवीको हँसिलो मुहार र चम्किला आँखाहरूले सायद उसलाई नै हेरिरहेको जस्तो लाग्यो अनि शिर झुकाएर मनमनै देवीलाई प्रणाम ग-यो।”

    आहा एस्तो भएको चाडो सुन्न पाउ देवी दुर्गा…..जय दुर्गा भवानी…..

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)