यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

मेरो बलात्कार भएको छ

-शुषमा मानन्धर-

“मेरो बलात्कार भएको छ ।”

कुरा सुनेर पहिले त ऊ निकै झस्की । नपत्याएझैँ मेरो अनुहार हेरी।

“चाहिने कुरा पो गर्नु अजीत।”

उसले आँखा र निधार खुम्च्याउँदै निहुरिएर भनी, “कहीँ लोग्नेमान्छेको पनि बलात्कार हुन्छ, अझ उसमाथि तिमीजस्तो स्मार्टको?”

“तिमीसँग कहिल्यै झूठ बोलेको छु र? त्यही बताउन त आज यहाँ बोलाएको हुँ। के ममाथि कुनै अन्याय हुन सक्दैन?” मैले भनेँ।

ऊ चुपचाप मलाई हेरिरही । म गम्भीर थिएँ।


“कसरी, कहिले अनि कसले गर्‍यो त ?” उसको अनुहारमा शङ्का मुछिएका थुप्रै आश्चर्यमिश्रित प्रश्नहरु थिए ।

“हजुर के लिनुहुन्छ ?” वेटरले मेरोअगाडि मेनु राख्यो ।

“के खान्छौ ?” मैले ऊतिर मेनु बढाएँ ।

उसले आँखै लाइन, “तिमीलाई जे मन लाग्छ, मगाऊ ।”

ऊ मलाई अझ पनि विस्फारित नेत्रले हेरिरहेकी थिई ।

ऊ अर्थात् रुपा। मेरी सहकर्मी। हामीले पत्रिकामा सँगै काम थालेको झन्डै दुई वर्ष हुन लाग्यो। उसलाई मेरो आनीबानी राम्रैसँग थाहा छ। केटी साथीहरुसँग हाँसोठट्टा गर्ने भए पनि कसैसँग मेरो डेटिङ थिएन, न त कुनै महिलासँग गहिरो उठबस नै थियो। म अस्तिसम्म पूरै कुमार केटो थिएँ। चाहन्थेँ, बिहेको दिन म आफ्नी श्रीमतीलाई उपहारको रुपमा आफ्नो कुमारत्व सुम्पूँ। मेरो विचारसँग ऊ परिचित थिई, त्यही भएर पनि ऊ मलाई रुचाउँथी। मसँग निर्धक्क, निर्भय हिँड्थी।

यही बीचमा यो घटना घट्यो। गत केही समयदेखि रुपाप्रति मेरो अनुराग पलाउँदै थियो। र, उसलाई लिएर संवेदनशील पनि थिएँ। सोचेँ, यो कुरा कम्तिमा रुपालाई बताउनैपर्छ। त्यही भएर आज उसलाई बोलाएको थिएँ।

“हजुर के अर्डर गर्नुहुन्छ ?” छेउमा उभिएको वेटरले दोहोर्‍यायो।

“टोष्ट, अण्डा र कफी, दुई ठाउँमा। हुन्न?” मैले रुपालाई सोधेँ।

वेटर टेबुलबाट मेनु लिएर फर्कियो।

“भन न, यो सब कसरी भयो ?” वेटर गएलगत्तै रुपाले आतुर हुँदै सोधी।

कुरालाई कहाँबाट थालूँ, म अल्मलिँदैै थिएँ।

मेरो अनुहारमा टाँसिएका रुपाका दृष्टिमा मेरो लागि सहानुभूति थियो कि गिल्ला वा लाछी नामर्दपनको व्यङ्ग्य, खुट्याउन डर लाग्यो। ऊ घरीघरी ओठ बङ्ग्याउँथी, केही सोचेजस्तै गर्थी। अनि मेरा आँखामा गहिरोसँग सत्य नियाल्न खोज्थी। जताततै महिला बलात्कारका घटना र समाचार व्याप्त भइरहेका बेला मजस्तो हट्टाकट्टा युवक बलात्कृत भएको कुरा उसका लागि आश्चर्यलाग्दो मात्र हैन, शायद केही हदसम्म अनौठो पनि थियो।

मैले टेबुलमा राखिएको बट्टाबाट एउटा न्याप्किन निकालेर अनुहार पुछेँ। उसले मलाई हेरिरही।

सडकछेउको रेष्टुराँ सफा र आरामदायी थियो। त्यसैले यहाँ खान आउनेहरुको कुनै कमी थिएन। झ्यालमा टिनिक्क तन्काइएका सेता पर्दा र प्रत्येक टेबुलमा राखिएका सफा कोठेदार टेबुलपोशमाथि नून–चिनीका ससाना सिसी र सजाइएका फूलले मात्र हैन, त्यहाँ पाश्र्वमा बजिरहने मोहक धूनहरुले पनि वातावरण अझ रमाइलो बनिरहेको थियो।

अहिले पनि रेष्टुराँभित्र मधुरो धून तैरिँदै थियो। अरु ग्राहकहरु आइसकेका थिएनन्। त्यहाँ सिर्फ हामी थियौँ, सबभन्दा पछाडिको टेबुलमा। पारदर्शी काँचका झ्यालबाहिर अलकत्रे सडकमा सुखद् सुनौलो घाम पोखिन थालेको थियो। झ्यालको कापबाट काँप्दै आएको एक धर्सो घाम मेरो ढाडमाथि पनि परिरहेको थियो।

“केही दिनदेखि मलाई सन्चो थिएन, तिमीलाई पनि थाहा छ।”

रुपाले सहमतिमा टाउको हल्लाई।

“पछिल्लोपटक तिमीसँग छुटेपछि कोठामा फर्कंदै थिएँ, बाटोमा जग्गुलाई भेटेँ ।”

“को जग्गु ? तिमीले त पहिला कहिल्यै यो नाम लिएका थिएनौ नि !” रुपाले पनि बट्टाबाट न्याप्किन तानी र निधार पुछ्दै सोधी ।

“तिमी चिन्दिनौ । पुरानो साथी हो । धेरै दिनपछि भेटेकाले उसले मलाई केही खाँदै गफ गर्ने प्रस्ताव राख्यो । हामी एउटा रेष्टुराँमा पस्यौँ । खानासँगै रङ्गीन झोल पनि थपिएपछि भने ऊ बढी खुल्न थाल्यो । कुरैकुरामा उसले अचेल सजिलो, बढी तलब आउने र आरामदायी ‘पार्टटाइम जब’ भेटेको कुरा सुनायो । मैले बढी खोतलेपछि उसले एकजना विदेशी बूढीको साथी बन्न थालेको र प्रत्येकपटकको लागि निःशुल्क खानपिन र आकर्षक बक्सिस पनि पाउने गरेको कुरा आँखा सन्काउँदै बतायो ।” म बोल्दाबोल्दै रोकिएँ ।

“यु मिन, के ऊ जिगोलो थियो ?” अप्रत्याशित रुपमा चर्को बन्न गएको आफ्नो आवाजप्रति रुपाले लामो जिब्रो काढ्दै रेष्टुराँभित्र चारैतिर दृष्टि डुलाई ।

“हो रहेछ, उसैले भनेर मात्र थाहा पाएँ ।” मैले भनेँ ।

हाम्रो ब्रेकफास्ट आइपुग्यो ।

रुपाले अण्डा छोडाउन थाली, “अँ भन्दै जाऊ ।”

“जग्गुसँग गफ गर्दागर्दै रातको दश बज्यो । म ढिलो भयो भन्दै उठेँ । ऊ चैँ कुनै साथीलाई पर्खनु छ भन्दै त्यहीँ बसिरह्यो । म त्यति धेरै पिउने मान्छे थिइनँ । साथीसँग कति पिएछु कुन्नि, कस्तोकस्तो अनुभव भइरहेको थियो । घर पुग्दा लोडसेडिङको अन्धकार थियो । ढोका ढक्ढकाएँ, घरबेटीले टर्च लिएर ढोका खोल्न आइन् ।

“ओहो, ढिलो भएन र आज ? पार्टी थियो कि क्या हो ?” घरबेटीको प्रश्न थियो ।

म केही बोलिनँ । माथि उक्लेर चुपचाप ढोका बन्द गरेर सुतिहालेँ । भोलिपल्ट चाँडै निद्रा खुलेन मेरो । ब्युँझँदा टाउको टनटन दुखिरहेको थियो । अफिस पनि जान सकिनँ ।”

कुराको बीचैमा, मैले अन्डा मुखमा राख्दै कफीको एउटा ठूलो घुट्को पिएँ । रुपा पनि पाउरोटी टोक्दै थिई ।

रेष्टुराँ मालिक्नीले हामीलाई राम्रैसँग चिन्थिन् । उनी किचेनबाट निस्केर हामीलाई मीठो अभिवादन गरी काउन्टरमा बसिन् ।

“भाइ, कफी कस्तो बनेको छ ? मैले आफैँ बनाएकी हुँ ।” उनले सोधिन् ।

“तपाईंका कुराजत्तिकै मीठो छ ।”

उनी मेरो प्रशंसामा मख्ख परिन् ।

“अनि के भो ?” कफी पिउँदै रुपाले मलाई विषयतिर फर्काउन खोजी ।

“त्यो दिनभरि मेरो मुड ठीक थिएन । टाउको भारीजस्तो, अल्छी लागेजस्तो भएर दिनभरि खाटमा पल्टिनै रहेँ । जसोतसो केही पकाएर खाएँ । साँच्ची भन्ने हो भने कोठाबाट बाहिर निस्कन नै मन लागेन । दिउँसो जग्गुले फोन गरेर भेट्न आउन चाह्यो । आउने टाइम भने निश्चित छैन भन्दै थियो । मैले आफू दिनभरि घरै हुने भएकाले कुनै पनि बेला आउँदा हुन्छ भनेँ ।”

रुपाले कुरा सुन्दासुन्दै ब्रेकफास्ट सकाइसकेकी थिई । आफ्नो कप हेरेँ, आधा बाँकी रहेको मेरो कफी भने चिसो भइसकेको थियो । मैले एकैचोटिमा त्यसलाई घुट्क्याएँ ।

“अर्को एकएक कप कफी थपौँ है ?” उसले मेरो प्रतिक्रिया नकुरी दुई कप कफी अर्डर गरी ।

“दिउँसोभरि जग्गु आएन ।

साँझतिर घरबेटीले भित्र पस्दै सोधिन्, “किन के भयो तपाईंलाई ? आज त कोठाबाट निस्कनुभएको पनि देखिनँ ।”

निकै फरासिली घरबेटी फुर्सद पायो कि कोठामा गफसप गर्न आइरहन्थिन् । केही समस्या प¥यो भने लाज नमानी भन्नुस् है पनि भन्थिन् । मैले उनलाई सन्चो नभएको बताएँ ।

“खै, खै !” उनले सहज मेरो निधार छामिन्, “त्यस्तो ज्वरोसरोे छैन । चिसोले भेटेजस्तो छ । पर्खनुस्, यसको उपाय छ मसँग । अनि केही खानुपिउनुभयो कि भएन ?”

आफ्नो प्रश्नको उत्तर नै नपर्खी उनले आफैँ भान्छा गएर चिया बनाइन् । उनको अपनत्व देखेर ज्यादै भावुक भएँ । घरदेखि टाढा बिरामी हुँदा तातो पानी खुवाउने त के अपनत्व देखाउनेसम्म पनि कोही नभएका बेला उनले देखाएको आत्मीयताले एक्लोपनको पीडा अझ भित्रसम्म फैलियो । मैले श्रद्धाले उनको हात समाएँ । उनले मेरो हात मुसारिरहिन्।

कोठामा जग्गु कति बेला आउने थाहा थिएन, आउने नआउने पनि टुङ्गो थिएन ।”

“किन, तिमीले फोन गरी सोधेनौ र ?” रुपाले प्रश्न गरी ।

“हैन, फोन त पछि उसैले गरेको थियो । स्वर सुन्दा दुईचार पेग लडाइसकेको भान हुन्थ्यो । भेट्नैपर्ने भन्दै जति ढिलो भए पनि आउँछु भन्यो । राति नौ बजेतिर कसैले कोठाको ढोका ढकढक्यायो । म अर्धनिद्रामा पुगिसकेको थिएँ, बाहिर खानाको थाल बोकेकी घरबेटी थिइन् । साथमा सानो बोतल र दुइटा गिलास पनि थिए । अप्ठ्यारो लाग्यो । मैले पर्दैन भन्दा पनि आफूले ल्याएको खाना खुवाइछाडिन् । चिसो भगाउने अचूक औषधि हो भन्दै त्यसपछि उनले गिलासमा थोरै रक्सी राखेर मतिर बढाइन् । अधबैँसे घरबेटीको पहिलो अफर, मलाई हुनसम्मकै अप्ठेरो लाग्यो ।”

रुपा कुरा सुन्दै मलाई हेरिरहेकी थिई । म अनुमान गर्न सक्थेँ, उसलाई यो कुरा मन परिरहेको थिएन ।

“म जो पायो त्यहीसँग बसेर कहाँ पिउँछु र ? कहिलेकाहीँ चिसो लाग्दा, मन मिल्ने साथीहरुसँग र उहाँको याद बढी आउँदा पिउने न हो, मनलाई आराम हुन्छ । पिउनुस्, तपाईंलाई पनि आराम हुन्छ ।” उनले भनिन् ।

उनलाई आज बढी चिसोले सताएको हो वा विदेशिएका श्रीमान्को यादले, मलाई ठम्याउन गाह्रो भयो । अस्वीकार गर्दागर्दै पनि एक पेग सकेर उनले मेरो र आफ्नो गिलासमा फेरि रक्सी थपिन् । पिउने बानी नपरेको पेटभित्र दुई पेग चिसो गएपछि जीउ तातो हुन थाल्यो । हातका छेउबाट पखेटा उम्रन थाले । त्यो तातोले पहिला हल्काहल्का, त्यसपछि बेहिसाब उडाउन थाल्यो मलाई । परेली भारी हुँदै आँखा चिम्लिँदै गए । उनीसित धेरै बेर कुरा गरिरहन पनि सकिनँ ।

“मलाई त निद्रा लाग्यो ।” ओछ्यानमा राम्रैसँग पल्टिँदै मैले छातीमाथिसम्म सिरक तानेँ ।

“ल, ल सुत्नुस् । भोलिसम्ममा ठीक हुन्छ तपाईंलाई ।” घरबेटी कोठाको बत्ती निभाएर बाहिर निस्किन् ।

करिब आधा घण्टापछि कोठाको ढोका खुल्यो, अर्धमुदित आँखामा मैले घरबेटीलाई देखेँ । आएर केही बेरसम्म अँध्यारैमा उनले मेरो अनुहार हेरिरहिन्, कपाल सुम्सुम्याइन्, निधार छामिन् र ममाथि सिरक मिलाएर कोठाबाट बाहिर गइन् ।

त्यसपछि गाढा निद्रा पर्‍यो। रातभरि अचम्मअचम्मका रङ्गीन सपनाहरुले पछ्याइरहे । सपनामा एउटी युवती कोठाभित्र आएर मसँग सन्चोबिसन्चो सोध्दै रमाइलो गफ गरिरही । कुरा गरेपिच्छे ऊ मलाई स्पर्श गरिरहेकी थिई । कहिले हातमा, कहिले काँध अनि कहिले टाउको सुमसुम्याइरहेकी थिई । मलाई पनि आनन्द लागिरहेको थियो । एकछिनपछि ऊ पनि सिरकभित्र गुजिल्टिन आई । रक्सीको नशामा तातो जीउ लठ्ठिएकै थियो, उसको समीपतामा जीउ झन् लाटो हुँदै गयो । सपनामै भए पनि त्यो कुरा गलत भन्ने थाहा थियो, त्यसैले उसलाई आफूबाट पन्छाउन निकै कोशिश गरेँ, सकिनँ । अन्ततः विवश हुँदै मैले आत्मसमर्पण गरेँ । उसले रातभरि मलाई आफूभित्र पानीपानी पगालिरही । विचित्रको सपना–विपनाबीच झुल्दै सिङ्गो रात बित्यो ।

हाम्रो दोस्रोपटक मगाएको कफी आइपुग्यो । मैले कप तानेँ र चुस्की लिन थालेँ ।

“अनि ? अनि के भयो ?” रुपा फूफू गर्दै पोल्ने कफी सु¥क्याउन थाली ।

“त्यो रात जग्गु आउँदै आएन । गहिरो निद्रामा झपक्कै निदाएको मान्छे, झिसमिसेमा बल्ल छ्याङ्ग भएँ । रातको मादक सपना अनि अङ्गअङ्गमा बसेको मीठो पीडाले उठ्नै मन लागेन । आँखाभरि रात उग्राउँदै अलिबेर पल्टिरहेँ ।

पछि खाटबाट ओर्लन जसै सिरक हटाएँ, त्यहाँ भएको पातलो बुट्टेदार सलमा आँखा गयो । त्यो सल हिजो घरबेटीले ओढेकी थिइन् । एक्कासि छाँगाबाट खसेझैँ भएँ । विवेकशून्य भयो । त्यसलाई विपना भनेर सोचिहाल्न पनि सकिनँ, मेरो चेतनाभन्दा परको कुरा भइरहेको थियो । र, सपना पनि थिएन । सिरकमुनिको त्यो खुजमुजिएको सल र तन्नामाथिको दाग मेरो कुमारत्व लुटिएको प्रमाण थियो । विश्वास गर्न नचाहेर पनि रातीको घटना कुनै सपना नभई मेरो ओछ्यानमाथिको यथार्थ थियो ।”

०००
एकनासले बोलेकाले घाँटी सुकेजस्तै भयो । सास फुल्न थालेको थियो । अगाडिको पानीको गिलास तानेर घाँटी र ओठ भिजाएँ । कुरा टुँगिएको एकछिनसम्म पनि हामीबीच कुनै वार्तालाप भएन । रुपा पूर्ववत् चुप लागिरही । अघिसम्म मलाई सुन्ने उसको आतुरी र चुल्बुलेपन कहीँ हराएको थियो । उसको गम्भीरताले मलाई असजिलोसँग बिझाउन थाल्यो ।

“रुपा, के तिमीलाई ममाथि विश्वास लागेन ?” मैले सोधेँ ।

उसले प्रश्नलाई बेवास्ता गर्दै उल्टै सोधी, “अजीत, के साँच्ची घटना यसरी नै घटेको थियो त ?”

उसले विश्वास गर्न सकिरहेकी थिइन ।

“जस्तै सोझो भए पनि केटा मान्छेको के विश्वास ? फेरि दुवै सँगै बसेर पिउने, अनि अबेलासम्मको एकान्तमा कुराकानी, तिमीले नइच्छाइकन त्यस्तो हुन सक्थ्यो र ? हैन भने बलात्कार भन्नलाई खै त तिमीले प्रतिवाद गरेको ?” ऊ बर्बराई ।

“रुपा, म होशमा नै थिइनँ । त्यो मेरो बेहोश शरीरमाथि कसैको मनपरी थियो ।” बुझाउन चाहेँ उसलाई ।

उसले मलाई माथिदेखि तलसम्म नियाली । ती आँखामा यद्यपि अझै पनि संशय र अविश्वासका धर्साहरु मेटिइसकेका थिएनन् । दुःखको हल्का छायाँ उसको अनुहारमा मडारिँदै थियो ।

“एउटा प्रश्न गरुँ ?” उसले अलि नजिक आएर मेरा आँखामा नियाल्दै बोली, “थिङ्क इट रिभर्सली अजित ! यदि तिम्रो ठाउँमा ममाथि यो सब यसरी नै घटेको भए, के त्यसपछि पनि तिमीले मप्रति बनाउने धारणा पहिलेजस्तै स्निग्ध र सुकिलो नै रहन्थ्यो ?”

यो उसको अप्रत्यासित प्रश्न थियो । बोल्न सकिनँ । रुपाले केही बेर मेरो अनुहारमा प्रत्युत्तर खोजिरही । अनि आँखा झुकाई । एकैछिनअगाडिसम्मको सहज पल बाँकी रहेन । कुनै भारले थिचिएर निस्सासिएजस्तै भएँ म ।

उसका निहुरिएका अनुहार उठे, “जिन्दगीमा धेरै प्रश्नको जवाफ दिइहाल्न गाह्रो हुन्छ अजित, तर मलाई तिम्रो जवाफको प्रतीक्षा रहनेछ । आज आफ्नो बिल आफैँ तिर्छु, मनाही नगर ।”

उसले मेरो प्रतिक्रिया कुरिन, उठेर काउन्टरतिर लागी ।

(मानन्धरको हालै प्रकाशित कथा संग्रह ‘अनावरण’मा संग्रहित एउटा कथा)

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)